जेनजी आन्दोलनपछि प्रहरीमा एक हजारको विशेष फौज गठन गर्ने तयारी
काठमाडौं । प्रदर्शन र हुलदङ्गा नियन्त्रण गर्न नेपाल प्रहरीले छुट्टै विशेष फौज गठन गर्ने तयारी गरेको छ। २०८२ भदौको जेनजी आन्दोलनपछि यस्तो आवश्यकता महसुस गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा एक हजार जनशक्ति रहने ‘नेपाल प्रहरी द्रुत कारबाही विशेष गण’ स्थापना गर्ने प्रस्ताव अघि बढाएको हो।
प्रहरीले प्रस्तावित गणसहित विभिन्न प्राविधिक क्षेत्रमा गरी कुल १ हजार ६७८ नयाँ दरबन्दी थप्न माग गरेको छ। प्रहरी प्रधान कार्यालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिइसकेको छ। अब उक्त प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ।
प्रस्तावअनुसार काठमाडौंमा रहने विशेष गण प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहनेछ। कुनै स्थानमा प्रदर्शन उग्र बनेर स्थानीय प्रहरीको नियन्त्रणबाहिर जाने अवस्था आएमा यो टोली तत्काल परिचालन गरिनेछ। यसलाई देशभर आवश्यक पर्दा खटाउन सकिने केन्द्रीय रिजर्भ फौजका रूपमा विकास गर्ने प्रहरीको योजना छ।
प्रस्तावित गणमा एक एसएसपी, एक एसपी, चार डीएसपी र १७ इन्स्पेक्टर रहनेछन्। त्यस्तै, वरिष्ठ सई २१, सई ३४, असई ६७, वरिष्ठ हवलदार ३२, सहायक हवलदार २२१, प्रहरी जवान ४९५ र कार्यालय सहयोगी २० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। प्राविधिकतर्फ पनि छुट्टै जनशक्ति राख्ने योजना छ।
प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार जेनजी आन्दोलनपछि भिड नियन्त्रणका लागि छुट्टै गण आवश्यक पर्ने विषयमा छलफल सुरु भएको थियो। प्रस्तावित टोलीलाई विशेष तालिम र भिड नियन्त्रणका आधुनिक उपकरणसहित परिचालन गर्ने अवधारणा बनाइएको छ।
प्रहरीका अनुसार प्रदर्शन नियन्त्रणका क्रममा स्थानीय युनिटले मात्रै परिस्थिति सम्हाल्न नसक्ने अवस्था आएमा विशेष गण खटाइनेछ। हेलमेटलगायतका राइट कन्ट्रोल गियर र आवश्यक सुरक्षा सामग्रीसहित टोली परिचालन गर्ने योजना छ। यसबाट प्रदर्शनका बेला प्रहरीको प्रतिक्रिया क्षमता बढाउने अपेक्षा गरिएको छ।
यसअघि सशस्त्र प्रहरी बलले पनि जेनजी आन्दोलनपछि भिड नियन्त्रणका लागि छुट्टै रेजिमेन्ट स्थापना गरिसकेको छ। कीर्तिपुरमा रहेको उक्त रेजिमेन्टमा करिब ९ सय जनशक्ति छन्। यसको कमान्ड पनि एसएसपीले गर्दै आएका छन्।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय विधि विज्ञान प्रयोगशालाको नेतृत्वमा पनि परिवर्तन गर्न प्रस्ताव गरेको छ। अहिले एसएसपीको नेतृत्वमा रहेको प्रयोगशालामा डीआईजीको दरबन्दी राख्ने योजना अघि सारिएको हो। हाल कार्यालय प्रमुख रहेका एसएसपी योगबहादुर पाललाई बढुवा गरी त्यही जिम्मेवारी दिने गरी प्रस्ताव गरिएको स्रोतको भनाइ छ।
त्यस्तै, प्रहरी स्टाफ कलेज सञ्चालनका लागि थप नौ दरबन्दी माग गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ ४२९ नयाँ दरबन्दी थप्न पनि प्रस्ताव गरेको छ। ती जनशक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो, एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र र ड्रोन पाइलटका रूपमा परिचालन गर्ने योजना छ।
