‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’ : महासचिव पोखरेल

NepalOne
७ जेठ २०८२ २०:३०
राजनीति

देउखुरी (दाङ), ७ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्ने बताउनुभएको छ ।नेकपा एमाले स्थानीय विकास विभाग दाङद्वारा आयोजित कार्यकर्ता र जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले विपक्षीले प्रशंसा गरेमा बाटो बिराएको भनेर बुझ्नुपर्ने बताउनुभयो । “विपक्षीहरूले प्रशंसा गर्न थाले भने आफूले बाटो बिराएको सम्झनुपर्छ । उनीहरूले आलोचना गर्नु भनेको चिन्ताको विषय होइन”, उहाँले भन्नुभयो ।

उहाँले एमालेले विगतका हरेक सङ्कटलाई सामना गर्दै सशक्त रूपमा अघि बढेको र देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित गरिसकेको दाबी गर्नुभयो । पोखरेलले भन्नुभयो, “एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो । हामी लोकतन्त्र र समृद्धिका पक्षमा लडिरहेछौँ ।”

स्थानीय सरकाले गरेका राम्रा कामको प्रचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा एमालेबाट निर्वाचित वडा तथा स्थानीय तहका जनप्रतिनिधिको उपलब्धि र आगामी चुनौतीबारे जानकारी गराइएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नगरस्तरीय विकास योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, स्थानीय विभागका केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया