`

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

काठमाडौँ, ७ भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आदिवासी जनजातिका अग्रजहरूले कुनै एक जातजातिका लडेको होइन, देशका लागि हो : महामन्त्री थापा

पाटन (ललितपुर)-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायका अग्रजहरूले कुनै एक जातजातिको लागि मात्रै नभइ सिङ्गो देशका लागि लडेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको आदिवासी जनजाति विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित आदिवासी जनजाति योद्धाहरू पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उहाँले देशको राजनीतिक परिवर्तनका साथसाथै स्वतन्त्रता र समानताको लागि अग्रजहरूले लडेर ल्याएको उपलब्धिलाई सबैले समान रूपले उपभोग गर्न पाउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

“तपाईंहरूको परिवारको आग्रज लडेको कुनै जातजातिको स्वतन्त्रताको लागि होइन, सिङ्गो नेपालको स्वतन्त्रताको लागि लडेको हो, सबै नेपालीको स्वतन्त्रता, समानता, प्रजातन्त्र र लोकतन्त्रको लागि लडेको हो, स्वतन्त्रता समानताको उपभोग सबै जातजातिले गर्न पाए मात्रै अर्थपूर्ण हुन्छ, त्यसैले हामीले लोकतन्त्रको विश्वव्यापी मान्यतासँगसँगै नेपालको विविधतालाई समेटेर जाने भनेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यासमा छौँ, यसमा भएका गल्ती कमजोरीलाई हामीले सुधार गर्नुपर्छ”, उहाँले भन्ननुभयो ।

नेता थापाले नेपालको राजनीतिमा स्थापित भएको आदिवासी जनजातिको, समावेशीकरणको इतिहास कांग्रेसभित्रबाट नै सुरु भएको भन्दै विसं २०१५ देखि नै पार्टीको समितिदेखि आन्दोलन र मन्त्रिमण्डलसम्म समावेशी चरित्रको रहेको बताउनुभयो । “अब हामीले देश बनाउछु भनेर लागेका नवजवानलाई प्रेरित गर्नुपर्छ, बाँकी रहेका कामलाई सम्पन्न गर्नुपर्छ, पार्टी निरन्तर पुस्तान्तरणमा चलिरहन्छ, नेपाल सधैँ रहन्छ, नेपाली कांग्रेस पनि निरन्तर चलिरहन्छ”, उहाँले भन्नुभयो ।

सहमहामन्त्री भीष्मराज आङ्दम्बेले विगतमा योगदान गर्ने व्यक्तिहरूका परिवारलाई भेला गरेर सिङ्गो इतिहासको सम्मान गरेकोमा विभागलाई धन्यवाद दिँदै यो कार्यले नेपाली कांग्रेसले जीवन्तता प्राप्त गरेको बताउनुभयो ।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले इतिहास बनाउने व्यक्तित्वलाई सम्झिएर तयार पारिएको पुस्तकले वर्तमान र भविष्यलाई समेटेको बताउनुभयो । उहाँले कांग्रेसले समृद्धिका लागि काम गर्न सक्छ भनेर आशा जगाउनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले आर्थिक समृद्धिका काम गरेर समाजमा व्याप्त नैराश्यता हटाउन सकिनेमा जोड दिनुभयो ।

पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले प्रजातन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा योगदान गर्नुहुने योद्धाहरूले गरेको योगदानको मूल्याङ्कन गर्दै लोकतन्त्र, आदिवासी जनजाति र पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको विरुद्धमा लाग्ने, भ्रष्टाचारमा लाग्नेलाई मत दिन नहुने भन्दै पार्टीका नेताहरूले आफ्नो पदका लागि गठबन्धन गर्नेभन्दा देश र जनताको लागि सोचेर राजनीतिक निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

विभागका प्रमुख एवं केन्द्रीय सदस्य दिलमान पाख्रिनले भेदभाव अन्त्य गर्दै अल्पसङ्ख्यक र आदिवासी समुदायको हितमा कानुन बनाउन पार्टीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ६ भदौ : कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा तीनवटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

पहिलो सम्झौताअनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुनेगरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि बढाइने छ । उक्त सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित दक्षिण कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले हस्ताक्षर गर्नुभएको थियो ।

त्यस्तै ‘फ्रुट्स एण्ड भेचिटेबल भ्यालु चेन डेभलपमेन्ट प्रोजेक्ट’ दोस्रो चरण हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३१ सम्म सञ्चालन हुने यस परियोजनाको बजेट १० मिलियन डलर रहेको छ । सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा हरिबहादुर केसी र कोइका नेपालका देशीय निर्देशक मूहन कोङले हस्ताक्षर गर्नुभएको थियो ।

सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापनाको अर्काे परियोजनामा पनि हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुने यस परियोजनाको बजेट १० मिलियन डलर छ । सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोइका नेपालका निर्देशक मूहनले हस्ताक्षर गर्नुभएको थियो ।

समारोहमा निर्देशक मूहनले नेपाल र कोरियाबीचको दीर्घकालीन साझेदारी, समावेशी र दिगो विकासप्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि र सुशासनजस्ता क्षेत्रमा कोइकाको प्राथमिकता रहेको बताउनुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोइकाले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै नेपालका दिगो विकास लक्ष्य हासिल गर्न यसले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

नेपालका लागि कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले कोइकाको ३० वर्षे यात्रा नेपाल–कोरिया मित्रताको प्रतिविम्ब भएको बताउँदै नयाँ परियोजना सम्झौतालाई साझेदारी र प्रगतिका प्रतीकका रूपमा औँल्याउनुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कोइकालाई यस ऐतिहासिक अवसरमा बधाई दिँदै नेपाल सरकार आगामी कार्यक्रमहरूको पहुँच र दिगोपन विस्तारमा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

सन् १९९१ देखि कोइकाले नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । हालसम्म कोइकाले दुई हजार ९२१ जना स्वयंसेवकलाई नेपालमा परिचालन गरेको छभने दुई हजार २३० जना नेपाली निजामती कर्मचारीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागिता जनाएका छन् ।

सन् २०१० मा नेपाललाई प्राथमिकतामा राखेपछि दक्षिण कोरियाली सरकारमार्फत नेपालमा सहयोग उल्लेख्य रूपमा बढेको छ । सन् २०२५ सम्म आइपुग्दा कोइकाको कुल सहयोग २०० मिलियन अमेरिकी डलर नाघेको छ । विकास सहयोगसम्बन्धी नयाँ रूपरेखा सम्झौता प्रक्रियामा रहेको र यसले नेपाल–कोरिया मित्रतालाई अझ सबल बनाउने अपेक्षा गरिएको छ ।

चौध लाख १३ हजार स्रोत नखुलेको रकमसहित दुई पक्राउ

वीरगञ्ज (पर्सा), ६ भदौ : जिल्ला प्रहरीले स्रोत नखुलेको रु १४ लाख १३ हजार ५०० रकमसहित दुई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगर–२ घुसुकपुरका ३९ वर्षे सञ्जय साह र बाराको महागढीमाई नगरपालिकाका ४१ वर्षे शनिकुमार ठाकुर रहेका छन् ।

पर्साका प्रहरीका प्रवक्ता सुवास भट्टले वीरगञ्ज महानगर घुसुकपुर इदगाह चोक सडकखण्डमा भारतिय नं. प्लेट भएको विआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल बिहीबार रोकेर खानतलासी गर्दा सो परिमाणको स्रोत नखुलेको रकम बरामद भएको हो ।

‘‘मोटरसाइकलमा फल्स सिलिङ बनाइलुकाइ राखेको अवस्थामा नखुलेको नेपाली रू एक हजार दरका रु १० लाख र पाँच सय दरका ८२७ नोटको रु चार लाख १३ हजार ५०० बरामद भएको छ’’, उहाँले भन्नुभयो, ‘‘पक्राउ परेका दुई जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’’

जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु

चितवन, ६ भदौः जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाअनुसार आज थप एक जनाको मृत्यु भएको हो ।

कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार आज आएको नतिजा अनुसार भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्धको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । उहाँले भन्नुभयो, “जिल्लामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने १३ जनामा यो रोगको सङ्क्रमण देखिएको छ ।”

कार्यालयका कीट नियन्त्रक राम केसीले यसअघि मृत्यु हुनेमा कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका जानकारी दिनुभयो । उहाँहरूको गत साउनयता मृत्यु भएको जनाउँदै उहाँले गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको बताउनुभयो ।

जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका नागरिकामा देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कालिका नगरपालिकामा दुई जनालाई सङ्क्रमण देखिएको छ भने भरतपुरका चार, राप्तीका दुई, खैरहनी र माडी नगरपालिकाका एक÷एक जनामा सङ्क्रमण देखिएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो रोग ‘क्युलेक्स’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । “यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर हुँदा नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा यो लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने हुँदा बाहिर काम गर्दा विशेष सर्तकता अपनाउनु पर्दछ”, उहाँले भन्नुभयो ।

वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

बागमती, ६ भदौः वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा आज दिउँसो वर्षाका कारण ढुङ्गा माटोसहितको पहिरो खस्दा उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यसैगरी वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-बागझुरामा गिट्टी बालुवासहित भलपानी झर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । अवरुद्ध दुवै सडकबाट पहिरो पन्छाउन सडक विभागसँगको पहलमा प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने व्यवस्था मिलाउँछौँः सभापति देउवा

पाटन (ललितपुर), ६ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने र पहिचानका लागि विद्यमान द्वन्द्व मेटिने व्यवस्था मिलाइने बताउनुभएको छ ।

कांग्रेसको आदिवासी जनजाति विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन कार्यक्रममा उहाँले नेपाली कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि प्रजातन्त्रका लागि आदिवासी जनजाति समुदायका साथीहरूले पार्टीका लागि उल्लेखनीय योगदान दिनुभएको स्मरण गर्दै उहाँहरूले पार्टी र देशका लागि कठोर सङ्घर्ष गर्नुभएको बताउनुभयो ।

“प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घरपरिवारको प्रवाह नगरी आदिवासी जनजाति समुदायका साथीहरू अगाडि बढ्नुभयो, धेरैले त आफ्नो जीवन नै बलिदान दिनुभयो । ती सम्पूर्ण प्रजातन्त्र सेनानीप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरूको त्याग, तपस्या र योगदानकै जगमा आज नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको हो”, सभापति देउवाले भन्नुभयो ।

उहाँले तथा मुलुकका लागि अमूल्य योगदान दिने ती अग्रज योद्धाहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै कांग्रेसले उहाँहरूको जीवनीमा आधारित ‘नेपाली कांग्रेसका आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन गरेको जानकारी दिनुभयो । “पुस्तक विमोचनसँगै उहाँहरूका परिवारलाई सम्मान गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

“आदिवासी जनजातिलगायत सबै योद्धा तथा नेपाली कांग्रेसका अग्रज नेताहरूले देखाउनुभएको लोकतान्त्रिक र समावेशी मार्गमा पार्टी निरन्तर अग्रसर छ, उहाँहरूको प्रेरणा र हाम्रो निरन्तर प्रयासका कारण आज पार्टी समावेशी र समानुपातिक मूल्य, मान्यतामा दृढतापूर्वक अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

पार्टीको विधान समावेशी र समानुपातिक स्वरूपमा विकास गरिएको बताउँदै सभापति देउवाले पार्टी संरचनामा आदिवासी जनजाति समुदायको सहभागिता सुनिश्चित गर्न केन्द्रीय समितिमा एक जना सहमहामन्त्री निर्वाचित हुने, कम्तीमा १५ जना केन्द्रीय सदस्यहरू निर्वाचनमार्फत चयन हुने व्यवस्था विधानमार्फत सुनिश्चित गरिएको जानकारी दिनुभयो ।

“नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ छ”, उहाँले भन्नुभयो ।सभापति देउवाले पार्टीमा आदिवासी जनजाति विभाग र भ्रातृ संस्थाका रूपमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गठन गरिएको जनाउँदै यी संस्थाहरूका माध्यमबाट आदिवासी जनजातिका पहिचान र प्रतिनिधित्व पार्टीमा बढेको बताउनुभयो ।

“आदिवासी जनजातिको सहभागिताबाट पार्टी ठूलो र बलियो बनाउन मद्दत पुगेको छ । पार्टीको नेतृत्वमा बनेको वर्तमान संविधानमा आदिवासी जनजातिसहित सबै समुदायको आवाजलाई समेट्ने प्रयास गरिएको छ, सबै जातजाति र धर्मावलम्बीलाई सम्मान गर्दै, संविधानमा सबैको समावेशी र न्यायपूर्ण व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले सबै मिलेर वर्तमान समावेशी संविधानको संरक्षण गर्नु आवश्यक रहेको भन्दै संविधान देशको समावेशी र लोकतान्त्रिक भविष्यको आधारका रूपमा रहेको धारणा राख्नुभयो ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपालको राजनीति नेपाली कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै पार्टीको केन्द्रीय कार्यालय र विभागमार्फत निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्टीको कमीकमजोरीलाई सुधारेर जाने सङ्कल्प गरेको बताउँदै नेपाली कांग्रेस निराशा हैन भरोसा बाँड्न तत्पर रहेको धारणा राख्नुभयो ।

सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो : मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको बताएका छन् ।
शुक्रबार प्रेस चौतारि कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्न ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्याउन लागिएको बताएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ, त्यसको लागि ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्यायौँ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न हैन नियमन गर्न ल्याएको हो ।’

उनले साइबर अपराध नियन्त्रण गर्न कानुनको अभाव भएको भन्दै अपराध रोक्न सरकारले कानुन बनाउन लागेको बताए ।‘साइबर अपराध विश्वकै चुनौती हो । नेपालभित्र हुने यस्ता अपराध रोक्न सरकारले कानुन बनाउन लागेको हो,’ उनले भने ।उनले मेटा, गुगल जस्ता विदेशी सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्ने पनि बताए ।

देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ, ६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लिपुलेकबाट सीमापार व्यापार गर्नेबारे भारत र चीनबीच भएको द्विपक्षीय सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) एकता सभालाई सम्बोधन गर्दै उहाँले दुई देशबीच हालै सम्पन्न सम्झौताले नेपाली भूमिमाथिको अतिक्रमण तथा देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।

मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि थिचोमिचो भएकाले उक्त कार्यविरुद्ध सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले समस्या समाधानका लागि सरकारले दुवै छिमेकीहरूसँग कूटनीतिक तहमा वार्ता गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मुलुकको राष्ट्रियता बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण अपरिहार्य रहेको बताउँदै उहाँले आफ्नो पार्टीले अङ्गीकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्नुभयो ।

देशमा विद्यमान सामाजिक विभेदको अन्त्यगरी जनतालाई गरिबी, पछौटेपनबाट मुक्त गराउन सकिने विचार व्यक्त गर्दै अध्यक्ष नेपालले समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले हिंसा, अन्याय, अत्याचार, विषमता सामाजिक रुपान्तरणका बाधक रहेकाले सामाजिक न्याय, समानता, न्यायोचित वितरण प्रणालीका आधारमा आर्थिक विकास गर्न समाजवादी व्यवस्था उपयुक्त रहेको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले समाजवादी क्रान्तिलाई पूरा गर्न कम्युनिष्ट पार्टीका भूमिकाबारे प्रकाश पार्दै सङ्गठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

काठमाडौँ, ६ भदौ : लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आज सम्पन्न बोर्डको ६५औँ बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी, वित्तीय ढाँचालगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेस गर्ने कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनसम्बन्धी परियोजना र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्न तथा सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने अख्तियारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय गरेको छ ।

त्यसैगरी, नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विद्युत् प्रसारण लाइनको नयाँ रुट ‘अलाइनमेन्ट’को सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्द्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालिलाई सहमति प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

भारतसँग थप हवाईमार्ग विस्तार गर्ने विषय महत्त्वका साथ उठाउछौँः पर्यटनमन्त्री

काठमाडौँ, ६ भदौँः राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालले थप दुईतर्फ हवाईमार्ग विस्तार गर्ने विषय महत्त्वका साथ उठाउने बताउनुभएको छ ।

आजको बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले नेपालले प्राप्त गर्नुपर्ने थप हवाईमार्गको विषयमा भारत सरकारसँग छलफल गरिने जानकारी दिनुभयो । पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “हामीले प्राप्त गर्नुपर्ने मार्गका विषयमा छलफल हुन्छ । अहिले केवल सिमराबाट मात्रै विमानहरू आवतजावत भइरहेका छन् । चीन जानेको हकमा तुम्लिङटारको मार्ग प्रयोग हुन्छ, त्यसैले हवाई मार्ग विस्तारको विषयलाई महत्त्वका साथ उठाउनेछौँ ।”

नेपालले पटक–पटक थप हवाईमार्ग विस्तार गर्नेबारे भारतीय पक्षसँग आग्रह गर्दै आएपनि सकारात्मक परिणाम हासिल हुन नसकेको पर्यटनमन्त्री पाण्डेले बताउनुभयो । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनका लागि सरकारले विभिन्न छुट र सहुलियत दिएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार मन्त्रिपरिषद्ले कार्ययोजना पास गरी दुवै विमानस्थललाई चलायमान बनाउने दिशा लिएको छ ।

भिसा सेन्टर, अध्यागमन कार्यालय स्थापना गर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन र स्वास्थय परीक्षणसम्बन्धी आवश्यक कार्यालय सुनिश्चित गर्ने, म्यानपावर कमपनीलाई आकर्षित गर्ने तथा सरकारले सहुलियतमा दुई वर्षसम्म फ्युल, टिकटको करमा छुटलगायत सुविधा दिएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । श्रमका लागि विदेश जाने र नेपाल फर्किनेलाई भैरहवा वा पोखरा विमानस्थलबाट उड्ने र उत्रिने वातावरण मिलाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले भैरहवा विमानस्थललाई संसारभरिका बुद्ध धर्मालम्बीहरूको आकर्षणका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्वीनअटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री पाण्डेले प्रदेशहरूसँगको समन्वय र सहकार्यमा प्रादेशिक उडानका लागि ट्वीनअटर विमानको सङ्ख्या थपेर सेवालाई प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “साना विमानको सङ्ख्या थपेर सरकारले सेवा प्रवाह गर्नेछ, त्यसमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी नीति ल्याउनेछौँ ।” सरकारले सुर्खेत विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नत्ति गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

कालापानी लिपुलेक कूटनीतिक पहलबाट प्राप्त गर्नुपर्छ : मन्त्री पौडेल

डोटी, ६ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तरराष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताउनुभएको छ । डोटीको दिपायलमा आज नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कालापानी लिपुलेक हाम्रो हो, प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको र यो मुद्दालाई अन्तरराष्ट्रियकरण गर्न नसकेका कारण हामीले यो भूमिलाई प्राप्त गर्न सकिरहेका छैनौँ । सबै प्रमाणका आधारमा यो भूगोल हामीले प्राप्त गर्नुपर्छ ।” मन्त्री पौडेलले छिमेकी राष्ट्र भारत र चीनले आफ्नो स्वार्थका लागि नेपाली भूमि खोस्न तयार भएको आरोप लगाउनुभयो ।

उहाँले नेपालले आफ्नो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “हामीले हाम्रो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्छ तर युद्ध गरेर होइन, प्रभावकारी कूटनीति अपनाएर जमिन फिर्ता ल्याउन सक्नुपर्छ । प्रभावकारी कूटनीति भनेको भारतसँग कूटनीतिक पहल बनाउनुपर्यो, अन्तरराष्ट्रिय जगत्मा पनि हामीले यो विषय लिएर जान सक्नुपर्यो ।”

मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषय उठ्ने विश्वास व्यक्त गर्नुभयो । यो विषयमा सबै राजनीतिक दलहरू एक ढिक्का हुनुपर्ने उहाँको भनाइ छ ।

सङ्खुवासभालाई उर्जाको राजधानी बनाउनुपर्ने:मन्त्री खड्का

खाँदबारी (सङ्खुवासभा), ६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई भौगोलिक सुन्दरताको पहिचानमात्र नभई ‘ऊर्जाको राजधानी’ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आज खाँदबारी नगरपालिकाले आयोजना गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा उहाँले अपर अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको प्रत्यक्ष सहभागितामा अघि बढाइने योजना रहेको बताउनुभयो ।

मन्त्री खड्काका अनुसार जिल्लाका करिब ४० हजार घरपरिवारलाई प्रतिघर रु पाँच लाखका दरले सेयर उपलब्ध गराइने जानकारी दिनुभयो । आयोजना निर्माण ५० प्रतिशत पुगेपछि सेयर निष्कासन सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

“यो आयोजना बिजुली उत्पादनमा मात्र सीमित छैन, यसले यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउन ठूलो योगदान गर्नेछ”, उहाँले भन्नुभयो । विपन्न वर्गलाई समेत सहभागी गराउने उद्देश्यसहित करिब १२ देखि १५ प्रतिशत नागरिकलाई बैंकमार्फत निःशुल्क ऋण उपलब्ध गराइने उहाँले बताउनुभयो ।

अपर अरुण नेपालकै महत्वाकाङ्क्षी जलविद्युत् आयोजनामध्ये एक हो । यसले उत्पादन गर्ने विद्युत्मात्र होइन, आयोजनामा स्थानीयको प्रत्यक्ष सहभागिताले पनि प्रदेश र देशको अर्थतन्त्र बलियो बनाउने अपेक्षा गरिएको छ ।

नागरिकप्रति समर्पित भई खटिइन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ, ६ भदौ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नागरिकप्रति समर्पित भई कार्य गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको आठौँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले सामूहिक भावनाका साथ त्रुटिरहित ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

विपद् उद्धारको कार्यमा बाहिनी तथा मातहत कार्यालयले पुर्याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सङ्गठनले गठन गरेको सामुदायिक स्वयंसेवक समूहको सक्रियताबाट विपद् उद्धारमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गर्नुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सीमा सुरक्षादेखि सामाजिक दायित्वलगायत क्षेत्रमा सशस्त्र प्रहरीले गरेको योगदान सरहानीय रहेको बताउनुभयो । चितवनको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नागरिकलाई अप्ठ््यारो परेको बेला सशस्त्र प्रहरीको भूमिका अतिमहत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा महानिरीक्षक अर्यालले वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्याउनुहुने विभिन्न सङ्घसंस्था तथा महानुभाव र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

वैकल्पिक विकास विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौँ, ६ भदौ : वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ सङ्घीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधार विकासका लागि अर्को ढोका खोल्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भएकाले विधेयक छिटो पारित गरेर संसद्ले छोटो समयमा महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरूले समेत नवीन अवधारणा भएको उल्लेख गर्दै विधेयकको प्रशंसा गरेका थिए । संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमासभामा पेस गरिएको थियो । वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ ।

दैलेखमा भेटिएको प्राकृतिक ग्यासको भण्डारको उत्पादकत्व निर्धारण गर्न ‘जिटुजी’मार्फत अनुरोध

काठमाडौँ, ६ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखमा भेटिएको प्राकृतिक ग्यासको भण्डारको उत्पादकत्व निर्धारण गर्न चीन सरकारको सहयोगका लागि ‘जिटुजी’ मार्फत अनुरोध गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले भण्डारको उत्पादकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्म आवश्यक पर्ने भएकाले सो कार्य पनि चीन सरकारकै सहयोगमा सम्पन्न गर्न सो अनुरोध पठाइएको जानकारी दिनुभयो ।

विसं २०८१ माघमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चार हजार १३ मिटर ड्रिलिङ सम्पन्न गरिएको थियो । सो कार्यमा संलग्न चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा करिब एक सय १२ दशमलव एक अर्ब घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको अनुमान गरिएको छ ।

त्यसैगरी खानी तथा भूगर्भ विभागको तथ्याङ्कानुसार जाजरकोट, दैलेख र अछामसहितका विभिन्न स्थानमा काइनाइट र तुर्मालिनलगायतका महत्त्वपूर्ण पत्थरी धातुहरू रहेको प्रष्ट भएको छ । ती धातुहरूको औद्योगिकीकरण तथा व्यापारीकरणका लागि सरकार प्रयत्नशील रहेको मन्त्री भण्डारीको भनाइ छ ।

आर्थिक वर्ष २०८१/८२ मा सुर्खेतको वीरेन्द्रनगरस्थित भूकम्प मापन केन्द्र परिसरमा जेमोलोजी तथा मिनरलोजी ल्याब स्थापना गरी काट्ने र चम्काउने उपकरण जडान गरिएको छ । उहाँले भविष्यमा यसलाई विस्तार गर्दै व्यवसायीलाई सीप हस्तान्तरण गरी मूल्य अभिवृद्धि गरेर निकासी गर्ने प्रबन्ध मिलाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

यसैगरी नेपाल सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर पूर्वी र पश्चिमी नेपालमा पत्थरी धातु सङ्कलन केन्द्र स्थापना गर्ने बाह्य निकासी हुने दररेटमै सङ्कलन गर्न व्यवसायीलाई उत्प्रेरित गर्नुका साथै अन्तरराष्ट्रियस्तरको जेम प्रशोधन केन्द्र स्थापनाका लागि पहल गर्ने योजना रहेको बताउनुभयो ।

लिपुलेक सम्बन्धमा भारत–चीन सम्झौताप्रति समाजवादी मोर्चाको विरोध

काठमाडौँ, ६ भदौ : समाजवादी मोर्चा नेपालले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ । मोर्चाले आज प्रेस वक्तव्य जारी गर्दै नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्याउने उक्त सम्झौताप्रति विरोध तथा असहमति प्रकट गरेको छ ।

मोर्चाले कूटनीतिक पहलबाट सम्बन्धित मुलुकलाई सत्यतथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न सरकारसँग आग्रह गरेको छ । “भारत र चीनबीच हालै पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने र दुई पक्षीय व्यापार पुनःस्थापना गर्ने समझदारी भएकाप्रति ध्यानाकृष्ट भएको छ”, मोर्चाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

मोर्चाले ऐतिहासिक प्रमाण र द्विपक्षीय सन्धिले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्गका रुपमा रहेको जनाएको छ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रमा विगत भारतीय पक्षको अतिक्रमण जारी रहेको जनाउँदै मोर्चाले कूटनीतिक प्रयासमार्फत अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारसँग आग्रह गरेको छ ।

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौँ, ५ भदौः प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे) रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दीपक थापा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी साहारा सुब्बा (थेवे) भएको वैदेशिक रोजगार ठगीसम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचलबाट पक्राउ गरी उपस्थित गराइदिने पत्र प्राप्त भएपछि निजलाई ललितपुर हरिसिद्धिबाट पक्राउ गरिएको हो ।”

पक्राउ परेका निज सुब्बा (थेवे) लाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

बोइङले चीनलाई ५०० विमान बेच्ने तयारी

अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५०० भन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले बिहीबार जनाएको छ ।

यो सम्झौता विश्वव्यापी आर्थिक सङ्कटबीच सङ्घर्षरत अमेरिकी निर्माताको लागि एक ठूलो जीत हुनेछ । सम्झौतासँगै कम्पनीको शेयर प्रि–मार्केट ट्रेडमा ३.७ प्रतिशतसम्म बढेको छ, तर मङ्गलबारको सत्रको लगभग १५ मिनेटभित्र एक प्रतिशतभन्दा कम वृद्धि हुनेछ।

ब्लुमबर्गका स्रोतका अनुसार यो सम्झौता वासिङ्टन र बेइजिङबीच जारी व्यापार युद्धमा दीर्घकालीन सम्झौतामा निर्भर रहनेछ ।

ब्लूमबर्गका अनुसार बोइङ सम्झौता सम्भवतः अमेरिका–चीन व्यापार सम्झौताको एक प्रमुख पक्ष हुनेछ, जसको स्रोतहरूले चिनियाँ अधिकारीहरूले उनीहरूलाई कति विमानहरू आवश्यक पर्दछ भनेर आन्तरिक एयरलाइन्सहरूको सर्वेक्षण सुरु गरेको बताएका छन्।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार घाटालाई सम्बोधन गर्न विश्वका व्यापारिक साझेदारहरूलाई नयाँ कर लगाएका छन्।

अमेरिकाको सबैभन्दा ठूलो उत्पादन निर्यातक कम्पनी बोइङबाट विमान खरिद गर्दा ट्रम्पको व्यापार नीतिका कारण देखिएको असन्तुलनलाई कम गर्नेछ ।

गत जुलाईमा ह्वाइट हाउसले जापानले १०० बोइङ जेट र इन्डोनेसियाका ५० विमान खरिद गर्ने प्रतिबद्धता जनाएको थियो ।

ट्रम्पले अन्तर्राष्ट्रिय व्यापारलाई पुनर्जीवित गर्ने प्रयासमा चीनलाई विशेष लक्षित गरेका छन्।

वासिङ्टन र बेइजिङले यस वर्ष एकअर्काका उत्पादनमा कर वृद्धि गरेका छन् । विवादका कारण कुनै बिन्दुमा प्रतिशोधात्मक कर वृद्धि तीन अङ्कको स्तरमा पुगेको थियो । यसले बोइङ जेटको डेलिभरीमा अस्थायी रोकसहित व्यापारमा गिरावट आएको छ।

यद्यपि, दुवै पक्षले मे महिनामा अस्थायी रूपमा शुल्क घटाउन सहमति जनाउँदै ९० दिनको म्याद थप गरेका छन्।

सन् २०१७ को नोभेम्बरमा ट्रम्पको राजकीय भ्रमणका क्रममा बेइजिङले ३७ अर्ब अमेरिकी डलरभन्दा बढीमा ३०० वटा एकल र ‘ट्वीन आइल’ विमान खरिद गर्न सहमति जनाएको थियो ।

बोइङले सन् २०१८ यताकै सबैभन्दा बढी विमान आपूर्ति गर्दा गत वर्षको तुलनामा दोस्रो त्रैमासिकमा घाटा कम भएको बताएको थियो ।

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन

काठमाडौँ, ५ भदौः नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ । समितिको संयोजकमा एनओसीका निवर्तमान अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान चयन हुनुभएको छ ।

कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलना नौ सदस्यहरूको विभिन्न उपसमिति गठन भएको जानकारी दिइयो । समितिको सदस्यहरूमा राजिवविक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, वृजेन्द्र हमाल र रवि राजकर्णिकार हुनुहुन्छ ।

नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले दिएको निर्देशन र कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै पहलमा ओलम्पिक भवनमा लागेको ताला खोलेर ओलम्पिकको तदर्थ समितिलाई साँचो हस्तान्तरण गरिएको थियो । राखेपको एक सय १९औँ बोर्ड बैठकले जीवनराम श्रेष्ठले गराएको निर्वाचनलाई अवैधानिक र गैरकानुनी भन्दै सो निर्वाचनलाई खारेज गरेको थियो । पत्रकार सम्मेलनमार्फत आजै आगामी कार्ययोजना पनि सार्वजनिक गरिएको छ ।

तदर्थ समिति गठनबारे आईओसी तथा सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराई समन्वय गर्ने, समस्या समाधानका लागि अन्तरराष्ट्रिय ओलम्पिक कमिटी, सदस्य खेल सङ्घ, खेलाडी, खेलकर्मी र सरोकारवालासँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने तथा ओलम्पिक कार्यक्रम अन्तर्गतका बृहत् खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानाकारी दिइयो ।

त्यसैगरी जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि परिषद् र सङ्घहरूसँग समन्वय गरी खेलाडी छनोट तथा विशेष प्रशिक्षणको तयारी गर्ने, एनओसीसँग आबद्ध खेल सङ्घहरूको समस्या समाधानका लागि पहल गर्ने एवं विधानअनुसार साधारणसभाबाट निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढङ्गले निर्वाचन गराइ नयाँ नेतृत्व चयन गरिने छ ।

जसपा नेपालद्वारा जनकपुरधाममा सडक अवरुद्ध

जनकपुर । जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा क्रमशः चौथो दिन पनि सरकारविरुद्व प्रदर्शन गर्नुका सडक अवरुद्ध गरेको छ ।

बिहीबार (आज) जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्या खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।

जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको उनीहरुको आरोप छ । सरकारले उपेन्द्र यादवविरुद्धको मुद्या फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रीने उनीहरुले चेतावनीसमेत दिएका छन्गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो ।

०६३ चैत ७ गते रौटहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्त्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट पारे ।

“यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ तर भएका विकास र प्रगतिका कुरा अझै आएनन् । कर्णालीमा हामीले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौँ ।’’, “कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकामसहित हुम्लामा पिच बाटो पनि जान्छ । हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ । मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरू अब यथार्थ भइसकेका छन् ।’’

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरू र दर्शकहरूका भीडको सहभागितामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी भएको स्मरण गराए ।

उनले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास पनि दिलाए ।

“मैले पहिला ग्यास र खानीको उत्खनन्‌काे कुरा गर्दा उडाउनेहरुले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन् तर कर्णाली त्यतिसारो वैगुनी हुन सक्दैन । अब हामीले यार्सागुम्बाको निर्यात गर्नतिर पनि लाग्नेछौँ,’’उनले भने, ‘‘निरकुंश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दै छ । कर्णाली बन्छ, बन्दै छ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।’’

लिपुलेकका सम्बन्धमा दलहरुको एकै स्वरः नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य

काठमाडौँ, ५ भदौ: मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताउनुभएको छ ।

नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ सोसम्बन्धी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । भारत र चीनबीच भएको सो सहमतिले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उल्लेख गर्दै नेताहरूले राष्ट्रिय हितका पक्षमा तत्काल राजनीतिक र कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको भूमि लिपुलेकका सम्बन्धमा भारत र चीनले गरेको सहमति अस्वीकार्य रहेको बताउनुभयो । उहाँले सम्पूर्ण राजनीतिक दलको सहमतिबाट सो सम्बन्धमा नेपाल सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

“यो विषयमा नेपालका सबै राजनीतिक दलहरू विगतमा जस्तै एक ठाउँमा उभिनुपर्छ । म नेपाली कांग्रेस पार्टीका तर्फबाट सबै दललाई एकढिक्का हुन आग्रह गर्दछु, मतमतान्तर र प्रतिस्पर्धा आआफ्ना ठाउँमा छन्, यसलाई घरेलु राजनीतिको विषय नबनाउँ, उग्र राष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ,” कांग्रेस महामन्त्री थापाले भन्नुभयो, “हाम्रो भूमिमाथि आँखा लगाउने कुरा कसैलाई पनि स्वीकार्य छैन, नेपालले यसको प्रतिवाद गर्छ । हामीले यो ‘पोजिसन’ बनाउनुपर्ने छ ।”

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले नेपालको सहमतिबिना छिमेकी मुलुक भारत र चीनले नेपाली भूमि लिपुलेकको सम्बन्धमा गरेको सम्झौता नेपाली जनता, सरकार र संसद्लाई अस्वीकार्य रहेको बताउनुभयो । “सो सम्बन्धमा सरकारको तत्कालको प्रतिक्रियाले मात्रै पुग्दैन”, उहाँले भन्नुभयो, “उक्त भूमि नेपालको हो, यसको रक्षार्थ सम्पूर्ण नेपालीको एक स्वर हुनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले पूर्खाले बलिदान गरेर कायम गरेको भूमि जोगाउन सिङ्गो नेपाल एक हुनुपर्नेमा जोड दिनुभयो । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको स्पष्ट गर्दै उहाँले सो सम्बन्धमा सर्वपक्षीय समझदारी गरेर सरकारले कूटनीतिक पहल थाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“उत्तेजनात्मक अभिव्यक्तिको तरिकाले होइन, परिपक्व कूटनीतिक प्रयास गरियोस्”, सचिव पौडेलले भन्नुभयो, “प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा यो विषय स्पष्टसँग राखिनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रकाश ज्वालाले भारत र चीनले नेपालको सहमति नलिई लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि खोल्ने एकतर्फी सौदावाजी अस्वीकार्य भएको बताउनुभयो ।

“यो सम्झौता अन्तरराष्ट्रिय कानुन र पञ्चशीलको सिद्धान्त विपरीत पनि छ, यो मिचाहा र हैकमवादी प्रवृत्ति भएन र ?”, उहाँले प्रश्न गर्नुभयो, “महाकालीपूर्वका कालापानी, लिपुलेक र लिम्पियाधुरालगातका क्षेत्र नेपालको अभिन्न भूभाग हुन्, यो सहमतिलाई अस्वीकार गर्दै राष्ट्रियताको रक्षाका लागि जोडदार आवाज र दबाब दिन आवश्यक छ ।”

जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले राष्ट्रिय मुद्दामा सिङ्गो मुलुक एकताबद्ध हुनुपर्नेमा जोड दिँदै नेपालको सहमतिबिना भारत र चीनबीच भएको व्यापार सम्झौताप्रति आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा उक्त विषयलाई स्पष्टसँग राख्नुपर्नेमा जोड दिनुभयो । “यो राष्ट्रको विषय हो, सिङ्गो संसद्मा यसबारे ध्यानाकर्षण भएको छ, सरकारले आवश्यक कूटनीतिक पहलकदमी लिनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि समेटिएको नेपालको नयाँ नक्सा अन्तरराष्ट्रिय समुदायलाई जानकारी नगराउँदा अहिले समस्या देखिएको बताउनुभयो । उक्त भूभाग नेपालकै भएको सप्रमाण रहेकाले यससम्बन्धमा कुनै पनि मुलुकले गर्ने सहमति, सम्झौता नेपाललाई अस्वीकार्य हुने उल्लेख गर्नुभयो ।

‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग’

सरकारले नेपालको संविधानमा नै आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा स्पष्ट रहेको जनाएको छ ।

नेपाली भूमि लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापारका विषयमा आमसञ्चारमाध्यममार्फत सार्वजनिक प्रश्नका सम्बन्धमा परराष्ट्र मन्त्रालयले बुधबार स्पष्ट पार्दै भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण÷विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

उक्त क्षेत्र नेपाली भू–भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धिसम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहिआएको मन्त्रालयले स्पष्ट गरेको छ ।

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौँ, ५ भदौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्नुभएको हो । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ ।

सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सको वर्गीकरण गरेको छ । निर्देशिकाले एम्बुलेन्स सेवावापत लाग्ने शुल्कमा एकरूपता र नियमनको व्यवस्था गरेको छ । गरिब, असहाय तथा विपद्मा परेका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने प्रावधान निर्देशिकामा राखिएको छ । आकस्मिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यो निर्देशिका जारी गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छरिएर प्रदान गरिने एम्बुलेन्स सेवालाई एकद्वार प्रणालीमा ल्याउने, आकस्मिक उपचार सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने तथा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले यो निर्देशिका ल्याइएको हो ।”

निर्देशिका स्वीकृत भएसँगै देशभरका एम्बुलेन्स सेवाहरू एकीकृत सञ्जालमा आउने छन् ।

नेपाल एपीएफ क्लबका फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौँ, ५ भदौः सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने एएफसी ओमन्स क्लब च्याम्पिएन्स २०२५–२०२६ मा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका फुटबल खेलाडी, प्रशिक्षक र अधिकारीहरुलाई बिदाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हलचोकमा एक समारोहबीच सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले एसियन फुटबल कन्फेरेडेसनको आयोजनामा यही भदौ ९ देखि १५ गते (अगस्ट २५ देखि ३१) सम्म हुने उक्त खेलमा सहभागी हुने खेलाडीसहितका प्रतिनिधिहरुलाई बिदाइ गर्नुभएको हो ।

महानिरीक्षक अर्यालले जितको भावनाका साथ खेल खेल्न अनुरोध गर्नुभयो । उहाँले खेल सङ्गठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकाले खेलाडीले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने भनाइ राख्नुभयो ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले अग्नि इनकर्पोरेट प्रालिका प्रबन्धक निर्देशक अर्जुनप्रसाद शर्मालाई आइजी एपीएफ कमेण्डेसनबाट सम्मान गर्नुभयो । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङले खेलाडीहरुले जितको शुभकामना दिनुभयो ।

त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौँका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनालगायतको उपस्थिति थियो ।

पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेंस्की

युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आफूले भेट गर्न सक्ने तर यसका लागि युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको हो ।

बिहीबार जारी गरिएको टिप्पणीमा उहाँले दुवै पक्ष थप लडाइँको तयारीमा रहेको चेतावनी समेत दिनुभएको छ । रुसले दक्षिणी सीमा लाइनमा सैनिक तैनाथ गरिरहेको र युक्रेनले लामो दूरीको नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको उहाँले बताउनुभयो ।

युक्रेनले ‘दीर्घकालीन’ शान्तिका लागि चासो नदेखाएको भन्दै किएभले मस्कोको मागसँग पूर्णतया मेल नखाने सुरक्षा प्रत्याभूति खोजेको आरोप लगाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की र पुटिनसँग वार्ता गरेर युक्रेनमा रुसको साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने प्रयास गरिरहनुभएको छ ।

शान्ति सम्झौताका लागि खासै ठोस प्रगति नभएपछि उहाँले रुसी नेतालाई एक्ल्याउने वर्षौँदेखिको पश्चिमा नीतिलाई अघि बढाउनसक्ने देखिएको छ । “हामी सातदेखि १० दिनभित्र सुरक्षा सुनिश्चितता योजनाबारे बुझ्न चाहन्छौं,” जेलेन्स्कीले बिहीबार प्रकाशनका लागि जारी पत्रकारसँगको कुराकानीमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “कुन देश प्रत्येक विशिष्ट क्षणमा के गर्न तयार छ ? हामीले यो बुझ्न आवश्यक छ ।”र फ्रान्सको नेतृत्वमा मित्र राष्ट्रहरूको एक समूहले सुरक्षा सुनिश्चिततालाई समर्थन गर्न एक सैन्य गठबन्धन खडा गर्दैछ।

मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ–सहयोगले मात्रै परिणाम आउँछ – मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफू शासक नभई सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका छन् । विहीबार मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा बोल्दै उनले मन्त्री एक्लैले केही गर्न नसक्ने भनदै सबैको साथले परिणाम आउने भन्दै उनले आफू सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले भने, ‘म तपाईंहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु । मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ–सहयोगले मात्रै परिणाम आउँछ।’

मन्त्री पाण्डेले कार्यसम्पादन सम्झौताअनुसार अघि बढे मात्र जनतालाई सेवा प्रवाहमा ठोस उपलव्धि निकाल्न सकिने विश्वास व्यक्त गरे । उनले निरन्तर हुने कर्मचारी हेरफेरका कारण दीर्घकालीन काममा चुनौती आउने पनि बताए ।

उनका अनुसार कानुनी संशोधनपछि पर्यटन क्षेत्र उद्योग सरह सेवा–सुविधाले उत्साहित बनेको छ। बजेटीय सीमितता भए पनि संस्कृति, पर्यटन र नागरिक उड्डयनलाई राष्ट्रकै ठूलो सम्भावना बोकेका आधारस्तम्भका रूपमा अघि बढाउनुपर्ने धारणा उनले राखे ।

उनले पर्यटन नीति कार्यान्वयनले उत्साह जगाएको, नयाँ हवाई नीति तयारी भइरहेको र कानुनी सुधारका प्रक्रिया निरन्तर अघि बढाइरहेको जानकारी दिए ।

त्यस अवसरमा मन्त्री पाण्डे र सचिव हरिप्रसाद मैनालीबीच आर्थिक वर्ष २०८२÷०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ ।
कार्यक्रममा मन्त्री पाण्डेले कर्मचारीलाई जिम्मेवारीप्रति इमानदार र नतिजामुखी हुन निर्देशन दिए ।

लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थी पक्राउ

कर्णाली – लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार÷इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा दिने २५ वर्षीय श्यामशङ्कर सिंह र २० वर्षीय भरत तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिंह कुशे गाउँपालिका–७ समकोट जाजरकोट निवासी हुन् । उनले छेडागाड नगरपालिका १२ जाजरकोटकै धर्मराज चनराको सट्टामा परीक्षा दिएका थिए । तिरुवा भगवतीमाई गाउँपालिका–७ दैलखका हुन् । उहाँले सोही गाउँपालिका–५ का सुशील शाहीको सट्टामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिइ गएको प्रहरी टोलीले चार जनालाई नै नियन्त्रण थिएको थियो । आज प्रेस नोट जारी गर्दै सुर्खेत प्रहरीले नियन्त्रणमा लिइएका चारै जनाको लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकरात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको बताएका छन् । बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकहरुका ९५ प्रतिशत माग पुरा गर्न सफल भएको बताएका हुन्

उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्टुष्टि राख्ने ठाउँ कसैको छैन । विधेयकमा आएका प्रतिक्रियाहरु सकारात्मक छ । हामीले गर्न सक्ने शिक्षक साथीहरुले ९५ प्रतिशत माग पूरा भएको छ । मन्त्रालयका साथीहरु निरन्तर संवादमा हुनुहुन्छ ।’

उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएको भन्दै कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सक्ने समेत बताए ।
उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समिक्षा गर्नुपर्ने बताए ।

हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफनो चाहन्छौँः महासचिव पोखरेल

महोत्तरी, ५ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले भर्खरै दुई मित्रराष्ट्र भारत र चीनले नेपालको सहमतिबेगर लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपाली चासोको सम्वेदनशीलतालाई नजरअन्दाज गरेको बताउनुएको छ ।

बर्दिवासमा आज प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो, “हामीले तथ्य र सत्यमा टेकेर महाकाली वारिको भूभाग समेटिएको नक्सा बनाएका हौँ, यो सन् १८१६ को सुगौली सन्धि अनुरुप छ ।”

दुवै छिमेकी मित्रराष्ट्रले पछिल्लो सहमतिमा नेपाललाई नखोजे पनि चीन र भारतमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना भ्रमण हाम्रो कारणले नरोकिने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।

“हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफनो चाहन्छौँ, यस्तो संवादको अवसर सद्भावना भ्रमणमै पाइने हो”, उहाँले भन्नुभयो, “तसर्थ नेपालको तर्फबाट यो भ्रमण रोक्ने त कुरै छैन ।” लिपुलेक प्रकरणमा नेपालको परराष्ट्र मन्त्रालयले चीन र भारतलाई कूटनीतिक नोट पठाएर आफ्नो असहमति स्पष्ट गरीसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसमा अब दुवै मित्रराष्ट्रले तार्किक निष्कर्ष दिनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले राजनीतिक स्थायित्व र समृद्धि नै आफ्नो दलको मुख्य ध्येय भएको बताउनुभयो । अहिले पार्टी गतिविधि यसै ध्येयमा केन्द्रित रहेको उहाँले पार्नुभयो । बर्दिवासमा आज प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेका पार्टी गतिविधि यसै ध्येयमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।

“हामी पार्टीको दोस्रो विधान महाधिवेशनको तयारीमा छौँ, यस महाधिवेशनबाट नीति र विधिका माध्यमले आफ्नो दललाई बलियो राष्ट्रिय शक्ति बनाउने सन्देश प्रवाह हुनेछ ।” एमालेले नै मुलुकमा केही गर्छ भन्ने आमजनतामा बनेको भरोसालाई आगामी निर्वाचनमा बहुमतको सरकार बनाएर चरितार्थ गरिने उहाँले बताउनुभयो ।

अहिले सरकार बनेदेखि आर्थिक सुधारका सूचक देखिएको उल्लेख गर्दै महासचिव पोखरेलले पछिल्लो एक वर्षको अवधिमा राजस्व वृद्धि, निर्यात वृद्धि र पुँजीगत खर्च वृद्धि भएर आर्थिक सुधार बढेको बताउनुभयो । “अब सङ्घीयता कार्यान्वयनका दिशामा बन्न बाँकी कानुनमा सरकार केन्द्रित हुनपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच वर्तमान सरकार गठनका बेला बनेको सम्बिधान संशोधनको सहमति कार्यान्वयनमा जाने महासचिव पोखरेलको भनाइ थियो । “अहिले राष्ट्रियसभामा सत्ता साझेदार दलको बलियो उपस्थिति छैन, अब यसै वर्षभित्र हुने राष्ट्रियसभा निर्वाचनमा बलियो उपस्थिति बन्ने अवस्था छ । त्यसलगत्तै संविधान संशोधनको विषयमा प्रवेश गरिने छ”, पत्रकारहरुको जिज्ञासामा उहाँले स्पष्ट पार्नुभयो ।

महसचिव पोखरेल आज आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, साङ्गठनिक र विधान संशोधनबारे मधेस प्रदेशका अगुवा कार्यकर्ताबीचको छलफलमा सरिक हुन बर्दिवास आउनुभएको हो ।

पत्रकार सम्मेलनमा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठ, पोलियुटब्युरो सदस्य सुमनराज प्याकुरेल, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डललगायतको उपस्थिति थियो ।

नाडा अटो शो :नयाँ मोडेल र विशेष अफरले तानिए अवलोकनकर्ता

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले नयाँ मोडेल, विशेष अफर र विद्युतीय गाडीहरूको प्रदर्शनका कारण दर्शकको चहलपहल बढाएको छ ।शो का अवसरमा विहीबार नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका मोडेलसहित ‘पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।यसअन्तर्गत ग्राहकलाई ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको बिमा, ६ वर्षसम्म निःशुल्क पाट्र्स, २ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस र एसेसरिज पाउन सकिनेछ ।

सेरेसले अटो शो अवधिभर मात्रै लागू हुने विशेष योजना ल्याएको छ । ३ वर्षको बीमा, ३ गुणासम्म नगद छुट र बुकिङ रकम बराबर फाइदासहितको अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्म लाभ लिन सकिनेछ । सेरेसले हालै लोमान्थाङसम्म ईभी चढाएर कीर्तिमान बनाएको उपलब्धि पनि प्रदर्शनीमा प्रस्तुत गरेको छ ।

यस्तै, टाटा मोटर्सले आधिकारिक वितरक सिप्रदी ट्रेडिङमार्फत नेक्सन पेट्रोल, टियागो ईभी, पन्च ईभी, कर्भ ईभी र नयाँ सफारी सार्वजनिक गरेको छ । कर्भ ईभी र सफारी अवलोकनकर्ताको आकर्षण बनेका छन् ।टाटाले ईभी खरिदकर्ताका लागि आजीवन निःशुल्क चार्जिङ, तीन वर्षको निःशुल्क सर्भिसिङ, एक वर्षको बीमा र रोड ट्याक्ससमेतको अफर दिएको छ ।

सन् २०५५ सालदेखि सुरु भएको नाडा अटो शो यसपालि १७औँ संस्करणमा पुगेको हो । यसअघि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न गरिसकेको छ ।दुई अटो शोबीच प्रतिस्पर्धा भए पनि नाडा अटो शोले आफ्नो आकर्षण कायम राख्न सफल भएको छ ।अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन् ।

मंगलबारबाट सुरु भएको शो को पहिलो दिन १९ हजार ७ सय ६ जना र दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेको नाडाले जनाएको छ। अटो शोको दोस्रो दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत नाडा अटो शोको अवलोकन गरेका थिए ।अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन्

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् । त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनीमा छन् ।

युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

काठमाडौं । युक्रेनी सैन्य केन्द्रहरुमा रुसले आक्रमण गर्दा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको रुसले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, विगत २४ घण्टामा, रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसन सैनिक केन्द्रहरूमा आक्रमण गरेको छ । जसमा १,३०० भन्दा बढी युक्रेनी सैन्य कर्मचारीहरू मारिएका छन् र घाइते भएका छन् ।

आक्रमणहरूले ट्याङ्क, बख्तरबंद सवारी साधन, रकेट लन्चर, इलेक्ट्रोनिक युद्ध स्टेशन, गोलाबारुद डिपो र अन्य धेरै लक्ष्यहरू नष्ट गरेको रिपोर्ट गरिएको छ । प्रतिवेदनमा यो पनि भनिएको छ कि रूसी वायु रक्षा बलहरूले एउटा रकेट र २१७ फिक्स्ड–विङ ड्रोनहरू खसालेका छन् ।

यद्यपी, सोही दिन, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले रिपोर्ट गरे कि अघिल्लो दिन फ्रन्टलाइनमा १७५ झडपहरू भएका थिए, जसको परिणामस्वरूप लगभग ९२० रूसी हताहत भएको थियो । यसैबीच, युक्रेनी वायु सेना, मिसाइल एकाइहरू र तोपखानाले धेरै रूसी सैन्य लक्ष्यहरूलाई सफलतापूर्वक नष्ट गरेको छ । युक्रेनी सेनाले कुपियान्स्क र टोरेत्स्क क्षेत्रमा धेरै रूसी आक्रमणहरूलाई पनि विफल पारेको बताइएको छ ।
सीसीटीभी

पूर्वउपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो प्रचारलाई अघि बढाउन लागेकी हुन् । बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।

दिउँसो २ बजे राखिएको उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने छन् ।विद्याले २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन् ।

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ प्रिमियर सम्पन्न ,भोलीदेखि प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को ग्राण्ड प्रिमियर शो सम्पन्न भएको छ।चलचित्रले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा आयोजना गरिएको प्रमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्तिहरु भावुक भएर फर्किए ।

प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, कलाकार लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उपस्थित कलाकार तथा आगन्तुक दर्शकहरू पनि ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’को कथासँग भावनात्मक रूपमा जोडिएका थिए । चलचित्र हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न सकेनन् । केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार चलचित्र हेर्दा रोइरहेका थिए ।

नोस्टाल्जिक बनाउँदै बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा सिनेमामा हेरिरँदा रुवाएको सिनेमा हेरेपछि उनीहरूले प्रतिक्रिया दिएका छन् । सिनेमाले आफूहरूलाई जस्तै दर्शकको पनि मन छुने र आँसु बगाउन बाध्य बनाउने प्रिमियरमा चलचित्र हेर्नेहरूको प्रतिक्रिया छ । धेरै जना आँसु पुछ्दै हलबाट बाहिरिएको देखिन्थ्यो । उनीहरूले चलचित्रले मन छोएको र आफ्नै परिवारको याद दिलाएको प्रतिक्रिया दिए ।

 

चलचित्रले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ, जसका कारण दर्शकहरूले यसलाई भावनात्मक रूपमा बलियो चलचित्रको रूपमा लिएका छन् ।

भालीबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती :डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितका निम्ति गम्भीर चिन्ता र चासोको विषय भएको बताएका छन्

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादित मानेको र चीनले नेपालसँग परामर्श गरेर मात्र निर्णय गर्ने भनेको क्षेत्रमा दुई छिमेकीले एकतर्फी सम्झौता गर्नु नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती भएको धारणा राखे ।

उनले लेखेका छन्,‘ नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितकानिम्ति गम्भीर चिन्ता र चासोको विषय हो।

पहिलेदेखि नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादको विषय स्वीकारेको र चीनले नेपालसंग परामर्श गरेर मात्र निर्णय गर्ने भन्दै आएको भनिएको यो विषयमा दुइ ठूला छिमेकीले पुनः एकतर्फी सहमति गर्नु नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथिको ठूलो चुनौति हो। यसवारे नेपाल सरकारले गम्भीरतापूर्वक राष्ट्रिय हितको पक्षमा आवश्यक कुटनीतिक र राजनीतिक कदम चालोस्।’उनले सरकारले मौन बस्न नहुने भन्दै तत्कालै कूटनीतिक र राजनीतिक पहल गर्न आग्रह गरे।

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

त्यस्तै,भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखिएको छ ।

लिपुलेकमाथि नेपालले गरेको दाबीलाई भारतले गर्‍यो अस्वीकार

काठमाडौं । भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन्

लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ। यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा कृत्रिम रूपमा भूभाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’विज्ञेप्तीमा भनिएको छ,‘

बुधबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको बताएको थियो ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन गएका बेला लिपुलेक नाका खोल्ने सहमति भएको थियो। त्यसबेला पनि नेपालले कूटनीतिक नोट पठाएर दुवै देशसँग आपत्ति व्यक्त गरेको थियो।

परराष्ट्र मन्त्रालयले भन्यो- लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै सरकार यस विषयमा अडिग रहेको बताएको हो ।

नेपालले भारत सरकारलाई सो क्षेत्रमा सडक विस्तार, सीमा व्यापारलगायत कुनै गतिविधि नगर्न बारम्बार आग्रह गर्दै आएको स्मरण गराइएको छ। साथै, विवादित क्षेत्र नेपालको भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ।

नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिकरूपमा घनिष्ठ र मैत्रीपूर्ण रहेको र दुवै देशबीचको सीमा समस्या शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको पनि बताइएको छ ।

तीन वटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ५ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३१, आलु रातो (मुडे) प्रतिकिलो रु ४६, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु १२०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु १३०, काउली (तराई) प्रतिकिलो रु १००, रातो मूला प्रतिकेजी रु ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ५५, भन्टा डल्लो प्रतिकिलो रु ६५, तने बोडी प्रतिकिलो रु ११५, मकै बोडी प्रतिकिलो रु ८५ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ११०, टाटे सिमी प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ७५, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ५५, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ८०, सलगम प्रतिकिलो रु ११०, भिण्डी प्रतिकिलो रु ८५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३८, रायोसाग प्रतिकिलो रु १३०, पालुङ्गो साग प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २५०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु २७०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ६००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ३६०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ७०, किबी प्रतिकिलो रु ४०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १५०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २१०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।