यो गठबन्धन पाँचै वर्ष टिक्छ: उपप्रधानमन्त्री पौडेल
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दावी गर्नुभएको छ।
नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत आज सुदूरपश्चिम पुग्नुभएका पौडेलले हल्ला एकातिर हुने र घट्नाक्रम अर्कोतिर अघि बढ्ने भन्दै वर्तमानको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सहयात्रामा जुन राजनीतिक दलहरु सहभागी छौं। नीतिगत पृष्ठभूमि र कार्यक्रमिक अवधारणाका आधारमा सहयात्रा बनिरहेको छ। यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन। यो सहयात्रा पाँच वर्ष चल्छ । साथै राष्ट्रपति र उपराष्ट्रपति सबै पदहरुमा पूर्व सहमतिअनुसार कार्यान्वयन हुन्छ।’
सत्ता गठबन्धन टुटने भनेर चलिरहेको हल्लामा सत्यता नभएको दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘हल्ला धेरै चल्छ। त्यो हल्ला एकातिर चल्छ, घटनाक्रम अर्कोतिर अघि बढ्छ । यो तपाईहरु सबैलाई थाहा भएकै विषय हो। हाम्रो लामो अनुभवले पनि यही कुरा बताउँछ । त्यसकारण हल्लामा विश्वास नगर्नका लागि र हल्लाका विषयलाई समाचार नबनाउनका लागि म आग्रह गर्न चाहान्छु ।’
