`

जाजरकोट भूकम्पः रुकुम पश्चिममा दुई हजारले अझै पाएनन् पहिलो किस्ता

त्रिवेणी (रुकुम पश्चिम), ८ फागुनः विसं २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा प्रभावित सबैले अस्थायी आवासका लागि अझैसम्म पनि पहिलो किस्ता पाउन सकेका छैनन् ।

भूकम्प गएको १६ महिनासम्म पनि दुई हजार एक लाभग्राहीले पहिलो किस्ता बापतकै अनुदान रकम नपाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । केही समय ढिला गरी लाभग्राहीले फाइल पेस गरेकाले यस्तो समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो किस्ताबापत निकासा भएपश्चात् बचत हुन आउने रकमलाई स्थानीय तहबाट सिफारिस भएबमोजिम लाभग्राहीलाई समानुपातिक रुपमा वितरण गर्ने र अपुग रकम प्राधिकरणसँग माग गर्ने निर्णय विपद् व्यवस्थापन समितिले गरेको छ । 

पहिलो किस्तासमेत प्राप्त गर्न नसकेका दुई हजार एक लाभग्राहीसहित जिल्लामा कुल ३४ हजार ९९७ लाभग्राही कायम भएका छन् । जिल्लामा यसअघि ३२ हजार ९९६ लाभग्राहीलाई मात्र पहिलो किस्ता वितरण भएको थियो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट विपद् पोर्टलमा इन्ट्री भएका जिल्लाका ३२ हजार ९९६ लाभग्राहीका लागि पहिलो र दोस्रो गरी दुवै किस्ता प्राप्त गरिसकेका छन् । त्यसमध्येमा जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमार्फत स्थानीय तहबाट ३१ हजार ८८१ लाभग्राहीलाई मात्र दोस्रो किस्ता वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । अन्य बाँकी सङ्घसंस्थाको सहयोगमा अस्थायी आवास निर्माण भएका थिए । 

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले पछिल्लो पटक स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट रितपूर्वक माग भई जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा माग हुन आएका १५ हजार ८८१ लाभग्राहीका लागि जिल्ला विपद् कोषबाट स्थानीय विपद् कोषमा निकासा भएको रु ३९ करोड ९७ लाख २५ हजार रकमलाई अनुमोदन गरेको उहाँले बताउनुभयो । 

यसअघि १६ हजार लाभग्राहीका लागि रु २५ हजारका दरले रु ४० करोड निकासा भई वितरण भइसकेको थियो । योसँगै जिल्लामा कायम भएका ३२ हजार ९९६ लाभग्राहीले अस्थायी आवासका लागि पहिलो र दोस्रो किस्ताबापतको रकम प्राप्त गरेका छन् । 

अन्तर्राष्ट्रिय महिला फुटबलः म्यानमार विजयी

काठमाडौँ, ८ फागुनः अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै दुई खेलबाट छ अङ्क बटुलेको म्यानमारको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

म्यानमारले यसअघि लेबनानलाई ३–१ गोलअन्तरले हराएको थियो । कीर्गिस्तान भने जितविहीन रहेको छ ।  यसअघि कीर्गिस्तान नेपालसँग १–० गोलअन्तरले पराजित भएको थियो । 

आज म्यानमारको जितमा युन वादी एलाइङ र मे हेट लुले समान दुई÷दुई गोल गरे भने सानदार लिनले एक गोल थपिन् । युनले खेलको दोस्रो मिनेटमै नै गोल गरिन् । त्यस्तै खेलको ३०औँ मिनेटमा सानदारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

त्यसपछि खेलको ३६औँ मिनेटमा नै मे हेटले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाइन् । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा युनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।

खेलको दोस्रो हाफमा मे हेटले अर्को गोल गरिन् । खेलको ४९औँ मिनेटमा मे हेटले गोल गरेसँगै म्यानमार ५–० ले विजयी भयो । उक्त प्रतियोगिताअन्तर्गत आजै साँझ ६ बजे हुने अर्को खेलमा नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदैछ । 

स्थानीय पहिचान प्रवर्द्धन गर्न फागुन १० देखि स्वयम्भू महोत्सव

काठमाडौँ, ८ फागुनः स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका वडा नं १५ को आयोजनामा यही फागुन १० देखि १७ गतेसम्म प्रथम ‘स्वयम्भू महोत्सव’ हुने भएको छ ।

    वडाको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवर्द्धन  गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट आझेलमा परेका प्राचीन स्मारक पर्यटकीयस्थलका रुपमा प्रवर्द्धन  हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष इश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

    महोत्सवमा वडाबाट उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम लिएका व्यक्ति तथा सङ्घसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादन, तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन प्रदर्शनीमा राखिनेछ ।

    स्वयम्भूको भुईंखेल चौरमा महोत्सव हुनेछ । भगवान् पाउको धर्मचक्र पार्कमा प्रदर्शनी र वडास्तरीय विपद् व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ । महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ ।

    परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसंग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिने वडाध्यक्ष डङ्गोलले जानकारी दिनुभयो ।

    मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेल महोत्सवका थप आकर्षण हुनेछन् ।

    स्वयम्भू महाचैत्य १५ नं वडाको मुख्य पहिचानका रुपमा रहेको छ । सो वडामा शान्तिपुर, हारती माता, महामञ्जुश्री सरस्वती स्थान, लखु तीर्थ, विष्णुमती नदी किनारामा रहेको शोभाभगवती मन्दिर, सरस्वती मन्दिर, विहारलगायत देवालय छन् ।

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

भैरहवा (रुपन्देही), ८ फागुनः कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आउनुभएका छ । उहाँको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ ।

भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजानुहुन्छ । करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’ पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ । हाल उहाँसँग ३५ वटा मात्र भेडा छन् । यसअघि चरन क्षेत्रको समस्या थियो नै अब भेडाको ऊन नै बिक्री हुन छाडेपछि पाल मात्र होइन भेडिहार समुदायको पेसा नै लोप हुने अवस्था छ ।

मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ । भेडाको ऊन बिक्री हुन छोडेपछि भेडिहारले जहा रौँ काट्यो त्यही छोडेर हिँड्ने गरेका छन् । ऊन नै बिक्री हुन छोडेपछि विस्तारै उहाँहरुको रुचि यसबाट घट्न थालेको छ । “पहिला मसँग तीन सय बढी भेडा थिए, ऊन पनि एक सय किलोभन्दा बढी बेच्ने गरेको थिएँ ।” पालले भन्नुभयो, “केही वर्षयता ऊन बिक्नै छोडेको छ । त्यसैले अहिले सङ्ख्या घटाएर ३५ मात्र पालेको छु ।”

यसअघि विभिन्न स्थानबाट क्रेताहरु भेडिहार खोज्दै उहाँहरुको घर वा चरनस्थलमै पुग्ने गरेका थिए । तराईमा सामान्यतः भेडाको मासु पनि खाइँदैन । त्यसैले भेडा पाल्नेको अब आम्दानीको स्रोत शून्य भएको छ ।

भेडाको ऊनबाट बनेका कपडामा उपभोक्ताको रुचि घट्दै गएको कारण ऊन बिक्री नभएको कोटहीमाई गाउँपालिका–३ कुडसर बस्ने वरुनदेव पाल बताउनुहुन्छ । “पहिला भेडाको ऊनबाट बनेको कपडाको माग उच्च रहेको थियो र यस पेसाबाट धानिन बल पुगेको थियो ।” उहाँले भन्नुभयो, “अहिले त्यस्ता उद्योग बन्द हुँदै गएकाले पनि यसको माग नभएको हुन सक्छ ।”

भेडाको ऊनबाट कम्बल, स्विटर, टोपीलगायत न्याना कपडा बुनिन्छ तर आधुनिक ब्लाङकेटले यसलाई विस्थापित गरेको छ । ब्लाङकेट रु दुईदेखि तीन हजारमा पाइन्छन् तर ऊनबाट बनाइएका कम्बल तुलनात्मक रुपमा महँगा भएकाले ऊनको माग घटेको उहाँको बुझाइ छ ।

यसबाहेक अहिले तराईमै भेडाहरुको लागि चरन क्षेत्रको समस्या पनि छ । “पहिला धेरै खेत थिए चरन क्षेत्र पनि प्रशस्त हुन्थ्यो”, स्थानीय नापु पालले सुनाउनभयो, “चरनक्षेत्र अभावमा अब भेडा पाल्न गाह्रो छ ।”

मर्चवारको कोटहीमाई गाउँपालिका–३र ५ को सम्मरीमाई गाउँपालिकालगायत जिल्लामा भेडा पाल्नेहरु उल्लेख्य सङ्ख्यामा थिए । एक दशकअघि ३० हजारभन्दा बढी भेडा आफूहरुले पालेको पाल बताउहुन्छ । चरन क्षेत्रको कमी, ऊन र दूध र मासु पनि बिक्री नहुने भएपछि घरखर्च जुटाउन बाध्य भएर वैकल्पिक पेसामा लाग्नुपरेको उहाँको गुनासो छ ।

भेडापालकलाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी गणेश पाल परम्परागत पेसालाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्नेमा जोड दिनुहुन्छ । ऊन खरिद र बजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने उहाँको सुझाव छ । यसले ‘एक स्थानीय तह, एक उत्पादन’को नीति कार्यान्वयन गर्न सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

संविधानसभा सदस्य सापकोटाको निधन

काभ्रेपलाञ्चोक, ८ फागुनः संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले राससलाई जानकारी दिनुभयो ।

उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित हुनुहुन्थ्यो । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उहाँ उपचारार्थ उक्त अस्पतालमा भर्ना हुनुभएको थियो । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी हुनुहुन्छ ।

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

काठमाडौँ, ८ फागुनः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७६, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु २५ र भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी मटरकोसा प्रतिकेजी रु ५०, घिउसिमी (लोकल) प्रतिकेजी रु ४०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रु ४०, घिउसिमी (राजमा) प्रतिकेजी रु ११०, टाटेसिमी प्रतिकेजी रु ४५, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ६०, चिचिन्डो प्रतिकेजी रु १२०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १२, भेण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी रु ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १०० र च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ५०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३२०, अङ्गुर (हरियो) प्रतिकेजी रु १७०, अङ्गुर (कालो) प्रतिकेजी रु २७०, सुन्तला (नेपाली) प्रतिकेजी रु १९०, सुन्तला (भारतीय) प्रतिकेजी रु १२०, तरबुजा हरियो प्रकितेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु ७०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ३७० र किबी प्रतिकेजी रु २५० निर्धारण गरिएको छ ।

यसैगरी अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, भेँडेखुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ६०, हरियो धनिया प्रतिकेजी रु ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० तोकेको छ ।

आँखा शिविरबाट पाँच सय जना लाभान्वित

कञ्चनपुर, ८ फागुनः शुक्लाफाँटा नगरपालिका–१० मा बुधबार सञ्चालन भएको आँखा शिविरबाट पाँच सय १४ जना लाभान्वित भएका छन् ।

गेटा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा निःशुल्क नेत्र परीक्षण, परामर्श दिनाका साथै औषधि वितरण पनि गरिएका अस्पतालका नेत्र चिकित्सक नरेन्द्र विष्टले बताउनुभयो । “मोतियाविन्दु भएका ९५ जना बिरामीको निःशुल्क रुपमा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “अस्पताल ल्याउने लैजाने व्यवस्था पनि निःशुल्क रुपमा गरिने छ ।”

कमजोर दृष्टि भएका बिरामीलाई न्यूनतम शुल्क लिएर चस्मा पनि वितरण गरिएको थियो । शिविरमा नेत्र परीक्षण गराउनेमध्येमा ७५ प्रतिशत महिला थिए ।

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

गण्डकी, ८ फागुनः पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ ।

समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिनुुभयो ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार

भैरहवा । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए । उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।

विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।

जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना, एक जनाको मृत्यु

काभ्रे । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

वीरगन्जका दुई क्यासिनोमा मुख्यमन्त्रीको छड्के अनुगमन

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा रहेका दुई क्यासिनोमा पुगेर छड्के अनुगमन गरेका छन् । वीरगन्जको होटल दियालो लड्र्समा सञ्चालित किङ्ग्स क्यासिनो र होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा अनुगमन गरेका हुन् ।

नेपालमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेल्न प्रवेश निषेध रहेको छ। तर यहाको क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक संकटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिंहले क्यासिनो अनुगमन गरेको प्रेस संयोजक मनोज मोरबैताले बताए ।

उनका अनुसार क्यासिनोबाट एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।पछिल्लो एक महिनाको ग्राहकको इन्ट्री विवरण, सिसिटिभी क्यामेराको फुटेज, ग्राहकको विवरण लगायतका कागजात मुख्यमन्त्री कार्यालयमा पेस गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

मुख्यमन्त्री सिँहले पत्रकारहरूसँग कुरा गर्दै वीरगन्जमा अस्पताल अनुगमन गर्न आएका बेला क्यासिनोको पनि छड्के अनुगमन गरिएको बताए ।उनले सुरक्षा लगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए । वीरगन्जमा हालः कूल चारवटा होटलमा क्यासिनो सञ्चालनमा रहेका छन् ।

ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प

काठमाडौँ, ८ फागुनः ओटावास्थित नेपाली दूतावासद्वारा हालै क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गरियो । शिविर हिन्दू बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली सङ्घ क्यानडा र त्यस प्रान्तमा रहेका नेपाली र अन्य सामुदायिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त दूतावासले आज जनाएको छ ।

शिविरमा नेपाली नागरिकहरू, विशेष गरी क्यानडाको ब्रिटिस कोलम्बिया, सास्काचेवान, मनिटोबा र अल्बर्टा प्रान्तहरूमा रहेका नेपाली विद्यार्थीहरूले राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गरिएको थियो । केही समयदेखि उक्त दूतावासले नेपाली समुदाय र विद्यार्थी रहेका प्रान्तहरूको नजिक शिविरमार्फत यस्तो सेवा प्रदान गर्दै आएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै उक्त दूतावासले भ्यानकुभरमा रहेका नेपाली उद्यमीहरूसँग पनि छलफल कार्यक्रम आयोजना गरेको छ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले उद्यमीहरूलाई आफ्नो विशिष्ट सीप, विशेषज्ञता र सम्भावनाहरूलाई मातृभूमिको समृद्धिको लागि पनि प्रयोग गर्न अनुरोध गर्नुभयो । नेपाल सरकारले गरेका नीतिगत सुधारबारे जानकारी दिँदै उहाँले उद्यमीहरूलाई नेपाल र क्यानडाबीच व्यापार प्रवद्र्धन गर्न र नेपालमा प्रविधि र लगानी पु¥याउन आग्रह गर्नुभयो ।

सातौं बागमती गोल्डकपमा आज एपीएफ र संकटा भिड्दै

बागमती । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने विभागीय टोलि सशस्त्र प्रहरी बलको (एपीएफ) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो, भने संकटा भने वाई पाएर सिधंै क्वाटरफाइनलमा स्थान पाएको हो ।

गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हो । एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोट्र्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ र पूर्वाधार विकास समितिका बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता

महोत्तरी, ८ फागुनः भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बर्दिबासमा आयोगले बुधबार आयोजना गरेको सरोकार भएकाहरुसँगको मधेस प्रदेशस्तरीय अन्तक्र्रियामा आयोग पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

“वर्तमान आयोगले आफ्नो कार्यकालको तीन वर्षभित्रै सबै भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरीसक्ने छ”, कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले प्रतिबद्धता जनाउँदै भन्नुभयो, “यस कार्यका लागि तीनै तहका सरकार, सरोकारवाला र सम्बद्धपक्षबीच समाधानमुखी सहकार्य भने अपरिहार्य छ ।” यसका लागि आयोगले अहिले भूमिसम्बन्धी वर्तमान समस्याको पहिचान, कामहरुको प्राथमिकीकरण र भूमिसम्बन्धी अध्यादेशको संशोधनका विषयमा केन्द्रित भई काम गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा आयोगका पदाधिकारीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका व्यवस्थापनका सवालको मिंही विश्लेषण गरिँदै यसलाई तीन वर्षभित्र सक्ने तालिकामा काम थालिएको बताउनुभयो । “हामी समस्याकेन्द्रित भएर सूक्ष्म ढङ्गले तिनलाई केलाउँदै अघि बढ्दै छौँ”, कार्यक्रममा आयोगका विज्ञ सदस्य जगत् बस्नेतले भन्नुभयो, “खुला छलफल र अन्तक्र्रियाबाट समस्या पहिल्याउने क्रम जारी छ, कामलाई तालिकामा ढालेका छौँ”, बस्नेत भन्नुहुन्छ, “तीन वर्षभित्र यी समस्या समाधान हुनेछन्, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी सबैले जग्गाधनी प्रमाणपत्र पाउने छन् ।”

यसैगरी आयोगका केन्द्रीय सदस्य कृष्ण प्रसाईँले आयोगका जिल्ला पदाधिकारीहरुसँग भीडभाड र भनसुन केन्द्रित नभई कानुनअनुसार काम केन्द्रित भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका महोत्तरी अध्यक्ष पीताम्बर महतोले आयोगले निर्दिष्ट गरेको नीति अवलम्बन गरिँदै जिल्लाभित्रका भूमि समस्या समाधान गरिने अठोट व्यक्त गर्नुभयो ।

मधेस प्रदेशका आठवटै जिल्लाका आयोगका पदाधिकारी, नापी तथा मालपोत कार्यालयका प्रमुख, भूमिविज्ञ र भूमिअधिकार आन्दोलनका अगुवाको सहभागिता रहेको कार्यक्रम आयोगका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक आरती भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

आयोगले धमाधम काम अघि बढेको बताएपछि महोत्तरीका वर्षौंवर्षदेखि जग्गाधनी प्रमाणपत्र नपाएका सुकुमबासी र अव्यवस्थित बसोबासीमा नयाँ आशा पलाएको महोत्तरीका भूमिअधिकार आन्दोलनका अगुवा राजकुमार बस्नेत बताउनुहुन्छ ।

साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

काठमाडौँ, ८ फागुनः राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा बुधबार एक कार्यक्रम आयोजना गरियो । नेपालको राष्ट्रिय झन्डा फहराएर प्रारम्भ भएको उक्त कार्यक्रममा साउदी अरबका लागि नेपालका राजदूत नरेशविक्रम ढकालले प्रजातन्त्र प्राप्तिका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलगायत सहिदहरुले गर्नुभएको योगदानको स्मरण गर्नुभयो ।

उक्त दूतावासका अनुसार राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा प्रजातन्त्र तथा नागरिक अधिकार प्राप्तिको लागि आफ्नो जीवन उत्सर्ग गर्नुभएका अमर सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । 

बागलुङको तित्याङमा तीन सय रोपनी बाँझो जग्गामा ओखरखेती

गलकोट (बागलुङ), ८ फागुनः बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।

नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिनुभयो । 

तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु १० लाख र स्थानीयको रु आठ लाख लगानीमा एक सय ४० रोपनी जग्गामा दुई हजार २५० ओखरका बिरुवा लगाइएकामा यस वर्ष नगरपालिकाको रु १२ लाख र स्थानीयको रु आठ लाख गरी रु २० लाखमा जुरेढुङ्गा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार ५०० ओखरका बिरुवा लगाउन थालिएको वडाअध्यक्ष थापाले बताउनुभयो । 

उहाँका अनुसार यस वर्ष रु २० लाखबाट बिरुवा खरिद, रोपण, सिँचाइ पोखरी निर्माण र मलखादको व्यवस्थापन गर्नेलगायत काम भइरहेका छन् । जुरेढुङ्गाका कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जग्गामा व्यावसायिक ओखरखेती थालिएको छ । सिँचाइको अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूलखेती राम्रो हुने भएकाले कुकाठ हटाएर बाँझो जग्गा सदुपयोग गर्न थालिएको बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।  

पछिल्लो समय बसाइँसराइले गाउँबस्ती रित्तिँदै गएपछि उजाडिएको बारी र जङ्गल फाँडेर ओखरखेती विस्तार भइरहेको जुरेढुङ्गा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताउनुभयो । एक हजार ६०० मिटरदेखि तीन हजार मिटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकाले जुम्लाबाट बिरुवा ल्याएर रोपिएको नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिनुभयो ।  

प्रतिबिरुवा रु तीन सय २० मा बिरुवा ल्याइएको थियो । जुरे ढुङ्गाका किसानहरूले परम्परागत खेती गर्दै आएकामा नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न थालेपछि सामूहिक रूपमा ओखरखेती गर्न थालेका हुन् । यस वर्ष जुरे ढुङ्गा कृषक समूहलाई एक हजार ५०० बिरुवा हस्तान्तरण गरेर ओखरखेती विस्तार सुरु गरिएको कृषि प्राविधिक बरुवालले बताउनुभयो ।    उपप्रमुख खड्काले वडा नं ९ का किसानले सुन्तला र तरकारीसँगै ओखरखेतीलाई उच्च प्राथमिकता दिएकाले आगामी वर्ष पनि ओखरका थप बिरुवा वितरण गरिने बताउनुभयो ।

आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी

महोत्तरी, ८ फागुनः बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका कुनै खुसी भने साँच्नु भएको छैन । प्रजातन्त्र दिवसको अर्थ र महत्व नबुझेरै अरुले भनेकै भरमा ‘जिन्दावाद’ भन्ने गरेकी तामाङलाई यसपालि भने अब कहिल्यै नबिर्सने गरी यो दिनको सम्झना रहने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर रोटरी क्लब अफ बर्दिबास, रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक क्लब अफ हेटौँडाले काछबासीका लागि सञ्चालन गरेका आँखा जाँच शिविरले सेतीमायालाई अब यो दिन कहिल्यै नभुल्नेगरी गुन लगाएको हो ।

यसपालिको प्रजातन्त्र दिवसको अवसरमा मङ्गलबार आफ्नै बस्तीमा आँखा जाँच गर्न पाउनु भएकी उहाँको बुधबार मोतियाविन्दुको शल्यक्रिया भएको छ । अबका केही दिनभित्रै शल्यक्रिया गर्दा लगाएको पट्टी खोलिएपछि झलमल्ल संसार हेर्ने खुसीले उहाँ विभोर हुनुहुन्छ । “आफ्नै गाउँबस्तीमा आएका डाक्डरबाबुले आँखा जाँचेर अपरेसन गर्नुपर्छ भन्नुभयो । आज उहाँहरूले नै लिएर अपरेसन गराएर घर पु¥याई दिनुभएको छ”, सेतीमायाले भन्नुभयो, “अब त भोलिपर्सि नै पट्टी खोलेपछि सबै उज्यालो देख्नेछु ।” पछिल्लो एक दशकयता मोतियाविन्दुले समस्या भएपछि आसै घरको आँगन ननाघेकी उहाँको अब पूरै गाउँ घुम्ने रहर छ ।

सेतीमाया मात्र होइन काछबस्तीकै ७५ वर्षीया जुनुमाया आले, ७६ वर्षीया गोपीमाया धागा र ६० वर्षीया गङ्गामाया ठोकरको पनि बुधबार नै मोतिविन्दुको शल्यक्रिया भएको छ । उहाँहरूलगात मोतिविन्दु भएका १७ जनाको हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । “फेरि आँखा उघ्रेर संसार हेर्न पाइने भो, बुढेसकालमा योभन्दा खुसी हुन अरू के चाहियो र !” ७६ वर्षीया गोपीमाया धागा भन्नुहुन्छ, “यो बन्दोबस्त मिलाइदिने सबैको जय होस् ।”

यसपालि प्रजातन्त्र दिवसको अवसर पारेर आँखा जाच शिविर आयोजना गरिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीले बताउनुभयो । शिविरमा आँखा जाँच गरिएका ३५० जनामध्ये १७ जनामा मोतिविन्दु देखिएपछि शल्यक्रिया गरेको र एक सयभन्दा बढीलाई आँखा जाँचपछि चस्मा र दुई सय जनालाई औषधि दिइएको उहाँले जानकारी दिनुभयो ।  

कतिपय पछिल्ला १० वर्षदेखि आँखा समस्या भएर पनि उपचार गर्न गएका थिएनन् । प्रजातन्त्र दिवसका अवसरमा आयोजित शिविर निकै लाभदायक भएको बर्दिबास–५ का वडाअध्यक्ष काहरमान स्याङ्वाले बताउनुभयो । “आर्थिक स्रोतको अभावमा आँखाको उपचार र शल्यक्रिया गराउन नसक्ने अवस्थाका अत्यन्त विपन्न परिवारका सदस्यले प्रजातन्त्र दिवसका अवसरमा आँखा जाँचदेखि शल्यक्रियासम्मको सुविधा पाए । यो निकै अविष्मरणीय र सराहनीय कार्य हो”, उहाँले भन्नुभयो । 

यसका लागि अष्ट्रेलियाको तस्मानियाँस्थित रोटरी क्लबका सदस्य डेभिड एक्स र एक्सले होडिङ लिमिटेडले आर्थिक स्रोत जुटाइदिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष पुरीले जानकारी दिनुभयो ।

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा क्रिकेट सङ्घलाई हराएर बैङ्कर्स टोली विजयी

दोधारा चाँदनी (कञ्चनपुर- राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवका अवसरमा रासस महेन्द्रनगर कार्यालयले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि बैङ्कर्स टोलीले हात पारेको छ ।

  महेन्द्रनगरस्थित कवर्डहलमा आयोजित फाइनल खेलमा जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरलाई चार विकेटले पराजित गर्दै बैङ्कर्स टोलीले उपाधि हात पारेको हो । आज भएको पहिलो खेलमा बैङ्कर्स टोलीले महाकाली प्रादेशिक अस्पतालको टोलीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो खेलमा जिल्ला क्रिकेट सङ्घको टोलीले राससको टोलीलाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो । 

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको क्रिकेट सङ्घ कञ्चनपुरको टोलीले निर्धारित १० ओभरको खेलमा छ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । सङ्घका लागि निरज चन्दले २९ र नरेन्द्र भट्टले ३५ रन बनाउनबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा बैङ्कर्स टोलीका हरिश चन्द र प्रदीप तिवारीले समान दुई÷दुई विकेट लिए । ८३ रनको लक्ष्य पाएको बैङ्कर्स टोलीले जवाफी ब्याटिङ गर्दै छ विकेटको क्षतिमा नौ ओभरमा लक्ष्य पूरा गर्‍यो । 

उसका लागि गौतम मिश्रले २३, ललित कलौनी १५ र हरिश चन्द २३ रन बनाए । बलिङमा क्रिकेट सङ्घका आषिश खत्रीले दुई विकेट लिएभने नरेन्द्र भट्ट, भुपाल विष्ट, खेम भट्ट र निरज चन्दले एक÷एक विकेट लिए ।  

त्यसअघि जिल्ला क्रिकेट सङ्घ र राससको टोलीबीच भएको खेलमा क्रिकेट सङ्घले राससको टोलीलाई ३७ रनले पराजित गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको क्रिकेट सङ्घको टोलीले निर्धारित १० ओभरमा दुई विकेटको क्षतिमा १०२ रन बनायो । क्रिकेट सङ्घका विशाल सोनारले सर्वाधिक ४९ रन बनाए भने भुपाल विष्टले २९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा राससका भुपाल केसी र प्रेम नेपालीले एक÷एक विकेट लिए ।  १०३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको राससको टोलीले निर्धारित १० ओभरको खेलमा पाँच विकेट गुमाएर ६५ रन मात्रै बनाउन सक्यो । राससका प्रेम नेपालीले सर्वाधिक ३७ रन बनाए भने भुपाल केसीले २२ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् । बलिङमा क्रिकेट सङ्घका खेमराज भट्टले तीन विकेट लिए भने नरेन्द्रराज भट्टले एक विकेट लिए । 

पहिलो खेलमा बैङ्कर्स टोलीले सात विकेटले महाकाली अस्पतालको टोलीलाई पराजित गरेकोे थियो । पहिले ब्याटिङ गरेको महाकाली प्रादेशिक अस्पतालको टोलीले निर्धारित १० ओभेरमा सात विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो । अस्पतालका रोहित भट्टले १९ रन बनाए । यसैगरी, किसन सिंह विष्टले १० रन बनाउँदा समीर श्रेष्ठले १७ रन बनाउनबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा बैङ्कर्स टोलीका हरिश चन्दले तीन विकेट लिए भने किसन भट्ट, भगत बुढा र वासुदेव जोशीले एक/एक विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रिएको बैङ्कर्स टोलीले नौ ओभरमा लक्ष्य पूरा गर्‍यो । उसका लागि ललित कलौनीले सर्वाधिक २१ रन बनाए । त्यसैगरी पुष्कर विष्टले १६ रन बनाउँदा गौतम मिश्रले ११ रनको योगदान गरे । बलिङमा महाकाली अस्पतालका भुपेस चटौत, रमेश नाथ र दीपक महराले एक/एक विकेट लिए ।

उपाधि विजेता टोलीलाई कार्यक्रममा प्रमुख अतिथि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले ट्रफी प्रदान गर्नुभएको थियो । समापन समारोहमा प्रजिअ सापकोटाले राससको वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै मैत्रीपूर्ण क्रिकेटले यहाँको खेलको विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशी, पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष सुरेश धामी, वरिष्ठ पत्रकार चित्राङ्ग थापा, जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्द र महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला क्रिकेट सङ्घका पदाधिकारी, पत्रकार महासङ्घका पदाधिकारी, स्थानीय बुद्धिजीवी, खेलाडीलगायतको उपस्थिति रहेको थियो । 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, ८ फागुनः हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसमसफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ ।

महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनाका साथै देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा लुम्बिनी प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वषा तथा गण्डकी,सुदूरपश्चिम, र कर्णाली प्रदेशका उच्च पहाडी एवं हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाबाट नौ हजारले सेवा लिए

मनहरी (मकवानपुर), ८ फागुनः हेटौँडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नौ हजार ४८ जनालाई सेवा दिइएको चिकित्सालयकी प्रमुख ललिता पाण्डेले जानकारी दिनुभयो । सेवा लिनेमध्ये चार हजार २७३ जना पुरुष रहेका छन्भने चार हजार ७७५ जना महिला रहेका छन् ।

चिकित्सालयमा गत आर्थिक वर्ष २०८०÷८१ मा १७ हजार ६८० जनाले सेवा लिएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार औषधालयमार्फत २३ थरीका औषधि निःशुल्क वितरण गर्नाका साथै सशुल्क फार्मेसी, पूर्वकर्म, पञ्चकर्म, योग परामर्श, पत्थ्य आहार सेवा प्रदान भइरहेको छ । 

यस्तै, प्रयोगशाला सेवा, निःशुल्क फिजियोथेरापी, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, अकुपञ्चर सेवा र शल्य सेवा उपलब्ध रहेको चिकित्सालयका सूचना अधिकारी विनोदकुमार शाहले जानकारी दिनुभयो । औषधालयले केही समयमा नै हेटौँडा–२ स्थित नयाँ भवनबाट सेवा प्रदान गर्ने र थप सेवा विस्तार गरिने शाहले बताउनुभयो ।     पछिल्लो समय आयुर्वेदिक सेवाप्रति आममानिसमा विश्वास बढ्दै गएको छ ।

आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण

गोरखा, ८ फागुनः नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् । “गोरखा दरबार सङ्ग्रहालयमा नेपाल एकीकरणको इतिहास बुझ्न र अध्ययन गर्न पाइन्छ”, प्रमुख कार्कीले भन्नुभयो, “शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोकन गर्न विद्यार्थीहरू आइपुग्छन् ।”

यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेको उहाँको भनाइ छ । प्रमुख कार्कीकाअनुसार साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् । यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण गरेका छन् । सङ्ग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था छ । 

सङ्ग्रहालयमा पृथ्वीनारायण शाहको चिना, भाँडाकुँडा, मानापाथी, हातहतियार तथा विभिन्न कलात्मक सामग्रीहरू अवलोकनका लागि राखिएका छन्भने काष्ठकलाले भरिपूर्ण तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरण्डा सङ्ग्रहालयको थप आकर्षणका रूपमा रहेको छ ।   यस्तै, विभिन्न जातजातिको संस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनीकक्ष सङ्ग्रहालयमा रहेका छन् । यो सङ्ग्रहालय विंस २०६५ देखि सञ्चालनमा आएको हो ।

‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग

काठमाडौँ, ८ फागुनः नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।

विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।

सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षेत्रमा थपेका चुनौती, सञ्चारसँग सम्बन्धित ऐन, कानुन, सञ्चारमाध्यमका समस्यालगायत विषयमा घनिभूत छलफल गरी १२ बुँदे घोषणापत्र सार्वजनिक गरिएको जनाएको छ ।

सम्मेलनमा महासचिव दिलीप पौडेलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग संयोजक प्रेम केसीद्वारा प्रस्तुत अनुशासन समितिको प्रतिवेदन पारित गरिएको छ । सम्मेलनले दिएको सुझावका आधारमा केन्द्रीय समितिले तयार गर्ने कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा पनि युनियनले गरेको छ ।

सदस्यतालाई थप व्यवस्थित गर्दै युनियनको विधानमा भएको व्यवस्थाअनुसार क्रियाशील पत्रकारलाई समावेश गरेर सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने र प्रदेश तथा शाखाहरूले वैशाख मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने पनि घोषणा गरिएको छ ।

श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, नियमित पारिश्रमिक भुक्तानी, पत्रकारको पेसागत, भौतिक, आर्थिक, सामाजिक सुरक्षालगायत विषयमा सरकार तथा सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै आवश्यकताअनुसार युनियनका सबै संरचनाले दबाबमूलक अभियान अघि बढाउने पनि घोषणा गरिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाबारे ध्यानाकर्षण भएको जनाउँदै संविधानप्रदत्त अधिकार सुनिश्चित हुने गरी सञ्चारसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन, नियमावली बनाउन तीनै तहका सरकारसँग युनियनले जोडदार माग गरेको छ ।

“मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको प्रभाव विज्ञापन बजारमा परेकाले छापा, टेलिभिजन, रेडियो सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । अनलाइन सञ्चारमाध्यम खोल्ने क्रमले व्यापकता पाएको अवस्थामा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनमा समावेश गरी विज्ञापनको रकम वृद्धि गर्न प्रदेश एवं शाखा अध्यक्षको सम्मेलन आग्रह गर्दछ”, जारी घोषणापत्रमा भनिएको छ ।

व्यावसायिक पत्रकारिता, पत्रकारको पेसागत सुरक्षा, पत्रकारको क्षमता विकासलगायत विषयमा केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकारसँग प्रेस युनियन’ अभियानलाई प्रभावकारी बनाउन क्षमता विकास, पत्रकारिताको विधागत प्रशिक्षण, पत्रकार दुःखसुखमा साथ दिने कार्यक्रम, बिमा, सामाजिक सुरक्षा, प्रोत्साहन तथा लेखनवृत्तिलगायत कार्यक्रम सबै शाखा र प्रदेश समितिले कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलनले व्यक्त गरेको छ ।

प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) लाई समयानुकूल र व्यावहारिक बनाउन विधान संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ ।

चैतमा ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गरिने

नेपालको पत्रकारिताका मुद्दालाई अन्तरराष्ट्रियकरण गर्दै अन्तरराष्ट्रिय अभ्यासलाई नेपालमा अनुसरण गर्ने वातावरण सिर्जना गर्न युनियनले चैत अन्तिम साता ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ । सम्मेलनले सो समिट भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल पत्रकार महासङ्घको सदस्यताबाट छुटेका र छुटाइएका पत्रकारको सदस्यता कायम राख्ने प्रक्रिया तत्काल थाल्न युनियनले महासङ्घलाई आग्रह गरेको छ । नेपालको नामकरणको इतिहास जोडिएको नेमुनि ऋषिको तपस्यास्थल बज्रयोगिनी, स्वस्थानी व्रतकथामा उल्लेख भएको शालीनदी, माधवनारायण तथा साँखु क्षेत्रका मणिचुड, पञ्चमहालक्ष्मी, नारायणीश्वर, कुण्डेश्वरलगायत धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र तथा आलु र धान प्रमुख बाली रहेको यस क्षेत्रमा कृषि पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आमसञ्चारमार्फत जोड दिने र यस क्षेत्रका पूर्वाधार विकासका लागि पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस युनियनको प्रदेश तथा शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन सम्पन्न गर्न प्रेस युनियन काठमाडौँ, ललितपुर, भक्तपुर, साँखु शाखासहित प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति केन्द्रीय समितिले आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह

तनहुँ, ८ फागुनः अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो ।

जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो । बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो । डा चौधरीले भन्नुभयो, “केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बङ्गुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बङ्गुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बङ्गुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।”

यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।

उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा चौधरीले बताउनुभयो ।

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले पुरस्कार पाउने सबैको प्रशंसा गर्नुभएको हो ।

“नेपाली माटोलाई गौरवान्वित पार्ने प्रतिभालाई हार्दिक बधाई ! तपाईंहरूको लगन, परिश्रम र योगदानलाई सलाम !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले आफूलाई युनिभर्सल पिस फेडेरेसन, कोरियाले सन् २०१८ डिसेम्बरमा “लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड” रू एक लाख अमेरिकी डलरको पुरस्कार प्राप्त भएको थियो र उक्त राशिमा त्यति नै थप गरी अक्षयकोष स्थापना गरेर हरेक वर्ष राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । 

प्रधानमन्त्री ओलीका अनुसार पहिलो पटक चिकित्सक डा सन्दुक रूइत, कृषि उपकरण अन्वेषक रदी मिया र मादकपदार्थ सेवन गरी चलाएको सवारीसाधन आफैँ रोकिने प्रविधिका अन्वेषक विकल्प ढुङ्गाना पुरस्कारबाट सम्मानित हुनुभएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । सरकारले पहिलो पटक २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा)ले पुरस्कृत घोषित हुनुभयो ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुनुभयो ।

नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही रू पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भए पनि कोरोना महामारीका कारण २०७७ सालदेखि उक्त पुरस्कार वितरण हुन सकेको थिएन । सरकारले आज एकै पटक पाँच वर्षको पुरस्कार १० जनालाई दिने घोषणा गरेको हो । 

बागमती गोल्डकप : सङ्कटालाई हराउँदै एपिएफ सेमिफाइनलमा

बागमती, ७ फागुन : विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ८३औँ मिनेटमा एपिएफका सुजनकुमार पुलामीले एक गोल गरेका थिए । सो गोल नै खेलको निर्णायक बन्न पुग्यो । आजको खेलमा म्यान अफ द म्याच घोषित एपिएफ क्लबका मणिकुमार लामाले नगद रु १० हजार प्राप्त गरे । एपिएफ क्लब अघिल्लो छैटौँ संस्करणको बागमती गोल्डकपको उपविजेता टिम हो । 

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो ।
यही फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको अध्यक्ष थिङले बताउनुभयो । प्रतियोगिताका विजेता टिमले पुरस्कार स्वरुप नगद रु १० लाख प्राप्त गर्ने छ भने उपविजेताले नगद रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । 

पहिलो टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड अमेरिकामा हुने

काठमाडौँ । पहिलो टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड हुने भएको छ । अवार्ड सम्बन्धी विशेष प्रेस मिट हिल्टन होटलमा सम्पन्न भएको छ। सतिसाल इन्टरनेशनल एलएलसीका (लकेश श्रेष्ठ) र बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को संयुक्त आयोजनामा अवार्ड सम्बन्धी जानकारी दिँदै काठमाडौँको हिल्टन होटलमा सम्पन्न भएको हो ।

भव्य रुपमा आयोजना गरिको कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। सोहि कार्यक्रममा नेपालका वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की, अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी,निर्देशक दिलिप समन लगायत अन्यको सहभागिता रहेको थियो । यस अवार्डको उद्देश्य भनेको नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना, र न्यूयोर्कमा आयोजना हुने अवार्ड समारोहबारे जानकारी गराए। उक्त समारोहमा बिभिन्न बिधामा अवार्ड बितरण गर्ने नेपाली कलाकारहरूलाई सम्मान गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।

त्यसैगरि अवार्ड समारोहमा टाइटल स्पोन्सर टप सप काठमाडौं र सह – प्रायोजकको रूपमा समिप इन्टरटेनमेन्टलाई चयन गरिएको छ । कार्यक्रममा आयोजक टोलीले टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको उद्देश्य, नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना, र न्यूयोर्कमा आयोजना हुने अवार्ड समारोहबारे जानकारी गराए। उपस्थित कलाकार, सञ्चारकर्मी तथा आयोजकहरूले नेपाली कलाकारहरूको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्ने अवसरका रूपमा यस अवार्डलाई महत्वपूर्ण मञ्च हुने विश्वास व्यक्त गरेका थिए । बिभिन्न बिधामा अवार्ड बितरण गर्ने नेपाली कलाकारहरूलाई सम्मान गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।

अवार्ड नेपाली कला, संगीत तथा चलचित्र क्षेत्रमा लामो समय योगदान पु¥याएका वरिष्ठ कलाकारलाई प्रदान गरिने छ। यस अवार्डले नेपाली कलाकारहरूको मेहनत र समर्पणलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्ने उद्देश्य राखेको छ। यस विशेष अवार्ड समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार, निर्देशक, संगीतकार, गायक तथा सञ्चारकर्मीहरूको सहभागिता रहने छ। साथै, अवार्ड वितरणका क्रममा सांगीतिक प्रस्तुति तथा अन्य विशेष कार्यक्रमहरू पनि समावेश गरिने जानकारी आयोजक समितिले दिएको छ ।

सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, ७ फागुन : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सहिदका सपना पूरा गर्न मुलुकमा सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यक रहेको बताउनुभएको छ ।

सम्मानित नेता खनालले ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा राज्यशक्तिको स्रोत जनतामा निहित हुनुपर्ने मान्यतालाई स्थापित गरेको ऐतिहासिक दिनमा सहिदको सपना पूरा गर्न वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले समाजमा शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र विकृति विसङ्गतिको अन्त्य गरी सहिदले कल्पना गरेको जनताको सुख, शान्ति तथा समृद्धिको लागि वैज्ञानिक समाजवादको खाँचो औँल्याउनुभयो ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

रोकियो ‘ताण्डवम्’ को सेन्सर, प्रिमियर स्थगित

काठमाडौं । फागुन ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ताण्डवम्’ को प्रदर्शन रोकिएको छ । सिनेमामा अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सेन्सर रोकेको हो ।

सेन्सर रोकिएसँगै आज बुधबारलाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित गरिएको छ । सिनेमा हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिए ।

केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको छ । अब, ती दृश्यहरु काँटेपछि सिनेमाको जुन मर्म छ त्यो मर्छ । दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरिएको छ । त्यससँगै सिनेमामा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको निर्देशक जुनिम गहतराजले बताए ।

सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक र

चौध लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए

काठमाडौंँ, ७ फागुन : सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार सकिएको छ ।

गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ किशोरीले अभियानका बेला खोप लगाएका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । उहाँले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत जानकारी दिनुभयो । “कुनै समुदायमा छुट भएका किशोरीलाई त्यही गएर खोप लगाएका छौँ,” उहाँले भन्नुभयो, “मधेशतिर खोप लगाउन छुटेका एकै समुदायका एक सय ५० जना किशोरीलाई पनि हामीले खोप लगाइएको छौँ । समुदायमा गएर खोजेर खोप लगाइने छ ।”

शाखा प्रमुख डा गौतमले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएको खोप अभियान सुरू नगरिएको बताउनुभयो । उहाँका विद्यालय सुरू हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

नेपाल आइपुगेका विद्यार्थीले दिए प्रकृतिको आत्महत्याको घट्नाबारे विस्तृत जानकारी

काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न र न्यायको माग गर्दै विभिन्न संघ, संस्थालगायत विद्यार्थीहरु आन्दोलित अवस्थामा छन् ।

विश्वविद्यालयमा पनि नेपाली विद्यार्थीहरुले आन्दोलन गरेपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, होस्टेलबाट निकालेर रेल्वे स्टेसन पुर्याउने, कुटपिट गर्ने जस्ता घटना सार्वजनिक भएको छ ।

सोही विश्वविद्यालयको एयरोस्पेस संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी बेदानन्द मण्डलले उक्त घटना बारे विस्तृत जानकारी दिदैँ घटनापश्चात गल्स होस्टेलका सबै केटीहरुाई ताला लगाएर भित्रै थुनेको र लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको बताएका छन् ।

उनले भने, ‘त्यसपछि गल्स होस्टेलमा सबै केटीहरुलाई बाधेर राखेको छ भन्ने कुरा आयो किनभने बाहिर निस्कियो भने सबै कुरा बाहिर आउछ भनेर गेटमा ताला लगाएर भित्रै थुनेर राख्ने काम भएको थियो । हामीले पछि नारा लगाउन थाले पछि हामी सबैलाई लगेर २ घण्टा जतिको मिटिङ् जस्तो भयो र त्यो समयमा प्रकृती लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको छ । कोठाको सामानहरु सबै मिलाउने काम भएको रहेछ ।’

यसको साथै, उनले ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रिवास्तव एमेलेको छोरा भएको कारण कलेजप्रशासनले बचाउने प्रयास गरेको पनि बताए ।
उनले भने, ‘हामी घटना भएको ठाँउमा पुगेर ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रिवास्तव कहाँ छ भनेर सोधपुछ गरेका थियौं । आड्भिक श्रिवास्तव एमेलेको छोरा हो, मुख्य कुरा नै यही हो । त्यसको विरुद्धमा प्रकृतीले दुई पटकसम्म लिखित उजुरी र त्यो भन्दा बढि प्रशासनमा गएर उजुरी गरेको थियो । यसमा केही याक्सन भएको थिएन् । हामीले त्यो केटाको खोजी गर्दा उनीहरु पक्राउ परिसकेका छन् भन्ने कुरा आयो ।’

यसको साथै अर्को विद्यार्थी अमिश पाण्डेले पनि सामानहरुको छेड्खानी पुलिसको सहभागितामा कलेज प्रशासनबाट भएको बताए ।
यसको साथै, उनले ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट गरेको भन्दै के हामी आतंकवादीहरु थियौं भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘त्यहाँ आन्दोलन गर्ने नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले कुटपिट गरेको थियो । त्यसको भोली पल्ट कलेजबाट नोटिस आयो, कलेजमा भएका जति पनि नेपाली विद्यार्थीहरु छन् उनीहरुलाई अर्को नोटिस नआएसम्मको लागि सस्पेन्ड गरिएको छ भनेर त्यसपछि होस्टल पनि छोडेर जाउ भनेर भन्नु भयो । ल ठिक छ भनेर हामी घर आउने तयारी गर्ने क्रममा ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट भईरहेको छ । बसमा राखेर पनि कुटि रहेको छ के हामी आतंकवादीहरु थियौं ।’जथाभावी रुपमा विद्यार्थीहरुलाई बसमा चढाएर रेल स्टेसनमा अलपत्र छोडेको पनि उनीहरुको भनाई छ ।

‘विदेशबाट आयात हुने कृषि उपजमा कर लगाउनुपर्छ’ : प्रवक्ता महत

त्रिशूली (नुवाकोट), ७ फागुन : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशबाट आयात हुने कृषिजन्य उपजमा कर लगाउनुपर्ने बताउनुभएको छ ।नेपाल किसान महाङ्घ नुवाकोटको आज विदुरमा आयोजित जिल्ला अधिवेशनमा प्रवक्ता महतले नेपालका किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारमा सहज रूपमा पु¥याएर लागत अनुसारको आम्दानी लिन विदेशबाट भित्रने कृषि सामग्रीमा कर लगाउनुपर्ने बताउनुभयो ।

“विदेशबाट भित्रने कृषि सामग्रीको बजारीकरण गर्न सस्तो मूल्यमा प्रशस्त उपलब्ध गराई स्वदेसी उत्पादनलाई निरूत्साहित बनाउन विदेसी बिचौलिया केन्द्रित हुन्छन्,” प्रवक्ता महतले भन्नुभयो, “नियोजित रूपमा आन्तरिक उत्पादनले आत्मनिर्भर हुन नसक्ने बनाइ त्यसपश्चात महङ्गो बनाउँछन् । त्यसबाट बच्न कृषि सामग्रीको भन्सार विन्दुमा कर लगाई नेपाली किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ ।”

कृषि पेसालाई सम्मानित बनाउन नसक्दा नेपाल कृषिप्रधान देश भए पनि यहाँको उत्पादनले आत्मनिर्भर हुन नसकेको उहाँले बताउनुभयो । त्यसका लागि युवालाई प्राविधिक शिक्षा र सीप विकासमा संलग्न गराई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको प्रवक्ता महतको भनाइ छ ।

नेपाली कांग्रेसको मिसन गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार : महामन्त्री थापा

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष कांग्रेसका लागि मिसन–२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् ।

बुधबार पाल्पाको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो ।’

कांग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले कांग्रेस सक्रिय भएर लाग्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे ।

संसदका दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो ।

महामन्त्री थापाले अब निःशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी कांग्रेसले काम गर्ने उल्लेख गरे । उनले कांग्रेस २०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’

गण्डकी, ७ फागुनः वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।

केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले उहाँ परिचित हुनुहुन्छ । त्यसैगरी यस वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ । उहाँको काव्यकृति ‘सहधर्मिणी’का लागि उक्त पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

त्यसैगरी रु २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार–२०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मालाई प्रदान गरिएको छ । रत्न–श्रेष्ठ पुरस्कार गुठीको संरक्षकत्वमा सञ्चालित जगतचन्द्र स्मृतिकोषका तर्फबाट प्रदान गरिने उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । शर्माको निबन्ध सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’लाई पुरस्कार प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो ।

सोही समारोहमा बागलुङ नगरपालिका–४ कुँडेलस्थितस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदीलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । बागलुङका गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित उक्त पुरस्कारको राशि रु दस हजार रहेको छ । गुठीले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।

साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ मा पुरस्कार कोष स्थापना गर्नुभएको थियो । ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’लाई देशकै जेठोमध्येको एक पुरस्कार संस्था मानिन्छ । भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संस्थापक संरक्षक छोटाले बताउनुभयो । दिवङ्गत रत्नकुमारी श्रेष्ठको ११७औँ पुण्यतिथि र ४८औँ स्मृति दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको गुठीले जनाएको छ ।

दक्षिण कोरिया : ७६ हजार गाडी ममर्तका लागि फिर्ता

दक्षिण कोरियाका पाँच स्वदेशी र विदेशी अटोमोबाइल निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७६ हजार सवारी साधन स्वैच्छिक रूपमा फिर्ता गर्ने यातायात मन्त्रालयले बुधबार जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार किया कर्पले निरो इलेक्ट्रिक भेइकल (इभी) लगायत दुई फरक मोडलका ३५ हजार ५७१ इकाइ त्रुटिपूर्ण एयरब्याग प्रणालीका लागि फिर्ता गर्नेछ ।

बीएमडब्लु कोरियाले कूलिङ पम्प तार कनेक्टरमा समस्या भएका कारण ५२८आई सेडान जस्ता २८ मोडलका २४ हजार ३७१ इकाइ फिर्ता गर्नेछ, जसले आगोको जोखिम निम्त्याउँछ ।

ट्रान्सफर्मर र हाइब्रिड कन्ट्रोल सिस्टममा भएका सफ्टवेयर त्रुटिहरूले रेनो कोरिया मोटर्सको अर्काना हाइब्रिड स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) सहित दुईवटा मोडलका आठ हजार ५६ इकाइहरू फिर्ता बोलाएको छ ।

टेस्ला कोरियाले मोडल वाईका सात हजार ७८१ इकाइहरूमा इलेक्ट्रिक पावर असिस्ट स्टेयरिङ (इपीएएस) प्रणालीमा भएका सफ्टवेयर त्रुटिहरू सुधार गर्नेछ ।

जगुआर ल्यान्ड रोभर कोरियाले डिफेन्डर ११० ए३०० एसयूभी सहित चार मोडलका ६०३ इकाइहरूमा सुधारात्मक कारबाही गर्नेछ ।

सवारी साधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पाट्र्सहरू निःशुल्क बदल्न सक्छन् ।

‘नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा’: प्रकाशशरण महत

काभ्रेपलाञ्चोक, ७ फागुन : नेपाली कांग्र्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताउनुभएको छ ।
आज नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औँ जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताउनुभयो ।

“सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध ग-यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६ र २०६२÷०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाई गरेको छ”, उहाँले भन्नुभयो । 

उहाँले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने  मान्यतालाई कांग्रेसले स्थापित गरेको बताउनुभयो । बिपी कोइराराले भने झैँ अहिले ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउने उहाँको धारणा थियो । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्य, जिल्ला सभापति तीर्थ लामालगायतले शिक्षकको योगदानबारे चर्चा गर्नुभयो । सो अवसरमा शैक्षिक सत्र २०८० र २०८१ मा जिल्लाका उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । 

‘अस्पतालले जनताको विश्वास बढ्नेगरी काम गर्नुपर्छ’ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), ७ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।आज प्रदेश अस्पताल सुर्खेतको १९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले राम्रो सेवा पाउँदा मात्र सरकारको काम जनताले बुझ्ने भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न निर्देशन दिनुभयो ।

कर्णाली प्रदेश सरकारले समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनामा सरकारले काम गरिरहेको मुख्यमन्त्री कँडेलले उल्लेख गनुभयो । कर्णाली प्रदेशका सबै क्षेत्रका विकास निर्माणका काम अघि बढिरहेको हुनाले केही समयमा कर्णाली समुन्नत हुने उहाँको भनाइ थियो । 

केआईआइटीमा अध्ययनरत एक सय २६ विद्यार्थी स्वदेश फिर्ता

वीरगञ्ज  । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् । 

केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले बुधबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले न्याय पाउनुपर्ने भन्दै विरोध प्रदर्शनी गरेका थिए ।

ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय मन्त्रीसँग कुराकानी

काठमाडौँ, ७ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा आन ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन संवाद गर्नुभएको छ ।

टेलिफोन संवादका क्रममा मन्त्री राणाले सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

सो फोनवार्तामा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानविन समिति गठन गरिएको जानकारी गराउनुभएको थियो । 

साथै उहाँले त्यहाँस्थित नेपाली विद्यार्थी र अभिभावकलाई आवश्यक परामर्शका लागि अलग्गै ‘हटलाइन’को व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइने जानकारी मन्त्री डा देउवालाई गराउनुभएको थियो । 

त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा छात्रावासमा रहेर पठनपाठन गर्न सक्ने सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि दिनुभएको थियो । कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट रहेको र यो सम्बन्धलाई आगामी दिनमा थप सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो । 

सो घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जनाइएको छ ।

मङ्गलबारमात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँदिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका थिए भने भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले कलेज प्रशासनसँग कुराकानी गर्नुभएको थियो ।

‘स्काइवाक टावर’मा प्रधानमन्त्री ओली

काठमाडौँ, ७ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिनुभयो ।

पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गर्नुभएको अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताउनुभयो ।

कूल ७८ दशमलव ५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्ने गरिन्छ । दुई वटा लिफ्ट रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।