बालेनको भारत भ्रमण पुरानै एजेन्डामा सीमित भएको एमालेको टिप्पणी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।
एमाले सचिव डा. राजन भट्टराईले झन्डै दुई तिहाइको जनमत बोकेर दिल्ली पुगेका प्रधानमन्त्रीले नेपालका पुराना र रणनीतिक महत्वका मुद्दामा नयाँ उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरेका छन् ।
भट्टराईका अनुसार भ्रमणमा विगतदेखि नै अघि बढेका आयोजना र कार्यक्रमले निरन्तरता पाए पनि नेपालले लामो समयदेखि उठाउँदै आएका राष्ट्रिय सरोकारका विषयमा ठोस प्रगति देखिएन । पुराना आयोजनाको शिलान्यास र सम्पन्न आयोजनाको उद्घाटनलाई उपलब्धिका रूपमा प्रस्तुत गरिए पनि त्यसले नयाँ कूटनीतिक मोड लिन नसकेको उनको तर्क छ ।
उनले विशेषगरी हवाई प्रवेश मार्ग, जलस्रोतको उपयोग, विद्युत् व्यापार र सीमा विवादलाई भारतसँगको वार्तामा प्राथमिकताका साथ उठाउनुपर्ने बताए । संसद्ले समेत सर्वसम्मत रूपमा पारित गरेका विषय प्रधानमन्त्रीको भ्रमणमा प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको उनको आरोप छ । तराईमा बर्सेनि हुने डुबान नियन्त्रणको विषय पनि प्राथमिकतामा नपरेको उनले औँल्याए ।
भ्रमणमा दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग घोषणा हुनु भने सकारात्मक भएको भट्टराईले बताएका छन् । तर, उक्त रकम अनुदान हो वा ऋण भन्ने स्पष्ट नभएको र विगतका घोषणासमेत कार्यान्वयनमा कमजोर देखिएकाले यसपटकको प्रतिबद्धता व्यवहारमा उतार्नु मुख्य चुनौती हुने उनको भनाइ छ ।
क्रिकेटमा सहकार्य विस्तार र नेपालमा भारतीय कम्पनीका शाखा खोल्ने विषयलाई उनले नयाँ तथा सकारात्मक पहल मानेका छन् । तर, यस्ता केही विषयले मात्र भ्रमणलाई नयाँ दिशा दिएको भन्न नसकिने उनको टिप्पणी छ ।
भट्टराईको आलोचनाको केन्द्रमा बालेनको चुनावी तथा विगतको राजनीतिक छवि र प्रधानमन्त्रीका रूपमा भारतसँग प्रस्तुत भएको शैलीबीचको अन्तर देखिन्छ । मेयर हुँदा सीमा लगायतका राष्ट्रिय मुद्दामा राखेका धारणा प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा प्रतिबिम्बित हुन नसकेको उनको आरोप छ ।
‘विगतको भारी बोक्दिनँ भन्ने, तर विगतमा अघि बढेका आयोजनाहरू नै उद्घाटन गर्ने’ कार्यले प्रधानमन्त्रीको भनाइ र गराइबीच तालमेल नमिलेको उनले बताएका छन् ।
