`

मलेसिया प्रकरण : हराएको फाइल भेटिएपछि…

Nepal One HD १३ मंसिर २०८३ १३:४४
बिशेष

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको रकम विदेश पठाउने प्रकरणमा हराएको सरकारी फाइल भेटिएपछि अनुसन्धानले नयाँ मोड लिएको छ।

फाइलमा तत्कालीन श्रममन्त्री रामेश्वरराय यादव र तत्कालीन श्रमसचिव एकनारायण अर्यालको हस्ताक्षर भेटिएपछि उनीहरूको भूमिका थप शंकाको घेरामा परेको छ।

अनुसन्धान स्रोतका अनुसार मलेसियामा रकम पठाउने प्रारम्भिक निर्णय यादव श्रममन्त्री रहेकै बेला भएको थियो। २०७६–७७ को अवधिमा उनले तीनपटक रकम पठाउने निर्णय गरेको कागजात फेला परेको बताइएको छ। त्यसपछि श्रमसचिवका रूपमा अर्यालको भूमिका जोडिएको छ। २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रमसचिव रहेका अर्यालकै कार्यकालमा रकम पठाउने प्रक्रिया पटक–पटक अघि बढेको अनुसन्धान अधिकारीहरूको दाबी छ।

फाइलमा यादव र अर्यालको हस्ताक्षर भेटिए पनि त्यसपछिका श्रममन्त्री शेरबहादुर कुँवर, डीपी अर्याल र शरदसिंह भण्डारीको हस्ताक्षर छैन। मन्त्रीस्तरीय निर्णय भनिएको कागजातमा समेत सचिव अर्यालले हस्ताक्षर गरेको पाइएको स्रोतको भनाइ छ। यसले निर्णय प्रक्रियामा मन्त्री र सचिवको वास्तविक भूमिका के थियो भन्ने विषयलाई अनुसन्धानको केन्द्रमा ल्याएको छ।

कुँवर श्रममन्त्री रहेका बेला पाँचपटक रकम मलेसिया पठाइएको देखिन्छ। तर, त्यसका लागि नयाँ निर्णय नभई पुरानै निर्णयका आधारमा प्रक्रिया अघि बढाइएको अनुसन्धानमा खुलेको बताइएको छ। मन्त्रालयले राष्ट्र बैंकलाई रकम पठाउन पत्राचार गरे पनि फेला परेको फाइलमा कुँवरको हस्ताक्षर छैन। यही कारण उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपछि हाजिरी जमानीमा छाड्न सकिने तयारी भइरहेको स्रोतको भनाइ छ।

शरदसिंह भण्डारी र डीपी अर्याल मन्त्री भएका बेला पनि रकम विदेश पठाइएको अभिलेख छ। भण्डारीको कार्यकालमा २०८० वैशाखदेखि माघसम्म र डीपी अर्याल दोस्रोपटक श्रममन्त्री बनेपछि २०८१ वैशाख र जेठमा रकम पठाइएको देखिएको छ। तर, निर्णयसम्बन्धी फाइलमा उनीहरूको हस्ताक्षर नभेटिएकाले तत्काल थप अनुसन्धानमा तान्ने आधार कमजोर रहेको सीआईबी स्रोतको भनाइ छ।

यसअघि रकम पठाउने निर्णयसँग सम्बन्धित सरकारी फाइल नै मन्त्रालयबाट हराएपछि प्रकरण थप विवादित बनेको थियो। फाइल नभेटिँदा निर्णय कसले गरेको थियो भन्ने विषय स्पष्ट हुन सकेको थिएन। मन्त्रालयले कार्यदल बनाएर खोजी गरेपछि सक्कल कागजात फेला परेको हो। अहिले त्यही फाइल सीआईबीको हातमा पुगेको छ र अनुसन्धानका लागि महत्वपूर्ण आधार बनेको छ।

प्रकरणमा पूर्वश्रममन्त्री यादव र कुँवरसहित ११ जना हिरासतमा छन्। पूर्वमुख्यसचिवसमेत रहेका अर्याललाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनीमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका पूर्वप्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलगायतको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको श्रम सम्झौताअनुसार स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था थियो। श्रमिकबाट थप शुल्क लिनुपर्ने सहमति थिएन। तर, मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति १०० रिङ्गिट असुलिएको अनुसन्धानमा खुलेको छ।

काठमाडौंका ३६ वटा स्वास्थ्य संस्थामार्फत उठाइएको रकम माइक्रोटेक कम्पनी हुँदै मलेसियास्थित बेस्टिनेट कम्पनीको खातामा पठाइएको बताइएको छ।

रोजगारीका लागि विदेश जान बाध्य श्रमिकबाट रकम उठाउनेदेखि त्यो रकम विदेश पुर्‍याउनेसम्मको प्रक्रियामा को-को संलग्न थिए भन्ने विषय अब अनुसन्धानको मुख्य केन्द्र बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *