`

लालपुर्जा वितरणमा सरकारलाई विश्वप्रकाश शर्माको चार सुझाव

Nepal One HD १२ चैत २०७९ १४:४४
राजनीति

काठमाडौं – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई लालपुर्जा वितरणमा सरकारलाई चारवटा सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा भूमि विषय उठाउँदै शर्माले गृहजिल्ला झापाका विभिन्न स्थानका भूमिहीन सुकुम्बासीका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।


उनले झापा बुद्ध शान्ति गाउँपालिका सट्टाभर्नाकी ८० वर्षीया जसमाया केरुङका समस्या उठाउँदै देशका अन्य क्षेत्रमा सुकुम्बासीले पाइरहेका सास्तीबारे ध्यानाकर्षण गराएका हुन् ।

‘जसमाया केरुङ यो सम्मानित सदनमा मैले अहिले उच्चारण गरेको नाम एक आदरणीय आमाको हो ‘उहाँ जहिल्यै सोध्नुहुन्छ– मैले स्वास फेरिरहेको यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ ?,’ शर्माले भने ।

उनले भांगा गोला, प्यारिभिट्टा, मेची डाँडा, टिकापुर, काली झोडा, खम्बुटार, खरे डाँगीसहित देशको अनेकौं भेगका नागरिकले नापी कहिले आउँछ ? लालपुर्जा कहिले पाइन्छ ? भन्दै सोधिरहेको पनि बताए ।

बुद्ध शान्तिलगायत कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण सुरु गरे पनि गरीब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का नराखिएको उल्लेख गर्दै शर्माले नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गरियोस्, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस्, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस् र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस् भनी सरकारलाई सुझाव दिएका छन् ।


प्रतिक्रिया