कांग्रेस पदाधिकारी बैठकमा देउवाको कार्यशैलीमाथि नेताहरुको प्रश्नै प्रश्न


काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर नेताहरुले प्रश्न उठाएका छन् ।
देउवा निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारले सभापति देउवा विधानसम्मत तरिकाले नचलेको भन्दै आलोचना गरेका हुन् ।
केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभागहरुको गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको लगायतका विषय उठाएर नेताहरुले देउवाको आलोचना गरेका हुन् ।
कांग्रेसले गत भदौदेखि केन्द्रीय समिति बैठक राखेको छैन। विधानमा हरेक तीन महिनाको अन्तरालमा कम्तीमा एक पटक केन्द्रीय समिति बैठक राख्नुपर्ने उल्लेख छ।
विधान अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनुपर्छ । तर महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छैनन् । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागको प्रमुख समेत हालसम्म तोकिएकाे छैन । सहमहामन्त्री जीवन परियारले मन्त्रिपरिषद विस्तारमा असन्तुष्टि राखेका थिए । कांग्रेसबाट ८ मन्त्री बनाउँदा समावेशितालाई ध्यान नदिएकोसमेत आरोप छ । कांग्रेसले बनाएका ८ मन्त्रीमा दलितबाट एकजनाले पनि अवसर पाएका छैनन् ।