`

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ ५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ७० पैसा र बिक्रीदर १८१ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा , बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४५ पैसा , ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न हुन्छ, के हुँदैन?

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ ।

पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन् ।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन् ।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ ।आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि आयोगले सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

बाजुरामा विद्युत्को तार सट भई आगलागी हुँदा एउटा घर नष्ट

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ः०० बजे एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा विद्युत्को तार सट भई आगलागी हुँदा खरले छाएको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

उनका अनुसार विद्युत्को तार सट भई आगलागी भएको खबरपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली खटिएको छ । खरले छाएको तीनतले घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेको प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट लाखौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी टोली घटनास्थल गएकाले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

रास्वपाले गठन गर्यो संघीय नेतृत्व मञ्चसहित निर्वाचन परिचालन समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले विभिन्न समितिहरू गठन गरेको छ ।आइतबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्चसहितका समितिहरु गठन गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार बैठकले संघीय नेतृत्व मञ्चमा केही सदस्यहरू मनोनयन गरेको छ ।

संघीय नेतृत्व मञ्चमा मनोनयन हुनेमा डा. तारा प्रसाद जोशी, डा. विशाल भण्डारी, डा. सागर ढकाल, रिमा विश्वकर्मा, विशाल गैरे, डा. शंकर ढकाल, सरला लामिछाने, नेत्र कार्की, मिनराज आचार्य, निर्देष सिलवाल, क्षितिज भण्डारी र विजय कडेल रहेका छन् ।

‘अमेरिकी अतिरिक्त करसम्बन्धी चेतावनीको जवाफ दिन युरोप तयार’

बेल्जिय। मयुरोपेली नेताहरूले ग्रिनल्याण्डसम्बन्धी आफ्नो योजनाको विरोध गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने धम्कीको आइतबार प्रतिवाद गरेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ’गल्ती’ नगर्न वासिङ्टनसँग आग्रह गर्नुभएको छ।

ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फर्किएपछि व्यक्त गरेको डेनमार्कको स्वायत्त क्षेत्र आर्कटिक टापु कब्जा गर्ने आफ्नो इच्छालाई लुकाएको पाइदैन । हालैका हप्ताहरूमा यो दाबीले ट्रान्सएटलान्टिक सम्बन्धलाई गहिरो रूपमा हल्लाएको छ ।

उहाँले शनिबार फेरि आक्रमण बढाए र आठ युरोपेली देशहरूले सैन्य अभ्यासको एक भागको रूपमा ग्रीनल्याण्डमा केही दर्जन सेना पठाएपछि अतिरिक्त कर लगाएर दण्डित गर्ने चेतावनी दिनुभयो ।

ट्रम्पसँग राम्रो सम्बन्ध भएको मानिएकी प्रधानमन्त्री मेलोनीले युरोपलाई आर्थिक रूपमा दण्डित गर्नु आफ्नो गल्ती भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “मलाई विश्वास छ, अहिले नयाँ प्रतिबन्ध लगाउनु गल्ती हुनेछ । मैले केही घण्टाअघि डोनाल्ड ट्रम्पसँग कुरा गरेको थिएँ र उहाँसँग आफ्नो धारणा बताएकी थिएँ ।”

यद्यपि, मेलोनीले पत्रकारहरूलाई ग्रीनल्याण्डमा युरोप र अमेरिकाबीच ‘समझदारी र सञ्चारको समस्या’ रहेको भन्दै द्वन्द्वलाई कम गर्ने प्रयास पनि गर्नुभयो ।

उहाँले बढ्दो सङ्कटमा सक्रिय भूमिका खेल्ने नाटोको जिम्मेवारी रहेको बताउनुभयो । बेलायती संस्कृति मन्त्री लिसा नन्दीले बीबीसीसँगको अन्तर्वार्तामा भन्नुभएको छ, “बेलायती प्रधानमन्त्री केइर स्टार्मरले जतिसक्दो चाँडो ट्रम्पसँग यस विषयमा छलफल गर्ने योजना बनाइरहनुभएको छ।”

“हामी विश्वास गर्छौँ कि यो गम्भीर रूपमा असहयोगी र प्रत्युत्पादक छ । प्रधानमन्त्रीले यसलाई स्पष्ट पार्न पछि हट्नुहुनेछैन,” उहाँले भन्नुभयो ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युरोपेली सङ्घलाई आफ्नो शक्तिशाली ‘एन्टी–कोएर्सियन इन्स्ट्रुमेन्ट’ प्रयोग गरेर खतराको सामना गर्न आह्वान गर्नुभयो ।

पहिले कहिल्यै प्रयोग नगरिएको यो ‘एन्टी–कोएर्सियन इन्स्ट्रुमेन्ट’ उपायलाई इयूको व्यापार ‘बाजुका’ भनिन्छ र यसले वस्तु र सेवाहरूको आयातमा अङ्कुश लगाउन अनुमति दिन्छ ।

ट्रम्पले फेब्रुअरी १ देखि लागु गर्नेगरी डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्याण्डबाट अमेरिका पठाउने सबै सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिनुभएको छ ।

‘ग्रीनल्याण्डको पूर्ण सामान खरिदका लागि सम्झौता नहुँदासम्म’ जुन १ देखि उक्त कर २५ प्रतिशत बढाइने राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

इयूले गत जुलाईमा यहाँबाट अमेरिकी हुने अधिकांश निर्यातमा १५ प्रतिशत कर लगाउने सम्झौता गरेको थियो। इयूले आइतबार ब्रसेल्समा आफ्ना राजदूतहरूको असाधारण बैठक बोलाएको छ ।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले शनिबार करवृद्धिले ‘ट्रान्सएटलान्टिक’ सम्बन्धलाई कमजोर पार्नेछ र सम्बनधमा खतरनाक ओरालो लाग्ने जोखिम हुने बताउनुभएको छ।

प्रदेश सरकारले विद्यालयतहबाटै नैतिक शिक्षालाई जोड दिन्छ- मुख्यमन्त्री बानियाँ

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यालयतहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिने बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले नैतिक शिक्षाबिना समाज र राष्ट्र अघि बढ्न नसक्ने भएकाले विद्यालय तहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिएको बताउनुभयो ।

“गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा शिक्षित व्यक्ति पनि भाटभटेनी लुट्न गएको देख्न सकिन्छ, यसको प्रमुख कारण शिक्षा नभएर होइन । नैतिक शिक्षा नभएर हो”, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “विद्यालयमा नैतिक शिक्षा पढाउन छाडियो, यसका कारण व्यक्तिमा नैतिकता हराएर समाजमा विभिन्न प्रकार विसङ्गति र विकृति बढ्ेको छ, त्यसैले अब नैतिक शिक्षालाई जोड दिनुपर्छ ।”

मुलुकमा गरिखाने शिक्षा आवश्यक रहेको औँल्याउनुहुँदै मुख्यमन्त्री बानियाँले ठगी खाने र मागी खाने शिक्षा अब नचल्ने बताउनुभयो । नयाँ पुस्ताले रोजेको जस्तो र खोजेको जस्तो शिक्षालाई तत्काल पूरा गर्न नसकिए पनि प्राविधिक शिक्षालाई जोड दिई त्यो मार्गमा लैजान सकिने उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो समय एआई (कृत्रिम बुद्धिमता)लगायतका प्रविधिको विकाससँगै विकृति बढेको प्रसङ्ग उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले एआईले दिए सबै प्रश्नको उत्तर सही र सत्य नै दिन्छ भने छैन, त्यसैले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष तथा मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ र भारती पाठक, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालगायतले शुभकामना दिनुभयो।

स्वर्ण महोत्सवका अवसरमा विद्यालय परिसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी तथा खाना महोत्सवसमेत आयोजना गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलबाट पेस भएका समानुपातिक तर्फका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सार्वजनिक विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख छ ।

उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले यही माघ ५ देखि माघ १० गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ ।

दाबी विरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

फ्रान्स। करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार सेवा बन्द गरेको इरानले ‘बिस्तारै’ इन्टरनेट सेवामा पहुँच पुनस्र्थापना गर्ने प्रयास गरिरहेको इरानी अधिकारीहरूले बताएका छन्।

आर्थिक कठिनाइको विरोधमा डिसेम्बरको अन्त्यमा भड्किएको प्रदर्शनलाई इरानी नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको विरोध प्रदर्शनमा परिणत भएको थियो।

इरानी अधिकारीहरूले प्रदर्शनहरू पहिले शान्तिपूर्ण भएको तर विस्तारै ‘दङ्गा’ मा परिणत भएको बताएका छन् र यसमा इरानले शत्रु घोषणा गरेका संयुक्त राज्य अमेरिका र इजरायलबाट विदेशी प्रभावलाई दोष दिएका छन्।

जनवरी ८ देखि सुरु भएको आन्दोलन अधिकारवादी समूहहरूले विरोध प्रदर्शनको आकार र तीव्रता बढ्दै गएपछि सञ्चार बन्दको आवरणमा सुरक्षा बलले गरेको ‘नरसंहार’ भएको र शुक्रबारपछि विरोध प्रदर्शनहरू कम भएका थिए।

सरकारी अधिकारीहरूले भनेका छन्, “अहिले देशमा शान्ति बहाल भएको छ, आइतबार पठनपाठन सञ्चालन गरिएको छ ।तास्निम समाचार एजेन्सीले शनिबार अबेर भनेको छ, “सम्बन्धित अधिकारीहरूले इन्टरनेट पहुँच पनि बिस्तारै पुनस्र्थापना गर्ने घोषणा गरेका छन्।”

अज्ञात स्रोतलाई उद्धृत गर्दै एजेन्सीले भनेको छ, “स्थानीय सञ्चारमाध्यमहरू चाँडै नै इरानको घरेलु इन्ट्रानेटमा सक्रिय हुनेछन्।”आइतबार बिहानसम्म, इन्टरनेट प्रदायक र मोबाइल इन्टरनेटको विशाल क्षेत्र बन्द छ।

मङ्गलबारदेखि अन्तर्राष्ट्रिय कलहरू सम्भव हुने बताइएको छ भने लिखित सन्देश आदानप्रदान शनिबार बिहानदेखि पुनस्र्थापित गरिएको छ।कैयौँ दिनसम्म लिखित सन्देश, अन्तर्राष्ट्रिय फोन कल र कहिलेकाहीँ स्थानीय कलहरू पनि काटिएका थिए।इरानले त्यसपछि आफ्नो इन्ट्रानेटमा भर पर्दै आएको छ ।

अधिकारवादी समूहहरूका अनुसार प्रतिबन्धहरूको बाबजुद पनि सूचनाहरू अझै पनि फिल्टर गरिएको थियो ।

एम्नेस्टी इन्टरनेशनलले हालैका दिनहरूमा दर्जनौं भिडियो र सामाजिक सञ्जालका स्रोतहरूलाई छानेर मात्र बाहिरिन दिइएको बताएको छ।

एम्नेस्टीका इरान अनुसन्धानकर्ता राहा बहरेनीले अनलाइनमा पोस्ट गरेको एक भिडियोमा भन्नुभयो, “उनीहरूले सुरक्षा बलले सडक र उच्च स्थानबाट प्रदर्शनकारीहरूमाथि निरन्तर गोली चलाइरहेको छ र अस्पतालहरू नरसंहारमा घाइते प्रदर्शनकारीहरूले भरिएका छन्।”

नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर) ले इस्लामिक गणतन्त्रको स्वास्थ्य र चिकित्सा प्रणाली भित्रका स्रोतहरू, प्रत्यक्षदर्शी र धेरै स्वतन्त्र स्रोतमार्फत सुरक्षा बलद्वारा मारिएका तीन हजार ४२८ प्रदर्शनकारीहरूको मृत्युको पुष्टि गरेको बताएको छ ।

यद्यपि, एक एनजीओले मृतकको वास्तविक सङ्ख्या धेरै हुन सक्ने दावी गरेको छ । सञ्चारमाध्यमले स्वतन्त्र रूपमा यो तथ्याङ्क पुष्टि गर्न सकिरहेका छैनन् किनकि उनीहरुका सञ्चार सम्पर्क च्यानलहरू अवरूद्ध छन् ।

इरानी अधिकारीहरूले प्रदर्शनका मृतकहरूको यकिन सङ्ख्या सार्वजनिक गरेका छैनन् ।आइएचआरले भनेको छ, “अन्य अनुमानहरूले मृतकहरूको सङ्ख्या पाँच हजारभन्दा बढी र सम्भवतः २० हजार भन्दा बढी रहेको बताएका छन् । यद्यपि इन्टरनेट ब्ल्याकआउटले स्वतन्त्र प्रमाणीकरणमा गम्भीर बाधा पुर्याएको छ।”

यी हुन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ ।

निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् ।

यसअघि निर्वाचन आयोगले माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ । आयोगले उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजातसहित आउन अपिलसमेत गरेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम तपसिल बमोजिमका कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छः

१. उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि ।

२. कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।

३. उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा ।

४. उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम ।

५. प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र ।

६. दलका तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र । तर एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र ।

७. प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर । तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ (आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र) ।

८. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र ।

९. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण ।

१०. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची–१० बमोजिम भरिएको वैयक्तिक विवरण फाराम ।

११. उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्याैट भएको व्यहोराको निस्सा ।

१२. लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्यौट गरेको निस्सा ।

१३. निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–३ बमोजिमको प्रतिवद्धता पत्र ।

आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव- मन्त्री श्रेष्ठ

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति महिलाको सशक्त, अर्थपूर्ण र निर्णायक सहभागिता बिना समावेशी विकास सम्भव नहुने बताउनुभएको छ ।

उहाँले संसद् र नीतिनिर्माण तहमा आदिवासी जनजाति महिलाको उल्लेखनीय उपस्थिति भएमा मात्र दिगो र समावेशी विकासको लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको २५औँ रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले लैङ्गिक असमानता, सामाजिक विभेद, आर्थिक अवसरको सीमितता र सांस्कृतिक बहिष्करण आज पनि आदिवासी जनजाति महिलाका मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा, सचेतनामूलक अभियान, समुदायस्तरीय सशक्तिकरण र संस्थागत पैरवीमार्फत यी चुनौती समाधान गर्न सकिन्छ । यसका लागि एकीकृत प्रयास आवश्यक छ ।”

मन्त्री श्रेष्ठले संविधानले सुनिश्चित गरेका समावेशिता, समानता र सामाजिक न्यायका सिद्धान्तलाई व्यवहारमा उतार्न आदिवासी जनजाति महिलाको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो । उहाँले महिलाको मतदाता सहभागिता बढाउने, महिला उम्मेदवारी प्रवद्र्धन गर्ने तथा ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्न मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।

“विशेष गरी नीतिनिर्माण तहमा सीमित प्रतिनिधित्व रहेको आदिवासी जनजाति महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न म प्रतिबद्ध छु,” उहाँले भन्नुभयो ।

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले विशेष चुनावी अभियानको प्रारम्भ गरेको छ ।

काठमाडौँको भृकुटीमण्डमा जनप्रदर्शनसहित राष्ट्रिय सभागृहमा सभामार्फत अभियानको सुरुवात गरिएको हो । जनप्रदर्शन र सभामा काठमाडौँ उपत्यकासहित यस प्रदेशका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफूहरु निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्र गतिमा लागेको बताउनुभयो ।

एमालेको राजधानी विशेष कमिटीले यसअघि कमिटीको घोषणासहित चुनावी अभियार सुरु गरिसकेको छ ।

युवाको ऊर्जा रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्छः उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले युवाको ऊर्जा नकारात्मक दिशामा होइन, रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्ने धारणा राख्नुभएको छ ।यहाँ आज आयोजित ‘मोडल युनाइटेड नेसन्स ४.०’ समापन समारोहमा उपाध्यक्ष घिमिरेले पछिल्लो समयमा युवालाई दुरुपयोग गर्ने खतरा रहेको चिन्ता व्यक्त गर्नुभयो ।

“देश, राजनैतिक व्यवस्था, राजनैतिक दल र नेतृत्वप्रति अनावश्यक रुपमा घृणा फैलाउन युवा विद्यार्थीलाई दुरुपयोग गर्ने खतरा उत्तिकै देखिएको छ”, उहाँले भन्नुभयो, “युवाको ऊर्जा नकारात्मक दिशामा होइन, रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्ने वातावरण सिर्जना गर्नुपर्छ ।”

उपाध्यक्ष घिमिरेले अझै पनि सबै पक्ष युवाको चाहनाअनुसार नभएकाले दबाबमूलक कार्यक्रमहरुमार्फत युवाको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न आग्रह पनि गर्नुभयो । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा आवाज उठाउने कुरा अपराध नभई नागरिक अधिकारको अधिकार भएकाले शान्तिपूर्ण बहसमार्फत नीतिगत सुझाव दिने, कतिपय अवस्थामा नागरिक अभियानमार्फत राज्यलाई जिम्मेवार बनाउनु युवाहरुको दायित्व हुने भनाइ उहाँको थियो ।

“स्वास्थ्य, शिक्षा, रोजगारी तथा समग्रमा युवा आवाजलाई सशक्त बनाउने आन्दोलनका रुपमा अगाडि बढाउनुपर्छ,” उपाध्यक्ष घिमिरेले भन्नुभयो । मोडल युनाइटेड नेसन्स जस्ता फोरमहरुले शिक्षालाई सामाजिक परिवर्तनसँग जोड्ने प्लेटफर्मका रुपमा काम गर्नुपर्ने उहाँको धारणा थियो ।

“हामीले द्वन्द्व र शान्ति, जलवायु परिवर्तन, गरिबी र असमानता, मानव अधिकार, आर्थिक न्याय जस्ता विषयसँग जोड्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “योसँगै सामाजिक उत्तरदायित्वसँग जोडिएका कोष सङ्कलन, दान अभियान, समुदाय–केन्द्रित कार्यक्रममार्फत संवेदनशील र मानवीय अभ्यासलाई केन्द्रित गर्दै लैजानुपर्छ ।”

नेपालको संविधानले युवालाई देशको परिवर्तनको शक्तिका रूपमा स्वीकार गरेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले देशको भविष्य संसद् भवनभित्र मात्र नभई युवाहरूको सोच, प्रश्न र सक्रियतामा निर्माण हुन्छ भन्नुभयो ।

“संसद्मा आवाज उठाउन र मुलुकका लागि आवश्यक कानुन निर्माणमा भूमिका खेल्न युवाको उपस्थिति अनिवार्य भएकाले संसद्को जिम्मेवारी युवामैत्री कानुन निर्माण गर्ने हो, त्यसका लागि युवा नै त्यहाँ हुँदा थप सहयोग पुग्छ,” उहाँले स्पष्ट पार्नुभयो ।

‘पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई थप सुदृढ बनाएको छ’

काठमाडौँ। सरोकार भएकाहरूले पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षगाँठका अवसरमा नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा आज यहाँ भएको ‘नेपाल क्यानडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन’ विषयक अन्तरक्रियामा सरोकार भएकाहरूले दुई देशको सम्बन्ध विस्तारमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । नेपाल र क्यानडाबीच १८ जनवरी १९६५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै सङ्घका पर्यटनविज्ञ आङछिरिङ शेर्पाले क्यानाडाले नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, पूर्वाधार, जलविद्युत् र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यानडेली पर्वतारोही र पर्यटकहरूको निरन्तर आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको छ । साथै, क्यानडाको सर एडमन्ड हिलारी फाउन्डेसनले खुम्बु र हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र समुदाय विकासमा उल्लेखनीय योगदान दिएको छ ।”

पर्यटनविज्ञ शेर्पाले हिमालय नेपालका लागि केवल भौगोलिक संरचना मात्र नभई सभ्यता, संस्कृति र भविष्यको आधार भए पनि आज जलवायु परिवर्तनका कारण तीव्र रुपमा हिमनदी पग्लिने, हिमताल फुट्ने जोखिम बढ्नु चिन्ताजनक रहेको धारणा राख्नुभयो । “हिमालयको संरक्षण गर्नु भनेको मानव सभ्यताको भविष्य सुरक्षित गर्नु हो । क्यानडाजस्ता मित्रराष्ट्रसँगको सहकार्यमार्फत दिगो विकास, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरण सम्भव छ”, उहाँले भन्नुभयो ।

यसैगरी सङ्घका संरक्षक, पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पर्वतारोहण पर्यटनमा क्यानडाको चासो रहँदै आएको बताउँदै हिमताल जोगाउने विषयमा नेपालको मात्र नभई विश्वकै चिन्ता रहेको बताउनुभयो । उहाँले आगामी दिनमा हिमाल जोगाउने विषयमा थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद प्रतिष्ठानका पूर्वकुलपति उप्रेतीले नेपाल र क्यानाडाले विश्वस्तरका सामाजिक र मानवीय मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष निरोज मास्के, उपाध्यक्ष प्रा डा गोपाल पोखरेल, सङ्घका पूर्वअध्यक्ष इन्जिनियर केशव कुँवर, सदस्य देवेश ढुङ्गाना, सगरमाथा आरोही शेर्पाले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन भयरहित बनाउन सशस्त्रलाई निर्देशन

काठमाडौँ। गृहसचिव राजकुमार श्रेष्ठले विषम परिस्थितिमा आवश्यकताअनुरुप स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले छोटो अवधिमा देश र जनताको सुरक्षामा उल्लेख्य कार्यहरु गर्न सफल भएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणका क्रममा आज गृहसचिव श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले आफ्नो व्यवस्थापकीय सुधारात्मक कार्य प्रभावकारी ढङ्गमा गर्दै आइरहेको बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सङ्कलनमा सहयोग तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यगरी सीमा सुरक्षामा निर्वाह गर्दै आएकाले भूमिका उत्कृष्ट र प्रशंसनीय रहेको बताउनुभयो ।

गृहसचिव श्रेष्ठले यसलाई थप सशक्त बनाउन फिल्डमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले राजस्व चुहावट नियन्त्रण कार्यलाई समेत त्रुटिरहित ढङ्गमा निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनका क्षेत्रमा समेत अग्रपङ्क्तिमा रही कार्य गर्दै आएको र सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन तथा सीमा सुरक्षामा आवश्यक स्रोतसाधनको उपलब्धतामा आवश्यक पहल गर्ने बताउनुुभयो ।

सुरक्षा चुनौतीको समाधानका लागि प्रभावकारी योजना तथा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण तवरमा सम्पन्न गर्न गृहसचिव श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण कर्मचारी उच्च मनोबलका साथ परिचालित हुनुपर्ने बताउनुभयो । सोही अवसरमा उहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विपद् उद्धारमा प्रयोग हुने सामग्रीको समेत अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आफ्नो कर्तव्य पथमा प्रभावकारी रुपमा परिचालित हुन प्रतिबद्ध रहेको बताउँदै विद्यमान सुरक्षा चुनौतीको शान्तिपूर्ण समाधानसहित नागरिकको जनविश्वास हासिल गरी आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।

उहाँले सीमामा बसोबास गर्ने नागरिकको सुरक्षा र सीमा क्षेत्रको विकास भएमा मात्र सीमा सुरक्षा प्रभावकारी हुने हुँदा सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।­­­

आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन हुँदै

काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन यही माघ ९ र १० गते हुने भएको छ ।महासङ्घले आज पत्रकार सम्मेलन गरी कोशी प्रदेश राजधानी महाधिवेशन विराटनगरमा गर्ने निर्णय भएको जानकारी दिएको हो ।

‘प्राकृतिक स्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ भन्ने मूल नारासहित महाधिवेशन हुन लागेको महासङ्घका अध्यक्ष एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।

महाधिवेशनलाई भव्य र सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमिति गठन गरेर तयारी भइरहेको उहाँले बताउनुभयो ।नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई गोलबद्ध गर्दै पहिचानसहितको सामूहिक अधिकार स्थापित गर्ने उद्देश्यले २०४७ सालमा नेपाल आदिवासी जनजाति महासङ्घको स्थापना भएको थियो । नेपालमा कुल जनसङ्ख्यामध्ये करिब ३६ प्रतिशत आदिवासी जनजातिको सङ्ख्या रहेको छ ।

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजाति समुदायमध्ये महासङ्घमा ५६ समुदाय र विभिन्न १२ वटा सम्बद्ध सङ्गठन आबद्ध रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी विभिन्न २५ वटा देशमा महासङ्घका प्रवास सङ्गठन, देशभरका सातवटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद्, स्थानीय पालिका र वडा समन्वय परिषद्हरुमार्फत सङ्गठित भएर काम भइरहेको महासङ्घका अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिनुभयो । उहाँको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।

“आवयक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषद्मा पेश गछौँ”, उहाँले भन्नुभयो । डा काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

चितवन। अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका लागि सौराहामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

विभागले गत पुस १७ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा उक्त प्रणालीको शुभारम्भ गरिसकेको छ । राजधानीबाहिर पहिलोपटक पर्यटकीय नगरी सौराहामा प्रणाली लागू गर्नका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ ।

दोस्रो चरणमा आगामी फागुन १७ गतेदेखि उपत्यका बाहिरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी, टुर तथा ट्राभल कम्पनी, मनी एक्सचेन्ज कम्पनीलगायत अन्य पर्यटकीय सेवा प्रदायक संस्थाहरूमा अनिवार्य रूपमा उक्त प्रणाली लागू गर्ने तयारी थालिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले यो प्रणाली लागू गरिएको उहाँले बताउनुभयो । महानिर्देशक तिवारीले भन्नुभयो, “यस प्रणालीमा विदेशी नागरिकको नेपाल आगमनपछिको सम्पूर्ण अभिलेख रहनेछ । काठमाडौँ बाहिर सौराहमा पहिलोपटक पर्यटन सेवा प्रदायक संस्थाहरूसँग अन्तरक्रिया गरिएको हो । अध्यागमनको मुख्य काम भनेको सीमाको सुरक्षा र नियमन हो ।”

उहाँका अनुसार सीमा नियमन भनेको कुनै पनि देशको सार्वभौम क्षेत्रभित्र हुने आवतजावत, गतिविधि तथा कानुनी व्यवस्थाको प्रभावकारी नियन्त्रण हो । सीमा सुरक्षा केवल दुई देशबीचको सीमास्तम्भमा मात्र सीमित नभई डिजिटल माध्यम, कानुन उल्लङ्घन तथा देशभित्र हुने अवैध गतिविधिसँग जोडिएको विषयसमेत हो ।

महानिर्देशक तिवारीले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा प्रणाली लागू गरी त्यसपछि देशका प्रमुख पर्यटकीय क्षेत्रमा सरोकार भएकाहरूसँगको समन्वयमा क्रमशः कार्यान्वयन गरिने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभागले व्यवसायीमैत्री ढङ्गले काम गर्दै कार्यान्वयनका क्रममा देखिएका द्विविधा र प्रक्रियागत समस्याहरू समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले यस्तो प्रणालीको कार्यान्वयनले दिगो पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै कार्यान्वयन गर्दा झन्झटिलो नभई सहज रूपमा समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरे, गृह मन्त्रालयका उपसचिव परशुराम पोखरेल, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, पर्यटक कार्यालय चितवनका प्रमुख प्रेमप्रसाद ढकाल, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीलगायत सौराहा तथा चितवन–नवलपुरका होटल तथा पर्यटन व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

धरान बस दुर्घटना अपडेट : ज्यान गुमाएका ५ जनाको पहिचान खुल्यो

धरान (सुनसरी), ४ माघ : धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र–३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान–१३ का सुवेक्षा सुब्बा रहेका छन् ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा दुर्घटना भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारी गर्न आएको बस भेडेटार घुम्न जाने क्रममा डिजल सकिएपछि बाटोबाटै फर्काउने क्रममा दुर्घटनामा परेको हो । बसमा सवार घाइते १३ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

रवि लामिछानेसँगै जनकपुर पुगे बालेन साह

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेन जनकपुर पुगेका छन् । उनी आज नै रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् ।

काठमाडौँ महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि बालेन रास्वपाको घण्टीघर पुगेका थिए । त्यसपछि उनी जनकपुर पुगेका हुन् । साहलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेको जनाइएको छ ।

मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा डा. शेखर कोइरालाको जोड

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताए ।

उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।’

कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको बिकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे ।

आज राति १२ बजेबाट निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी हुन् ।

उक्त छलफलमा निर्वाचन आयोगले आचार संहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो ।

जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुनेछ । आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने कार्यतालिका रहेको छ ।

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

धरान (सुनसरी) । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।

बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको र मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौँ ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानमार्फत देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्याएको योगदान प्रशंसा योग्य रहेको बताउनुभयो ।

यसले राष्ट्रिय विकास र आर्थिक समृद्धिमा पनि टेवा पुगेको उहाँको भनाइ थियो । उपराष्ट्रपति यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस्तो अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिनुभयो ।

पर्याप्त ऊर्जाविना मुलुकको विकास सम्भव नहुने भन्दै उहाँले सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुने उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत पुग्ने बताउनुभयो ।

नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर भारत, बङ्गलादेशलगायत छिमेकी मुलुकमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्नसक्ने सम्भावना रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै विद्युत् निर्यात गर्ने अवस्थामा पु¥याएको बताउनुभयोे ।

उहाँले हाल नेपालको कुल विद्युत् उत्पादन करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये तीन हजार तीन सय मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदानबाट सम्भव भएको उल्लेख गर्नुभयो ।

मन्त्री सिन्हाले पाँचदेखि १० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा हाल एक सय मेगावाटभन्दा ठूला आयोजनासम्म लगानी गर्ने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले हाल देशभर नौ सयभन्दा बढी जलविद्युत् आयोजनाले अनुमति लिएर काम अघि बढाइसकिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

काठमाडौँ – नेपालले पहिलोपटक आयोजना गरेको महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलअन्तर्गत थाइल्यान्डविरुद्धको उद्घाटन खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्यान्डले टस जितेर पहिला बलिङ रोजेपछिी नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्वकप खेल्ने रहेको छ । त्यसैले नेपाल आज जित निकल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । त्यसो त थाइल्यान्डलाई हराउन नेपाललाई सहज भने हुनेछैन । थाइल्यान्ड नेपालभन्दा बलियो टिम हो ।

थाइल्यान्डले महिला टी–२० विश्वकप खेलिसकेको छ । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष तीनमा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष चारमा पर्नुपर्नेछ । शीर्ष चारमा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ ।

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी – यहाँको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ । म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पिपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरवाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति हुन लागेको हो ।

सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले बताउनुभयो ।

उहाँका अनुसार रु. दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको योजनाको आगामी २०८३ असार महिनासम्म म्याद रहेको छ । खहरेदेखि छिसवाङ हुदै ओखोलासम्म एक किलोमिटर पाँच सय मिटर सडकलाई पक्की नाला सहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिने आचार्यले बताउनुभयो ।

छिसवाङका दुर्गाबहादुर खत्रीले विसं २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नतिका लागि योजना परेपछि स्थानीयवासी उत्साही भएको बताउनुभयो । “मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फीमात्र गाडी चल्ने गरेका थिए”, उहाँले भन्नुभयो, “सडक फराकिलो पार्न हामीहरूले स्वःस्फुर्त रूपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छौँ ।”

यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरोलगायत कारणले अवरुद्ध हुँदा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ ।

यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पिपलबोट खण्डमा र सङ्घीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ ।

हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताउनुभयो । यसअघि सङ्घीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ ।

थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।

शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको विशेष महाधिवेशनको औचित्य नहुने भन्दै देउवा पक्ष विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेका छन् ।

बालेन शाहले आज काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा दिने, आजै घण्टीघर पस्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज महानगर प्रमुख पदबाट राजीनामा दिने तयारी गरेका छन् । महानगर प्रमुख पदबाट राजीनामा दिएर उनी आज दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको तयारी भएको बताइएको छ । पार्टि प्रबेशपछि उनी दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन।

नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं – नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। जनप्रदर्शन एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा हुने जनाइएको छ ।

भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने बताइएको छ । प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्नेछन्।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । आजका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

आज आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ रहेको छ ।

यस्तै, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, काउली तराई प्रतिकिलो ९० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँमटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमि प्रतिकिलो १०० रुपैयाँ, तितो करेला प्रतिकिलो १७० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, घिरौला प्रतिकिलो १००, सलगम प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, समितिले रायोसाग प्रतिकिलो ३० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, कुरीलो प्रतिकिलो १७५० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, जिरीको साग प्रतिकिलो ११० रुपैयाँ, सेलरी प्रतिकिलो २२० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो ७० रुपैयाँ, पुदिना प्रतिकिलो ३०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैँया, सुन्तला (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १२० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

समस्या भए वार्ता र संवादबाट समाधान खोजौँ, शैक्षिक गतिविधिमा अवरोध नगर्न त्रिविको अपिल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा अधिकृत भोला महतोले विज्ञप्ति जारी गरी तोकिएको शैक्षिकसत्र (वर्ष) भित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको हो । कुनै समस्या र असहमति भए वार्ता एवं संवादका विधिसम्मत माध्यामबाट समाधान खोज्न विद्यार्थी, शुभचिन्तक र सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।

“शैक्षिक तथा प्राज्ञिक निकायमा हुने तालाबन्दी, हडताल, आगजनी र तोडफोडलगायत गैरप्राज्ञिक गतिविधिले शैक्षिक पात्रोको कार्यान्वयनमा गम्भीर असर परेको छ । तोकिएको शैक्षिक सत्र (वर्ष)भित्र विद्यार्थीले उपाधि प्राप्त गर्न नसकेमा विद्यार्थीले थप समय र लगानी खर्चनु पर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अतः विश्वविद्यालयको उच्च प्राज्ञिक निकाय प्राज्ञिक परिषद्बाट निर्णय भइसकेको पात्रोअनुसार कुनै पनि तहको पुनः प्रवेश परीक्षाको प्रावधान नभएको बेहोरा जानकारी गराइन्छ ।”

त्रिविले परीक्षा व्यवस्थापनअन्तर्गत रजिष्ट्रेशन, कक्षा सञ्चालन, परीक्षा फाराम सङ्कलन तथा व्यवस्थापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनलगायत शैक्षिक पात्रो कार्यान्वयनको महत्त्वपूर्ण पक्ष रहेको स्मरण गराएको छ ।

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

चन्द्रपुर (रौतहट) – जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ ।

सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदानस्थल अतिसंवेदनशील सूचीमा राखेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । एक सय मतदानस्थल संवेदनशीलको सूचीमा रहेका र बाँकी २५ मतदानस्थल सामान्य सूचीमा रहेको प्रजिअ भुसालले जानकारी दिनुभयो । रौतहट क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदानस्थल रहेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा पाँच सय ४१ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दुई सय ७६ मतदानस्थल कायम रहेकामा यस वर्ष एउटा स्थल थप गरिएको हो । गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको कार्यालय प्रमुख दासले जानकारी दिनुभयो । यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार एक सय ५६ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६११ मतदाता रहेका छन् । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चार लाख १५ हजार ४५५ मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।

आठौँ संस्करणको व्यास अल्ट्रा म्याराथन हुने, प्रथम हुने धावकलाई ८५ हजार पुरस्कार

डुम्रे, ४ माघ । तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचानः व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते सहिद दिवसका अवसरमा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना गर्दै आएको अल्ट्रा म्याराथन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगितामात्र नभई सहिदको बलिदान स्मरण गर्ने र प्रतिभा पहिचान तथा उजागर गर्ने अभियान भएको उनले बताए । पर्यटकीयस्थल व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ सहिद गाउँ पुलिमराङमा ४४ किलोमिटर लामो दूरीको म्याराथन हुने नगरपालिकाले जनाएको छ ।

उहाँका अनुसार यस प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउनेछ । नगरप्रमुख न्यौपानेले भने, “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ । यसका साथै मगर र गुरुङ समुदायको कला, संस्कार, संस्कृति प्रवर्द्धनमा टेवा पुगेको छ ।”

मानुङकोटबाट अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीबेँसी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दौड सञ्चालन हुनेछ ।

व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिकस्थल र ऐतिहासिक क्षेत्रलाई एउटै मालामा जोड्ने कार्य गरेको बताए । उनका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैँमा पर्यटन सम्भावनाले भरिपूर्ण छ । यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगिरहेको गुरुङको भनाइ छ ।

नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । धावकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोली परिचालन गरिने उहाँले बताउनुभयो । सहभागी धावकलाई आवश्यक सूचना, मार्गनिर्देशन र सुरक्षा व्यवस्थामा कुनै कमी नहुने उनको भनाइ छ ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट दुई सयभन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७ र रु ५५ हजार ७७ नगद पुरस्कार प्रदान गरिने छभने पाँच जना धावकलाई सान्त्वना पुरस्कारस्वरूप रु १६ हजार ७७ प्रदान गरिनेछ ।

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएका हुन् ।

दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ ।

यस्तै, दिनको १ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१९ औं बैठक बस्दैछ ।बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, उम्मेदवार टुङ्गो लगाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा र पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा लागिरहेका छन् । शनिवार मात्र नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

एउटै विद्यालयका पाँच जनाले गरे विद्यावारिधि

झापा । मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन् । विद्यावारिधि गर्नेमा डा टीका भण्डारी, डा हरिप्रसाद कट्टेल, डा जीवनमणि पौडेल, डा केदारमणि नेपाल र डा डिल्लीराम भण्डारी रहेका छन ।

पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गरेका थिए। उनीहरूको घर एउटै वडाको एउटै टोलमा रहेको छ । सङ्गीतकार, गायक एवं रेडियो नेपालका पूर्वनिर्देशक डा टीका भण्डारीले विद्यावारिधि हासिल गरेर वडाको शैक्षिक पहिचानलाई समेत चिनाउन पाएकामा गर्व अनुभूति भएको बताए ।

कवि शिरोमणि माविमा अध्ययन पूरा गरेका समकालीन पाँच विद्यार्थीलाई पढाइको उपल्लो खुट्किलो मानिएको विद्यावारिधि तह पूरा गर्न विद्यालय र आफ्नो गाउँको वातावरणले महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको डा हरिप्रसाद कट्टेल बताउन्छन । पाँचै जना सानैदेखि आपसमा मिल्ने र पढाइमा जेहेन्दार रहेको उनले बताए । उनीहरूले विद्यावारिधि गरेको विषय भने फरकफरक रहेको छ ।

कवि शिरोमणि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले एउटै विद्यालयका पाँच जनाले विद्यावारिधि गरेको खबरले नयाँ पुस्ताका विद्यार्थीलाई मिहिनेत गरेर पढ्नका लागि प्रेरणा मिलेको बताइन्। “एउटै वडाका एउटै विद्यालय पढेका पाँच साथीले यती ठूलो शैक्षिक सफलता पाउनु समग्र वडाकै गौरवको विषय हो”, थापाको भनाई छ ।

क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त सडकखण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि हाल तीन खण्डमा काम सुरु गरिएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीले बिपी राजमार्गको पुनर्निर्माणका लागि तीन निर्माण व्यवसायी कम्पनी कार्यक्षेत्रमा खटेर तीव्र रूपमा काम गरेको बताए । उनका अनुसार जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले भने पुनर्निर्माण गर्ने भनिएको एक खण्डको काम सुरु हुनसकेको छैन ।

“जाइकाले थप अध्ययन गरिरहेको छ, केही समयमै उसले पनि काम सुरु गर्ने जनाएको छ”, योगेशले भने। उनले गत वर्षको बाढीले क्षति पुर्याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छभने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको जानकारी दिए । यस्तै डालावेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको उनले बताए ।

गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यस्तै आगामी वैशाखसम्म बाढीले क्षति पुर्याएको स्थानमा संरचना निर्माण गरिसक्ने जसबाट अब आउने वर्षायाममा खोलाको किनारबाट यातायात सञ्चालन गर्न नपर्नेगरी साविककै स्थानबाट यातायात सञ्चालन लक्ष्य लिइएको जनाइएको छ ।

यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतका काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढीपहिराले सडकको विभिन्न खण्ड बगाएपछि गत सालदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।

अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई पनि दुई लेनको निर्माण गरिनेछ”, उनले भने। उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ ।

डालाबेँसीदेखि चारसयबेँसीसम्म ८।५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित) मा निर्माण गर्नेगरी ठेक्का पाएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको छ । नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोडमा निर्माण गर्नेगरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको बताइएको छ ।

क्षतिग्रस्त कुल २९।५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनर्निर्माणका लागि जापानले रु दुई अर्ब ६३ करोडबराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको छ ।

क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राष्ट्रियसभाको अधिवेशन आजदेखि, यस्ता छन् कार्यसूची

काठमाडौँ। राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ ।नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ ।

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एकजना निर्विरोध निवर्नचित भइसक्नुभएको आयोगले जनाएको छ ।

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र माननीय आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित राजनीतिक दलले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न÷गराउन प्रतिबद्ध रहेको बताएका थिए । उनीहरूले नेपालको संविधान निर्वाचन आयोग ऐन, २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ र निर्वाचन आचारसंहिता, २०८२ समेतका निर्वाचनसम्बन्धी कानुनको इमान्दारिताका साथ पालना गर्ने÷गराउने उल्लेख गर्नुभएको थियो ।

यस्तै, निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन आचारसंहिता अनुगमन समिति र उपसमिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएको बखत उपस्थित हुने प्रतिबद्धता व्यक्त भएको थियो । आचारसंहिता कार्यान्वयनका सिलसिलामा अनुगमन प्रभावकारी हुनुपर्ने, सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि आयोग सचेत हुनुपर्ने लगायतका सुझाव प्राप्त भएको आयोगले जनाएको छ ।

छलफलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबाट निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनका सम्बन्धमा उठेका प्रश्न तथा जिज्ञासामाथि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निषेधको राजनीति नगर्न र कानुनको परिपालना गरेर निर्वाचनमा सहभागी हुन सबै दलका प्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त सगुनशम्शेर जबराले सामाजिक सञ्जाल नियमनका लागि आयोगले सामाजिक सञ्जाल अनुमगन प्रणाली (सोसियल मिडिया मनिटोरिङ टुल्स) उपयोग गर्नेबारे जानकारी दिनुभएको थियो । आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका तर्फबाट प्रचलित निर्वाचन कानुन र निर्वाचन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएसँगै सबै दलहरूसँगको सहकार्यबाट निर्वाचन आचारसंहिताको इमान्दार र सफलतापूर्वक कार्यान्वयन हुने विषयमा आयोग विश्वस्त रहेको उल्लेख गरिएको छ ।

यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण तराईमा हुस्सु र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै, आज राती, तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।