आत्मदाह गरेका प्रेमप्रसादको न्याय माग्दै माइतीघरमा प्रदर्शन

NepalOne ११ माघ २०७९ १७:१८
प्रशासन

काठमाडौं – मंगलबार दिउँसो जनप्रतिनिधिको थलो संघीय संसद् भवनअगाडि काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर जीवन समाप्त पारेका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा युवा पुस्ताले प्रदर्शन गरेका छन्। बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित बर्न हस्पिटलमा आचार्यको ज्यान गएको थियो।

माइतीघर मण्डलमा भेला भएर बानेश्वरतर्फ आएका युवाहरूले नागरिकका लागि राज्यमा न्याय नामको चीज मरेको र त्यसको घानमा आचार्य परेको बताए। बानेश्वरमा उनीहरूले मौन धारण गर्दै आचार्यप्रति श्रद्धासुमन व्यक्त गरे। आचार्यले आत्मदाह गर्नुको कारण अन्य आचार्यहरूलाई नपरोस् भनेरै सरकारलाई झकझक्याउन प्रदर्शनमा उत्रिनुपरेको युवाहरूको भनाइ छ।

आचार्यले आत्मदाह गर्नुका पछाडि आर्थिक, सामाजिक, राजनीतिक कारण रहेको देखिएकाले राज्यले सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग उनीहरूले गरे। देशमा केही गरौं भन्नेहरूका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरुद्ध कडा कानुन निर्माणलगायत माग राखेर दिवंगत आचार्यलाई सम्झिएको उनीहरूले जानकारी दिए।


प्रतिक्रिया