आगामी वर्षदेखि खेलकुदमा बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्ष खेल क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
ललितपुरको च्यासलमा रहेको फुटबल रङ्गशालाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आउने बजेटमा खेल क्षेत्रमा पहिलेभन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले यस क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गर्दा समस्या हुने गरेको भन्दै अव त्यस्तो नहुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले देशका सबै प्रदेश, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा आवश्यक नीति, योजना र कार्यक्रम बनाएको जानकारी दिनुभयो । उहाँले खेल क्षेत्रलाई संस्थागत र विकसित गर्न सके मात्रै समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुने र सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने धारणा राख्नुभयो ।
बागमती किनारमा रहेको च्यासल रङ्गशालामा तीन पट्टी प्यारापिट बनाइएको छ भने चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम लगायत निर्माण गरिएको छ । कार्यक्रममा कलाकार र एन्फा पदाधिकारीबिच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो ।