`

कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई

Nepal One HD १० मंसिर २०८३ १७:०५
राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकेका छन्।

कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि कर्णलाई कोशी प्रदेशको समेत कामकाज गर्ने जिम्मेवारी दिइएको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम उक्त जिम्मेवारी तोकेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिमा नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि मधेस प्रदेश प्रमुख कर्णले कोशी प्रदेश प्रमुखको समेत कार्यभार सम्हाल्ने उल्लेख गरिएको छ।

कोशी प्रदेशका तत्कालीन प्रदेश प्रमुख परशुराम खापुङले पाँचवर्षे कार्यकाल पूरा गरेपछि गत कात्तिक २३ गते पद छाडेका थिए। त्यसयता कोशी प्रदेश प्रमुखको पद रिक्त रहेको थियो।

नेपालको संविधानको धारा १६५ को उपधारा (२) ले कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएमा नयाँ नियुक्ति नभएसम्म राष्ट्रपतिले अर्को प्रदेशका प्रदेश प्रमुखलाई उक्त प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था गरेको छ।

यस व्यवस्थाअनुसार कर्णले मधेस प्रदेशको जिम्मेवारीसँगै कोशी प्रदेशको समेत कामकाज गर्नेछन्। नयाँ प्रदेश प्रमुख नियुक्त भएपछि भने उनको अतिरिक्त जिम्मेवारी स्वतः समाप्त हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *