काेशी प्रदेश सरकार एमालेले टिकाउँछ : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वकाे काेशी प्रदेश सरकार नढल्ने बताउनुभएकाे छ।
आज गृह जिल्ला झापाकाे बिर्तामाेडमा आयाेजित पार्टीकाे मिसन ग्रासरुट अभियान सम्बन्धी कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले काेशी प्रदेश सरकार एमालेले टिकाउने बताउनुभयाे।
अन्य प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलेपनि कोशी प्रदेशको सरकार टिक्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘अहिले काेशी प्रदेशमा सरकार हामी टिकाउँछाैं, टिकाउँछाैं भन्ने मुख्य कुरा-आधार राप्रपा हाे, हाम्राे ४० छ, राप्रपासँग ६ सिट छ, हामी एउटा खाेज्छाैं ।’
काेशी प्रदेशकाे नामाकरण गरेकाेमा अध्यक्ष ओलीले काेशी प्रदेश सभा, प्रदेश सभा सदस्य र विशेषगरी मुख्यमन्त्री हिक्मत कार्कीलाई उहाँले धन्यवाद दिनुभयाे । उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीज्यूलाई धन्यवाद प्रदेशकाे नाम राख्न सफल हुनुभयाे, धन्यवाद छ कार्की प्रदेश राख्नु भएन, सबैले मागेका छन् । आफ्ना नामबाट, कसैले के कसैले के प्रदेश राख्नु भनेकाे बेला उहाँले पनि आँटेर एउटा नाम राखेकाे भएकाे के हुन्थ्याे । काेशी प्रदेश राख्नुभयाे, सबैकाे साझा नाम राख्नुभयाे ।’ काैशिक ऋषिकाे नामबाट काेशी नदीकाे नाम राखिएकाे भनेर भ्रम फैलाइएकाे समेत उहाँले बताउनुभयाे ।
प्रदेश-१ काे नाममा विराेध गर्नुकाे कुनै तुक नरहेकाे भन्दै अध्यक्ष ओलीले सबैकाे साझा काेशी नाम उचित भएकाे बताउनुभयाे। प्रदेश सभाकाे दुईतिहाइले फैसला गरेर गरेकाे विधिसम्मत निर्णयलाई विराेध गर्ने कुनै कारण नरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
एमाले, कांग्रेस, माओवादी, राप्रपा, जसपा कसैले विराेध नगरेका भन्दै उहाँले देखिने गरी फाटाेवादी पुँजीवादी पार्टी बाहेक कसैले विराेध नगरेका बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘चुनावअघि प्रदेश-१ थियाे, अहिले काेशी नाम भएकाे छ, टुक्रिएकाे हुनाले एकीकृत छ कांग्रेसका पछाडि लागेकाले समाजवादी छ त्यसले मात्रै काेशी नामकाे विराेध गरेकाे छ, साम्प्रदायिकता फैलाउन खाेज्ने, मानिस-मानिसबीचमा विवाद उत्पन्न गराउन खाेज्नुकाे अर्थ छैन, काेशी नभएर जातका नाममा, के-केका नाममा भन्नुकाे अर्थ छैन, काेशी नै थिएन भने सभ्यता कहाँबाट आउँछ ?’
प्रदेश-१ अर्थात काेशी १ नम्मरमै रहेकाे पनि बहुमत आउन नसकेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘तुलनात्मक रुपमा राम्रै भयाे, तर बहुमत ल्याउन नसक्नु राम्राे हाेइन, हामीलाई यस प्रदेशमा ४७ भाेट चाहिन्छ ४० भाेट ल्यायाैं, १० भाेट ल्याउन नसकिने स्थिति थिएन, तर ल्याउन सकिएन त्यसकाे खाेजी तपाइँहरु गर्दै हुनुहुन्छ हाेला ? कमशेकम ५० चाहिन्छ तर याे हाम्राे गढ क्षेत्र हाे यत्तिले पुग्दैन, यसले राष्ट्रपति र राष्ट्रिय सचा निर्वाचन त्यसकाे क्षतिपूर्ति भर्नुपर्छ, यदि अन्यत्र अपेक्षित परिणाम आएन भने यहाँकाे परिणामले ।’