`

राष्ट्रिय जनता दलका नेता यादवको निधन

नयाँदिल्ली-राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका पूर्वसंघय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ७५ वर्षका थिए । यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए ।

दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उनको जन्म गाउँमा अन्तिम संस्कार गरिने भएको छ । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धी, राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलगायतले दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् ।

पार्टी एकताअघि सहकार्य

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) एकीकरण अगाडि सहकार्य गर्न सहमत भएका छन् । पार्टी एकीकरण प्रक्रियालाई सहज र सजिलो बनाउन पहिला सहकार्य गर्ने सहमति भएको दुवै पक्षका नेताहरूले बताएका हुन् ।एकीकरणका लागि दुवै पार्टीले वार्ता समिति बनाएका छन् ।

वार्ता समितिका सदस्यहरूले पहिलो चरणमा कुराकानी गरेका छन् । एकदुई दिनभित्रै दोस्रो चरणको कुराकानी हुनेछ ।पहिलो चरणमा वार्ता कसरी अगाडि बढाउने, वार्ताको कार्यविधि कस्तो बनाउने भन्ने विषयमा कुराकानी भएको जसपा वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले बताए । ‘पार्टी एकीकरणअघि सहकार्य गर्ने सहमति भएको छ । एकीकरण प्रक्रिया सुरु गरेका छौं’, श्रेष्ठले भने, ‘अहिले हामी एकीकरणको प्रारम्भिक चरणमा छौं ।’

स्रोतका अनुसार अब बस्ने वार्ताटोलीको बैठकमा दुवै पक्षले आ–आफ्ना पार्टीका राजनीतिक घोषणापत्र, दस्तावेज, विधान, चुनावी घोषणापत्रलगायतका कागजात प्रस्तुत गर्ने सहमति भएको छ । वार्ताटोलीमा रहेका एक नेताका अनुसार मिल्न सक्ने विषय मिलाउँदै जाने र मिल्न नसक्ने विषय सूचीकृत गर्ने सहमति भएको छ ।आजको नागरिक दैनिकमा खबर छ ।

जसपा वार्ताटोलीका संयोजक श्रेष्ठले एकताको ढाँचा विषयमा अझै छलफल नभएको बताए । स्रोतका अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालले एमालेसँग भन्दा जसपासँगको एकीकरण प्रक्रियालाई महत्व दिएका छन् । अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको चाहनाअनुसार दुवै पार्टीले वार्ताटोली गठन गरेका हुन् ।

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

सुर्खेत – मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप रु १ लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट पास गरेर दलित छुवाछुत अन्त्यका लागि नीति निमार्ण गरेर सभाबाट बहुमतले पास भएको नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

पिछडिएका दलित समुदायको हक अधिकार लागि नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै नगर प्रमुख भामले पालिका भित्रका १ देखि १४ वडा सम्मका १३ सय दलित घरधुरी रहेको समेत बताए ।  संस्कृति ,बाजा र सीपमुलक आर्यआजनको लागि प्रति घरधुरी पहिलो चरणमा २ हजार ५ सयका दरले दलित भत्ता उपलब्ध गराउने बताएको छ । सो भत्ता अन्तिम पाचँ बर्षको कार्यकालमा ५ हजार सम्म पुर्याउने लक्ष्य रहेको नगर प्रमुखको भामको भनाई छ ।

विधेयक नगरसभाबाट १० वटा बिभिन्नि नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ समेत पारित भएको छ । त्यस्तै  अपाङ्गता भएका व्यत्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिका स्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने भएको छ ।

नागरिकको हितका लागि अत्यावश्यक  भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, लगायत व्यवसायिक दर्ता तथा नविकरण कार्यनिर्देशीका २०७९, महिला हेल्प डेक्स कार्यविधि, महिलासँग उप प्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशीका नियमावली र विपत्त जोखिम  न्युनिकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।

भक्तपुरका अधिकांश फलफूल पसलहरुले गरेनन् नवीकरण

भक्तपुर – भक्तपुरका अधिकांश फलफुल   पसलेहरुले पसल नवीकरण नगरेको भेटिएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका ६ वटा पसलहरुमा बिहीबार अनुगमन गर्दा यस्तो भेटिएको हो । समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको फलफुललगायत ६ वटा पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमनमा एच एण्ड एच जुस सेन्टर नवीकरण गर्नुपर्ने, मूल्यसूचि राख्नुपर्ने र लेवल नभएको फ्रुटो जुस ५०० मिलिलिटरकोमा लेवल नभएकोले जफत गरी नष्ट गरियो । त्यस्तै राजेश पानीपुरी विगत दुई तीनबर्ष अगाडिदेखि बिना दर्ता संचालन गरेकोले तीन दिनभित्र दर्ता गर्न, सरसफाइमा ध्यान दिन र मूल्यसूचि राख्न निर्देशन दियो ।

सुष्मा फ्रुट शप विगत चार बर्षदेखि नवीकरण नभएकोले त्यहीं नवीकरण गराएर कुहेको र विग्रेको फलफुलहरु नराख्न, नबेच्न, तराजु नवीकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै इजी मल्टि स्टोर नविकरण गर्न, म्याद नाघेको सामानहरु आसियन ड्राई फुड ९ पाकेट, लेवल नभएको पूर्णिमा स्पेशल भुजा १ पाकेट, सिक्सभिल्ला पापड १३ पाकेट जफत गरी नष्ट गरियो ।

ए।के। किराना एण्ड भेज सप्लायर्समा मूल्यसूचि राख्न, प्याकेजिङ्ग सामानमा लेवल राखेर मात्र विक्रीवितरण गर्न र म्याद नाघेको मसला पाकेटहरु १७ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै पटिन लिंकन स्टोरमा मूल्यसूचि राख्न, म्याद नाघेको प्लाटिनम कुकिज बिस्कुट १ पाकेट, जिरा वन्डर विस्कुट १ पाकेट, बटर डिलाइट विस्कुट ३ पाकेट, नटराज दालमोठ १ पाकेट, शिवशंकर बदाम १ पाकेट र कोक ५०० मिलि जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रीता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख दीलिपकुमार सुवाल, वडा निरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखा मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रसनि विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु सहभागी थिए ।

नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ ।

राष्ट्र बैंकले एक बिज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराएको छ । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैले विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेतसमेत गराएको हो ।

‘‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।

क्यालिफोर्नियाको आँधीमा ठूलो जनधनको क्षति

क्यालिफोर्निया—अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले  सडक भत्किएका र पोलहरु ढलेका छन् ।

आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ । सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

आज १४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

युगोस्लाभियामा टिटो युगको सुरुवात

सन् १९५३ मा तत्कालिन तानाशाह जोसिफ ब्रोज टिटो युगोस्लाभियाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । तानाशाह र सर्वसत्ताका बाबजुद उनलाई योगस्लाभियामा एकताका नायकको रुपमा चिनिएका थिए । टिटोलाई अझै पनि उनको उल्लेख्य योगदानका कारण धेरैले चिन्छन् ।

दोस्रो विश्वयुद्धमा अमेरिका, फ्रान्स र बेलायतको रणनीति

दोस्रो विश्वयुद्धको रणनीति तय गर्न बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजुवेल्ट र फ्रान्सका तत्कालिन राष्ट्रपति चाल्स डी गाउलीबीच सन् १९४३ को १४ जनवरीमा एउटा भेट गरेका थिए । मोरक्कोको क्यासब्लाकमा भएको १० दिन लामो सो छलफलमा दोस्रो विश्व युद्धको समयमा युरोपको गठबन्ध फौजले शत्रु पक्षविरुद्ध रणनीति तय गरेको थियो । इतिहासमा यसलाई क्यासब्लाक सम्मेलन भनिन्छ ।

एलिजावेथ प्रथम बेलायतकी महारानी

सन् १५५९ मा एलिजावेथ प्रथम बेलायतकी महारानी घोषित भएकी थिइन् । भर्जिन क्विनसमेत नामले चिनिने उनी एन्नी बोलियान र राजा हेनरी आठौंकी छोरी हुन् ।

सडक प्रदर्शनपछि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा

सन् २०११ मा ट्युनिसियाका राष्ट्रपति जिने अल अबिदिने बेन अलीले पदबाट राजीनामा दिएका थिए । गरिबी, बेरोजगारी, राजनीतिक दमनको विरोधमा उत्रिएको सर्वसाधारणको आमप्रदर्शनसामु उनी घुँडा टेक्न बाध्य भएका थिए ।

उद्योग व्यवसायीका समस्या राष्टको समस्या – गोल्छा

भक्तपुर – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायीका समस्या राष्टको समस्या भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको शुक्रबार भएको ३५औ वार्षिक साधारण सभा २०७९ को उदघाटन गर्दै उनले उद्योग व्यवसायीका समस्या समाधान भए मात्रै आर्थिक उन्नति हुने भएकाले उनीहरूका समस्या देशकै समस्या भएको बताए ।

उनले लगानीको वातावरण नबनेसम्म समृद्धि असम्भब हुने बताए । त्यही कारण उद्योगमा लगानी गर्ने वातावरण वनाउन नयाँं सरकारसँंग उनले विशेष आग्रह गरे ।लागनीको वातावरण नबनेसम्म रोजगारी सृजना नहुने र रोजगारीको राम्रो व्यवस्था नभएसम्म मलुकको समृद्धि असम्भव भएको दाबी गरे ।

यही कारण महासंघ अहिले अर्थतन्त्र जोगाऔं अभियानमा जुटिरहेको उनले जनाए । अहिलेको लागि अर्थतन्त्र जोगाउनुमात्रै पनि ठूलो उपलब्धी भएको उनले सुनाए । यही कारण अहिले अर्थतन्त्र जोगाउने अभियानमा महासंघ जुटेको उनको भनाई थियो ।

अध्यक्ष गोल्छाले मुलुक रेमिट्यान्सको भरम चल्नु समग्र देशकै लागि खतरा भएको बताए । नेपालको अर्थतन्त्र ध्वस्त भई असफल राष्टमा जानेतिर उनले विशेष चिन्ता व्यक्त गरे । यसकारण रेमिट्यान्सको भरमा मात्रै बस्नु ठूलो गल्ती हुने उनको ठम्याई छ ।

उनले अहिले वनेको नयाँं सरकारले पूर्वाधारमा जोड दिनुपर्ने बताए । नेपालमा पर्यटन र रोजगारीलाई विशेष ध्यान दिन उनले सरकारलाई सुझाए । अहिले वार्षिक १० लाख पर्यटक नेपाल भित्रिरहेकोमा त्यसलाई १० गुणा बढाउने गरी योजना ल्याउनुपर्ने उनको भनाई थियो । विश्वका विपन्न भियतनामलगायतका देशहरूले पनि वार्षिक चालीस ५० हजार पर्यटक भित्र्याउन सफल भइरहेको भन्दै उनले नेपाल जस्तो सुन्दर देशले सजिलै अत्याधिक पर्यटक भित्राउन सकिने विचार राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महासंघकै वस्तुगततर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरलगायतले देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उत्कृष्ट निर्यातकर्ताहरुलाई सम्मान गरिएको थियो । हिमालयन मिट वेयर प्रालि, नेपाल ह्याण्ड मिट, प्रधार्नाग एप्रोन इन्डष्टी, श्री सिद्धिगणेश तरकारी प्रशोधनलाई उत्कृष्ट निर्यातकर्ता घोषणा गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा २०७९ सालको निर्वाचनमा भक्तपुर जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित संघीय सांसदहरूलाई सम्मान गरिएको थियो । साथै भक्तपुर उद्योग वाणिज्य संघकोतर्फबाट महानगरीय ट्राफिक प्रहरी कार्यालय कमलविनायक भक्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक ब्रजेशकुमार झालाई संघकोतर्फबाट प्रिन्टर सहयोग वितरण गरेका थिए । कार्यक्रममा संघको बुलेटिन पनि विमोचन गरिएको थियो ।

डाँका मुद्दामा फरार चौधरी ८ वर्षपछि कारागार चलान

सप्तरी, ३० पुस डाँका मुद्दामा फरार प्रतिवादीलाई कैद भुक्तानका लागि शुक्रबार करागार चलान गरिएको छ ।आठ वर्षदेखि फरार रहेका जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई कैद भुक्तानका लागि करागार चलान गरिएको हो ।

डाँका गरी फरार भएकोमा सप्तरी जिल्ला अदालतले १७ असार २०७१ मा उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रहरीले उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार चौधरीले १३ भदौ २०६६ मा राति डेढ बजेको समयमा गोसाईं चौधरीको घरभित्र प्रवेश गरी नगद, सुनचाँदीका गरगहना तथा जिन्सी धनमाल घरेलु हातहतियार देखाएर डाँका गरी फरार भएका थिए ।

सेवाप्रवाहमा सुधार गर्न बुटवल उपमहानगरलाई नागरिकको सुझाव

बुटवल – स्थानीयवासीले नगरपालिकाबाट हुने सेवा प्रवाहमा सुधार ल्याउन बुटवल उपमहानगरलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले कार्यसम्पादन र सेवाप्रवाहबारे शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले सेवा प्रवाहमा सुधार गर्दै छिटो छरितो काममा जोड दिन आग्रह गरेका हुन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीमध्ये ३७ जनाले विभिन्न विषयमा जिज्ञासा राख्दै बुटवल उपमहानगरपालिका र बुटवलका सरकारी कार्यालयहरूको सेवा प्रवाहका बारेमा जिज्ञासा र सुझाव राखेका थिए ।

सुनुवाईमा सहभागीहरुले छाडा चौपाया व्यवस्थापन, बाँदरको आतंक, मुख्य सडक र भित्री सडक निर्माण, १६–३६ कुलोको जग्गा अतिक्रमण, सुकुम्बासी समस्या, फोहोर व्यवस्थापन जस्ता समस्याहरु उठान गरेका छन् । सहभागीहरुले सेवा प्रवाहमा सुधार आएको र त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

बुटवलमा पछिल्लो समय चोरीका घटनाहरू भइरहेकाले प्रहरीको भूमिका बढाउन सहभागीहरुले आग्रह गरेका थिए । त्यस्तै बुटवलमा इरिक्सा र ठेला व्यवस्थापनले स्वरोजगार मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्थामा पुगेको भन्दै निर्णय पुनर्विचार गर्न सुझाव दिएका छन् । बुटवलको तिनाउ पश्चिमको क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि उपमहानगरले थप ध्यान दिनुपर्ने उनीहरूको भनाई छ ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइन् । उनले आफूहरू निर्वाचित भएर आएको ६ महिना मात्रै भएकाले केही योजनाहरू कार्यान्वयनको चरणमा रहेकाले प्रगति विस्तारै देखिदै जाने बताइन् ।

कार्यक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले ४ सय १९ वटा प्रश्न र सुझावहरु प्राप्त भएकाले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफूहरूलाई महत्त्वपूर्ण सुझावहरु आएकाले अर्को सार्वजनिक सुनुवाई गर्ने बेलासम्म सुधार गर्ने गरी काम गर्ने बताए । उनले सडक निर्माणलाई तिव्रता दिने, छाडा चौपायाको समस्या, भुस्याहा कुकुर र बादर आतंक नियन्त्रण, बिजुलीको पोलको समस्या, खानेपानी र स्वास्थ्य क्षेत्रका समस्याहरुलाई तत्तकाल सम्बोधन गर्ने बताए ।

कार्यक्रममा उपमहानगरका प्रवक्ता शिव रानाले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउँदै बुटवललाई समृद्ध बनाउनका लागि प्रतिबद्ध रहेको बताए । २०७९ जेठ ९ गते पदभार ग्रहण गरेपछि पहिलो पटक सार्वजनिक सुनुवाई गरिएको बताउँदै यसबाट प्राप्त नागरिकका अभिमतलाई सम्मान गर्दै अघि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले शान्ति सुरक्षासँग जोडिएका विषयमा आफू जिम्मेवार रहेकाले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले समन्वय गरेको सार्वजनिक सुनुवाईमा १०४ जना सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिपोर्टसमेत तयार पारेर प्रस्तुत गरिएको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले सेवा प्रवाहमा सुधार गर्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिहरूले पनि आफूलाई सुधार गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेका थिए । सार्वजनिक सनुवाई कार्यक्रमा वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरी करिव २ सय जनाको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाईमा नगरप्रमुख खेलराज पाण्डेय भने अस्वस्थ भएका कारण सहभागी भएनन् । उनको तर्फबाट नगरप्रवक्ता शिव रानाले सम्बोधन वाचन गरेका थिए । सम्बोधनमा प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा प्रमुखको तर्फबाट ३५ बुँदे प्रगति विवरण सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको विवरणमा बुटवलमा १६–१६ बेडका दुई अस्पताल निर्माणका क्रममा रहेको, उज्यालो अभियान अन्तर्गत ५२ वटा सडक बत्ती जडानका लागि पहल भइरहेको, पछाडि परेका विद्यालयहरुलाई सुधार गर्न प्रक्रिया शुरु गरिएको, कृषिबजार केन्द्र स्थापनाको प्रक्रिया अघि बढेको जस्ता विषयहरु समेटिएका छन् ।

यस्तै, प्रदेशस्तरको बसपार्क निर्माण, मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच, बसोबासीको प्रमाणपत्र वितरणजस्ता काम गरेको, ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन तथा नियमन, हाटबजार व्यवस्थापन तथा नियमन, बसपार्क सुधार, बाढी पहिरो नियन्त्रणका प्रयासका बारेमा उल्लेख गरिएको थियो ।

क्याफ्स कर्णाली परियोजना हस्तान्तरण

जुम्ला – जुम्लामा सञ्चालित (क्याफ्स कर्णाली) परियोना  स्थानीयतहलाई हस्तान्तरण गरिएको छ । नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याफ्स कर्णाली) परियोजना कार्यअवधि सकिएपछि  सम्बन्धी स्थानीयतहमा  हस्तान्तरण गरिएको हो ।

नुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साँझेदारीमा पेस नेपाल जुम्लाले निर्माण भएका आयोजना सकिएको छ  ।

२६ करोड ६९ लाख ७६ हजार ३ सय १८ रुपैयाँ ४८ पैसामा निर्माण भएका आयोजना स्थानीय तह हिमा, तिला र तातोपानी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
जिविकोपार्जनका साधान तथा प्राकृतिक स्रोतको सुदृढ व्यवस्थापनमार्फत उच्चपहाडी हिमाली जिल्लाका जलवायु संकतासन्न, खाद्य असुरक्षित र गरिव घरपरिवारकोअनुकूलन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको  पेस नेपालका कर्याकारी अध्यक्ष किशोर न्यौपानेले बताए। उनका अनुसार नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याफ्स कर्णाली) सन् २०१८ अक्ट्बरदेखि सञ्चालन गरिएको थियो  । परियोजना अवधि ४ वर्षको हो । उनले भने,”अक्टुबर २०२२ मा ४ बर्षे परियोजना सम्पन्न भएपनि निर्माण भएका सवै आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

१३८ हेक्टर जमीन सिचाई हुने नहर (कुलो) निर्माण, ४ वटा सामुदायिक सेवा केन्द्र भवन निर्माण, ४१ हेक्टरमा १४ हजार १२५ विरुवाको व्यवसायिक फलफुल खेती र ८ हेक्टर गैरकाष्ठ वनपैदावार खेती भएको छ । यस्तै ३८३ जना कृषकको बाली तथा पशु बीमाको लागि सहयोग, एक वटा लिफ्ट सिचाईबाट ३२ हेक्टर जमीन सिँचाई भएको पेस नेपाल जुम्लाले जनाएको छ ।

९ वटा सुधारिएको पानी घट्ट निर्माण भएका छन् । ४० हेक्टर जमीन सिँचाई हुने ७ वटा पानी संकलन पोखरी निर्माण, १ वटा लद्युजलविद्युत आयोजना निर्माण, ५ वटा रष्टिक स्टोर तथा संकलन केन्द्र भवन निर्माण गरिएको छ ।

४७८ घरधुरीका लागि ४ वटा खाने पानी आयोजना निर्माण, ८ वटा कृषि तथा वन नर्सरी स्थापना भएका छन् । घरबगैचा स्थापनाका लागि १ हजार ७२२ घरधुरीलाई ५२ हजार ५७१ फलफुलको विरुवा सहयोग गरिएको जनाएको छ ।

४ वर्षे परियोजना बाट १७ हजार ५१६ लाभान्वित जनसंख्या रहेको छ । १२ हजार ७ सय जनालाई जनलवायु परिवर्तन अनुकूलन सम्वन्धी सचेतीकरण गरिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजन कृष्ण शाहीले बताए । ३ हजार ७३८ कृषकलाई प्राविधिक सहयोग भएको छ । उनले भने ४८ वटा सामुदायिक पुर्वाधार निर्माण गर्दा ज्यालाका

रुपमा ८ करोड १० लाख ४६ हजार ४८१ रुपियाँ नगद हस्तान्तरण गरिएको छ । कार्यक्षेत्रमा पर्ने गाउँपालिकामा ३ वटा स्थानीय अनुकुलन कार्ययोजना निर्माण गरिएको छ ।
परियोजनाको कार्यक्षेत्र तातोपानी, तिला र हिमा गरी ३ वटा गाउँपालिकाका १० वडाका ३ हजार ५२६ घरधुरीका २१ हजार १५० जनसंंख्या रहेको पेस नेपाल जुम्लाले जनाएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत

विराटनगर – प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । इटहरीमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको जित निकालेको हो । मधेस प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीको ओपनिंग जोडीले जीतको बलियो आधार तयार पारेका थिए ।  काजलले ४२ बलमा ४ चौकाको मद्दतले २४ रन बनाउँदा रुविनाले २७ बलमा २ चौकाको मद्दतले २१ रनको नकआउट पारि खेलिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेस प्रदेशले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनायो । मधेसलाई समेट्न प्लेयर अफ द म्याच सबनम राईले ४ विकेट लिइन् ।  रुविना  क्षेत्री र निशा शाहले दुई दुई विकेट लिँदा ज्योति दनुवार र एलिसा खडियाले एक एक विकेट लिइन् । मधेसका लागि सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने ५ खेलाडीले डग आउट भए ।

आजै भएको दोस्रो खेलमा युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेलिन । यस्तै ऋतु कनोजिया २१ बलमा ४ चौका सहित २७ रनमा अविजित रहिन् ।

कप्तान विन्दु रावल र सम्झना खड्काले १०–१० रन बनाए । रुबी पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए । बागमतीकी अश्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन । यशु पाण्डे, खुसी डंगेला र मनीषा उपाध्याये एक एक विकेट लिए । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो । बागमती कन्चन श्रेष्ठ २१ बलमा १ चौका सहित सर्वाधिक १६ रन बनाए ।

ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुसी डङ्गोलले १४ रन बनाए । सुदूरका ऋतु कनोजियाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मनीषा उपाध्याये ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।

भोलिको पहिलो खेल नेपाल सशस्त्र प्रहरी बल र गण्डकी प्रदेश बिच हुने छ भने दोस्रो खेल कर्णाली र लुम्बिनी प्रदेश भिड्ने छन् ।

चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवन, २९ पुस-चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो । मोटरसाइकल पछाडी सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महत्तो गम्भीर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएको चितवन प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १२:२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख.५३०१ नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।

पहिलो पटक सडकको अवस्था बुझन सडक डिभिजनको टोली उपल्लो डोल्पा

सुर्खेत, २९ पुस-भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा गुणस्तर हेर्न सडक डिभिजन चौरजहारीको टिम खटिएको छ ।यस खण्डको सडकको समाचार प्रकाशित भएपछि डिभिजन प्रमुख आँसुतोष कर्णसहितको टोली स्थलगत अनुगमणमा डोल्पा पुगेको हो । ११८ किलामिटर जाजरकोटबाट दुनै सम्मा सडक भेरी करिडोरभित्र पर्छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक रहेको छ ।

मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्याक ओपनको काम भइसकेको छ । दुनै–ल्यासिक्याप ५५ किलोमिटर रहेको छ । डोल्पाको सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत नै भइरहेको छ ।

यो सडक खण्डमा कामको सम्झौता गरेपनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली डोल्पा पुगेको हो । २०७८ चैतमा सूर्या श्रेया शान्तिदेबी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।

अहिले जाजरकोटको भेरी नगरपालिका –४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लु सम्मा सडक स्तरोन्नती (पिच) को लागि ठेक्का भएर यति बिल्ड्रसले काम गरिरहेको छ । यो त्रिदेशीय सडक समेत रहेको छ । कर्णाली प्रदेशको हुँदै लम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाँका समेत जोड्ने गर्दछ । भेरी करिडोर निर्माण भएमा भारतको रोपैडियाबाट चिनको तिब्बतसँग यसको सिधा सडक जोडिने छ ।

जाजरकोटदेखि दुनै सम्मा अस्थायी ट्याक नेपाली सेनाले सडक निर्माण गरेको हो । अहिले स्तरोन्नतीको काम सडक डिभिजन चौरजहारीले गरीरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गती दिन अनुगमणको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख आँसुतोष कर्णले बताए ।

चौरजहारीबाट दुनै सम्मा कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगती हेर्न लागेको हो । त्यस्तै भेरी करिडोरमा निर्माणधिण सडकको समेत अनुगमण गरिएको छ । सर्बाधिक समस्यको रूपमा रहेको दुनै देखि लासिक्याप सम्माको सडक निर्माणमा समस्य हुने गरेको छ । हिउँद याममा अत्यधिक चिसोका कारण काम गर्न मुस्किल हुनेगर्छ ।

थप ९ जनामा कोरोना पुष्टी, २८ जना संक्रमितको उपचार हुदैँ

काठमाडौं, २९ पुस -पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय ४३ र एन्टीजेनबाट ७ सय ३४ जनाको परीक्षण गर्दा ९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या २८ रहेको छ । उनीहरुको उपचार भईरहेको छ ।

माघीको अवसरमा लुम्बिनी प्रदेशले दियो दुई दिन सार्वजनिक बिदा

बुटवल, २९ पुस-लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ । प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो ।

मधेस प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेतामा न्यौपाने

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन भएका छन ।

एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपाने सर्वसम्मत चयन भएका हुन । मधेश प्रदेशमा सो पार्टीको सात संसद रहेको छ ।

बाग्मतीको उपसभामुख निर्वाचन ३ माघमा

हेटौडा – बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ ।

नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिएका छन । पाठक आजै सभामुखमा निर्वाचित भएका थिए ।

चिनियाँ राजदुतले बुझाए ओहोदाको प्रमाण पत्र

काठमाडौं – नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

सङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। गत साता आफनो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आएका थिए ।

एक किलो गाँजासहित वाइवा पक्राउ

सिन्धुली – एक किलो गाँजासहित धन कुमार वाईबा पक्राउ परेका छन ।

सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय वाइवा अवैध लागूऔषध गाँजा करिब १ किलो सहित प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुली प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा

वुटवल – लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ ।माघ ३ गते दिउँसो एक बजे बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जारी सुचना अनुसार माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको भावी सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने लुम्बिनी प्रदेश सभा सचिवालयले जारी गरेका सूचनामा उल्लेख छ ।

लामिछानेको मुद्दाको पेसी माघ ९ गते

काठमाडौं उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ।

क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले  ९ माघका लागि पेसी तोकि दिएको हो।

उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौंले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ।

जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्धा लडन बिहिवार आदेश दिएको थियो । सो आदेश लगत्तै शुक्रवार नै लामिछाने केन्द्रिय कारागरवाट रिहा भएका छन ।

उपप्रधानमन्त्री श्रेष्ठले भने- विद्युत् प्राधिकरण, खानेपानी, ढल तथा सडक विभागजस्ता निकायबीच समन्वय गरेर काम अघि बढ्छु

काठमाडौं – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यका निकायहरू नै सेवा प्रवाहमा जिम्मेवार नबन्दा जनताले सास्ती पाएको बताएका छन् ।

शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, क्षेत्रीय सडक प्रमुख, काठमाडौं डिभिजन प्रमुख, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइका निर्देशक, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशकसहितको टिमले काठमाडौंका विभिन्न क्षेत्रको सडक अनुगमन गरेको थियो । उक्त टोलीले शुक्रबार बिहान ८ बजेदेखि लाजिम्पाट, सोह्रखुट्टे, भैँसेपाटी तथा जावलाखेल क्षेत्रका सडकको अवस्थाबारे अनुगमन गरेको थियो ।

अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउने क्रम नरोकिँदा जनताले सास्ती पाउने गरेको बताए । केही टार्नै नसकिने अवस्था भए पनि त्यतिले मात्रै अप्ठेरो स्थिति नआएको उल्लेख गर्दै उप्रधानमन्त्री श्रेष्ठले राज्यका निकायले जिम्मेवारीपूर्वक समन्वय गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले मेलम्ची आयोजनाले अहिले पुरानै पाइपबाट पानीको सप्लाइ परीक्षण गरिरहेको उल्लेख गर्दै केही यस्ता समस्या रहे पनि त्यतिले मात्रै समस्या नरहेको बताए। ‘केही टार्नै नसकिने किसिमका समस्याहरू पनि छन् । तर, खाली टार्नै नसकिने केही समस्याको कारणले, जनताले बुझ्नै पर्ने अवस्थाको कारणले मात्रै अप्ठेरो स्थिति भएको होइन,’ मन्त्री श्रेष्ठले भने, ‘राज्यका निकायले जिम्मेवारीबोधका साथ, तदारुकताका साथ काम सम्पन्न नगरेको कारणले पनि यो स्थिति आएको हो भन्ने कुरा बोध भएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले यी र महानगर तथा काठमाडौंको सडकसँग सम्बन्धित अन्य जिम्मेवार निकायसँग पनि समन्वय गरेर काम गर्न आफूहरू तयार रहेको बताए । श्रेष्ठले आफूहरू सडकको गुणस्तर सुधार्न र एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउने कार्य रोक्न आफूले सकारात्मक र गुणात्मक हस्तक्षेप गर्ने बताए । यद्यपि, यो लामो समयदेखिको समस्या भएकाले समाधान हुन केही समय लाग्ने श्रेष्ठको भनाइ छ । तर, त्यसो भन्दैमा आफूहरू चुप नबस्ने उहाँले बताए । ‘तर, तमासा हेरेर बस्ने स्थिति छैन । अप्ठेरो छ, जनताले दुःख पाएका छन् । विकास निर्माणको अनुभूति गर्न पाएका छैनन्,’ मन्त्री श्रेष्ठले भने, ‘तर पनि यस्तै हो भनेर बस्न सकिन्न । सकारात्मक गुणात्मक हस्तक्षेप गरिन्छ । सबैलाई जिम्मेवारीबोध गराएर समन्वयात्मक ढंगले काम गराइन्छ । जसले कमजोरी गर्छ वा गैरजिम्मेवार काम गर्छ हामी कारबाहीको प्रक्रियामा जान्छौँ ।

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी, २९ पुस -सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो ।

पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रोपटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रोपटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले भने दुवैपटक २३ मत पाएका थिए ।५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सो संख्या अपुग हुँदा सभामुख चयन हुन सकेको थिएन ।

मधेस प्रदेशमा तीन पार्टीको सरकार, मुख्यमन्त्री यादवले लिए सपथ

जनकपुर, २९ पुस-मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिएका छन् ।जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रवाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन ।

मुख्यमन्त्री यादवले मन्त्रीपरिषद विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गरेका छन । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गरेका हुन । तत्कालका लागि तीनै जना बिना बिभागियको रहेका छन । मुख्यमन्त्री यादवका अनुसार उनीहरुलाई पछि जिम्मेवारी तोकिने छ ।

विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न दियो अनुमति

काठमाडौं, २९ पुस-विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न स्वीकृति दिएको छ । यस कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४०% बोनस सेयर र कर प्रयोजनका लागी २.१०% नगद लाभांश वितरण गर्न आयोगले गतवर्षको नाफाबाट स्वीकृति दिएको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश स्वीकृत भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्री दाहालको घोषणा

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिवद्ध छ ।’

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसदको सम्वोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु,’ उनले भने, ‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु । म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’

हस्तकला व्यवसाय प्रवर्द्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए। ‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु,’ उनले भने ।साधारण सभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

सन्दिप लामछानेको धरौटी रकम जम्मा

काठमाडौं, २९ पुस-नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्।पुर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन । उच्च अदालत, पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएपछि दाजु मोहनले आज धरौटी रकम जम्मा गरेका हुन ।

दाजु मोहनले धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने निश्चित भएको छ। धरौटी जम्मा भए पछि जिल्ला अदालत काठमाडौंले केन्द्रीय कारागार, सुन्धरामा सन्दीपलाई रिहा गर्नका लागि औपचारिक रुपमा पत्र पठाउने छ। अदालतको सो पत्र कारागरले बुझे लगत्तै तारिखका लागि जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई उपस्थित गराइने छ। र, स्वास्थ्य परिक्षण सम्पन गरे पछि उच्च अदालतको आदेश बमोजिम सन्दीप आजै रिहा हुनेछन्।

नावालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। उच्च अदालतका न्यायाधीशद्धय रमेश ढकाल र ध्रुवराज भट्टराईको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै कडा सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।

सो आदेश लगत्तै दाजु मोहन २० लाख धरौटी लिएर जिल्ला अदालत काठमाडौं गएका हुन ।

घनश्याम भुसालले डेढ वर्षपछि माधवकुमार नेपाललाई नै साथ दिने निर्णय

काठमाडौं, २९ पुस । अन्ततः घनश्याम भुसालले डेढ वर्षपछि माधवकुमार नेपाललाई नै साथ दिने निर्णय गरेका छन् । तत्कालीन नेकपा र पछि एमालेमा माधव नेपाललाई सुरुमा साथ दिएका भुसाल पार्टी विभाजनका बेला केपी ओलीसँगै बसेका थिए । तर, माधव नेपालले एकीकृत समाजवादी गठन गरे । त्यसबेला नेपाललाई साथ दिने ‘१० भाइ’ मध्ये भुसाल पनि एक थिए ।

एमाले अध्यक्ष ओलीको रापताप थेग्न नसकेर एमालेमै बसेका पूर्वउपमहासचिव भुसाल पछि पार्टी नै त्याग्न बाध्य भए । एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई उम्मेदवार नै उठाएन । त्यसपछि उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रुपन्देही १ बाट उम्मेदवार बनेका उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए ।

निर्वाचनपछि एक्लै रहँदै आएका भुसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। नयाँ बानेश्वरस्थित अर्याल होटलमा दिउँसो २ बजे आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादीमा प्रवेश गर्नेछन्। पार्टी अध्यक्ष नेपालले भुसाललाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ।

भुसालले गत असोज २३ मा एमाले छाडेका थिए। भुसाललाई पार्टीमा स्वागतका लागि एकीकृत समाजवादीले यसअघि पत्रसमेत पठाएको थियो। भुसाललाई कुन जिम्मेवारी दिने एकीकृत समाजवादीले खुलाएको छैन। उनलाई उपाध्यक्ष वा महासचिव कुनै एक पद दिने तयारी रहेको पार्टीका नेताहरू बताउँछन्।

माओवादी मधेस प्रदेश संसदीय दलमा भरत साह चयन

जनकपुर, २९ पुस- नेकपा माओवादी मधेस प्रदेशको संसदीय दलका नेतामा भरत साह चयन भएका छन ।

माओवादी प्रदेश सभाको बैठकले साहलाई दलको नेता चयन गरेको हो । साह यसअघि सो प्रदेशका मन्त्रीसमेत भईसकेका नेता हुन ।

दनुवारलाई प्रदेश १ को उपसभामुख उम्मेदवार बनाइने

विराटनगर – नेकपा एमालेले प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित दनुवारलाई ३० पुसमा हुने निर्वाचनका लागि उम्मेदवार बनाउने तय भएको हो । प्रदेश १ को सभामुखमा भने नेकपा माओवादी केन्द्रका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

२० लाख धरौटी बुझाएर हिरासतबाट छुट्दै छन् सन्दीप लामिछाने

काठमाडौं, २९ पुस । क्रिकेटर सन्दीप लामिछानेले २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार हिरासतमुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनले जबर्जस्तीकरण मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले सुनाएको आदेश खारेज गर्दै लामिछानेलाई बाहिरै बसेर आफ्नो मुद्दा लड्न पाउने आदेश सुनाएको थियो । मुद्दाको किनारा नलागुञ्जेल सन्दीप विदेश जान पाउने छैनन् । काठमाडनैं बाहिर जाँदा पनि अनुमति लिएर जानुपर्नेछ ।

अदालतले उनलाई विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का राख्ने, आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने, आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने कडा सर्त सुनाएको छ ।

उच्च अदालत पाटनले पीडकसँग यथेष्ट बयान नलिईकन हिरासतमा राख्न आदेश दिएको भन्दै बेरित भएको उल्लेख गरेको छ । आज हिरासतबाट मुक्त हुनुअघि लामिछानेको स्वास्थ्य परीक्षण गरिने भएको छ । तीन महिनाभन्दा बढी समय हिरासतमा बस्नुपर्दा लामिछानेमा मानसिक समस्या देखिएको बताइएको छ । अब उनले क्रिकेट खेल खेल्नसमेत पाउने भएका छन् ।

शे-फोक्सुण्डोले छात्रवृत्ति दिएर लोकसेवा पढाउँदै

सुर्खेत, २९ पुस-डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ । एसइई र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिका कोषबाट छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको हो ।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए ।

१५ दिने सूचना खोलेर आवेदन खोलिएकाले उत्तीर्ण गरेको तहमा ल्याएको अंक तथा ग्रेडका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने शर्माले बताए । गाउँपालिकाको कार्यविधिअनुसार राम्रो ग्रेड ल्याएका २७ जना व्यक्तिलाई मात्र छात्रवृत्तिका लागि छनोट गरिने उनको भनाइ छ ।

प्रथम र दोस्रोपत्रको तयारी गरुञ्जेल लाग्ने खर्च सबै गाउँपालिकाले व्यहोर्ने बताइएको छ । गाउँपालिकाले अघिल्लोपटक पनि छात्रवृत्ति दिएर लक्षित वर्गलाई लोकसेवा पढाएको थियो । दुर्गमबाट पनि निजामती सेवामा प्रवेश गर्ने मौकासँगै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यस्तो कार्यको सबैले प्रशंसासमेत गरेका छन् ।

प्रदेश १ मा जीवन आचार्य मन्त्रीमा नियुक्त

विराटनग – मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जीवन आचार्यलाई मन्त्री नियुक्त गरेका छन ।

दोस्रो पटक मन्त्री परिषद विस्तार गर्ने क्रममा मुख्यमन्त्री कार्कीले थप तीन जना मन्त्री नियुक्त गर्दा प्रचण्डका ज्वाई आचार्यलाई पनि समेटेका हुन ।

आज भएको मन्त्री परिषद विस्तारमा दुर्गा चापागाईँ, बुद्धिकुमार राजभण्डारीलाई पनि समेटेका छन । चापागाई र आचार्य माओवादी कोटावाट मन्त्री भएका हुन भने राजभण्डारी एमाले कोटावाट मन्त्री भएका हुन । आज नियुक्त भएका सबै मन्त्री विना बिभागीय हुन, उनीहरुको जिम्मेवारी चाँडै तोकिने मुख्यमन्त्री कार्कीले जनाएका छन ।

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहिबार यसको खरिददर १३० रुपैयाँ १९ पैसा र बिक्रीदर १३० रुपैयाँ ७९ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसाले कारोबार भएको थियो ।

आज युरो खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६  पैसामा भएको थियो ।

अष्ट्रेलियन डलर को खरिदमूल्य ८९ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २८ पैसामा कारोबार भैरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४४ पैसा र बिक्रीमा १० रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ९८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।

नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । वार्ता प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा हुने छ ।

मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नुपर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिहरुको संलग्नतामा सबस्टेसन निर्माणमा अवरोध हुँदै आएको छ । आन्दोलनमा समान, नेपाल नामक गैरसरकारी संस्थाले साथ दिएको छ । आन्दोलनमा महिलालाई अगाडि सारिएको छ ।

सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण (आईई) तथा पूरक आईआईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिएको, उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेको प्रष्ट पारेको छ । र, सोहीअनुसार प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम भइरहेकाले अहिले आएर सबस्टेसन अन्यत्र सार्न नसकिने प्राधिकरणले बताएको छ ।

तामाकोसी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्ति लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो ।

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सवस्टेसन सम्पन्न हुने चरणमा छ ।

सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋणमा सबस्टेसनहरु तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन । लप्सीफेदी सबस्टेसनको काम हालसम्म हुन नसकेको कारणले ठेक्का सम्झौताको म्याद १५ पुस २०८० (३१ डिसेम्बर २०२३) सम्म कायम गरिएको छ ।

स्थानीयले सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखेको जायज मागलाई आयोजना निर्माणका क्रममा प्राधिकरणले सम्बोधन गर्दै जाने बताएको छ ।

अर्घाखाँचीमा ६८० केजी तौलको ४७ फिटको त्रिशूल स्थापना

अर्घाखाँची, २९ पुस – अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका–२ घोचाखोलामा रहेको कार्यश्वर शिवालय मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजाआजा गरी बिहीबार ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको हो ।

धार्मिक पर्यटक भित्राउने उद्देश्यले स्थापना गरिएको त्रिशुल ६८० केजी तौल र ४७ फिट उचाइ रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु केसीले जानकारी दिए। सन्धिखर्क बजारबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस मन्दिर क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । पूजाआजामा स्थानीयको सक्रिय सहभागिता हुने गरेको छ ।त्रिशुल हाल दुवईमा रहेका युवा अर्जुन केसीले सौजन्य गरेको अध्यक्ष केसीले बताए । मन्दिरभित्र अरु विभिन्न संरचनाहरुसमेत तयार गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द

सिराहा, २९ पुस-गृह मन्त्रालयको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ । गत २० पुसमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो ।

मन्त्रालयको परिपत्रको पालना गर्दै नियमविपरीत अवैध रुपमा सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लालबावु कवाडीले जानकारी दिए । ‘जिल्लामा रहेका २३ वटा क्रसर उद्योगमध्ये करिब सातवटाको नवीकरणको समय अझै बाँकी रहेकाले सञ्चालन हुँदै आएका थिए,’ उनले भने । तर, अब मापदण्डविपरीत सञ्चालन हुँदै आएका र नवीकरणको समय बाँकी रहेका सबै क्रसर उद्योग, नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन र बिक्री वितरणसमेत एक हप्ताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कवाडीले बताए ।

बिहीबार बसेको जिल्ला अनुगमन समितिको बैठकले ‘ढुंगा,गिट्टी र वालुवा उत्खनन्, बिक्री वितरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ र वालुवा गिट्टी उत्खनन्, संकलन, क्रसिङ तथा बिक्री वितरण र क्रसर उद्योग स्थापना वा सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ बमोजिम नवीकरण भएका तथा सञ्चालनमा रहेका क्रसर उद्योगसमेत बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपकुमार लामाले बताए । दर्ता भई नवीकरण भएका एवं सञ्चालनमा रहेका उद्योगहरुको हकमा समेत हाललाई बन्द गरी ती उद्योगहरू नियामानुसार सञ्चालन भएको नभएको सम्बन्धमा स्थलगत अनुगमनपश्चात मात्र आवश्यक निर्णय गरिने बैठकले निर्णय गरेको उपप्रमुख लामाले बताए ।

कर्जन्हा नगरपालिका–२ स्थित श्री जगदम्वा ढुंगा क्रसिङ उद्योग, वडहारामाल ४ को जानकी क्रसर उद्योग, कमलेश्वरी बालुवा प्रशोधन उद्योग, सांग्रिला गिटी बालुवा प्रशोधन केन्द्र, जयकाली ढुंगा क्रसिङ उद्योग, हिमाल क्रसिङ उद्योग, बस्तीपुर ९, माँ सन्तोषी क्रसिङ उद्योग, आसोपुर वलकवा ८, स्वेच्छा बालुवा प्रशोधन उद्योग, एस एन्ड सन्स कंक्रिट उद्योग, कमलामाई क्रसर उद्योगलगायत मापदण्डविपरीत अवैध रुपमा सञ्चालित २३ वटा क्रसर उद्योग बन्द गराइएका हुन् ।

बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा

काठमाडौं, २९ पुस-रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ । अब, बार्सिलोनाले रियल मड्रिडसँगको जनवरी १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । किंग्स फहाद अन्तर्राष्ट्रिय स्टेडियममा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा भएको थियो ।

४०औं मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा फिकिरको गोलमा बेटिस खेलमा फर्किएको थियो । ९३औं मिनेटमा अंशु फातीले गरेको गोलमा बार्सिलोनाले पुनः अग्रता लिएको थियो । एक सय एक मिनेटमा मोरोनले बेटिसलाई खेलमा फर्काएका थिए । पेनाल्टी सुटआउटमा बार्सिलोनाका फाती, लेवान्डोवस्की, फ्रयांक केइसी र पेड्रीले गोल गरे भने बेटिसका जस र मोरोनले मात्र गोल गरे । योआन्मी र कार्भाहालोले प्रहार बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगेनले रोकेका थिए ।

चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड

काठमाडौं, २९ पुस-चेल्सी बिहीबार राति इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहम १९ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । चेल्सी भने १८ खेलमा २५ अंकसहित १०औं स्थानमा छ ।चेल्सीको डेब्यु खेलाडी याओ फेलिक्सले यसै खेलमा रातो कार्डको सामना गरेका थिए । फेलिक्स बुधबारमात्र स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडबाट यस सिजनका बाँकी खेलका लागि लोनमा चेल्सी आएका थिए ।

५८औं मिनेटमा केन्नी टिटेमाथि खराब फाउल गरेको पछि रेफ्रीले फेलिक्सलाई रातो कार्ड देखाएका थिए । २५औं मिनेटमा विलियानको गोलमा फुलहमले अग्रता लिएको थियो । ४७औं मिनेटमा खालिडोउ कोलिबेलीले चेल्सीलाई खेलमा फर्काएका थिए । ७३औं मिनेटमा कार्लोस भिनिसियसले फुलहमका लागि दोस्रो गोल गरेका थिए ।