प्रधानमन्त्रीको कामकारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखियो : गगन थापा
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममुखी काममा केन्द्रित हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अव प्रधानमन्त्रीले परिणाममुखी काममा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उनले सरकारको साझा न्यूनतम कार्यक्रमलाई संसदमा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्ने बताए । साझा न्यूनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रित हुनुपर्ने उनले बताए । थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टिम बनाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्रीको कामकारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गरे ।
थापाले जनतालाई प्रत्यक्ष अनुभव हुने गरी काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
