सादा जिवन उच्च विचारकी पर्याय राधिका शाक्य

सादा जिवन उच्च विचारकी पर्याय राधिका शाक्य

यो समाज पितृसतात्मक छ, तर, पछिल्लो समय सत्ता र शक्तिमा रहेका श्रीमानको आडमा श्रीमतीहरुले रजगज गरेको घटनाहरु दिनप्रतिदिन बाहिरिरहेका छन् । अझ श्रीमतीहरुको भ्रष्ट कर्तुतकै कारण श्रीमानहरु बदनाम भइरहेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा पुर्व प्रधानमन्त्रीपत्नी आरजू राणा देउवा विवादमा परेकि छिन् । यो प्रकरणसँगै अनेकखाले सेटिङमा नाम मुछिँदै आएकी आरजूकै कारण पुर्व प्रधानमन्त्री देउवा थप बदनाम भएका छन् । त्यस्तै यहीं प्रकरणमा श्रीमती मञ्जु खाणकै करण कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरीको हिरासतमा छन् ।
यसरी श्रीमतीकै कारण सत्ता र शक्तिमा रहेका नेता बदनाम भइरहँदा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको शालिन र सरल शैलीको भने प्रायः चर्चा भइरहेको हुन्छ । श्रीमान् तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अनेक आरोप नलागेका होइनन् तर, श्रीमती शाक्य भने आरोप–प्रत्यारोपभन्दा धेरै पर छिन् ।
पार्टी कार्यकर्तामाझ मात्रै होइनन्, भेटघाटका क्रममा घरमा आउने जो–कोही पनि शाक्यको शालिन व्यवहारबाट प्रभावित भइहाल्छन् । जोसँग पनि मधुर बोल्ने शाक्यको समझदारपूर्ण व्यवहारले नै श्रीमान् केपी शर्मा ओलीलाई राजनीतिको यो उचाइँ प्राप्त भएको भन्दा अतियुक्ति नहोला ।
जिन्दगीका अतिविषम परिस्थितिमा पनि निडर भएर उनले दिएको साथ र प्रेरणाले नै ओलीलाई एक सफल राजनीतिज्ञ बनाएको हो । स्नातकोत्तर गरेकी काठमाडौंकी रैथाने नेवार राधिकाले तत्कालीन समयमा राज्यले देशद्रोही करार गरेको कम्युनिस्ट नेता ओलीलाई साथ दिनु चानचुने त्याग थिएन ।
राजनीतिबाहेक अर्को पेसा नभएका ओलीसँग विवाह गरेर भविष्यलाई खतरामा मोलेकी शाक्यको साथ नै ओलीलाई बरदान सावित भयो । भूमिगत भएर राजनीतिक गर्दा होस् या जेलजीवन बिताउँदा– शाक्यले ओलीलाई शक्तिशाली साथ दिइरहिन् । परिणामतः ओली गृहमन्त्रीहुँदै तिन पटक देशका प्रधानमन्त्री भए, तर उनी कहिल्यै श्रीमतीको नाम जोडिएर बदनाम भएनन् । बरु सधैं श्रीमती शाक्यले दिएको साथकै चर्चा भयो, भइरहेको छ ।

ओलि र शाक्यले केहि बर्ष अघिनै आफ्नो सम्पति आफ्नो सेखा पछि सरकारलाई दिने घोषण गरिसक्नुभएको छ । बालकोटमा रहेको घर शाक्यले नै बैंकमा कार्यरत हुदाँ आफ्नो आय मार्फत निर्माण गरेकी हुन्, आफु रिटार्यड हुदाँ पाएको उपदान, देखि पेन्सन रकम विभिन्न बाल आश्रम, मानव सेवा आश्रम, बाल संगठनका बालबालिहरुलाई लत्ताकपडा, पढाई तथा बृद्धा आश्रमहरुमा दिएकि छन् । राजनितिक गतिविधिमा भन्दा सामाजिक सेवाका कार्यहरुमा शाक्य ब्यस्त रहन्छीन् ।
ओली र शाक्यको कोखबाट बच्चा जन्मिएका छैनन् तर राधिकाले सयौं बालबालिकालाई अभिभावकत्व दिएकी छन् । उनी भन्छिन्, ‘आफ्नो सन्तान नभए पनि मलाई दुःख लाग्दैन, किनकि मैले थुप्रै सन्तानलाई आश्रय दिएकी छु यसैमा गर्व लाग्छ ।’
हो, पुरुषको संरक्षकत्वमा रम्ने र आफूलाई सुरक्षित सम्झने महिलाहरूभन्दा धेरै अभिभारा लिएर पूरातन बुझाइ भत्काउने महिला हुन् राधिका शाक्य । त्यसैले त उनको परिचय ओलीपत्नीको मात्रै छैन, ‘राधिका आमा’ आफैंमा विशाल परिचय हो ।
करिब ३५ वर्षे दम्पत्यजीवनमा ओली–शाक्यबीच अहिलेसम्म ठूलो ठाकठुक भएको छैन । ओलीका हरअप्ठेरामा शाक्यले सघाएकी छिन् । स्वस्थ्यस्थिति कमजोर भएका ओलीका लागि ‘राधिका आमा’ नर्स हुन् भने घरमा अभिभावक ।
शाक्यलाई पनि राजनीतिमा चासो छ । तर, राजनीतिको जटिल खेल मन पर्दैन उनलाई । सोर्स फोर्स पनि उनलाई कसैले लगाउँदैनन् । सबैले शाक्यको स्वभाव चिनेका छन् ।
राधिकाले आफ्नो जीवनका उतार–चढावलाई समेटेर एउटा पुस्तक पनि लेखेकी छिन्– मेरो अनुभूति । जहाँ उनले ओलीको विद्धताको मुक्तकण्ठले प्रशंसा गरेकी छिन् भने ओलीलाई जीवनभर साथ दिने जोखिमपूर्ण लिनुअघि र पछिका धेरै सन्दर्भ उल्लेख गरेकी छन् । ओलीको जेल तथा भूमिगत जीवनबारेका कतिपय सन्दर्भहरु दर्दनाक पनि छन् ।
अनेक चलखेल बुझेर पनि भद्र जीवन बिताउन जानेकी राधिकाको जीवनशैलीबाट अहिलेका धेरै महिलाले बुझ्न र सिक्न जरुरी छ ।

Monika Singh