`

गाजामा इजरायली आक्रमण : हमासका पूर्व उपशिक्षामन्त्री र पत्नीसहित आठ जनाको मृत्यु

Nepal One HD १० मंसिर २०८३ १६:१३
विश्व

काठमाडौं। गाजामा युद्धविराम कायम रहे पनि इजरायलले हवाई आक्रमण जारी राखेको छ । मध्य गाजाको दीर अल बलाहस्थित एक आवासीय भवनमा बिहीबार गरिएको आक्रमणमा हमास सरकारका पूर्व उपशिक्षामन्त्री खालिद महमुद अबु नदा र उनकी पत्नीको मृत्यु भएको छ ।

प्यालेस्टिनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसी फारसीले जनाएअनुसार आक्रमणमा अबु नदासहित अन्य प्यालेस्टिनीको पनि मृत्यु भएको हो । इजरायली सेनाले हमासका एक वरिष्ठ सदस्यलाई लक्षित गरी कारबाही गरिएको पुष्टि गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले अबु नदालाई हमासको आर्थिक तथा संगठनात्मक गतिविधिमा संलग्न वरिष्ठ अधिकारीका रूपमा उल्लेख गरेका छन् । तर उनीमाथि लगाइएका आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।

यसैबीच, गाजा सिटीको अल शाती शरणार्थी शिविर र तुफाह क्षेत्रमा भएका छुट्टाछुट्टै आक्रमणमा थप छ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यससँगै तीनवटा आक्रमणमा मारिनेको संख्या आठ पुगेको छ ।

इजरायल र हमासबीच सन् २०२५ अक्टोबर १० मा युद्धविराम लागू भए पनि गाजामा आक्रमण र हिंसात्मक घटना रोकिएका छैनन् । लगातारको हिंसाले युद्धविरामको प्रभावकारिता र सर्वसाधारणको सुरक्षामाथि प्रश्न उठाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *