`

चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रू पाँच अर्ब ५५ करोड रहेको छ । त्यस्तै, पछिल्लो तीन महिनामा रू एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ । असोज मसान्तसम्ममा शोधनान्तर स्थिति रू दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ ।

गत असार मसान्तमा रू २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो तीन महिनामा ११ दशमलव तीन प्रतिशतले वृद्धि भई असोज मसान्तमा रू २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रू २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत असोज मसान्तमा १० दशमलव पाँच पाँच प्रतिशतले वृद्धि भई रू २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

त्यस्तै राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १८ दशमलव सात प्रतिशतले वृद्धि भई रू तीन खर्ब १२ अर्ब १० करोड कायम भएको छ ।

गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव नौ महिनाको वस्तु आयात र १६ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैैंकले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन

काठमाडौँ, ३० कात्तिकः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचारण पालना गर्न निर्देश गरेको छ । मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले आज सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचारण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिनुभएको हो ।

उहाँले मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको गुनासो आएकाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा भएका आचारणसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरिएको बताउनुभयो ।

समय पालना र नियमितता, अनुशासन, राजनीतिक प्रभाव पार्न नहुने, राजनीतिमा भाग लिन नहुने, सरकारको आलोचना गर्न नहुनेलगायतका आचारण पालन गर्न भनिएको हो ।

यस्तै, सेवा ऐनमा कम्पनीको स्थापना र सञ्चालन, व्यापार–व्यवसाय तथा निजी रूपमा अभ्यास गर्न नहुने, राजनीतिक पदका लागि निर्वाचनमा भाग लिन नपाइने, हडताल र प्रदर्शनी गर्न नपाइनेलगायत आचारण पालना गर्नसमेत भनिएको छ । मन्त्रालयले कुनै पनि राष्ट्रसेवक कर्मचारीले कानुनले निर्धारण गरेको अनुशासन र पेसागत आचारण पालना गर्दै आफ्नो जिम्मेवारी निष्ठताका साथ सम्पादन गर्न पनि आग्रह गरेको छ ।

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौँ, ३० कात्तिक : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उहाँले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताउनुभयो । अर्थमन्त्री खनालका अनुसार घरजग्गा कारोबारमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेशमार्फत कानुनमा आवश्यक परिवर्तन गर्न सक्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । “घरजग्गा कारोबार सहज बनाउनका लागि अध्यादेशमार्फत केही व्यवस्था गर्ने वा सरकारले कार्यकारिणी अधिकार प्रयोग गरेर पनि सुधारका काम गर्न सक्छ”, उहाँले भन्नुभयो ।

मन्त्री खनालले निजी क्षेत्रका सबै माग पूरा गर्न सरकारले नसक्ने स्पष्ट पार्दै आपसी समन्वय र सहकार्य भने अत्यावश्यक रहेको बताउनुभयो । “निजी क्षेत्रका सबै माग तत्काल पूरा गर्न नसकिएला, जबरजस्ती लागू गर्न खोजेर पनि हुँदैन, कार्यान्वयनमै गाह्रो हुन्छ । व्यावसायिक वातावरण बनाउने र उत्पादन रोजगारी बढाउने सवालमा भने निजी क्षेत्र र सरकार सँगसँगै जानुपर्छ । रोजगार सिर्जना, देशभित्रै व्यवसाय बिस्तार र लगानी आकर्षण सरकारको अत्यन्तै प्राथमिकतामा छ”, उहाँको भनाइ थियो ।

गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनले ५५ जिल्लाका ५१४ स्थानीय तहमा ठूलो क्षति पु¥याएको मन्त्री खनालले जानकारी दिनुभयो । निजी क्षेत्रमा मात्र करिब रु ३६ अर्ब बराबरको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ । निजी र सार्वजनिक दुवै क्षेत्र मिलाएर रु ७८ अर्ब ५१ करोड बराबर क्षति पुगेको खनालले उल्लेख गर्नुभयो । त्यसमध्ये निजी क्षेत्रको रु २३ अर्ब बराबरको बिमा दाबी प्रस्तुत भइसकेको र ४०० भन्दा बढी क्षति दाबीहरू भुक्तानी प्रक्रियामा रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री खनालले आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच विश्वास पुनःस्थापना महत्त्वपूर्ण रहेकोसमेत बताउनुभयो । “रोजगारी बढाउने, उत्पादन बिस्तार गर्ने भूमिका सरकारको भन्दा निजी क्षेत्रको ठूलो छ । सरकार सहजीकरण र नियमनको भूमिकामा रहन्छ”, उहाँले भन्नुभयो ।

देशमा विश्वासको वातावरण निर्माण नहुँदासम्म आर्थिक गतिविधि तीव्रताका साथ अघि बढ्न नसक्ने उल्लेख गर्दै अर्थमन्त्री खनालले कारोबार खर्च घटाउन भन्सार प्रणालीमा सुधार थालिएको जानकारी दिनुभयो । उहाँले भन्सार जाँचपास कारोबार रकमको आधारमा गर्ने र मूल्याङ्कनमा प्रयोग हुँदै आएको सन्दर्भ मूल्य पुस्तिका खारेज गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैगरी उहाँले अवैध कारोबार, कालोबजारी, अत्यधिक मूल्यवृद्धि, एकाधिकार जस्ता गैरकानुनी क्रियाकलापमा संलग्न जो कोहीमाथि कडाइका साथ कारबाही हुने चेतावनी दिनुभयो । व्यवसायको लेखापरीक्षण जोखिम विश्लेषण र चुनौतीका आधारमा मात्र गर्ने व्यवस्था आवश्यक रहेको खनालको भनाइ थियो ।

करदाता सेवा कार्यालयको सङ्ख्या बढाउने विषय सरकारको प्राथमिकता रहेको र मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर लागू गर्ने विषयमा भने सरकारले तत्काल प्रक्रिया अघि बढाउन नसक्ने उहाँको भनाइ छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच चालू पुँजी मार्गदर्शन कार्यान्वयनलगायत विषयमा निरन्तर छलफल भइरहेको अर्थमन्त्री खनालले बताउनुभयो । सरकारले मौद्रिक नीतिमार्फत पनि व्यवसाय र आर्थिक गतिविधिलाई सहज बनाउने गरी नीतिगत सहयोग गर्दै जाने उहाँले स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उद्योगी व्यवसायीको मनोबल उकास्न र व्यवसायमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति पहिलो आवश्यकता रहेको बताउनुभयो । अनलाईनमार्फत कर भुक्तानी, भन्सार जाँचपासमा सहजतालगायतका विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । यस्तै, भन्सार दरलाई समायोजन गरी अधिकतम २५ प्रतिशत कायम गरिनुपर्ने र भ्यादमा बहुदर कायम गर्नुपर्ने चेम्बरको माग छ ।

आयकर ऐनलाई पुनर्लेखन गर्नुपर्ने, घर बहाल करमा तीन तहका सरकारबीच देखिएको अस्पष्टता हटाउनुपर्ने, नक्कली र झुट्टा बिलबिजक जारी गर्ने व्यापारीलाई कारबाही गर्नुपर्ने, ‘एसेट म्यानेजमेन्ट कम्पनी’ खोल्ने प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने, कर फर्छ्यौट आयोग गठन गरिनुपर्नेलगायतका माग चेम्बरले अर्थमन्त्री खनालसमक्ष राखेको छ ।

कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्व अनुसन्धान विभाग खारेज गरिनुपर्ने, उपभोक्ताको क्रयशक्ति बढाउने, निजी क्षेत्रको व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने, सीमा नाकाबाट हुने चोरी पैठारी र तस्करी रोकिनुपर्नेलगायत विषय उठाउनुभयो ।

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

काठमाडौँ, ३० कात्तिक : राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

“जेनजी प्रदर्शनका क्रममा हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार फिर्ता नहुँदा शान्तिसुरक्षामा चुनौती थपिएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचना निर्माण गर्न र हिरासतमा रहेका थुनुवाका लागि अत्यावश्यक सामग्रीका लागि बजेट अभाव रहेको जानकारी प्राप्त भएको छ । हिरासतमा विद्यमान यी समग्र समस्याको समाधानमा गम्भीर हुन आयोग सरकारलाई आग्रह गर्दछ ।”

आयोगको टोललिे प्रदर्शनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्था सम्बन्धमा यही कात्तिक २७ र २८ गते अनुगमन गरेको जनाएको छ । त्यस क्रममा काठमाडौँका सोह्रखुट्टे, स्वयम्भू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटीस्थित प्रहरी वृत्त, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्येपुर र ठिमीस्थित प्रहरी वृत्तका हिरासतमा रहेका थुनुवाको मानव अधिकार अवस्था र हिरासतको भौतिक संरचनाको अवस्थालगायत विषयमा स्थलगत अनुगमन गरिएको थियो । आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयमार्फत पनि उपत्यका बाहिर रहेका हिरासत कक्षको अनुगमन सुरु गरिएको पनि जनाइएको छ ।

आयोगले प्रदर्शनका क्रममा आपराधिक क्रियाकलाप गरेको प्रमाणका आधारमा केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी भनाइ पाइएको जनाएको छ । “जेनजी प्रदर्शनका क्रममा प्रहरीका अधिकांश भौतिक संरचना क्षति भएको र हाल स्थानीय समुदायको सहयोगमा कतिपय संरचना निर्माण भई सञ्चालनमा आएको, हिरासतबाट बाहिर निस्केका केही थुनुवा अझै पनि फिर्ता नआएको देखिएको छ”, आयोगले भनेको छ, “प्रहरीसमेत घाइते भएका र उनीहरूको मनोबल कमजोर बनेको, कतिपय प्रहरी कार्यालयमा रहेका फाइल जलेर नष्ट भएको र हतियार लुटिएको लगायतका जानकारी अनुगमनका क्रममा प्राप्त भएको छ ।”

आयोगले ‘जेनजी’ प्रदर्शनपश्चात प्रहरी हिरासतमा मानवअधिकारको अवस्थाबारे आयोगमा गुनासा, उजुरी र ज्ञापनपत्र प्राप्त भएका, आन्दोलनपश्चात पक्राउ गरिएका प्रदर्शनकारीको स्वास्थ्य परीक्षण गरिएको पाइएको, हिरासतमा रहेका शौचालय तथा सरसफाइको अभावका कारण दुर्गन्ध आएको पाइएको जनाएको छ ।

केहीले आफूलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिएको आयोगको टोलीसमक्ष गुनासो गरेका र केहीले हिरासतमा महिला कक्षका साथै भौतिक संरचनाको अभाव रहेकालगायत जानकारी अनुगमनबाट प्राप्त भएको जनाइएको छ ।

दृष्टिविहीन महिला क्रिकेट: अमेरिकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ३० कात्तिक : भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो । यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो ।

अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य पच्छाएको नेपाल चार बलमा कुनै पनि विकेट नगुमाइ पूरा ग¥यो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबैै विकेट गुमाउँदै १७ रनमै समेटियो ।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक÷एक विकेट लिए ।

दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ’कुमारी’को छायाङ्कन सम्पन्न

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली चलचित्र ’कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ।गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट–प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए।

यसअघि छायाङ्कनको बीचमै नै चलचित्र ’कुमारी’ चर्चामा रह्यो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ’कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो। हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंहले पनि दर्शकको अत्यधिक मागसँगै सो गीत गाइरहेका छन्। गायक लिम्बु र उनको ब्यान्ड ’केहर एन्ड द लुङा’ले गाएको लाइभ भर्सन अहिले टिकटक र युट्युबमा अत्यधिक लोकप्रिय छ।

’जेन–जी’ पुस्ताका प्रयोगकर्ताले टिकटकमा सर्वाधिक प्रयोग गरिरहेको गीतको स्टुडियो भर्सन भने चलचित्र रिलिजसँगै मात्रै सार्वजनिक गरिनेछ।यस चलचित्रबाट अबिषेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार चलचित्रमा देखिनेछन्।

चलचित्रको छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ।

’कुमारी’मा चार गीत रहेका छन्। सबै गीतमा स्वर गायक लिम्बुले नै दिएका छन्। सङ्गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त योगदान रहेको छ। शब्द लेखकमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्ले छन्।निर्माण टिमका अनुसार, ’कुमारी’ यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ। छायाङ्कन सकिएको घोषणा सँगसँगै, निर्माण पक्षले अब पोस्ट–प्रोडक्सनमा पूर्ण फोकस गर्ने बताएको छ।

सडक दुर्घटनामा परी पोर्चुगलमा ज्यान गुमाएका नागेन्द्रको शव नेपाल पठाउन आर्थिक सहयोग सङ्कलन

लिस्बन (पोर्चुगल)- सडक दुर्घटनामा परी ज्यान गुमाएका सुनसरीको इटहरी उपमहानगरपालिका–५ पिपलचोकका ४१ वर्षीय नागेन्द्र चौधरीको शव नेपाल पठाउन आर्थिक सहयोग सङ्कलन थालिएको छ । उनको घरपरिवारको आर्थिक स्थिति अत्यन्त कमजोर भएकाले शव पठाउन आर्थिक सहयोग सङ्कलन सुरु गरिएको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा विगत साढे दुई वर्षदेखि पोर्चुगल बस्दै आएका चौधरीको गत आइतबार सडक दुर्घटनामा परी ज्यान गएको हो । बजारबाट सामान किनमेल गरी इलेक्ट्रिक साइकलमा बासस्थान फर्कँदै गरेका उनलाई तीव्रगतिमा आएको कारले पछाडिबाट ठक्कर दिँदा चौधरीको घटनास्थलमै ज्यान गएको उनका साथी राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार चौधरीसहित तीन नेपाली नागरिक साइकलमा बजार गएका थिए । चौधरीको दुर्घटनामा परी ज्यान गएको घटनाबारे उनको घरपरिवारलाई जानकारी गराइएको छ । चौधरीको शव नेपाल पठाइदिन परिवारजनले आग्रह गरेको श्रेष्ठले बताउनुभयो । घरपरिवारको आर्थिक स्थिति अत्यन्त कमजोर भएको र शव पठाउने कार्य खर्चिलो भएकाले पोर्चुगलमा रहेका नेपाली समुदायले आर्थिक सहयोग सङ्कलन सुरु गरेका उहाँले बताउनुभयो । भिसेउको साटाओ ट्राभेन्सेलास्थित एक कृषि कम्पनीमा कार्यरत चौधरी यसअघि नेपाली सेनामा कार्यरत थिए ।

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

म्याग्दी, ३० कात्तिक : यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।”

यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।

रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाइँसराइ गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताउनुभयो ।

कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको व्यवसायी खड्काले बताउनुभयो । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रतिदर्जन (१२ वटा) कोदोको बिस्कुट रु ६० का दरले बिक्री हुने गरेको छ ।

पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताउनुभयो ।

कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण र प्रवर्द्धन कार्यक्रममार्फत कोदोलगायत खाद्य, दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको छ । कार्यक्रममार्फत उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । समुद्री सतहदेखि तीन हजार १०० मिटर उचाइको भूगोलसम्म कोदोखेती गर्न सकिन्छ ।

क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि उत्तम खानाका रूपमा लिइन्छ । गर्भवतीहरूका लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाका रोगीका लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनिल भण्डारीले बताउनुभयो । खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो ।निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।

आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।

घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

फुङ्लिङ (ताप्लेजुङ), ३० कात्तिक : यहाँको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको छ महिनामै स्याउ फल्न थालेपछि स्थानीय आशावादी बनेका छन् । हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङमात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ ।

फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो । मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो । पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुईदुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ । पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको छ ।

घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पा अहिले आफ्नै स्याउ बगैँचा विस्तार गर्ने योजनामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले घुन्सामा र फलेमा रोपिएको स्याउ खायौँ । मीठो स्वादको स्याउ फल्यो । अब घुन्सा क्षेत्रमा स्याउखेती गर्ने योजनामा छौँ ।” घुन्सामा उत्पादन भएको स्याउ सफल परीक्षण भएसँगै थप आम्दानीको स्रोत बढ्ने भन्दै स्थानीयवासी उत्साहित भएको शेर्पाले बताउनुभयो ।

घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी (पोथी), १० गोल्डेन डेलिसियस (भाले) र १० काला (भाले) प्रजातिका स्याउका बिरुवा रहेको छ । बगैँचामा जैविक विविधता कायम गर्न घार मौरी र कुखुरापालन गरिएको छ, यसले स्याउका फूलमा परागसेचनमा सहयोग पुर्याउने र माटो उर्वर बनाउने काम गरेको छ ।

स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो । त्यसैगरी, फले र घुन्सामा उत्पादित स्याउको गुणस्तर परीक्षण पनि सफल भएको छ । स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोलीले स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सकारात्मक नतिजा प्राप्त भएको हो ।

पुतली सहयोग आयोजनाका कार्यक्रम संयोजक शेर्पाका अनुसार घुन्सामा उत्पादित स्याउ प्रजातिमध्ये फुजीमा १३ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनीको मात्रा पाइएको छ । यस्तै फलेमा उत्पादन भएका स्याउमध्ये फुजीमा १२ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स मापन गरिएको छ ।

घुन्सा र फले क्षेत्रमा अहिले विदेशी सहयोगमा स्याउ बगैँचा सञ्चालन भइरहेको । उहाँ उत्पादन भएको स्याउको गुणस्तर सफल परीक्षण भएसँगै किसानलाई स्याउ बगैँचा विस्तार गर्न सहयोग गर्ने पुतली सहयोग आयोजनाका जिल्ला कार्यक्रम संयोजक शेर्पाले बताउनुभयो । उहाँका अनुसार गत साता स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोली घुन्सा पुगेर केही स्याउखेती गर्न चाहने किसानका जग्गा नापजाँचसमेत गरिएको शेर्पाले बताउनुभयो ।

चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन

काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ,बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् ।

यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

त्यस्तै, धनुषाको धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत नगरेको पाइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले हालसम्म चालु आवको बजेट प्रस्तुत गरेको छैन ।

बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै

राँझा (बाँके), ३० कात्तिकः बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ ।हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी नेपालगञ्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै मार्गलाई प्राथमिकता दिन थालेका छन् ।

नेपालगञ्जबाट कोहलपुर हुँदै पूर्वपश्चिम राजमार्गमा अगैया पुग्ने भन्दा हुलाकी सडकको दूरी छोटो पर्ने भएकाले यात्रुले यो सडक प्रयोग गर्ने क्रम बढेको भेरी बस व्यवसायी सङ्घका नेपालगञ्जका अध्यक्ष जुनबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार कोहलपुरबाट अगैया पुग्न बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने भएकाले पनि हुलाकी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै गएको हो । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारिका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ ।

हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आवतजावत सहज भएको राप्तीसोनारी–५ बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले बताउनुभयो । यो सडक निर्माण भएपछि राप्तीसोनारी–१, २, ३, ४, ५ र ६ का बासिन्दालाई नेपालगञ्ज पुग्न सहज भएको उहाँको भनाइ छ । फत्तेपुर, बिनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि सहज भएको छ ।

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणसमेत भएको छ । सडक निर्माण भएपछि गाउँपालिका कार्यालय आवातजावत गर्न धेरै सहज भएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताउनुभयो । हुलाकी सडक बनेसँगै अहिले पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ ।

हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माण हुँदैछ । पुल निर्माणसँगै नदीले कटान तथा डुबान गरेको सडकलाई व्यवस्थित गरेपछि सवारी आवागमनमा थप सहज हुने भएको छ । साँघुरो पुल भएका कारण हाल सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल ११ मिटर चौडाइको भएकाले पुलमा सवारीसाधन सहजै वारपार गर्न सकिने छ ।

सिधनियाघाटमा पक्की पुल निर्माणकार्य धमाधम भइरहेको छ । पुल निर्माणमा ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो । हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने उहाँको भनाइ छ ।

कर्णालीबाट खेल्न मार्क वाट नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीमा अनुबन्ध भएका स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन् । शनिबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे लगायत प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

यसअघि शुक्रबार राति अफगानिस्तान पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका थिए । भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका हुन् । अब, अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्रै कर्णाली याक्सको क्लोज क्याम्पमा आवद्ध हुन बाँकी छन् ।
२९ वर्षीय वाटले पहिलो पटक एनपिएल खेल्न लागेका हुन् । उनले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन् । यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन् ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

 

पेट्रोल र डिजेलको मूल्य बढ्यो, लिटरको कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ ।शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको हो।निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो।

अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँ पुगेको छ।यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने निगमद्वारा जारी सूचनामा उल्लेख छ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३० कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह

काठमाडौँ, ३० कात्तिकः सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ

। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रष्टि गर्न पत्राचार गरिएको उल्लेख गरेको छ ।

मन्त्रालयले क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्नेसम्बन्धी आवश्यक जानकारी गराउन भनिएको छ । पुनः निर्माणलगायतका कामका लागि विवरण उपलब्ध गराउन भनिएको मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा पुनः निर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले पाँच सदस्यीय समिति गठन गरेको थियो ।

तथ्याङ्क सङ्कलनमा एकरुपता र सहजताका लागि समितिले अनलाइन पोर्टल तयार गरी सम्बन्धित स्थानीय तहले स्थानीय तह अन्तर्गतका कार्यालय, स्थानीय तह भित्रका विवरण गर्न भनिएको हो । क्षतिको तथ्याङ्क प्रविष्ट गर्न छुट भएको भए मन्त्रालयले तयार पारेको पोर्टलमा विवरण उपलब्ध गराउन र अपलोड गर्न अनुरोध गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर, ३० कात्तिक : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको छ । जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एक जना छन् ।

निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ ।

नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि–रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

जिल्लामा एक सय ३२ मतदातनस्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र छन् । मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताउनुभयो । “पुनरावलोकनका लागि समय अभाव छ, कृष्णपुर नगरपालिकाको वडा नं ५ र ८ मा रहेका दुईवटा मतदानस्थल भने सारिएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार वडा नं ५ को नगरपालिका भवनमा रहेको मतदानस्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्यचौकी भवनमा रहेको मतदानस्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको छ । “मतदानस्थल र केन्द्र सबैको पहुँचमा पुग्नेगरी राखिएको छ”, सूचना अधिकारी महराले भन्नुभयो, “सबै मतदानस्थल र केन्द्र अपाङ्ग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने छन् ।”

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ

भक्तपुर, २९ कात्तिकः बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका लागि एक हजार घर निर्माण भइरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा उहाँले बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र प्रदेशभरिका एक हजार गरिब तथा विपन्न नागरिकका लागि घर निर्माण गरी हस्तान्तरण गर्ने योजना अघि बढाएको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार गरिबमुखी, गाउँमुखी, सेवामुखी, विकासमुखी, आयमुखी र न्यायमुखी प्रदेश बनाउने लक्ष्यसहित अघि बढिरहेको बताउँदै घर निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । त्यस्ता परिवारलाई घरसँगै आयआर्जनका लागि किस्ताबन्दीमा रु दुई लाखसम्म सहयोग उपलब्ध गराउने पनि बताउनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “गरिब, विपन्न, असहायका लागि प्रदेश सरकारले एक हजार घर निर्माण गरेर हस्तान्तरण गर्नेछ । त्यसका लागि प्रक्रिया अगाडि बढाएको छ । ती परिवारलाई गरिखाने व्यवस्थापनका लागि दुई किस्तामा गरी रु दुई लाखसमेत प्रदान गर्ने तयारी छ । त्यो पैसाले बाख्रापालन वा अन्य कुनै व्यवसाय गर्नुपर्नेछ, पहिलो किस्तामा रु एक लाख र व्यवसाय सुरु गरेपछि अर्को किस्ता दिनेछौँ ।”

उहाँले सरकारले गरिब तथा विपन्न बालबालिकालाई निःशुल्क पढाउने व्यवस्थासमेत गर्ने भन्दै आर्थिक अवस्था कमजोर भएकै कारण पढाइबाट वञ्चित हुन नपर्ने गरी व्यवस्था गर्ने लागिएको ाजनकारी दिनुभयो । मुख्यमन्त्री बानियाँले फागुन २१ मा तोकिएको निर्वाचनमा दल र जनतामा उत्साह जगाउने जिम्मेवारी सङ्घीय सरकारको भएको बताउनुभयो ।

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल

काठमाडौँ, २९ कात्तिकः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताउनुभएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै वामपन्थी शक्ति एकै ठाउँमा उभिनुपर्ने बताउँदै त्यसका लागि ध्रुवीकरण हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य तबस्सुम परविन मिकरानीलाई पार्टीमा स्वागत गर्दै सहसंयोजक नेपालले मुलुकमा भएका सबै राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा देखापरेको सङ्कट समाधान गर्ने सामथ्र्य कम्युनिष्ट आदर्शमा हुने विचार व्यक्त गर्नुभयो । समान विचारधारा भएका दल तथा समूहसँग पनि एकताको गृहकार्य भइरहेको बताउँदै उहाँले शक्ति तथा सङ्गठन बिस्तारका लागि वैचारिक दृष्टिकोण तथा दीर्घकालीन कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन

जनकपुर, २९ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीति अवस्थामा शान्तिसुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।आज जनकपुरधाममा भएको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उहाँले राजनीतिको नाममा भइरहेको बदमासी र उग्र कार्यलाई रोक्न गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रदेशमा विभिन्न पक्षबाट भइरहेको आन्दोलन तथा सुरक्षा चुनौतीका विषयमा छलफल भएको मधेस प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु कवाडीले जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा आन्दोलनका क्रममा कर्मचारी तथा प्रहरीमाथि भएको हातपातलगायत विषयमा पनि छलफल भएको बताउनुभयो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशको शान्तिसुरक्षाका विविध पक्षमा छलफल भएको र सुरक्षा निकायलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने आश्वस्त पार्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिइएको बताउनुभयो । सुरक्षा अवस्था सुदृढ बनाउन प्रदेश सरकारको प्रमुखको हैसियतले प्रतिबद्ध रहेको बताउँदै उहाँले शान्तिसुरक्षाका लागि आवश्यक गर्ने भौतिक, आर्थिक तथा नैतिक समर्थन रहने विषयमा सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारिएको बताउनुभयो ।

बैठकमा मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रदेश प्रमुखका साथै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म हो – प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभएको छ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आज पोखरामा आयोजना गरेको श्री हेमदेवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उहाँले सडक आश्रित सहयोगापेक्षी मानवको हित गर्ने कार्य पनि निकै पुण्यको कर्म भएको बताउनुभयो ।

समितिका तर्पmबाट प्रदेश प्रमुख भट्ट, अध्यक्ष गणेशबहादुर श्रेष्ठले यस वर्ष मावन सेवा आश्रम नेपाललाई संस्थागत पुरस्कार गर्नुभएको । उहाँहरुले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । समितिका संस्थापक अध्यक्ष स्व हेमबहादुर प्रधानले स्थापना गरेको रु १५ लाखको अक्षयकोषबाट रु एक लाख एक हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।

प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्व सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई यस पुरस्कारबाट सम्मान गरिसकिएको साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फिर्ता हुनुभएको छ ।

मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया जानुभएको थियो । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।

फोरममा ‘डिजिटल’ र ‘एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज’ र ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई सत्र सञ्चालन भएका थिए ।

सञ्चारमन्त्री खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडरसिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको बताउनुभयो । नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको र राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको सन्दर्भमा थप ज्ञान, सीप र अनुभव हासिल गर्न फोरम सान्दर्भिक भएको उहाँले उल्लेख गर्नुभयो ।

समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको सहकार्य एवं साझेदारिताका विषयमा धारणा राख्नुभएको थियो । त्यस क्रममा कोरिया सरकार र त्यहाँको नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए) ले पनि नेपाललाई सहकार्य गर्ने र आपसी सझेदारिताका विषयमा पनि परामर्श भएको जनाइएको छ ।

फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुनुहुन्थ्यो ।

दक्षिण कोरियामा रहँदा सञ्चारमन्त्री खरेलले सिओल एआई फाउन्डेसनद्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गर्नुभयो । यस्तै, उहाँले सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गर्नुभएको थियो ।

मन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम गरेको थियो । डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडिजी र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा ‘एचिभिङ द एसडिजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भूटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओ पिडिआर, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उब्जेकिस्तानका मन्त्रीहरु तथा वरिष्ठ नीति निर्माताहरु सहभागी भएका थिए । एसिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तरराष्ट्रिय संस्था पनि कार्यक्रममा सहभागी भएका सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू

किमाथाङ्का (सङ्खुवासभा) – कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।

कोशी राजमार्गअन्तर्गत १७ दशमलव पाँच किलोमिटर सडकखण्डमा ४५ मिनेट कायम रहनेगरी ‘टाइम कार्ड’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो ।

गन्तव्यमा चाँडो पुग्ने बहानामा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न गत भदौमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो प्रणाली लागू गर्ने निर्णय गरेको थियो । जिल्लामा दैनिक दुई सय यात्रुवाहक तथा मालवाहक सवारीसाधन आवतजावत हुने गरेका छन् । जिल्लास्थित यातायात व्यवसायीसँगको समझदारीमा टाइम कार्ड लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । यस क्रममा दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न निगरानी राखिने उहाँले बताउनुभयो ।

लोकतन्त्र, संविधानको रक्षा र जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डासहित एमालेको प्रदर्शन

लुम्बिनी – नेकपा (एमाले)ले आज बुटवलमा प्रदर्शन गरेको छ । एमाले रुपन्देहीको आयोजनामा आज बुटवलमा प्रदर्शन तथा ¥याली निकालिएको हो ।लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डासहित प्रदर्शन गरिएको एमाले रुपन्देहीले जनाएको छ । प्रदर्शनले राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा ल्याउने अपेक्षा एमालेको छ ।

बुटवलको राजमार्ग चौराहादेखि सुरु भएको ¥याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने नेताहरुले संबिधान र लोकतन्त्रको रक्षा गरेर युवा पुस्तालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल बिश्वकर्माले नेकपा एमाले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको र राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने बताउनुभयो ।

उहाँले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामबाट आम जनता जानकार रहेको बताउनुभयो । एमाले पोलिटब्युरो सदस्य लीला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान सङ्कटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

युवा सङ्घका पूर्वउपाध्यक्ष राजु गुरुङले जेनजी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्तिलगायतमा छानी छानी आगजनी र तोडफोड गरिएको बताउदै त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्ने माग राख्नुभयो ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले गत भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव कार्यक्रममा आज सरिक हुनुभएको छ ।

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उहाँले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भन्नुभयो, “यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।”

अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई उहाँले अत्यन्त मूल्यवान भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गर्नुभयो ।

नेपाल र अस्ट्रेलियाबीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उहाँले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ । शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुगेको छ ।”

नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तरराष्ट्रिय तथा बहुपक्षीय मञ्चमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उहाँले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले क्षेत्रीय तथा विश्व शान्ति र स्थिरतालाई अत्यन्त महत्त्व दिन्छ र विश्वलाई सुरक्षित तथा समृद्ध राख्न अस्ट्रेलियाले खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गर्दछ ।”

हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली हाम्रो दुई देशबीच जीवन्त सेतु बनेका छन्, जसले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ ।”

पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उहाँले प्रशन्नता पनि व्यक्त गर्नुभयो । “अस्ट्रेलियासँगको बढ्दो व्यापार र लगानीका लागि हामी कृतज्ञ छौँ, उहाँले भन्नुभयो, “नेपाल सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्तति हुने लक्ष्य पूरा गर्न द्रुतगतिले अघि बढिरहेको छ । यस महत्त्वाकांक्षी राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रदान भइरहेको अस्ट्रेलियाको निरन्तर सहयोग हामी कृतज्ञतासाथ स्वीकार गर्छौँ ।”

नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिनुभएको योगदानप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँको समर्पण तथा व्यक्तिगत सङ्लग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

कार्यकाल समाप्त भई अस्ट्रेलिया फर्कँदै गर्दा आगामी जिम्मेवारी सफल एवं सार्थक हुन सकून भन्दै राजदूत जोन्स्टनलाई शुभकामना पनि दिनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “नेपाल–अस्ट्रेलिया मैत्रीपूर्ण सम्बन्धलाई निरन्तर समर्थन गरिरहनुहुनेछ भन्ने आशा गर्दछु । नेपाल र अस्ट्रेलियाबीचको मित्रता पुस्तौँ–पुस्तासम्म अझ प्रगाढ र समृद्ध बन्दै जाओस् ।”

आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताउनुभयो । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ ।

उहाँका अनुसार आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नुभएको छ । यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गर्नुभएको छ ।

एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उहाँले बताउनुभयो ।

यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिसकेको छ ।

‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’

गुल्मी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको बताएका छन् । एमालेले गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा नेताहरूले एमाले चुनावबाट विचलित हुने र के परिणाम आउँछ भनेर आत्तिने पार्टी नभएको भन्दै चुनावका लागि सरकारले निष्पक्षता र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्णराज बिष्ट र नेत्री रामकुमारी झाँक्रीले सरकारले दलहरूलाई ढुक्कसँग मतदातासँग जान र मतदाताले पनि ढुक्कसँग मतदानस्थलसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपमहासचिव ज्ञवालीले संसद् विघटनपछि देश शून्यतामा पुगेको आरोप लगाउँदै भदौ २३ र २४ को प्रदर्शनमा जेनजीका भावना र कलिला काँधमा चढेर देशलाई खरानी बनाउन अपराधीहरूले प्रतिगामी षडयन्त्र गरेको बताउनुभयो ।

सचिव विष्टले लोकतन्त्रको विकल्प हुन नसक्ने भन्दै कार्यकर्तालाई निराश नबनी पार्टीमा थप ऊर्जाशील भएर लाग्न आग्रह गर्नुभयो । नेत्री झाँक्रीले सरकारले निर्वाचनको वातावरण बनाउन नसके राष्ट्रिय सहमतिमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।

पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु,गरगहना र छालाका जुत्ता–चप्पल नलगाउन आग्रह

काठमाडौँ, २९ कात्तिकः विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । बाला चतुतर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ ।

दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट मङ्सिर २ गते मङ्गलबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट बुधबारका दिन शतबीजारोपणलाई व्यवस्थित रूपमा गर्न तयारी सुरु गरिएको हो ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीप प्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुन सक्ने अन्य स्थानसमेत कोषको तर्पmबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन दिइएको निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।

मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुङ्गा छापेको, पीच गरेको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यस अवसरमा मादक पदार्थ एवम् नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ । यसको अनुगमनका लागि कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महङ्गा र भड्किला गरगहना एवम् छालाका जुत्ता–चप्पल नलगाउन पनि आग्रह गरिएको छ ।

कोषका अनुसार खोजखबर कक्षको सञ्चालन, सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको छ भने प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाइने भएको छ ।

कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जङ्गलमा पर्ने शतबीज मार्ग एवम् नमोबुद्धमा समेत पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई ‘लोड सेडिङ्ग’ नहुने गरी व्यवस्था मिलाइने निमित्त सदस्य सचिव जोशीले बताउनुभयो ।

कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह

काठमाडौँ, २९ कात्तिकः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिइ धैर्यता राख्न आग्रह गर्नुभएको छ ।

उहाँले आज समाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीहरुलाई सदा सम्मान गरिरहने र त्यस्ता टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ।”

कावा सभापति खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, विगतका गल्ती–कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पार्नुभएको छ ।

दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?

काठमाडौँ, २९ कात्तिकः जेनजी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ । विभाजन र एकताका शृङ्खला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरुमा दोहोरिएको छ ।

त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायत मुद्दा सारेर आन्दोलनमा होमिएका जेनजीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्यता छैन । विशेषगरी शासकीय स्वरुप, संविधान संशोधन, निर्वाचन प्रणालीलगायत विषयमा उनीहरुबीच पनि फरक मत छ ।

खासगरी दलहरुबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीबाट केही नेताहरु अलग्गिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न १० राजनीतिक दल र राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही नेता मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भइसकेको छ । विभाजन र एकताको शृङ्खलामा विगतमा झँै यसपटक पनि वामपन्थी विचारधाराका दलहरु नै अग्रस्थानमा छन् ।

वरिष्ठ अधिवक्ता रामनारायण बिडारी यस परिघटनालाई निर्वाचन लक्षित कार्यक्रमका रुपमा हेर्नुहुन्छ । “निर्वाचन घोषणा भएको हुनाले परिणाम आफ्नो पक्षमा पार्न दलहरु जुट्ने र विभाजन हुने यो निर्वाचन लक्षित कार्यक्रम मात्रै हो । यो असैद्धान्तिक छ, सिद्धान्त, विचार र दृष्टिकोणमा एकता देखिन्न”, उहाँले भन्नुभयो ।

यसलाई सबै दलमा बढिरहेको असन्तुष्टि तथा जेनजी आन्दोलनपछि नेताहरुमा देखिएको विचलित र त्रसित मानसिकताको उपजका रुपमा हेरिनुपर्ने उहाँको मत छ ।

पछिल्लो समय राजनीतिक दल पुनः गठन गर्ने भन्दै आफ्नो दल त्यागेका नेताहरु फेरि नयाँ दल सिर्जना गर्ने अभियानमा विभिन्न कोणबाट छलफलमा जुटेका देखिन्छन् । सो क्रममा माओवादीबाट अलग्गिएर प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गर्नुभएका नेता सुदन किराँती, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र रास्वपा छाडेका नेता सन्तोष परियारबीच आगामी मङ्सिर पहिलो साता पार्टी एकता घोषणा गर्ने सहमति भइसकेको छ । साथै जेनजीका अगुवामध्येका एक मिराज ढुङ्गानाले पनि पार्टी गठन गर्ने भन्दै पत्रकार सम्मेलन नै आयोजना गरिसक्नुभएको छ । यद्यपि उहाँले निर्वाचन आफूहरुको माग र प्राथमिकता नभएको उल्लेख गर्दै विकास र सुशासन पहिलो सर्त भएको बताउनुहुन्छ ।

अधिकारकर्मी डा राधा पौडेललाई भने राजनीतिक दलमा देखिएको फुट र जुट ‘रमिता’ जस्तो लागेको छ । “जेनजी विद्रोह र भोलिपल्टको घटनाभित्र लुकेका अन्तरनिहित कारण र आयामलाई जोड्नुपर्नेमा यसमा राजनीतिक दल चुके”, उहाँ भन्नुहुन्छ, “त्यो कार्यभारप्रति ध्यान नदिएर दलमा एकता र विभाजन देखिएको छ । यसले हामीलाई कहीँ पनि पु¥याउँदैन ।”

दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको र उनीहरुले आशा दिलाउन नसक्दा आफैँमा टुटफुटको अवस्थामा पुगेको उहाँको भनाइ छ । मुलुकमा देखिएको बेथितिको कारणबारे एकरुपता नदेखिँदा ‘बिरामी एउटा छ, उपचार अर्को’ जस्तो भइरहेको अधिकारकर्मी पौडेलको टिप्पणी छ ।

निर्देशक कार्की र संगीतकार शर्माको सहकार्यमा तयार भयो बालखैमा दिल बस्यो गौथली २

काठमडौँ । बालखैमा दिल बस्यो गौथलीको सफलतापछि बालखैमा दिल बस्यो गौथली २ सार्वजनिक भएको छ । बालखैमा दिल बस्यो गौथलीको भिडियोलाई ६ करोड भन्दा बढी पटक दर्शकको माया पाएसँगै निर्माण पक्षले यसको भाग २ बजारमा ल्याएको हो । जसमा बालगायक निश्चल अधिकारीको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ ।

नरेन्द्र वियोगीको एरेन्ज मिक्सिगं तथा मास्टरिगं रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा उज्जवल भविष्यको संभावना खोज्दै दुर दराजको गाउँबाट शहर पसेको एउटा बालकले भोग्नु परेको असहज परिस्थितीलाई भिडियोमा देखाइएको छ । जहाँ उस्तै उमेरकी आयुषीले आलोकले भोगेको परिस्थितीलाई सहजीकरण गर्दै स्कुल पढ्नेसम्मको वातावरण बनाइएको सन्देश मुलक र नेपाली समाजमा व्याप्त कथालाई कलात्मक शैलीमा लोकप्रिय युवा निर्देशक प्रहील कार्कीले भिडियोमा देखाएका छन् ।

भिडियो रिलिज भएसँगै संगीतकार शर्माले आफ्नो पछिल्लो सृजनामा आशा बोकेको गीत बनेको बताए । बाल्यकालदेखि नै गायनमा क्रियाशिल गायक निश्चलको अफिसियल युट्युब च्यानल निश्चल अधिकारीबाट बजारमा ल्याएका हुन् । काठमाडौँका विभिन्न रमणीय स्थानमा खिचिएको भिडियोको छायांकन राजेश घिमिरे र केही भाग योगेन थापाले गरेका हुन् । सार्वजनिक गीतको भिडियाको सम्पादन माधव वेल्वासेले गरेका हुन् ।

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

गण्डकी, २९ कात्तिक : गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

यही कात्तिक २४ गते बसेको प्रदेशसभा बैठकमा प्रस्तुत भएको उक्त विधेयकमा दुई जना प्रदेशसभा सदस्यबाट संशोधनको सूचना प्राप्त भएको थियो ।

शुक्रबारको प्रदेशसभा बैठकले संशोधन प्रस्तावसहित उक्त विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले जानकारी दिनुभयो । विषयगत समितिमा दफावार छलफपछि पुनः प्रदेशसभामा बैठकमा छलफल भएपछि विधेयक पारितको प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

लागुऔषधसम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी गाँजाखेतीसम्बन्धी कानुन बनाउने तयारीमा प्रदेश सरकार छ । प्रदेशसभामा प्रस्तुत भएको भइसकेको उक्त विधेयकमा गाँजाखेती र व्यवसायका लागि कडा प्रावधान राखिएको छ । प्रदेश सरकारले गाँजाखेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको रु पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात–निर्यातका लागि रु एक करोड ५० लाखसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ ।

गाँजाखेतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अनुमति लिनुपर्ने र सोको अन्तिम निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमा रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ । अनुमतिबिना गाँजाखेती, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजाजन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेशाबाट बनेका कपडा, तेलजस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था विधेयकमा गरिएको छ । गाँजाखेती व्यवस्थापन र नियमनका लागि शक्तिशाली ‘गाँजा नियमन बोर्ड’ गठनको प्रस्ताव गरिएको छ ।

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन् सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकोमा सन्तुष्टि व्यक्त गर्ने चिनियाँ राजदूतले ‘बेल्ट एन्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बताए ।

शुक्रबार साँझ मूलधारका प्रमुख सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँग भएको छलफलमा उनले ‘नेपालमा व्यापार, लगानी, औद्योगिक ‘पार्क’ निर्माणलगायत सबैतिर प्रगति भएको छ, केही आयोजनामा केही विलम्ब हुनु अस्वभाविक होइन’, भने । ‘बिआरआई परियोजनामा प्रगति भएको छ । ती सबै प्रशासनिक प्रक्रियामा छन्, तिनको सफल कार्यान्वयनका निम्ति स्थायी सरकार अपरिहार्य छ । आगामी चुनावपछि बन्ने सरकारबाट ती परियोजना द्रुतगतिमा कार्यान्वयन हुनसक्छन्,’ राजदूत छनले भने, ‘हामी  अन्तरिम सरकारसँग पनि निकट सम्पर्क र समन्वयमा काम गरिरहेका छौँ, तर यो सरकारको ‘म्यान्डेट’ आमनिर्वाचन गराउनुभएकाले हामीले निर्वाचनलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका  छौँ ।’

चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको नेपाललगायत सबै छिमेकीका निम्ति आर्थिक विकासको ढोका खोल्ने जानकारी दिँदै चिनियाँ राजदूतले नेपालको आवश्यकताअनुसार योजना तर्जुमा गरिएको बताए ।

‘नेपालका कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्‍याउने परियोजनामा काम भइरहेको छ, हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ’, पञ्चवर्षीय योजनाका विशेषताबारे जानकारी दिँदै राजदूत छनले भने । ती योजना चीन र नेपालका निम्ति वरदान सावित हुने उनको कथन छ ।

नेपालको राजनीति स्थायित्व, विकास र समृद्ध नै चीनको चाहना भएको दोहोर्‍याउँदै उनले अन्तरिम सरकारसँग निकट सम्पर्कमा रहेर चीनले काम गरिरहेको बताए । रणनीतिक योजना तथा भरपर्दो विकास साझेदारको अभावमा नेपालको विकास सुस्त गतिमा भएको विश्लेषण सुनाउँदै उनले नेपालको विकासमा सघाउन चिनियाँ पञ्चवर्षीय योजनामा नेपालको विकासका परियोजना पनि समाहित गरिएका जानकारी दिए । अन्य छिमेकीलाई पनि सघाउने परियोजना १५औँ पञ्चवर्षीय योजनामा समेटिएका उनले बताए ।

ताइवान, हङकङ र मकाउ चीनका अभिभाज्य भूभाग हुन् भन्ने मान्यतालाई नेपालका सबै सरकारले स्वीकार गरेर एक चीन सिद्धान्तप्रति अटल ऐक्यबद्धता जनाएर तदनुरूप व्यवहार गरेकामा आभार व्यक्त गर्दै चिनियाँ राजदूतले चीन र नेपालबीचको मैत्री सधैँ सुमधुर छ भने ।

चीन–नेपाल सम्बन्धलाई प्रभावित पार्ने विषयप्रति जेनजी अगुवाहरूको पनि विमति नरहेको आफूले पाएको उनको भनाइ छ ।  एक प्रश्नको जवाफमा राजदूत छनले चीन र नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएको, दुवै देशले संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेका, विधिमा आधारित विश्व व्यवस्थालाई मानेको बताए ।

निर्वाचनको वातावरण बनिसकेको छः सञ्चारमन्त्री

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।

दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे ।

‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेन्जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे ।

मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रूपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे ।

विदेशमा रहेका नेपालीको नेपाल बनोस, शान्ति, स्थिरता र सुशासन प्रवद्र्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गरे । उनले भने, ‘तपाईंहरूमा देश बनोस् भन्ने भावना छ । यो सरकारलाई नराम्रो गलत गर्ने छुट्टै छैन, व्यवहारिक रूपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रो चाही अवस्य गरिने छैन । पाँच महिनाको अवधिमा केही थितिहरू बसाल्छौँ ।’

सञ्चारमन्त्री खरेलले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरूले मान्यता दिएको र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावनाअनुरूप निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे छलफल गरिने विश्वास दिलाए । उनले आगाडि थपे, ‘निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ । शासकीयस्वरूप कस्तो बनाउने सर्वपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्नेछ । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँदछु ।’

मन्त्री खरेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने बताए । महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजीकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हकअधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीको महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकहरूको समस्यालाई सहजीकरण गर्न, समस्यामा परेका नेपालीलाई सहयोगलगायतमा समन्वय गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिए । जेन्जीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरूको सुझाव छ ।

साथै जेन्जीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे । दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ ।

दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।

‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।

सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग शैलेन्द्र एम प्रधान (बाबु) को छ ।

गायक सनिश श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चाका आएका थिए । त्यसपछि गुमनाम जस्तै देखिएका गायक श्रेष्ठ आगामी मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’बाट पाश्र्व गायनमा प्रवेश गरेका हुन् । यो गीतले आफुलाई संगीतमा स्थापित गर्ने विश्वास उनको छ ।

निर्देशक एकता पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, समस्या समाधानका लागि १३ सदस्यीय कार्यदल गठन

कञ्चनपुर, २९ कात्तिक : सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन स्थगित गरेका छन् । वन उपभोक्ता समूह सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भएको छलफलपछि आन्दोलन रोक्ने निर्णय गरेको हो ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको अध्यक्षता र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा भएको छलफलमा समितिबाट प्रस्तुत २८ बुँदे माग सम्बोधन गर्ने सहमति बनेपछि आन्दोलन स्थगित गरिएको सामुदायिक वन सहजीकरण समिति कञ्चनपुरका पुनाराम चौधरीले बताउनुभयो ।

उहाँका अनुसार छलफलमा प्रदेश सरकारले दिगो वन व्यवस्थापन (सिल्भीकल्चर सिस्टम) कार्यविधि एक महिनाभित्र तयार गरी स्वीकृत गर्ने प्रतिबद्धता जनाएको छ । साथै सबै २८ बुँदे मागका विषयमा समाधान खोज्न १३ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको छ ।

कार्यदलको संयोजकमा प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्ट रहेका छन् । कार्यदलमा साझेदारी वन उपभोक्ता महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ, वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ, वन सम्पदा राष्ट्रिय महासङ्घ, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन समन्वय समिति, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि, सामुदायिक वन सहजीकरण समिति, डिभिजनल वन अधिकृत, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख, वन व्यवस्थापन महाशाखा प्रमुख सदस्य तथा मन्त्रालयको वातावरण महाशाखा प्रमुख सदस्य सचिव रहने निर्णय गरिएको छ ।

कार्यदलले प्रदेशभरका वन क्षेत्रसँग सम्बन्धित समस्याहरूको अध्ययन गरी एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । सो प्रतिवेदनका आधारमा मागहरूको कार्यान्वयनका लागि प्रदेश सरकारले लिखित निर्णय गर्ने सहमति भएको छ ।

यही प्रतिबद्धता प्राप्त भएपछि कात्तिक ३० गतेदेखि सुरु गर्न भनिएका सबै आन्दोलनका कार्यक्रमहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको समन्वय समितिद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा समेत उल्लेख छ । सामुदायिक वन सहजीकरण समिति कञ्चनपुरका पुनाराम चौधरीका अनुसार, सरकारबाट आएको प्रतिबद्धताले समुदायमा सकारात्मक सन्देश गएको छ । “समस्यामा छिटो निकास आउने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनका अमर प्रहरी राय

काठमाडौँ, २९ कात्तिक : जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति ! मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहनुभएकी उहाँले सधैँझै कामको ‘ब्रेकटाइम’ मा श्रीमान् मिलन रायबीच कुराकानी हुन्थ्यो । नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन सुरु भएको १२ः०० बजेतिर मोटरसाइकल जलेको र आफू सटरभित्र सुरक्षित रहेकाले कुनै ‘तनाव’ नलिउ भनेर आश्वस्त पार्नुभयो ।

जापानको एक रेष्टुराँमा कार्यरत मङ्गलाले ‘ड्युटी’मा रहँदा पनि नेपालको अवस्थाबारे छिनछिनमा जानकारी लिइराख्नुभएको थियो । आन्दोलनले उग्ररूप लिइरहँदा उहाँको मन स्थिर हुन सकिरहेको थिएन । मङ्गलाले आफ्नो ‘ड्युटी’ सकेपछि पटक–पटक फोन गर्नुभयो तर उठेन । निरन्तरको प्रयासपछि एक हवल्दारले मिलनको निधन भएको कुरा सुनाउनुभयो ।

जेनजी आन्दोलनमा भएको घुसपैठको निशानामा सहायक निरीक्षक राय र जवान उत्तम थापा पर्नुभयो । उहाँ र जवान उत्तमलाई आन्दोलनकारी सडकमा ल्याएर कुटीकुटी पासविक तबरले हत्या गरियो ।

घटनाको वास्तविकता थाहा पाएपछि मङ्गलाले केही सोच्न सक्ने अवस्था थिएन । त्यसमाथि आन्दोलनकारीले वीभत्स तरिकाले मारेको थाहा पाउँदा मुटु भक्कानिन पुग्यो । धरती नै भासिएजस्तै भयो । मुटु छियाँछियाँ हुन पुग्यो । श्रीमान्लाई अन्तिम बिदाइ गर्न उहाँ भदौ २६ गते काजक्रियाका लागि काठमाडौँ आइपुग्नुभयो ।

यही वर्ष जापान जाने तयारीमा थिए मिलन

तीन जना दाजुभाइमध्ये कान्छो छोरा थिए मिलन । सानैमा बाआमा बितेपछि हजुरआमा र काकाको रेखदेखमा हुर्किनुभएका उहाँले सानैदेखि हन्डर खाएर प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । सिन्धुलीको दूधौली–८ खोरभञ्जाङका मिलन २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरी भरतपुरमा तालिम सकिएपछि पहिलो पोष्टिङ जलेश्वर, ललितपुर, जनसेवा, दरबारमार्ग हुँदै महाराजगञ्ज सरुवा हुनुभएको थियो ।

त्यसअघि काठमाडौँमा सहकारीमा बजार प्रतिनिधिका रूपमा काम गर्ने सिलसिलामा धादिङ छत्र देउरालीकी मङ्गलासँग चिनजान भयो । दुवैको उमेर एउटै, काम एउटै । त्यही चिनजानले प्रेम २०८० फागुन २१ विवाहमा परिणत भयो ।

मङ्गला सम्झिनुहुन्छ, “लामो समयसम्म प्रेममा रहेर विवाह गरेका कारण एक–अर्कालाई नाम नै लिएर बोलाउँथ्यौँ । उसले पनि यही वर्षभित्रै प्रहरीको जागिर छोडेर जापान जाने सोच बनाएको थियो ।” करिब रु १२ लाख खर्च गरेर मङ्गला गत वैशाखमा मात्रै रोजगारीका सिलसिलामा जापान जानुभएको थियो ।

पढाइमा अब्बल, क्रिकेट र खानपिनमा सौखिन । काका केशव, हजुरबा र हजुरआमाको छत्रछायाँमा हुर्किनुभएका मिलन सबैको प्यारो थिए । परिवारको कान्छो सदस्य गुमाएपछि उमेरले पाका भइसकेका हजुरआमा र बाका आँखा ओभाना हुन सकेका छैनन् । “सानैमा बाआमा बिते, हामीले हुर्कायौँ । संरक्षकको रूपमा आफ्नै सन्तानसरह हुर्काएको थियौँ । उसको सम्झना त सधैँ मनमा रहिरहन्छ”, काका केशव मिलनलाई स्मरण गर्नुहुन्छ ।

जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नुभएका मिलनलाई सरकारले कात्तिक १७ गते सहिद घोषणा गरी अमर प्रहरीको सम्मान प्रदान गरेको छ । सहिद परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएबमोजिमको रु १५ लाख परिवारले प्राप्त गरिसकेको छ । साथै नेपाल प्रहरीले अमर प्रहरी मिलनको परिवारलाई आजीवन निवृत्तिभरण उपलब्ध गराउने छ ।

प्रहरी नायब निरीक्षकसमेत रहेका माइला दाजु हरिबाबु मिलनलाई आफ्नो भाइ मात्र होइन, एक असाध्यै मिल्ने साथीजस्तै ठान्दथे । कलिलैमा भाइ गुमाउँदा उहाँ विक्षिप्तजस्तै हुनुहुन्छ । भन्नुहुन्छ, “मैले भाइमात्र होइन असल साथी पनि गुमाएँ । सबै कामसँगै गर्ने । पेसा पनि एउटै रोजेका थियौँ । मेरो मुटुको टुक्रा थियो ऊ ।”

विद्यालयस्तरको पढाइमा पनि कक्षामा सधैँ पहिलो÷दोस्रो हुँदै आएका मिलनले क्याम्पसको पढाइ भने चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेज र बौद्धस्थित अरुणिमामा अध्ययन गरेको स्मरण गर्दै दाजु हरिबाबु भन्नुहुन्छ, “भाइलाइ असइमा भर्नाका लागि मैले पढेका किताब दिएँ, दिमाग तेजिलो थियो, दोस्रो पटकमा सफल भयो, साथीभाइसँग उ छिटो घुलमिल हुन्थ्यो ।”

प्रहरी सङ्गठनभित्र पनि एक इमान्दार, अनुशासित र असल चरित्रको परिचय बनाएका मिलन दिएको जिम्मेवारी ठीक ढङ्गले समयमै फत्ते गर्ने कर्तव्यनिष्ठ भएकाले हाकिमहरूको रोजाइमा पर्दैआउनुभएको थियो । भदौ २४ गते महाराजगञ्जमा आन्दोलनकारीबाट भाइको ज्यान लिइएको घटना सुन्न पर्दा सपनाजस्तै भएको बताउँदै नुवाकोटमा कार्यरत हरिबाबु भन्नुहुन्छ, “मेरो जीवनको साह्रै दुःखद् दिनका रूपमा रह्यो भदौ २४ !”

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आक्रमणबाट तीन प्रहरीको ज्यान गएको थियो । सो दिन प्रहरी जवान मिलनका साथै कास्कीका रूपा गाउँपालिका–५ का अमृत गुरुङ, दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापाको पनि आन्दोलनकारीको आक्रमणबाट ज्यान गएको थियो ।

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

सुरुङ्गा (झापा) – झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११ : ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।

परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उहाँले केही समयदेखि डिप्रेसनको उपचार गराइरहनु भएको थियो । केही महिना अघिमात्र उहाँले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराउनुभएको थियो ।

देशभरको मौसम सफा रहने, पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ, २९ कात्तिक : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (तराई) प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १४०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ११०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ११०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ९०, सलगम प्रतिकिलो १३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ८०, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकिलो रु १८०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २२०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ८०, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १२०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १२०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।