प्रतिनिधिसभा सदस्य निर्वाचनः सबैभन्दा बढी साक्षरता रहेको काठमाडौँमै आठ हजार १९७ मत बदर
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नं १० मा एक हजार २२६ मत बदर भएको छ । सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् । साठी हजार ४४१ तत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएको थियो ।
निर्वाचन क्षेत्र नं ९ मा ९३३ मत बदर भएको छ । कूल ७८ हजार ४९५ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ७४० मत खसेको थियो । सो क्षेत्रमा ५१ हजार ८०७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ८ मा ६२३ मत बदर भएको छ । त्यहाँ कूल मतदाता ५७ हजार ८११ छन् । सड्तीस हजार ७९४ मत खसेकामा ३७ हजार १७१ मत सदर भएको थियो ।
निर्वाचन क्षेत्र नं ७ मा ८०५ मत बदर भएको छ । ६८ हजार ६८५ कूल मतदाता रहेको क्षेत्रमा ४४ हजार ८५७ मत खसेको थियो । यस क्षेत्रमा ४४ हजार ०५२ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ६ मा ८११ मत बदर भएको छ । ६७ हजार ७५९ कूल मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४८ मत खसेको थियो । यहाँ ४४ हजार ४३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
निर्वाचन क्षेत्र नं ५ मा ९०२ मत बदर भएको छ । कूल ७८ हजार ११४ मतदाता रहेको यस क्षेत्रमा ५१ हजार ९६९ मत खसेको थियो । ५१ हजार ०६७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ४ मा ८६२ मत बदर भएको छ । कूल ७६ हजार २५१ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ९६३ मत खसेको थियो । खसेकोमध्येमा ५० हजार १०१ मत सदर भएको जनाइएको छ ।
निर्वाचन क्षेत्र नं ३ मा ९४० मत बदर भएको छ । ६४ हजार ४७९ कूल मतदाता रहेको यस क्षेत्रमा ४४ हजार १९० मत खसेको थियो । खसेकोमध्ये ४३ हजार २५० मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं २ मा एक हजार ०९५ मत बदर भएको छ । कूल ८८ हजार ७०८ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार ४४१ मत खसेको थियो ।
खसेकोमध्ये ५८ हजार ३४६ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं १ मा ४३४ मत बदर भएको छ । कूल मतदाता ५५ हजार २९२ रहेको यस क्षेत्रमा ३२ हजार ३१४ मत खसेको थियो । जसमध्ये ३१ हजार ८८० मत सदर भएको थियो ।
देशभर कति मत बदर भयो भन्ने मङ्गलबार सबै मतगणना सकिएपछि भन्न सकिने आयोगले जनाएको छ । अहिलेसम्मको विवरणअनुसार तीनदेखि चार प्रतिशत मत बदर भएको अनुमान गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।आज बेलुकीसम्म समानुपातिक प्रणालीतर्फको ९५ लाख २३ हजार मतगणना सकिएको पनि उहाँले सुनाउनुभयो ।
