`

आजकाे बिनियम दरः अमेरिकी डलरसंगै युरो पनि उकालोमा

काठमाडौं, २ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरमा ३६ पैसाले वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो ।

मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६९ पैसा ताेकेकाे छ । सोमबार युरो एकको खरिदमा भने १४० रूपैयाँ ६२ पैसा र बिक्रीमा १४१ रूपैयाँ २६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसाले उकालो लागेको हाे ।

यस्तै, मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २ पैसा र बिक्रीमा ३६ रूपैयाँ १८ पैसा छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा ताेकिएछ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ २७ पैसा र बिक्रीमा ३० रूपैयाँ ४१ पैसा पाइन्छ।

उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३० पैसा र बिक्रीदर ३५१ रूपैयाँ ८९ पैसा तोकिएको छ।

हरियो तरकारी र फलफूलको आजकाे मुल्य

काठमाडौ, २ फल्गुण । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफुलकाे मुल्य सार्बजनिक गरेकाे छ ।

जसअनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ र अमला ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, कागती १५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम गरिएकाे छ ।्र
 

मंगलबार लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्य च्याउ  १४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा खरिदबित्रि भइरहेकाे छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, चाइनिज सुकेको लसुन १८० र हरियो लसुन ७० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ रहेको छ ।
 

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजीमा किनबेच भइरहेकाे छ । 

लोत्से मलमा तोडफोड र चोरी

काठमाडौं – काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से मलमा सोमबार साझँ तोडफोड र चोरी भएको छ । सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले लोत्से मलमा तोडफोड गरेका छन् । लोत्से मल तोडफोड गर्नाका साथै त्यहाँ सञ्चालित पसलबाट मोबाइलसमेत चोरी गरेको बताइएको छ ।

यातायात मजदुरले सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने लगायतका मागहर राखेर सोमबार आनदोलन गरेका थिए ।

नेपाल टस जितेर मैदानमा

काठमाडौं, २ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । 

टियु क्रिकेट मैदानमा सुरु भएको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सन्दिप लामिछाने उक्त खेलमा पनि सहभागी हुदैँ छन  । 

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ भने नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक सहित तेस्रो स्थानमा छ ।  

‘प्रेमको कुरा के गर्नु ? अनुहार नै नहेरी बिहे हुन्थ्याे’

सुर्खेत , २ फागुन  । रुकुम पश्चिम आठबीसकोट बटालागाउँकी ५९ वर्षीया समिता बटालाको बिहे १४ वर्षको उमेरमा भयो । बाबा , आमाको अगाडी जिदी गरेर माग पुरा गराउने उमेरमा बिहे गराएपछि उनलाई अहिले त्यो बिहे सम्झदा अमच्च लाग्छ । 

फुपुको घरमा जाने भन्दै गोतामकोट लिएर उत्तै छाडेर आएका उनका बाबालाई मात्र छोरीको बिहे गरिदिएको थाहा थियो तर बिहे गर्ने व्यक्तिलाई थाहा नै नपाएको बटाला बताउछिन् । गोतामकोट जाँदा फुपुको घरमा एक ,दुइ दिनमा जानु पर्छ अहिले मित बाबाको घरमा बस भन्दै बाबाले आफूलाई छोडेको विगत सम्झदै बटालले भनिन ,‘ दुइ दिन पछि बाबा आएपछि फुपुको घरमा जाउला भनेर आस मानेर बसीकी थिए तर बाबा महिना दिन सम्मा नआउदा धेरै रोएको थिए , सासु आमाले तिम्रो त जेठासँग विहे भयो अब नरोउ तिम्रो घर यही हो भन्दै सम्झाएको थिए ।’ सो समयमा न त प्रेम थाहा थियो न त बिहे गरेको नै थाहा भयो अहिलेका जस्ता जमाना थिएनन् उनले भनिन । बटालाका अहिले ५ छोराछोरी छन् । 

दुइ सानै जन्मेर मृत्यु भएको उनीले बताइन् । १५ वर्षकै उमेरमा बच्चा जन्माएको उनले बताइन् । अहिले नातीले प्रेम दिवसको कुरा सुनाउदा अचम्म लाग्छ ? उनको भनाइ छ । बटालाका अनुसार आफ्नो गाउँबाट उमेर नपुग्दै घर परिबारको सल्लाहमा घास , दाउरा र पानी घट्ट गएका केटीहरुको उत्तैबाट थुतेर बिहे भएको धेरै छ । केटाको अनुहार नै नदेखि थुतेर घरमा लिई जवरजस्ती बिहे भएका धेरै छन् । केटाको घरमा लिएपछि फर्केर आउदा इज्जत जान्छ भन्ने सामाजिक बन्धनका कारण राम्रो नै नमानेको केटासँग बिहे भएपनि उसैको घरमा बस्नु पर्ने बाध्यता रहेने गर्दथ्यो । अहिलेको जस्तो मोवाइल , फेसवुक केही पनि थिएन जाजरकोट नलगाड नगरपालिका–८ की पबित्रा खत्रीले भनिन । 

आफ्नो बिहे पनि खेतमा पानी लगाएर फर्कदै गर्दा २०४४ साल कात्तिक ६ गते थुतेर गरेका थिए । आफू भन्दा ७ वर्ष जेठो व्यक्तिसँग बिहे गराउन १४ जना तन्नेरीहरु आएर बाटोबाटै उठाएर लिएको उनी सम्झिन्छन् । आफू १४ वर्षको थिए, पुरै कराउदा कराउदै राती उठाएर लिए , गाउँको एक घरमा लिएर बन्द कोठामा राखे । केही बोल्न बित्तिकै केटाले कुटने गर्दथे । १३ दिन सम्म एक घरको बन्द कोठामा राखेर माइती पक्षलाई खवर गरिएको थियो अपहरण शैलीमा उनले भनिन । केटीपक्षलाई खोज्न र सन्देश पठाउन कटुवाललाई पठाउने चलन रहेको उनले जानकारी दिइन् । अहिले जस्तो प्रहरी , फोन केही पनि थिएन उनले भनिन् । त्यतिबेला न्याय निसाव दिने भनेकै गाउँकै मुखिया थिए डोल्पा त्रिपुरासुन्दरी –५ का सिता बुढाले बताइन् । 

धनि व्यक्ति,  फुपुका छोरा, धेरै ठुलो घर भएको व्यक्तिका छोरासँग बिहे गराउने चलन समेत बढी रहेको विगत सम्झदै बुढाले भनिन । अहिले नाती पुस्ताले अनेक थरी कुरा गर्दा आफूहरु अचम्म परेको उनले बताइन् । अहिलेको जस्तो फोन, बाटो, मोटर गाडी र जहाज केही पनि उ बेला थिएन,  न त नदीमा पुुल नै थिए उनले भनिन । काठका लाप्कामा ज्यान जोखिममा राखेर नदी तर्नुपथ्यो  । टाढा माइती हुने छोरी, बुहारीहरु १० देखि १२ वर्ष पछि माइती घर आउने गरेको कथा समेत बुढाले सुनाइन् । तल्लो जात र माथिल्लो जातको सामाजिक संस्कारले गर्दा झन समस्या बनाउने गर्दथ्यो । माया ,प्रेम नै नगरी बिहे गरेका धेरै महिलाहरु अहिलेको अवस्था हेर्दा अचम्मा लाग्ने गरेको बताउँछन् ।

 भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे। 

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए। 

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो। अहिले यो नेपालमा समेत व्यापक रुपमा फैलिएको छ ।

 कर्णालीमा भने अझैँ पनि देवताको भाकल गर्ने चलन कायम रहेको छ । अभिभावक बीचमा देवतालाई भागक गरेर तेरो छोरा र मेरी छोरी बीच बिहे गर्ने भनि सम्झौता अझैँ हुने गरेको छ । दलित र मगर समुदायमा अझै पनि मामाकी छोरीलाई फुपुको छोराले रोजेरै बिहे गर्ने चलन रहेको छ । 
 

एर्भटनलाई २–० लाई पराजित गर्दै लिभरपुलको जित 

काठमाडौं, २ फागुन । एभर्टनलाई २–० अन्तरले पराजित गर लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ ।

एनफिल्डमा सोमबार राति भएको खेलमा मोहम्मद सलाह र कोडी गाक्पोको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेका हुन । 

लिभरपुलले सुरुवातदेखि नै दवाव सिर्जना गरेपनि गोलको लागि ३६औं मिनेट इजिप्टिन स्टार सलाहले गोल गर्दै लिभरपुलाई १–० को अग्रता दिलाए । उनले डार्विन नुनेजको पासमा गोल गर्न सफल भएका थिए । ४९औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको क्रसलाई गाक्पोले सदुपयोग गर्दैै अर्को गोल थपेर क्लबलाई २–० को अग्रता दिलाए । 

लिभरपुलमा गाक्पोको यो पहिलो गोल हो, लिभरपुलका लागि सातौं खेलमा उनले पहिलो गोल गरेका हुन् । कतार विश्वकप २०२२ मा उच्च प्रदर्शन गरेपछि गाक्पो यसै मौसममा डच क्लब पिएसभी इन्डोभेनबाट लिभरपुल आएका थिए ।

यस जितसँगै लिभरपुल २१ खेलबाट ३२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन २२ खेलबाट १८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

काठमाडौंका सवारी ठप्प, आन्दोलनरत मजदुरलाई बार्तामा बोलाईयो

काठमाडौं, २ फागुन । सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संबादमा बोलाएको छ । 

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ । मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन । अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन् । 
 

विश्व क्रिकेट लिग टुमा नेपालले आज नामिबियासँग भिडदैँ

काठमाडौं, २ फागुन । नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित ‘आईसीसी विश्व क्रिकेट लिग टु’  त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरू हुँदैछ। पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरू हुनेछ ।

नेपालले लिग टुका कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ। जसमा १४ जित, १८ मा हार र एकमा बराबरीको नतिजाका साथ १८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ। यता ३० खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो स्थानमा छ। नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल, स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।

कतारको राष्ट्रिय खेलकुद दिवसमा नेपाली दुतावास बन्द हुने

काठमाडौं, २ फागुन । कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा त्यहाँस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ ।

२ फागुन २०७९ अर्थात १४ फेब्रअरी २०२३ को दिन दूतावास कतारस्थित नेपाली दुतावास बन्द हुन लागेको हो । 

कतारस्थित नेपाली दुतावासका अनुसार कतार सरकारले राष्ट्रिय खेलकुद दिवसको अवसरमा  सार्वजनिक विदा दिएकोले उक्त दिन अत्यावश्यक काम बाहेक सबै बन्द रहने छ ।

कतारले हरेक वर्षको १४ फेब्रअरीमा ‘नेशनल स्पोर्ट डे’ मनाउँदै आएको छ । त्यो दिन कतारभर सार्वजनिक विदा दिने गरिएको छ ।  

भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी

काठमाडौं, २ फागुन । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि आफनो भेटघाटलाई जारी राख्ने भएका छन ।

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।

हिजो सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री बिमला राई, राष्ट्रपति बिद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउबा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका थिए । 
 

प्रधानमन्त्रीलाई पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइयो

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई दैनिक पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइएको छ। प्रधानमन्त्रीका लागि पठाइएका विशेष रिपोर्ट प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्ने र पढ्ने गरेको पाइएको हो। ‘प्रधानमन्त्रीले मात्रै खाम खोल्न मिल्ने र पढ्न मिल्ने अत्यन्त गोप्य सूचना प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्दा र पढ्दा कतिपय सूचना चुहिएको पाइयो। यसो हुँदा राष्ट्रिय अनुसन्धान विभागले दिने गोप्य सूचनाको औचित्य नै देखिएन,’ विभागका एक उच्च अधिकारीले भने। विभागले हरेक दिन खामभित्र प्रधानमन्त्रीलाई सूचना र रिपोर्ट पठाउने गर्छ भने अर्धसाप्ताहिक र साप्ताहिक रूपमा विशेष रिपोर्ट दिने गर्छ।

विभागका ती उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीलाई दैनिक रूपमा गरिने रिपोर्ट र बुझाइने प्रतिवेदनमा महŒवपूर्ण विषय र सूचना समेटिने हुनाले त्यो अरू कसैले वा प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका व्यक्तिले हेर्न मिल्दैन। त्यो रिपोर्ट प्रधानमन्त्रीले मुख्य सचिवमार्फत सम्बन्धित मन्त्रालय र कार्यालयलाई कार्यान्वयनका लागि निर्देशन दिनुपर्छ। ‘प्रधानमन्त्री पुष्पकमल दाहालले पढ्नुपर्ने वा देशका कार्यकारी प्रमुखले मात्रै खोल्नुपर्ने रिपोर्ट उहाँको सचिवालयमा रहेकाहरूले हेर्ने र पढ्ने गर्न थालेपछि त्यसको कुनै अर्थ रहन्न,’ ती अधिकारीले भने। प्रधानमन्त्रीले खोल्नुपर्ने रिपोर्ट उनको अनुमतिले मुख्य सचिवले मात्रै हेर्न र पढ्न पाउँछन्। तर प्रधानमन्त्री कार्यालयमा रहेका सरकारी कर्मचारीबाहेकका राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरू त्यो सूचनामा हाबी हुन थालेको स्रोतको दाबी छ।

विभागलाई २०७४ सालमै प्रधानमन्त्री कार्यालयमातहत ल्याइएको थियो। अहिले विभागका सबै सूचना प्रधानमन्त्रीको टेबुलमा पुग्छन्। यसअघि गृह मन्त्रालयमा पुग्ने गथ्र्यो। सो रिपोर्ट प्रधानमन्त्रीले हेरेपछि मुख्य सचिवले कार्यान्वयनको तहमा लैजाने गरेका छन्। विभागले यसरी पठाउने रिपोर्ट वा सूचनामा राष्ट्रिय महत्व, विभिन्न मन्त्रालय र कार्यालयका गतिविधि तथा विभिन्न व्यक्तिको ‘सर्भिलेन्स’समेत समेटिएको हुन्छ। पछिल्लो अवस्थामा विभागले राष्ट्रिय सुरक्षाका अतिरिक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि सहयोग गरिरहेको छ। ‘राष्ट्रिय सुरक्षाको विषयमा सेना, प्रहरी र सशस्त्रले जस्तै गरी विभागले सूचना संकलन गरिरहेको हुन्छ भने त्यसमा विभागीय मन्त्रालय र अधिकारीहरूका विषयमा पनि सूक्ष्म विश्लेषण गरिएको हुन्छ। यस्तो सूचना दिनहुँ नै दिइएको हुन्छ। जसले गर्दा यस्ता सूचना चुहिँदा कतिपय सन्दर्भमा सरकारी कामकारबाही प्रभावित भएका छन्,’ विभाग स्रोतले भन्यो।

सुरक्षाविद् एवं पूर्वगृहसचिव डा गोविन्द कुसुमले प्रधानमन्त्री वा सम्बन्धित व्यक्तिले लिनुपर्ने रिपोर्ट अरू कसैले खोल्ने र पढ्ने हो भने त्यो राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर अपराध भएको बताए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ। मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ।

मन्त्रालयले संघ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्य डिजिटल प्रणालीमार्फत गर्ने गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नेसमेत कार्ययोजनामा उल्लेख गरेको छ।

यस्तै कार्ययोजनामा संघअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। संघअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची तयार गर्नेछ।

यसरी तयार गरिएकामा सेवा शुल्क सूची मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ। कार्ययोजनामा ‘मेक इन नेपाल’को मर्मअनुरूप आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधिहरू स्वदेशमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने उल्लेख गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र

काठमाडौं । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन् ।

एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख समान्था पावरले भ्रमणमा आएका थिए ।

अमेरिकी दूतावासका अनुसार उपसहायक विदेशमन्त्री अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९ईसीमोड० तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने कार्यक्रम छ । दुईदिने औपचारिक भ्रमण क्रममा उनले नेपाली सेना र सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन् ।

‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्य, लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धि अगाडि बढाउने विषयमा छलफल गर्नुहुनेछ,’ दूतावासले भनेको छ ।

अर्को साता पनि अमेरिकाबाट भ्रमण हुँदै छ । यससँगै एक महिना अवधिमा लगातार चार भ्रमण हुनेछन् । अफ्रीन अख्तरको भ्रमणपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने भएकी छन् । यो समाचार राजधानी दैनिकमा छ ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाह त्रिदेशीय लाभमा विकास गरिने

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज र कञ्चनपुरको दोधारा–चाँदनी–१ मा निर्माण हुने सुक्खा बन्दरगाह सुदूरपश्चिमको मात्र नभएर देशकै निम्ति गौरवको आयोजना हुने बताएका छन्। दुवै आयोजनाको निरीक्षण क्रममा उहाँले उक्त कुरा बताए ।

दोधारा–चाँदनीमा बन्ने बन्दरगाहलाई त्रिदेशीय नाकालाई फाइदाका रूपमा विकास गरेर भारत र चीनको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले आफू छिट्टै भारत भ्रमणमा जाने र त्यस क्रममा सुक्खा बन्दरगाह निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर हुने बताए। उनले तीन वर्षभित्र काम सक्ने गरी समझदारीपत्र तयारी भइरहेको पनि बताए।

सुक्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात आफूले नै गरेको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणपछि दोधारा–चाँदनी र सुदूरपश्चिमको मात्रै नभई सिङ्गो देशकै विकासमा योगदान पुग्ने धारणा राखे।

प्रधानमन्त्रीले सुदूरपश्चिममा आफैँले थुप्रै आयोजना अगाडि बढाएको र सबै विकासका कामलाई प्राथमिकतासाथ अगाडि बढाउने प्रतिबद्धता जनाए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मधेस प्रदेशको बैठक अपरान्ह २ बजे

जनकपुर, २ फागुन । मधेस प्रदेशको प्रदेशसभा बैठक आज अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ।

सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

गत ४ माघमा  प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। जुन बैठक आजबाट सुरु हुन लागेको हो ।

अखिलको २३औं महाधिवेशनको आजबाट, नेतृत्वका लागि तीनजना प्रतिस्पर्धामा

काठमाडौं, २ फागुन । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च  अनेरास्वियुको महाधिवेसन आजवाट सुरु हुने भएको छ ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ । 

नि:शुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन हुन लागेको हो । जो २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ ।

‘यो महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रिय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिदै भनेकी छिन, ‘तीनवटा केन्द्रिय आयोग पनि निमार्ण हुनेछन, जुन 
आयोगमा १५ जना सदस्य हुनेछन ।’ उनका अनुसार सहमतीयवाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

मंगलबार अपरान्ह १२:३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिईन् ।

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।

आजको मौसम: आकास खुल्ने

काठमाडौं, २ फागुन । हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।उता, राती पनि  देशभर मौसम सामान्यतया सफा रहने छ ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको  हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज भ्यालेन्टाइन डे : कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ । यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । यस दिनलाई आफूले मन पराएकालाई प्रेम प्रस्ताव राख्न पाइने स्वन्तत्राको रुपमा पनि लिइन्छ । सोहीअनुसार कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राखेर दिगो प्रेम गर्ने भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ । 

ज्योतिषशास्त्रअनुसार कुन राशि भएकाले कुन राशि भएकासँग प्रेम गर्दा दिगो हुन्छ ? हेर्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएका मानिसहरूले तुला राशि हुने मानिसहरूसँगको सम्बन्ध सबैभन्दा राम्रो हुनेछ । कन्या र वृश्चिक राशि हुनेहरूसँगको सम्बन्ध नोक्सानदायक हुनेछ भने बाँकी राशि हुनेहरूसँग मेष राशि हुनेहरूले काम गर्दा राम्रो हुन्छ । पूर्व दिशा मेष राशिको लागि राम्रो रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
 वृष राशिमा जन्मिएका महिला तथा पुरुषहरूका लागि तुला र धनु राशि हुने मानिसहरूसँगको सम्बन्ध अति नै नराम्रो मानिन्छ । यो राशिहुनेहरूका लागि भने वृश्चिक राशि सबैभन्दा राम्रो राशिका रुपमा हेरिन्छ । बाँकी राशिहरूसँगको सम्बन्ध राम्रो नै रहनेछ । दक्षिण तिरको दिशामा काम गर्दा छिटो सफलता मिल्नेछ ।

मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि धनु राशि सबैभन्दा राम्रो राशिका रुपमा हेरिन्छ । मकर तथा वृश्चिक राशि हुनेहरूको सम्बन्ध खासै राम्रो मान्न सकिँदै । बाँकी रहेका राशिहरूसँग सम्बन्ध गाँस्दा राम्रो नै रहनेछ । पश्चिम दिशा मिथुन राशिको आफ्नो दिशा हो, काम कारोबार गर्दा राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिमा जन्मिएका सबै मानिसहरूका लागि मकर राशि हुनेहरूसँगको सम्बन्ध अति नै राम्रो मानिन्छ । तर, धनु र कुम्भ राशिका मानिसहरूसँगको सम्बन्ध भने नराम्रो हुनेछ । अरु राशि हुनेहरूँंग काम कारोबार गर्दा फाइदाजनक रहने छ । विशेष गरि उत्तर दिशामा काम गर्दा राम्रो नै मानिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूले कुम्भ राशि हुनेहरूसँग प्रेम गर्दा धेरै नै राम्रो हुन्छ । विशेष गरी मकर र मीन राशि हुनेहरूसँगको सम्बन्ध राम्रो मानिँदैन । बाँकी राशिहरूसँग भने काम गर्दा राम्रो नै मानिन्छ । पूर्व तिरको दिशामा काम गर्दा परिवारमा खुसी र प्रगति गराउँछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिमा जन्मेका मानिसहरूका लागि भने मीन राशि भएका मानिसँग प्रेम गर्दा सोचेअनुसरको सफलता मिल्ने छ । कन्या राशिको लागि कुम्भ तथा मेष राशि हुनेहरूसँगको सम्बन्ध निकै कमजोर मानिन्छ । त्यसैले कारोबार नगर्नु भएकै राम्रो हुनेछ । अरु बाँकी रहेका राशि हुनेहरूसँगको सम्बन्ध भने राम्रो नै रहनेछ । कन्या राशिको लागि दक्षिण दिशा शुभ मानिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुनेहरूले मेष राशि हुनेहरूसँग सम्बन्ध राखेर काम गर्दा राम्रो मानिन्छ । मीन र वृष राशि हुनेसँग भने एकदमै नराम्रो हुन्छ । बाँकी रहेका राशिहरूसँग भने काम गर्दा राम्रो हुन्छ । पश्चिम दिशा राम्रो मानिन्छ । त्यो दिशातर्फ काम गर्दा परिवारमा खुसियाली बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुनहरूले विशेषगरी वृष राशि हुनेहरूसँग सम्बन्ध राखेमा विशेष फदा हुनेछ । मेष र मिथुन राशि हुने हरूसँग राम्रो मानिँदैन ।  अरु राशिसँग मिलेर काम गर्दा फाइदाजनक हुनेछ । महत्त्वपूर्ण कारोबार गर्दा घरभन्दा उत्तर दिशामा गएर गरेका कामबाट सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूले विशेष गरी मिथुन राशिहुनेहरूसँग प्रेम सम्बन्ध राम्रो हुनेछ । वृष र कर्कट राशि हुनेसँग प्रेममा सफलता पाउन भने गाह्रो हुनेछ । यी राशिसँगका व्यक्तिसँगको कुनै पनि कारोबार अन्तिममा पूरा नहुदै रोकिने हुन्छ । यी दुई राशि वृष र कर्कटबाहेकका अरु राशि हुनेहरूसँगको सम्बन्ध राम्रो हुनेछ । विवाह गर्दा समेत राम्रो नहुने हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिमा जन्मेका मानिसका लागि कर्कट राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ । तर, मकर राशि हुनेले मिथुन र सिंह राशि हुनेसँग काम नगरेकै राम्रो हुन्छ । अरु राशि हुनेसँगको सम्बन्ध राम्रो नै मानिन्छ । मकर राशि हुनेले विशेष गरी दक्षिण दिशामा बसेर काम गरेमा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विशेषगरी कुम्भ राशिका मानिसले सिंह राशि हुनेसँगको सम्बन्ध राम्रो मानिन्छ । तर, कर्कट र कन्या राशि हुनेसँगको सम्बन्ध भने नराम्रो नै मानिन्छ । पारिवारिक सम्बन्धका लागि बाँकी रहेका राशिसँगको सम्बन्ध राम्रो नै मानिन्छ । कुम्भ राशि हुनेले पश्चिम दिशामा बसेर काम काम गरेमा लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिमा जन्मिएका मानिसले विशेषगरी कन्या राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ । सिंह र तुला राशि हुनेसँगबाहेक अरु राशिसँगको सम्बन्ध राम्रो नै मानिन्छ । विशेष प्रगतिको लागि उत्तर तथा पूर्व दिशाहरू लाभदायक हुनेछन् ।
(लेखक सुरेशचन्द्र रिजाल ज्योतिश तथा वास्तुविद् हुन् ।)
 

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं, २ फगुन । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छ । 

प्रेमका  पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।

तेस्रो सताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले  भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सायौं अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।

यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एकअर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मनपरेको व्यक्तिलाइ प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहाव्यपी रुपमा यो दिवस मनाईने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन (किस) डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रुपमा मनाउने गरिन्छ ।
 

बुढीगण्डकी जलविद्युत् आयोजना हरहालतमा अगाडि बढाउँछौँ – नारायणकाजी श्रेष्ठ

काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी जलविद्युत् आयोजना हरहालतमा अगाडि बढाइने बताएका छन् । सोमबार जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजनाले अहिले पनि ठोस रुपमा गति लिन नसके आयोजना निर्माण काम धेरै पछाडि पर्ने बताए । उनले भने “यसको निर्माण प्रक्रिया अगाडि बढ्छ, यो हाम्रो दृढता हो ।” उनले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियामा देशलाई लैजानुपर्ने बताए ।

नेपाली जहाजहरु नाफामा चल्नुपर्छ – मन्त्री किराती

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली जहाजहरु नाफामा चल्नुपर्ने बताएका छन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराती यस्तो बताएका हुन् ।

नेपाली जहाजहरु नाफामा चल्नुपर्ने भन्दै मन्त्री किरातीले नेपाल एयरलाइन्स डुबेको हेरेर आफू बस्न नसक्ने बताए।  नेपाली जहाजहरु दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्ने बताएका उनले नेपालमा बनेका विमानस्थल पूर्णरुपमा चलाउन कार्ययोजना मागेको बताए । अर्बौं रुपैयाँको लगानीमा बनेका विमानस्थललाई प्रयोगविहीन हुन दिन नहुने भन्दै उनले विमानस्थल सञ्चालनका लागि नीतिगत रुपमा पहल गर्ने जानकारी दिए । 

अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको जानकारी दिएका उनले नयाँ जहाज किन्ने बारेमा आफूलाई कुनै पनि जानकारी नभएको दाबी गरे । 
 

पाठेघर खसेका २८ महिलालाई नगरपालिकाले पुर्‍यायो अस्पताल 

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका २८ महिलालाई उपचारका लागि अस्पताल लगेको छ । घर–घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परिक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ महिलामध्ये २८ जनालाई निःशुल्क उपचारमा लगेको हो ।

पाठे घर खसेका महिलालाई उपचारका लागि सोमबार दुई वटा बस रिजर्भ गरेर शिर मेमोरियल अस्पताल बनेपा, भक्तपुर पुर्‍याइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । 

अस्पताल पुर्‍याइएका १० जनालाई भर्ना गरेर उपचार प्रक्रिया सुरु गरिएको छ । नगरपालिकाले बिरामी र उसका कुरुवालाई अस्पताल जाने आउने, खाने र बस्ने व्यवस्था मिलाएको छ । नगरपालिकाको समन्वयमा सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरले अप्रेसनमा लाग्ने शुल्क र खाना खर्च उपलव्ध गराउने भएको छ । पाठे घरमा समस्या भएकामध्ये चार जनाले भने अस्पताल जान अस्वीकार गरेको नगरपालिकाले जनाएको छ । 

बिरामी, कुरुवा र नगरपालिकाका प्रतिनिधिसहित ६१ जनाको टोली सोमबार राती २ बजे अस्पताल हिँडेका थिए । बिरामी र कुरुवा बोकेको एउटा बस अर्खौले र अर्को बस दुर्छिमबाट छुटेको थियो । मेयर विमला राई, उपमेयर रमेश राउत, सामाजिक विकास शाखा संयोजक एवं बाहुनीडाँडाका रुद्रकुमार राई र स्वास्थ्य शाखा संयोजक घिमिरेको टोली पाठेघरको समस्या भएका महिला र कुरुवालाई लिएर अस्पताल पुगेका हुन् । स्वास्थ्य परिक्षण गरेर अप्रेसन गर्न मिल्ने वा नमिल्ने पहिचान गरेर उपचार प्रकृया अघि बढ्ने स्वास्थ्य शाखा संयोजक घिमिरेले बताए । 

पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो । पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले स्वास्थ्यकर्मीलाई घर–घरसम्मै पठाएको थियो । घर–घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको थियो ।

नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो । डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना महिलाको पाठेघरको शल्यक्रीया गर्नुपर्ने अवस्था पहिचान गरिएको नगरपालिकाले जनाएको छ । 

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको मेयर राईले बताइन् । गत शिविरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी थिइन् ।  

देशको समस्या, आर्थिक अवस्था र परराष्ट्र नीति सबै कुरामा राष्ट्रिय सहमति आवश्यक – जनार्दन शर्मा

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले देशको समस्या, आर्थिक अवस्था र परराष्ट्र नीति सबै कुरामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । सोमबार जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासकै सबैभन्दा बढी विश्वासको मत पाएको भन्दै उनले यही मत नै राष्ट्रिय सहमतिको बलियो आधार रहेको बताए । सङ्ख्या के हो भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतमा देखिएको उनले बताए ।

“उहाँले इतिहासकै सबैभन्दा बढी विश्वासको मत पाउनुभयो”, उनले भने, “अब संसद्मा सङ्ख्या गनेर काम छैन । राष्ट्रिय सहमतिको खाँचो छ भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतले प्रष्ट पारेको छ ।” “हिजो र आज गरेका गठबन्धनभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्नुपर्ने बेला आएको उनले बताए ।

पाँचौं पिएल पिएलःनेपाल भारतका ३२ क्रिकेट टिम सहभागी

भैरहवा, १ फागुन, बुद्ध जन्मस्थल लुम्बिनीमा पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट (पिएल पिएल ) टुर्नामेन्ट सुरु भएको छ ।  लुम्बिनी नव युवा क्लब पडरियाको अयोजनामा लुम्बिनी विकास कोषको खेलमैदानमा नेपाल र भारतका ३२ टिमको सहभागितामा इण्डो नेपाल नकआउट क्रिकेट प्रतियोगिता सूरु भएको हो ।

प्रतियोगिताको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले उद्घाटन गर्दै क्रिकेट खेल अहिलेको युवाहरूको आकर्षण भएकोले स्थानीय सरकार क्रिकेटको विकासमा सहकार्य गर्दै आएको बताए । क्रिकेटको उर्भरभूमि रहेको रुपन्देहीबाट थुप्रै खेलाडी उत्पादन भइ जिल्ला र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै गइरहेकोले यो खेलले पनि खेलाडीको विकाससँगै नेपाल र भारतका खेलाडी साथीबीच प्रतिस्पर्धात्मक र भाइचाराको सम्बन्ध कायम गर्नमा सहयोग पुग्ने बताए ।

प्रतियोगितामा नेपाल र भारत तर्फबाट १६–१६ टिम बीच प्रतिस्पर्धा हुने आयोजक संस्था लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए । नकआउट चरणमा हुने खेल देशबीच प्रतिस्पर्धा हुने गरी तालिका बनाइएको छ । प्रतियोगितामा भारतको गोरखपुर, आजमगढ, लखनउ, बढनी, ककरहवा, उस्का आजमगढ लगायतका टीमले सहभागिता जनाएका छन भने नेपाल तर्फबाट रुपन्देही, गुल्मी, कपिलवस्तु र नवलपरासीका टीमहरु बीच प्रतिस्पर्धा हुनेछ । विगत ४ वटा प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको यो प्रतियोगिताले यस क्षेत्रको खेलाडीहरुमा विकाससगै अनुशासनमा रुपान्तरण गरेको छ । १५–१५ ओभरमा दैनिक २ वटा प्रतियोगिता हुने अध्यक्ष हुसेनले बताए ।    

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै बेष्ट ब्याट्सम्या र बेष्ट बलर लाई तीन हजार नगद , अनुशासित टिमलाई ५ हजारले पुरस्कृत गरिने खेल संयोजक मोहम्मद सरिफले बताए । म्यान अफ द सिरिजमा भने यस पटक रेन्जर साइकल राखिएको छ भने प्रत्येक खेलको म्यान अफ द म्याच र गेम चेन्जर खेलाडीलाई नगद ५–५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् । 

उद्घाटनको अवसर पारेर पहिलो दिन २ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल जावेद स्टार र सन्तकविर नगरबीच भएकोमा जावेद स्टार ८ विकेटले विजयी भएको छ । त्यस्तै दोस्रो खेल लुम्बिनी युथ क्लब र मर्चवार स्टारबीच भएकोमा २५ रनले मर्चवार स्टार विजयी भएको छ ।  भोली मंगलबारको खेल रोहिणी स्टार धकधई र होटल पवन प्यालेज र दोस्रो खेल ओजश कन्सट्रक्शन र जय विष्णु विल्डर्सबीच हुने छ । 

खड्गप्रसाद गौचन स्मृति पाचौ राष्ट्रिय यु–१९ क्रिकेटः काशी नोबेल विजयी

भैरहवा – खड्गप्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाको काशी नोबेल एकेडेमीले विजयी भएको छ । सोमबार भएको उद्घाटन खेलमा काशीले देवदह क्रिकेट युनिटलाई ८ विकेटले पराजित गरेको हो । पूर्व क्रिकेटर शक्ति गौचनले आफ्नो बुबाको स्मृतिमा आयोजना देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर देवदहले ४० रनको लक्ष्य दिएको थियो ।

देवदहका संकित भट्टराईले २४ बलमा ९ र सुरज खड्काले २७ बलमा ८ रनबाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन् । कम स्कोरमा रोक्न काशीका शेहजाद आलमले ४ तथा सन्तोष यादवले २ विकेट लिए । झिनो लक्ष्यलाई काशीका ब्याट्सम्यानहरूले ८ ओभरमा ३ विकेटको नोक्सानीमा भेटाए । विजय प्रजापतीले २२ रन समिर अलिले ११ रनको योगदान दिए । खेलमा शेहजाद आलम म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

मंगलबार स्टार क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा सेन्टर क्रिकेट एकेडेमी कास्की र देवदह क्रिकेट युनिटका बीचमा हुने छ । गौचनले वार्षिक कार्ययोजना बनाएर प्रतियोगिताहरु गर्दै आएका छन् । बुबाको स्मृतिमा यु–१६ खेलबाट शुरु गरेर पाचौ संस्करणमा आइपुग्दा यु–१९ राष्ट्रिय प्रतियोगिता गर्न लागेको उनले बताए ।

पुरस्कार राशी पाचौं संस्करणमा ३० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लिग खेलहरू २५ ओभरको हुनेछ भने फाइनल खेल ४० ओभरको खेलाइने छ । यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टिम), न्यु होराइजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समुहमा राखेर ८ टिमबीच खेल हुनेछ ।

लिग आधारमा हुने खेलमा दुई समीहबीच ३–३ गरी कुल १५ खेल हुनेछ । एक समारोहका बीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, न्यु होराइजन माविका प्राचार्य लोकनाथ ज्ञवाली, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य कमल पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका छन् । 

सानीभेरी मौराखारा गुरिल्ला म्याराथनको उपाधि बुढालाई

सुर्खेत, २८औ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधी पुरुषतर्फ दुर्गाबहादुर बुढाले हात पारेका  छन् ।

सोमबार भएको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्नुहुँदै रुकुम पश्चिमका बुढाले प्रथम स्थान प्राप्त गर्नुभएको हो । उनले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दूरी पार गरेको आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । बुढाले एक लाख पुरस्कार राशी प्राप्त गरेका छन् ।

त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दूरी पार गरेर दोश्रो स्थान हाँसिल गरेका छन् । रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दूरी पार गरेर तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । निर्धारित दूरी पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान ल्याए ।

दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश: ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिए ।

त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम भएकी छन् । उनले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गरिन् ।

खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दूरी पार गरेर दोश्रो स्थान हाँसिल गरेकी छन् भने जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गरिन् । उनले तीन घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गरेकी हुन् । प्रथम, दोश्रो, तेस्रो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश ६० हजार, ४० हजार र  २० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकीय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए ।

ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन, आधा घण्टा बसे तर केही बोलेनन् 

झापा – पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको सोमबार उदघाटन गरेका छन् । 

सरकारले ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।

कार्यक्रम स्थतलमा पुगेका पूर्वराजा शाह आधा घण्टा बसेर फर्किएका थिए । उनले त्यहाँ कुनै सार्वजनिक अभिव्यक्ति दिएनन् । मेचीनगर नगरपालिका-६ को प्यारिभिट्टामा आयोजित समारोहमा महाअभियान सुरु गरिएको हो ।
 
उद्घाटन कार्यक्रममा शाहकी श्रीमती कोमल शाह, छोरा पारश शाह र छोरी शिताष्म शाहको  सहभागिता थियो । पूर्वघोषित कार्यक्रम अनुसार शाह परिवार दिउँसोको २ बजे कार्यक्रम स्थल आइपुगेको थियो ।उनीहरू त्यहाँ आधा घण्टामात्रै बसेका थिए । 

पशु पालनबाट मासिक दुई लाख आम्दानी गदै भवानी सापकोटा

बारा, १ फागुन । बाराकाे निजगढ नगरपालिका–५ बागदेवकी भवानी सापकोटाले व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी गर्दै आइरहेकी छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद सापकोटाले भैँसी पालनबाट मासिक दुई लाख बढी आम्दानी गर्दै आइरहेकी हुन् ।

सापकोटाले पाँच भैँसीबाट सुरू गरेको बकैया ठाकुर पशु फर्म व्यवसाय अहिले करिब ६५ वटा भैँसी र २२ वटा पाडापाडीले भरिभराउ छ । भैँसीमा पालनमा रमाएकी सापकोटा परिवारले २०७५ सालबाट मात्रै भैँसी पालन सुरु गरेकी थिइन् ।  उनीसँग भैँसी मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । उनले  भैँसी, खसी, कुखुरा पनि पाल्दै आएकी छिन् । अहिले सापकोटा परिवारलाई खसीबोका तथा कुखुरा बिक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर फार्ममै पुग्ने गरेको उनी बताउँछिन् । हाल ६० वटा खसी तथा बाख्रा र एक सय ५० भन्दा बढी कुखुरा समेत पालन गरेकी सापकोटा भन्छिन्, ‘निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको छ ।’ 

२०७५ सालमा पहिले पटक मधेश प्रदेशबाट ४ लाख युवा लक्षित कार्यक्रमबाट पाइएको भए पनि त्यसपछि राज्यबाट कुनै सहयोग प्राप्त नभएको सापकोटाको भनाइ छ । परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने सापकोटालाई त्यसयता राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्छिन् ।

‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्याे । तर कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ ।  हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन,’ उनले भनिन् । राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी ।  तर वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग नमिलेकोमा उनी गुनासो गर्छन्  । 

दुहुना भैँसीबाट दैनिक ३०० लिटर दूध बिक्रीहुदाँ मासिक दुई देखी दुई लाख ५० हजार सम्म आम्दानी हुने उनको भनाई छ । यस बाहेक खसी कुखुराबाट वार्षिक ७ लाख आम्दानी गर्दै आएको उनले बताइन् । 

भैंसीबाट उत्पादित पाडापाडी, पालिएका खसी र कुखुराको विक्रिबाट ब्यवसायको आधा खर्च जोहो हुँदै आएको उनले बताइन् । सापकोटा परिवारको अवाश्यकता यसबाट नै पूरा हुदै आएको छ । पशु पालन व्यवसाय सुरु गरेको करिब ५ वर्ष वितेको छ । अहिले सापकोटा परिवार पशु पालन ब्यवासयबाट सन्तुष्ट देखिन्छन । 

थोरै लगानीबाट सुरु गरिएको पशुपालन ब्यवसायले सुन्तुष्टि हुने र कृषि पेशामा लागेर के नै हुन्छ भनी विदेश पलायन हुने थुप्रैका लागि उनी दरिलो उदाहरण बनेकी छन् ।

जनयुद्ध दिवसमा भक्तपुरमा दीप प्रज्ज्वलन

भक्तपुर – जनयुद्ध दिवसको अवसरमा मंगलबार भक्तपुरमा दीप प्रज्ज्वलन गरिएको छ ।

विप्लव समर्थित नेकपा भक्तपुरको आयोजनामा भक्तपुर नगरको बाराहीस्थान चोकमा दीप प्रज्ज्वलन गरिएको हो । कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी विस्फोटलगायतको उपस्थिति रहेको थियो । 
 

प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव क्वात्राको भेट

काठमाडौं, १ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको छ ।

सोमबारै बिहान काठमाडौं आइपुगेका सचिव क्वात्रा प्रधानमन्त्री दाहालसँगको शिष्टाचार भेटवार्ताको लागि बालुवाटार पुगेका थिए ।

भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फागुन १० गतेभित्र वर्तमान सत्ता गठन्बन्धन भत्किन्छ : महामन्त्री थापा

भैरहवा – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन् । उनले १० गतेभित्र अध्यारोमा नभइ दिउँसो उज्योलोमा गठबन्धन भत्किने बताए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्म भत्किने बताएका हुन् ।

महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नती र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेट विपरित बनेको वर्तमान सत्ता गठबन्धन भत्किने बताए ।

उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन अगाडि बढ्नु पर्नेमा जोड दिए ।  चुनाव भन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ । 

नेपाली कांग्रेस भेरी नगर कमिटीका सभापति बुढा पक्राउ

सुर्खेत – जाजरकोट भेरी नगरकमिटीका सभापति तथा भेरी नगरपालिका ६ का वडाध्यक्ष शशि बुढालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति बुढाको २७ वर्षीया श्रीमती भावना बुढा घर्तीले आत्महत्य गरेपछि बुढालाई पक्राउ गरिएको हो ।

मृतकका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ज्वाई  बुढा पक्राउ परेका हुन् । आत्महत्या दुस्सान सम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ । घटनालाई मिलाउनका लागि नेपाली कांग्रेसको जिल्ला स्तरिय टिम लागेको छ भने नेकपा एमालेको टिमले कुनै हालतमा पनि अन्यय नसहने भन्दै कारबाहीको माग गर्दै पीडितको पक्षमा लागेको छ ।

वडाध्यक्ष बुढाकी मृतक कान्छी श्रीमती हुन् । वडाध्यक्ष बुढालाई प्रहरीले पक्राउ गरेपछिमात्र आज शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लिइएको छ । बुढा यो भन्दा पहिला पनि जुवातास खेलेको आरोपमा पक्राउ परेका थिए । 
 

रास्वपाको केन्द्रिय समिति ४० सदस्सीय पुग्यो, आजको बैठकवाट थपिए १६ जना

काठमाडौं, १ फागुन । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। 

सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय लिदै ४० सदस्यी बनाएको हो ।  यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए।

रास्वपाका अनुसार आजको बैठकले निशा मेहता, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल, विन्दवासिनी कंसाकार, रूपा शंकर, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं,  विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट,र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

सेयर बजार सोमबार बन्द

काठमाडौं, १ फागुन । सेयर बजार सोमबार बन्द हुने भएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हाे ।

आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ । बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

भक्तपुरकाे कुखुरा फार्ममा आगलागी

भक्तपुर, १ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जाकृति चोकको एउटा कुखुरा फाममा आगलागी भएको छ । सोही स्थान बस्ने ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौ कोटेश्वर घर भएकी वर्ष ४३ की विना गुरुङकाे कुखुरा फर्ममा आगलागी भएको हो ।

कुखुराको चल्लालाई तापक्रमको लागि राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगोलागी भएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिगएर आगो निभाउन सफल भएको परिसरका एसपी प्रजित केसीले जनाए ।

नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ । आगलागीबाट ब्राेईलर कुखुराको चल्ला १८ सयवटा र कुखुराको फर्म गरी जम्मा ९ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

राष्ट्र बैंकको निर्देशन- सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू

काठमाडौं, १ फागुन । सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे छ । तर, बैंकहरु खाेल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । जनयुद्ध दिवसको अवसरमा सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे हाे ।

तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकाे हाे ।

राष्ट्र बैंकले साेमबार नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

‘जनयुद्ध दिबस’ मनाउने निर्णयमा शेखरको प्रश्न, ‘कस्तो शाषन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

काडमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले १ फागुनलाई ‘जनयुद्ध दिबस’ पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।
 
आज अर्थात १ फागुनलाई जनयुद्ध दिबस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिका टिप्पणी भईरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन । 

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोईरालाले टविट गर्दै प्रश्न गरेका छन, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ?  देश कता जाँदैछ ? कस्तो शाषन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’ 

 जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ । 

पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस

काठमाडौं, १ फागुन नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ ।

पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो । 

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यापर्ण गरेका थिए भने सहिद स्तम्भम शिर झुकाएर अभिबादन गरेका थिए ।  सो कार्यक्रमा माओवादीका उच्च नेताहरुको पनि उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ । 

आज हरियो तरकारी र फलफूलको मुल्य यस्तो रहेको छ  

काठमाडौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पफलफुल तथा तरकारीकाे बजार मुल्य सार्बजिनक गरेकाे छ ।

जसअनुसार सोमबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ७० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम गरिएकाे छ ।

सोमबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्य च्याउ  १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १८० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा ताेकेकाे छ । 

उता, छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३६ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, नेपाली सुकेको लसुन ८० र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजी मुल्य ताेकेकाे विकास समितिले जनाएकाे छ।  

सोमबारको विनिमय दर: अमेरिकी डलर स्थिर, युरोमा ओरालो

काठमाडौं, १ फाल्गुण .नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। आईतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६२ पैसा र बिक्रीमा १४१ रूपैयाँ २६ पैसा छ। आइतबार युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसाले ओरालो लागेको छ ।

यस्तै, सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५५ पैसा तोकिएको छ। यसअघि आइतबार यसको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ १० पैसा र बिक्रीमा ९१ रूपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा तोकेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ९ पैसा र बिक्रीदर ३५ रूपैयाँ २५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा पाइन्छ। यसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ।