`

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु (नवलपरासी) । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिए।

“गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका पक्षी भेटिएका छन्”, उनले भने, “गत वर्षकोभन्दा यस वर्ष चराको सङ्ख्या र प्रजाति वृद्धि भएको छ ।”

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढी चरा फेला परेका छन् । नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्यांकअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिए।

“सन् २०२४ मा ४१ प्रजातिका नौ हजार ५४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो”, उनले भने, “यस वर्ष विगत केही वर्षको तुलनामा थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्या धेरै देखिएको छ ।”

नेपालमा ९०३ प्रजातिका पक्षी सुचीकृत भएका छन् । तीमध्ये जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष उक्त प्रजाति फेला परेका संयोजक चौधरीले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो ।

सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको संयोजक चौधरीले जानकारी दिए । उनका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएका छन् ।

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।

केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ ।

यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङसमेत सम्पन्न गरेको छ । कूल सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९८९ बाकस भने बाँकी छ ।

प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनयन, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८५ पैसा र बिक्रीदर २० रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ तीन पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६३ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो ।

आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।

आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।

नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।

आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।

आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल। अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य एक दर्जनभन्दा बढी घाइते भएको एक गैरसरकारी संस्थाले जानकारी दिएको छ ।

शार–ए–नव क्षेत्रमा फूल बेच्ने व्यक्तिहरूका लागि परिचित सडकमा विस्फोट भएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका देखिएका एएफपीका एक पत्रकारले बताएका छन् ।

अफगानिस्तानमा इमर्जेन्सी स्वास्थ्य सेवा दिइरहेको इटालीको एक गैरसरकारी संस्थाले आफ्नो अस्पतालमा उपचारका क्रममा सात जनाको मृत्यु भएको जनाएको छ भने अन्य १३ जनालाई शल्यक्रिया विभागमा भर्ना गरिएको छ ।

“घाइतेहरूमा चार महिला र एक बच्चा पनि छन्,” एनजीओका राष्ट्रिय निर्देशक डेजान प्यानिकले एक विज्ञप्ति जारी गरी जानकारी गराउनुभएको छ। एक फूल पसलका मालिकले सुरक्षाको कारण नाम नबताउने शर्तमा भने, “विस्फोट दिउँसो ३ः३० बजे आफ्नो अगाडि सडकको अर्को छेउमा भएको थियो।”

उनले भीडभाड भएको क्षेत्रमा विस्फोटको ‘कडा आवाज’ सुनेको एएफपीसँग बताएका छन्। उनले भने, “यो एक आपतकालीन अवस्था थियो। सबैलाई आफ्नो ज्यानको डर थियो, त्यसैले सबैले ज्यान जोगाएर भागे। मैले कम्तिमा पाँच जना सख्त घाइते भएको देखेको थिएँ।

काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले विस्फोटको कारण खुलिनसकेको तर अनुसन्धान भइरहेको बताए । यस क्षेत्रमा रहेका धेरै रेस्टुरेन्टहरूलाई प्रहरीले घेरा हाली अनुसन्धान गरिरहेको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले एक रेष्टुरेन्टका कर्मचारीलाई उद्धृत गर्दै विस्फोटमा परी दुई जना चिनियाँ नागरिक गम्भीर घाइते भएको जनाएको छ ।

आक्रमणमा परी एक जना अफगानी सुरक्षा गार्डको मृत्यु भएको र रेष्टुरेन्टमा गम्भीर क्षति पुगेको सिन्ह्वाले जनाएको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग कांग्रेसका चुन्नु पौडेलले प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

रुपन्देहीको क्षेत्र नं। २ बाट नेपाली कांग्रेसले व्यवसायी पौडेललाई उम्मेदवार बनाएपछि विष्णु पौडेलसँग प्रतिस्पर्धा हुने निश्चित भएको हो । चुन्नु यस क्षेत्रको स्थापित व्यवसायी हुन् ।

रौतहट–१ मा माधव नेपालसँग एमालेका गुप्ताले प्रतिस्पर्धा गर्ने

काठमाडौं – आगामी निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा रा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो ।

एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र नं ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आउनुभएको छ ।

अध्यक्ष निरौलाका अनुसार काठमाडौँ क्षेत्र नं ४ बाहेक सबै उम्मेदवारको नाम टुङ्गो लागिसकेको छ । काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, क्षेत्र नं २ मा मणिराम फुयाल, क्षेत्र नं ३ मा रामेश्वर फुयाल, क्षेत्र नंं ६ मा अमनमान मास्के, क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नं ८ मा राजु शाक्य, क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नंं १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

सिमेन्ट उद्योगमा कार्यरत एक मजदूरको काम गर्ने क्रममा मृत्यु, एक घाइते

दाङ। लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शङ्कर चौधरी रहेका छन् ।

उद्योगमा पावर प्लान्टको काम भइरहेका बेला खनिएको ठूलो खाडलमा माटोको ढिस्को खस्दा दुईजना पुरिएका थिए ।

दुवै जनालाई उद्धार गरी लमही अस्पताल लगिएकामा अरविन्दको उपचारका क्रममा मृत्यु भएको र घाइतेको सोही अस्पतालमा सामान्य उपचारपछि शिक्षण अस्पताल कोहलपुर पठाइएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

एन्फा फुटबलः नवजनजागृति क्लबलाई पराजित गर्दै लालीगुराँस विजयी

काठमाडौँ। एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लालीगुँरास एसोसिएसन क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा लालीगुँरासले नवजनजागृति क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

लालीगुँरासको जितमा आशिष गुरुङले दुई, अब्दुल युसुफ र अकोएटे जुनियरले एक–एक गोल गरे । नवजनजागृतिका लागि उमेश सञ्जेलले गरेको गोल सान्त्वना बन्यो ।

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी)ले सातदोबाटो युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो ।

एनआरटीका लागि विज्ञान खड्काले दुई गोल गरे । यस्तै एक गोल टिमोथे एकिरिकेको नाममा रह्यो । सातदोबाटोको लागि फोडे फोफानाले एक गोल फर्काएका थिए ।

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चारवटा सङ्घीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा निर्वाचनको तयारी तीव्र पारिँदै मतदाता र मतदान केन्द्रको अन्तिम सङ्ख्या टुङ्गो लगाइएको हो ।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचन क्षेत्र नं १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी कूल एक लाख ११ हजार ९४९ मतदाता र १३० मतदान केन्द्र रहेका छन् । निर्वाचन क्षेत्र नं २ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी कूल एक लाख १५ हजार ७६० मतदाता र १३६ मतदान केन्द्र कायम गरिएको छ ।

क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नं ३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी कूल एक लाख १९ हजार २५० मतदाता र १३६ मतदान केन्द्र तोकिएको छ भने ४ नं क्षेत्रमा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिलासहित एक लाख छ हजार ६८६ मतदाता र १२९ मतदान केन्द्र कायम गरिएको छ ।

सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार निर्वाचनलाई व्यवस्थित बनाउन चारवटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा ल्याइएको छ ।

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको लु१च ५५७१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–७ की ४० वर्षीया रेशमाया श्रीस, सोही ठाउँका आठ वर्षीय सरोज श्रीस, निसीखोला गाउँपालिका–६ की १५ वर्षीया मनिषा बुढा मगर, ढोरपाटन नगरपालिका–२ की २८ वर्षीया जुना थापा र चालक चालक ढोरपाटन–७ का २८ वर्षीय सुजन घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिनुभयो ।

घाइते पाँचै जनालाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरी बुर्तिबाङ अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक थापाको भनाइ छ । गाडीको ब्रेकफेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

सूचना मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बिदाइ गरेको छ ।

आज साँझ आयोजित कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उदय रानाले उहाँलाई माला, खादा र उपहार प्रदान गरी मन्त्रालयका तर्फबाट बिदाइ गर्नुभयो । मन्त्री खरेलले आजै साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नुभएको थियो । जेनजी आन्दोलनका बलमा गठन भएको वर्तमान सरकारमा उहाँ गत असोज ६ गते मन्त्री नियुक्ति हुनुभएको थियो ।

बिदाइ कार्यक्रममा उहाँले चार महिनाको अवधिमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा देश र जनताको सेवा गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेको बताउनुभयो ।
निवर्तमान मन्त्री खरेलले मन्त्रालय र मातहतका निकायबाट यस अवधिमा पूर्ण रुपमा सहयोग प्राप्त भएकाले छोटो अवधिमै पनि महत्त्वपूर्ण काम गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “थोरै समय भए पनि राज्य सञ्चालनका विषयमा धेरै सिक्ने अवसर मिल्यो, यहाँ प्राप्त अनुभव देश र जनताका लागि समर्पित गर्नेछु । मेरा काम पारदर्शी छन्, मूल्याङ्कन होस् । मन्त्रीका रुपमा कार्य सम्पादन गर्दा दुःखद् अनुभूति केही छैनन् । सबै सुखद र उपलब्धिमूलक, परिणाममुखी तथा सौहार्दपूर्ण रह्यो ।”

उहाँले कर्मचारी वा राजनीतिकर्मीको एकल प्रयासले देश अघि बढ्न नसक्ने भएकाले दुवैको सामूहिक प्रयासको आवश्यकतामा जोड दिनुभयो । मन्त्रालयका निमित्त सचिव रानाले राजनीतिक वृृत्तको अनुभव नभए पनि पत्रकारिता क्षेत्रको लामो अनुभवले मन्त्री खरेलको छोटो अवधिमा महत्त्वपूर्ण प्रगति र अतुलनीय कामको अभिलेख भएको बताउनुभयो ।

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

बागमती। बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

आज साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र बसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

काफ्लेले प्रदेशसभा सचिवालयमै पुगेर उपसभामुख अप्सरा चापागाईलाई राजीनामा बुझाउनुभएको छभने प्रदेशसभा सदस्य मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमार्फत राजीनामा पठाउनुभएको सचिव पौडेलले बताउनुभयो ।

राजीनामा दिनुभएका मास्के प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट काठमाडौैँ क्षेत्र नम्बर ६ मा टिकट पाउनुभएको छ ।

यसैगरी दुलाल नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनुभएको छ । प्रदेशसभा सदस्यहरुको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत प्रक्रिया अघि बढेको सचिव पौडेलको भनाइ छ ।

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारी – डा भट्टराई

गोरखा – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

“प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो भएकाले त्यहाँ रहेर नै राष्ट्रिय स्वाधीनता, सर्वभौमसत्ता र सुरक्षा नीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्नुपर्छ,” उहाँले भन्नुभयो, “भू–राजनैतिक सन्तुलन मिलाएर देशलाई स्वाधीनताको मजबुत दिशातर्फ लैजान प्रतिनिधिसभामा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिन लागेको हुँ ।”

संसद् बाहिरबाट भन्दा संसद्भित्र बसेर राष्ट्रहितका एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन सकिने डा भट्टराईको भनाइ थियो । लामो छलफलपछि उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा–२ मा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो ।

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

मस्को। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’ मा सामेल हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमन्त्रित गरिएको रूसले बताएको छ ।

समिति विश्वव्यापी रूपमा द्वन्द्व समाधान गर्न, गाजामा प्रशासन चलाउन र पुनर्निर्माणको निरीक्षण गर्न सक्रिय रहने बताइएको छ ।

मस्कोले वर्षौंसम्म इजरायल र प्यालेस्टिनीसहित मध्यपूर्वका सबै प्रमुख शक्तिहरूसँग सम्बन्ध सन्तुलनमा राख्ने प्रयास गर्दै आएको छ । इजरायल–हमास युद्ध र युक्रेनमा रुसको आक्रमणपछि पुटिन इजरायलसँगको सम्बनधबाट टाढा रहनुभएको छ र इरानजस्ता आफ्ना शत्रुहरूसँग सम्बन्ध बलियो बनाउनुभएको छ ।

बढ्दो पश्चिमा एक्लोपनका बीच मस्कोले खाडी राष्ट्रहरूसँग पनि घनिष्ठ सम्बन्ध खोजेको छ। रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीसहितका सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भन्नुभयो, “राष्ट्रपति पुटिनलाई पनि शान्ति समितिमा आवद्ध हुन निमन्त्रणा प्राप्त भएको छ।”

रुसले वाशिङ्गटनको प्रस्तावको ‘सबै सूक्ष्मताहरू स्पष्ट’ गर्न खोजिरहेको बताउनुभयो तर उहाँले क्रेमलिन प्रमुख पुटिन सामेल हुन इच्छुक भएको वा नभएकोबारे भने केही जनाएको छैन ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति आफैको अध्यक्षतामा रहेको तथाकथित शान्ति समितिमा बस्न संसारभरका विभिन्न व्यक्तित्वहरूसँग सम्पर्क गरेको छ।

पुटिनले यसअघि द्वन्द्व समाधानका लागि ट्रम्पको प्रयासको प्रशंसा गरिसक्नुभएको छ। “उहाँले दशकौँसम्म चलेका यी जटिल सङ्कटहरू समाधान गर्न वास्तवमै धेरै काम गरिरहनुभएको छ,” पुटिनले गत अक्टोबरमा भन्नुभएको थियो ।

मध्यपूर्वको अवस्थाबारे सङ्केत गर्दै पुटिनले भन्नुभएको थियो, “यदि हामी अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयास गरेका सबै कुरा हासिल गर्न सफल भयौँ भने यो एक ऐतिहासिक घटना हुनेछ।”

युक्रेनमा आक्रमण र गाजामा युद्धले रुसमा जन्मेको ठूलो समुदायको घर इजरायलसँग मस्कोको परम्परागत रूपमा राम्रो सम्बन्धलाई बिगारेको छ ।क्रेमलिनले अक्टोबर ७ को आक्रमणमा इजरायलको प्रतिक्रियाको बारम्बार आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ ।

गत मे महिनामा प्यालेस्टिनी नेता महमुद अब्बाससँगको भेटमा पुटिनले भन्नुभयो, “गाजा पट्टीले पूर्ण अर्थमा मानवीय विपत्तिको अनुभव गरिरहेको छ।”“प्यालेस्टिनी जनताको मित्रको रूपमा रूसले नियमित सहयोग प्रदान गर्न कोशिस गरिरहेको छ,” रूसी राष्ट्रपतिले गाजा शान्ति सम्बन्धबारे भन्नुभयो ।

रास्वपाबाट गुल्मी–१ मा उम्मेदवार बन्ने सागर ढकालको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । उनलेआफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिए ।

उनले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन् ।

उनले लेखेका छन् – गुल्मी–गुजरात मोडेल : अब नेपालको पालो ।
१६५ निर्वाचन क्षेत्रमा “मतान्तर प्रतिशतमा” पहिलो ??
भारतका सबै खर्बपतिमध्ये ५०% भन्दा बढी र राजनीतिमा आडवानी, मोदी, गान्धी सबै गुजराती नै छन्। साँचो अर्थमा भारतको कायापलट हुनुमा गुजराती मानसिकता, धार्मिकता, नैतिकता र औद्योगिक सोच अत्यन्तै हावी छ।
त्यसैगरी, गुल्मी र वरपरका जिल्लाहरू नेपालकै “Intellectual Powerhouse” भनेर दशकौँदेखि स्थापित छन्। लोक सेवामा गुल्मी कहिल्यै पछि परेको छैन। सामान्य पास मात्र हुनु गुल्मेली हुनुको अर्थ रहँदैन। गुल्मीको पानीमै पनि बौद्धिकता, उत्कृष्टता र इमान्दारिता छ।
अब यो ७७ वटै जिल्लामध्ये रहेको अद्भुत क्षमतालाई हामीले देशको कायापलट गर्नुमा लगाउनु छ। अबका २५ वर्षमा विकासमा नेपालको व्यापक फड्को मार्नु छ। इतिहासमै पहिलो पटक ५ वर्ष एक प्रधानमन्त्री बनाउनु छ। कर्मचारीतन्त्रका समस्या समाधान गरी देशको काँचुली नै फेर्नु छ। डडेलधुराको बिउ “४० मुनिको प्रधानमन्त्री – बालेन” झापामा लगेर पुर्ण रुपमा हुर्काउनु छ। विश्व इतिहास रच्नु छ।
यो चुनावमा म ढुक्क छु, गुल्मीले छुट्टै इतिहास रच्ने छ। १६५ निर्वाचन क्षेत्रमा गुल्मी “मतान्तर प्रतिशतमा” ऐतिहासिक मतान्तरसहित नेपालकै प्रथम हुनेछ भन्ने कामना गरेको छु।
मेरो अनुरोध छ—जसरी गुजरातले पूरै भारतलाई कायापलट गरिरहेको छ, अब हजुरहरूको पालो हो। हजुरहरूले गुल्मीलाई देशभरि १६५ निर्वाचन क्षेत्रमा प्रथम बनाएर गुल्मेली करेन्ट नेपालभरि पठाउँदै गर्दा पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, प्युठानमा पनि सहयोग गर्नुहोला। अब गुल्मीले गुल्मी मात्र होइन, देश नै कायापलट गर्छ।
डडेलधुराका जनता: हजुरहरूलाई बोलेका कुरा कति पूरा गरेँ, त्यसको रिपोर्ट बुझाउन आउँछु। सुदूरपश्चिमका मुद्दा र मधेसका मुद्दा देशव्यापी रूपमा उठाउँछु। बिस्तृतमा डडेलधुरा आएर नै भन्नेछु।
नेपालको इतिहास र गुल्मीको छुट्टै इतिहास रच्न भोलि तम्घास, गुल्मीमा भेटौँ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा, यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न तयारी पूरा भएको छ।देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।

उहाँले यसपटक आयोगले आचारसंहितामै उल्लेख गरेर उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको र उक्त विवरण खामबन्दी गरी बुझाउनुपर्ने बताउनुभयो । “आचारसंहिता पालना गर्छु, कानुनले अयोग्य ठहराएमा उम्मेदवारी रद्द हुँदा पनि मञ्जुर छ, निर्वाचन कानुनसम्बन्धी सबै व्यवस्थाको पालना गर्छु, जस्ता विषय उम्मेदवारले स्वघोषणामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ”, सहायक प्रवक्ता जिसीले भन्नुभयो ।

उम्मेदवारीसँगै १३ प्रकारका कागजात पेस गर्नुपर्ने

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने व्यवस्था थरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही मङ्गलबार हुने मनोनयनपत्र दर्ता गर्दा उम्मेदवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

उम्मेदवारी दिँदा सङ्घीय, प्रदेश वा स्थानीय सरकार तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तीनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्ने उहाँले सुनाउनुभयो ।

उम्मेदवारले प्रतिनिधि तोकी मनोनयनपत्र दर्ता गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुुपर्नेछ ।

यसैगरी प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि समावेश गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । विपन्नका हकमा स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि समावेश गर्नुपर्नेछ ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी गरेको सम्पत्ति विवरण पनि पेस गर्नुपर्ने जनाइएको छ ।

निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची १० बमोजिम भरिएको वैयक्तिक विवरण फारम, निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए फर्छ्यौट भएको ब्यहोराको निस्सासमेत संलग्न गर्नुपर्नेछ ।

लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए फर्छ्यौट गरेको निस्सा र निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची ३ बमोजिमको प्रतिबद्धता पत्र पनि समावेश गर्नुपर्ने आयोगले आजै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ निर्वाचन कार्यक्रम

मङ्गलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन

क्यानबरा – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत जनसङ्ख्या भन्दा बढी रहेको छ, जसले करिब ११ लाख मानिसको जीवनभरको खर्च बराबर हुने देखाइएको अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफ्यामको प्रतिवेदनले जनाएको छ ।

त्यहीबीच, साधारण नागरिक दैनिक जीवनको खर्च, घर भाडा र महँगाईको समस्यासँग जुधिरहेका छन् ।अष्ट्रेलियामा करिब तीन लाख ७० हजार मानिस गरिबीको सिमानामा रहेका छन्, जसमा १५ वर्षमुनिका करिब ७५ हजार बालबालिकापनि पर्छन् । प्रतिवेदनले हरेक तीनमध्ये एक घरपरिवारले विगत वर्ष खाना सङ्कटको सामना गरेको देखाएको छ ।

यस प्रतिवेदनले देशमा आम्दानी असमानता बढिरहेको र साधारण जनताको जीवनयापन चुनौतीपूर्ण भइरहेको तथ्यलाई स्पष्ट गरेको छ ।

निर्वाचनलाई लक्षित गर्दै माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

पर्वत, माघ ५ गते ।जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर माघ २० गते भित्र बुझाउन अनुरोध गरेको हो ।

द्वन्द व्यवस्थापनपछि गाउँगाउँमा रहेका अवैध हतियारलाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले विभिन्न प्रकृतिका ७५ थान हतियारलाई कानुनी दायरामा ल्याएर दर्ता गराएको छ । आगामी निर्वाचनको मिति घोषणा भएको र उक्त निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार इजाजत प्राप्त हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक महिना पश्चात् उहाँहरूलाई नै फिर्ता गर्नेगरी हातहतियार धनीहरूलाई नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरूसंँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू माघ २० गते भित्र स्थानीय प्रहरी कार्यालयहरूमा अनिवार्य रूपमा बुझाउन आग्रह गरेको उहाँको भनाइ छ ।हातहतियार दर्ता गराएर हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेपनि जिल्ला प्रशासन कार्यालय पर्वतमा नवीकरणको यथेष्ट तथ्याङ्क भने छैन ।

नवीकरण गर्दा जुनसुकै जिल्लाबाट पनि गर्न सकिने भएकाले नविकरणको विवरण अद्यावधिक हुन नसकेको कार्यालयले जनाएको छ । समयमै हातहतियार नबुझाउनेहरूलाई खोजतलास गरी कानुन बमोजिम कारबाही प्रकृया अघि बढाउने चेतावनी पनि प्रशासनले दिएको छ ।

सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् ।

चार महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरेको उनको भनाइ छ । साथै, आगामी फागुन २१ मा हुन गइरहेको आमनिर्वाचन सफल बनाउन प्रधानमन्त्री नेतृत्वको सरकारबाट भइरहेको प्रतिबद्धतामा आफू पनि सहभागी हुन पाएकोमा गौरव महसुस गरेको उनले उल्लेख गरेका छन् ।

खरेलले वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षालाई मध्यनजर गर्दै दलीय राजनीतिमार्फत सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नु आवश्यक ठानेको बताएका छन् । सरकारको स्वतन्त्र र गैरराजनीतिक पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै राजीनामा दिएको उनको स्पष्टिकरण छ ।राजीनामापछि पनि आफ्नो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ ।

सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुँडिखेलमा आयोजित ‘तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले सबै जातजातिका मौलिक परम्परा, संस्कृति र जीवन पद्धतिको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

आजको समय देशले शान्ति, सुव्यवस्था, सहअस्तित्व र स्थायित्व खोजिरहेको समय भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विविधता बीचको सम्मान, सहिष्णुता र आपसी विश्वासले मात्रै हामीलाई दिगो स्थिरतातर्फ लैजाने बताउनुभयो ।

सोनाम ल्होसारजस्ता पर्वहरूले आफ्नोपन, मौलिकता र राष्ट्रिय एकताको भाव सिकाउने जनाउँदै प्रधानमन्त्रीले यसबाट हाम्रो सांस्कृतिक पहिचान विश्वमञ्चमा पुगिरहेको बताउनुभयो ।

रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले ल्होसारसँग जोडिएको पञ्चतत्व र स्वस्थ जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान, विज्ञान र जीवन पद्धतिको गहिरो पक्षलाई उजागर गर्ने बताउनुभयो ।कार्यक्रममा तामाङ समुदायका व्यक्तिले आ–आफ्नो वेशभूषासहितको पहिरनका साथ सांस्कृतिक प्रस्तुति दिनुभएको थियो । रासस

भयमुक्त वातावरणमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी

काठमाडौँ, माघ ५ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताउनुभएको छ ।मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उहाँले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षासमेत गर्नुभएको उल्लेख गर्नुभएको छ ।

निर्वाचन घोषणा भएसँगै आयोगले कार्यसम्पादन गर्नुपर्ने विषयलाई कार्यतालिका बनाई अघि बढेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब भोलिअर्थात् माघको ६ गते जो–जो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयन पत्र दाखिल गर्ने समय आएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ ।”

कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले गए राति १२:०० बजेदेखि आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताउनुभएको छ ।

“अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन् । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ, आयोग यसैमा ढुक्क छ”, उहाँले भन्नुभएको छ ।

आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्नेलगायतका कानुनी प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले निर्वाचनका विषयमा अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्ने उल्लेख गर्दै आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्न नमिल्ने स्पष्ट पार्नुभयो ।

“मनोनयन पत्र दाखिला गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्न सक्नुभएन भने आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था दिएकै छ । हामीले विभिन्न निर्देशिकामार्फत यसको जानकारी गराएका छौँ”, कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभएको छ । रासस

सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् ।सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिदैँ उनले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताए ।

उनले भने, ‘सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिन्छ ।’

यस्तै, उनले तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको भन्दै यही विविधता नै राष्ट्रिय एकताको बलियो आधार भएको बताए ।

उनले आज पनि सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि संघर्ष जारी रहेको भन्दै सोनाम ल्होसारले सबैलाई विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनाउन सहयोग गर्ने बताए ।

लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।

मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।

कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित हुने बिहानी आरतीमा सहभागी भएका थिए ।

विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

विधायन व्यवस्थापन समितिको १५९ औं बैठक दिनको १२ः०५ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो ।आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

नेपाल प्रहरीका आठ डीआईजीको सरुवा, कसको कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीका ८ प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डिआइजी अरुण पौडेल बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएका छन् । यस्तै कार्य विभागका जयराम सापकोटा कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

यस्तै गण्डकी प्रदेश कार्यालयका दिनेश कुमार आचार्य प्रहरी प्रशिक्षण महाराजगञ्जमा, अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मी बागमती प्रदेश प्रहरी कार्यालयमा र प्रहरी प्रशिक्षण प्रतिष्ठानका दीपेन्द्र घर्ती क्षेत्री गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरोका भुपेन्द्र खत्री लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा र कर्णाली प्रदेश प्रहरीका माधव प्रसाद श्रेष्ठ केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका छन् । यस्तै लुम्बिनी प्रदेश प्रहरीका राजेन्द्र भट्ट अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

उम्मेदवारी दर्ताका लागि झापा जाँदै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि आज झापा जाँदैछन् ।झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०ः२५ भद्रपुर जाने कार्यक्रम रहेको छ ।

झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने र आफ्नै निर्वाचन क्षेत्र झापा–५ को तयारीबारे दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ ।झापा–५ मा ओली, बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं, माघ ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेको चार महिनामा मन्त्रालय र मातहत निकायका कर्मचारीबाट कुनैपनि असहयोग नभएको बरु सौहार्दपूर्ण व्यवहार तथा समन्वयात्मक ढंगले काम भएको स्पष्ट पारे । मन्त्री खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्दै सचिव अर्यालसँगको समन्वयको प्रशंसा गरे ।

सचिव अर्यालले मन्त्रालयमा डेढ वर्षको अवधिमा आमसञ्चार, दूरसञ्चार, मुद्रण, चलचित्र, हुलाकलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै त्यसको फलस्वरुप मन्त्रालयले उपलब्धि हासिल गरेको बताइन् ।

उनले राष्ट्रको समग्र विकासका लागि नयाँ डिजिटल प्रविधि अपनाउनुपर्ने र राजनीतिज्ञ तथा कर्मचारी प्रशासनको विश्वास मजबुत बनाउनुपर्नेमा जोड दिइन् । सञ्चार मन्त्रालयकी सचिव अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा सरुवा भएकी हुन् ।

सो अवसरमा सचिव आर्यालले आफ्नो कार्यकालमा दूरसञ्चार, रेडियो तथा टेलिभिजन दर्ता नवीकरण, सार्वजनिक सेवा प्रसारण, डिजिटल नेपाल फ्रेमवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समितिका कानूनसम्बन्धी देखिएका धेरै समस्याहरू समाधान भएको जानकारी दिँदै अनलाइन समाचारलाई सत्यनिष्ठ र जिम्मेवार बनाउनुपर्ने बताइन् ।

प्रतिनिधिसभा निर्वाचन : पर्सामा १६७ मतदानस्थल, ६२ अति संवेदनशील सूचीमा

वीरगञ्ज (पर्सा), ५ माघ : जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्लाभरि भने एक सय ६७ वटा मतदानस्थल छन् । क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउँदै आइरहेको दाबी गर्नुभयो ।

‘‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गले अघि बढाउनको लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउँदै आइरहेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘निर्वाचनको तयारीस्वरुप विभिन्न मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण र आवश्यक समन्वयको काम पनि भइरहेको छ ।’’

पर्सामा एक सय ६७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, ८५ वटा संवेदनशील र २० वटा कम संवेदनशीलको सूचीमा राखिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले गत माघ २ गते जिल्लामा चार वटै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना भइसकेको छ । अहिले चार वटै निर्वाचन अधिकृतको कार्यालय पनि सुरक्षाकर्मी खटाएर सुरक्षा प्रबन्धको व्यवस्था मिलाइएको छ ।

जिल्लामा चार सय ४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् । यहाँ चार वटा निर्वाचन क्षेत्र रहेका छन् यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ एक सय १४ निर्वाचन क्षेत्र छन् ।

पर्सा जिल्लामा कूल मतदाता सङ्ख्या तीन लाख ७६ हजार पाँच सय १३ छन् । तीमध्ये एक लाख ६४ हजार चार सय २१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।

‘समावेशिताका आधारभूत मूल्यलाई अझ सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ’ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले अझ सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक मनाउने महान् पर्व सोनाम ल्होसार २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको हाम्रो देशलाई एकताको सुत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामर्थ्य नेपाली पर्वहरूमा निहित रहेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, “यस पर्वले नयाँ वर्षको आगमनसँगै हाम्रो मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई पुन:स्मरण गराउँदै पुस्तादेखि पुस्तासम्म निरन्तरता दिने अमूल्य अवसर प्रदान गर्दछ, सामूहिकता, भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट तथा शुभकामना आदानप्रदान जस्ता परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँछन् ।”

मेची भन्सारबाट ६ महिनामा रु सात अर्ब १९ करोडको अलैंची निर्यात

झापा, ५ माघ । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले बताउनुभयो ।

गत आवको साउनदेखि पुससम्ममा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलैंची पूर्वीनाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको छ महिनामा रु ७६ करोड पाँच लाख तीन हजार मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा रु ४५ करोड ७६ लाख ३४ हजार मूल्य बराबरको दुई लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ ।

भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ । चालु आव २०८२/८३ को छ महिनामा रु. ५३ करोड चार लाख ९६ हजारको भेनियर सिट र रु नौ करोड १२ लाख ८७ हजार मूल्यको मुसुरो दाल निर्यात भएको छ ।

गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६ दशमलव ४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४ दशमलव ५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ ।

चालु आवको छ महिनामा रु दुई अर्ब १७ करोड ८७ लाख पाँच हजार मूल्य बराबरको चिया र रु एक अर्ब नौ करोड ७४ लाख तीन हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार मूल्य बराबरको चिया र रु एक अर्ब ९७ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको थियो ।

यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अर्धवार्षिक अवधिमा रु ३३ करोड ८९ लाख तीन हजार मूल्य बराबरको अम्लिसो, रु ५० करोड १७ लाख ३२ हजार मूल्य बराबरको अदुवा र सुठो, रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली, बन्दाकोभी र ब्रोकाउली र रु पाँच करोड ७४ लाख २७ हजार मूल्य बराबरको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाइँले जानकारी दिनुभयो ।

आजको मौसम : तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ ।

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभयो, “नेपाली जनताको महान त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ, प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।”

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार पर्वले समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै उहाँले यस पर्वले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने आशा व्यक्त गर्नुभएको छ ।

यही व्यवस्थामा दिगो शान्ति र सुशासन खोज्नुपर्छ- उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय तथा देशविदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदिबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “विविधताले युक्त भएर विभिन्न समुदायहरूबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको छ ।”

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं, ५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन ।

उनले सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै भनेका छन, “तामाङ समुदायको महान पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।”

राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन ।

ल्होसार जस्ता पर्वहरूबाट नेपालीबीच आपसी सद्भाव अभिवृद्धि : उपसभामुख

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको पावन अवसरमा आज तामाङ समुदाय तथा देशविदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदिबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक कारोबार नभएका र अब सञ्चालन हुन सक्ने स्थिति नभएका सहकारीको दर्ता खारेजी गरिएको सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले बताउनुभयो ।

कार्यालयले स्याङ्जा, गोरखा, तनहुँ, कास्की, म्याग्दी, लमजुङ, बागलुङ र पर्वतका निष्क्रिय सहकारीको दर्ता खारेज गरेको हो । दर्ता खारेज हुनेमा सबैभन्दा धेरै सहकारी स्याङ्जा जिल्लाका रहेका छन् । स्याङ्जामा आठ सहकारीको दर्ता खारेज भएको छ ।

स्याङ्जाका आठ वटै सहकारी चालु आर्थिक वर्षमा दर्ता खारेज भएका उहाँले जानकारी दिनुभयो । सहकारी रजिष्ट्रार रिजालका अनुसार गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २, लमजुङ, बागलुङ र पर्वतमा समान एक÷एकवटा सहकारीको दर्ता खारेज भएको हो ।दर्ता खारेज हुने सहकारीमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन, अदुवा उत्पादनका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना गरिएका सहकारी छन् ।

“सहकारीको दर्ता खारेजका लागि सात वटाको प्रक्रिया पूरा भएको छ” उहाँले भन्नुभयो, “बाँकी १० सहकारी दर्ता खारेजीको थप प्रक्रियामा रहेका छन्, दर्ता खारेज हुने क्रम अझै बढ्छ ।”सहकारी रजिष्ट्रार कार्यालय पोखरामा हाल ८९० वटा सहकारी रहेका छन् ।

यसमध्ये ५८८ सहकारी अद्यावधिक भएर सञ्चालनमा छन् । ३०२ सहकारी निष्क्रिय छन् । सहकारीसंग जोडिएका विभिन्न विषयगत सङ्घ तथा सहकारी संस्था निष्क्रिय रहेका हुन् । ती निष्क्रिय रहेका सङ्घ तथा सहकारीमध्ये जिल्लामा मात्रै सङ्घ तथा संस्था गरी ५० निष्क्रिय छन् ।

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र

सोलुखुम्बू । हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो ।पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ ।

फागुन १५ देखि जेठ १५ सम्म र असोजदेखि मङ्सिर १५ सम्मलाई मुख्य पर्यटकीय याम मानिन्छ । याममा दैनिक ९०० देखि एक हजार जनासम्म पर्यटक प्रवेश हुने खुम्बू क्षेत्रमा अहिले मुस्किलले दुई–चार जना पर्यटक मात्रै आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेका सूचना अधिकारी विवेक बइजुले जानकारी दिए ।

होटल खोलेरै बसेका कतिपय होटल व्यवसायी फुर्सदिलो बनेको खुम्बू पासाङल्हामु गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए । स्थानीय बासिन्दा चिसो छल्न अन्यत्र जाँदा खुम्बू सुनसान बनेको उनको भनाइ छ ।

‘यहाँ प्रायजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुने हुँदा यहाँका मानिस जाडो छल्न बेँसी झर्ने गर्दछन् । चिसो छल्न मङ्सिर पहिलो साताबाटै काठमाडौं, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गर्छन्’, खुम्जुङ माध्यमिक विद्यालयका शिक्षक तिलक विश्वकर्माले भने ।

स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ ।

निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुई वटा रेञ्जपोष्ट छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार खुम्बू क्षेत्रमा पछिल्ला दिनमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा निकै तल छ ।

नाम्चे बजारमा न्यूनतम तापक्रम माइनस ६ देखि ८ डिग्री सेल्सियससम्म पुगेको स्थानीयको भनाइ छ । गोरक्सेप र कालापत्थर क्षेत्रमा तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।

माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै

काठमाडौ, ५ माघ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ ।

करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् ।

यस अवसरमा आइतबारदेखि नै राजधानीको टँुडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।
प्रतिक्रिया