मोदी-बालेन संयुक्त सम्बोधन : मोदीले के भने? (पूर्णपाठ)
महामहिम, प्रधानमन्त्री बालेन्द्र शाहजी, दुवै देशका डेलिगेट्स, मिडियाका साथीहरू, नमस्कार।
नेपालको प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो द्विपक्षीय भ्रमणमा वालेन्द्र शाहजीको भारतमा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागिरहेको छ।
केही महिनाअघि जब उहाँले विश्वका सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई सम्बोधन गर्नुभएको थियो, तब हामीले उहाँको दूरदर्शिताको स्पष्ट झलक देखेका थियौँ। र आज पछिल्ला केही घण्टाको कुराकानीमा मैले नेपालको भविष्य र भारत-नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु।
यस वर्ष नेपालका जनताले उहाँलाई जुन ऐतिहासिक जनादेश दिएका छन्, त्यसले नेपालको नयाँ पुस्ताको आकांक्षा र अपेक्षालाई दर्शाउँछ। भारत एक सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ सहभागी रहँदै आएको छ। यही भावनाका साथ आज हामीले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा लैजान धेरै महत्त्वपूर्ण निर्णयहरू लिएका छौँ।
साथीहरू, भारत र नेपालको सम्बन्ध केवल छिमेकको मात्र होइन, बरु आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो। हाम्रा खुसीहरू साझा छन्, हाम्रा चुनौतीहरू पनि। हामी एक-अर्काको प्रगतिमा साथी हौँ र अप्ठ्यारो समयमा एक-अर्काको सहारा पनि। अगस्टमा नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ। र आज नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ मजबुती दिन हामी २४,००० करोड नेपाली रुपैयाँको विकास सहकार्य प्याकेजको घोषणा गर्दछौँ। हाम्रो सङ्कल्प हुनेछ कि प्रभावित परिवारहरूको जीवन फेरि लयमा फर्कियोस्, नयाँ अवसरहरू सिर्जना होऊन् र भविष्यका विपद्हरूसँग जुध्न नेपालको क्षमता पनि अझ बलियो बनोस्।
साथीहरू, भारत र नेपालको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र गहिरो जनस्तरको सम्बन्धका धागाहरूले बुनिएका छन्। भगवान् राम र माता सीता हाम्रो साझा सभ्यता र आस्थाको पहिचान हुनुहुन्छ। सन् २०१८ मा जनकपुरको पावन भूमिमा मैले भनेको थिएँ, नेपालबिना हाम्रा धाम अधुरा छन्, नेपालबिना हाम्रा राम पनि अधुरा छन्। सन् २०२४ मा अयोध्यामा रामललाको प्राण प्रतिष्ठा भयो। यो ऐतिहासिक अवसरले हाम्रो साझा आस्थालाई नयाँ ऊर्जा दियो। त्यसयता करोडौँ श्रद्धालु रामललाको दर्शनका लागि अयोध्या पुगिरहेका छन्। सन् २०२५ मा मात्रै देश र विश्वबाट लगभग ३३ करोड श्रद्धालुले अयोध्याको यात्रा गरे। आज सुरु गरिएको रेल सेवा सरयू-कमला एक्सप्रेसबाट हामी यो पवित्र सम्बन्धलाई एक नयाँ आयाम दिइरहेका छौँ। यसले अयोध्या आउने श्रद्धालुहरूका लागि अब जनकपुर गएर माता सीताको दर्शन गर्न पनि सहज बनाइदिनेछ। हामी लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध र शिव शक्तिसँग जोडिएका पवित्र स्थलहरूबीच सम्पर्क सञ्जाल बढाउन पनि मिलेर काम गर्नेछौँ।
साथीहरू, आज हामीले उत्तराखण्ड र नेपालबीच धार्चुला रोड ब्रिजको उद्घाटन र बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरेका छौँ। यसका साथै हामी नेपालतर्फ दोधारा चाँदनी एकीकृत जाँच चौकीको काम पनि तीव्र गतिमा अगाडि बढाउनेछौँ। यी पहलहरूले उत्तराखण्ड र नेपालबीच व्यापार र मानिसहरूको आवागमन अझ सहज बनाउनेछ। साथै हामी बिहार, उत्तर प्रदेश र भारतका अन्य राज्यहरू तथा नेपालबीच सडक, रेल र सीमा सम्पर्क सञ्जालका परियोजनाहरूलाई पनि नयाँ गति दिनेछौँ। नेपालको पारवहन व्यापारलाई अझ सहज बनाउन हामी काँडला र पारादीप पोर्टको पहुँच उपलब्ध गराउनेछौँ। मलाई विश्वास छ कि राम्रो व्यापारिक सम्पर्क सञ्जाल र लगानीका यी सबै प्रयासहरूले नेपालको आर्थिक विकासलाई नयाँ गति दिनेछ।
साथीहरू, नेपालका नदीहरूमा स्वच्छ ऊर्जाको अपार सम्भावना छ। भारतको विशाल ऊर्जा बजारले यी सम्भावनाहरूलाई नेपालको आर्थिक समृद्धिको एक बलियो आधार बनाउन सक्छ। आज लोअर अरुण जलविद्युत् परियोजनाको शिलान्यास र अरुण तेस्रोलाई समयमै पूरा गर्ने हाम्रो प्रतिबद्धता यही दृष्टिकोणको हिस्सा हो।
साथीहरू, भारत धेरै वर्षदेखि नेपालका लागि पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुहरूको विश्वसनीय आपूर्तिकर्ता रहँदै आएको छ। हाम्रो ‘नेबरहुड फर्स्ट’ नीतिको भावना अनुरूप यस वर्ष तेल आपूर्तिसँग जोडिएका गम्भीर चुनौतीहरूका बाबजुद हामीले नेपाललाई इन्धन, मलखाद र अन्य अत्यावश्यक वस्तुहरूको आपूर्ति कायम राख्यौँ। आज मोतिहारी-अमलेखगन्ज पाइपलाइनको दोस्रो चरणको लोकार्पण र झापा पेट्रोलियम टर्मिनलको शिलान्यासले यो साझेदारीलाई अझ बलियो बनाउनेछ।
साथीहरू, नेपालको युवा पुस्ता प्रतिभा, ऊर्जा र ठूला सपनाहरूले भरिएको छ। उनीहरूका सपनालाई साकार पार्न भारत पूर्ण प्रतिबद्धताका साथ सहभागी बन्न चाहन्छ। यो सङ्कल्पलाई साकार पार्न हामी नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक अफसोर क्याम्पस स्थापना गर्नेछौँ। हामी नेपाली विद्यार्थीहरूका लागि भारतमा कानुन र प्रविधिमा छात्रवृत्तिका अवसरहरू बढाउनेछौँ। र खाद्य प्रशोधन र मूल्य अभिवृद्धिलाई प्रवर्द्धन गर्न हामी नेपालमा एग्रो इन्डस्ट्रियल पार्क विकास गर्न पनि सहयोग गर्नेछौँ।
साथीहरू, रामायणको कथा आज चलचित्र र आधुनिक प्रविधिको माध्यमबाट नयाँ पुस्ता र सारा संसारसम्म पुगिरहेको छ। हामी चाहन्छौँ कि भारत र नेपालका युवा सिर्जनाकर्ताहरू मिलेर आफ्नो साझा विरासतलाई नयाँ माध्यमहरूबाट विश्वसम्म पुर्याऊन्। यही दिशामा आगामी वेभ समिटमा हामी नेपालको एक ठुलो प्रतिनिधिमण्डलको स्वागत गर्नेछौँ। खेलकुद, खासगरी क्रिकेटमा पनि हामी नेपालमा पूर्वाधारको विकास र खेलाडीहरूको तालिममा सहयोग बढाउनेछौँ।
महामहिम, आज हामी आफ्नो साझा भविष्यलाई नयाँ दिशा दिन एक संयुक्त दृष्टिकोण दस्ताबेज जारी गर्दैछौँ। यो विकसित भारत र समुन्नत नेपालका आ-आफ्ना सङ्कल्पहरूलाई मिलेर साकार पार्ने खाका हो। हामीसँग स्पष्ट लक्ष्य छन्, आपसी विश्वास छ, तिनलाई साकार पार्ने सामर्थ्य पनि छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीसँगै माता सीता, भगवान् राम र भगवान् बुद्धको आशीर्वाद छ। मलाई विश्वास छ कि यही भावनाका साथ हामी आफ्नो साझा दृष्टिकोणलाई ठोस उपलब्धिहरूमा बदल्नेछौँ र सँगै मिलेर भारत-नेपाल सम्बन्धको एक नयाँ सुनौलो अध्याय लेख्नेछौँ। भारत-नेपाल मैत्री अमर रहोस्। धेरै-धेरै धन्यवाद।
