`

पठानको कमाई १ हजार २० करोड भन्दा बढी

मुम्बई, १६ फागुन । शाहरुख खान अभिनित पठानले १ हजार २० करोडको ब्यापार गरेको छ ।


यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।

गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखाको सहित दिपिका पादुकोण, जोन अब्राहमलगायत छन । 

झन्डै ४ बर्ष पछि फर्केका शाहरुखनलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले दिएको दबाबलाई पनि यो फिल्मले बलिउडलाई समेत राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल बन्ने भएको छ ।
 

मंगलवारकाे बिनिमयदरः अमेरिकी डलरकाे भाउमा वृद्धि, युरोको घट्यो

काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको भाउ १३ पैसाले वृद्धि भएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि सोमबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा तोकिएको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसा घटेको हो। सोमबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा कायम गरिएको थियो।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ४ पैसाले घटेको छ । सोमबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको मंगलबारको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको छ। सोमबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको थियो ।

मंगलबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा कायम गरेको छ भने मंगलबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा तोकिएको छ ।

उता, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ६६ पैसा तोकिएको छ भने सोमबार भने साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर भएको थियो ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको छ।

राष्ट्रपति निर्वाचनः आज उम्मेदवारको नाम सार्बजनिक हुने

काठमाडौं / निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज सार्बजनिक गर्ने भएको छ ।राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।

गत १३ फागुनमा  नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । उनीहरु बिरुद्ध उजुरी आब्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।आगमी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुदैँछ ।

माथिल्लो मैलुङ खोलाद्धारा आइपीओका लागि धितोपत्र बोर्डमा निबेदन

काठमाडौं, १६ फागुन । माथिल्लो मैलुङखोला जलविद्युतले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा माथिल्लो मैलुङखोला जलविद्युतले निवेदन दिएको छ।

धितोपत्र बोर्डका अनुसार कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न  बोर्डमा निवेदन दिएको हो।

बोर्डबाट आइपीओ निष्कासन तथा बिक्री अनुमती पाएपछि कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर निष्कासनका तथा बिक्री गर्ने मैलुङखोला आयोृजनाले छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले सो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय  र सर्वसाधरणहरुका लागि बिक्री गर्ने छ।
 

प्रावधिक समस्या पछि स्पेश एक्सको रकेट उडान अन्तिममा राेकियाे

काठमाडौं, १६ फागुन । नासाका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा चार अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्सको रकेटको प्रक्षेपण रोकिएको  छ।

उडान भर्न लागेको अन्तिम समयमा आएर देखा परेको प्राविधिक समस्याका कारण प्रक्षेपण रोक्नु परेको स्पेश स्टेशनले जनाएको छ । 

क्यानेडी स्पेस सेन्टरबाट रकेट उडान भर्नु दुई मिनेट अघि मात्र उक्त रकेट रोकिएको हो। स्पेस एक्सले तत्काल यसको जानकारी दिँदै मौसममा खराबी नआएको खण्डमा अब उक्त उडान मंगलबार गरिनेछ। 

स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरीक्ष यात्री, एक रुसी अन्तरीक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारी अवस्थामा  थिए। 

यस्तै, रकेटबाट सबै इन्धन निकालिएको थियो, त्यो बेलासम्म चारै अन्तरीक्षयात्री भने रकेटभित्रै रहेका थिए । कमान्डर स्टिफिन बोवेनले आफूहरु भित्रै सुरक्षित रहेको जनाए पछि उनीहरु सबै‍लाई भित्र नै राखेर सबै इन्धन निकालिएको हो ।

स्टेशनका इन्जिनियरहरुको अनुसार इन्जिन इग्निशन फ्लूइठको लोड गर्नका लागि उपयोग गरिने उपकरणमा समस्या आए पछि चार अन्तरिक्ष यात्रीसहित उडान भर्न लागिएको रकेट दुई मिनेट अघि स्थगन गरेर इन्धन निकालिएको हो । अहिले रकेट पुर्ण रुपमा सञ्चालनका लागि योग्य भएको छ ।

सम्भवतः आजै उडान भर्ने गरी तयारी अवस्थामा राखिएको छ, स्पेश एक्सले भनेको छ ।
 

मुगुमा पावर हाउस बनेकाे दुई दशक नाघ्याे तर बत्ति बलेन्

मुगु १६ फागुन । जिल्लाको मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना एक दशक बढि  बिति सक्दा पनि हाल सम्म बल्न सकेको छैन ।

२०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको करिब २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हालसम्म सञ्चालनमा आउन नसक्दा बत्ति नबलेकाे हाे ।  

यो जलबिधुत आयोजना बाट २५ किलो वाट बिद्युत उत्पादन गर्ने क्षमता रहेको दुई वटा माँग्री र मह गाँउमा बस्ने ३ सय भन्दा बढी घरधुरीलाई लक्षित गरी निमार्ण गरीएको थियो । 

उक्त आयोजना बाट करोडौं रकम हिनाबिना भएको र टाठा बाठाहरुले मात्र उपभोक्ता समितिमा बसि मागि खाने भाडो बनाएको बताईएको छ ।  साबिकको जिल्ला बिकास समितिको कार्यालय मुगु अन्तरगर्त रहेको दुर्गम बिकास क्षेत्रबाट सञ्चालीत यस च्याप्नेगाढ साना जलबिधुत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको थियाे । 

राधा कन्टक्सनले कुनै काम नगरेको सामान आयोजना स्थलमा नपुराएको भष्टचार गरेको भन्दै पुनः आफ्नो अध्क्षयतामा नयाँ समिति गठन गरी  काम सुरु गरे पनि अघि बढन नसकेकाे  कोषाध्यक्ष पाद्मा नाङगेल लामाले बताए । उनका अनुसार साे अायाेजना बनाउन दाताहरुकाे खाेजी गरिएकाे ५।

२०५८ साल बाट यस आयोजना सुरु भए पनि पछिल्ला २० बर्षामा  धेरै समिति हेरफेर भैसकेका छ तर विद्युत निमार्ण हुन सकेको छैन । विद्युत निमार्णको लागी भएको खर्च २६ लाख दुर्गम बिकास कोषको, साबिकको माग्री गाबिसको ५ वडा देखी ९ बडा सम्म लक्षित कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायू परीवर्तन कार्यक्रम लापाको ९ लाख १० हजार, संसद बिकास कोष लगायत अन्य बिभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलबिधुत आयोजनाको २० लाख रकम गरि जम्मा १ करोड १४ लाख भन्दा बढि रकम खर्च भई सकेको छ । 

विधुत पावर हाउसमा मात्र केही दिनको लागी मात्र बत्ति बलेकाे तर गाँउमा भने जनताहरु अन्धकारमा नै बस्नु परेकाे छ । बिधुत नवल्दा बिशेष गरेर बालवालिकालाई पठनपाठनमा प्रभावित भएका छन् भने वृद्धवृद्धाहरु लाई पनि झन सास्ती हुने गरेको स्थानियकाे भनाई छ । 

मेरी बास्सैमा फेरी जोडिए माग्ने बुढा, थपिइन बेनिसा हमाल

काठमाडौं, १६ फागुन ।  हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन्।

आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ ।

मिडिया हबद्ये केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ ।

मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगैं बेनिशा हमाल पनि देखिनेछिन् । मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो। 

आफूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताएका छन्। 

सन्दीपले खेल सकिएको पन्ध्र दिन भन्दा धेरै समय बस्न नपाउने

सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सशर्त विदेश जान दिने अनुमति दिएको छ। “खेल समाप्त भएको मितिले स्वदेश फर्कँदा लाग्ने युक्तिसङ्गत म्यादबाहेक १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित हुनुपर्ने,” शर्त राखिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले पत्रकारहरूलाई जानकारी दिए।

न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छोड्ने निर्णयलाई पनि सदर गरेको छ। अदालतले उनको राहदानी रोक्का रहेको भए फुकाउन समेत आदेश दिएको छ।

लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग-२ शृङ्खलामा खेल्न जानका लागि गत बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

यूएईमा सोमवारबाट आईसीसी विश्वकप लीग-२ शृङ्खला सुरु भएको छ।अदालतले लामिछानेलाई यूएई जान अनुमति मागिएको निवेदन र धरौटीमा रिहा गर्ने निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन दुवैलाई सँगै राखेर सुनुवाइ गरेको थियो।

तर सर्तसहित उनलाई रिहा गर्ने पाटन अदालतको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा दायर गरिएको निवेदन शुक्रवार हेर्न नभ्याइनेमा राखिएको थियो। अदालतको आदेशकै कारण नेपाल क्रिकेट सङ्घले यूएई शृङ्खलाका लागि राष्ट्रिय टोलीमा लामिछानेको नाम समावेश नगर्ने निर्णय लिएको थियो।

यसअघि अघिल्लो साता काठमाण्डूमा सम्पन्न आईसीसी विश्वकप लीग-२ शृङ्खलामा चारवटा खेलमा लामिछानेले १३ विकेट लिएका थिए। क्रिकेटर लामिछानेले बिहीवार मात्र आफू यूएईमा हुने शृङ्खलामा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएका थिए। बीबीसी

फरक क्षमता भएका टि–२० क्रिकेटः भारत बिरुद्ध खेल खेल्न आज नेपाली टोली जाँदै

काठमाडौं, १६ फागुन । फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि नेपाली टोली भारत जाँदैछ ।

नेपाल र भारतबीच हुने  १५ खेलाडीसहित १८ सदस्यीय टोली भारतको हरियाणामा आयोजना हुने खेलमा सहभागी हुन आज प्रस्थान गर्न लागेका हुन । नेपालले भारतसँग फागुन १९, २० र २१ गते खेल्नेदैछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेका थिए ।

कप्तान सन्तोष भण्डारीको नेतृत्वमा १८ खेलाडी आज प्रस्थान गर्दैछन, जसमा प्रशिक्षकमा सुवास लुइटेल, व्यवस्थापक अन्जना मास्के र अफिसियलमा ह्वीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा टोलीमा समावेश छन ।
 

अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिवन्ध

लमजुङ १६ फागुन । लमजुङमा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिवन्ध लगाइएको छ ।

बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले सोमवार सुचना जारी गरी घरपालुवा सुगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाईन फिभर संक्रमणले छोटो समयमा नै महामारीको रुप लिन सक्ने भएकाले वंगुर ओसारपोसारमा रोक लागएको हो । 

उच्च मृत्युदर भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मको लागि बेसीशहर नगरपालिकाबाट बंगुर तथा वंगुरजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसारपोसार गर्न प्रतिवन्ध लगाईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिए । 

यस रोगको संक्रमण बेसीशहर नगरपालिका वडा नं. ६ र ८ मा देखिएको छ । दुवै वडाका विभिन्न फार्ममा पालिकाएका वंगुर मर्न थालेपछि प्रयोगशाला परिक्षणबाट अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको पशुचिकित्सक डा.श्रेष्ठले वताए । उनका अनुसार उक्त रोगको संक्रमणबाट हालसम्म ८० वटा बंगुर मरेका छन् । 

रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा ओसारमा रोग लगाइएको र स्वाइन फिभर पुष्टि भएका क्षेत्रमा जैविक सुरक्षाका विधिहरु अपनाउन भनिएको पशुचिकित्सक डा. श्रेष्ठले बताए  । 

केपिलासगढी गाउँपालिकामा ३७ प्रतिशत वजेट खर्च

खोटाङ, १६ फागुन । खोटाङको केपिलासगढी गाउँपालिकाले सात महिनामा ३७ प्रतिशत वजेट खर्च गरेको छ ।

गाउँपालिकाले माघ मसान्तसम्ममा कूल वजेटको ३७.८२ प्रतिशत वजेट खर्च गरेको हो । गाउँसभा तथा हिउँदे गाउँसभामा गाउँपालिकाको कूल वजेट ४५ करोड ९४ लाख ३४ हजार ७०९ रुपैयाँमध्ये १७ करोड ३७ लाख ६७ हजार ७१४ रुपैयाँ बजेट खर्च भएको जानकारी दिइएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म चालुतर्फ ४५.०८ प्रतिशत र पुँजीगततर्फ २२.७३ प्रतिशत रकम खर्च गरेको लेखापाल राजकुमार खत्रीले जानकारी दिए ।

यस्तै, माघ मसान्तसम्म प्रक्षेपित राजश्वमध्ये ७४.४७ प्रतिशत राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । साउनदेखि माघ मसान्तसम्म गाउँपालिकाले ६७.८३ प्रतिशत योजना सम्झौता गरेको र १०.०५ प्रतिशत योजना फछ्र्यौट गरिसकेको योजना शाखा प्रमुख सन्तोष राईले जानकारी गराए । 

गाउँसभाले बर्खे अधिवेशनपछि प्रदेश सरकारबाट प्राप्त छ वटा र संघीय सरकारबाट प्राप्त तीन वटा कार्यक्रमलाई वार्षिक वजेटमा समावेश गरेको छ । वडाबाट संशोधन भएर आएका सम्पूर्ण कार्यक्रमलाई गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । गाउँसभाले केही पालिका स्तरीय कार्यक्रमलाई पनि संशोधन गरेर नयाँ थप कार्यक्रम बनाएको छ । 

पेरिस ओलम्पिकका लागि महिला खेलाडीकाे प्रशिक्षण १९ फागुनवाट, टोलीमा को को छन् ?

काठमाडाैं, १६ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटको लागि नेपालको महिला टोलीको प्रशिक्षण १९ फागुनवाट सुरू हुने भएकाे छ ।

महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरे पछि प्रशिक्षण भने १९ पफागुनवाट सुरू गरिने भएकाे हाे । प्रारिम्भक टोलीको बन्द प्रशिक्षण एन्फा कम्प्लेक्समा हुनेछ ।

मुख्य प्रशिक्षक अनन्तराज थापाका अनुसार सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू नेपालमा हुँदैछ । उनका अनुसार नेपाल टोलीले अफगानिस्तान र भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । जसअनुसार  नेपालले आफ्नो पहिलो खेल अप्रिल ८ मा अफगानिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा भियतनामसँग खेल्नेछ । 

प्रारम्भिक महिला टोली

एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अन्जली वाइबा, सरु लिम्बु, रेनुका नगरकोटे, सविता राना मगर, निर्मला विक, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, र सारा बज्राचार्य

समयसिमा भन्दै चार महिना अघि नै माछाखोलावाट बिधुत उत्पादन सुरु

गोरखा – माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन समय सिमा भन्दै चार महिना अघि बाट नै सुरु भएको छ ।

धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको आयोजनावाट चार महिना अघि नै उत्पादन सुरु भएको  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोृजनाको सोमबार बालुवाटारबाट भर्चुअल रुपमा विधु उत्पादनको उद्घाटन गरेका छन् । 

विधुत प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विधुत उत्पादन गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा ४ महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु भएको हो ।

सो क्षेत्रका सांसद बजगाईंले १३२ केभीएको ट्रान्समिसन लाइन निर्माण तत्कालै गर्नुपर्नेमा जोड गर्दैै त्यसका लागि गोरखामा जग्गाको कुनै समस्या नरहेको जानकारी प्रधानमन्त्री दाहाललाई दिएका थिए  । बजगाईंले ट्रान्समिसन लाइन नबन्दा धेरै जलविद्युत् आयोजनालाई समस्या हुन थालेकोतर्फ प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका छन ।

गैरआवसीय नेपालको मुख्य लगानी र स्थानियको सहयोगमा सो आयोजना निमार्ण भएको हो ।
जलविद्युत् कम्पनीका  गैर आवासीय नेपाली संघका सचिव खगेन्द्र न्यौपानेलेले सरकारले एनआरएनलाई लगानी गर्ने बातावरण बनाए अन्य क्षेत्रमा पनि लगानी भित्रयाउन सकिने जनाएका छन । 

करिब एक करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकहरूको छ भने राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी रहेको न्यौपानले जानकारी दिए । 
 

सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली

काठमाडौं । सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

गत कात्तिक ३ गतेको मन्त्रिपरिषद्ले यादवको उपचारका लागि रकम निकासा गर्ने निर्णय गरेको थियो । सोअनुसार मन्त्रालयले कात्तिकमै २५ लाख रुपैयाँ निकासा गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा ९एकीकृत समाजवादी०का नेता झलनाथ खनालले सरकारबाट २० लाख रुपैयाँ सहायता लिएका छन् । उनलाई उपचारका लागि सरकारले रकम दिएको हो । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयबमोजिम रकम निकासा गरिएको हो । खनाललाई उपचारका लागि सरकारले गतवर्ष पनि ५८ लाख ५३ हजार रुपैयाँ दिएको थियो ।

त्यस्तै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुईपटकमा २७ लाख रुपैयाँ दिइएको छ । गत भदौमा काठमाडौं महानगरपालिका–११ स्थित प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूहको अक्षयकोष वृद्धिका लागि १० लाख दिइएको छ । प्रतिनिधिसभा निर्वाचनका दिन झडपमा ज्यान गुमाएका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई सरकारले गत माघमा प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

सरकारले आर्थिक सहायताका नाममा साउनमा ९२ लाख, भदौमा १ करोड ४१ लाख, असोजमा २५ लाख, कात्तिकमा ४४ लाख, मङ्सिरमा १ करोड ३० लाख, पुसमा ८८ लाख र माघमा २४ लाख रुपैयाँ बाँडेको छ । विशेषतः चुनाव लागेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले आफ्नो क्षेत्रका सर्वसाधारणलाई आर्थिक सहायता उपलब्ध गराउनेदेखि लिएर क्षेत्र केन्द्रित आयोजनामा बजेट रकमान्तर, बहुवर्षीय स्रोत सुनिश्चितता गरेको अर्थ मन्त्रालयको विवरणले देखाएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कारागारका कैदी-बन्दी तास–मदिरामा लठ्ठ

इलाम । क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहँदा यहा“का कैदी–बन्दी भने इलाम कारागारलाई ‘सुधार गृह’का रूपमा रहेको बताउने गर्दथे ।

थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्न कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदी–बन्दीलाई कारागारमा राखिन्छ ।

कारागारभित्र कानुनद्वारा वर्जित कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न पाइँदैन । तर, इलाम कारागारमा भने कानुनद्वारा वर्जित मदिरा, जुवातास तथा मोबाइल फोन प्रयोग हुने गरेको पाइएको छ ।

कैदीबन्दीले कारागार मदिरा सेवन र तासको अखडा बनाइरहेका छन् । कारागारभित्र निषेधित वस्तु प्रवेश हुनुमा कार्यालय कर्मचारी र सुरक्षाकर्मीको ‘सेटिङ’बिना सम्भव छैन ।

कैदीबन्दी बाहिर निस्कनै पाउँदैनन्, निस्किँदा पनि प्रहरीले हतकडी लगाएर कामको प्रयोजनका लागि लाने गरिन्छ । बाहिरका मान्छेले खानेकुरा कैदीलाई लैजाँदा लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै प्रवेश गराइन्छ ।

तर, इलाम कारागारमा ‘सेटिङ’बाटै मदिरा भित्रने गरेको पाइएको छ । कैदी–बन्दी मदिरा सेवन, तास र चुरोट प्रयोग गरिरहेको भिडियोसमेत बाहिरिएको छ ।

जिल्ला कारागार इलामका जेलर सुमित मगर सो भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्छन् । उनका अनुसार सो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदी–बन्दी अहिले पनि यहीँ छन् । केही छुटेर र सरुवा भइसकेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

नारायणहिटी सङ्ग्रहालयमा आजबाट ई–टिकेटिङ सेवा शुरू

काठमाडौं । नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।

पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गरेका थिए । त्यसको ८ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उद्घाटन गरेका थिए । सोही वर्ष फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्ग्रहालयको उद्घाटन गरेका थिए ।

त्यसपछि नेपाली विद्यार्थी रहेका छन् । पछिल्लो समय सार्क मुलुकका पर्यटकको आकर्षण बढ्दै गएको समितिले जनाएको छ । नेपालमा आउने भारतीय मुलुकको पर्यटकमध्ये अधिकांशले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । समितिले सङ्ग्रहालय अवलोकन गर्न विद्यार्थीले ५०, सर्वसाधारणलाई २ सय, सार्क र चीनका पर्यटकलाई जनही ५ सय र अन्य मुलुकका पर्यटकसँग १ हजार रुपियाँ लिने व्यवस्था छ ।

सङ्ग्रहालय प्रशासनले ९ वर्षभन्दा मुनि र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । समितिले सोही टिकटको आधारमा स्वर्गीय राजा वीरेन्द्रको निजी निवास श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न मिल्ने व्यवस्था गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

दुई महिनामै किन टुट्यो ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। यससँगै उक्त पार्टी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ।

दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगेका थिए। तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो। त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो। तर, उक्त सहमतिविपरीत दाहालले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई साथ दिएका छन्।यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

बालकोटमा बनेको गठबन्धन तोडेर दाहालले यही फागुन १२ गते कांग्रेससहितको आठ दलको नयाँ समीकरण बनाएका हुन्। त्यस क्रममा दाहाल साढे २ वर्ष, त्यसपछि माधवकुमार नेपाल एक वर्ष र चुनाव गराउने गरी अन्तिममा डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति बनेको चर्चा छ। यही गठबन्धनबाट पौडेल राष्ट्रपति उम्मेदवार बनेका हुन्। एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ।

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

काठमाडौँ । तत्कालीन सत्ता गठबन्धनका प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संवैधानिक दायित्व थपिएका छन्। उहाँले प्रतिनिधि सभामा फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

त्यसका साथै उहाँले नयाँ गठबन्धनका दलहरूलाई मिलाएर मन्त्रिमण्डल पुनर्गठन पनि गर्नुपर्ने हुन्छ। एमाले, राप्रपा र रास्वपाले लिएका मन्त्रालयसमेत गरी अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा १६ वटा मन्त्रालयको कार्यभार रहेको छ।

संविधानको धारा १००(२) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
नयाँ गठबन्धनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र अघिल्लो गठबन्धनमा रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा सामेल भएको छ। याे खबर गाेरखापत्र दैनिकमा छ ।

आर्थिक सहायताका नाममा ५ करोड वितरण, पहुँचवालाकै लुट

काठमाडौं । बितेका सात महिनामा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड बाँडेको छ । चालू आर्थिक वर्षको बितेको सात महिना गत साउनदेखि माघ मसान्तसम्ममा सरकारले १ सय ३९ जनालाई ‘व्यक्तिगत’ आर्थिक सहायतास्वरूप कुल ५ करोड ४६ लाख ३४ हजार वितरण गरेको हो ।

सरकारले बाँडेको रकम लिनेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललगायत छन् ।

अर्थ मन्त्रालयद्वारा सोमबार सार्वजनिक बितेका ७ महिनाको तथ्यांकअनुसार सरकारले झन्डै साढे ५ करोड बाँडेको छ । गत ३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई औषधि उपचार खर्चबापत २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

त्यस्तै, मंसिरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ राहतस्वरूप दिइएको छ । गत ३१ भदौमा तथा ७ असोजको निर्णयअनुसार सो रकम वितरण गरिएको उल्लेख गरिए पनि पूर्वप्रधानमन्त्री खनाललाई ‘कुन प्रयोजनका लागि रकम उपलब्ध गराइएको हो’ भन्ने उल्लेख छैन । याे खबर राजधानी दैनिकमा छ ।

किन हुन्छ हिउँदे वर्षा ढिलो ?

काठमाडौँ । यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो। सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ। हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो। मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकैरुपमा लिइन्छ। तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताइन्। उनले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकै रुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उनले उल्लेख गरिन्।

‘हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ। हिउँदयाममा चट्याङ र असिनारहितको वर्षा भएको छ’, मौसमविद् कँडेलले भनिन्। नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिन प्रि–मनसुन मानिन्छ। यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उनले बताइन्। याे खबर नागरिक दैनिकमा छ ।

नुवाकोटमा ग्याँस सिलिन्डर पडकिदा आगलागी, मानवीय क्षती भएन

नुवाकोट, १६ फागुन । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ ।

बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन ।

ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ । बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । 
 

मुआथाईमा नेपालका खेलाडी बरुणको थाईल्याण्डमा ह्याट्रिक

काठ्माडौं, १६ फागुन । नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाईल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा ह्याट्रिक गरेका छन् ।

थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेश्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका हुन् । गुरुङले बैंककमा आयोजित केएटी रोड शो इपिशोडमा किक बक्सिङ रुल्समा थाई फाइटरमाथि टेक्निकल नोकआउट (टिकेओ)मार्फत लगातार तेश्रो जित निकाल्न सफल बनेका छन् । 

नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका गुरुङले गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका थिए । यस्तै, थाइल्याण्डको पटायाको म्याक्स मुआथाइ रंगशालामा गत माघ २९ गते राती भएको म्याक्स मुआथाई फाइटमा गुरुङले राउण्ड वानको पहिलो ४० सेकेण्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत दोश्रो जित हासिल गरेका थिए । 

नेपालको इरावान मुआथाई फाईट जिममा तालिम र कोचिङ गर्दै आएका उनले हाल थाईल्याण्ड बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । 

इग्ल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ । 

आजको मौसमः देशको पहाडी भु–भागमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं, १६ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । साथै  प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै महाशाखाले जनाएको छ।

टर्कीमा पुनः भुकम्प, उद्धार र राहतमा कठिनाई 

इस्तानाबुल, १५ फागुन ।पूर्वी टर्कीमा पुन सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ ।

सो भुकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सिएनएनका अनुसार दुई हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४  हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । लगतार आएको भुकम्प र पराकम्पका कारण उद्धार र राहत वितरणमा समस्या भईरहेको टर्की सरकारले जनाएको छ ।
 

हेलो सरकारद्धारा ७५ वटा समस्या समाधान

काठमाडौं । हेलो सरकारले आज ७५ वटा समस्या समधान भएको जानकारी दिएको छ ।

हेल्लो सरकारमा आएका ५० वटा गुनासो दर्ता भएकाे बिगतका सहित ७५ वटा गुनासो समाधान भई फस्यौट गरिएको हेल्लो सरकारले जनाएको छ ।

पर्यटन मन्त्री किरातीले सार्वजनिक गरे आफ्ना १० कामको सूची

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना १० कामको सूची सार्वजनिक गरेका छन् । सोमबार पत्रकारसँगको भेटघाटमा मन्त्री किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गरेका हुन् ।

उनले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्दै पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान, नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताए । अब उनले सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गर्ने र सम्पदा क्षेत्रमा यातायत सञ्चालन गर्ने, ग्राउण्डेड जहाज छानबिन समिति गठन गर्ने तयारी गरेका छन् ।

यस्तै हवाई नागरिक उड्डयन विधेक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने मन्त्री किरातीका योजना छन् ।

विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको बैठक, कार्यदल गठन

काठमाडौं नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीको बैठकले चार दलीय कार्यदल गठन गरेको छ । सोमबार विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले निर्मित र क्रियाशील संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न चार दलीय कार्यदल गठन गरेको हो ।

बैठकले संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गरी चार दलको आगामी बैठकमा पेश गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेता कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता जागृत रायमाझी र नेकपा माओवादी समाजवादीका नेता आरवी भण्डारी रहेका छन् ।

डा. क्षेत्रीलाई वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

काठमाडाैं, १५ फागुन । डा. प्रकाश क्षेत्रीलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कार डा क्षेत्रीलाई प्रदान गरिएको हो।

स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. क्षेत्री उत्कृष्ट कार्यसम्पादन गरेवापत् १ लाख रूपैयाँ राशिको उक्त पुरस्कारबाट सम्मानित भएका हुन्।

साथै, प्रचारात्मक सेवा महाशाखाका डा.पेमावती थापा, कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा मुनकर्ण थापा ५० हजार रूपैयाँ सहित स्वास्थ्य सेवा पुरस्कारको राशि जनही ५० हजार रूपैयाँ रहेको छ।

स्वास्थ्य सेवा दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्मानित गरेका थिए ।

मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

काठमाडाैं, १५ फागुन । मन्त्रिपरिषद्‍को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।

सोमबार बसेकाे मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

जुवा खेलिरहेका ७ जना चन्द्रागिरीवाट समातिए

काठमाडौं, १५ फागुन । चन्द्रागिरीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । 

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेशराज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु माथी थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एमाले बाहिरिएपछि प्रचण्डको अबको चुनौती के ?

सङ्घीय संसद्‌मा दोस्रो ठूलो दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन सोमवार फिर्ता लिएसँगै त्यसले सरकारमा पर्न सक्ने प्रभाव र कठिनाइहरूबारे चर्चा सुरु भएको छ।उक्त दलको सचिवालय बैठकपश्चात् सरकारबाट बाहिरिने निर्णय लिएको एमाले नेताहरूले बताएका छन्।

राष्ट्रपति पदका लागि हुने निर्वाचनमा गत पुस १० गते भएको भनिएको सहमति अनुरूप राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन गर्ने सहमतिबाट प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र पछि हटेसँगै आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता गरेर अघि बढ्न उचित हुने ठानेको एमाले नेताहरूको भनाइ छ।

अघिल्लो निर्वाचनको नतिजापछि एमाले र माओवादी केन्द्र लगायतका दलहरू सम्मिलित गठबन्धन शुक्रवार राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने माओवादीसहित ८ दलले निर्णय गरेसँगै समस्यामा परेको विश्लेषण भइरहेको थियो।

सत्ता गठबन्धनलाई साथ दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनु अगावै आफ्नै उम्मेदवार खडा गरेर निर्वाचनमा प्रतिस्पर्धी बन्ने निर्णय लिइसकेको छ।

प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको सोमवार बसेको केन्द्रीय कमिटीको बैठकले भने सरकारलाई दिएको समर्थन कायमै राख्ने वा नराख्ने विषयमा ठोस निर्णय नलिएको विवरणहरू सार्वजनिक भएका छन्।

एमालेको भनाइ के छ?
बैठकपश्चात् सञ्चारकर्मीहरूलाई जानकारी गराउने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए।‘‘राष्ट्रपतिको प्रसङ्गमा जुन प्रकारको सहमति भएको थियो त्यसलाई कार्यान्वयन गर्नुको सट्टा कार्यान्वयन गर्न नकस्ने प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै आउनुभयो। अन्ततः त्यो सहमतिभन्दा पृथक ढङ्गले अरू दलहरूसँग सहमति कायम गर्दै राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निष्कर्षमा उहाँहरू पुग्नुभयो,’’ पौडेलले भने।

त्यस्तो अवस्थामा पनि सरकारमा रहेर सघाउने सोचमा आफूहरू रहे पनि प्रधानमन्त्रीले त्यस्तो नचाहेकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्न आफूहरू बाध्य भएको उनले जिकिर गरे।‘‘प्रधानमन्त्रीले पछिल्ला दिनहरूमा एमाले र एमालेका तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूप्रतिको अभिव्यक्ति र व्यवहारका कारण हामी यो सरकारमा रहिरहन उचित हुने देखेनौँ,’’ एमाले उपाध्यक्षले थपे।

मन्त्रिपरिषद् निर्णय अनुसार आइतवार साँझ राष्ट्रसङ्घको मानव अधिकार परिषद्को बैठकमा भाग लिन जाने क्रममा रहेकी एमाले नेतृ तथा परराष्ट्र मन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री प्रचण्डले रोकिदिएका थिए।

प्रचण्डको अबको चुनौती के?
जानकारहरूका अनुसार प्रधानमन्त्री प्रचण्डको अबको ठूलो चुनौती प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु हुनसक्छ।सङ्घीय संसद्‌मा नेपाली कांग्रेसको सर्वाधिक ८९ सिट छ भने माओवादी केन्द्रको ३२ र नेकपा एकीकृत समाजवादीको १० सिट छ।

त्यस्तै राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति जनाएका दलहरूमा जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, लोकतान्त्रिक समाजवादी पार्टीको ४, नागरिक उन्मुक्ति पार्टीको ३ अनि राष्ट्रिय जनमोर्चाको एउटा सिट छ।

तर यी दलहरूले सरकारलाई समर्थन गर्ने नगर्ने कुरा भने हालसम्म स्पष्ट भइसकेको छैन।सङ्घीय संसद्‌मा दोस्रो ठूलो दल एमालेको ७९ सिट छ भने सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको राप्रपाको १४ सिट छ।प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीका एकजना सांसद छन् भने चारजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

प्रतिनिधिसभामा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको १९ सिट छ।राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिन सहमत भएका दलहरूले समर्थन गरे प्रचण्डको नाममा १५७ जना सांसदको समर्थन जुट्ने सम्भावना देखिन्छ।

सरकार गठनका लागि प्रतिनिधिसभामा न्यूनतम १३८ सांसदको समर्थन जुटाउन आवश्यक पर्छ।कतिपयले प्रचण्ड नेतृत्वको सरकारसँग आवश्यक पर्ने सांसदहरूको सङ्ख्या भएका दलहरूको समर्थन रहेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नु नपर्ने पनि धारणा व्यक्त गर्ने गरेका छन्।

अन्य केहीले भने कानुनी व्यवस्था अनुसार सबैभन्दा ठूलो सत्ता घटक बाहिरिएको अवस्थामा पुनः संसद्‌बाट प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताँउदै आएका छन्।

संविधानको धारा १००को उपधारा २ मा कुनै दलले सरकालाई दिएको समर्थन फिर्ता लिए वा उक्त दल विभाजित भए प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ।त्यस्तो अवस्थामा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्नुपर्ने उल्लेख उक्त उपधारामा गरिएको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

बैज्ञानिक समाजवादी पार्टी अब आम आदमी पार्टी, अध्यक्ष प्रभु साह

काठमाडौं, १५ फागुन  । प्रभु साह नेतृत्वको पार्टी आम आदमी पार्र्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगले संघीय संसद सचिवालाई लेखोको पत्र अनुसार गत पुस ३० गते सो पार्टी आयोगमा दर्ता भएको हो ।

निर्वाचन आयोगले सो पार्टी आयोगमा दर्ता भएको  जानकारी हालै संसद सचिवालयलाई पठाइएको छ । ‘बैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता नम्बकर १६८ मा दर्ता भएको, सो दलको हाल परिवर्तित नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु साह अध्यक्ष कायम रहेको’ भन्दै  आयोगले संसद सचिवालयमा पत्राचार गरेको छ।

पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्छौं – माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने बताएका छन् । सोमबार पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका नेपालले यस्तो बताएका हुन् ।

संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको भन्दै उनले अब राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने दाबी गरे ।

उनले आफूहरुसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युताउँने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए । उनले आफ्नो पार्टीलाई ‘मिनिमाइज’ गरेर देश चलाउन सम्भव नभएको पनि बताए ।

बेलायतको डाक्टर भन्दै ठग्ने २ जना पक्राउ

काठमाडौं, १५ फागुन । बेलायतमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन् । 

उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्यएप, ईन्टारग्राम, भाइबर र टिकटक मार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूकेमा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरुसँग मोबाईल नम्बर लिई वाट्यएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार तत्पश्चात यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात बिभिन्न ब्यक्तिहरुलाई  पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

ठगी गरेको उजुरी पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको छ । 

प्रज्ञा प्रतिष्ठानवाट दोहोरो सुबिधामा राेक

काठमाडौं, १५ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानले दिदैं आएको दोहोरो सुबिधा कटौती गरेको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बिपरित उक्त सुबिधा दिदै आएको भन्दै कटौती गरेको हो ।

‘प्रज्ञा प्रतिष्ठानको जीवनको महत्वपुर्ण चासो जीवनमा चासो र आलोचकका रुपमा रहेका आजीवन सदस्यहरुको दोहोरो सुबिधाको बिषयमा निर्णय गर्नै पर्ने आवाश्यक्तालाई ध्यान दिई दोहोरो सुबिधामा रहेका आजीवन सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानवाट दिइदै आएको मासिक पारिश्रमिक नदिने निर्णय गरिएको छ’  प्रज्ञा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो ।

प्रतिष्ठानका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा (८) बमोजिम दोहोरो पारिश्रमिक सुबिधा प्रदान गर्न नमिल्ने हुदाँ नेपाल सरकार, विश्वबिद्यालयहरु तथा अन्य निकायवाट निवृतिभरण लिइरहेका आजीवन सदस्यहरुलाई विस २०७९ फागुन महिना देखी यस प्रतिष्ठानवाट आजिवन सदस्यको पारिश्रमिक सुबिधा उपलब्ध नगराउने निर्णय गरेको जानकारी दिएको छ ।

आइसिसी विश्वकप लिग–२ पपुवा न्युगिनीलाई हराउँदै नेपालको जीत

काठमाडाैं, १५ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ ।

पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो ।यसअघि घरेलु मौदानमा नेपालले  स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।

नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ ।  । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेकाे हाे ।नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।

हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं – प्रधानमन्त्री

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताएका छन् ।

 बालुटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’
 
उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै  स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए । 

 प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताउनुभयो । 

उनले अगाडि भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ । मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो । यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास दिलाउन चाहन्छु ।’ 

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा सम्लग्न स्वदेशी र गैरआवासीय नेपाली संघमा रहेका नेपालीहरुको योगदानका लागि विशेष धन्यवाद पनि दिए ।

सरकार छाड्ने नेकपा एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोड्ने निर्णयमा पुगेको हो । एमाले नेता बिष्णु पौडेलले भने प्रधानमन्त्रीको व्यवहार र अभिव्यिक्तका कारण सरकार छाड्न बाध्य भएsf] बताएका छन् ।

प्रि-ओपन सेसन नेप्सेमा करिब २ अंकले वृद्धि

काठमाडौं, १५ फागुन । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा २.०४ अंकले वृद्धि भइ २०२९ विन्दुमा आएको छ ।

यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

योजना बैंक तयार गर्न नगर योजना आयोग गठन तथा सञ्चालन ऐन पारित

खोटाङ, १५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले योजना बैंक तयार गर्नेगरी नगर योजना आयोग गठन तथा सञ्चालन ऐन पारित गरेको छ । नगरपालिकाको समग्र विकासका लागि नगर विकास सम्वन्धी नीति, योजना र कार्यक्रम तर्जुमा, सुशासन प्रवद्र्धन, अनुगमन, मूल्यांकन गर्दै दिगो विकास तथा सहश्राव्दी विकास लक्ष्यहरु प्राप्त हुनेगरी ठोस योजना तर्जुमा गर्न आवश्यक राय, सल्लाह तथा परामर्श लिनका लागि नगर योजना आयोग गठन तथा सञ्चालन ऐन पारित गरेको हो ।

 आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम हिउँदेसभामार्फत नगर योजना आयोग गठन तथा सञ्चालन ऐन पारित गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताइन् । 

मेयरको अध्यक्षतामा गठन हुने ११ सदस्यीय नगर योजना आयोगले नगरपालिकाको समग्र विकास प्रकृया र त्यसको प्रतिफलमा पहुँच अभिबृद्धि र स्थानीय शासन प्रवद्र्धन गराउनेगरी नगर योजना तथा नीति तर्जुमा गर्नका लागि आर्थिक योजना र विकास लगायतका क्षेत्रमा राय सल्लाह एबं परामर्श दिने, नगरपालिकाका विभिन्न क्षेत्रमा विकासका सम्भावना र अवसरलाई वृहत्तर अध्ययन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालिन नगर योजना तर्जुमा गर्ने, सम्पूर्ण वडाको सन्तुलित विकासका लागि आवश्यक नगर विकास सम्वन्धी नीति, रणनीति र योजना तर्जुमा गर्नेछन् । 

    यस्तै, नगरपालिकाभित्रका प्राकृतिक श्रोत र साधनहरुको दीगो तथा कुशल व्यवस्थापनका लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्ने, नगरपालिकाको विकासका लागि १० वर्षे, पाँच वर्षे कार्ययोजना, २० वर्षे दीर्घकालीन योजना तयार गर्ने र सोको आधारमा योजनाहरुको अध्ययन विश्लेषण गरी योजना बैंक तयार गर्ने, नगरपालिकाभित्रका राजश्व र आर्थिक अधिकारको प्रयोजनका लागि प्रमुख समक्ष सिफारिस गर्ने, प्रदेश तथा संघीय सरकारसँग अनुदान, वैदेसिक सहायता र ऋण प्राप्त गर्ने सम्वन्धमा नगरपालिकाको आवधिक, मध्यकालीन वित्त संरचना तयार गर्ने मेयर राईले बताईन् । नगरपालिकाले स्वीकृत गरी लागू गरेका नीति, योजना तथा कार्यक्रमहरुको अनुगमन गरी समिक्षात्मक प्रगती प्रतिबेदन तयार पार्ने, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगसँग तथा संघीय र प्रादेशिक अर्थमन्त्रालय तथा योजना आयोगसँग सम्पर्क र समन्वय गर्ने छन् । 

    आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार, जलश्रोत तथा उर्जा, अन्य प्राकृतिक श्रोत र मानव श्रोत व्यवस्थापन, सुशासन तथा व्यवस्थापन, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा मानव अधिकार, लैंगीक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी तीन जना विषयविज्ञ आयोगको सदस्य मनोनित हुने ऐनमा उल्लेख छ । एक महिला अनिवार्य हुने तीन विषयविज्ञमध्येबाट एक जना उपाध्यक्ष चयन हुनेछन् ।

    विषयविज्ञका रुपमा मनोनित हुने सदस्यहरु कम्तिमा स्नातक उत्तिर्ण गरी सम्वन्धित विषयममा पाँच वर्ष विशिष्ट अनुभव हासिल गरेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, प्रचलित कानून बमोजिम कालो सूचीमा नपरेको र विदेशको आवासीय भिसा, डिभि, पिआर स्वीकार नगरेको योग्यता हुनुपर्ने भनिएको छ । 

    प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजक र प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख आयोगको सदस्य रहनेछन् । आयोगले आफुबाट सम्पादित कार्यहरुको विवरण र आगामी कार्ययोजना सहितको प्रतिबेदन चौमासिक रुपमा अध्यक्षमार्फत कार्यपालिका बैठकमा र कार्यसम्पादनको वार्षिक प्रतिबेदन नगरसभा समक्ष पेश गर्नुपर्ने भनिएको छ ।