`

सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु

Nepal One HD १६ फागुन २०७९ १४:३४
प्रशासन

काठमाडौँ – सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ ।

मङ्गलवार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेबसाइटमा सुरु गरेको छ ।

नयाँ प्रणालीसँगै सरकारी निकायहरूले आ–आफ्ना कार्यालयसँग सम्बन्धित सूचना तथा जानकारी निकायगत वेबसाइटमार्फत सरल एवं सहजरुपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ । कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुँचका लागि नयाँ प्रयोग प्रभावकारी हुने बताउनुभयो । एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरूपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उहाँले बताउनुभयो ।

विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरूका वेबसाइटहरूको अध्ययन तथा अनुसन्धान पश्चात् नयाँ प्रणाली बनाइएको र यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरू सहितका हुने बताइएको छ । त्यस्तै वेब मनिटरिङ प्रणालीले सरकारी निकायहरूको वेबसाइट ह्याक वा बन्द हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्ने सूचना प्रविधि विभागले जनाएको छ ।


प्रतिक्रिया