सरकारले लिएको नीतिहरूका कारण मुलुकको आर्थिक समस्या सुधार हुँदै आएको छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले लिएको नीतिहरूका कारण मुलुकको आर्थिक समस्या सुधार हुँदै आएको बताएका छन् ।
आइतबार काठमाडौँमा नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा मुलुक सङ्कटमा पर्ने खतरा देखिए पनि बाह्य क्षेत्र सन्तुलनमा राख्न सरकारले लिएका नीति सफल भएका कारण आर्थिक सङ्कट टरेको बताएका हुन । उनले अहिले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चित रहेकाले अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको जिकिर गरे ।
अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको र सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको उनले बताए ।
निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार सङ्कल्पबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारण केही निर्माण सामग्रीहरूको मूल्य बढेकाले निर्माण व्यवसायीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको धारणा राखे ।
निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू आउने गरेको भन्दै उनले निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताए ।