इनमको ल्यापटपले खोल्यो रवि-बालेनको पोल!
काठमाडौं । बिचौलिया इनम सापकोटाको मोबाइलपछि अब ल्यापटपले पनि सत्ताको भित्री सम्बन्ध र चलखेलबारे नयाँ रहस्य बाहिर ल्याएको छ।
उनको ल्यापटपमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम जोडिएका तीनवटा संवेदनशील दस्तावेज भेटिएको दाबीले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।
जनआस्थामा छापिएको विवरणअनुसार अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रदेखि नेपालको प्राकृतिक स्रोतसाधन र संक्रमणकालीन नेतृत्वको व्यवस्थासम्मका विषय ती कागजातमा समेटिएका छन्।
ल्यापटपमा भेटिएको भनिएको पहिलो कागजात रवि लामिछानेको नामबाट अमेरिकी दूतावासलाई लेखिएको पत्र हो। सन् २०२६ मे ४ को मिति राखिएको पत्रमा सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तनबारे चर्चा गरिएको छ।
एआईजी वंशी दाहाललाई तत्काल आईजीपी बनाउन नसकिने तर सम्बन्धित आयोगको सिफारिसपछि नियुक्ति प्रक्रिया अघि बढाउने आशय त्यसमा उल्लेख छ। दुई महिनाभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नेतृत्व परिवर्तन हुन सक्ने संकेतसमेत गरिएको बताइएको छ।
तर, पत्रमा लामिछानेलाई रास्वपाको ‘अध्यक्ष’ भनिएको छ, जबकि उनी पार्टीका सभापति हुन्। कूटनीतिक निकायलाई पठाइने पत्रको भाषा र शैली पनि अस्वाभाविक देखिन्छ। त्यसैले यो पत्र लामिछानेले नै लेखेका हुन् वा उनको नाम प्रयोग गरेर कसैले आफ्नो पहुँच र प्रभाव देखाउन खोजेको हो भन्ने विषय अझै रहस्यमै छ।
दोस्रो दस्तावेजले त प्रधानमन्त्री बालेन्द्र शाहको नाम नै विदेशी मिसनसँग जोडेको छ। ‘नेपालका प्रधानमन्त्री र नेपालस्थित अमेरिकी मिसनबीचको प्रारम्भिक सहमति–पत्र’ शीर्षक दिइएको उक्त कागजातमा नेपालको खनिज, प्राकृतिक तथा रणनीतिक महत्त्वका स्रोतसाधनको अन्वेषण, विकास र व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहकार्य तथा लगानी गर्ने विषय समेटिएको बताइएको छ। सन् २०२६ अप्रिल २८ को मिति राखिएको दस्तावेजमा पूर्वप्रधानन्यायाधीशलाई संक्रमणकालीन व्यवस्थाको प्रमुख संयोजक तथा सहजकर्ताको जिम्मेवारी दिने प्रस्तावसमेत उल्लेख छ।
त्यतिमात्र होइन, संक्रमणकालीन व्यवस्थाको अनुगमन, समन्वय र मार्गनिर्देशन गर्ने जिम्मेवारीसमेत उनैलाई दिने भनिएको छ। तीन साताभित्र सहमति कार्यान्वयन गर्ने र निर्धारित समयभित्र प्रक्रिया अघि नबढे त्यसको विषयवस्तु सार्वजनिक गर्न सकिने प्रावधान राखिएको दाबी छ। तर दस्तावेजमा प्रधानमन्त्री शाह र अमेरिकी मिसनका स्कट अर्बुनको नाम भए पनि हस्ताक्षर छैन। त्यसैले यो साँच्चिकै कुनै सहमतिको मस्यौदा हो कि बिचौलियाले प्रभावशाली व्यक्तिहरूसँग पहुँच रहेको देखाउन तयार पारेको कागज मात्र हो भन्ने टुंगो लाग्न बाँकी छ।
तेस्रो कागजातले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई अन्तर्राष्ट्रिय मञ्चमा विवादित बनाउने आशय बोकेको बताइएको छ। जेन–जी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई आधार बनाएर संयुक्त राष्ट्रसंघीय कार्यक्रममा कार्कीको सहभागिताको औचित्यमाथि असन्तुष्टि जनाउने सामग्री त्यसमा रहेको दाबी छ। प्रहरीको दंगा नियन्त्रण सामग्री खरिदसम्बन्धी कागजातसमेत संलग्न गरिएको उल्लेख छ।
तीन कागजले तीनवटा संवेदनशील क्षेत्र छोएका छन् -सशस्त्र प्रहरीको नेतृत्व, देशको प्राकृतिक स्रोतसाधन र संक्रमणकालीन सत्ता व्यवस्थापन तथा प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय छवि। यी विषयमा प्रधानमन्त्री र सत्तारुढ दलका सभापतिको नाम जोडिनुले प्रकरणलाई सामान्य बिचौलियाको कारोबारभन्दा माथि पुर्याएको छ।
मोबाइलबाट बाहिरिएका विवरणले सत्ताको माथिल्लो तहसम्म पहुँचको चर्चा चलिरहेका बेला ल्यापटपमा भेटिएको भनिएका यी कागजातले अर्को तहको रहस्य थपेका छन्।
रवि र बालेनको नाम जोडेर विदेशी मिसनसँग सहमति भएको आभास दिने प्रयास कसले गर्यो ? प्रहरी नेतृत्वको फेरबदलदेखि संक्रमणकालीन व्यवस्थासम्मका विषय एउटै बिचौलियाको ल्यापटपमा किन जम्मा भए ?
अब अनुसन्धानबाट पर्दा पछाडीको खेलसमेत सार्वजनिक गर्नुपर्ने देखिएको छ।
