`

प्रदेश सरकारले विद्यालयतहबाटै नैतिक शिक्षालाई जोड दिन्छ- मुख्यमन्त्री बानियाँ

Nepal One HD ४ माघ २०८२ २१:३८
राजनीति

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यालयतहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिने बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले नैतिक शिक्षाबिना समाज र राष्ट्र अघि बढ्न नसक्ने भएकाले विद्यालय तहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिएको बताउनुभयो ।

“गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा शिक्षित व्यक्ति पनि भाटभटेनी लुट्न गएको देख्न सकिन्छ, यसको प्रमुख कारण शिक्षा नभएर होइन । नैतिक शिक्षा नभएर हो”, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “विद्यालयमा नैतिक शिक्षा पढाउन छाडियो, यसका कारण व्यक्तिमा नैतिकता हराएर समाजमा विभिन्न प्रकार विसङ्गति र विकृति बढ्ेको छ, त्यसैले अब नैतिक शिक्षालाई जोड दिनुपर्छ ।”

मुलुकमा गरिखाने शिक्षा आवश्यक रहेको औँल्याउनुहुँदै मुख्यमन्त्री बानियाँले ठगी खाने र मागी खाने शिक्षा अब नचल्ने बताउनुभयो । नयाँ पुस्ताले रोजेको जस्तो र खोजेको जस्तो शिक्षालाई तत्काल पूरा गर्न नसकिए पनि प्राविधिक शिक्षालाई जोड दिई त्यो मार्गमा लैजान सकिने उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो समय एआई (कृत्रिम बुद्धिमता)लगायतका प्रविधिको विकाससँगै विकृति बढेको प्रसङ्ग उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले एआईले दिए सबै प्रश्नको उत्तर सही र सत्य नै दिन्छ भने छैन, त्यसैले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष तथा मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ र भारती पाठक, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालगायतले शुभकामना दिनुभयो।

स्वर्ण महोत्सवका अवसरमा विद्यालय परिसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी तथा खाना महोत्सवसमेत आयोजना गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *