देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखे छ : रेखा शर्मा


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
शुक्रबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा उहाँले सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको र न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको बताउनुभएको हो ।
उहाँले नेपालको शिक्षा महँगो हुँदै गएको अवस्थामा सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नुभयो । मन्त्री शर्माले सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको र नयाँ शिक्षा ऐन ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सिटीइभीटीका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।