`

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।

अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै, उच्च नैतिक चरित्र, नेपाली नागरिकता तथा सम्बन्धित कानुनअनुसार अयोग्य नभएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।

उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड पनि तोकिएको छ ।

आवेदनका क्रममा बायोडाटा, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा पेशागत अनुभव पुष्टि गर्ने कागजात पेश गर्नुपर्नेछ । साथै, मन्त्रालयको वेबसाइटमा उपलब्ध ढाँचाअनुसार स्वघोषणा फारामसमेत अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

 

इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।इरानी प्रस्तावमा हर्मुज जलमार्गबाट हुने समुद्री यातायातलाई पुनः सुचारु गर्ने उल्लेख छ ।

तर, आफ्नो विवादास्पद आणविक कार्यक्रमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूलाई भने भविष्यमा छलफल गर्ने गरी थाती राख्न इरानले प्रस्ताव गरेको छ । सोमबार राष्ट्रिय सुरक्षा सहयोगीहरूसँगको उच्चस्तरीय ब्रिफिङमा राष्ट्रपति ट्रम्पले यसबारे आफ्नो आरक्षण व्यक्त गरेको स्रोतहरूले जनाएका छन् ।

प्रशासनिक अधिकारीहरूले इरानी आणविक संवद्र्धन र बम बनाउन मिल्ने युरेनियमको भण्डारको मुद्दालाई सम्बोधन नगरी महत्त्वपूर्ण जलमार्ग खोल्न दिँदा इरानमाथि रहेको अमेरिकी कूटनीतिक दबाब समाप्त हुने चिन्ता व्यक्त गरेका छन् । यद्यपि, जलमार्ग बन्द रहिरहँदा ऊर्जाको मूल्य बढ्ने र अमेरिकी इन्धनको लागत थप महँगो हुने जोखिम पनि उत्तिकै छ ।

सीएनएनका अनुसार, अमेरिकी प्रतिनिधिहरू इरानी सरकारभित्रको आन्तरिक कलहप्रति पनि सचेत छन् । इरानमा वास्तवमा कसको हातमा निर्णय लिने अन्तिम शक्ति छ भन्नेमा अमेरिका अझै स्पष्ट छैन । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्ताव सोचेभन्दा केही सकारात्मक भए पनि त्यहाँको नेतृत्व र स्थिरतामाथि प्रश्न उठाएका छन् । उनले सर्वोच्च नेता मोज्तबा खामेनीको धार्मिक र राजनीतिक अधिकारमाथि प्रश्न गर्दै सोधेका छन,‘के उनीसँग वास्तवमै सर्वोच्च नेताको रूपमा काम गर्ने अख्तियारी छ ? के उनी आफैंले निर्णय गरिरहेका छन् वा उनको सट्टामा अरू कसैले ?’ कूटनीतिक गतिरोधका बीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सोमबार मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सो क्रममा अराघचीले मध्यपूर्वमा शान्ति वार्ता असफल हुनुको दोष वासिङ्टनमाथि थोपर्दै अमेरिकाको कडा अडान र अत्यधिक मागले गर्दा प्रगति हुन नसकेको दाबी गरे ।

ह्वाइट हाउसकी सहायक प्रेस सचिव ओलिभिया वेल्सले यी संवेदनशील कूटनीतिक छलफलहरू भएको पुष्टि गर्दै भनिन,‘राष्ट्रपतिले भन्नुभएझैं, अमेरिकासँग सबै कार्डहरू सुरक्षित छन् । हामी अमेरिकी जनताको हितलाई प्राथमिकतामा राखेर मात्र सम्झौता गर्नेछौँ र इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन दिने छैनौँ ।’हाललाई अमेरिका र इरानबीचको शान्ति वार्तामा कुनै ठोस नतिजा निस्कन सकेको छैन, यद्यपि ब्याक–च्यानल कूटनीति भने जारी रहेको बताइएको छ ।

पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ।काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।

बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।बैठकमा पार्टीभित्रको आगामी भूमिका, नेतृत्वको रणनीति तथा समूहको साझा धारणा निर्माणमा केन्द्रित भएर छलफल हुने बताइएको छ।

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ। आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ ।सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।

विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गतेअगावै विद्यार्थी भर्ना भइसकेको छ ।

सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुनविपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारितबाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई अनुरोध गरेको थियो ।

विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८ (१) (ग) बमोजिम लब्धाङ्कपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिइएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सुरु भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको थियो । यसअघि हरेक वैशाख २ गतेदेखि शैक्षिकसत्र सञ्चालन हुँदै आएको थियो ।

आदेशमा परीक्षा नतिजा, शैक्षिक सत्र र आवश्यक प्रमाणपत्रबीच समन्वय कायम गर्नुपर्ने उल्लेख गरिएको छ । अदालतले सम्बन्धित निकायलाई प्रचलित कानुनअनुसार कार्य गर्न निर्देशन दिँदै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा गत चैत ५ गते प्रकाशित सूचनामा वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपश्चात् नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली (ज्यापु) प्रतिकिलो रु ४०, सेतो मूला ( प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १८०, टाटे सिमी प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु २५, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिन्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ३५, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १२०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकिलो रु ७०, कोइरालो प्रतिकिलो रु ३००, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४७०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३६०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १५०, धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र

चितवन। जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो ।

नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रत्ननगर, कालिका र राप्ती नगरपालिकामा गएको माघबाट सेवा सुरु गरिएको थियो । त्यसको केही समयपछि खैरहनीबाट सेवा सुरु गरिएको हो । गएको चैत १९ गते माडीबाट सेवा सुरु गरिएकोमा आजदेखि इच्छाकामनामा सेवा सुरु गरिने उहाँले बताउनुभयो ।

यसैबीच, आन्तरिक राजस्व विभागका सूचना प्रविधि निर्देशक पदमबहादुर भण्डारीले छवटै पालिकाका अधिकृत र सहायकस्तरका दुईदुई जना कर्मचारीलाई सोमबार एक दिने प्रशिक्षण दिनुभएको छ । सो क्रममा प्रविधिसँग सम्बन्धित र अन्य विषयहरुका बारेमा उहाँहरुलाई जानकारी गराइएको थियो ।

पालिकाहरुले व्यक्तिगत प्यान, व्यावसायिक प्यान दिन सक्ने छन् । करदाताको आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संसोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षा दिनसमेत सक्ने छन् । ती विषयमा पनि छलफल भएको खड्काले जानकारी दिनुभयो ।

ती पालिकाका करदाताको अनुगमन, अनुसन्धान र कर परीक्षणलगायतका काम भने आन्तरिक राजस्व कार्यालयबाटै हुने छ । कार्यालय भरतपुरमा रहेकाले भरतपुर महानगरपालिकामा भने केन्द्र सञ्चालनमा ल्याइएको छैन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ७४ हजार करदाता रहेका छन् ।

यस कार्यालयले यस आर्थिक वर्षमा रु २९ अर्ब ८१ करोड ७७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । हालसम्म रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ ।

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ। बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुर्‍याइएकोे छ ।

आव २०८२/८३ का लागि निसीखोला गाउँपालिकामा बजेटअनुसार तयार गरिएको १७१ वटा पूर्वाधार विकासतर्फका आयोजना रहेकामा अहिलेसम्म १२४ आयोजना सम्झौता भएर कार्यान्वयनमा गएको हो ।

अहिलेसम्म ४७ वटा आोजना सम्पन्न भइसकेका निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण कार्यान्वयनमा भएको ढिलाइ भएको भन्दै उहाँले विकास निर्माणका १७१ मध्ये १२४ भन्दाबढी आयोजना कार्यान्वयनमा गएका उल्लेख गर्नुभयो ।

गत माघ र फागुनमा विकास निर्माणका कामले गति लिन नसके पनि चैत लागेयता तीव्रता पाएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले जानकारी दिनुभयो । “धमाधम काम भइरहेका छन्, वडागत विनियोजन भएका विकास निर्माणका योजना कार्यान्वयनको चरणमा पुगेका छन् निसीखोला गाउँपालिकाले सीमित योजनामा अधिकतम प्रगति हासिल गरेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको प्रशासनिक भवन अपुग भएकाले एक तला ट्रस्टको छानोसहित थपेर सेवालाई थप चुस्त बनाउँछौँ, गाउँपालिकाले ठूला ठेक्का पाँच वटा सडक स्तरोन्नति गरिरहेको छ, सेवा प्रवाहलाई चुस्त बनाउँदै बेरुजु घटाउँदै लगेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार कर्मचारीको समूहगत काम र जनप्रतिनिधिको सकारात्मक सल्लाहका कारण बेरुजु घटाउँदै लगेको जानकारी दिनुभयो । सात वटा वडामा चारदेखि १५ वटा आयोजनाली तीव्रता पाएका उहाँले बताउनुभयो ।

उहाँका अनुसार वडागत रूपमा विकासका आयोजना उल्लेखनीय रूपमा अगाडि बढेका छन् । वडा नं ६ मा दुई वटा आयोजना सम्पन्न भएका छन् भने वडा नं ७ मा १५ वटा आयोजनाले तीव्रता पाएका उहाँले जानकारी दिनुभयो । पालिकास्तरका दुई ठूला आयोजनाबाहेक अधिकांश वडाको आवश्यकताअनुसार तय गरिएकाले कार्यान्वयन प्रभावकारी भएको पुनमगरको भनाइ छ ।

गाउँपालिकाले समयमै आयोजना सम्झौता र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समयमै काम सम्पन्न गरी अनुगमनपछि भुक्तानी गर्दा बेरुजु घटाउन मद्दत पुगेको पुनले बताउनुभयो । गाउँपालिकाले गत आवमा रु सात करोड बेरुजु रकम घटाएको उहाँले जानकारी दिनुभयो । “गत वर्ष सात करोड बेरुजु घटाइयो, चालु आवमा एक करोड १० लाख बेरुजु घटाइसकिएको छ, कार्यालय व्यवस्थापन, कर्मचारीको कार्यसम्पादनका आधारमा बेरुजु घटाउन सहयोग मिलेको छ”, प्रमुख प्रशासकीय अधिकृत पुनमगरले भन्नुभयो, “बिल भरपाईको पुनःमूल्याङ्कन, समस्या परेका आयोजनाको अनुगमन गर्दा बेरुजु घटाउन सहयोग पुग्छ, अहिले बेरुजु बढ्न नदिने हाम्रो नीति छ ।”

गाउँपालिकाले विकास आयोजनामा उपभोक्ता समितिलाई अभिमुखीकरण गरी कामलाई पारदर्शी बनाउने पहल थालेको छ । आवश्यक कागजात पूरा गर्ने र लागतअनुसार काम गर्ने बानीको विकास हुँदै जाँदा बेरुजु पनि घट्दै गएको पुनले बताउनुभयो । गाउँपालिकाको एक तला भवन थप्नका लागि रु ५० लाख विनियोजन गरिएको उहाँको भनाइ छ । यस्तै रिग ताल संरक्षणका लागि गाउँपालिकाले रु ५० लाख विनियोजन गरिएको छ ।

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।

सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् ।

फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्नेछन् ।

कानुन अनुसार, सह–सचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छः संयोजक शाह

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइहरुमा कुनै आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा संयोजक शाहले पछिल्लो समयमा बाहिर आइरहेको यो भ्रमलाई चिर्दै सबै राजनीतिक दल तथा सरोकारवालाहरुसँगको बृहत् परामर्शबाट नै संविधान संशोधन हुने स्पष्ट गर्नुभएको हो ।उहाँले सरकारको १०० दिने कार्ययोजनाअनुरूप नै संविधान संशोधनका लागि बहसपत्र तयार गर्न उक्त कार्यदल गठन गरिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान संविधानको संशोधन कुनै एउटा राजनीतिक दल वा सरकारको मात्र इच्छाले नभई पूर्णतः राष्ट्रिय सहमतिको आधारमा मात्र सम्भव हुने साझा विषय हो । हामीले तयार पार्ने बहसपत्रमा बृहत् छलफल र बहस हुन्छ र सबैको सहमतिको दस्तावेज तयार भएपछि मात्र संविधान संशोधन हुने हो ।”

उहाँले आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाचापत्रमै संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिएको बताउँदै आगामी १५–२० दिनभित्र सरोकारवालाहरूसँग बृहत् छलफल गरी तयार पारिने प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने बताउनुभयो ।

छलफलका क्रममा कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले संशोधनका लागि पहिचान गरिएका मुख्य विषयवस्तुहरू प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा संविधानविद् पूर्णमान शाक्यले संविधानको आधारभूत संरचना प्रतिकूल नहुने गरी मात्र संशोधन गरिनुपर्नेमा जोड दिनुभयो भने अर्का संविधानविद् डा विपिन अधिकारीले देशमा पूर्ण संसदीय व्यवस्था सुदृढ गर्दै प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार दिनु राजनीतिक स्थिरताका लागि उपयुक्त हुने तर्क राख्नुभयो ।

त्यस्तै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधान नागरिक र राज्यलाई जोड्ने सेतु भएकाले पर्याप्त राष्ट्रिय विमर्शमार्फत मात्र यसलाई परिमार्जन गर्न सुझाव दिनुभयो ।
वरिष्ठ अधिवक्ता गोविन्द शर्मा ‘बन्दी’ ले न्यायपालिकालाई राजनीतिक प्रभावबाट मुक्त राख्न न्याय परिषद्को पुनःसंरचना गर्दै त्यहाँबाट कानुनमन्त्री र नेपाल बार एसोसिएसनको प्रतिनिधित्व हटाउनुपर्ने धारणा राख्नुभयो ।

अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसका एजेन्डाहरूलाई संसद्ले स्वामित्व लिने गरी विश्वसनीय ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो भने कानुनविद् मीरा ढुङ्गानाले संविधानमा महिला अधिकारका प्रावधानहरूलाई थप स्पष्ट पार्दै राज्यका हरेक तहमा लैङ्गिक सहभागिता सुनिश्चित गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीमा जोड, विद्युतमा लाग्ने लागत घटाउन सकिने

काठमाडौँ। नेपालमा सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणाली सञ्चालन गर्नसके विद्युत्मा लाग्ने लागत घटाउन सकिने र खानेपानीमा दिगोपना आउने विषयमा सरोकार भएकाहरूले जोड दिएका छन्।

सोमबार यहाँ राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रद्वारा आयोजित ‘सौर्य ऊर्जा पम्पिङ खानेपानी प्रणालीसम्बन्धी छलफल’ कार्यक्रमका सहभागीले विद्युत् आपूर्ति नियमित नहुने र दुर्गम क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तारको सीमितताजस्ता कारणले सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीको आवश्यकतामा जोड दिएका हुन् ।

संशोधनका क्रममा रहेको राष्ट्रिय खानेपानी डिजाइन निर्देशिकामा समेट्नुपर्ने विषयकाबारेमा छलफल भएको कार्यक्रममा साना खानेपानी आयोजनादेखि ठूला प्रकृतिका आयोजनामा सौर्य ऊर्जाका माध्यमबाट लिप्टिङ/पम्पिङ गर्न सकिने विज्ञहरूले बताउनुभएको थियो ।

सोही क्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले मुलुकको समग्र विकासलाई प्रभावकारी र दिगो बनाउन नागरिकलाई केन्द्रमा राखेर योजना निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । विशेषगरी खानेपानीजस्तो आधारभूत सेवामा अझै ठूलो जनसङ्ख्या शुद्ध खानेपानीको पहुँचबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले अबको प्राथमिकता ती नागरिकसम्म सेवा पु¥याउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा जलस्रोतको प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यसको समान र प्रभावकारी उपयोग हुन नसकेको धारणा राख्नुभयो । “खानेपानीका दृष्टिले नेपाल विश्वमै धनी देश हो, तर विडम्बना के छ भने अझै पनि धेरै नागरिक शुद्ध खानेपानीको पहुँचबाट टाढा छन्”, उहाँले भन्नुभयो, “अबका योजना र कार्यक्रम ती नागरिकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ, म त्यसका लागि आवश्यक सहयोग गर्न तयार छु ।”

सांसद खरेलले खानेपानी तथा सरसफाइ क्षेत्रको समग्र विकासका लागि संस्थागत समन्वय आवश्यक रहेको पनि औँल्याउनुभयो । खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयबीच कार्यक्षेत्रमा दोहोरोपन देखिएको उल्लेख गर्दै उहाँले यी दुई मन्त्रालयलाई एकीकृत वा नजिकबाट सहकार्य गर्ने संरचना बनाउनुपर्ने सुझाव दिनुभयो ।

नीतिनिर्माणदेखि कार्यान्वयनसम्म सहजता ल्याउने सांसद खरेलले विश्वास व्यक्त गर्नुभयो । आगामी आवको बजेट सन्दर्भमा उहाँले खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा छुटसहितको सहुलियत दिनुपर्ने प्रस्ताव अघि सार्न आफूले सकारात्मक पहल गर्ने उल्लेख गर्नुभयो ।

“खानेपानी प्रणाली सञ्चालनमा लागत घटाउन विद्युत् महसुलमा छुट आवश्यक छ”, उहाँले भन्नुभयो, “यसले सेवा दिगोपनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।” उहाँले बजेट विनियोजन गर्दा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले सरकारको प्रमुख लक्ष्य सबै नागरिकलाई सुरक्षित र शुद्ध खानेपानीको पहुँचमा ल्याउनु रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार मन्त्रालयलगायत मातहतका निकायले यही लक्ष्यअनुसार विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको छ । “हामी सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउनेमा प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक नीति, कार्यक्रम र सहकार्यलाई प्राथमिकता दिने छौँ ।”

राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक तथा इन्जिनियर रामकुमार श्रेष्ठले सौर्य ऊर्जा आधारित पम्पिङ प्रणालीलाई ग्रामीण क्षेत्रमा प्रभावकारी विकल्पका रूपमा विकास गर्न केन्द्रले काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले गुणस्तर सुनिश्चितता र दीगो सञ्चालन व्यवस्थापनका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग निरन्तर छलफल र सुझाव सङ्कलन भइरहेको उल्लेख गर्नुभयो । “सौर्य ऊर्जा पम्पिङ प्रणालीले विद्युत् अभाव भएका क्षेत्रमा ठूलो राहत दिन सक्छ”, उहाँले भन्नुभयो, “यसको दीगो व्यवस्थापनका लागि हामीले विभिन्न पक्षसँग समन्वय गरिरहेका छौँ ।”

कार्यक्रममा सहभागी विभिन्न सरोकार भएका निकायका प्रतिनिधिहरूले पनि खानेपानी पहुँच विस्तारलाई अबको मुख्य प्राथमिकता बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले आगामी बजेट तथा नीतिहरू नागरिकमैत्री हुनुपर्ने र विशेषगरी दुर्गम तथा विपन्न समुदायलाई लक्षित गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

छलफलमा उठेका सुझावलाई समेट्दै आगामी दिनमा थप कार्यक्रम तथा योजना अघि बढाइने निर्देशक इन्जिनियर श्रेष्ठले बताउनुभयो । सहभागीले समग्रमा खानेपानी क्षेत्रमा सुधार ल्याउन नीति, प्रविधि र स्रोत व्यवस्थापनबीच सन्तुलन कायम गर्नुपर्नेमा सहमति जनाएका छन् ।

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

झापा। ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वीनाका काँकडभिट्टामा सोमबार बजार अनुगमन गरेको छ ।

अनुमगनका क्रममा नौ वटा पसलबाट ३० कार्टुन म्याद गुज्रिएका पेय पदार्थ बरामद गरिएको हो । अनुगमनमा खटिएको टोलीले बिक्रीका लागि पसलमा राखिएको अवस्थामा कोकाकोला, फेन्टा, स्प्राइट, किन्लेलगायत म्याद गुज्रिएका पेय पदार्थ फेला पारेको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताउनुभयो ।

संयुक्त अनुगमन टोलीले काँकडभिट्टा बजारका कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्श स्टोर्स, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद सङ्गम किराना पसल, कञ्चन कोल्डस्टोर र आरुस स्टोर्समा अनुगमन गरेको थियो ।

अनुगमनका गरिएका पसलबाट बरामद गरिएका म्याद गुज्रिएका पेय पदार्थलाई जफत गरेर रितपूर्वक नष्ट गरिएको उहाँले बताउनुभयो । खान अयोग्य पेयपदार्थ विक्री गर्ने पसलेलाई कारबाहीस्वरुप सचेत गराउनुका साथै तीन दिनभित्र नगरपालिका कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको कार्कीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री नेतृत्वमा रहेको हेल्लो सरकारमा स्थानीय उपभोक्तले काँकडभिट्टा बजारमा म्याद गुज्रिएका सामान खुलेआम बिक्रीवितरण भइरहेको उजुरी गरेका थिए । ‘हेल्लो सरकार’मा परेको उजुरीलाई जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनका लागि पठाइएपछि अनुगमन भएको जनाइएको छ ।

संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल-२०८२ ले सोमबार संविधान र कानुनविद्हरूसँग छलफल गरेको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको कार्यदलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान र कानुनविद्हरूसँग छलफल गरेको हो ।

छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिनुभएको थियो । संविधान संशोधनका लागि शासकीय स्वरूप, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञ मन्त्री हुने, सांसद मन्त्री नहुने व्यवस्था, मन्त्रिपरिषद् गठन, मन्त्रीको जवाफदेहिता, निर्वाचन प्रणाली, विदेशमा रहेका नागरिकको मताधिकार छलफलका विषयहरू हुनुपर्नेमा उहाँले प्रस्तुति दिनुभएको थियो ।

उहाँले व्यवस्थापिकाको सुधार, राष्ट्रियसभा अध्यक्ष÷उपाध्यक्षको भूमिका, निर्वाचनमा गठबन्धन संस्कृतिलाई कसरी व्यवस्थित बनाउने, सङ्घीयताको प्रभावकारिता, स्थानीय तहलाई कसरी उत्तरदायी बनाउनेलगायत विषय प्रस्तुत गर्नुभएको थियो । साथै दलविहीन स्थानीय तह वा दलीय व्यवस्थासहितको, स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका, प्रधानन्यायाधीशको नियुक्ति, योग्यता पदावधि, उमेर, आचरण अनुशासन, सर्वोच्च अदालत उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको नियुक्ति, योग्यता पदावधि, न्यायपालिकामा हुने विकृति र भ्रष्टाचारको निवारण, न्याय परिषद्को संरचना, प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्तिको विषय पनि साझा गर्नुभएको थियो ।

संवैधानिक निकायको सङ्ख्या, पदाधिकारीको सङ्ख्या, पदाधिकारी नियुक्तिलाई कसरी उत्कृष्ट बनाउनेजस्ता विषय संविधान संशोधनका लागि छलफलको विषय हुनुपर्ने प्रस्तुतीकरणका क्रममा सदस्य सचिव सुवेदीले जोड दिनुभयो ।

छलफलमा संविधानविद् पूर्णमान शाक्यले संविधानका आधारभूत संरचनालाई विचार गरेर मात्र संविधान संशोधन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । संविधानविद् डा विपिन अधिकारीले पूर्ण संसदीय व्यवस्था कायम गरिनुपर्ने र प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुनु उपयुक्त हुने धारणा राख्नुभयो ।

संविधानविद् राधेश्याम अधिकारीले संविधान नागरिक र सरकारको बीच सम्बन्ध स्थापित गर्ने पुल भएको हुँदा संविधान जस्तो कुरा हतारमा संशोधन नगरी व्यापक छलफल र बहस हुनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ अधिवक्ता गोविन्द शर्मा बन्दीले संविधान संशोधनका लागि सरकारले पहल गरेकामा धन्यवाद दिँदै न्यायपालिकालाई राजनीतिक हस्तक्षेपरहित बनाउँदै थप सशक्त बनाउन न्यायपरिषद्को संरचनामा फेरबदल गरी कानुनमन्त्री र नेपाल बार एशोसिएसनको सदस्य हटाउनुपर्ने धारणा राख्नुभयो । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसका विषय सान्दर्भिक भए पनि यसलाई संसद्ले स्वीकार गर्नेगरी अगाडि बढ्नु उपयुक्त हुने धारणा राख्नुभयो ।

वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले संविधानले महिलाको अधिकारका बारेमा थप स्पष्टता गर्दै लैङ्गिक सहभागिता बढाउनुपर्ने धारणा राख्नुभयो । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले यो कार्यदललाई संविधानले नचिन्ने हुँदा संयोजक सङ्घीय संसद्को सदस्य बनेर अध्यक्षता गर्दा थप परिपक्व हुने र यसले दिएको प्रतिवेदन संसद्मा प्रष्ट पार्न सहज हुने धारणा राख्नुभयो ।

कार्यदलका संयोजक शाहले कार्यदलका सदस्य तथा आदरणीय विज्ञ व्यक्तित्वहरूले दिएका सुझावसमेतलाई मनन गरेर संविधान संशोधनको बहसपत्र तयार गर्ने विषयमा प्रतिबद्धता व्यक्त गर्नुभएको कार्यदलका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका, कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्रीदर ११० रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ चार पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रुपैयाँ २१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६ रुपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८५ पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०० रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ

ढाका। बङ्गलादेशले एक संदिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको सम्भावित आक्रमणको चेतावनीपछि विमानस्थलको सुरक्षा कडा पारेको अधिकारीहरूले सोमबार बताएका छन्।

बङ्गलादेशको नागरिक उड्डयन प्राधिकरण (्सिएएबी) ले प्रहरी मुख्यालयको सतर्कतापछि देशका आठ विमानस्थलहरूमा तीन अन्तर्राष्ट्रिय टर्मिनलसहित थप उपायहरू लागू गरिएको बताएको छ ।

सीएएबीका अध्यक्ष मुस्तफा महमुद सिद्दिकले ढाकामा पत्रकारहरूसँग भन्नुभयो, “हामीले प्रहरी मुख्यालयबाट सुरक्षा बलियो बनाउन आग्रह भएपछि सोही मुताविक काम गरेका छौँ।”

उहाँले भन्नुभयो, “विमानस्थललाई मुख्य नाकाका रुपमा तोकिएको छ र सामान्यतया यहाँको सुरक्षा कडा राखिन्छ, तर पत्र पाएपछि यसलाई थप बढाइएको छ ।”

बङ्गलादेश प्रहरीले गत हप्ता प्रतिबन्धित लडाकू समूहका एक सदस्य दुई पूर्व सैनिकसँग नियमित सम्पर्कमा रहेको बताएको थियो।

उक्त आक्रमणकारीले ‘धारिलो हतियार, बन्दुक वा विस्फोटक पदार्थ’ प्रयोग गरेर विमानस्थल, संसद् र धार्मिक स्थललगायत प्रमुख प्रतिष्ठानमा आक्रमण गर्नसक्ने बताइएको छ ।

बङ्गलादेशलाई समय–समयमा अल–कायदा र इस्लामिक स्टेट समूहबाट प्रेरित घरेलु लडाकू समूहहरूले निशाना बनाउने गरेका छन् ।

सन् २०१६ मा ढाकामा एक बेकरीमा भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो ।

त्यही समयमा, अल–कायदासँग सम्बन्धित लडाकुहरूले बङ्गलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयसहित धेरै धर्मनिरपेक्ष लेखक र अभियन्ताहरूको हत्या गरेका थिए।

सन् २०२१ मा धर्मनिरपेक्षको पक्षमा वकालत गर्दै आएका एक ब्लगरको हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामाग्रीसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बूका १९ वर्षीय रितिका माझी रहेका छन् ।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गत चैत १२ गते, १९ गते र बैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाट गरेको घटनाको अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकासँग १२.९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायतका सामग्री बरामद गरेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

अनुगमनका क्रममा कैफियत देखिएपछि दुई फर्मलाई जरिवाना

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो ।

यस्तै, कान्तिपुर क्याफे एपयरपोर्टलाई पनि रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । हेभन ह्याण्डिक्राफ्ट २६ ठमेल र गुडलक ट्रेकिङ सप ठमेलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सोमबार कूल ४७ वटा फर्ममा अनुगमन गरेकामा ४३ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन सक्दैन: मुख्यमन्त्री बानियाँ

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन नसक्ने बताउनुभएको छ ।

यहाँ मुख्यमन्त्री कार्यालयमा बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घको ज्ञापनपत्र बुझ्दै उहाँले विकास निर्माणको कार्यमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सरकारी राजस्वको ठूलो हिस्सा निजी क्षेत्रबाट प्राप्त हुने भएकाले यस क्षेत्रको मागप्रति सरकार लचिलो हुनुपर्ने भन्दै मुख्यमन्त्री बानियाँले निर्माण साम्रगीमा भएको अस्वाभाविक मूल्य वृद्धिबाट परेकोे असरप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले कानुनी उपचार र विगतको नजिरलाई हेरेर आयोजनाको म्याद थपको प्रक्रिया थाल्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “प्रदेश सरकारले विगतमा भएको सङ्घीय सरकारका नजिरलाई हेरेर सङ्घीय र स्थानीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार समन्वय गरेर निर्माण व्यवसायीलाई पर्न गएको समस्या समाधानका लागि पहल गरिनेछ ।”

उहाँले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेकाले धेरैजसो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका प्रदेश अध्यक्ष छत्रबहादुर तामाङको नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । निर्माण सामग्रीमा अप्रत्याशित एवं अत्यधिक मूल्य वृद्धि र बजारमा ती सामग्रीको अभावले निर्माण उद्योग समस्यामा परेको भन्दै महासङ्घले मूल्य समायोजनको माग गरेको छ ।

अध्यक्ष तामाङले प्रत्येक आयोजनामा मूल्य वृद्धि भएअनुरुप तत्काल निर्देशिका गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी आग्रह गर्नुभयो ।

निर्माण क्षेत्रको सङ्कटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आज निर्माण क्षेत्रको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ।

मुख्यमन्त्री कार्कीसहित प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारलाई महासङ्घका प्रदेश अध्यक्ष जनसेवक भण्डारीसहितको टोलीले पेट्रोलियम पदार्थलगायत निर्माण उद्योगलाई आवश्यक सामग्रीको मूल्य वृद्धिअनुसार मूल्य समायोजन एवं म्याद थपका लागि ज्ञापनपत्रमा आग्रह गरिएको छ।

टोलीले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारसँग अलगअलग भेट गरेर ज्ञापनपत्र बुझाएको हो। मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्र बुझ्दै निर्माण क्षेत्रमा देखिएको सङ्कटप्रति सरकार गम्भीर रहेको बताए । उनले व्यवसायीहरूले उठाएका विषयलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्र एवं पूर्वाधार विकासमा देखिएको सङ्कटले सबै क्षेत्रलाई असर पार्ने धारणा राखे। त्यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारले निर्माण व्यवसायीको माग जायज रहेकाले समस्या समाधानका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।

बंगलादेशमा अवामी लिगले बार एसोसिएसनको पनि चुनाव लड्न नपाउने

बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसनले मे १३ देखि १४ सम्म हुने निर्वाचनमा अवामी लिग समर्थक वकिललाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीमाथि प्रतिबन्ध लगाइएको भन्दै यो निर्णय लिइएको हो ।

बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का सदस्यहरूले आगामी वार्षिक चुनावमा अवामी लिग समर्थक वकिलहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। निर्वाचन मे १३ र १४ मा हुने तय भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार ढाकामा भएको सङ्घको विशेष साधारण सभामा यो निर्णय गरिएको हो।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) समर्थक वकिल एससिबिएका वरिष्ठ उपाध्यक्ष हुमायूँ कबिर मन्जुले अध्यक्षता गरेको करिब ३०० वकिलहरू सहभागी बैठकले अवामी लीग समर्थक समूहलाई निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध लगाएको हो । सहभागी सदस्यमध्ये अधिकांश बीएनपी र जमात–ए–इस्लामी समर्थक समूहका रहेका थिए।

एससीबीएका सचिव ब्यारिस्टर मोहम्मद महफुजुर रहमान मिलोनले भन्नुभयो, “आतङ्कवादविरोधी ऐन, २००९ अन्तर्गत पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाइएकोले करिब १०० सदस्यले नेतृत्वसँग प्रतिवन्धका लागि माग गरेका थिए । बङ्गलादेशमा हसिनाको पार्टी अवामी लिगलाई यसअघि नै गत आम चुनावमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाइको थियो ।

उहाँले भन्नुभयो, “सर्वसाधारणको रायका आधारमा अवामी लिग समर्थित समलिता इङ्गिबी समन्वय परिषद् र बङ्गबन्धु अवामी इङ्गिबी परिषद्का वकिल वा यी सङ्गठनका पदाधिकारीले चुनाव लड्न नपाउने निर्णय भएको छ । मिलोनले त्यस्ता कानुन व्यवसायीले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्ने स्पष्ट पारे ।

यो निर्वाचन एससीबीएका अध्यक्ष र सचिवजस्ता महत्वपूर्ण पदसहित १४ कार्यकारी पदका लागि हुनेछ । निर्वाचित पदाधिकारीको कार्यकाल एक वर्षको हुनेछ ।

चासो व्यक्त

यसैबीच, फ्रान्सस्थित मानवअधिकार सङ्गठन जस्टिस मेकर्स बङ््गलादेश इन फ्रान्स (जेएमबीएफ) ले हालैका दिनहरूमा बङ्गलादेश बार एसोसिएसनको चुनावमा कथित अनियमितता र राजनीतिक विचारधाराका आधारमा अवामी लिग समर्थक वकिलहरूको मनोनयन रद्द गरिएको भन्दै यसको निन्दा गरेको छ।

सङ्गठनले त्यस्ता वकिलहरूलाई मुन्सीगञ्ज, मयमनसिंह, ठाकुरगाउँ, पञ्चगढ, खुलना, नरिल र सुनामगञ्जका विभिन्न जिल्लाहरूमा प्रहरी हस्तक्षेपको माध्यमबाट चुनाव प्रक्रियाबाट टाढा राखिएको आरोप लगाएको छ ।

यस महिनाको सुरुमा, अवामी लिगले पार्टीलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाइएको संसदबाट पारित एक विधेयकको कडा आलोचना गरेको थियो । आवामी लिगले यसलाई लोकतान्त्रिक मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण र लज्जास्पद कदमको रूपमा वर्णन गरेको थियो।

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा। सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा बनाइएको अस्थायी बाँध गएराति बाढीले बगाउँदा आवतजावतमा समस्या भएको छ ।

पुलको ‘डाइभर्सन’ भन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटोको बाँध बगाएपछि सवारी सञ्चालन अवरुद्ध भएको छ । स्थानीय रामचन्द्र यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारीसाधन बीचमै अलपत्र परेका थिए । पछि स्थानीयवासीको सहयोगमा ती सवारीसाधन तारिएको थियो ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले लगातारको वर्षाले संरचनामा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले तत्काल डोजर प्रयोग गरी माटो हालेर बाँध पुनर्निर्माण गरेको छ र आवतजावत आंशिक रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको छ ।”

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त कमला नदी पुल निर्माण भने लामो समयदेखि हुन सकेको छैन । २०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा सो पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो । २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने पुल हालसम्म पनि निर्माण हुन सकेको छैन ।

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर। भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

सो स्थानका संरचना भत्काउन आज २४ वटा जेसिबी प्रयोग गरिएका थिए । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो । शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो ।

सुुकुम्वासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए ।

आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुम्वासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ ।

पर्सामा २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा

पर्सा। पर्सा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले वीरगञ्जको सीमावर्ती बजार रक्सौलबाट भन्सार छली गरेर नेपाल भित्र्याएर अनधिकृत रूपमा चलाइरहेका करिब रू १९ लाख २० हजार मूल्य पर्ने २४ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर वीरगञ्ज भन्सारमा बुझाइएको जानकारी दिनुभयो ।

“यहाँ अनधिकृत रूपमा चलाउँदै आइरहेका भारतीय स्कुटरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ’’, उहाँले भन्नुभयो । प्रहरीले गत शनिबार अवैध रूपमा वीरगञ्जमा चलाउँदै आएका सात वटा भारतीय स्कुटर नियन्त्रणमा लिएर वीरगञ्ज भन्सारमा बुझाएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले गत वैशाख ११ गते २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको थियो ।

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक। शनिबार र आइतबारको असिना–पानीले क्षति पु¥याएको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ ।प्रतिनिधिसभा सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिलगायतको टोलीले दुवै नगर क्षेत्रका विभिन्न स्थानमा पुगेर आज क्षतिको अनुगमन गरेका हुन् । त्यस क्रममा धुलिखेलको वडा नं १, ११ र १२ तथा पनौतीको वडा नं ६, ८, ९ र १० का खेतबारीमा लगाइएको आलु तथा तरकारीखेती र अन्य फलफूलमा पुगेको क्षतिबारे जानकारी लिइएको थियो ।

अनुगमनका क्रममा सांसद चौलागार्इंले क्षतिको एकीन विवरण वडा कार्यालयलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । “क्षतिको एकीन विवरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसद्मा पनि विषय उठान गर्नेछु”, उहाँले भन्नुभयो,“प्रारम्भिक रूपमा हेर्दा कृषकको ९५ प्रतिशत आलुबाली तथा अन्य फलफूलमा क्षति पुगेको पाइएको छ ।”

पनौती–१० सुन्धान ईट्टेका अप्सरा कुँवरले आफ्नो संयुक्त परिवारको करिब १५ रोपनी खेतको आलुबाली असिना–पानीले क्षतिग्रस्त बनाएको जानकारी गराउनुभयो । उहाँले सूडीखोला छेउमा भएकाले आफ्नो आलुखेत डुबानमा परी बर्सेनि क्षति हुने गरेको गुनासो गर्नुभयो । जवाफमा सांसद खोला व्यवस्थित गर्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच जिल्ला कृषि विकास कार्यालयले वर्षाका कारण बालीनाली तथा फलफूलमा पुगेको क्षतिको विवरण सङ्कलन थालिएको जनाएको छ । स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण लिन थालिएको कार्यालयका अधिकृत रामशरण मिजारले जानकारी दिनुभयो ।

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ ।कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ को दफा १२ (१) को व्यवस्था खारेज गरिएको हो ।

उक्त कार्यविधिमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश, पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वसांसद, पूर्वसंवैधानिक निकायका पदाधिकारीको निश्चित सीमा तोकी विदेशमा गराएको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था रहेको थियोे ।

पूर्वविशिष्ट पदाधिकारीको उपचार खर्च कटौती गर्न माग गर्दै विसं २०७९ मा अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपाल (स्वागत) रिट निवेदन दायर गर्नुभएको थियोे । स्वदेशमा उपचार गर्दा भने सरकारले खर्च दिने व्यवस्था यथावत छ ।

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पु-याउने नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताउनुभएको छ ।नेपाल राष्ट्र बैंकको आज ७१औँ वार्षिकोत्सवमा उहाँले सरल, नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पु-याउने बैठकको प्रयास रहेको बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय पश्चिम एसियाको युद्धले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावको नियमित अध्ययन गरी सजग रहन आवश्यक छ । गर्भनर पौडेलले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रको अवस्थाबारे समीक्षा गर्नुभएको थियो ।

सो प्रतिवेदनमा अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को २०२६ अप्रिलका अद्यावधिक वल्र्ड इकोनोमिक आउटलुक(डब्लुइओ) का अनुसार विश्व अर्थतन्त्र बढ्दो अनिश्चितता र जोखिममा रहेको जनाइएको छ । पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र यसबाट सिर्जित आपूर्ति अवरोध र इन्धनको मूल्य उतारचढावले विश्व अर्थतन्त्र प्रभावित भएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा पूर्वगर्भनर डा युवराज खतिवडाले देशको अर्थतन्त्रलाई बलियो बनाउने आधार आन्तरिक उत्पादनशील नै रहेको बताउनुभएको छ । उहाँले बाहिरी स्रोतले केही आर्थिक स्थितिमा सुधार देखिए जस्तो लागे पनि वास्तवमा त्यो दीर्घकालीन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र मोटाएको छैन, सुन्निएको हो ।”

कार्यक्रममा बंैकका सर्वोत्कृष्ट एक र अन्य उत्कृष्ट सात कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने २० वर्ष सेवा अवधि पूरा गरेका १७ कर्मचारीलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको थियो ।

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

काठमाडौंँ। विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य २५ जना घाइते भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ । यस्तै, आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन् । ती घटनाबाट रु ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए ।

प्राधिकरणका अनुसार पछिल्ला १४ दिनमा मात्रै विपद्बाट ३३ जनाको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन् । यस अवधिका पाँच सय ४४ वटा विपद्का घटना भएका थिए ।

सन् २०२६ मा अफगानिस्तानको आर्थिक वृद्धि चार प्रतिशतले बढ्ने विश्व बैङ्कको प्रक्षेपण

काबुल। “अफगानिस्तानको अर्थतन्त्र सन् २०२६ मा करीव चार प्रतिशतले वृद्धि हुने अनुमान गरिएको टोलो न्यूजले विश्व बैङ्कको एक विज्ञप्तिलाई उद्धृत गरी सोमबार जानकारी गराएको छ ।

बलियो घरेलु माग, बढ्दो निजी लगानी र श्रम बजारमा फर्कने आप्रवासीहरूको सुधारिएको एकीकरणको समर्थनले अफगानिस्तानको आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेलेको छ ।

प्रतिवेदनमा भनिएको छ, “इरानमार्फत हुने कारोबारले आर्थिक गतिविधिलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको र व्यापार मार्गहरूको विविधीकरणको प्रयासले अधिक स्थिर वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सन् २०२५ मा अफगानिस्तानको अर्थतन्त्र अनुमानित ४.८ प्रतिशतले विस्तार भएको पनि प्रतिवेदनमा उल्लेख छ । उच्च खपत र गैर–कृषि क्षेत्रहरूमा क्रमिक सुधारको कारण अफगानिस्तानमा निरन्तर चुनौतीहरूको बाबजुद सामान्य आर्थिक सुधारको सङ्केत देखिएको छ ।

भारत–न्यूजील्याण्डबिच स्वतनत्र व्यापार सम्झौतामा हस्ताक्षर, शतपूतिशतच भारतीय निर्यात करमुक्त

नयाँदिल्ली। भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको सुरुवात भएको छ ।दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर गरेका छन्, जसले व्यापार, लगानी र रोजगारको क्षेत्रमा आमूल परिवर्तन ल्याउनेछ।

यो महत्त्वपूर्ण सम्झौतालाई वाणिज्य मन्त्री पीयूष गोयल र उहाँका न्यूजील्याण्ड समकक्षी टोड म्याकलेको उपस्थितिमा आधिकारिक बनाइएको थियो। यो सम्झौतालाई भारतीय अर्थव्यवस्था र निर्यातकर्ताहरूका लागि विश्व बजारमा ठूलो कूटनीतिक र आर्थिक विजय मानिन्छ।
यस एफटिएको सबैभन्दा उल्लेखनीय विशेषता यसको गति हो। सन् २०२५ मार्च १६ मा सुरु भएको वार्ता नौ महिनाभित्र सम्पन्न भएको थियो । यो सम्झौता लागू भएसँगै भारतीय सबै उत्पादनहरूमा तत्काल शत प्रतिशत कर मिनाह हुनेछ । बदलामा न्यूजील्याण्डबाट भारत आउने कुनै पनि वस्तुमा कर लाग्ने छैन ।

हाल न्यूजिल्याण्डले भारतबाट निर्यात हुने करिब ४५० वस्तुमा १० प्रतिशत कर लगाउने गरेको छ । नयाँ सम्झौता अन्तर्गत यो शुल्क हटाइनेछ, जसले भारतीय कपडा र तयारी पोशाक, छाला उद्योग, टोपी, सेरामिक्स, कार्पेट र सवारी साधन र तिनका पार्टपुर्जाको निर्यातलाई ठूलो बढावा दिनेछ । यसको बदलामा भारतले न्यूजील्याण्डबाट आउने ९५ प्रतिशत सामानमा पनि छुट दिएको छ वा ट्यारिफ घटाएको छ ।

व्यापार सहजीकरणको साथसाथै यस एफटिएको एक प्रमुख स्तम्भ विदेशी लगानी हो। सम्झौता अन्तर्गत न्यूजील्याण्डले आगामी १५ वर्षमा भारतमा २० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यो लगानी भारतसँग युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) ले हस्ताक्षर गरेको सम्झौतामा प्रस्तावित १०० अर्ब डलरको लगानी ढाँचाको आधारमा हो।

एक महत्त्वपूर्ण रणनीतिक कदममा भारतले आफ्नो संवेदनशील घरेलु कृषि र दुग्ध क्षेत्रलाई यस एफटिएको दायराबाट पूर्ण रूपमा बाहिर राखेको छ। दूध, क्रीम, दही र चीजजस्ता सबै दुग्ध उत्पादनहरू साथै अन्य कृषि उत्पादनहरू आयातबाट छुट दिइएको छैन, जसले गर्दा भारतीय किसान र स्थानीय दुग्ध उद्योगको हितको रक्षा सुनिश्चित भएको छ।

विद्यार्थी र पेशेवरका लागि नयाँ ढोका

आर्थिक मोर्चा बाहेक, यो एफटिए कामकाजी पेशेवर र विद्यार्थीहरूको गतिशीलताको लागि कोशेढुङ्गा साबित हुनेछ । विद्यार्थीहरूलाई राहतः न्यूजील्याण्डले पहिलो पटक विश्वव्यापी रूपमा कुनै देशसँग विद्यार्थी आवागमन र ‘पोस्ट स्टडी वर्क भिसा’को लागि सम्झौता गरेको छ।

अब भारतीय विद्यार्थीहरूले अध्ययनको क्रममा प्रति हप्ता २० घण्टासम्म काम गर्न सक्षम हुनेछन् र विस्तारित ‘पोस्ट–स्टडी वर्क भिसा’को लाभ प्राप्त गर्नेछन्।

उच्च तलब पाउने रोजगारीको खोजीमा रहेका कुशल भारतीय पेशेवरहरूका लागि सम्झौतामा पाँच हजार अस्थायी रोजगार भिसाको विशेष कोटा तय गरिएको छ। यसमार्फत पेशेवरहरूले न्यूजील्याण्डमा तीन वर्ष बस्न र काम गर्न सक्नेछन्।

सम्झौताले एक विशेष वर्किङ होलिडे भिसा कार्यक्रमको पनि व्यवस्था गरेको छ, जसले एक हजार युवा भारतीयहरूलाई प्रति वर्ष १२ महिनाको लागि न्यूजील्याण्डमा प्रवेश गर्न सहज गराउनेछ ।

भारत र न्यूजील्याण्ड बीचको यो स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको अर्थव्यवस्थाको लागि अवसरहरू सिर्जना गर्दछ। जबकि भारतका निर्यातकर्ता र कुशल जनशक्तिले प्रत्यक्ष लाभ उठाउनेछ, न्यूजील्याण्डले विशाल र उदीयमान बजारमा सहज पहुँच पाउनेछ। महत्वपूर्ण क्षेत्रहरू (जस्तै डेरी) लाई सुरक्षित गर्दै विदेशी लगानी आकर्षित गर्ने यो नीतिले भारतलाई भविष्यमा विश्वव्यापी आपूर्ति श्रृङ्खलामा एक बलियो र भरपर्दो साझेदारको रूपमा स्थान दिनेछ।

सम्झौताबारे वाणिज्यमन्त्रीको भनाइ

भारत–न्यूजील्याण्ड मुक्त व्यापार सम्झौतामा हस्ताक्षर गर्ने क्रममा केन्द्रीय वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, “हामी विश्व अर्थतन्त्रको पुनर्संरचना भइरहेको यस्तो समयमा बैठक गरेका छौँ । विश्व अर्थतन्त्रको पुनर्संरचना भइरहेका, ेसीमाहरू पुनः कोरिरहेको र राष्ट्रहरूले आफ्ना साझेदारहरू छानिरहेको समयमा आफ्नो भविष्यको बाटो तय गरिरहेका छन्।”

उहाँले भन्नुभयो, “यो बदलिँदो युगमा भारत र न्यूजील्याण्डले एक अर्कालाई रोजेका छन्। भारत–न्यूजील्याण्ड स्वतन्त्र व्यापार सम्झौता नौ महिजाको छोटो अवधिमा सम्पन्न भएको छ । यो गतिले हाम्रा देशहरूबीचको गहिरो विश्वास र साझा महत्वाकांक्षालाई प्रतिबिम्बित गर्दछ।”
उहाँले थप्नुभयो, “यस एफटिएमा हस्ताक्षर विकसित देशहरूसँग भारतको सम्बन्धमा अर्को महत्त्वपूर्ण कोशेढ्ुङ्गा हो र हामीलाई प्रधानमन्त्री मोदीको ‘विकसित भारत २०४७’ को दृष्टिकोणको नजिक ल्याउँछ।

यो पछिल्लो साढे तीन वर्षमा मेरो सातौं एफटिए हो, र दुई थप सम्झौताहरू हुन बाँकी छन्। आगामी केही महिनामा ईयू र अमेरिकासँग सम्झौता हुनेछ।”

डिजिटल रूपान्तरण परियोजनाका लागि एडिबीसँग ऋण सम्झौता

काठमाडौँ। नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नों कोश्वाले हस्ताक्षर गर्नुभयो ।

यो परियोजना दक्षिण एसियामै पहिलोपटक एडिबी–विश्व बैंकपूर्ण पारस्परिक निर्भरता ढाँचाअन्तर्गत सह–वित्तीय लगानी हुने परियोजना रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार परियोजनामार्फत सरकारी ‘डाटा होस्टिङ’ तथा साइबर सुरक्षा पूर्वाधार सुदृढ गरिनेछ । जसले सरकारी डिजिटल प्रणालीको सुरक्षा र लचिलोपन अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

परियोजनाअन्तर्गत आधुनिक तथा सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधारको विकास गरिनेछ । कूल लगानीमध्ये एडिबीले सह–वित्तीय लगानीकर्ताका रूपमा ४० मिलियन अमेरिकी डलर र विश्व बैंकले प्रमुख ऋणदाताको रूपमा ४० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछन् । विश्व बैंकसँग यसअघि नै ऋण सम्झौता सम्पन्न भइसकेको छ ।

यस परियोजनाले सरकारी डिजिटल प्रणालीहरूको आधुनिकीकरण, संस्थागत संरचना सुदृढीकरण तथा डिजिटल प्लेटफर्महरूको प्रयोग विस्तारमार्फत कार्यक्षमता, पारदर्शिता र नागरिकको सरकारी सेवामा पहुँच सुधार गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ । यो परियोजना नेपाल सरकारको सोह्रौँ योजना तथा १०० दिने सुशासन सुधार कार्ययोजनासँग समेत सम्बद्ध रहेको जनाइएको छ ।
परियोजनाका प्रमुख कार्यक्रमहरूमा सरकारी डिजिटल प्लेटफर्म तथा साझा सेवाहरूको स्तरोन्नति, साइबर सुरक्षा तयारी सुदृढीकरण, तथा डिजिटल प्रणाली सञ्चालन र दिगोपन सुनिश्चित गर्न संस्थागत तथा मानव स्रोत क्षमता विकास समावेश छन् ।

सम्झौता हस्ताक्षरपछि एडिबीका देशीय निर्देशक कोश्वाले समावेशी विकास र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि डिजिटल प्रविधिको उपयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता कार्यान्वयनमा यो परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, अर्थ सचिव डा उपाध्यायले नेपालले डिजिटल सुशासन क्षेत्रमा महत्वपूर्ण प्रगति गरे पनि संस्थागत प्रणाली, अन्तर आबद्धता तथा सेवा प्रवाह सुदृढ गर्न थप सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले एडिबीको सहयोगमा सञ्चालन हुने यस परियोजनाले डिजिटल रूपान्तरणलाई तीव्रता दिनुका साथै सार्वजनिक क्षेत्रको कार्यक्षमता अभिवृद्धि गरी नागरिकमैत्री सेवा विस्तारमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

विश्वकप लिग-२: ओमानविरुद्ध युएईको जित

काठमाडौं। आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई ) विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको युएईले ओमानलाई जितका लागि दुई सय ६९ रनको बलियो लक्ष्य दिएको थियो । जवाफमा ओमानले राम्रो सुरुआत गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा ४७ दशमलव पाँच ओभरमा २४३ रनमै समेटियो ।

ओमानका लागि विनायक शुक्लाले अविजित ५८ रनको योगदान भने कप्तान जतिन्दर सिंहले ४६ रन जोडे ।

बलिङतर्फ युएईका अजय कुमार नायक बने । उनले नौ दशमलव पाँच ओभरमा ३५ रन खर्चेर छ विकेट लिएका थिए । यस्तै, सोही टोलीका हैदर अलीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई ६८ रनको योगफल खडा गरेको थियो । युएईका लागि आर्यांश शर्माले एक सय पाँच रनको शतक प्रहार गरे भने अदीब उस्मानीले ६४ रन र हरप्रीत सिंहले ५४ रनको योगदान दिए ।

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो ।

महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्नेछ ।

खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने

खोटाङ। खोटाङका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिए पनि यी स्थानीय तहले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेका हुन् ।

सङ्घीय सरकारले गरेको निर्णय अनुसार पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार पठनपाठन गराउने निर्णय गरेको जनाएका छन् । वैशाख–१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

यसअघि यहाँको खोटेहाङ गाउँपालिकाले यही वैशाख–१० गतेसम्म भर्ना अभियान सञ्चालन गरेर वैशाख–१३ गतेदेखि पठनपाठन सुरु गरिसकेको छ ।

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ ।

आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान

कैलाली। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

आज यहाँ मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गर्नुभयो । उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ः ०० बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिनुभयो ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो । गत चैत २९ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गर्नुभएको थियो ।

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर। कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न स्थानीयले आग्रह गरेका छन् ।

आज सीमा क्षेत्रको अनुमगनमा आएका तीनै तहका जनप्रतिनिधि सम्मिलित टोलीसँग स्थानीयले क्वारेन्टाइन स्थपना, सीमाबाट भित्रिने लागुऔषध नियन्त्रणलगायत समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

अनुगमन टोलीमा सहभागी प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, प्रदेशसभा सदस्यद्वय लक्ष्मणकिशोर चौधरी, ललिता सुनार र टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीसँग स्थानीयले आफ्ना समस्याबारे गम्भीर भइदिन आग्रह गरेका थिए ।

टीकापुर— ८ बटनपुरका उमेश साउदले खाद्य क्वारेन्टाइन नभएकाले सीमा नजिक भएका नागरिकले भारतबाट भन्सार तिरेर आलु, प्याजलगायत खाद्यान्न ल्याउन नपाएको गुनासो गर्नुभयो । “क्वारेन्टाइन भए यहीबाट परीक्षण गरेर आवश्यक खाद्यान्न ल्याउन सकिन्थ्यो, हाल स्थानीय नागरिक र व्यापारीलाई यो बाटोबाट सामान ल्याउन कठिन छ”, उहाँले भन्नुभयो,“सत्ती भन्सारमा आवश्यक पूर्वाधार विकास गरेर समस्या समाधानका लागि आग्रह गरेका छौँ ।”

स्थानीय व्यापारी टङ्कप्रसाद ढुङ्गानाले तीनै तहका जनप्रतिनिधि सहभागी भएको उक्त टोलीलाई सीमा समस्या र सत्ती भन्सार कार्यालयको विकासका लागि आवश्यक सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ, टीकापुरका सचिव प्रकाश शाहले तीनै तहका सरकारले भन्सार विकासका लागि ध्यान दिनुपर्ने बताउनुभयो । “टीकापुरका व्यापारीले खाद्य तथा पशुसम्बन्धी सामान ल्याउँदा गुणस्तर जाँच्न धनगढीको बाटो भएर ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, ‘‘रु एक सयभन्दा माथिको भन्सार लाग्ने निर्णय जसरी कार्यान्वयन गर्नुभएको छ, त्यसैगरी अन्य विषयमा पनि कडाइ गरेमा यसले दीर्घकालीन रूपमा नेपाली व्यापारी र उपभोक्ता दुवैलाई फाइदा गर्छ ।’’

नगरपालिका— ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले मोहना नदीको पुल पारी दशजगा क्षेत्रमा नेपालीको केही जमिन परेकाले त्यहाँसम्म पुग्ने बाटो निर्माणका लागि आग्रह गर्नुभयो । उहाँले सशस्त्र द्वन्द्वका क्रममा सत्तीबाट विस्थापित भएको पशु क्वारेन्टाइन पुनःस्थापना हुन नसकेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सत्ती भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीले यहाँ पशु, खाद्य तथा प्लान्ट क्वारेन्टाइन भएमा राजश्व सङ्लनमा समेत वृद्धि हुने बताउनुभयो । “आवश्यक क्वारेन्टाइन नभएकाले यो बाटोबाट धेरै सामान आउँदैन, जसले राजस्वमा असर परिरहेको छ”, उहाँले भन्नुभयो ।

त्यसक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगार्जीले भन्सारलाई व्यवस्थित बनाउन आवश्यक कार्यालय र पूर्वाधार निर्माणमा सघाउन अनुरोध गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले मूल भन्सार भए पनि सोअनुसार विकास हुन नसकेकाले सङ्घीय सरकारको समन्वयमा तीनै तहका सरकारले आवश्यक काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य ज्ञवालीले स्थानीयका माग लिएर संसद्मा आवाज उठाउने, क्वारेन्टाइन स्थापनाका लागि बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “सत्ती भन्सारको विकास, सीमा क्षेत्रका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्नेछु । सबै मिलेर यहाँका समस्या समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश डाँगी र सीमास्थित ‘विओपी’ कार्यालयका सशस्त्र प्रहरी प्रमुख देवराज विष्टले आफूहरूले सीमा क्षेत्रमा हुने अवाञ्छीत गतिविधि नियन्त्रणमा ध्यान दिइरहेको बताउनुभएको थियो ।

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राजदूत झाङ माओमिङले नेपालमा नयाँ सरकार गठन भएकामा बधाई दिँदै दुई छिमेकी राष्ट्रबीच विद्यमान मित्रतालाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउन विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तनपछि स्थायी र बलियो सरकार बनेकाले आर्थिक तथा सामाजिक विकासका लागि अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै त्यस किसिमको रुपान्तरणमा चीन सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

राजदूत झाङले चीनले प्रविधिमा आधारित गुणस्तरीय उत्पादनमुखी नीति अवलम्बन गरिरहेको जानकारी दिँदै कृत्रिम बौद्धिकता तथा नवीनतम् सूचना प्रविधिका क्षेत्रमा प्राथमिकता दिइएको बताउनुभयो । नेपालले पनि यस्ता उन्नत प्रविधिका क्षेत्रमा चीनसँग सहकार्य गर्न सक्ने सम्भावनाबारे उहाँले अवगत गराउनुभयो । साथै, चिनियाँ लगानीमा नेपालमा सञ्चालन भइरहेका विभिन्न कम्पनीका लागि सहज र अनुकूल वातावरण बन्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले नेपालले चीनसँगको निरन्तर सहकार्य, पारस्परिक हित र विकास साझेदारीलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले कनेक्टिभिटी पूर्वाधार निर्माण, डिजिटल पूर्वाधार विस्तार तथा सूचना प्रविधिमा आधारित क्षेत्रमा दुवै देशबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

मन्त्री तिमिल्सिनाले नेपाल सरकारले प्रविधिमा आधारित सुशासनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै सूचना प्रविधि, साइबर सुरक्षा, दूरसञ्चार तथा डिजिटल सेवा विस्तारका क्षेत्रमा थप काम गर्ने बताउनुभयो । पछिल्लो समय राज्य संयन्त्रलाई डिजिटल माध्यमबाट प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने नीति सरकारको प्राथमिकतामा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

चिनियाँ लगानीका कम्पनीहरूले नेपालमा काम गर्ने क्रममा केही समस्या भोग्नुपरेको भए त्यसको समाधानका लागि सरकार सदैव तयार रहेको स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई दुवै देशको आपसी हितका लागि अझ प्रगाढ बनाउन पहल आवश्यक रहेको बताउनुभयो ।

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ ।गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी राखेको थियो । सोमबार बाँकी रहेको उक्त पक्की घरहरु डोजरको प्रयोगगरी भत्काइएको हो ।

शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो ।

नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

बाँके । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन ।

गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

उनका अनुसार, केही वर्षअघिसम्म करिब ३० हेक्टर क्षेत्रफलमा गरिँदै आएको चैते धानखेती अहिले घटेर १८ हेक्टर क्षेत्रफलमा पुगेको छ । बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा किसानले चैते धानखेती गर्दै आएका छन् ।

सङ्घीय सरकारले चैते धान प्रवर्द्धनका लागि स्थानीय तहमार्फत किसानलाई सहयोग गर्दै आएको छ । सङ्घीय सरकारको चैते धान प्रवर्द्धन योजनाअनुसार अहिले बाँकेको जानकी र खजुरा गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको सूचना अधिकारी पाठकले जानकारी दिए ।

बर्खे धानको तुलनामा चैते धानको उत्पादकत्व क्षमता बढी रहेको छ । बर्खेधान प्रतिहेक्टर ४.४ टन उत्पादन हुँदा चैते धानको उत्पादकत्व क्षमता ४.६५ रहेको छ । चैते धान भित्र्याउने बेलामा पानी परेर स्याहार्न समस्या हुने भएकाले किसानको आकर्षण घट्दो रहेको खजुरा गाउँपालिका–१ राधापुरका किसान मगनसिंह थापाले बताए ।

उनले सिँचाइ, बीउ, प्राविधिक सहयोग र धान स्याहार्ने बेला पानीबाट बचाउन धान सुक्खा बनाउने ड्राइ मेसिन, त्रिपालजस्ता वस्तुमा अनुदान दिनसके चैते धानतर्फ किसान प्रोत्साहित हुन सक्ने उल्लेख गरे ।

सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि तीनवर्षे खेती गर्न किसानलाई सहज हुँदै आएको छ । आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ । सिक्टा सिँचाइको पानी नपुगेको क्षेत्रमा कृषि ज्ञान केन्द्रले सिँचाइका लागि ५० प्रतिशत अनुदानमा सहकारी र कृषक समूहलाई ‘बोरिङ’ वितरण गरेको पाठकले बताए ।

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए ।

महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अप्ठ्यारो भएको हो । महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो ।

विसं २०८१ साउनमा चितवनको एक अस्पतालमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भयो । भरतपुर महानगरपालिका–२६ की ३२ वर्षीया नवीना महतोको अत्यधिक रक्तस्राव नरोकिएपछि अकालमा निधन भएको थियो । तत्कालीन समयमा गर्भपतन सेवा दिएको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी नै सूचीकृत तथा तालिम प्राप्तसमेत थिएनन् । ‘मेडिकल हव’मा विकसित हुँदै गरेको चितवनमा पछिल्लो समय पनि असूचीकृत स्वास्थ्य संस्था तथा तालिम अप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिने क्रम घटेको छैन ।

पर्साको बहुदरमाई नगरपालिका–६ स्थित भौवटारकी लालसा साह कानुको विसं २०८२ को जेठ अन्तिम साता अत्यधिक रक्तस्रावपछि निधन भयो । २४ वर्षीया कानुको गर्भपतनका लागि असूचीकृत औषधि पसलबाट औषधि किनेर स्वास्थ्यकर्मीको सल्लाहविना आफूखुसी खाएपछि स्वास्थ्य जटिलता देखिएको थियो ।

जटिल अवस्थामा स्वास्थ्य संस्थामा पुगेपछि उपचारका क्रममा उनको निधन भएको थियो । पर्सामा गर्भपतनका औषधि अनधिकृत पसलबाट अनधिकृत बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रणमा चुनौती छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि जटिलता थपिएको हो । ‘गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ’ र ‘गर्भपतनका लागि अनधिकृत औषधि स्वास्थ्यकर्मीका सल्लाहविना सेवन गरिनु हुँदैन’ भन्ने चेतनाको अभाव छ ।

सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्य संस्थामा गएकी पाल्पाको बगनास गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डे सदाका लागि असुरक्षित भइन् । तीन स्वास्थ्य संस्था धाउँदा धाउँदै यही वैशाख ६ गते उनको अकालमा मृत्यु भयो । बुटवल उपमहानगरपालिकास्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकको ‘हेलचेक्र्याइँ’ नै उनको निधनको प्रमुख कारक बन्यो ।

नेपाल मेडिकल काउन्सिलले हालैको बुटवल घटनाबारे सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले औँल्याउँछ, “आर्थिक लाभका लागि विना रेकर्ड गर्भपतन गराउने कार्य बढिरहेको र यसकै कारण महिलाहरू जोखिममा परी मृत्युदर समेत बढेकाले सो कार्यलाई रोक्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याउनुपर्छ ।”

बुटवल उपमहानगरपालिकास्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक गर्भपतन सेवाका लागि सूचीकृत छैनन् । साथै गीताको उपचारमा संलग्न भनिएका स्वास्थ्यकर्मीसमेत गर्भपतन सेवाका लागि तालिम अप्राप्त व्यक्ति हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं निवर्तमान प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार गर्भपतन सेवाका लागि सेवाप्रदायक स्वास्थ्य संस्था अनिवार्य सूचीकृत हुनैपर्छ र स्वास्थ्यकर्मीले आवश्यक तालिम लिएकै हुनुपर्छ ।

स्वास्थ्यकर्मीले गर्भपतन गराउन गीतालाई दिएको औषधि कुन थियो, यो औषधिको बिक्रीका लागि औषधि व्यवस्था विभागमा दर्ता गरिएको थियो कि थिएन नेपाल मेडिकल काउन्सिलद्वारा गठित छानबिन समितिले अध्ययन गरिरहेको छ । काउन्सिलका सदस्य डा सम्राट पराजुली नेतृत्वको छानबिन समितिले अन्तिम प्रतिवेदन नआएसम्म बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक ‘सिल’ गर्न सिफारिस गरेको छ ।

मेडिकल काउन्सिलका रजिस्ट्रार डा शतिशकुमार देवले बुटवल घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरिएको, यसका केही सुझाव कार्यान्वयनमा समेत आइसकेको र अन्तिम प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने जानकारी दिए ।

प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, “पूर्वाधारको अभाव जटिलता उत्पन्न हुँदा आवश्यक पर्ने जीवनरक्षा प्रणाली उपकरणहरू क्लिनिकमा पर्याप्त हुनुपर्ने र सोका आधारमा मात्रै सञ्चालन अनुमति दिनुपर्ने, सम्बन्धित निकायबाट अनुगमन तथा निरीक्षण गरी तोकिएको मापदण्ड पूरा नभएका स्वास्थ्य संस्थाहरू तत्काल बन्द गर्नुपर्ने, स्वास्थ्य सेवा प्रदायकले चिकित्सकको ‘प्रेस्कृप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाइने बिक्री वितरण गरेका सम्पूर्ण औषधिको अभिलेख राख्नुपर्ने, दर्तावाला चिकित्सकले सेवा प्रदान गर्दा आवश्यक पूर्वाधार पूरा गरेका स्वास्थ्य संस्थाहरूबाट मात्रै सेवा प्रदान गर्ने र आफूले प्रदान गरेको सेवाको सम्पूर्ण विवरण ‘डिजिटल’ रूपमा अभिलेख राख्नुपर्ने, प्रत्येक स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने विषयमा सर्वसाधारणले प्रस्ट देखिने गरी मूल्यसूची सहितको नागरिक बडापत्र अनिवार्य रूपमा राखिनुपर्ने ।”

साथै निजी क्लिनिक र अस्पतालहरूको सूचीकरण र गुणस्तरको तत्काल अनुगमन गरी मापदण्ड नपुगेका संस्था बन्द गर्न र सुरक्षित गर्भपतन सरकारी तथा सूचीकृत अस्पताल, स्वास्थ्य संस्थामा मात्र गराउन सर्वसाधारणमा सूचना प्रवाह गर्न प्रारम्भिक सुझाव समितिले दिएको छ ।

प्रभावकारी बन्न सकेनन् कानुन, पुगेन अनुगमन

सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्ट रूपमा मुख्यतः महिलाको प्रजनन स्वास्थ्य र अधिकारका रूपमा व्याख्या गरे पनि सो सेवामा लक्षित वर्गको सहज पहुँच, गुणस्तरीय सेवा र यसको स्वीकार्यतालाई देशभर विस्तार गर्न सकिएको छैन । असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्युदर घटाउन पनि सकिएको छैन । सरकारले सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गरिरहे पनि अनुगमन पक्ष अत्यन्त फितलो हुँदा अकालमा आमाहरूको मृत्यु रोकिएको छैन ।

सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ ले सुरक्षित गर्भपतन सेवा सञ्चालनको अनुमति दिने अधिकार स्थानीय पालिकालाई दिएको छ । तर अझै पनि अधिकांश स्थानीय पालिकाले यो अधिकारलाई जनशक्तिको अभाव देखाउँदै प्रयोग गर्न पन्छिँदै आएका छन् । सुरक्षित गर्भपतन कुनै अपराध होइन, प्रत्येक गर्भवती तथा किशोरीको अधिकार हो भन्ने मान्यतालाई स्थापित गर्न सकिएको छैन ।

महिला विकास तथा कानुन मञ्च आबद्ध अधिवक्ता सविन श्रेष्ठले सुरक्षित गर्भपतनसम्बन्धी ऐन नियमावली कार्यान्वयन तथा अनुगमन पक्ष फितलो भएका कारण समस्या भएको जानकारी दिए । उनले भने, “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५, नियमावली संशोधन जरुरी छ । प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन ल्याउने मुलुकहरूमा नेपालसहित फिलिपिन्स, युगान्डालगायत मुलुक मात्रै छन् ।”

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर एक लाख पाँच हजार बढी महिलाले गर्भपतन सेवा लिएका थिए । तीमध्ये २० वर्ष माथिका औषधि दिइने सेवा (एमए) ६९ हजार ६९०, औजारद्वारा दिइने सेवा (एमभिए) २६ हजार २८८, औषधि दिइने सेवा (एमआई) एक हजार ६० र औजारद्वारा दिइने सेवा (डिएन्डई) ५५९ र २० वर्ष मुनिका ६ हजार ९०१ रहेका थिए ।

महाशाखाले गरेको अध्ययनअनुसार नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन् । अर्थात् ४८ प्रतिशत मात्र सुरक्षित गर्भपतन हुने गर्दछ । सन् २०२१ को अध्ययन भन्छ, “सन् २०२१ मा गर्भपतन सेवा लिएका तीन लाख ३३ हजार ८५३, स्वास्थ्य संस्थामा गरिएको गर्भपतन एक लाख ७६ हजार २१६, स्वास्थ्य संस्था बाहिर एक लाख ४० हजार ४६० र अन्य हानिकारक अभ्यासद्वारा १६ हजार ६६७ ।”

सोही अध्ययनमा नेपालमा एक वर्षमा आठ लाख ६२ हजार १९९ गर्भधारण हुनेमध्ये करिब ५३ प्रतिशत गर्भ अनिच्छित रहने गरेको छ । साथै दुई तिहाइ अनिच्छित गर्भपतन हुने गरेको छ ।

कुल गर्भपतनको ५२ प्रतिशत असुरक्षित हुने गरेको छ । औसतमा नेपालमा प्रत्येक दिन दुई जना आमाले अकालमा ज्यान गुमाउँदा करिब पाँच प्रतिशत मातृ मृत्युमध्ये गर्भपतनका जटिलताका कारण हुने गरेको छ ।

सुरक्षित गर्भपतनका सेवाका बारेमा अनुगमनको समन्वय गर्ने काम सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालय÷स्वास्थ्य कार्यालयलाई रहेको छ । तर हालसम्म यस्तो अनुगमन न्यून मात्र हुने गर्दछ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ को भाग ४ को दफा १५ ले गर्भवतीको अवस्थाअनुसार १२ देखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ पनि पतन गराउन पाइने व्यवस्था उक्त ऐनले गरेको छ । यसबाहेक जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेमा पनि महिलाको मञ्जुरीमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था सो ऐनमा छ ।

सरकारी स्वास्थ्य संस्थाः निःशुल्क सेवा छ, सेवाग्राही छैनन्

हाल ७७ जिल्ला अस्पताल र सीमित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा उपलब्ध छ । विसं २०७३ देखि नै निःशुल्क रहेको यो सेवाका बारेमा सेवाग्राहीलाई जानकारी नै छैन । नेपालमा बर्सेनि कति महिलालाई सुरक्षित गर्भपतनको सेवा आवश्यक पर्छ र कति सेवाग्राहीले औषधि पसलका औषधिबाट गर्भपतन गराउँछन् भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग छैन ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा बुढाथोकी भन्छन्, “सेवाग्राहीले गर्भपतन सेवाका लागि क्लिनिक सूचीकृत छ कि छैन बुझेर मात्र सेवा लिनुपर्छ । आफूखुसी अनधिकृत औषधि पसलबाट अनधिकृत औषधि सेवन गर्नु हुँदैन । औषधि व्यवस्था विभागको सीमित स्रोत साधनका कारण औषधि पसल अनुगमन गर्न नभ्याइएको हो । सुरक्षित गर्भपतन सेवाअन्तर्गत क्लिनिक र औषधि सेवनमार्फत दुवै सेवा प्रदान गर्न सरकार सक्षम छ । सेवा छ, सेवाग्राही छैनन् ।”

सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने जनाउँदै सेवाग्राही यस्ता सेवाका लागि निजी तथा औषधि पसलमा निर्भर हुने गर्दछन् ।

गत असोजसम्म सुरक्षित गर्भपतन सेवाका लागि दुई हजार ८२७ भन्दा बढी स्वास्थ्य संस्था सूचीकृत भएका छन् भने सात हजारभन्दा बढी स्वास्थ्यकर्मीले तालिम प्राप्त गरी सो सेवा प्रदान गरिरहेका छन् ।

‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) नेपालमा बढी प्रयोगमा छ । यो १० हप्ताभित्रको गर्भका लागि सुरक्षित मानिन्छ । तालिम तथा अनुमति प्राप्त नर्सले सुरक्षित गर्भपतनका लागि घरमा पुगेर सो सेवा दिन सुरुआत गरेका छन् । ग्रामीण क्षेत्रमा यो सेवा अति प्रभावकारी रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

यसैगरी, १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ ।

औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको छ । सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति छ । सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन भन्ने कुरालाई समुदायमा बुझाउन जरुरी छ ।

वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का एक अध्ययनअनुसार नेपालमा वार्षिक रूपमा तीन लाख २३ हजार गर्भपतन हुन्छ । तीमध्ये ४२ प्रतिशत सूचीकृत र ५८ प्रतिशत असूचीकृत संस्थामार्फत हुन्छ ।

हाल आधुनिक परिवार नियोजन सेवाको प्रयोग दर ४२.८ प्रतिशत छ । अझै पनि प्रजनन उमेरका २३.७ प्रतिशत महिलाले परिवार नियोजन सेवा प्रयोग गर्न चाहेर पनि सेवा प्राप्त गर्न सकेका छैनन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६३, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु २५, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ३५, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ५५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १५०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकिलो रु ७०, कोइरालो प्रतिकिलो रु ३००, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३८०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४७०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु १६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।