घुस लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित
काठमाडौं। सडकमा नियम मिच्ने चालकलाई कारबाही गर्ने जिम्मेवारी पाएका बाँकेका दुई ट्राफिक प्रहरी आफैँ सेवाग्राहीसँग रकम लिएको भिडियो सार्वजनिक भएपछि निलम्बनमा परेका छन्।
सामाजिक सञ्जालमा भिडियो छरिएपछि प्रहरी संगठनले दुवै जवानलाई कारबाही गर्दै अनुसन्धान अघि बढाएको हो।
निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत धनौली अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान श्रीषराम थारू र नेपालगञ्ज अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान तोपबहादुर खड्का छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार दुवैलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम शुक्रबारदेखि लागू हुने गरी निलम्बन गरिएको हो। उनीहरूमाथि थप छानबिन तथा अनुसन्धान भइरहेको उनले बताएका छन्।
प्रहरीका अनुसार मंसिर ८ गते ड्युटीमा रहेका बेला उनीहरूले सेवाग्राहीबाट रकम लिएको भनिएको भिडियो मंसिर १० गते सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि संगठनले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
सडकमा नागरिकलाई नियम र अनुशासन सिकाउने प्रहरीकै व्यवहारमाथि घुस असुलीको आरोप लागेपछि संगठनभित्रै छानबिनको अवस्था आएको छ।
