`

नयाँ बसपार्क घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । 

गत सोमबार नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरसहितको आन्दोलनका क्रममा दुईवटा प्रहरी भ्यान, प्रहरी बिटमा आगजनी तथा मोबाइल पसल चोरी भएको थियो । साथै करिब तीन दर्जन जति सुरक्षाकर्मी घाइते भएका छन् । 

उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले काठमाडौंमै यस प्रकृतिको भएको घटना राज्यले गम्भीर रुपमा लिएको बताएका हुन् । घटनाको गहिरो अध्ययन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय पाउने वातावरण बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । 
 

नक्कली सवारी चालक अनुमती पत्र बनाउने तीन जना पक्राउ

काठमाडौं, ३ माघ, काठमाडौंका विभिन्न स्थानबाट नक्कली चालक अनुमती पत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई काठमाडौंको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट पक्राउ गरिएको जनाएको हो । उनीहरूलाई आवश्यक कारबारहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

अनेरास्ववियुमा सहमति भएन, अध्यक्षका लागि भोली निर्वाचन हुने

काठमाडौं, ३ माघ अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बुधबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । 

१० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ ।

गोंगबुँ घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, प्रहरीले आइतबार काठमाडौंको गोंगबुँस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

काठमाडौं प्रहरीले उदयपुर बलमता गापा-२ घर भई काठमाडौं ताराकेश्वर-१० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्दै आएका रामहरि भण्डारी, लमजुङ बेसीसहर-५ घर भई काठमाडौं ताराकेश्वर-१० बस्दै आएका विवेक श्रेष्ठलाई पक्राउ गरेको हो ।

यसैगरी जिल्ला काभ्रेपलाञ्चोकक मानेडाडाँ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका राजेश तामाङ, प्युठान कडी गापा-१ घर भई गोंगबुँ बस्दै आएका दीपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु-२ घर भई काठमाडौँको गंगाहल बस्दै आएका आशिष खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत आइतबार माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका व्यवसायीहरूले ट्राफिक कारबाहीको विषयलगायत विभिन्न दसबुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा आन्दोलनकारीले बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गरेका थिए।

यस्तै गाडीभित्र रहेको मोटोरेला बेस सेट, फायर स्ट्रिंगुजर, मेगा फोनलगायतका सामान पनि नष्ट भएका थियो । साथै माज्दा गाडीभित्र रहेको हाइटेरा बस सेट, फायर स्ट्रिंगइजर, मेगा फोन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ती व्यक्तिलाई सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा बमोजिम पक्राउ गरिएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट दिन तीन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

निर्मला कुर्मी प्रकरण: ४८ दिनदेखी माइतीघरमा जारी आन्दोलन आजवाट स्थगित

काठमाडौं, ३ फागुन । बाँकेकी निर्मला कुर्मीको मृत्युसम्बन्धी जाहेरीमा अनुसन्धान गरेर दोषीमाथि मुद्दा चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि माइतीघरमा ४८ दिनदेखि जारी आन्दोलन आजवाट स्थगित भएको छ।

प्रधानमन्त्री दाहालले मंगलबार कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षसँग वार्ता गरेर तीन बुदेँ सहमति गरेपछि माइतीघर मण्डलामा ४८ दिन देखी जारी आन्दोलन स्थगित भएको हो । 

सहमति अनुसार कुर्मीको अपहरण, शरीर बन्धक तथा मृत्युसम्बन्धी जाहेरीमा अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गरिने छ । आन्दोलनरत पक्षका व्यक्तिको जीउज्यान सुरक्षाका लागि उचित समन्वय र प्रबन्ध गर्ने र अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोगको माग यथावत् राख्दै हाललाई तेस्रो चरणको आन्दोलन स्थगित गर्ने गरी तीन बुदेँ सहमति भएको हो । 

सो बार्तामा सरकारको तर्फवाट गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप शाहसमेत सहभागी थिए भने आन्दोलनकारीका तर्फवाट रुबी खानलगायतको उपस्थित थियो । तीन बुदेँ सहमतिमा रूबी खानलगायतले र सरकार तर्फबाट गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले हस्ताक्षर गरेका छन्। 

निर्मला कुर्मिको न्यायिक आन्दोलनको माग सम्बोधन भएको भन्दै खानले आज बिहान ११ बजे माईतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजनासमेत गरेकी छिन । 


 

५ लाख नक्कली सोटसहित बाँकेमा तीन पक्राउ

नेपालगञ्ज, ३ फागुन । करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई पक्राउ परेका छन् ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट तीनजना पक्राउ परेका हुन ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले दिएकाे जानकारी अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्। सो क्रममा उनीहरुबाट १ हजार दरका नक्कली नोट ५६९ थान बरामद भएकाे छ ।

प्रहरीका अनुसार रानाका साथबाट ४१८ थान र कुमाइका साथबाट १५१ थान नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ। नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेको अवस्थामा तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।  

आज प्रतिनिधिसभा बैठक: चालु अधिवेसनमा पेश हुने ‘सम्पत्ति शुद्धिकरण संबन्धी बिधेयक’ पहिलो बिधेयक

काठमाडा‌ै, ३ फागुन । आजको प्रतिनिधिसभा बैठकका सम्पत्ति शुद्धिकरण सबन्धी बिद्येयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा  विहान ११ बजे देखी सुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धिकरण सबन्धी बिद्येयक चालु अधिवेसनमा पहिलो बिद्येयकसमेत हाे । 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री धुव्रबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” बैठकसमक्ष पेश गर्नेछन् ।

उनका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन ।

साथै, कृषि तथा पशपुंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी बैठकसमक्ष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको मुल्य

काठमाडौ, ३ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ । 

जसअनुसार बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, नेपाली सुन्तला १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ र अमला ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भईरको छ ।

उता, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्ये च्याउ  १५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १३० रुपैयाँ केजीमा तथा तोरीको साग २० रुपैयाँ र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँ मुठोमा पाइन्छ ।

यसैगरी, छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, चाइनिज सुकेको लसुन १८०, नेपाली सुकेको लसुन ९० रुपैयाँ र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँमा बिक्रि भईरहेको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २६० रुपैयाँ र रहु माछा ३५० रुपैयाँ केजीमा बिक्रिी भईरहेको समितिले जनाएको छ । 

आजको बिनिमय दरः अमेरिकन डलर उकालो लागेको लाग्यै 

काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बैंकका अनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

उता, युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा तोकिएको छ, यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले उकालो लागेको हो । मंगलबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६९  पैसा कायम भएको थियो ।

बुधबार २ रुपैयाँ ११ पैसाले वृद्धि भइ बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।  यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७१ पैसामा कारोबार थियो ।  

राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज  दाङ जाँदैछिन ।

नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्। 

आजै लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको दिन सार्वजनिक बिदा दिएको छ । 

प्रदेश १ को प्रदेश सभा बैठक ११ बजे

बिराटनगर, फागुन । प्रदेश १ काे प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । 

अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाकाे बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको छ । 

तीनवटा सरकार फेरिएपछि संबैधानिक नियुक्तीको अन्तिम सुनवाई आज

काठमाडौं, ३ फागुन । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संबैधानिक नियुक्तीको अन्तिम सुनवाई तीनवटा सरकार फेरिए पछि सर्वोच्चले आज अन्तिम सुनवाई गर्न लागेको हो ।

ओली सरकार पछि मुलुकमा परमादेशवाट शेरबहादुर देउवा र निर्वाचन पछि पुष्पकमल दाहाल प्रचण्डको सरकार निमार्ण भईसकेको छ।  पटक–पटक सुनुवाइ प्रभावित भए पछि सर्वोच्च अदालतले गत ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषदको बैठक डाकेको, गणपुरक संख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको निर्णय गरेकाले प्रक्रिया मिचिएको साथै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर उनीहरुको जवर्जस्ती नियुक्ति गरिएको भन्दै रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग छ ।
 

भारतीय सचिवको नेपाल यात्राः प्रचण्डसँग दुई–दुई पटक बार्ता, दुई दिनमा १४ नेता भेटे

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा स्वदेश फर्केका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरेका हुनु  । पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ वालुवाटारमा अनौपचारिक भेटघाट गरी स्वदेश फर्केका हुन । 

नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि बिदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेपछि अन्तिमा पुनः प्रचण्डसँग भेटघाट गरेको स्रोतले बतायो । बालुवाटारमा मंगलबार साँझ भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन । सो भेटलाई वालुवाटारले गोप्य राखेको छ ।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दल बिच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबिच घोचपेच भईरहेको बेला बिदेश सचिव क्वात्राले संघीय संसदका ठुला देखी साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ । मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविश्यका बारेमा उनले चासो ब्यक्त गरेका थिए ।

सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो ब्यक्त गरेका बिदेश सचिव क्वात्राले अन्तिमा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन । 

आज टियु मैदानमा नामिबिया र स्कटल्याण्ड भिडदैँ

काठमाडौं, ३ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियाले आज स्कटल्याण्डसँग खेल्दैछ । 

आज बिहान ९ः०० बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले बिजयका लागि प्रतिस्पर्धा गर्नेछन । नामिबिया हिजो नेपालसँग दुई बिकेटले पराजित भएको थियो । 

उता, स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो, उसका लागि नेपालमा पहिलो पटक खेल हुनेछ । 

स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ भने नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

स्कटल्यान्डको टोलीः

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप–कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर , शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।

नामिबियाको टोलीः 

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।
 

लुम्बिनि प्रदेश स्थापना दिवसः सार्वजनिक बिदा देखी देउखुरीमा कार्यक्रमसम्म

स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ । 

प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश  सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । जसकाे  उदघाटन प्रदेश  प्रमुख अमिक शेरचनले गर्दैछन । 

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।

टोटनहम मिलानद्धारा १–० ले पराजित

काठमाडौं, ३ फागुन । इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा  पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो । जसअनुसार खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । अन्तत त्यही गोल नै मिलानको जित नै निर्णायक बन्यो ।

हिल्सामा दुईदेखि तीन फिट हिउँः सिमा सुरक्षा गर्न हिउँमा गस्ती

सुर्खेत, ३ फागुन । सिमा जोगाउनका लागि हुम्ला स्थित सीमा सुरक्षा चौकी (विओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन् ।  नेपाल र चीनको सीमाना हिल्सामा सीमा सुरक्षाका लागि सुरक्षाकर्मी हिँउमा नियमित गस्ती कार्य गर्दै आएका हुन् ।

नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन हिउँमै गर्नुपर्ने भएकाले आफूबाट  गस्ती गर्न बाध्य भएको बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए । नेपाल चिनको बीचमा रहेको सिमानामा हिउँमै भएपनि गस्ती गर्नुपरेको छ ।

हिल्सामा दुईदेखि तीन फिट हिउँ जमेको कारण त्यहाँ हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ ।  सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पच्चीस जना सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षा चौकीमा खटिँदै आएका छन्। हिउँ नहुँदा हिल्साबाट यारीसम्म गएपनि अहिले नारा लेकमा बाक्लो हिउँ जमेको कारण चोर लाग्नासम्म मात्र पुग्न सकिन्छ ।

बिहान गस्तीमा निस्केको टोली बेलुका मात्र चौकीमा फिर्ता हुने गरेको छ। दैनिक गस्ती निस्कने भएको कारण सुरक्षा व्यवस्थामा हालसम्म कुनै समस्या देखिएको छैन। घाम लागेपछि मात्र हिल्साबाट सञ्चार सेवावाट  सम्पर्क गर्न सकिने छ । 

एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या

काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या अन्त्य गर्नकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो ।

उक्त निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिन मात्र दोस्रो बजारमा शेयर किनबेच रोक्का गर्ने व्यवस्था छ ।पुसमै एकीकृत कारोबार शुरू गरिसकेका पाँच कम्पनीको शेयर कारोबार अझै खुलेको छैन ।

सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट मेगा, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार भएको लामो समयसम्म पनि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ ।यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुँदा राम्रो – विज्ञ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ ।प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्ने भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे छलफल भएको थियो ।

पहिलो पटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण सुरु गरेका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमा नै गरेका थिए ।यस पटक पनि पदभार ग्रहण गरेलगत्तै उनले आफ्नो पहिलो विदेश भ्रमण भारतमा नै हुने उल्लेख गरेका थिए ।

भारत भ्रमणको मिति तय नभए पनि प्रधानमन्त्रीले भारत भ्रमणमा ऊर्जा, व्यापार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), कृषि, शिक्षा र संस्कृतिसँगै हवाई सेवालाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरूको धारणा छ ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा यस पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली गए हवाई रुट र भैरहवा विमानस्थलमा जडान गरिएका उपकरण सञ्चालनमा थप सहजता हुन सक्ने विश्वास विज्ञहरूको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

पिएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत

पेरिस — बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको जित निकालेको छ।

बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजित गरेर झिनो अन्तरको जीत निकालेको हो  । 

किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल नै बार्यनले १–० को जीत हासिल गर्न सजिलो भएको हो । फ्रान्सेली लिग वान च्याम्पियनमा पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो । 

एमाले अखिल महाधिवेसनः सहमती नभए नयाँ नेतृत्वका लागि आज मनोयन र मतदान

काठमाडौं, ३ फागुन । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेसनको नयाँ नेतृत्व चयनका लागि आजवाट मतदान प्रक्रिया सुरु हुने भएको छ । 

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो । 

त्यसका लागि निबर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफनो कमिटी भंग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन् । जसमा खिमलाल भट्टराई, बिनोद ढकाल, रचना खडका, माधव ढुंगेल, किशोरबिक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् । 

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।

‘निः शुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन को हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरिसकेका छन ।  महाधिवेसन २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ । महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधि आएका छन । 
 

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो । उनका अनुसार जारी महाधिवेसनले १९९ सदस्सीय केन्द्रिय समिति तथा तीनवटा केन्द्रिय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन । 

उनका अनुसार सहमतीयवाट आज नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चरा र स्यालको रजाइँ !

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला पर्छ। दक्षिणतिर सेती नदी पर्छ।विजयपुर खोला त धावनमार्गको झनै नजिक छ। यतिसम्म कि अवतरणका क्रममा रहेको जहाजले खोला पार गर्नासाथ धावनमार्ग टेक्न पुगिहाल्छ।

विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला प्रायः दुर्गन्धित हुन्छन्। सेतीको तुलनामा विजयपुर खोला बढी फोहोर हुन्छ।मरेका गाइवस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहोर, बंगुरको फोहोर खोलामै फालिन्छ।

जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्। सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चुनौती’ बन्दै गएको विमानस्थलले बताएको छ।खोलामा पानी कम भएको अवस्थामा त सिनोका कारण चरा बढी आकर्षित हुने हुँदा समस्या बढ्ने गरेको छ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार खोलामा जथाभावी फालिने सिनोका कारण चरा आकर्षित भएकाले त्यसको चुनौती विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा पर्ने गरेको छ। केही दिनअघि त अवतरणका क्रममा रहेको जहाजसँग चरा नै ठोक्किएको थियो।

‘विमानस्थलको नजिक रहेको ल्यान्डफिल्ड साइट त हट्यो तर खोलामा जथाभावी बगेर आउने सिनोले हवाई उडानमा चुनौती बढाएको छ,’ गौतमले भने, ‘मरेका पशुपंक्षी खोलामा भेटिन्छन्। खोला क्षेत्रमा त्यही सिनोलाई आहारा बनाउने चराको बिगबिगी छ। जसले गर्दा हवाई उडानमा समस्या थपेको छ।’

विमानस्थलको धावनमार्गको मुखैमा चराको बथान नै उड्ने गरेको उनले सुनाए। ‘जथाभावी खोलामा फोहोर फ्याँक्दा समस्या बढेको छ।फोहोरकै कारण चराको जोखिम रहेको भन्दै महानगरले ल्यान्डफिल्ड साइट हटायो तर जथाभावी फोहोर खोलामा बगेर आउँदा त्रास बढेको छ,’ उनले भने, ‘विजयपुर खोलामा बढी चरा हुन्छन्।

जहाज अवतरण गर्नै लाग्दा चराको बथान उड्छन्।’ यसअघि पोखरा महानगरले फोहोर व्यवस्थापन गर्दैे आएको पोखरा– १४ बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइट विमानस्थल सञ्चालनमा आएसँगै हटाइएको थियो।’ अहिले महानगरले सहरको फोहोर पोखरा– ३२ लामेआहालमा फ्याँकिरहेको छ।

फोहोरका कारण हुने जोखिमबाहेक विमानस्थल क्षेत्रको झाडीका कारण स्यालको जोखिम पनि उत्तिकै रहेको पोखरा– १४ का अध्यक्ष बोधराज कार्की बताउँछन्। ‘एकातिर सेती र अर्कोतिर विजयपुर खोला छन्।

दुवै खोला आसपासमा बगेर आउने सिनोका कारण चरा आकर्षित हुने गरेका छन्। त्यति मात्र नभई विमानस्थल नजिकैको झाडीमा स्याल लुकेर बस्ने गरेका छन्,’ उनले भने, ‘विमानस्थल क्षेत्रमा दिउँसो चरा र राति स्यालको रजाइँ हुने गरेको छ।

हाम्रो बस्ती नजिकै रातभर स्याल कराएको आवाज सुनिन्छ।’ विमानस्थल परिसरमा कम्तीमा पनि एक सयवटा स्याल रहेको उनको अनुमान छ।यो खबर नागरिक दैनिकमा प्रकाशित छ ।

शून्य लागतमा नेपाली नर्स बेलायतमा पठाउन समय लाग्ने

काठमाडौँ । बेलायतमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने विषयमा टुङ्गो लाग्न समय लाग्ने भएको छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउन तयार गरिएको ‘प्रोटोकल’ रायका लागि कानुन मन्त्रालयमै रोकिएकाले अझै समय लाग्ने देखिएको हो ।

कानुन मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने प्रोटोकलमा केही महत्वपूर्ण विषय छुटेको र स्वास्थ्यकर्मीका लागि जुनसुकै बेला पनि आवश्यक पर्न सक्ने भएकाले समेट्न सुझाव दिएको छ ।

श्रम मन्त्रालयका सहसचिव एवं नेपालका तर्फबाट प्रोटोकलका प्रमुख राजीव पोखरेलले प्रोटोकलमा कानुनी उपचारको पाटो छुटेको र यसलाई समावेश गर्नुपर्ने भन्ने सुझाव कानुन मन्त्रालयबाट आएकाले समय लाग्ने बताए ।

“महत्वपूर्ण विषय छुटेको हामीले पनि महसुस गरेका छौँ । यसलाई सम्बोधन गर्न पुनः बेलायत पक्षसँग छलफल गर्नुपर्छ,” उनले भने, “यसले गर्दा थप केही समय लाग्न सक्छ ।” दुवै देशका प्रतिनिधिबीच मस्यौदा आदानप्रदान गरेर प्रोटोकल तयार गरिएको हुनाले विषय थप गर्न पुनः बेलायती पक्षसँग छलफल गर्नुपर्ने उनको भनाइ छ ।

गत भदौमा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका राजदूत निकोला पोलिटबीच नेपाली स्वास्थ्यकर्मी शून्य लागतमा लगेर बेलायतमा रोजगारी दिनेगरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।सोही सम्झौताअनुसार नेपालको तर्फबाट श्रम मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख राजीव पोखरेल र बेलायतका तर्फबाट दूतावासका प्रतिनिधिबीच प्रोटोकलको मस्यौदा आदानप्रदान गरेर तयार गरिएको थियो ।

सम्झौतामा स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा ‘जीटुजी’ प्रक्रियाबमोजिम हुने उल्लेख छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

‘जीवन रक्षा : तपाईँको हातमा’ नारासहित आज बाल क्यान्सरविरुद्धको दिवस मनाइने

काठमाडौं, ३ फागुन  । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ।

‘जीवन रक्षा : तपाईँको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको मनाउन लागिएकाे हाे । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो।

हरेक ३ मिनेटमा विश्वभरका बालबालिकाहरुमा क्यान्सरले गर्दा बालबालिकाको मृत्यु हुने गरेको छ । यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दनाैं ।  हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालीका र १९ वर्षमुनिका जनसङ्ख्याहरुमा क्यान्सर हुने गरेको पाइन्छ।  उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यानसरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ । 

साथै बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो । समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालको भनाई छ ।

आजको मौसमः उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन

काठमाडाैं, ३ फागुन । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती पनि प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ भन्दै महाशाखाले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन अनुरोध गरेको छ ।

पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु

पाँचथर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ गैरीगाउँमा भीरबाट लड्दा एक वृद्धको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका-८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।

माघ २९ गते ३५ वर्षीय श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीका साथ मोरङदेखि पाँचथरको मिक्लाजुङ ६ मेवाखोलामा रहेको ससुराली घर आउने क्रममा भीरबाट लडेका हस्तबहादुरको मंगलबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।

हस्तबहादुर २९ गते नै भीरबाट लडे पनि श्रीमती सरिताले २ दिन ढिलो गरी प्रहरीमा निवेदन दिएको उनको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी खान्द्रोङबाट खटिएको प्रहरी र स्थानीयले खोजी गर्दा हस्तबहादुरको शव भेटिएको हो ।

हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु

काठमाडौं, २ फागुन । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ ।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।

फस्टलुकमा फिल्मका प्रमुख कलाकार अशु न्यौपाने र तेज गिरीलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । फिल्ममा तेज र प्रमिलाका अलावा प्रकाश घिमिर, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

त्यस्तै फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने (CASH)को ध्वनी मिश्रण छ ।

पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।

टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्छ – मन्त्री किराती

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी)केन्द्रका नेता सुदन किरातीले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने बताएका छन् । मंगलबार मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्ने बताए। निराशाको हुरी चलेको बेला आशा जगाउनुपर्ने भन्दै उनले भने, “हिजो जीवन त्याग्नुपर्ने अवस्था थियो, आज निजी स्वार्थलाई तिलाञ्जली दिए पुग्छ ।” उनले सरकारले काम गर्न सकिएन भनेर छुट पाउने अवस्था नरहेको पनि बताए । भ्र

भोलि दाङ जाँदै राष्ट्रपति भण्डारी

काठमाडों – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दाङ जाने भएकी छन् । उनी नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि त्यसतर्फ जाने भएकी हुन् ।

उनले त्यहा रहेको आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवन रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियामे । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

भेरी किनारमा एक जनाको शव फेला

सुर्खेत – सुर्खेतको भेरी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० स्थित भेरी नदी किनारमा मंगलबार दिउँसो उक्त बेवारिसे शव फेला परेको हो । 

नाम–थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उक्त शव बगेर किनारा लागेको हुनसक्ने अनुमान गरेको छ । 

शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

संसदको बनावट अस्थिरता निम्त्याउने खालको छ – ओली

काठमाडौं – प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेको बताएका छन् । काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको उनले बताए ।

पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे । 

उनले भने ‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उत्तरचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तरचढाप आउँछ,’ अध्यक्ष ओलीले भने, ‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा  हो। कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् ।’ 

ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताए ।पाँच दलीय गठबन्धन तोडेर प्रचण्डको नेतृत्वमा सरकार बनाएका उनले सरकार सञ्चालनका लागि आफू नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाएका छन् ।

तर, अहिलेको राजनीतिक समीकरण परिवर्तन पनि हुन सक्ने भन्दै उनले आफ्ना नेता तथा कार्यकर्तालाई सजग पनि बनाएका छन् ।
 

सिमा सुरक्षा गर्न हिउँमा गस्ती

सुर्खेत,सिमा जोगाउनका लागि हुम्ला स्थित सीमा सुरक्षा चौकी (विओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन् ।  नेपाल र चीनको सीमाना हिल्सामा सीमा सुरक्षाका लागि सुरक्षाकर्मी हिँउमा नियमित गस्ती कार्य गर्दै आएका हुन् ।

नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन हिउँमै गर्नुपर्ने भएकाले आफूबाट  गस्ती गर्न बाध्य भएको बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए । नेपाल चिनको बीचमा रहेको सिमानामा हिउँमै भएपनि गस्ती गर्नुपरेको छ ।

हिल्सामा दुईदेखि तीन फिट हिउँ जमेको कारण त्यहाँ हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ ।  सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पच्चीस जना सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षा चौकीमा खटिँदै आएका छन्। हिउँ नहुँदा हिल्साबाट यारीसम्म गएपनि अहिले नारा लेकमा बाक्लो हिउँ जमेको कारण चोर लाग्नासम्म मात्र पुग्न सकिन्छ ।

बिहान गस्तीमा निस्केको टोली बेलुका मात्र चौकीमा फिर्ता हुने गरेको छ। दैनिक गस्ती निस्कने भएको कारण सुरक्षा व्यवस्थामा हालसम्म कुनै समस्या देखिएको छैन। घाम लागेपछि मात्र हिल्साबाट सञ्चार सेवा गर्न सकिने गर्दछ । 

१७ लाख भारतीय नोटसहित एक जना पक्राउ

महोत्तरी – १७ लाख भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान दशगजाक्षेत्रबाट मटिहानी नगरपालिका-८ का २९ वर्षीय महेश यादवलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यादवले चलाउँदै आएको ज६प ६६६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ट्याङ्कीभित्र लुकाइ छिपाइ ल्याइरहेको अवैध रकमसहित पक्राउ गरेको हो । 

प्रहरीका अनुसार यादवको साथबाट भारतीय नोट ५०० सयको ३४ सय थान (३४ बन्डल) १७ लाख भारतीय नोट (नेपाली रुपैयाँ २७ लाख २० हजार) बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी सन्तोष पोखरेलले बताए।

पक्राउ परेका यादवलाई विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने डिएसपी पोखरेलले जानकारी दिए । 

पूर्वगृहमन्त्री खाँणसँग भारतीय विदेश सचिव क्वात्राको भेट

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् । भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ ।

त्यस्तै कांग्रेस नेतासमेत रहेका खाँणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए ।

त्यस्तै पूर्वगृहमन्त्री खाँणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्ने विषयमा पनि क्वात्रासँग छलफल गरेका छन् । थप हवाइ रुट दिन पहल गरिदिन खाँणले क्वात्रासँग अनुरोध गरेका छन् ।

गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना पक्राउ

काठमाडौं, २ फागुन-गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

वीरगञ्जमा अटो पल्टिदा एक शिशुको मृत्यु

वीरगञ्ज, २ फागुन, वीरगञ्ज महानगरपालिकामा भएको अटो दुर्घटनामा एक शिशुको ज्यान गएको छ ।

अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर वीरगञ्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजिव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  राजिव पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १० टाउनहल नजिकै सडकखण्डमा ना.१ ह ३७४० नम्बरको अटो रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको थियो ।

प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उपचारका लागि माओवादी नेता पुन चीन प्रस्थान

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिका स्रोतले बतायो ।

उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो ।

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा

काठमाडौं – विदेशमा ख्याती प्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।
ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीहरुलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउनका लागि सहकार्य गर्दै आएको छ । प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले मलेशियन एयरलाइन्स, रेलयुरोप, र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्रीफिफ्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग पनि काम गर्ने जनाइएको छ । 

साझेदारी पछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरुको पहुँचमा हुने जनाइएको छ । यो सुविधा अनुसार अव नेपालीहरुले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने छन् ।  

हर्ट्जका एसिया प्रशान्त उपाध्यष इयोन म्याकनिलले ‘अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टूर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन् ।

यसैगरी प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्ट्जसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए ।
उनले भने ‘हर्ट्जको प्रतिनिधि भएको  काम गर्न पाउँदा उत्साहित छौं, हामीलाई एक प्रतिष्ठित र प्रसिद्ध कम्पनीसँग काम गर्ने अवसर प्राप्त भएको छ । हामी उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध छौँ, नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधान त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला हुने छ ।’
प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले हर्ट्जलाई दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न र लगानी बढाउन मद्दत गर्नेछ । 

हर्ट्ज के हो त ?

ग्लोबल होल्डिङ्स अन्तर्गत रहेको हर्ट्ज संस्थानले उत्तर तथा दक्षिण अमेरिका, युरोप, क्यारिबियन, अफ्रिका, मध्यपूर्व, एशिया, अष्ट्रेलिया र न्यूजील्याण्ड क्षेत्रमा हर्ट्ज, डलर र थ्रिफ्टी ब्राण्डहरू मार्फत गाडी भाडामा उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । हर्ट्ज संस्थान संसारभरमै यस प्रकारले सवारी भाडामा उपलब्ध गराउने ठूलो कम्पनीहरूमध्ये एक हो । हर्ट्ज ब्राण्ड विश्वव्यापी रूपमै अधिक लोकप्रिय रहेको हो । 

यस अतिरिक्त हर्ट्ज संस्थानले केही विशिष्ट बजारहरूमा फायरफ्लाई कार रेन्टल, एस रेन्टल कार्स र हर्ट्ज २४/७ मार्फत थप सेवा दिँदै आएको छ र अस्ट्रेलिया र न्यूजील्याण्डमा फ्लेक्सिकार कार–साझेदारी व्यवसाय पनि सञ्चालन गर्दछ । यस कम्पनीका बारे थप जानकारीका लागि कृपया वेबसाइट www.hertz.com मा हेर्न सक्नुहुन्छ ।

प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका बारे

प्रेसिडेन्ट ग्रुप अफ कम्पनीज नेपालको पर्यटन क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो ।  सरल एकद्वार सेवा र उत्कृष्ट व्यावसायिकताले सबैको विश्वास जित्न सफल भएको छ । सन् १९७७ मा स्थापित यस समूहको संरचना आफ्ना ग्राहकको आवश्यकता पूरा गर्न सधैं तत्पर छ ।  

प्रेसिडेन्ट ग्रुपले हाल नेपालमा एयर अरेबिया, इन्डिगो एयर, मलेशियन एयरलाइन्स, केन्या एयरवेज, एयर मोरिसस, रेल यूरोप, कार्लसन वागनलिट, हान एयर, कक्स एन्ड किङ्स र ट्युन प्रोटेक्टको प्रतिनिधित्व गर्दछ ।

पुर्व अर्थमन्त्री भरतमोहनकी छोरी लिमा रास्वपाको केन्द्रिय सदस्य

काठमाडौं, २ फागुन । पुर्ब अर्थ मन्त्री भोरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन ।

गत निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीवाट समानुपातिक उम्मेदवार रहेकी अधिकारीलाई हिजोको रास्वपाको केन्द्रिय समितिले केन्द्रिय समितिमा मनोनयन गरेको हो । 

रास्वपाले १६ जनालाई केन्द्रिय सदस्य मनोनयन गर्ने क्रममा पुर्व एमाले नेता अधिकारीकी छोरी लिमा लामो समय देखी समाजसेवामा सक्रिय हुदैँ आएकी छिन ।

आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानले लिए विकेट

काठमाडाैं, २ फागुन ।  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन ।

साेमपाल कामीले यसअघि पहिलाे बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।नाबालिग बलात्कारकाे मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्।