आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव- मन्त्री श्रेष्ठ
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति महिलाको सशक्त, अर्थपूर्ण र निर्णायक सहभागिता बिना समावेशी विकास सम्भव नहुने बताउनुभएको छ ।
उहाँले संसद् र नीतिनिर्माण तहमा आदिवासी जनजाति महिलाको उल्लेखनीय उपस्थिति भएमा मात्र दिगो र समावेशी विकासको लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको २५औँ रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले लैङ्गिक असमानता, सामाजिक विभेद, आर्थिक अवसरको सीमितता र सांस्कृतिक बहिष्करण आज पनि आदिवासी जनजाति महिलाका मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा, सचेतनामूलक अभियान, समुदायस्तरीय सशक्तिकरण र संस्थागत पैरवीमार्फत यी चुनौती समाधान गर्न सकिन्छ । यसका लागि एकीकृत प्रयास आवश्यक छ ।”
मन्त्री श्रेष्ठले संविधानले सुनिश्चित गरेका समावेशिता, समानता र सामाजिक न्यायका सिद्धान्तलाई व्यवहारमा उतार्न आदिवासी जनजाति महिलाको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो । उहाँले महिलाको मतदाता सहभागिता बढाउने, महिला उम्मेदवारी प्रवद्र्धन गर्ने तथा ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्न मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।
“विशेष गरी नीतिनिर्माण तहमा सीमित प्रतिनिधित्व रहेको आदिवासी जनजाति महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न म प्रतिबद्ध छु,” उहाँले भन्नुभयो ।
