`

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

काठमाडौँ: भारतको सहयोगमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा परियोजना ‘भर्चुअल’ रूपमा हस्तान्तरण गरिएका छन् ।

भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाललाई हिजाे भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सो परियोजना हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी, उहाँहरूले भारत र नेपालको ‘राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस’बीच सीमा–पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनका लागि जोड (लिङ्केज) संयुक्त रूपमा शुभारम्भ गर्नुभएको विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

त्यस्तै दुवै मन्त्रीको समुपस्थितिमा नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदानप्रदान गरिएको थियो ।

आजै परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको थियो । परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच भेटवार्ता भएको थियो । त्यस्तै परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उहाँ भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ। देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र बाँकी पहाडी भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका केही तथा मधेससहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तापक्रम अधिक हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको देखाएको छ । यसले भविष्यमा पानी अभावको सामना गरिरहेका अर्बौं मानिसलाई थप प्रभावित पार्न सक्ने चेतावनी दिइएको छ ।

प्रख्यात वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययनअनुसार विश्वका जलाशयहरूले प्रत्येक दशकमा औसत ७ दशमलव ३ प्रतिशत भण्डारण क्षमता गुमाइरहेका छन् । विशेषगरी साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नान्जिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको अध्ययनले उपग्रह तस्बिर, भौगोलिक तथ्याङ्क तथा इन्जिनियरिङ अभिलेखको आधारमा विश्वव्यापी जलाशयको विस्तृत तथ्याङ्क भण्डार तयार गरेको छ । यसमा विश्वभरका पाँच लाख ५० हजारभन्दा बढी जलाशय समेटिएका छन् ।

अध्ययनअनुसार तीमध्ये ९५ प्रतिशतभन्दा बढी जलाशय एक वर्ग किलोमिटरभन्दा साना छन् । यस्ता जलाशयहरू अघिल्ला धेरै अनुसन्धानमा पर्याप्त रूपमा समावेश गरिएका थिएनन् ।

अनुसन्धानकर्ता लिउ काईका अनुसार साना जलाशयलाई समेत समेटेर गरिएको यो पहिलो उच्च–स्तरीय विश्वव्यापी मूल्याङ्कन हो ।

उहाँले जलाशयहरूले कृषि सिँचाइ, खानेपानी, बाढी नियन्त्रण तथा विद्युत् उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तर नदीबाट बगेर आउने माटो, बालुवा तथा अन्य पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा जलाशयमा पानी भण्डारण गर्ने ठाउँ घट्दै जाने र उपयोगिता कमजोर बन्दै जाने समस्या बढिरहेको उनको भनाइ छ ।

अध्ययनले जलाशयमा अत्यधिक गाद जम्ने १६ वटा प्रमुख जोखिम क्षेत्र पनि पहिचान गरेको छ । तीमध्ये धेरै क्षेत्र सिँचाइमा निर्भर कृषि उत्पादनका केन्द्र तथा पानी अभाव झेलिरहेका स्थानहरू रहेका छन् ।

विश्वको करिब एक चौथाइ सिँचित खेतीयोग्य भूमि यस्ता उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ, जसको प्रभाव दुई अर्बभन्दा बढी मानिसमा पर्न सक्ने अध्ययनले जनाएको छ । यसले दीर्घकालीन खाद्य तथा जल सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

अनुसन्धानकर्ताहरूले तत्काल प्रभावकारी कदम नचालिए सन् २०६० सम्म विश्वका आधाभन्दा बढी जलाशयहरूको कार्यक्षमता गम्भीर रूपमा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

अर्का अनुसन्धानकर्ता सोङ छुनछियाओले जलाशयमा गाद जम्ने समस्या पानी, खाद्य तथा ऊर्जा सुरक्षाका लागि बढ्दो चुनौती बन्दै गएको उल्लेख गर्दै दिगो व्यवस्थापन प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार मानव कल्याण र विश्वव्यापी विकास लक्ष्य हासिल गर्न जलाशयको दिगो संरक्षण अपरिहार्य छ ।

भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता, कार्यकर्ता या कसैलाई पनि भुइँमा न भाँडोमा हुने छुट नरहेको बताउनुभएको छ ।

आज सुनसरीको लौकहीमा रास्वपाको सुनसरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रास्वपा नेपाली जनताको वास्तविक सेवक हो र यसले नै यो देशको भाग्य र भविष्य निर्माण गर्दछ भन्ने सोच र व्यवहारका साथ जनताको भरोसायुक्त पार्टीका रूपमा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

केही दिनअघि सङ्घीय संसद्मा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बोधनलाई स्मरण गर्दै सचेतक परियारले भन्नुभयो, “जसरी संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन माओवादी पार्टीले झण्डै दुई तिहाई बहुमत प्राप्त गर्दा जनताको सेवा गर्नुको सट्टा भुइँमा न भाँडोमा भएर यो हालतमा आयौँ भन्नुभएको थियो, त्यस्तो काम गर्ने छुट हामलाई छैन र रास्वपाको कुनै कार्यकर्ताले त्यो सोच कदापि राख्नुहुँदैन ।”

देशका वास्तविक समस्या र आवश्यकतालाई शिरमा राखेर केही गर्नुपर्छ र गर्छौँ भन्ने भावनाका साथ जनताका बीचमा होमिन उहाँले रास्वपाका सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको शिरभन्दा पनि माथि नेपाली जनता रहेको सचेतक परियारको भनाइ थियो ।

उहाँले भन्नुभयो, “रास्वपालाई ठूलो सङ्ख्या अर्थात् भीडको भन्दा पनि जनसेवा र देश विकास गर्ने असल कार्यकर्ताको खाँचो रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “कार्यकर्ताको भीडले मात्र हुने भए १० लाख क्रियाशील सदस्य रहेको कांग्रेस, आठ लाख सङ्गठित सदस्य रहेको एमाले तथा ‘की मृत्यु की मुक्ति’ को नारा दिएर महिलाका काँधमा बन्दुक राखेर अघि बढेको माओवादीको हालत अहिले यस्तो हुने थिएन ।”

सचेतक परियारले सुनसरी मुस्लिम, खसआर्य, जनजाति, सीमान्तकृत समुदायको सङ्गमसहितको सामाजिक समावेशिताको अनुमप उदाहरण पाइने जिल्ला हो भन्दै आगामी स्थानीय निर्वाचनमा रास्वपाले यो अनुपम उदाहरणको सम्मान गर्र्दै स्थानीय सरकारको नेतृत्व गर्नेगरी अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस जिल्ला र अन्य स्थानीय तहमा आगामी निर्वाचनमा रास्वपाले नेतृत्व गर्नेछ र अहिले सङ्घ सरकारमा जसरी राम्रो काम गरेर जनताको मन जितिरहेको छ, देशका हरेक स्थानीय तहमा त्यस्तै काम गरेर जनताको घरदैलोको सरकारको भरोसा प्रदान गर्नेछ ।”

चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र

काठमाडौँ। चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय ९२ किलोमिटर सडक कालोपत्र भएको छ ।

सडक विभागले उपलब्ध गराएको यही जेठ २० गतेसम्मको विवरणअनुसार वार्षिक ८०० किलोमिटर दुई लेन सडक कालोपत्रे गर्नुपर्नेमा ६१ दशमलव पाँच प्रतिशत बराबरको काम सम्पन्न भएको छ । देशभर हालसम्म कूल १९ हजार ४५६ किलोमिटर दुई लेन सडक कालोपत्रे भएको छ ।

वार्षिक रूपमा चार लेन वा चार लेनभन्दा बढी १०९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएमा हालसम्म ९२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

विभागका अनुसार हालसम्म देशभर कूल ५८८ किलोमिटर सडक चार लेन वा सोभन्दा बढीका निर्माण सम्पन्न भएका छन् । रिजिड पेभमेन्टतर्फ ६३ किलोमिटर सडक निर्माण पूरा भएको छ ।

देशभर सडक कालोपत्रे हुने र गरिने समयमा अलकत्रा अभाव हुँदा अपेक्षित लक्ष्य पूरा हुन समस्या पैदा भएको छ । खाडी क्षेत्रमा भएको तनावका कारण अलकत्रा आयातमा समस्या भएको निर्माण व्यवसायीले उल्लेख गरेका छन् ।

ग्रावेलतर्फ कूल १२७ किलोमिटर सडक पूरा भएको छ । माटे सडक ११७ किलोमिटर सम्पन्न भएको विभागले जनाएको छ । वार्षिक लक्ष्यअनुसार १६२ वटा पुल निर्माण गर्नुपर्नेमा ११२ वटा सम्पन्न भएका छन् ।

बेलीब्रिजतर्फ पाँच, राजमार्गको आवधिक मर्मततर्फ ९७ किलोमिटर सम्पन्न भएको छ । राजमार्ग पुनः निर्माण तथा स्तरोन्नतितर्फ ५४ किलोमिटर सम्पन्न भएको छ ।

एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा तीन हजार ५०० भन्दा बढी अफगान शरणार्थी आफ्नो मातृ भूमि अफगानिस्तान फर्केको बख्तार समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

अफगान मिडीयाहरुले ६८२ परिवारका तीन हजार ५७४ जना अफगान नागरिक शुक्रबार आफ्नो मातृ भूमि अफगानिस्तान फर्केको जनाएका छन् ।

बख्तार समाचारका एजेन्सीका अनुसार १२६ जना शरणार्थी इरानबाट फर्केका हुन भने बाँकी तीन हजार ४४८ जना पाकिस्तानबाट फर्केका हुन् ।

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताउनुभएको छ ।

एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशत मात्र बाँकी छ ।”

इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान मे महिनामा ट्रम्पले दिएको १८ प्रतिशतभन्दा बढी हो । यसअघि, उहाँले इरानको युद्ध क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आउनुभएको थियो ।

इरानको सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको बताएको छ ।

दुई दिनअघि कुवेतले इरानको जघन्य आक्रमणको एक हिस्साका रूपमा प्रहार गरिएका ३० वटा ब्यालेस्टिक क्षेप्यास्त्र निस्क्रिय पारिएको बताएको थियो ।

दुई देशबीच चेतावनी र हिंसाले भड्किएको हप्तौँदेखिको जटिल वार्ताले युद्ध अन्त्य गर्ने सम्झौता गर्न असफल भएको छ।

यसैबीच, अर्को एक प्रसङ्गमा राष्ट्रपति ट्रम्पले ‘इरानसँग सम्झौतामा पुग्नुबाहेक अर्को विकल्प नभएको’ पनि बताउनुभएको छ।

उहाँले भन्नुभयो, “तिनीहरू बलियो छन र घमण्ड पनि गर्छन् किनकि त्यहाँ अझै चीज (हतियार)हरू छन् । उनीहरू आफैले इरानसँग त्यो पैमानामा हतियार छन् भन्ने कहिल्यै सोचेका थिएनन् ।”

–विरोधाभास–

तर, ट्रम्पको यो दाबी अमेरिकी गुप्तचर निकायको रिपोर्टसँग मेल खाँदैन । न्यूयोर्क टाइम्सको एक प्रतिवेदन अनुसार गत महिना अमेरिकी सांसदहरूलाई दिइएको एक जानकारीमा इरानले ‘स्ट्रेट अफ हर्मुज’ नजिकै रहेका आफ्ना ३३ क्षेप्यास्त्र स्थानमध्ये ३० भन्दा बढी ‘अपरेशनल कन्ट्रोल’लाई पुनः स्थापित गरेको जानकारी दिइएको थियो । इरानसँग अझै पनि युद्धपूर्वको तुलनामा ७० प्रतिशत क्षेप्यास्त्र भण्डार रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताउनुभएको छ ।

बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा आज जारी सन्देशमा उहाँले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रहरूको अझ गहिरो एकीकरणलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

बिम्स्टेकको दीर्घकालीन शक्ति यसको जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्द्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धिका लागि थप प्रयास गर्न आह्वान गर्नुभएको छ ।

उहाँले एकआपसमा जोडिएको, उत्थानशील तथा समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्न नेपाल सदैव प्रतिबद्ध रहेको उहाँका तर्फबाट पराराष्ट्र मन्त्रालयले जारी गरेको सन्देशमा उल्लेख छ ।

छुट्टै सन्देशमा परराष्ट्रमन्त्री शिशिर खनालले सन् १९९७ मा स्थापना भएदेखि बिम्स्टेकले हासिल गरेको निरन्तर प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै क्षेत्रीय सहयोग सुदृढीकरणमा बिम्स्टेक वडापत्र (चार्टर) को महत्त्वलाई उजागर गर्नुभएको छ । उहाँले हासिल भएका उपलब्धिहरूलाई सुदृढ गर्न, साझेदारीलाई अझ मजबुत बनाउन तथा कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

बिम्स्टेकप्रतिको प्रतिबद्धता पुनः व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा क्षेत्रभरिका जनताबीच अझ गहिरो जनस्तरीय सम्बन्ध विस्तार गर्न तत्पर रहेको जानकारी गराउनुभएको छ ।

बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनालले बिम्स्टेकका सबै सदस्य राष्ट्रका सरकार तथा जनतालाई सन्देशमार्फत बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

बिम्स्टेक एक क्षेत्रीय सङ्गठन हो । यसको स्थापना ६ जुन १९९७ मा बैंकक घोषणापत्रमा हस्ताक्षर भएसँगै भएको थियो । प्रारम्भमा बिस्ट–इक (BIST–EC) (बङ्गलादेश–भारत–श्रीलङ्का–थाइल्यान्ड आर्थिक सहयोग) का रूपमा परिचित यस सङ्गठनमा २२ डिसेम्बर १९९७ मा म्यानमारको तथा फेब्रुअरी २००४ मा भुटान र नेपालको सदस्यता प्राप्त भएको थियो । त्यसपछि हाल यो बिम्स्टेकका रूपमा परिचित छ । यसमा सात सदस्य राष्ट्रहरू रहेका छन् ।

विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप

विश्वकप फुटबल प्रतियोगिता सुरु हुन करिब एक हप्ता बाँकी रहँदा खेलका लागि चयन भएका सहभागी राष्ट्रहरूबाट खेलका लागि आयोजक देशका लागि प्रवेशआज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीब्र बनेको छ ।

यस पटकको विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । खेलको उद्घाटन यही जेठ २९ गते हुनेछ ।

आयोजक राष्ट्रमध्ये एक अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण आयोजक राष्ट्र अमेरिकाले विश्वकप प्रतियोगितामा सहभागी हुन लागेको इरानी फुटबल टोलीका केही सदस्यहरूलाई भिसा नदिएर ‘विभेदपूर्ण व्यवहार’ गरेको आरोप इरानले अमेरिकामाथि लगाएको छ।

टर्कीस्थित इरानी दूतावासले अमेरिकी राजदूत टम कराकले खेलाडीहरूलाई भिसा प्रदान गरिएको घोषणा गरेको उल्लेख गर्दै भनेको छ, “व्यवस्थापकीय र कार्यकारी कर्मचारी, प्राविधिक सल्लाहकारहरू र अन्य जो कुनै पनि राष्ट्रिय फुटबल टोलीको अभिन्न अङ्ग हुन्, उनीहरूलाई भिसा दिन अस्वीकार गरिएको छ भनेर तपाईं किन भन्नुहुन्न?”

दूतावासले अगाडि भनेको छ, “इरानको राष्ट्रिय फुटबल टोलीविरुद्ध जानाजानी र भेदभावपूर्ण व्यवहारलाई उच्च स्तरमा पुर्याइएको छ ।”

इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि बराकले शुक्रबार कुटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गर्नुभएको थियो ।

शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोटर््स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् ।

शुक्रबार ताजले सरकारी टेलिभिजनसँग कुरा गर्दै भन्नुभयो, “टोलीका सबैजनालाई भिसा जारी गरिनेछ भन्ने आफ्नो मूल्याङ्कन रहेको र यस सम्बन्धमा कुनै समस्या नहुने आशा गरिएको छ।”

इरानीहरूले आफ्नो विश्वकप खेलमा टोली रहने स्थानलाई स्थानान्तरण गरेका छन् । सुरुमा टक्सन, एरिजोनामा हुने भनिएको उक्त बसाईलाई उत्तरपश्चिमी मेक्सिकन सीमावर्ती शहर तिजुआनामा स्थानान्तरण गरिएको छ।

टोलीका सबै तीन समूह चरणका खेलहरू संयुक्त राज्य अमेरिकामा हुने कार्यतालिका सार्वजनिक भएको छ ।

टोलीले जुन १५ मा न्युजिल्यान्डसँग जुन २१ मा बेल्जियमसँग दुई खेल लस एन्जलसमा र जुन २७ मा इजिप्टसँग सियाटलमा खेल्नेछ ।

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयले दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा गम्भीर मानवीय तथा सुरक्षा संकट उत्पन्न भएको चेतावनी दिएको छ । महिनौंदेखि जारी द्वन्द्व र असुरक्षाका कारण सयौं हजार नागरिक घरबार छाड्न बाध्य भएका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार जोङ्लेई राज्यको अकोबो काउन्टीबाट मात्रै करिब एक लाख ४० हजार मानिस विस्थापित भएका छन् । सन् २०२५ को डिसेम्बरयता जोङ्लेई तथा छिमेकी राज्यहरूबाट तीन लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

सुरक्षाको खोजीमा करिब एक लाख मानिस छिमेकी इथियोपिया पुगेका छन् । प्रभावित क्षेत्रमा जनसंख्याको आवागमन निरन्तर भइरहेकाले अवस्थालाई अस्थिर र चुनौतीपूर्ण मानिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले अकोबो तथा आसपासका क्षेत्रमा आश्रय लिएका परिवारहरू आगामी दिनमा अझ बढी जोखिममा पर्ने जनाएको छ । भारी वर्षा बढ्दै जाँदा उनीहरू बाहिरी सहयोगबाट थप टाढिने, विभिन्न रोगको जोखिम बढ्ने तथा राहत वितरण कार्य झन् कठिन हुने चेतावनी दिइएको छ ।

सन् २०११ मा स्वतन्त्रता प्राप्त गरेयता दक्षिण सुडानले पटक–पटक सशस्त्र द्वन्द्व, व्यापक विस्थापन तथा जलवायुजन्य विपद्को सामना गर्दै आएको छ ।

तथ्याङ्कअनुसार हाल करिब २४ लाख दक्षिण सुडानी शरणार्थी छिमेकी मुलुकहरूमा बसिरहेका छन् भने झन्डै २० लाख मानिस आफ्नै देशभित्र विस्थापित अवस्थामा रहेका छन् ।

यसैबीच सन् २०२३ को अप्रिलदेखि सुडानमा जारी युद्धका कारण दक्षिण सुडानले १३ लाखभन्दा बढी मानिसलाई आश्रय दिएको छ । तीमध्ये स्वदेश फर्किएका नागरिक, शरणार्थी तथा आश्रय खोज्ने व्यक्तिहरू रहेका छन् ।

मानवीय निकायहरूले द्वन्द्व प्रभावित क्षेत्रमा तत्काल सहायता, सुरक्षा तथा राहत कार्यक्रम विस्तार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनुभएको छ ।आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्भर्दमा उहाँले सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको बताउनुभएको छ ।

“पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ”, सभापति लामिछाने भन्नुभएको छ ।

अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनुभएको छ । “यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ”, उहाँले लेख्नुुभएको छ ।

रास्वपाको आज ३७ र भोलि २९ जिल्लामा अधिवेशन हुँदैछन् । रास्वपाको पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् ।

पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सभापति लामिछानेले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार भएको बताउनुभएको छ । लोकतान्त्रिक प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने उहाँको भनाइ छ ।

“हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौँ । त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ”, सभापति लामिछानेले भन्नुभएको छ, “पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ ।”

स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उहाँले लेख्नुभएको छ ।

“चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्च्याउनुपर्छ”, सभापति लामिछानेले भन्नुभएको छ, “पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।”

मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताउनुभएको छ ।

“अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर, सङ्गठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने सङ्कीर्ण चिन्तालाई त्याग्नुपर्छ”, उहाँले भन्नुभएको छ ।

देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

धादिङ – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँनुहुँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताउनुभएको छ ।

रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस (डिस्कोर्स) सुरु भएको उल्लेख गर्दै जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने बताउनुभयो ।

“देशमा नयाँ राजनीतिक संस्कारको सुरुआत भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,” उहाँले भन्नुभयो, “राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ । जुन दलहरूको काम गर्ने शैलीको हामीले विरोध गरेका थियौँ, त्यही शैलीलाई हामीले अपनाउनु हुँदैन ।”

सञ्चारमन्त्री तिमिल्सिनाले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने उहाँको भनाइ थियो ।

उहाँले प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोणअनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताउनुभयो । “कुनै व्यक्ति जिल्ला सभापति वा अरु कुनै पदमा हुनु मात्र ठूलो कुरा होइन, दल र देशका लागि कसले कति योगदान गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण हो,” उहाँले भन्नुभयो ।

मन्त्री तिमिल्सिनाले वडा, पालिका, जिल्ला र प्रदेश तहका कार्यकर्ताको सक्रिय योगदानबाट मात्रै पार्टी बलियो बन्न सक्ने उल्लेख गर्दै आन्तरिक लोकतन्त्र, सहमति र सङ्गठनात्मक अनुशासनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । सकेसम्म सहमति र सहकार्यको माध्यमबाट चुस्त, दुरुस्त र प्रभावकारी सङ्गठन निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

राजनीति व्यक्तिगत स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पु¥याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गर्दै उहाँले वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै, नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उहाँले उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा सञ्चारमन्त्री तिमिल्सिनाले धादिङसहित विभिन्न जिल्लाका दुर्गम क्षेत्रबाट मोबाइल तथा इन्टरनेट नेटवर्क सेवासम्बन्धी गुनासा धेरै आउने गरेको बताउनुभयो । दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो ।

“देशका विभिन्न स्थानमा नेटवर्क समस्या रहेको विषयमा धेरै गुनासा आएका छन् । मोबाइल नेटवर्क सुधारका लागि एक वर्षभित्र महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने गरी काम अघि बढाइएको छ । सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले निरन्तर काम गरिरहेको छ,” उहाँले भन्नुभयो ।

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार एक जना ३५ वर्षीय व्यक्ति पर्थको ३९० किलोमिटर दक्षिणपूर्व अल्बानी शहर नजिकै परिवारसँग डुङ्गामा गुमिरहेको अवस्थामा सार्कले आक्रमण गरेको थियो ।

आक्रमण पछि पिडितलाई तत्काल डुङ्गाबाट निकालेर उद्धार प्रयास गरिएता पनि पुनर्जीवित गर्न नसकिएको जनाउदै प्रहरीले आक्रमणको पुष्टि गरेको छ ।

क्षेत्रीय विकास विभागले मानिसहरूलाई यस क्षेत्रमा थप सावधानी अपनाउन सुझाव दिदै कुनै पनि शार्क देखा परेमा अधिकारीहरूलाई रिपोर्ट गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौं : आर्कषक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ३ बस्ने लक्ष्मी थापा कार्की र बुढानिलकण्ठ–८ बस्ने प्रिया बानियाँ रहेका छन् । पक्राउमध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग रु ११ लाख ५० हजार लिएको पाइएको छ ।

यस्तै, प्रियाले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले खोज तलास गरेको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ

कैलाली। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित ‘स्थानीय सरकार— अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख मियाँले भन्नुभयो,“यो प्रदेश जलस्रोत, वन जङ्गल र सुन्दरताका हिसाबले देशभरमै अग्रस्थानमा छ । सबै मिलेर काम गरेमा सिङ्गो देशले नै यहाँबाट लाभ लिनसक्छ ।त्यसैले प्रदेश र स्थानीय सरकारकाले अरु सबैलाई साथमा लिएर काम गर्नुपर्छ ।”

उहाँले संविधानले नै तीन तहका सरकारले गर्ने काम प्रष्ट रूपमा छुट्याएको उल्लेख गर्दै सोहीअनुसार आफ्नो जिम्मेवारीमा रहेका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय, प्रदेश र सङ्घीय सरकारले गर्ने कामबारे प्रष्ट व्यवस्था छ । त्यसको मर्मलाई आत्त्मसात गर्दै जिम्मेवारी पूरा गरेमा सङ्घीयतालाई सफल पार्न सकिन्छ । त्यसैले विकासका लागि हातेमालो गरौँ”, प्रदेश प्रमुख मियाँले भन्नुभयो ।

‘असल अभ्यास, आशाको सञ्चार’ नाराका साथ आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिमका ३० वटा स्थानीय तहका असल अभ्यासबारे जानकारी प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, प्रदेशका स्थानीय तह र युनिसेफको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ ।

कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो ।

यसअघि प्रकाशित अन्तिम योग्यताक्रम, विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सङ्ख्याका आधारमा नाम सिफारिस गरिएको उहाँले बताउनुभयो ।

शुक्रबार बसेको परीक्षा समितिको निर्णयअनुसार मनोनयन सूची प्रकाशन गरिएको छ । मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरको छात्रवृत्तिसम्बन्धी पोर्टल https://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति परीक्षाको रोल नम्बर, जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको छ ।

मनोनय पत्र लिएर जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नु पर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।

प्रकाशित सूचीअनुसार शिक्षामा छ जना, मानविकीमा १२, कानुनमा ५०, व्यवस्थापनमा एक हजार ४०१ र विज्ञानमा दुई हजार २६६ जनाको नाम सिफारिस गरिएको छ ।

यसमा ‘ल्याण्डफिल साइट’ प्रभावित क्षेत्रबाट २८ जना, महानगरभित्रका स्थायीवासीबाट चार सय ९२ जना, सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नेबाट एक हजार ५४५ जना, संस्थागत विद्यालयबाट उत्तीर्ण गर्नेबाट चार सय ८१, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट १३, आदिवासी जनजातिबाट एक सय ७३, खस आर्यबाट एक सय ९७, छात्रा कोटाबाट चार सय ४०, थारुबाट ३९, दलितबाट ९६, पिछडिएको क्षेत्रबाट ४६, मधेशीबाट एक सय ४९, मुस्लिमबाट २२ र सहिद, बेपत्ता पारिएका, जेनजी आन्दोलन, द्वन्द्वपीडित परिवारबाट १४ जना विद्यार्थी छन् ।

यस वर्षका लागि महानगरभित्रका एक सय ४५ वटा शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको छ ।

पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सिटमा बाँकी रहेका विद्यार्थीको योग्यताक्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा २८ गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ ।

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

कीर्तिपुर। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई अब जीवन नयाँ तरिकाले अघि बढ्छ भन्ने लागेको छ । उहाँ सधैँ यस्तै त नहोला भनेर अहिले ढुक्क हुन थाल्नुभएको छ ।

होस् पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उहाँलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको बास त थियो त्यो, तर स्वामित्व भने थिएन ।

बास भएर के गर्नु ? देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने । पानी, बिजुली बाटो घाटो सबै अनौपचारिक । ढल र फोहरमैला सिधैँ नदीमा । हिँउदभरि उपत्यकावासीको प्रदूषण लिएर बग्ने बागमतीले डम्बरसहितका सुकुमवासीलाई कतिथरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुञ्जेल कसैलाई पत्तो नहुने । अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइँले शरीरमा कहाँ कहाँ समस्या पारेको छ ? कति रहेछ रोग भन्ने कुरा ।

सुकुमवासीको सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कत्ति जोखिममा थियो । सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा ४९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो ।

त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३ दशमलव पाँच प्रतिशतमा ग्याष्ट्रिक, सात प्रतिशत मानसिक समस्या र श्वासप्रश्वाससम्बन्धी समस्या चार दशमलव पाँच प्रतिशतमा देखिएको थियो । सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अङ्क झन् बढ्यो । तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ ।

चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये साढे ३८ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइँका क्रममा भएको देखियो । जसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए । दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेङ्गु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो ।

यसका अधिकांश कारक खोला किनारको जोखिमपूर्ण जीवन थियो । प्रदूषित खानेपानी, फोहर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुमवासीमा लामखुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वाभाविकै हो । सुकुमवासी राखिएका छवटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गर्नुभएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचापजस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ । अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको उक्त टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिएका छन् ।

त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो (सानो) वस्तु देख्न र पढ्न गाह्रो छ । अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यतिबेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो । सेन्टरमा आएका चिकित्सको परामर्शपछि उहाँ त्रिपुरेश्वस्थित आँखा अस्पताल जानुभयो । त्यहाँका चिकित्सकले तिलगङ्गा ‘रेफर’ गरेका छन् । अब त्यतै गएर उपचार गराउने सुरमा हुनुहुन्छ उहाँ ।

थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने लागेको थियो । अहिले सबैलाई घरबाट निस्किएर चौबाटोमा बसे जस्तो भएको छ । सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ला, उहाँ भन्नुहुन्छ । डम्बर की पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि त्यहीँ भएको छ । पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीले सुझाएका छन् ।

करिब २० वर्ष थापाथलीमा बिताएकी ५० वर्षे पुनम मगरलाई थापाथलीमै बस्दा उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो । समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको उहाँले बताउनुभयो । धेरैथरीको स्वास्थ्य परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो”, उहाँले भन्नुभयो । त्यहाँबाट अस्पताल पुगेपछि भने महँगो औषधी आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उहाँले बताउनुभयो ।

अर्का सुकुमवासी खिमबहादुर पुलायामगरले अस्पताल पुगेपछि औषधी सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुमवासीको कुनै गुनासो नरहेको बताउनुभयो ।

होल्डिङ सेन्टरका सुकुमवासीमध्ये कतिपय दीर्घरोगी छन् । जसको नियमित स्वास्थ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा सम्भवै थिएन । सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरूले नियमित स्वास्थ्य परीक्षण र परामर्शमात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन् । सेन्टरमा भेटिएकी सुवासदेवी पासवानले आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटोसमेत प्राप्त भएको बताउनुभयो ।

होल्डिङ सेन्टरमा ल्याइएका सुकुमवासीलाई नदीकिनारको दैनिकीले शारीरिकमात्र होइन मानसिक समस्याबाट पनि पीडित बनाएको छ । बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरुले विगत लामो समयदेखि अव्यवस्थित र असुरक्षित बसाइले दुवैथरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन् । केहीले विगत लामो समयदेखि दैनिकी बिताएको ठाउँ एक्कासी छोडनुपर्दाको दुःख व्यक्त गरेका छन्, तर पनि त्यो भन्दा धेरै असुरक्षित बसोबासका कारण थापाथली किनारमै थुपै्र शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरूसँग उनीहरूले व्यक्त गरिरहेका छन् ।

सुकुमवासीहरूमा पर्नसक्ने मानसिक समस्याको पहिचान र उपचारका लागि छवटै होल्डिङ सेन्टरमा विशेषज्ञसहितका टोलीसहित धेरैपटक पुग्नुभयो, मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् सुलभराज उप्रेती । उहाँले भन्नुभयो, “थापाथलीको जोखिमपूर्ण बसोबासलाई जीवन ठानेर बसेकालाई केही असहज लाग्नु स्वभाविक हो । तर त्यस्तो बसोबासका कारण थुपै्र मनोवैज्ञानिक जटिलता देखिन्छन् । यस्ता व्यक्ति ठूलो सङ्ख्याका भेटिनुहुन्छ ।”

मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्येता सम्मिलित टोलीले छवटै शिविरका गरी ६०० भन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श पनि भएको थियो । “हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको सङ्ख्या पनि उल्लेख्य थियो”, मनोचिकित्साविद् उप्रेतीले भन्नुभयो ।

कुराकानीबाट आएको निष्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार परामर्श र सहायता पछि थुपै व्यक्ति आफ्नो नियमित काममा फर्किनसमेत थालेका छन् । आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उहाँहरुलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता कम हुँदै गएको पाइएको जानकारी पनि उहाँले दिनुुभयो ।

मनोसामाजिकविद्हरूको टोलीले ५५३ सुकुमवासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शबाट थाहा पायो, विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२ दशमलव आठ प्रतिशत रहेछन् । तीमध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४ दशमलव छ प्रतिशत छ ।

मानसिक समस्याकै कारण तीन दशमलव तीन प्रतिशत आत्महत्याबाट र मदिराजन्य समस्याबाट तीन दशमलव तीन प्रतिशतले जीवन गुमाएका पाइएको मनोसामाजिकविद्हरू बताउँछन् । त्यसरी खोलाछेउ बस्दा शान्ति त जीवनमा छँदै थिएन् । फलस्वरुप १०० मध्ये करिब १२ जनाले आत्महत्याको सोचसमेत बनाउन पुगेका रहेछन् । त्यस्तै सयमध्ये सात जनालाई विशेषखालकै मनोरोग सेवा आवश्यकपर्ने अवस्था रहेछ ।

तथ्याङ्कले यो तस्बिर दिएपछि चिकित्सकको टोलीले छवटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिँदै आएको छ । यसले खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रुपमा होल्डिङ सेन्टर आइपुगेका सुकुमवासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरूले महशुस गरेका छन् ।

यसक्रममा मनोचिकित्सकसँग आफ्नो विगतबारे खुलेर कुरा गरे सुकुममवासीहरूले । बाहिरबाट हेर्दा नदीकिनारमा जोखिमपूर्ण जीवन बिताउनेहरूलाई त्यो सामान्य लाग्थ्यो र होल्डिङ सेन्टरको जीवन विश्मयपूर्ण । तर सँगै अब जीवनले नयाँ मोड लिने आशामा अधिकांश सुकुमवासी छन् ।

सुकुमवासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हरेकसँगको कुराकानी, उनीहरूका समस्या पहिचान र त्यसको विश्लेषणमा पनि कर्मचारी खटिरहेका छन् । त्यसमा संलग्न प्रधानमन्त्रीको कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले भन्नुभयो, “सुकुमवासीका रोगमात्र पत्ता लगाएका छैनौँ, रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श पनि निरन्तर भइरहेको छ ।”

यही तथ्याङ्कको आधारमा क्यान्सर, निमोनियाजस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको र यस्तो जटिलता थप सुकुमवासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उहाँले बताउनुभयो ।

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी। सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।

त्रियुगा नगरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए ।

दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका-८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् । उहाँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग

संयुक्त राष्ट्रसङ्घ। चीनले सिरियामा राष्ट्रिय पुनर्निर्माणमा ध्यान केन्द्रित गर्न मद्दत गर्न रासायनिक हतियारको मुद्दालाई छिटो समाधान गर्न बिहीबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा आह्वान गरेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि चीनका सहायक स्थायी प्रतिनिधि सुन लेईले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा बोल्दै यो मुद्दा एक दशकभन्दा बढी समयदेखि समाधान हुन नसकेको र यसलाई चाँडै अन्त्य गर्नुपर्ने बताउनुभयो ।

सनले सिरियाबारे पछिल्लोे प्रगतिको स्वागत गर्नुभयो भने सिरिया र रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यू) बीचको निरन्तर सहयोगलाई समर्थन गर्नुभयो ।

“सनले रासायनिक हतियार महासन्धि अन्तर्गत आफ्नो दायित्व पूरा गर्न सिरियाली सङ्क्रमणकालीन सरकारको प्रतिबद्धता र ओपिसिडब्ल्यूसँग यसको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले समावेशी राजनीतिक सङ्क्रमणलाई अगाडि बढाउन, राष्ट्रिय मेलमिलाप हासिल गर्न र आन्तरिक विभाजनबाट बच्न सिरियाले गरेको प्रयासको पनि सराहना गर्नुभयो ।

यसैबीच, केही ओपिसिडब्ल्यू जवाफदेहिता संयन्त्रहरूले उनीहरूको कार्यादेश नाघेका छन्, ओपिसिडब्ल्यू प्राविधिक सचिवालयलाई कथित रासायनिक हतियारका घटनाहरू ह्यान्डल गर्न वस्तुनिष्ठ, निष्पक्ष र कडाईका साथ कन्भेन्सनको पालना गर्न सनले आग्रह गर्नुभयो ।

उहाँले प्रतिआतङ्कवादको महत्त्वमा पनि जोड दिनुभयो र सिरियाली सङ्क्रमणकालीन सरकारलाई सुरक्षा परिषद्ले सूचीबद्ध गरेका सबै आतङ्कवादी समूहहरूसँग लड्न आग्रह गर्नुभयो ।

सनले ओपिसिडब्ल्यूलाई अनुगमनलाई बलियो बनाउन र सदस्य राष्ट्रहरूलाई खतरनाक रसायन र संवेदनशील प्रविधिहरू आतङ्कवादीहरूको हातमा पर्नबाट रोक्न मद्दत गर्न आह्वान गर्नुभयो ।

रास्वपाले देशका ६१ जिल्लामा आज र भोलि अधिवेशन गर्दै

काठमाडौँ। रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ।

रास्वपाले आज र भोलि देशका ६१ जिल्लामा अधिवेशन गर्न लागेको हो। अरु १६ जिल्लाको अधिवेशन भने अर्को चरणमा गर्ने तयारी गरेको जनाइएको छ । अधिवेशनबाट रास्वपाको जिल्ला नेतृत्व चयन हुनेछ ।

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

नेपालगन्ज। नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत नौ वटा सत्र सञ्चालन हुनेछन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताउनुभयो । विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालगन्जलाई प्रविधिको केन्द्रको हबका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पु¥याउने अपेक्षा राखिएको उपकुलपति ढकालको भनाइ छ ।

विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक रेगबहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो ।

सम्मेलनका संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता, विषयविज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहने छ ।

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक

काठमाडौ‌‌। विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आज बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयकाको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको हो ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो । सर्टलिस्ट अनुसार त्रिभुवन विश्वविद्यालयमा, पूर्वाञ्चल विश्वविद्यालयमा, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विद्यालयमा समान १० र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना उम्मेदवार रहेका छन् । सर्टलिस्टमा रहेका उम्मेदवारहरूका सम्बन्धमा २०८३ जेठ २५ गतेभित्र राय सुझाव दिन सकिने छ । प्राप्त सुझाव र मूल्याङ्कनका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ ।

उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन परेका थिए । त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा अल्पसूचि सार्वजनिक गरिएको हो ।सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो । छनोट तथा सिफारिस समितिको जेठ १३ गते बसेको बैठकले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकहरूको दरखास्त स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट तयार गरिएको मन्त्रालयले जनाएको छ ।नयाँ कार्यविधिअनुसार नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्न विज्ञ समितिमार्फत प्रारम्भिक छनोटको व्यवस्था गरिएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३० र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ७५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ९०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ६५, मकै बोडी प्रतिकिलो रु ७०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु १३०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ५०, स्कुस प्रतिकिलो ८० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ९०, ब्रोकाउली प्रतिकिलो रु १३०, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु १२०, आँप (दशहरी) प्रतिकिलो रु १३०, तरबुजा (हरियो) प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १६० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी (हरियो) अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

हरेक समस्याको समाधान कानुनले दिन्छ भन्ने भाष्य सृजना गर्नुपर्छः मन्त्री गौतम

ललितपुर। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले हरेक समस्याको समाधान कानुनले दिन्छ भन्ने भाष्य सृजना गर्नुपर्ने बताउनुभएको छ ।नेपाल सरकार, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज यहाँ आयोजित दोस्रो कानुन अधिकृत सम्मेलन, २०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले न्याय सेवाभित्रको कानुन समूह र कानुन मन्त्रालय राज्यसत्ता सञ्चालनको मस्तिष्क हो भन्दै हरेक काम गर्दा कानुनले समस्या सृजना गर्छ भन्ने भाष्य बदलेर हरेक समस्याको समाधान कानुनले दिन्छ भन्ने अवस्था सृजना गर्नुपर्छ भन्नुभयो ।

“हरेक काम गर्नुपर्दा कानुन मन्त्रालय र कानुन समूहको राय लिने गरिन्छ, यो समाधानका लागि नै सोध्ने गरिएको हो, तसर्थ कानुन अधिकृतको सम्मेलनमा आठ विषयगत सत्र रहनेछन्, यी सबै फरकफरक सत्रमा व्यापक छलफल हुनेछ, यो सम्मेलनमा देशभरि कार्यरत कानुन अधिकृतबीच अनुभव साटासाट हुनेछ,” मन्त्री गौतमले भन्नुभयो ।अबको बाटो कस्तो हुने भनेर मार्ग तयार गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री गौतमले कानुनको मस्यौदा र तर्जुमामा कानुन मन्त्रालय संयमित भएर काम गरिरहेको बताउनुभयो ।

“समस्या समाधान गर्न नीतिगत पाटोमा मन्त्रालयले ध्यान दिएर काम गरेको छ, कर्मचारीमा रहेको सृजनशील बिचारलाई पनि मन्त्रालयले ध्यान दिइएको छ, तीनै तहका कानुनलाई एकीकृत रूपमा डिजिटल माध्यममा व्यवस्थापन गर्ने कुरालाई ध्यान दिएका छौँ, नेपालको सबै कानुन एकै ठाउँमा भेटिनुपर्छ भनेर ध्यान दिएर काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।मन्त्री गौतमले हरेक नेपाली नागरिकलाई कानुनको बारेमा जानकारी दिन नागरिकको पहुँचमा पु¥याउन काम गरिरहेका बताउनुभयो ।

“कानुन तर्जुमाका प्रक्रियाबारे जनताले जानकारी पाउनुपर्छ, पहिला के थियोे र अब के हुनुपर्छ भनेर पनि थाहा पाउनुपर्छ, जनताको समस्यालाई दीगो रूपमा समाधान गर्नेगरी कानुन मन्त्रलयले काम गरिरहेको छ,” उहाँले भन्नुभयो ।

मन्त्री गौतमले दीर्घकालीन रूपमा नेपाली समाजलाई हीत हुने किसिमको कानुन सुनिश्चित गर्न काम गर्नुपर्ने उल्लेख गर्दै नागरिकको चासो र चिन्तालाई सम्बोधन गर्नेगरी कानुन तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानुन आयोगलाई शक्तिशाली बनाउने कुरामा सरकारले ध्यान दिएको बताउँदै कानुनको मस्यौदाका लागि कानुन आयोगलाई जिम्मेवारी दिने तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना, पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, निवर्तमान सचिव फडिन्द्र गौतमलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियोे ।

सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

काठमाडौँ। सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरी काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ती जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएको छ ।

शेर्पाको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको फ्रस्टबाइट र दायाँ हातको बुढी तथा माझी औँलामा पहिलो चरणको फ्रस्टबाइट देखिएको अस्पतालले जनाएको छ ।

चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तीघ्राको हड्डीमा फ्याक्चर र सोही क्षेत्रको माङ्सपेशीमा रगत जमेको फेला परेको अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले शेर्पाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र जलवियोजनको समस्यामा उल्लेख्य सुधार आइरहेको जानकारी दिनुभयो ।

चिकित्सकको टोलीले शेर्पाको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको र उहाँलाई अझै केही दिन आइसियुमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ ।

मानवअधिकार उल्लंघनका घटनामा सरकार पूर्वाग्रही नबनोस् : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाका सम्बन्धमा मानवअधिकार आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपाली कांग्रेसको साप्ताहिक श्रृङ्खला ‘ग्रिन टेबल’ अन्तर्गत शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले मानवअधिकार उल्लंघनका घटनाहरूलाई सामान्यिकरण गर्न नहुने धारणा राखे ।

भदौ २३ र २४ गते भएका मानवधिकार उल्लंघनका घटनाहरूमा आफ्नै पार्टीका नेता-कार्यकर्तामाथि कारबाही अघि बढे पनि नेपाली कांग्रेसले दोहोरो मापदण्ड नअपनाउने उजको भनाई थियो ।

सभापति थापाले आयोगको सिफारिस कार्यान्वयनका लागि कांग्रेसले सरकारसामु नियमित प्रश्न उठाउने र दबाब बढाउन नछाड्ने बताए । आयोगको सिफारिस ढिलोचाँडो कार्यान्वयन भइछाड्ने विश्वास व्यक्त गर्दै सभापति थापाले भने, ‘दमनलाई विर्सियौं र योजनाबद्ध हिंसालाई क्षमा दियौं भने भविष्यमा हामीले ठूलो मूल्य चुकाउनुपर्छ ।

त्यसैले कांग्रेस यसमा गम्भीर छ ।’आयोगको प्रतिवेदन चुनावअघि नआएकोप्रति आफूहरूको प्रश्न रहेको बताउँदै सभापति थापाले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन र उक्त प्रतिवेदनको कार्यान्वयनमा सरकारको पूर्वाग्रह देखिएको पनि दाबी गरे ।

मुस्ताङ अस्पतालमा बढे बिरामी

मुस्ताङ। प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ । जिल्लाकै एक मात्र २५ शययाको अस्पतालमा आउने बिरामीको सङ्ख्या वृद्धिसँगै व्यवस्थापन पक्षमा समस्या र चुनौति थपिन थालेको छ ।

गर्मीयाम सुरु भइसकेको र पर्यटकलाई मुस्ताङ भ्रमण गर्न अनुकूल भएकाले यहाँको प्रदेश अस्पताल जोमसोममा बिरामीको सङ्ख्या अपेक्षाकृत रूपमा ह्वात्तै बढेको प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिनुभयो । गर्मीयाम भएकाले मुस्ताङका स्थानीय बेसी छोडेर जिल्ला फर्किएका र यहाँ आएका पर्यटक विभिन्न कारणले बिरामी पर्ने समस्याले अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुन पुगेको उहाँले बताउनुभयो ।

मुस्ताङ आएका कतिपय पर्यटकलाई लेक लाग्ने भएकाले यस्ता प्रकृतिका बिरामी सेवा लिन आउने गरेका डा कँडेलको भनाइ छ । गर्मीयामका कारण हुने बिरामी नभई विभिन्न प्रकारका समस्याले पर्यटक, स्थानीय र ज्याला मजदुरी गर्ने सर्वसाधारण बिरामी हुने भएकाले अस्पतालमा बिरामीको सङ्ख्या बढेको उहाँ बताउनुहुन्छ ।

प्रदेश अस्पताल २५ शययाको भनिए पनि १५ शययाको मात्रै छ । नयाँ बन्दै गरेको अस्पताल भवन पनि १५ शययामै बनेको तर हस्तान्तरण हुन बाँकी छ । प्रदेश सरकारले शयया अपग्रेड गरेको भए पनि साविककै पूर्वाधारबाट सेवा प्रवाह हुँदा बिरामीको चाप व्यवस्थापनमा समस्या देखिन गरेको छ । पछिल्लो समय मुक्तिनाथ दर्शनार्थीको सङ्ख्या बढेसँगै अस्पतालको सेवा लिने पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको अस्पतालले जनाएको छ ।

हाल तीन कोठामा २५ शययामा बिरामीलाई वार्डमै राखेर ईमरजेन्सी सेवा प्रवाह गर्ने गरिएको छ । अस्पतालमा प्रसूती सेवासँगै अन्य सेवा उपलब्ध भएकाले बिरामीले अस्पताल खचाखच हुन पुगेको हो । जोमसोमस्थित प्रदेश अस्पतालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म कुल आठ हजार ६६७ जनाले स्वास्थ्य सेवा लिएका अस्पतालले जनाएको छ ।

प्रदेश अस्पतालमा ४२ जनाको जनशक्ति रहेको डा कँडेलले उल्लेख गर्नुभयो । स्वास्थ्य सेवा प्रवाहतर्फ एक एमडीजीपी चिकित्सकसहित ६, अस्पताल नर्सिङ निरीक्षक दुई, स्टाप नर्स दुई, नर्सिङ अधिकृत दुई, स्वास्थ्य सहायक दुई र अनमी दुई जना छन् । अस्पतालअन्तर्गत मुक्तिनाथमा स्वास्थ्य सहायक तीन र कार्यालय सहयोगी एक जना रहेका अस्पतालले जनाएको छ ।

भीडभाड कम गर्न अदालतमा नयाँ नियम

नेपालगन्ज। जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भीडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियम लागू गरेको छ ।अदालत प्रशासनले एक सूचना जारी गर्दै आगामी जेठ २५ गतेदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाका लागि विभिन्न नौ बुँदे निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरेको छ । अदालत परिसरमा हुन सक्ने सम्भावित असुरक्षा र अव्यवस्थालाई ध्यानमा राखेर सो निर्णय भएको बाँके जिल्ला अदालतको प्रशासनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार अब कानुन व्यवसायीले कानुन व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९ ले निर्दिष्ट गरेको पोसाक अनिवार्य रूपमा लगाएर मात्र अदालतमा प्रवेश पाउनुहुने छ । लेखापढी व्यवसायीको हकमा पनि संशोधित नियमावली बमोजिम तोकिएको पोसाक र परिचयपत्र अनिवार्य गरिएको छ ।

सेवाग्राहीको हकमा फिराद पत्र, प्रतिउत्तर पत्र वा अन्य निवेदन दर्ता गर्न आउँदा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने नियम बनाइएको छ । साक्षी बकपत्रका लागि उपस्थित हुने दुवै पक्षका साक्षीले आफ्नो पक्षको साक्षी निवेदन पत्रका साथमा र तारिखमा रहेका पक्ष वा वारिसहरूले तारिख पर्चासहित आफ्नो परिचयपत्र देखाएर मात्र अदालतभित्र प्रवेश पाउने व्यवस्था गरिएको गरिएको जानकारी आफूले पाएको अधिवक्ता वसन्त गौतमले जानकारी बताउनुभयो ।

अदालतले मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै अशक्त तथा वृद्ध ज्येष्ठ नागरिकको सहायताका लागि भने एकजनासम्म सहयोगी साथमा ल्याउन पाउने सहुलियत दिएको छ ।

यसका साथै अदालत परिसरको स्वच्छता र मर्यादा कायम राख्नभित्र पान, गुटखालगायतका वस्तु सेवन नगर्न र साथमा लिएर आउन पूर्ण रूपमा निषेध गरिएको उहाँले जानकारी दिनुभयो ।

तोकिएका वर्ग र प्रयोजन बाहेकका अन्य व्यक्तिलाई अदालतको अनुमति बिना प्रवेशमा रोक लगाइएको छ भने सुरक्षा गार्डले मुख्य ढोकामा कडा जाँच गरेर मात्र प्रवेश अनुमति दिने व्यहोरा अदालतको सूचनामा उल्लेख गरिएको छ ।

फेरि बढ्यो अन्डाको मूल्य, क्रेटको कति

चितवन। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ ।सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डाको रु ५४५, मध्यम (मिडियम) अण्डाको रु ५१५ तथा सानो अण्डाको प्रतिपेटी रु तीन हजार कायम गरिएको छ । यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब रु २५ भएको छ ।

सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो ।

पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको देखिन्छ । वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु ४६५ रहेकामा नयाँ मूल्य रु ५६० पुगेको छ, जुन रु ९५ अर्थात् करिब २० प्रतिशतले बढी हो । सोही अवधिमा ठूलो अण्डाको मूल्य रु ४९० बाट रु ५४५, मिडियम अण्डाको रु ४०० बाट रु ५१५ तथा सानो अण्डाको प्रतिपेटी मूल्य रु २ हजार ३०० बाट रु तीन हजार पुगेको छ ।

सङ्घका अनुसार पछिल्ला केही सातायता अण्डाको उत्पादन घट्नुका साथै बजार माग बढ्दा मूल्यमा निरन्तर सुधार आएको हो । किसानले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै जाँदा मूल्य समायोजन आवश्यक भएको सङ्घका अध्यक्ष पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९ दशमलव १२ पर्ने गरेको छ । नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन् । लामो समयपछि अण्डाको बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको अध्यक्ष पोखरेलको भनाइ छ । उहाँले पछिल्लो समय नेपालमा पर्यटकको आगमन बढ्नु, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुलेसमेत अण्डाको मूल्य सुधारमा सहयोग पुगेको बताउनुभयो ।

किसानले अहिले लागत नजिकको मूल्य पाए पनि उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले उत्पादन लागत घटाउने तथा बजारलाई व्यवस्थित बनाउने उपाय अवलम्बन गर्नसके हालको मूल्य अवस्था कायम राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा मनसुन आउन अझै एक साता लाग्ने

काठमाडौँ। नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ ।जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।

मौसमविद् पौडेलले भन्नुभयो, “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन । तर, एक हप्ता आसपासमा मनसुन भित्रिने अनुमान गरिएको छ । तीनचार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने देखिन्छ, त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुनसक्छ ।” उहाँका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ ।

नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने मिति हो । तर, भारतमा तोकिएको औषत मिति जुन १ मा मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ । त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने अनुमान गरिएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

“सामान्यत केरलामा आएको एक हप्ताभित्र नेपालमा आउने हो तर त्यसको गति भने प्रणाली कति सक्रिय हुन्छ त्यसले निर्धारण गर्ने हुनाले हप्ता आसपास मनसुन भित्रिने अनसमान छ”, उहाँले भन्नुभयो ।

यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ । कुनैकुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुने सक्ने सम्भावनासमेत रहेको मौसमविद्हरूले अनुमान गरेका छन् ।

यसपालि मनसुनको समयमा ५१ हजार परिवारका दुई लाख २६ हजार नागरिक प्रभावित हुने अनुमान गरिएको उल्लेख गर्दै सोहीअनुसार प्रतिकार्य राष्ट्रिय योजना बनाएर लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा तथा बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

त्यसैगरी, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६ रुपैयाँ ३० पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ भने बहराइन दिना एकको खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ ।

त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आसमान तामाङलाई कामकाजमा खटाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आजको बैठकले प्रदेश सचिव पदमा सहसचिव कृष्णप्रसाद सापकोटालाई पदस्थापन गरी कामकाजमा खटाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।

बैठकले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३ कोशी प्रदेशसभामा पेस गर्न स्वीकृत प्रदान गरेको छ भने कोशी प्रदेश भू–उपयोग परिषद्को विशेषज्ञ सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

साथै बहुवर्षीय योजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड २०८३ लाई स्वीकृतिका लागि आवश्यक छलफल गर्न सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको जनाइएको छ ।

एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे

काठमाडौँ। नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताउनुभएको छ ।

आज यहाँ आयोजित परिसङ्घको २३औँ वार्षिक साधारणसभामा अध्यक्ष पाण्डेले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने अध्ययनले देखाएको बताउनुभयो । परिसङ्घले लगानी बोर्डसँगको सहकार्यमा उक्त अध्ययन गरेको थियो ।

“बीसभन्दा बढी विज्ञले करिब आठ महिनासम्म गरेको अध्ययनअनुसार उक्त लक्ष्य हासिल गर्न वार्षिक औसत छ प्रतिशत आर्थिक वृद्धि आवश्यक देखिन्छ । सरकारले सात प्रतिशत वृद्धिको लक्ष्य राखेको छ भने हाम्रो अध्ययनले दीर्घकालीन रूपमा छ प्रतिशत वृद्धि कायम राख्न सके लक्ष्य हासिल सम्भव रहेको देखाएको छ ।”

उक्त लक्ष्यलाई अघि बढाउन परिसङ्घले ऊर्जा, उत्पादन, पर्यटन, आइसिटी, कृषि, पूर्वाधार र संस्थागत सुधारसम्बन्धी १०० वटा सम्भावित उपाय प्रस्ताव गरेको उहाँको भनाइ छ ।

उहाँले अध्ययनका क्रममा पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, खानी तथा खनिज, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी गरिएको बाताउनुभयो । अध्ययनमा सन् २०२५ लाई आधार वर्ष मानी सन् २०३० सम्म सुधारका प्रभावहरू विश्लेषण गरिएको उहाँको भनाइ छ ।

“अध्ययनमा निजी क्षेत्रको भूमिका, लगानी, रोजगारी सृजना र आर्थिक गतिविधि विस्तारमा केन्द्रित गरिएको थियो, उक्त लक्ष्य हासिल गर्न सरकारबाट लगानीमैत्री नीति तथा विकास साझेदारबाट ज्ञान, वित्तपोषण र प्रविधिको सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

गरिबी न्यूनीकरण, विद्युत् पहुँच विस्तार, जलविद्युत् सम्भावना, युवा जनशक्ति, उद्यमशीलता, पर्यटन, रणनीतिक भौगोलिक अवस्थिति र डिजिटल क्षमताजस्ता आधारहरूले यो अभियानलाई बलियो बनाएको उहाँले उल्लेख गर्नुभयो ।

वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवा–सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो ।

पत्रमा वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

निर्णयअनुसार इजाजतपत्रप्राप्त सबै वैदेशिक रोजगार व्यवसायीले आफूहरूले विदेश पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्नेछ । प्रत्येक श्रमिक समूहबाट कम्तीमा ५ देखि १० जनासम्मसँग प्रत्यक्ष सम्पर्क गरी रोजगार सम्झौताअनुसार तलब, सेवा–सुविधा, आवास, कार्य वातावरण तथा अन्य सर्तहरूको कार्यान्वयन अवस्थाबारे जानकारी सङ्कलन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सङ्कलित विवरणको व्यवस्थित अभिलेख राखी आवश्यक पर्दा सम्बन्धित निकायलाई उपलब्ध गराउनुपर्ने छ । साथै रोजगार सम्झौताविपरीत अवस्था भेटिएमा सम्बन्धित रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्ने निर्देश गरिएको छ ।

सरकारले विदेश जानुअघि प्रत्येक श्रमिकलाई रोजगार सम्झौता, गन्तव्य मुलुकको कानुन, श्रम अधिकार, उपलब्ध सेवा–सुविधा तथा गुनासो दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था पनि लागू गर्न आग्रह गरेको छ ।

त्यसैगरी, विदेशमा रहेका श्रमिकले समस्या भोग्नुपरेमा सम्बन्धित वैदेशिक रोजगार व्यवसायीले तत्काल सुनुवाइ गरी समाधान प्रक्रिया अघि बढाउनुपर्ने र आवश्यक परे उद्धार तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने उल्लेख गरिएको छ ।

समस्या समाधान नभएमा श्रमिकहरूले परराष्ट्र मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, हेलो सरकार, समाधान कल सेन्टर, नेपाली राजदूतावास वा महावाणिज्य दूतावास, वैदेशिक रोजगार विभाग तथा अन्य सरकारी संयन्त्रमार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था प्रभावकारी बनाउन पनि निर्देशन दिइएको छ ।

सरकारले रोजगार सम्झौताविपरीत कार्य गर्ने रोजगारदाता कम्पनी, श्रमिकको नियमित अनुगमन नगर्ने वैदेशिक रोजगार व्यवसायी तथा गुनासो व्यवस्थापनमा लापरवाही गर्ने पक्षमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट गरेको छ ।

साथै, विदेशमा रहेका नेपाली श्रमिकहरूको अवस्थासम्बन्धी नियमित प्रतिवेदन संकलन, विश्लेषण तथा अनुगमन गरी श्रमिक हित संरक्षणका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम अघि बढाइने जनाइएको छ ।

‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र नभई मुलुकको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

जनकपुरधामस्थित चारतारे होटल पौवाद्वारा आज यहाँ आयोजित बृहत् खाना प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उहाँले भारतको उत्तर प्रदेशमा रहेको राम जन्मभूमिमा भगवान् श्रीरामको दर्शनका लागि वार्षिक ५० करोड पर्यटक आउने गरेकामा तीमध्ये पाँच प्रतिशत पर्यटक जानकी जन्मभूमिमा आए यस क्षेत्रको पर्यटन क्षेत्रको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री यादवले बुद्ध वायुसेवाले यथाशीघ्र जनकपुरधाम-अयोध्या, अयोध्या-जनकपुरधाम सिधा हवाई उडानका विषयमा तयारी भइरहेको जनाउँदै सेवा सुरु भएपछि जनकपुरधाममा आउने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने बताउनुभयो । सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा मधेस प्रदेशलाई अपेक्षाअनुरूप सम्बोधन नगरिएको गुनासो व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री यादवले मधेस प्रदेश तथा जनकपुरधामलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन हुने अपेक्षा गरिए पनि बजेटले त्यसलाई समेट्न नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।

अयोध्यामा हरेक वर्ष करोडौँ श्रद्धालु भक्तजन पुग्ने गरेका उल्लेख गर्दै मुख्यमन्त्री यादवले माता सीताको जन्मस्थल जनकपुरधामलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसो गर्न सके धार्मिक पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान हुनुका साथै स्थानीयले रोजगारीका अवसर पाउने उहाँले बताउनुभयो ।

जनकपुरधामलाई ‘म्यारिज डेस्टिनेसन’ का रूपमा विकास गर्ने विषय चर्चामा रहे पनि सङ्घीय बजेटले त्यसलाई समुचित रूपमा सम्बोधन गर्न नसकेको मुख्यमन्त्री यादवले उल्लेख गर्नुभयो । उक्त अवधारणालाई पूर्णता दिन प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य गरी अघि बढ्ने उहाँको भनाइ छ ।

मधेस प्रदेशमा तारे होटलहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले यसले पर्यटन क्षेत्रको सम्भावना थप विस्तार गरेको बताउनुभयो । आवश्यक सहयोग र लगानी उपलब्ध भए जनकपुरधामलाई धार्मिक तथा वैवाहिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय बजेटले अपेक्षा पूरा गर्न नसकेको भए पनि प्रदेश सरकार पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा लगानी अभिवृद्धिका क्षेत्रमा आफ्नै पहलमा कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री यादवले व्यक्त गर्नुभयो ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले जनकपुरधाममा सुरु भएको चारतारे होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै होटल पौवाले मिथिला कला, संस्कृति, संस्कार तथा परिकारको प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । होटल पौवा सञ्चालक समितिका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नाइजेरियाले दक्षिण अफ्रिकाबाट एक हजारभन्दा बढी नागरिक फिर्ता ल्याउँदै

नाइजेरियाले लामो समयदेखि दस्तावेज वा कागजात नभएका अफ्रिकी कामदारहरूको गन्तव्य बनेको दक्षिण अफ्रिकामा आप्रवासी विरोधी तनाव बढ्दै गएपछि आफ्ना एक हजारभन्दा बढी नागरिकहरूलाई फिर्ता ल्याउने बताएको छ।

घानाले हालै दक्षिण अफ्रिकाबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएपछि अबुजाको यो कदम आएको हो।

नाइजेरियाको विदेश मन्त्रालयका प्रवक्ता किमिबी एबिएन्फाले शुक्रबार एएफपीलाई बताउनुभयो, “स्वेच्छिक स्वदेश फिर्तीका लागि नाइजेरियाले बिहीबारदेखि आफ्ना नागरिकको पहिचान गर्ने काम सुरु गरेको छ ।”

उहाँले भन्नुभयो, “कुल आँकडा अझै तयार भइसकेको छैन । हामी एक हजारभन्दा बढी व्यक्तिहरू त्यहाँ रहेको अपेक्षा गरेका छौँ ।”

प्रिटोरियास्थित नाइजेरियाको उच्चायोगले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा भनेको छ, “आप्रवासनसँग सम्बन्धित अपराध भएकाहरूलाई हिरासतमा लिनुको सट्टा अन्तिम स्वदेश फिर्ती उडानहरूमा जान अनुमति दिइयोस् ।”

महादेशको सबैभन्दा धनी औद्योगिक अर्थतन्त्र दक्षिण अफ्रिकाले लामो समयदेखि यस क्षेत्रका कामदारहरूलाई आकर्षित गर्दै आएको छ ।

तर ३० प्रतिशतभन्दा बढीको बेरोजगारी दरका कारण यसले हालैका हप्ताहरूमा नयाँ हिंसासहित बारम्बार विदेशीद्वेषी (आप्रबासीप्रतिको असहिष्णुता) दर्शाउँदै विरोध र प्रदर्शनहरूको सामना गरेको छ ।

पछिल्लो तनावले अफ्रिकामा आप्रवासन, आप्रबासीप्रतिको असहिष्णुता र अफ्रिकी महादेशका रैथाने जनता र विश्वभर छरिएर रहेका अफ्रिकी मूलका मानिसहरूबीचको ऐक्यबद्धता, सांस्कृतिक सम्बन्ध र एकतालाई प्रवद्र्धन गर्ने एक सामाजिक, राजनीतिक तथा सांस्कृतिक आन्दोलनबारे असहज बहसलाई पुनर्जीवित गरेको छ।

जुन ३० सम्ममा अवैध आप्रवासीहरूलाई निष्कासन गर्न एक नागरिक नेतृत्वको समूहले चेतावनी दिएको र यसका कारण विगतमा भएको आप्रवासी विरोधी अशान्तिले दर्जनौँको ज्यान लिएपछि हिंसाको डर बढाएको छ ।

दक्षिण अफ्रिकी सरकारले कागजात नभएका आप्रवासीविरुद्ध कारबाही बढाइरहेको बताएको छ तर नागरिकहरूलाई यस्ता मुद्दालाई नागरिकस्तरबाट व्यवस्थापन गर्ने प्रयास नगर्न आग्रह गरेको छ ।

तथ्याङ्क कार्यालयका अनुसार दक्षिण अफ्रिकामा ३० लाखभन्दा बढी विदेशीहरू बस्छन्, जुन यहाँको जनसङ्ख्याको ५.१ प्रतिशत हो ।

यहाँ रहेका विदेशीमध्ये ६३ प्रतिशतभन्दा बढी १६ सदस्यीय दक्षिण अफ्रिकी विकास समुदाय (एसएडिसी) समूहका देशहरूबाट आएका छन् ।

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चादँनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ ।

सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चादँनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो ।

निर्माणाधीन सुक्खा बन्दरगाहका नेपालतर्फका प्रतिनिधि एवं कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तेजबहादुर चन्दले सभामुखसहितको टोलीलाई निर्माणका विषयमा अवगत गराउनुभएको थियो । “मैले सुक्खा बन्दरगाहका साथै मझगाउँ विमानस्थल स्तरोन्नति र दैजीछेला औद्योगिक क्षेत्रका विषयमा पनि सबै जानकारी गराएँ”, चन्दले भन्नुभयो ।

त्यस अवसरमा सभामुख अर्याल, राष्ट्रियसभा अध्यक्ष दाहालसँगै उपसभामुख रुबिकुमारी र राष्ट्रियसभा उपाध्यक्ष लीलाकुमारी भण्डारीलगायत हुनुहुन्थ्यो । उहाँहरु कैलालीको टीकापुरमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुन यहाँ आइपुग्नुभएको हो ।

भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहस्थलमा पर्खाल निर्माण, आवास निर्माणका साथै मलेरिया नालामा पुल निर्माणलगायतका काम भइरहेका छन् । दुई अर्ब ३७ करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सहमति छ । निर्माण कम्पनीका अनुसार सुक्खा बन्दरगाहको हालसम्म १८ प्रतिशत प्रगति भएको छ ।

बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी यसअघि गरिएका थियो । उक्त बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ तारिखमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम, क्वारेन्टाइन, भन्सार चेकजाँच, इमिग्रेसन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुनेछन् ।

नासु खड्कालाई थुनामा पठाउने आदेश

काठमाडौँ। विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा रेवन्त खड्कालाई थुनामा राख्न आदेश गरेको छ ।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज खड्कालाई थुनामा पठाउन आदेश गरेको हो ।

सुटकेशमा विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा नासु खड्कामाथि मुद्दा चलेको थियो ।

व्यावसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा भेप ल्याइएको भेटेपछि सुटकेश बरामद गरेको थियो ।

कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाका जनप्रतिनिधिलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ ।

महानगरपालिकाका वडा नं १ देखि १६ सम्मका जनप्रतिनिधिलाई पहिलो चरणमा र वडा नं १७ देखि ३२ सम्मका जनप्रतिनिधिलाई दोस्रो चरणमा तालिम दिइएको हो ।

कार्यक्रममा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले ‘मानव बेचबिखनविरुद्ध राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन र मानव बेचबिखन न्यूनीकरण तथा प्रभावितको संरक्षणमा ब्यूरोको भूमिका’ विषयक प्रस्तुती गर्नुभएको थियो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तप्रसाद पन्थीले ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति-२०८२ र मन्त्रालयको भूमिका’ विषयक प्रस्तुती गर्नुभएको थियो । महानगरपालिका राजस्व विभागका प्रमुख दीपक अधिकारीले ‘काठमाडौँ महानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि, २०७८’ विषयमा केन्द्रित भएर प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रम समापनका अवसरमा महानगरपालिका वडा नं १० का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार केसी, सामाजिक विकास समितिका सदस्य एवं महानगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा नं २९ का वडाध्यक्ष कुश ढकाललगायतले अभिमुुखीकरण तालिममा सिकेका विषय व्यावहारिक कार्यान्वयन गर्न आह्वान गर्नुभएको थियो । कार्यक्रममा ३२ वटै वडाका जनप्रतिनिधिको सहभागिता थियो ।