उपनिर्वाचन : चितवन २, बारा–२ मा २९ लाख र र तनहुँ–१ मा ३१ लाख खर्च गर्न पाइने
काठमाडौं । निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च तोकेको छ । बुधबार आयोगले उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च बारे जानकारी गराएको हो । आयोगका अनुसार उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन–२ तथा बारा–२ को लागि २९ लाख रुपैयाँ र र तनहुँ–१ को लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने निर्धारण गरेको हो ।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभासदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने समेत आयोगले निर्णय गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्ति : निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोक्ने निर्णय गरेको छ । आयोगको आजको बैठकले उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को लागि रु.२९,००,००० (अक्षरमा उनन्तीस लाख रुपैयाँ) र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को लागि रु.३१,००,००० (अक्षरमा एकतीस लाख रुपैयाँ) निर्धारण गरेको छ ।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने समेत आयोगले निर्णय गरेको छ ।
शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्ता
