`

मुलुकमा साम्प्रदायिकताको लागि कुनै स्थान छैन :अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ ।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट जनवर्गीय सङ्गठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको सङ्गठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको अध्यक्ष ओलीले बताउनुभयो ।

विदेशमा बसेर फर्केकाहरूले केही ज्ञान, केही सिप, केही सङ्कल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुभयो ।                                             

अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरूको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताउनु भयो।                                                             

नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । 

महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोग चलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो । 

महानगरले पटक पटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ । 

कमर्स क्याम्पसमा निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि मतदानकाे समय सर्‍याे

काठमाडौं – नेपाल कमर्स क्याम्पसमा स्ववियु चुनाव निर्धारित समयभन्दा सारिएकाे छ । शनिबार मिति तय भए पनि मतदान गर्ने समयमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहिन भएपछि समय सारिएकाे हाे । 

क्याम्पस प्रमुख प्राध्यापक धुवप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन भएपछि चुनावी प्रक्रिया अघि बढ्न सकेको थिएन । निर्वाचन अधिकृत बस्नेतले ११ः३० देखि ५ः३० सम्मको लागि मतदान समय तोकिएको सूचना निकालेका छन् । 

८ बजेदेखि ४ बजेसम्म हुने भनिएको मतदान प्राविधिक कारण रोकिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । क्याम्पसमा चुनाव हुनुपर्ने माग गदै नेविसंघले आन्दोलन गरेको थियो । 

प्रतिक्रिया

उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने रास्वपाको निर्णय

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

यसैगरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ ।

नेपालमा दुई जना काेराेना संक्रमित थपिए

काठमाडौं / नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

२८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । 

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् । 

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं – प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो । 

एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ । 

वैशाख १० मा हुने उपनिर्वाचनमा रास्वपा एक्लै लड्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन-२, तनहुँ-१ र बारा-२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउछौं’ उहाँले भन्नुभयाे ।

बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।

नेपाल प्रहरीको प्रमुखमा कुँवर

काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो।

काेशी प्रदेश सरकार एमालेले टिकाउँछ : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वकाे काेशी प्रदेश सरकार नढल्ने बताउनुभएकाे छ।

आज गृह जिल्ला झापाकाे बिर्तामाेडमा आयाेजित पार्टीकाे मिसन ग्रासरुट अभियान सम्बन्धी कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले काेशी प्रदेश सरकार एमालेले टिकाउने बताउनुभयाे।

अन्य प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलेपनि कोशी प्रदेशको सरकार टिक्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘अहिले काेशी प्रदेशमा सरकार हामी टिकाउँछाैं, टिकाउँछाैं भन्ने मुख्य कुरा-आधार राप्रपा हाे, हाम्राे ४० छ, राप्रपासँग ६ सिट छ, हामी एउटा खाेज्छाैं ।’ 

काेशी प्रदेशकाे नामाकरण गरेकाेमा अध्यक्ष ओलीले काेशी प्रदेश सभा, प्रदेश सभा सदस्य र विशेषगरी मुख्यमन्त्री हिक्मत कार्कीलाई उहाँले धन्यवाद दिनुभयाे । उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीज्यूलाई धन्यवाद प्रदेशकाे नाम राख्न सफल हुनुभयाे, धन्यवाद छ कार्की प्रदेश राख्नु भएन, सबैले मागेका छन् । आफ्ना नामबाट, कसैले के कसैले के प्रदेश राख्नु भनेकाे बेला उहाँले पनि आँटेर एउटा नाम राखेकाे भएकाे के हुन्थ्याे । काेशी प्रदेश राख्नुभयाे, सबैकाे साझा नाम राख्नुभयाे ।’ काैशिक ऋषिकाे नामबाट काेशी नदीकाे नाम राखिएकाे भनेर भ्रम फैलाइएकाे समेत उहाँले बताउनुभयाे ।

प्रदेश-१ काे नाममा विराेध गर्नुकाे कुनै तुक नरहेकाे भन्दै अध्यक्ष ओलीले सबैकाे साझा काेशी नाम उचित भएकाे बताउनुभयाे। प्रदेश सभाकाे दुईतिहाइले फैसला गरेर गरेकाे विधिसम्मत निर्णयलाई विराेध गर्ने कुनै कारण नरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

एमाले, कांग्रेस, माओवादी, राप्रपा, जसपा कसैले विराेध नगरेका भन्दै उहाँले देखिने गरी फाटाेवादी पुँजीवादी पार्टी बाहेक कसैले विराेध नगरेका बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘चुनावअघि प्रदेश-१ थियाे, अहिले काेशी नाम भएकाे छ, टुक्रिएकाे हुनाले एकीकृत छ कांग्रेसका पछाडि लागेकाले समाजवादी छ त्यसले मात्रै काेशी नामकाे विराेध गरेकाे छ, साम्प्रदायिकता फैलाउन खाेज्ने, मानिस-मानिसबीचमा  विवाद उत्पन्न गराउन खाेज्नुकाे अर्थ छैन, काेशी नभएर जातका नाममा, के-केका नाममा भन्नुकाे अर्थ छैन, काेशी नै थिएन भने सभ्यता कहाँबाट आउँछ ?’

प्रदेश-१ अर्थात काेशी १ नम्मरमै रहेकाे पनि बहुमत आउन नसकेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘तुलनात्मक रुपमा राम्रै भयाे, तर बहुमत ल्याउन नसक्नु राम्राे हाेइन, हामीलाई यस प्रदेशमा ४७ भाेट चाहिन्छ ४० भाेट ल्यायाैं, १० भाेट ल्याउन नसकिने स्थिति थिएन, तर ल्याउन सकिएन त्यसकाे खाेजी तपाइँहरु गर्दै हुनुहुन्छ हाेला ? कमशेकम ५० चाहिन्छ तर याे हाम्राे गढ क्षेत्र हाे यत्तिले पुग्दैन, यसले राष्ट्रपति र राष्ट्रिय सचा निर्वाचन त्यसकाे क्षतिपूर्ति भर्नुपर्छ, यदि अन्यत्र अपेक्षित परिणाम आएन भने यहाँकाे परिणामले ।’

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन । विश्वासको मतका लागि भएको मत विभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ रहेको  बागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए ।

जम्कट्टेललाई काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।

मागेजति मन्त्रालय र उपनिर्वाचनमा एक सिट नपाए सरकारमा जान्नौं : झलनाथ खनाल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सरकार गठन र आसन्न उपनिर्वाचनमा एक सिट दिने सहमति नभए पार्टी सरकारमा नजाने बताउनुभएकाे छ । 

सरकारलाई पूर्णता दिने र उपनिर्वाचनमा गठबन्धन टिकाइराख्न आफ्नो दलले सम्मानजनक स्थान पाउनुपर्ने उहाँको दाबी छ । संघीय सरकारमा प्रतिनिधित्वका लागि तीनवटा मन्त्रालय र उपनिर्वाचन हुन लागेका बारा–२, तनहुँ–१ र चितवन २ गरी तीनमध्ये कुनै एक ठाँउमा आफ्नो पार्टीले साझा रुपमा उम्मेदवारी दिने वातावरण बन्नुपर्ने उहाँले स्पष्ट पार्नुभयाे ।

पार्टी कामको सिलसिलामा पाँचथर आइपुगेका खनालले शुक्रबार बिहान पत्रकार सम्मेलनमा भन्नुभयाे, ‘‘संघीय सरकारमा तीन मन्त्रालय र संघीय संसद्मा रिक्त बारा २,चितवन २ र तनहुँ–१ मध्ये एक सिटमा सहमति नभए सरकार बाहिरै रहन्छौं ।’

गठबन्धन मुलुकको आवश्यकता भए पनि छिनछिनमा नयाँ समीकरण बन्नु देशका लागि घातक हुने उहाँको टिप्पणी थियो । 

राहुल गान्धीको सांसद पद खारेज

नयाँदिल्ली – काँग्रेस आईका पूर्व अध्यक्ष तथा लोकसभा सदस्य राहुल गान्धीको सांसद पद खारेज भएको छ।

राहुल गान्धी केरलको वायनाडबाट लोकसभामा सांसद हुन्। लोकसभा सचिवालयले मानहानि मुद्दामा दुई वर्षको जेल सजाय भोगेपछि राहुल गान्धीको सदस्यता खारेज गर्न सूचना जारी गरेको हो।

दुई वर्ष वा त्यसभन्दा बढी सजाय पाएपछि सांसद वा विधायकको सदस्यता स्वतः समाप्त हुन्छ। राहुलको संसद् सदस्यता समाप्त भएपछि कांग्रेसले आफ्ना नेतालाई सत्य बोलेकोमा सजाय दिइएको बताएको छ।

भारतीय जनता पार्टी (भाजपा)ले भने राहुललाई लिएर लोकसभा सचिवालयको निर्णयलाई देशको हितमा रहेको बताएको छ।

लोकसभा सचिवालयले मानहानि मुद्दामा दुई वर्षको जेल सजाय भोगेपछि राहुल गान्धीको सदस्यता खारेज गर्न सूचना जारी गरेको हो। लोकसभा सचिवालयले अधिसूचनामा राहुल गान्धीलाई मानहानि मुद्दामा सुरतको मुख्य न्यायिक मजिस्ट्रेटको अदालतमा २ वर्षको जेल सजाय सुनाइएको जनाएको छ।

यस्तो अवस्थामा केरलको वायनाडका सांसद राहुल गान्धीको संसदीय सदस्यता २३ मार्च २०२३ देखि समाप्त हुन्छ।

भारतीय संविधानको धारा १०२ (१) (ई) को दफा ८ बमोजिम जनप्रतिनिधित्व ऐन (पीपल अफ रिप्रजेन्टेशन एक्ट), १९५१ अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।

लोकसभा महासचिव उत्पलकुमार सिंहद्वारा हस्ताक्षरित यो सूचनाको प्रतिलिपि राहुल गान्धीलाई पनि पठाइएको छ। साथै  राहुलको सदस्यता समाप्त भएको सूचना राष्ट्रपति सचिवालय, प्रमुख निर्वाचन आयुक्त केरल, लोकसभा सचिवालयका सबै शाखालाई पठाइएको छ।

काँग्रसे आईले भने यसको विरोध गरेको छट। कांग्रेस महासचिव जयराम रमेशले ट्विट गर्दै भनेका छन्, ‘हामी चुप लागेर बस्दैनौँ। हामी कानुनी र राजनीतिक रूपमा यो लडाइँ लड्नेछौँ।’

मिसन ग्रासरुटका बाँकी काम चैतभित्रै सम्पन्न गर्न उपाध्यक्ष पौडेलको निर्देशन

धनगढी – सुदूरपश्चिम प्रदेशमा पार्टीको मिसन ग्रासरुट कार्यक्रमको मध्यावधि समीक्षा गरिएको छ । बिहीबार साँझ जुम बैठक मार्फत नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा  कार्यक्रमको समीक्षा गरिएको हो । 

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भएको मध्यावधि समीक्षा कार्यक्रममा उपाध्यक्ष पौडेल सङ्गै, सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा प्रदेश सह इन्चार्ज कर्ण थापा र केन्द्रीय कमिटीले प्रदेशका सबै स्थानीय तहमा खटाएका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र नौ वटै जिल्ला कमिटीका पदाधिकारी सहभागी रहेको सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । 

मध्यावधि समीक्षामा सहभागीहरूले कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । मिसनकै बीचमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका कारण नेताहरू काठमाडौं जानु परेकाले निर्धारित कार्यक्रममा विलम्ब भएको बताउनुभएको थियो । 

उपाध्यक्ष पौडेलले मिसन ग्रासरुटका बाँकी कामहरू चैत महिनाभित्रै सक्न निर्देशन दिनुभएको प्रदेश कमिटी सचिव पाठकले जानकारी दिनुभयो । जुम बैठकमा समीक्षा कार्यक्रम पार्टीका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

गण्डकी प्रदेशमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता

काठमाडौँ – गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार बसेको गण्डकी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिने भएका छन् ।

मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् ।

प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाए

काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाएका छन् । 

शुक्रबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा प्रचण्डले सबै मन्त्रीलाई तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिएका हुन। 

सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्‍बाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ।

नयाँ आईजीका लागि वसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली, दीपक थापा प्रतिस्पर्धामा रहेका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसकाे दाबी

देउखुरी – नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । प्रदेशमा नयाँ गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीको दाबी गरिरहेको बेल कांग्रेस प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो । यसबाट सरकारको नेतृत्वमा दाबी गरिरहेको माओवादी केन्द्रलाई वर्तमान सरकारबाट बाहिर आउन दबाव परेको छ ।

नेकपा (एमाले) का मुख्यमन्त्री लीला गिरीको नेतृत्वमा माओवादी केन्द्र अहिले सरकारमा रहेको छ । प्रदेशसभामा नेपाली कांग्रेस २७ सदस्यका साथ दोस्रो स्थानमा छ ।

शुक्रबारको बैठकपछि कांग्रेस संसदीय दलका नेता डिल्लीराम चौधरीले यसअघिकै गठबन्धनमा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले अब प्रदेशको नेतृत्व नेपाली कांग्रेसले स्वाभाविकरुपमा पाउनुपर्ने बताउनुभयो । यद्यपि लुम्बिनी प्रदेश आफ्नो आधार इलाका भएको भन्दै माओवादी केन्द्रले यस प्रदेशको नेतृत्व सहजरुपमा छाड्न चाहिरहेको छैन ।

बिहीबार माओवादी संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आन्तरिक विवादका कारण उक्त विषयले बैठकमा प्रवेश नै पाएको थिएन ।

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

शुक्रबार बागमती प्रदेशसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरे ।

उनले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए ।

केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाको भनाई छ ।

प्रचण्डसँग माधव नेपालकाे माग- मुख्यमन्त्रीसहित केन्द्रमा तीन मन्त्रालय दिनुस्

काठमाडौँ – नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटबार्ता भएको छ ।

शुक्रकार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माधव नेपालले संघमा तीन मन्त्रालय र प्रदेशमा मुख्यमन्त्रीको माग गर्नुभएको छ । माधव नेपालको भनाई उदृत गर्दै समाजवादीका एक नेताले भन्नुभयो,‘संघमा तीन मन्त्रालय प्रदेशमा मुख्यमन्त्री दिनुस्’,उहाँले भन्नुभयो ।

उहाँहरुबीच मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको पनि बताईएको छ । केन्द्र सरकारमा एमालेको सहभागिता नरहेपनि सुदूरपश्चिमबाहेक सबै प्रदेश सरकारमा एमाालेको सहभागिता यथावत नै रहेको छ ।

१० दलीय गठबन्धनबाट भने नेकपा एसलाई २ मन्त्रालय दिने तयारी छ ।

निरन्तर सुनको भाउ उकालाे

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएके थियो । 

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।

गत आइतबार सुनको मूल्यले कीर्तिमान रेकर्ड कायम राख्न सफल भएको थियो । सो दिन सुनको मूल्य तोला २ हजार ९०० रुपैयाँ बढेको थियो । उक्त दिनको कारोबारमा सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियाे । 

यसैगरी बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँ बढेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनको साधारणसभा आज बस्दै

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको साधारणसभा आज बस्दै छ । सभामा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावमा छलफल हुनेछ ।

यस कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । 
आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ । 

उक्त सभा आज त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुने साल्ट ट्रेडिङले जनाएको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौँ – राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा आयोजित राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

यसअघि ०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक विवरणमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० थियो ।

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै

काठमाडौँ  – नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

नेकपा(एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिनुभयो । 

एमाले सरकारबाट बाहिरिएसँगै नेपाली काँग्रेस सरकारमा सहभागी हुने बताइएको छ । 

गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र)का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए । 

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ । 

गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेस सहभागी नभएपछि उक्त दिन अबेर विश्वासको मत लिने कार्यक्रम आजका लागि लागि सारिएको थियो । 

मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले विश्वासको मत लिन लागेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । 

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दोस्रो ठुलो दल नेकपा ९एमाले० सहित नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी पाँच दलका ७० प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेल नेतृत्वको सरकारलाई गत माघ ३ गते ठुलो दल काँग्रेसले समेत विश्वासको मत दिएको थियो । 

आज मन्त्रिपरिषद् बैठक बस्दै, ३० औँ आइजीपी नियुक्ति गर्ने तयारी

काठमाडौं – मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैडकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाँदै हुनुहुन्छ । सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

आईजीपीको दाबेदारमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु हुनुहुन्छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति हुनुभएको थियो ।उहाँहरूमध्ये एक जना आइजीपी बन्नुहुनेछ ।

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजिपी बनाउन सक्ने उल्लेख छ ।

यही चैत १० ( आज) मा प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानुहुनेछ ।

हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनः रिक्त हुन्छ ।

हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यविधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ ।

यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्को आलोचनासमेत हुने गरेको थियो । पूर्व प्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउनुहुन्छ । गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति हुनुभएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ ।

एआइजीमा पदोन्नति हुनुभएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वोच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुनुहुन्छ । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाउनुभएको थिएन ।

बज्राचार्यसँगै डिआइजीमा बढुवा हुनुभएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि पर्नुभएकाले उहाँ महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गर्नुभएको हो ।

कामपाले न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्दै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौँमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको हो । सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरी ४ सय ५० पालिकाबाट सहभागिता हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो ।

स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चुनौती सम्बन्धी अनुभव सिकाई र भोगाई आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उहाँले बताउनुभयो । सम्मेलनको पहिलो दिन विभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोस्रो दिन विवाद निरूपण काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगोलले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरू नजिकैको सरकारी कार्यालयहरूमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौँ महानगरले आवश्यक कानुन तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिनुभयो ।

जारी भएका कानुनी प्रबन्धको कार्यान्वयन गर्दै सबै वडामा महिला सञ्जाल गठन भइरहेको उहाँले बताउनुभयो । न्यायिक समितिमा आउने धेरै विवादहरूमा बहाल र कोठा खाली गराउने विषयका छन् । उक्त विषयलाई व्यवस्थापन गर्न महानगरले घर बहाल व्यवस्था निर्देशिका जारी रहेको महानगरले जनाएको छ ।

लघुवित्तिय संस्थाहरूले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौँ गर्यो प्रदर्शन

काठमाडौँ – लघुवित्तिय संस्थाहरूले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौँ विरोध प्रदर्शन गरेको छ ।

लघुवित्तिय संस्थाहरूका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका ब्युरोले काठमाडौँको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर, जनताको जीवनशैली सहज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरू वित्तीय संस्थाबाट पीडित रहेको बताए । उनले लघुवित्तिय संस्थाहरूले ज्यादती नरोकिएसम्म निरन्तर सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।

लघुवित्तिय संस्थाहरूका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुँदै आएको छ ।

बजार अनुगमन गरेर राजश्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । 

‘राजश्व छलि नियन्त्रणसम्बन्धि जति पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस् । कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस् ।’ 

आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन निर्देशन दिएका उनले  भने, ‘छलफल गर्ने, नीति पनि बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहनु हुँदैन। अनुगमन बोर्डरमा मात्र होइन, आन्तरिक बजारको पनि गर्नेगरि व्यवस्था मिलाउनुस् ।’ 

छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायीहरू उपस्थित थियो । 


छलफलमा जुत्ता चप्पल व्यवसायीका प्रतिनिधिहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताए । 

लोसपाको निर्णय : दश दलीय गठबन्धनमा भाग लिएर सरकारमा जाने, बारा २ मा उम्मेदवारी दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दश दलीय गठबन्धनमा भाग लिएर सरकारमा जाने निर्णय गरेको छ ।

बिहिबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा लोसपाले यस्तो निर्णय गरेको हो । कार्यकारिणी समितिको बैठक पछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता शरदसिंह भण्डारीले अहिलेको गठबन्धनलाई पाँच बर्षसम्म टिकाएर लैजाने बताए । उनले सरकारमा जान गठबन्धन दलसँग कुरा गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको जानकारी दिए ।

उनले भने, ‘जनताले चुनावबाट गठबन्धनलाई अनुमोदन गरेका थिए । तर, सरकार बन्ने बेलामा राजनीति ट्रयाक बाहिर गयो । अहिले ट्रयाकमा फर्केको छ। यसलाई पाँच बर्षसम्म जोगाएर लानुपर्छ ।’

यस्तै, बैठकले पार्टीलाई नयाँ शिराबाट विकास गर्नको लागि संगठनलाई सदृणिकरण अभियान चलाउने बताए । उनले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा लोसपाले पनि उम्मेदवारी दिने बताए ।

‘मधेश प्रदेश हाम्रो आधार भूमि हो । त्यो भएकाले हाम्रो भूमिका रहन्छ नै । हामी गठबन्धन दलको सदस्य पनि हौं । यो गठबन्धन निर्वाचनको लागि बनेको हाृेइन। पार्टी विस्तार गर्न र आफ्नो प्रभाव क्षेत्र हेर्नको लागि पनि स्वत उम्मेदवारी रहन्छ नै’ उनले भने ।

पत्रकारहरुको पेसागत र भौतिक सुरक्षाका लागि कोष स्थापनास्थापना गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सञ्चार माध्यमको पेसागत र भौतिक सुरक्षाका लागि कोष स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घको राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बिमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताउनुभएको हो ।

उहाँले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न सङ्घ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिबद्धता रहेको जानकारी दिनुभयो । वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले प्रविधिमैत्री सरकार र नेतृत्वको सकारात्मक भूमिका एवं पहलबाट मात्रै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रुततर रूपमा अगाडि बढ्ने सङ्कल्पमा रहेको धारणा राख्नुभयो ।

त्यस्तै नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अहिले नागरिकहरू निराश भइरहेको भन्दै सरकार सजक हुनुपर्ने बताउनुभयो । अहिले कुर्सीमा बसेका प्रधानमन्त्री डराउनुपर्ने भन्दै प्रधानमन्त्री डराए नागरिक डरबाट मुक्त हुने उहाँले बताउनुभयो । नागरिकको स्वतन्त्रतासँग हरेक सरकार त्रसित हुने गरेको उल्लेख गर्दै उहाँले नागरिकको स्वतन्त्रताका बारेमा सञ्चारमाध्यम सचेत हुनुपर्ने थापाको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामुदायिक रेडियोको दिगोपनाका लागि राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै रेडियोमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सम्बोधनको पूर्णपाठ :

कार्यक्रमका अध्यक्षज्यू, 
विशिष्ट अतिथिज्यूरू,
रेडियो क्षेत्रका विज्ञ विदेशी पाहुनाहरू, 
कुटनीतिक नियोगका प्रतिनिधिज्यूहरू,  
देशभरिका रेडियोहरूबाट प्रतिनिधित्व गर्दै आउनुभएका सामुदायिक रेडियो प्रसारक, रेडियोकर्मी तथा रेडियोप्रेमीहरू, 
उपस्थित आदरणीय महानुभावहरू ।

विश्व इतिहासमा रेडियोको इतिहास १२८ वर्ष पूरानो मानिन्छ । नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुग्यो । रेडियोको स्थापनासँगै शिशु अवस्थामा रहेको प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुग्यो । आज देशभरि ६०० भन्दा रेडियोहरू सञ्चालनमा आएका छन्, हजारौँ सञ्चारकर्मीहरू रेडियोमा कार्यरत हुनुहुन्छ, लाखौँ स्रोताको सूचना एवं समाचारको प्राथमिक माध्यम रेडियोहरू हुने गरेका छन् । यो आफैमा महत्वपूर्ण उपलब्धि हो ।

नेपालको सन्दर्भमा सामुदायिक रेडियोहरूले एफएम रेडियो प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हक प्रवाहका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको र सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएका छन् । यो हामी सबैका लागि खुसीको विषय हो ।

राजनीतिक परिवर्तनका लागि गरिएको महान् जनयुद्ध, दोस्रो जनआन्दोलन एवं न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका न्यायपूर्ण आन्दोलनहरूमा रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सामुदायिक रेडियोहरूले जुन भूमिका निर्वाह गरेका थिए, संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरूद्ध र लोकतान्त्रिक प्रणालीको विकासका निम्ति रेडियोले खेलेको भूमिकासमेत त्यत्तिकै महत्वपूर्ण छ । साथै सामाजिक विभेद, कूरिति एवं बिसंगतिका विरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा यहाँहरूले निर्वाह गर्नुभएको भूमिकाले सभ्य समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक भएको यथार्थलाई हृदयंगम् गरी देशको भाषिक र सांस्कृतिक विविधता संरक्षण र सम्वर्धनमा रेडियोहरूले लिएको पहलकदमीसमेत स्मरणीय छ । मातृभाषाका माध्यमद्वारा विभेदमा पारिएका, सूचनाको पहुँच एवं भाषिक ज्ञानको अभावमा राष्ट्रिय मूलप्रवाहीकरणबाट बञ्चितिकरणमा पारिएका स्रोताहरूका लागि विविध भाषाका समाचार र खोजमूलक सामग्री निकै प्रभावकारी देखिएका छन् । राष्ट्रको महत्वपूर्ण पुँजीको रूपमा काम गरिरहेका यस्ता सञ्चारमाध्यमहरूको दीगो विकास एवं व्यवस्थापनको जिम्मेवारी हाम्रो साझा जिम्मेवारी हुन आइपुगेको छ । यसतर्फ गम्भीर रूपले ध्यान दिन सम्वद्ध सबैमा आग्रह गर्दै वाक् तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दछु।

महाभूकम्प, कोभिड–१९ लगायत राष्ट्रिय विपद् र चुनौतीको कठिन समयमा चुनौतीविरूद्ध संघर्ष गर्न, नागरिक सचेतना एवं अभिमुखीकरणका निम्ति रेडियोहरूले चलाएका कार्यक्रमहरू निकै प्रभावकारी देखिएका छन् । बन्दाबन्दीको समयमा विद्यालय, विश्वविद्यालय लगायत सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा समेत ‘रेडियो शिक्षा कार्यक्रम’मार्फत् पठनपाठन नियमित गर्न र शैक्षिक सत्र नै अप्ठ्यारोमा पर्ने परिस्थितिबाट बचाउन सामुदायिक रेडियोहरूले खेलेको भूमिका कहिल्यै बिर्सिन सकिन्नँ । पाठ्यक्रम विकास केन्द्रले उत्पादन गरेको बिभिन्न कक्षाका पाठ्यक्रमलाई निशुल्क रूपमा रेडियोबाट प्रसारण गरेर नेपालका सामुदायिक रेडियोहरूले डिजिटल स्कुलको जिम्मेवारीसमेत पूरा गर्नु देशकै लागि प्रेरणाको विषय हो ।

नेपालको संविधानले रेडियो सञ्चालन एवं नियमनको जिम्मेवारी तहगत रूपमा संघ, प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गरेको छ । तर, संविधानमा व्यवस्था गरिएका एकल र साझा अधिकार सूचिको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत र कानुनी प्रावधानहरू पर्याप्त छैनन् । यससम्बन्धि आवश्यक कानुनहरूको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारूप तयार गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै नीतिगत र कानुनी रूपमा देखिएका समस्या र उल्झनहरू सुल्झाउन नेपाल सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

वर्तमान सरकार सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध छ ।

आमसञ्चार माध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसंख्याप्रति लक्षित राष्ट्रिय, प्रादेशिक वा स्थानीय, गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार, साना, मझौला र ठूलो लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गरिनेछ । सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिवद्धता छ । 

पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।

आजको युग विज्ञान–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग हो । चौंथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिंगो विश्व आइपुगेको छ । आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस् । हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ । तसर्थ, सूचना–प्रविधिको विकास र यसबाट सिंगो विश्व र हाम्रो राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्वलाई हामी सबैले आत्मसात गर्नैपर्छ । प्रविधिमैत्री सरकार र नेतृत्वको सकारात्मक भूमिका एवं पहलबाट मात्रै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ ।

प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेपश्चात् राजनीतिक स्थिरता, सरकारको भविष्य र राजनीतिक वृत्तमा देखिएका अनेकौं आशंकाहरू निवारण भएका छन् । संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढतापूर्वक अगाडि बढिरहेको वर्तमान सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा छ । मैले दृढताका साथ संकल्प गरेको छु– सम्पूर्ण तागतका साथ निरासा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोटमा यहाँहरूको दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको छु । तपाईहरूजस्ता प्रतिष्ठित सञ्चारमाध्यमहरू समस्याको उजागार गर्ने, त्यसको विश्लेषण गर्ने र आलोचनात्मक रूपमा सम्प्रेषण गर्ने जिम्मेवारीमा त हुनुहुन्छ नै, साथसाथै सरकारले गरेका सकारात्मक प्रयास र प्राप्त उपलब्धिलाई जनसमुदायमा सम्प्रेषण गरेर ‘देशमा केही हुन्छ, हामीले गरे सकिन्छ, देश निर्माणको जिम्मेवारी हामी सबैको साझा हो’ भन्ने विचार र भावनासमेत सम्प्रेषण गर्नुहुनेछ भन्ने मेरो गहिरो विश्वास छ ।

अन्तमा, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) २५ औं स्थापना दिवसका अवसरमा सम्पूर्ण सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्यको प्रतिवद्धतासहित विदा हुन्छ, धन्यवाद ।

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्तालिने तयारीमा दलहरु

दाङ – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रसहितका दलहरुले एमाले नेतृतवको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजावादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका हुन् ।

गत पुस २७ गते नेकपा माओवादी केन्द्रसहित नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा एमालेको नतृत्वमा सरकार बनेको थियो । पाँच दल र स्वतन्त्र सासदहरुको समर्थनमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री लीला गिरीले माघ ५ गते विश्वासको दिएका थिए ।

सरकार गठनका लागि समर्थन दिएका दलहरुले समर्थन फिर्ता लिने तयारीसँगै लुम्विनी प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ । समर्थन फिर्तासँगै लुम्विनी प्रदेशमा नयाँ सरकार गठनको छलफल सुरु हुुन थालेको छ । माओवादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार लुम्विनी प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलहरु बाहिरिने तयारीमा बताउनुभयो ।

एमाले र राप्रपा बाहेकका दलहरुबीच आन्तरिक छलफल समेत भइरहेको उहाँको भनाइ छ ।

आज नेपाली कांग्रेस, माओवादी केन्द्र , नागरिक उन्मुुक्ति, जसपा, लोपसा र स्वतन्त्र सासंदहरुबीच छलफल हुन लागेको छ । लुम्बिनी प्रदेशका ८७ सांसद मध्ये सरकार गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री लीला गिरीले एमाले २९ , माओवादी केन्द्र ९, नागरिक उन्मुक्ति ४, राप्रपा ४, लोसपा ३, जसपा ३ र स्वतन्त्र सांसद ३ गरी ५५ जना सासंदको समर्थन पाएका थिए । अब मुख्यमन्त्री गिरीले एमाले र राप्रपाका गरी ३३ सांसदले मात्र साथ पाउने देखिन्छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिन ढिलाइ गरेका कारण सरकार समर्थित दलहरुको तयारीले चाँडै पूर्णता पाउन नसकेको नागरिक उन्मुक्ति पार्टीका प्रमुुख सचेत राजकुमार चौधरीको भनाइ छ ।

प्रधानमन्त्रीलाई गगनले भने : नागरिकलाई नतर्साउनुस्,देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुस्

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्।

आज सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले म साँच्चिकै डराएको छु। मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु। नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ। एक्लै बिहान बेलुका एक्लै बस्दा खेरी। म आग्रह गर्न चाहन्छु कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एक पटक सोच्नुस्। आफूसँग भएको एक एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस्’ उनले भने, ‘कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ। प्रधानमन्त्रीले बायाँ हेर्‍यो भोट दायाँ हेर्‍यो भोट मसँग त १७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउको टाउकोले मञ्च भरिन्छ तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ।’

महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए। उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए।

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिनुभयो । 

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने वा सत्तागठबन्धनका साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा पार्टी सरकारमा सहभागी हुने विषयमा पनि छलफल हुनेछ । 

१२०० रुपैयाँ बढ्यो सुनकाे भाउ

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार बढेको हो।

यता, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 त्यसैगरी, बिहीबार २५ रुपैयाँले बढेर  चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। 
 

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१८ अंकले घट्याे

काठमाडौं – प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ ।

नेप्से परिसुचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । 

यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)को आगामी वैशाख १० गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न कार्यकारिणी समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा मुख्यतः बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।
लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेवारेमा पनि बैठकमा छलफल हुनेछ ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन यहि चैत्र १० गते हुँदै

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन यहि चैत्र १० गते (शुक्रबार) हुने भएको छ ।

युवा संघको जिल्ला अधिवेशन काठमाडौँको गोल्फुटार स्थित ताज प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।

अधिवेशन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लगोको युवा संघले जनाएको छ ।

सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको हाे : शंकर पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने बताए ।

उनले भने, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोच राख्दैनौँ ।’

पोखरेलले सरकार देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधिमा लागे एमालेले सधैँ विरोध गर्ने बताए ।

सवारीसाधन लिलाम नगर्दा नष्ट हुँदै

जनकपुरधाम – विभिन्न मितिमा प्रहरीले बरामद गरे जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरु लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन् । 

प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरुमा मोटरसाइकल ६८०, तीन पांग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरु लिलाम हुन नसकेको छैन । करोडौ मुल्य पर्ने सो सवारीसाधानहरु भन्सार परिसरमा यत्रयत्र राखिएकोले घामपानीका कारण नष्ट हुन थालेको छ । 

२०७८ पुस महिनामा लिलाम भएयता हालसम्म कुनै प्रकारको सवारीसधानहरु लिलाम हुन नसकेको भन्दै भन्सार प्रमुख केशवराज ओलीले लिलामी प्रक्रिया झन्झटिलो भए पनि निकट भविष्यमै सो सवाधानहरु लिलाम गर्न सूचना निकालिने बताए । 


ति सवारीसधानहरु चोरीपैठारीमा प्रयोग हुँदै आएको र प्रहरीले विभिन्न मितिमा बरामद गरि भन्सार कार्यालयलाई बुझाएको हो ।

आज गृह जिल्ला झापा जाँदै एमाले अध्यक्ष ओली

काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । अध्यक्ष ओली आज दिउसो १ः०० बजे भद्रपुर हुँदै दमक आउने कार्यक्रम रहेको नेकपा एमाले कोसी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अध्यक्ष ओलीले भोलि (शुक्रवार) मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेको ४३ वटा आवास भवनको  एकै पटक उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौँ फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानको हालसम्मको अवस्थाका बारेमा पनि अध्यक्ष ओलीले जानकारी गराउनुहुनेछ । 

यसैगरी झापा सञ्चालन भइरहेको ग्रासरुट अभियानको बारेमा पनि नेताहरू जानकारी गराउने तयारी गरेका छन् । 

जुवातास खेलेकाे आराेपमा दुई भारतीयसहित १६ जना पक्राउ

भक्तपुर / भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थली स्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेकाे आराेपमा पक्राउ परेका छन् ।उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका- ३९ वर्षीय दिलिप गिरीले संचालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ । थप् अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

चरेससहित भारतबाट दुई नेपाली पक्राउ

दार्चुला / चरेससहित भारतमा दुई नेपाली पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुवँरलाई पक्राउ गरेको हो ।

तीन किलो ६८० ग्राम चरेशसहित उनीहरूलाई सोमबार बेलुकी ७ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । 

बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।