`

एमाले सचेतकको नियमापत्तिपछि कांग्रेस उपसभापतिले मागे क्षमा

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्को सांसद बोलिरहेका बेला अगाडिबाट हिडेकाेमा  कांग्रेस उपसभापतिले मागे क्षमा मागेका छन् । 

सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेका बेला सत्तारुढ कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का  अगाडिबाट हिडेका थिए । 

प्रतिनिधिसभा नियमावलीमा कुनै सांसद बोलिरहेको बेला अगाडिबाट हिँड्न नहुने प्रावधान छ । सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँड्न नहुने नियमावलीको नियम खड्काबाट उल्लंघन भएको थियो ।

सांसद अधिकारीले बोलिसकेपछि एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउनुभयाे । उहाँले भविष्यमा अरु सांसदहरूलाई पनि काम लाग्ने तर्क गर्दै पटक-पटक हाउसमा एउटा मर्यादाविपरीत काम भइरहेको बताउनुभयाे । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २० (६) बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक-पटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै यसप्रकारको काम सत्तापक्षको माननीयहरूबाट यस प्रकारको काम भइरहेको छ ।

नियमावलीको उक्त व्यवस्था कडाइका साथ पालना गराउन सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराउनुभयाे । सभामुख देवराज घिमिरेले नियमापत्तिको विषयमा ध्यान दिन सांसदहरूलाई आग्रह गर्नुभयाे ।

एमाले सचेतक बर्तौलाको नियमापत्तिका आधारमा सभामुख घिमिरेबाट ध्यानाकर्षण भएपछि कांग्रेसका उपसभापति खड्काले आफूबाट नियम मिचिएको स्वीकार्दै क्षमा मागेका हुन्। उहाँले भन्नुभयाे – अनदेखाको कारणले माननीयले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु ।

लुम्बिनी प्रदेशसभामा  समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश

काठमाडौं – नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएको छ ।

माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

५४ जना सांसदको समर्थनसहित चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेको प्रदेशसभाको सचिवालयले जनाएको छ ।
विश्वासको मत फिर्ता लिएपछि हालका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिन पाउने समय हुन्छ । उक्त समयका लागि १ महिना बाँकि छदै कांग्रेस चोरबाटोबाट सरकार गठनको तयारीमा लागेको हो । 

कोसी प्रदेशमा माओवादी र एमाले सहकार्य नटुट्ने, कांग्रेसकाे असन्तुष्टी

काठमाडौं – केन्द्रमा नयाँ समीकरणसँगै प्रदेश सरकारमा उथलपुथल देखिए पनि कोसी प्रदेशमा भने एमाले र माओवादीबीचको सहकार्य कायमै रहने देखिएकाे छ । दुईवटा प्रदेशमा मुख्यमन्त्री लिइसकेको र केहीमा साढे दुई वर्षपछि आलोपालो पाउने रोलक्रममै बसेको माओवादीले कोसीमा भने एमालेसँग मिलेरै सरकार चलाउन खेजेकाे हाे ।

माओवादी नेताहरु  अंक गणितका कारण कोसी प्रदेशमा समीकरण परिवर्तन गर्न अप्ठेरो भएको  बताउँछन् । ९३ सदस्यीय कोसी प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले छ । एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक मत छ ।

यहाँ बहुमतको सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । नयाँ समीकरणअनुसार सरकार बनाउन राप्रपाले साथ दिनुपर्ने हुन्छ । नभए माओवादीले सभामुख छाड्नुपर्ने हुन्छ ।

दुवै पक्षसँग स्पष्ट बहुमत नभएकोले तत्काल माओवादी केन्द्रले सरकारबाट हात झिक्न नमानेको हाे ।

लुम्बिनी र गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएको माओवादी कोसी सरकारबाट भने नहट्ने भएको छ । माओवादी कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टीले सरकार तत्काल नछाड्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सरकार आलोपालो चल्ने घोषणा गरिसकेका छन् ।

उनकै निर्देशन मानेर लुम्बिनी र गण्डकी प्रदेशबाट माओवादी मन्त्रीहरू बाहिरिसकेका छन् । तर कोसीमा भने माअाेवादीहरु सरकार नछाड्ने मनस्थितिमा छन् ।   प्रचण्डलाई  कांग्रेस र एकीकृत समाजवादीका नेताहरूले अन्य प्रदेशमा १० दलीय गठबन्धनअनुसार चल्ने तर कोसीमा नचले ठीक नहुने भन्दै चेतावनी दिइसकेका छन् । कोसीकै कारण केन्द्रमा पनि नेताहरूबीच सम्बन्ध बिग्रिने सम्भावना  छ । कांग्रेसले  माओवादीको डबल स्ट्यान्डर्ड भूमिका भाे भन्दै आपत्ति जनाएइरहेको छ ।

११ दिन पैदल हिँडेरै काठमाडौँ आइपुगे मिटर ब्याज पीडित,भोलिदेखि प्रदर्शन गर्ने

काठमाडौँ – महोत्तरीको बर्दिबासबाट पैदल हिँडेका मिटर ब्याज पीडितहरू आज ११ औँ दिन काठमाडौँ आइपुगेका छन् । बर्दिबासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतबार काठमाडौँको मातातीर्थ आइपुगेको हो । 

मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोध स्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् ।

मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाडाै‌ँका लागि हिँडेका थिए । भोलि सोमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।

देश बिरामी छ, नागरिकको समस्या समाधान गर्न एकजुट हौँ : शेखर कोइराला (पूर्णपाठ)

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको संकटग्रस्त आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कर तिर्न उद्योग व्यवसायमा निराश बढेकाले देश नै गम्भीर बिरामी अवस्थामा पुगेको बताए । देशको आर्थिक अवस्था सुधार्न र जनताको समस्या समाधान गर्न दलहरु एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पनि चुनौती बढेको बताउँदै उनले गणतन्त्र र अर्थतन्त्रमाथि संकट आउँदा बाह्य कारण खोजेर मात्रै समाधान नहुने बताए ।

गणतन्त्र र अर्थतन्त्रमा आएको चुनौतीको कारण स्वयं राजनीतिक दलहरु रहेका र समाधानका लागि पनि दलहरु नै जिम्मेवार र नैतिक आत्मबोध गरेर गर्नुपर्ने उनको भनाइ छ । 

संसदमा शेखर कोइरालाले भने : जनतामा चुलिएको चरम निराशा नै राजनीतिक प्रणालीको असफलता हो

काठमाडौँ – नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले जनतामा चुलिएको चरम निराशा नै राजनीतिक प्रणालीको असफलता भएको बताएका छन् । उनले अहिले देशमा अकल्पिनीय द्वन्द्व देखिएको बताएका छन् । समाजिक, सांस्कृतिक, नैतिक संकट आएको पनि उनले बताए ।

प्रतिनिधि सभा सदंसदकाे बैठकमा विशेष समय लिएर बाेल्दै उनले लोकतान्त्रिक प्रणालीले यसका पात्रबाट नैतिक मूल्यको अपेक्षा गर्ने उनले बताए । नैतिकतामा राजनीति नटिके प्रणाली नै संकटमा पर्ने बताए ।

मल लिन लाइनमा बसेका, राहदानी लिन र वैदेशिक रोजगारीमा जान लाइन लागेका नेपालीको तस्बिरले देशको राजनीतिक असफलतालाई पुष्टि गरेको उनले बताए ।

करतिर्ने र गरिखाने वर्ग सबै निराश भएको उनले बताए । सबै क्षेत्रका सबै नेपाली हतास र निराश हुनु देशको अर्थतन्त्र सिकिस्त रहेको उदाहरण भएको उनले बताए ।

विप्रेषणको माध्यमबाट देशको अर्थतन्त्र दीर्घकालसम्म चलाउन नसकिने भन्दै उनले यसको विकल्प खोज्नुपर्ने बताए । नेपालमा भित्रिने विप्रेषणले विश्व शितयुद्धले असर गर्ने भएकोले अविलम्ब यसको विकल्प खोज्नुपर्ने बताए ।

सरकारले विश्वसाको मत लिन सजिलो भए पनि जोगाउन वा टिकाउन त्यतिनै गाह्रो भएको उनले बताए ।

उनले पूँजीगत नभई चालु खर्च धान्नका लागि पनि ऋण लिनुपर्ने अवस्था आएको बताए । उनले फजुल खर्च घटाउन सबै राजनीतिक दलहरुले सहमति गरेर अघि बढ्नु पर्ने बताए ।

संसदले जनताको अपेक्षा अनुसार काम गर्न सकेन : निशा डाँगी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निशा डाँगीले निर्वाचन सम्पन्न भएको चार महिनामा संसद जनताको कामप्रति खडा हुन नसकेको बताएकी छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदको काम कारवाही बारे असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले भनिन्, ‘चार महिना भयो निर्वाचन सम्पन्न भएको । तर देश र जनताको पक्षमा यो सदनप्रति जनताले जुन अपेक्षा राखेका थिए, त्यसमा हामि खडा हुन नसकेको स्पष्टरुपमा आभास हुन थालेको छ ।’

सांसद डाँगीले राजनीतिक घटनाक्रम देखाएर संसद जनताका समस्याबाट पन्छिन नमिल्ने बताइन । उनले सभामुखलाई संसदीय समिति कहिले गठन हुन्छन्, कति दिन भित्र प्रतिनिधि सभाको नियमावली पारित हुन्छ भन्दै प्रश्न सोधेकी थिइन् ।

लालपुर्जा वितरणमा सरकारलाई विश्वप्रकाश शर्माको चार सुझाव

काठमाडौं – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई लालपुर्जा वितरणमा सरकारलाई चारवटा सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा भूमि विषय उठाउँदै शर्माले गृहजिल्ला झापाका विभिन्न स्थानका भूमिहीन सुकुम्बासीका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।


उनले झापा बुद्ध शान्ति गाउँपालिका सट्टाभर्नाकी ८० वर्षीया जसमाया केरुङका समस्या उठाउँदै देशका अन्य क्षेत्रमा सुकुम्बासीले पाइरहेका सास्तीबारे ध्यानाकर्षण गराएका हुन् ।

‘जसमाया केरुङ यो सम्मानित सदनमा मैले अहिले उच्चारण गरेको नाम एक आदरणीय आमाको हो ‘उहाँ जहिल्यै सोध्नुहुन्छ– मैले स्वास फेरिरहेको यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ ?,’ शर्माले भने ।

उनले भांगा गोला, प्यारिभिट्टा, मेची डाँडा, टिकापुर, काली झोडा, खम्बुटार, खरे डाँगीसहित देशको अनेकौं भेगका नागरिकले नापी कहिले आउँछ ? लालपुर्जा कहिले पाइन्छ ? भन्दै सोधिरहेको पनि बताए ।

बुद्ध शान्तिलगायत कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण सुरु गरे पनि गरीब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का नराखिएको उल्लेख गर्दै शर्माले नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गरियोस्, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस्, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस् र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस् भनी सरकारलाई सुझाव दिएका छन् ।

जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज

काठमाडौँ – जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको अध्यक्ष सीके (चन्द्रकान्त) राउतले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सामा माधवप्रसाद सिंह इञ्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिनुभएको छ । 

 यसैगरी रौतहटमा वृजकिशोर यादव, सर्लाहीमा श्रीचनराय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इञ्चार्ज तोकिनुभएको सो पार्टीले जनाएको छ ।
 

संसदमा उठ्यो एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले पढिरहेको विद्यालयभन्दा अर्को विद्यालयमा परीक्षा दिन जाँदा परिक्षार्थी र अभिभावकलाई अनावश्यक तनाव भएको धारणा राखे ।

“आगामी सातादेखि एसईई सुरु हुँदै छ । एउटा विद्यालयमा पढिरहेका विद्यार्थीहरु एसईईको अर्को विद्यालयको परीक्षा केन्द्रमा जानुपरिरहेको छ,” उनले भने, “यसले अभिभावक र विद्यार्थीलाई अनावश्यक तनाव बनिरहेको छ । एसईईको व्यवस्था पढिरहेको विद्यालयमा हुने वा होम सेन्टरको व्यवस्था गरियोस् ।”

शेयर बजारमा अब लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ ? : हरि ढकाल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजारमा लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै उनले सरकारमाथि यस्तो प्रश्न गरेका हुन्।

उनले भने, ‘अहिलेसम्म लगानीकर्ताले १४ खर्ब गुमाइसके, अब लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ ?’

पछिल्लो सयम शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु धरासायी भइरहेको सन्ददर्भमा ढकालले सरकारमाथि सवाल गरेका हुन्। 

शेरबहादुर कुँवरको प्रश्न : कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना किन नभएको हो ?

काठमाडौँ – एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालको भूभागमा रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै ती क्षेत्रमा जनगणना नभएको सुनिएको भन्दै किन नभएको हो भन्दै प्रश्न गरेका छन् ।

उनले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।

कोशी प्रदेशमा भएको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं – जनता समाजवादी पार्टीका नेता अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार भएको बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए ।

आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरे ।

गृह नपाएपछि रन्थनिँदै नेकपा एस, मन्त्रीको आकाङ्क्षी धेरै, पार्टी जोगाउनै सकस 

काठमाडौं । संसदमा राष्ट्रिय दलेकोसमेत भूमिकामा नहरेको नेकपा एकीकृत समाजवादीले गृहमन्त्रीको दाबी गरेपछि सरकार विस्तार सकसपूर्ण बनेको छ ।

उता उक्त अधिकांश सांसदहरू नै मन्त्रीको आकाङ्क्षी भएसँगै यत्तिखेर नेकपा एस पार्टीको अस्तविनै  सङ्कटमा पर्ने देखिएको  छ । पार्टीभित्रै मन्त्रीको लागि किचलो उत्पन्न भएसँगै नेकपा एसले सबै सांसदहरूलाई पाँच वर्षभित्र मन्त्री बनाइसक्ने आश्वासन दिएर सङ्कट टार्ने प्रयास गरे पनि उता माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री गृह मन्त्रालय आफैसँग राख्न खोजेपछि सरकारमा लाचार बनेर जान उक्त पार्टी बाध्य बन्दैछ  । 

सम्मानित नेता झलनाथ खनाल निकट रहनुभएका राजेन्द्र पाण्डेले गृह मन्त्रालय लिएर सरकारमा जाने मनसाय बनाए पनि  माओवादीले गृह मन्त्रालय आफैँसँगै राख्ने र नारायणकाजी श्रेष्ठलाई त्यहाँ पठाउने भएपछि एस पार्टी इतिहासकै सङ्कट अवस्थामा छ  । 

सम्मानित नेता झलनाथ खनाल निकट रहनुभएका राजेन्द्र पाण्डेले गृह मन्त्रालय लिएर सरकारमा जाने मनसाय बनाए पनि  माओवादीले गृह मन्त्रालय आफैँसँगै राख्ने र नारायणकाजी श्रेष्ठलाई त्यहाँ पठाउने भएपछि एस पार्टी इतिहासकै सङ्कट अवस्थामा छ  । 

बालुवाटारले आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि मन्त्रीमा कसलाई पठाउने, कसलाई नपठाउने ? भनेर लफडा चलिरहेको छ । माधव नेपाल नेतृत्वको नेकपा एसलाई गृह मन्त्रालय प्राप्त भएमा उपाध्यक्ष राजेन्द्र पाण्डेको सम्भावना थियो भने अर्का उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जानेबारे छलफल चलिरहेको छ ।

 तर ६ महिनापछि रिक्त हुने राष्ट्रिय सभा अध्यक्षमा उनलाई पठाएर अहिले प्रकाश ज्वाला वा भानुभक्त जोशीको व्यवस्थापन गर्ने प्रस्ताव पनि आएपछि झन् किचलो सुरु भएको हो । 

एस पार्टीले दुई क्याबिनेट र एक राज्यमन्त्री पाउने पक्का छ भए पनि मन्त्रालयको टुङ्गो लागेको छैन । त्यस्तो हुँदा एक जना महिला अनिवार्य पठाउने तयारी भइरहेको छ । 

तर, महिला को होलान् ? अहिलेसम्म टुङ्गो लागेको छैन । यदि कोसी प्रदेशको मुख्यमन्त्री राजेन्द्र राई भए भने बागमती प्रदेशबाट राष्ट्रिय सभाकी सदस्य गोमा तिम्सिनालाई पठाउने, राजेन्द्र मुख्यमन्त्री भएनन् भने राष्ट्रिय सभाकै अर्की सदस्य जयन्ती राईलाई पठाउने पार्टी अध्यक्ष माधव नेपालको तयारी छ ।  

तर सुदूरपश्चिमकी गरिमा शाहले पनि आकांक्षा राखेपछि माधव नेपाल तनावमा छन् ।  

एमालेबाट विद्रोह गरेपछि माधव नेपालका निम्ति अन्तिम अवस्थामा विद्रोह गरी आउने तीन भाइमध्येका एक जनालाई अवसर दिन बाँकी छ । त्यसमा किसान श्रेष्ठ र धनबहादुर बुढाले दाबी गरिरहेका छन् । 

पहिलो प्राथमिकता गृह भएकाले त्यो नपाएमा पार्टीभित्रै त्यसको असर पर्ने बताइएको छ ।

पार्टीभित्र प्रेम आलेले पनि मन्त्रीका लागि खुट्टो उचालिरहेका छन् । नयाँ पार्टी गठन भएपछि मन्त्री भइसकेका कसैलाई पनि अहिले नपठाउने नीति पार्टीले बनाउने भए पनि श्रेष्ठ, आले र बुढाले दाबी गरिरहेका छन् । संसद्को यो कार्यकालभरिमा सबै सांसदहरूले मन्त्रीको मौका पाउने गरी फकाउने प्रयास भएपनि आले र श्रेष्ठले टसमस नगर्ने भएसँगै नेकपा एसमा किचलो बढिरहेको बताइन्छ । 

पार्टीभित्र पाण्डेका अतिरिक्त प्रकाश ज्वाला पनि गृह लिएर सरकारमा जानुपर्ने पक्षमा रहेका छन् । उता वरिष्ठ नेता खनालले उपनिर्वाचनमा पनि एउटा सिट भाग लाग्नुपर्ने पक्षमा रहेका छन् ।

माओवादी केन्द्रले नारायणकाजीलाई गृहमन्त्री बनाउने तयारी

काठमाडाैं – सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय आफु नेतृत्वको माओवादी केन्द्रलाई दिने तयारीमा छन् । प्रधानमन्त्री कार्यालय सचिवालयका अनुसार गृह माओवादी केन्द्रले पाए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारीमा छन् ।

उप्रधानसहित भौतिक मन्त्रालय सम्हालिरहेका मन्त्री श्रेष्ठ पनि गृह जान इच्छुक छन् । उनी तत्कालिन एमाले गठबन्धन सरकारको पालामा पनि गृहमा नै जान खोजिरहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह नछाडेपछि उनी भौतिक मन्त्रालय जान बाध्य भएका थिए ।

सचिवालय स्रोतले भन्यो,‘मन्त्रालयको जिम्मेवारी हेरफेर हुने पक्का हो । तर, कसले कुन मन्त्रालय पाउँछ भन्ने बिषय सपथ नलिई भन्न सकिन्न । यद्यपी, सत्ता साझेदार दलसँग मन्त्रालय भागण्डाको बिषयमा छलफल जारी छ । त्यसपछि कसले कुन मन्त्रालय पाउने टुंगिएला ।’

गठनबन्धनमा रहेका काँग्रेसले अर्थ मन्त्रालय पाउने लगभग पक्का भएको छ । त्यसो हुँदा गृह माओवादी केन्द्रले नै पाउने हालसम्मको अवस्था छ । श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि हेरहेर हुने तयारी छ । अहिले मन्त्रालयको नेतृत्व अमनलाल मोदीले गरिहेका छन् ।

मन्त्रालय हेरफेर भए मोदी सहरी विकास वा उर्जा मध्ये एक मन्त्रालयमा जानेछन् । सुचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने यथावत नै रहनेछ । उक्त मन्त्रालयको रेखा शर्माले गरिरहेकी छिन् ।

माओवादीका तीन मन्त्रीहरूले दिए पदबाट राजीनामा

काठमाडौँ – नेकपा माओवादी (केन्द्र)का मन्त्रीहरूले लुम्बिनी प्रदेशमा पदबाट राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको हो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।

उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज (आइतबार)सम्म दल दर्ता गर्न सकिने जनाएको छ।

आयोगले चितवन २, तनहुँ १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत ८ देखि १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

उपनिर्वाचन भाग लिन चाहने राजनीतिक दलहरुले आज (आइतबार) अपराह्न (कार्यालय समय)सम्म दल दर्ता गर्न सक्नेछन्।

आयोगले यसअघि नै चैत १६ गते उपनिर्वाचन प्रयोजनका लागि आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ। कार्यतालिका अनुसार चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।

तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका सासंद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुने तय भएको हो।

चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि उपनिर्वाचन हुने तय भइसकेको थियो।

आयोगले यसअघि चितवन–२ का लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन गर्नेगरी तयारी गरेको हो।

अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्छु : नवनियुक्त आईजीपी

काठमाडौँ – नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता गरेका छन् ।


आइतबार संहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए ।


उनले भने, ‘ प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन । कसैले मार्ग बिराएका भए तिनीहरुले आफूलाई सुधार्नुको विकल्प छैन । प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन । अपराधको रोकथाम, अनुसन्धान, कुनैपनि बहाना र विकल्प बिना शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिक मनमा अमन चयन, कानूनी राज्यको प्रत्याभुति दिलाउन नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन ।’


नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

नवनियुक्त आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

प्रधानमन्त्रीविरुद्ध रंगकर्मीहरूकाे रिट

काठमाडौं – नाट्यकर्मीहरुको एक समूह आन्दोलित भएका छन् । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेको हो ।

पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँंतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ मा गरिएको नाम सिफारि कुलपतिलगायतका नियुक्तहरु र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधानविपरित भएको दावी गरे ।

यसैविरुद्ध आफूहरु न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको जनाए । अदालतले दिने निर्णय आफूहरुले सहर्ष स्वीकार गर्नेसमेत उनीहरुले बताए । उनीहरुले प्रजातान्त्रिक व्यवस्थामा दलहरु नै प्रमुख हुने र दलले नै भागबन्डा गरे पनि त्यो स्वीकार्य भएको तर सक्षम व्यक्तिलाई पदमा राख्नुपर्ने भनाई राखे ।

साथै उनीहरुले नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि प्रश्न गरे । उनीहरुले भने, नियुक्त भएका व्यक्तिहरुको योग्यताबारे जनतालाई बुझाउन हामी सरकारलाई उनीहरुको बायोडाटा सार्वजनिक गर्न चुनौती दिन्छौं ।  

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

सुर्खेत / नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ । यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने उनकाे दाबी छ ।

उनले  निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि  राजनीतिक समीकरण बदलिने स्थित आएपछि  प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे ।

समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिएकाे भन्दै उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । 

 १० दलीय सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दै

काठमाडौँ / १० दलीय सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ। आज दिउँसो बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरूको टुङ्गो लगाउने बताइएको छ ।

सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने र गृह तथा अर्थ लगायतका महत्त्वपूर्ण मन्त्रालयमा कसरी भाग मिलाउने भन्ने सहमति नहुँदा अझैसम्म पनि मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन । 

शनिवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सोमबार सम्ममा  गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।

गठबन्धनको तमासा जनताले हेरिरहेका छन् : विष्णु पौडेल

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनको तमासा अहिले जनताले हेरिरहेको बताएका छन् ।

आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वासको मत पाएको लामो समय बित्दा पनि दश दलिय गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताए ।

उनले भने, ‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन ।’

आरजु राणालाई गोकुल बास्कोटाको चुनौती : उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस्

काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले उपचुनावमा बैशाखीबिनाको कांग्रेस उम्मेदवार उठाएर देखाउन कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई चुनौती दिनुभएको छ ।

मिसन ग्रासरुटको अभियानका क्रममा चितवन खटिनु भएका बास्कोटालाई कांग्रेस नेतृ राणाले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेपछि उहाँले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको जवाफ दिनुभएको हो ।

बास्कोटाले आरजुलाई जवाफ दिँदै ट्विटमार्फत भन्नुभएको छ – आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ।म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त !

शनिवार तरुण दलको कार्यक्रममा गोकुल बास्कोटासँग पराजित कांग्रेस नेता शिव हुमागाईँलगायतले कांग्रेसकै नेता कार्यकर्ताले सूर्यमा भोट हालेको आरोप लगाएपछि आरजुले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसले पार्टीका उम्मेदवार हराएको बताएकी थिइन् ।

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : बाबुराम भट्टराई

कर्णाली – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आइपुग्नुभएका उहाँले आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा  नेकपा ९माओवादी केन्द्र०सँग मात्र नभई त्यसबाहेक अन्य कम्युनिष्ट दलहरूसहितको एउटा समाजवादी धारा निर्माण गर्ने अवधाराणा बनाइएको बताउनुभयो । यसका लागि बृहत् छलफल भइरहेको बताउँदै अध्यक्ष भट्टराईले केन्द्र सरकारले पूर्णता पाएपछि एकताका विषयमा छलफल सुरु हुने जनाउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही तरिकाले अघि बढ्न नसकेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकारसँग शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने अभिभारा छ । मुलुकलाई समृद्धिको दिशामा हाँक्नुपर्ने जिम्मेवारी छ ।” यो गठबन्धन दिगो हुनेमा भने अध्यक्ष भट्टराईले पूर्णरूपले विश्वस्त नरहेको तर्क गर्नुभयो ।

राजनीति शक्ति केन्द्र भएकाले मुलुकमा कति बेला के हुन्छ भन्ने थाहा नहुने भन्दै उहाँले वर्तमान सरकार स्थिर भएर अगाडि बढ्न सकेमात्र देशले सही गति लिने बताउनुभयो । पत्रकार भेटघाटकै क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर गरिएको मुद्दा शान्ति प्रक्रियाको मर्मविपरीत भएको टिप्पणी गर्नुभयो ।

माओवादी पदाधिकारी बैठक : सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने निष्कर्ष

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ढिलोमा आगामी सोमवारभित्रमा मन्त्रिपरिषद् बिस्तार र गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ ।

शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताउनुभएकाे छ । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतवार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताउनुभयाे ।

माओवादी बैठकले गठबन्धन दलहरूसँग छलफल गरेर संसद्को कारबाही प्रभावकारी बनाउने र टिआरसी लगायतका विधेयक पारित गर्नेबारे बैठकमा छलफल भएको बताउनुभयाे ।

कांग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्री अधिकारीको राजीनामा

काठमाडौं – नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ। नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, राष्ट्रपति निर्वाचनमा केन्द्रमा कांग्रेस, माओवादीसहितका दलको गठबन्धन बनेपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ। शुक्रबार माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नभएको पाण्डेले बताए।

‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ’, पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्रि सरुवा बढुवा लगायतको काम गर्नु न्यायसंगत मानिदैन।’

यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतको दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने पनि पाण्डेले बताएका छन्। उनले दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन्।

गण्डकीमा कांग्रेस-माओवादीसहितका दलको गठबन्धनमा सरकार निर्माण हुँदा कांग्रेस संसदीय दलको नेताको हैसियतमा पाण्डे मुख्यमन्त्रीको प्रबल दाबेदार हुन्। उनले अब प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने पनि बताउँदै आएका छन्।

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन्। नेताहरुबीच सामूहिक रुपमा तथा २ पक्षीय वार्ताहरु भइरहेका छन्। तर, सत्ता बाँडफाँडको विषयमा ठोस सहमति हुन सकेको छैन। यसले गर्दा प्रधानमन्त्रीमाथि अझै १६ वटा मन्त्रालयको भार रहेको छ।

आज बस्ने बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ। बैठकले माओवादीको बटमलाइन तय गर्ने बुझिएको छ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने : राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था छ

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेपालको राजश्व संकलनको अवस्था आधा शताब्दीपछिकै निराशाजनक अवस्थामा रहेको बताएका छन् ।

आज बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् ।

पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै सबै मिलेर समाधान खोज्नुपर्ने आग्रह गरे । उनले भने, ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन, २०२४-२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’

मुलुकको संकटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरु सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई संकट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्न पौडेलले आग्रह गरे ।

अध्यक्ष ओलीले गरे लुम्बिनीको अवलोकन भ्रमण

रूपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विश्व शान्तिको मुहान लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् ।

उनको साथमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, सांसदहरू, पूर्वमन्त्रीहरू र पार्टीका नेताहरू सहभागी थिए ।

अध्यक्ष ओलीले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभाहल र लुम्बिनीमा निर्मित गुरुयोजना अजुरुपका विभिन्न संरचनाको बारेमा जानकारी लिएका छन् । त्यसअवसरमा कोषका उपाध्यक्ष भिक्षू अवधेश त्रिपाठी, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलगायतले विभिन्न विषयमा जानकारी गराएका हुन् ।

कपिलवस्तुमा पार्टीले संचालन गरेको मिसन ग्रासरूट अभियानमा सहभागी हुन अध्यक्ष ओली गएका हुन् ।

गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गर्‍यो 

काठमाडौँ – गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।

सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरेको छ । जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ । 

सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । यसैगरी, मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्यूठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रजिअ, धनकुटाकी लीलाकुमारी केसी (पाण्डे) लाई पाँचथरको सप्रजिअ, दोलखाका प्रजिअ शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रजिअ, रामेछापका प्रजिअ शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रजिअमा सरुवा गरिएको छ । 

यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङका प्रजिअ वसन्तराज पुरीलाई सहायक प्रजिअ दोलखा, पर्वतका प्रजिअ चित्राङ्गत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रजिअ र प्यूठानका प्रजिअ वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रजिअमा सरुवा गरिएको छ । 

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रजिअहरु क्रमशः कृष्णचन्द्र पौडेल, मुकेशकुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्यूठान, धनुषा र धनकुटाको सहायक प्रजिअ बनाई पठाएको जनाएको छ ।

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सहज हुने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सहज हुने बताउनुभएको हो । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेकाले उनीहरूको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उल्लेख गर्नुभयो । लैङ्गिक असमानता हुँदा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने भएकाले यसप्रति सरकारको गम्भीरताका साथ ध्यान पुगेको उहाँको भनाइ छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा महिला सशक्तीकरण तथा नेतृत्व विकास र उद्यमशीलतामार्फत अर्थतन्त्रमा महिलाको योगदानलगायत विषय प्राथमिकताका साथ उठाइने आयोजकले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भने : दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ

काठमाडौँ – उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् ।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र सरकारको सकारात्मक हस्तक्षेप आवश्यक भएको उनले बताए ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं । यो कुरामा सरकार गम्भिर भएको जानकारी गराउँदै र तपाईहरुसँग नियमित छलफल र अन्तरक्रियामा रहने बचन दिन्छु ।’

कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए । “मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ”, उनले भने ।

महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिए । उनले भने– “केही साथीहरु भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन । जे पाएको छु, लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडी बढेको छु ।”

महामन्त्री थापाले जनताको असन्तुष्टी र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने जिकिर गरे । “सरकारले जनतालाई राहत महसुस गराउनुपर्छ”, उनले भने । आजभन्दा भोलीको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न उनले सुझाव दिए । कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको महामन्त्री थापाको गुनासो थियो ।

आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्ने उनले जिकिर गरे । विसं २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको महामन्त्री थापाले बताए ।

‘माधव नेपाल र प्रचण्डको पार्टीले बोकेको विचार गैरकम्युनिष्ट विचार हो’ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं  – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादीसँग पार्टी एकता गर्दा पार्टीभित्र धेरै विकृति र विसङ्गति देखिएको बताउनुभएको छ।  

आज भक्तपुरमा आयोजित प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले माओवादी अलग भएर गएपछि झन पार्टी चलायमान भएको बताउनुभयो। संगठनमा देखिएको अनुशासन र अराजकताको खोजी गर्न पार्टी तलसम्म पुग्ने ग्रासरुट अभियानमा लागेको उहाँले प्रष्ट पार्नुभयो ।

पार्टी भित्र देखिएको समस्या पहिचानको लागि मिसन ग्रासरुट सञ्चालन गरिएको उपमहासचिवले बताउनुभयो । उहाँले भन्नुभयो ‘संगठन भित्र देखिएको अनुशासनहीनता ठोस रूपमा पहिचान गर्न मिसन ग्रासरुट आयोजना गरिएको हो।’

समस्याको पहिचान गरेपछि मात्र त्यसको उपचार गर्न सकिने बताउँदै गुरुङ अभियान पछि समस्या पहिचान गरेर समाधानको उपाय खोजी गरिने बताउनुभयो । कुन समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा पार्टी नेतृत्व लाग्ने उहाँले प्रष्ट पार्नुभयो ।

जनताबाट अलग भएको कम्युनिष्ट पार्टी समाप्त हुने उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो पाठ नेकपा माओवादीबाट सिक्नु पर्छ । कम्युनिष्टको शक्ति जनतामा छ, त्यसकारण हामी जनताको बीचमा जानु पर्‍यो ।’

नेकपा एमाले सही विचारकै कारण लोकप्रिय भएको गुरुङले बताउनुभयो । एमालेको विचारलाई खिया लाग्न नदिन निरन्तर अर्जाप्नु पर्नेमा उहाँले जोड दिनुभयो । यसैको लागि नियमित प्रशिक्षण, समीक्षा र छलफल गर्नु पर्ने गुरुङले बताउनुभयो ।

पार्टी भित्र देखिएको दक्षिणपन्थी अवसरवाद र अराजकतावाद अन्त्य गर्नु आजको मुख्य विषय भएको उहाँले बताउनुभयो । यसको लागि पार्टी र हरेक जनवर्गीय संगठनमा सुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेलाई घेराबन्दी गर्न शत्रुसँग मिल्ने माओवादी र समाजवादी गद्दार भएको उहाँले गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो, ‘माधव नेपाल र प्रचण्डको पार्टीले बोकेको विचार गैरकम्युनिष्ट विचार हो।’

कम्युनिष्ट पार्टीको जन्म नै स्वतन्त्र र स्वाधीनताको लागि भएको कुरा बिर्सिएर प्रचण्ड र माधव नेपाल विदेशीसँग लम्पसार पर्न पुगेको बताउनुभयो । उनीहरूले कम्युनिष्ट पार्टीको आदर्श, सिद्धान्त, नीति र विचार बिर्सिएको उहाँको भनाइ छ ।

मुलुकमा साम्प्रदायिकताको लागि कुनै स्थान छैन :अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ ।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट जनवर्गीय सङ्गठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको सङ्गठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको अध्यक्ष ओलीले बताउनुभयो ।

विदेशमा बसेर फर्केकाहरूले केही ज्ञान, केही सिप, केही सङ्कल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुभयो ।                                             

अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरूको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताउनु भयो।                                                             

नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । 

महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोग चलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो । 

महानगरले पटक पटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ । 

कमर्स क्याम्पसमा निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि मतदानकाे समय सर्‍याे

काठमाडौं – नेपाल कमर्स क्याम्पसमा स्ववियु चुनाव निर्धारित समयभन्दा सारिएकाे छ । शनिबार मिति तय भए पनि मतदान गर्ने समयमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि समय सारिएकाे हाे । 

क्याम्पस प्रमुख प्राध्यापक धुवप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन भएपछि चुनावी प्रक्रिया अघि बढ्न सकेको थिएन । निर्वाचन अधिकृत बस्नेतले ११ः३० देखि ५ः३० सम्मको लागि मतदान समय तोकिएको सूचना निकालेका छन् । 

८ बजेदेखि ४ बजेसम्म हुने भनिएको मतदान प्राविधिक कारण रोकिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । क्याम्पसमा चुनाव हुनुपर्ने माग गदै नेविसंघले आन्दोलन गरेको थियो । 

प्रतिक्रिया

उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने रास्वपाको निर्णय

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

यसैगरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ ।

नेपालमा दुई जना काेराेना संक्रमित थपिए

काठमाडौं / नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

२८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । 

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।