राष्ट्रिय खेलकुद क्रिकेट : गण्डकीको पहिलो जित, एनआरएनए ५ विकेटले पराजित
काठमाडाैं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको लिग चरणमा गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ। शनिबार बिहान कालिञ्चोक मैदानमा भएको खेलमा गण्डकीले एनआरएनएलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको गण्डकीले एनआरएनएलाई १९.२ ओभरमा १२५ रनमा समेटेको थियो। एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए। उनले ३२ बलमा ५ चौका प्रहार गरे। त्यस्तै, नवीन तामाङले २६ तथा आदित्य महताले २३ रनको योगदान दिए। कप्तान कमलसिंह ऐरी भने ७ रनमै आउट भएका छन्।
त्यस्तै, १२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४.३ ओभरमै ५ विकेट गुमाएर जित सुनिश्चित गर्यो। गण्डकीका लागि ईश्वर क्षेत्रीले २७ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन बनाए। वंश क्षेत्रीले अविजित २९ रन जोड्दा सिब्रिन श्रेष्ठले २४ र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए। रोहित चन्द १ रनमा अविजित रहे।
यसअघि प्रतियोगिताको पहिलो खेलमा गण्डकी मधेस प्रदेशसँग ७ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा एनआरएनएलाई हराएसँगै गण्डकीले प्रतियोगितामा पहिलो जित निकाल्दै महत्वपूर्ण २ अंक जोडेको छ।
साथै, यो जितले गण्डकीको लिग चरणमा पुनरागमनको सम्भावना बलियो बनाएको छ।
