खाँडाचक्रको विकास र सुशासनमा २२ वर्षीय महेन्द्र कार्कीको अग्रसरता
कालिकोट । खाँडाचक्र नगरपालिका–३, तेस्रो बजारका २२ वर्षीय युवा महेन्द्र कार्कीले नगरपालिकाको समग्र विकास, सुशासन र नागरिकको जीवनस्तर सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
युवा नेतृत्वको आकांक्षा व्यक्त गर्दै कार्कीले शिक्षा, स्वास्थ्य, सडक, यातायात, विद्युत्, खानेपानी, सिँचाइ, कृषि र रोजगारीलाई खाँडाचक्रको समृद्धिका आधारका रूपमा अघि सारेका छन्।
उनले सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने तथा गाउँबस्तीलाई सडक सञ्जालसँग जोडेर नियमित यातायात सेवा विस्तार गर्नुपर्ने बताएका छन्। विद्युत्, खानेपानी र सिँचाइको पहुँच विस्तारलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
त्यस्तै, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई गुणस्तरीय बीउबिजन तथा कृषि सामग्री उपलब्ध गराउने, युवालाई सीप र रोजगारीसँग जोड्ने तथा पर्यटन विकास गर्ने योजना उनले अघि सारेका छन्। विकास निर्माणका काममा पारदर्शिता र स्थानीय सरकारलाई जवाफदेही बनाउनु आवश्यक रहेको उनको भनाइ छ।
‘खाँडाचक्रको विकास कुनै एउटा क्षेत्रको विकासले मात्र सम्भव छैन। शिक्षा, स्वास्थ्य, सडक, यातायात, विद्युत्, कृषि र रोजगारी सबै क्षेत्रमा समान ध्यान दिन आवश्यक छ। मेरो उद्देश्य जनताको आवश्यकता र चाहनाअनुसार समग्र खाँडाचक्रको विकासमा योगदान गर्नु हो,’ कार्कीले बताएका छन्।
युवाको सोच, अग्रजको अनुभव र नागरिकको सहभागितालाई समेटेर पारदर्शी, जवाफदेही र जनमुखी स्थानीय शासन निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।
उनले ‘समृद्ध खाँडाचक्र, विकसित बस्ती; समान विकास, जनताको समृद्धि’ भन्ने नारासहित नगरपालिकाको विकासमा युवा सहभागिता र नेतृत्वको आवश्यकता औँल्याएका छन्।
