`

महिला फुटबल : म्यानमारद्वारा लेबबान पराजित

काठमाडौँ, ५ फागुनः अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले लेबबानलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । म्यानमारको जितमा विन थेङ्गी तुन, स्वेय यी तुन र सान थाअले समान एक–एक गोल गरे । यता लेबबानका लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा म्यानमारकी विनले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । त्यसपछि खेलको ६०औँ मिनेटमा लेबनानकी लायलाले एक गोल गरिन् ।

खेलको ७२औँ मिनेटमा म्यानमारकी अर्की खेलाडी स्वेय यीले हेडमार्फत बललाई जाली चुमाइन् । त्यसको तीन मिनेटपछि सानले अर्को गोल थपिन् । उनले रिबाउन्डमा गोल गरेकी हुन् ।

यस जितसँगै म्यानमारले तीन अङ्क जोडेको छ । सोही प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा नेपाल र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ६ बजे सुरु हुने छ ।

रुख कटान गरेको आरोपमा दुई जना पक्राउ

जलेश्वर (महोत्तरी), ५ फागुनः जिल्लाको टुटेश्वर सवडिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख कटान गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा प्राधिकरणको ढल्केवर प्रसारण केन्द्रमा कार्यरत धनुषाको मिथिलाबिहारी नगरपालिका–८ बस्ने कुलदीप यादव र धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका–९ बस्ने चन्देश्वर यादव रहेको टुटेश्वर सवडिभिजन वन कार्यालयले जनाएको छ ।

हेटाँैडा–ढल्केवर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका लागि वन कार्यालयको स्वीकृतिबिना नै रुख कटान गरिरहेको अवस्थामा उनीहरूलाई आइतबार कार्यालयका अधिकृत राकेश विश्वकर्माको नेतृत्वमा खटिगएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्राधिकरणका कर्मचारी यादवलाई वन अधिकृतसहितको टोलीले ६९ वटा साखु, असना र कर्माका प्रजातिका संरक्षित रुख कटान गरेको अवस्थामा वन क्षेत्रबाट नियन्त्रणमा लिइएको अधिकृत विश्वकर्माले बताउनुभयो । दुवै जनालाई टुटेश्वर सवडिभिजन वन कार्यालयले वन मुद्दाअन्तर्गत महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।

‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’

काठमाडौँ, ५ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताउनुभएको छ ।

इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अङ्क विमोचन गर्दै आज उहाँले ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न दुई देशका सचिवस्तरीय बैठकले उक्त सहमति गरेको जानकारी दिनुभएको हो ।

“हामीले आठ अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशलाई निर्यात गर्ने सम्झौता गरेका छौँ, उक्त सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैलाई हुने भएकाले विपन्न वर्गलाई सस्तो ब्याजदरमा रु दुईदेखि पाँच लाखको सेयर उपलब्ध गराउनेगरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो । उहाँले यसअघि जलविद्युत् आयोजना निर्माण भए पनि प्रसारण लाइनको अभावका कारण विद्युत् खेर गइरहेकाले अब त्यस्तो हुन नदिन निजी क्षेत्रले प्रसारण लाइन निर्माण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

पूर्वमन्त्री एवं पूर्वसचिव शङ्करप्रसाद कोइरालाले ऊर्जा खबर पत्रिकाले ऊर्जा क्षेत्रको विकासका लागि सरकारलाई मार्गदर्शन गरेको बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा विकास मार्गचित्र, २०८१ ले राखेको ऊर्जा विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण साथ र सहयोग रहेको उल्लेख गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारीले ऊर्जा क्षेत्रको महत्त्वपूर्ण गतिविधि समावेश गरेर तयार गरिएको उक्त पुस्तक अनुसन्धानमूलक रहेको बताउनुभयो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले सरकारले लिएको लक्ष्य पूरा गर्न निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् । 

उनले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्राबासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको उल्लेख गरेका छन् ।

मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै अध्यक्ष दाहालले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, “घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु ।”

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती: सांसद शेर्पा

काठमाडौँ । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो । तर जुन किसिमले आत्मकेन्द्रित राजनीति छ त्यसले सङ्घीय व्यवस्थामा चुनौती थपेको अनुभव हुँदैछ । प्रदेशले केन्द्रले आफूलाई अधिकार नदिएको गुनासो गरिरहँदा प्रदेशसँग स्थानीय तहले उस्तै गुनासो गरिरहेको अवस्था छ । स्थानीय तहहरुलाई प्रदेश सरकारले अधिकार दिन नचाहेको देखिन्छ । स्थानीय तहमा पनि गाउँपालिका अध्यक्षले वडालाई अधिकार दिनै नचाहने, वडाध्यक्षले सदस्यलाई अधिकार दिन नचाहने प्रवृत्ति देखिन्छ ।

सङ्घीयता सबलीकरणको विषयमा राष्ट्रियसभा धेरै गम्भीर छ । केही सांसदले पार्टीको सिद्धान्त अनुसार आवाज उठाउनु हुन्छ । अर्कातर्फ, संविधान जहिल्यै त्यही हुनुपर्छ भन्ने छैन । समय अनुसार परिवर्तन/संशोधन गर्दै लग्नुपर्छ । त्यसमा कुन कुन कुरा परिवर्तन गर्ने भन्नेमा बहस गर्न सकिन्छ । संविधान परिवर्तन भनेपछि सबै कुरामा बहस चल्छ, हुनुपर्छ । संविधान नै परिवर्तन भए पनि सङ्घीय व्यवस्था र समानुपातिक निर्वाचन पद्धति परिवर्तन हुनुहुँदैन । निर्वाचन प्रणालीमा सुधार गरी विकृति के के छन् त्यसलाई सुधार गर्नुपर्ने खाँचो छ ।

विधायिकाको रुपमा आफ्नो भूमिकामा सन्तुष्ट छु

राष्ट्रियसभा सदस्यको रुपमा मेरो दुई वर्षको कार्यकाल बित्यो । मैले विधायिकी भूमिका राम्रोसँग निर्वाह गरिरहेको अनुभव गरेको छु । देशको स्रोतसाधन र परिस्थिति अनुसार हामीले धेरै कुरा गर्न सफल भएका छौँ ।

विशेषतः मेरो पर्यटन क्षेत्रमा सहभागिता भएका कारण मैले पर्यटन क्षेत्र र हिमालका मुद्दाहरुमा बढी सरोकार राख्ने गर्दछु र सदनमा पनि यी विषय मेरा प्राथमिकतामा पर्दछन् । पर्यटन क्षेत्रमा नीतिगत परिवर्तनका लागि सरकारलाई घच्घच्याउने अवसर पाएको छु । हिमाल र पहाडको पर्यटकीय क्षेत्र, हिमाल, निकुञ्ज, मध्यवर्ती क्षेत्रको मूल्यमान्यतालाई कसरी सम्बद्र्धन गर्न सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण गराउन सफल भएको छु ।

राष्ट्रियसभामा क्रियाशील सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिको हैसियतमा नतिजामुखी काम गर्न प्रयासरत छु । पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोषबारे नियमित छलफल भइरहेका छन् । बौद्ध क्षेत्र विकास कोषका बारेमा पनि छलफल चलायौँ । जग्गाजमिन लगायतको सम्पत्ति कति छ भनेर त्यहाँको तथ्याङ्क सङ्कलनको काम गरेका छौँ । पुजारी व्यवस्थापनको समस्या पनि जटिल रहेछ, त्यसका लागि कार्यविधि बनाएर पुजारीको व्यवस्थापन गर्न लगाएका छौँ । समितिका तर्फबाट स्थलगत निरीक्षणहरु गरिरहेका छौँ । जमिनी वस्तुस्थिति र हामीले बनाउने नीतिमा धेरै भिन्नता पायौँ । हामीले तल्लोस्तरमा नै गएर वस्तुस्थिति बुझेर निर्देशन दिने अभ्यास चलाएका छौँ । हाम्रो समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको अध्ययन गर्दैछ । पछिल्ला अध्ययनहरुले यी आयोजनाको सञ्चालन र निर्माणका लागि स्पष्ट मापदण्ड हुनुपर्ने देखाएको छ ।

कस्ता कस्ता आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भन्ने र त्यसको स्रोत सुनिश्चित गर्न के गर्नुपर्छ भन्ने सुझाव सङ्ग्रह गरेका छौँ । राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन आवश्यक देखेका छौँ । यी आयोजनाका लागि सम्बन्धित मन्त्रालय र स्थानीयसँग समन्वय गर्न सहजीकरण गर्नेबारे सरकारलाई निर्देशन दिएका छौँ । आयोजनाको सम्भाव्यताको अध्ययन र दिगोपनाबारे राम्रोसँग अध्ययन गरेर मात्र काम सुरु गर्नुपर्छ भन्ने समितिको ठम्याइ छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई दिएका निर्देशनहरु ८० प्रतिशत कार्यान्वयन भएका छन् । यस समितिका निर्देशनलाई सरकारले गम्भीर रुपमा लिएर कार्यान्वयन गरेको छ । संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन हुने समस्या सुनिरहेकै विषय हो । समितिले निर्देशन गर्दै गर्दा सरकारले कतिचाहिँ गर्न सक्छ सक्दैन भन्नेमा सचेत हुनुपर्छ । राष्ट्रिय सभाको दुई वर्षको कार्यकाल लामो पक्कै होइन । हामीले चाहेर मात्र हुन्न, राज्यसँग स्रोतसाधन पनि चाहिन्छ ।

कतिपय आयोजना आजभोलि नै बनाउँ भन्दा सम्भव देखिन्न । त्यसैले समितिले निर्देशन दिँदा सरकारको क्षमतालाई पनि हेर्नुपर्ने खाँचो रहेछ ।

जनप्रतिनिधि बोल्दा सचेत हुनुपर्छ

राजनीतिमा नकारात्मक सोचको विकृति हामीबाटै आएको हो । हामी नै सार्वजनिक मञ्चदेखि सदनमा केही भएन भनेर हरेक दिन नकारात्मक सोच प्रचारप्रसार गरिरहेका छौँ । हामी पार्टीको धारणा बोल्छौंँ । त्यसको असर सबैलाई परिरहेको छ । राजनीतिक नेतृत्वले सार्वजनिक स्थानमा दिएको नकारात्मक अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सबैसामु पुगिरहेको हुन्छ । आमनागरिकले सोही आधारमा धारणा बनाइरहेका छन् ।

नेता, सांसदलगायत हामी सबैले जुन किसिमको प्रस्तुति दिइरहेका छौँ त्यसमा सचेत हुनुपर्छ । आफू सत्तामा बस्दा सबै ठीक र सत्ता बाहिर हुँदा सबै बेठीक भन्न थाल्यौँ भने त्यसले राजनीतिमा विकृति मात्र ल्याउँछ । त्यसले नागरिकहरुमा नैराश्यता बढाउँछ ।

सुशासनका लागि हरेक व्यक्ति अनुशासित हुन जरुरी छ । जवाफदेहीता आवश्यक छ । भ्रष्टाचार पूर्ण नियन्त्रण हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरणका लागि सेवाप्रवाह प्रविधिमुखी बनाउनुपर्छ । सरकारी निकाय र प्रणालीमा नागरिकको विश्वास जित्न सकिरहेका छैनौँ । कतिपय अवस्थामा हामी काम गर्न अघि प्रश्नचिह्न खडा गर्छौं । नागरिकले पनि सरकारी निकायमा विश्वास गर्नुपर्छ । सकारात्मक सोच सत्तामा बस्ने, प्रतिपक्ष र आमनागरिक सबैमा हुनुपर्छ ।

सरकारलाई दोष दिने तर आफूले पाए दश रुपैयाँ ठगिहाल्ने गर्नु भएन । सुरुमा आफू अनुुशासित हुनुपर्छ । आफू अनुशासित नहुने अरुलाई अर्ती उपदेश दिने परिपाटी छाड्नुपर्छ ।

सांसद सोनाम गेल्जेन शेर्पाको परिचय
नेपाल कम्युनिष्ट पार्टी(एमाले) मा आबद्ध सांसद शेर्पा कोशी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छन् । २०४६ सालदेखि राजनीतिक जीवनमा सक्रिय शेर्पा २०५४ सालको स्थानीय निर्वाचनमा नाम्चे गाविस अध्यक्ष रहनुका साथै एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य र कोशी प्रदेश कमिटी सदस्य थिए ।
( संवादको सम्पादित अंश)

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्यसूची

काठमाडौँ, ५ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २५, आलु रातो प्रतिकेजी रू ३४, आलु रातो (भारतीय) प्रतिकेजी रू ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रू ८०, गाजर (लोकल) प्रतिकेजी रू ३५, गाजर (तराई) प्रतिकेजी रू ३०, बन्दा (लोकल) प्रतिकेजी रू १५, बन्दा (तराई) प्रतिकेजी रू १५, बन्दा (नरिवल) प्रतिकेजी रू १५, काउली स्थानीय प्रतिकेजी रू १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रू २०, काउली (तराई) प्रतिकेजी रू १५, मूला रातो प्रतिकेजी रू ३०, मूला सेतो (लोकल) प्रतिकेजी रू २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रू २५, भन्टा लाम्चो प्रतिकेजी रू २५ र भन्टा डल्लो प्रतिकेजी रू ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रू ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रू ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रू ४०, घिउ सिमी (राजमा) प्रतिकेजी रू ११०, टाटे सिमी प्रतिकेजी रू ४०, तिते करेला प्रतिकेजी रू १२०, लौका प्रतिकेजी रू ६०, घिरौला प्रतिकेजी रू १००, फर्सी पाकेको प्रतिकेजी रू ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रू १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रू १५, भेण्डी प्रतिकेजी रू ११०, सखरखण्ड प्रतिकेजी रू ७०, बरेला प्रतिकेजी रू ३५, पिँडालु प्रतिकेजी रू ९०, स्कूस प्रतिकेजी रू ४०, रायो साग प्रतिकेजी रू १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रू ५०, तोरीको साग प्रतिकेजी रू २५, मेथीको साग प्रतिकेजी रू ५०, प्याज हरियो प्रतिकेजी रू ३०, बकुला प्रतिकेजी रू ६०, तरूल प्रतिकेजी रू ८०, च्याउ (कन्य) प्रतिकेजी रू १२० र च्याउ (डल्ले) प्रतिकेजी रू ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रू ३०, चुकुन्दर प्रतिकेजी रू ६०, सजिवन प्रतिकेजी रू १८०, रातो बन्दा प्रतिकेजी रू ६०, जिरीको साग प्रतिकेजी रू ६०, ग्याठ कोबी प्रतिकेजी रू ७०, सेलरी प्रतिकेजी रू ४००, पार्सले प्रतिकेजी रू ७००, सौफको साग प्रतिकेजी रू ६०, पुदिना प्रतिकेजी रू ४००, गान्टे मूला प्रतिकेजी रू ६०, इमली प्रतिकेजी रू १६०, तामा प्रतिकेजी रू १००, तोफु प्रतिकेजी रू १२० र गुन्द्रुक प्रतिकेजी रू ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रू २३०, स्याउ (फूजी) प्रतिकेजी रू ३००, केरा (दर्जन) रू १५०, कागती प्रतिकेजी रू १६०, अनार प्रतिकेजी रू ३२०, अङ्गुर (हरियो) प्रतिकेजी रू २२०, अङ्गुर (कालो) प्रतिकेजी रू ३३०, सुन्तला (नेपाली) प्रतिकेजी रू १८०, सुन्तला (भारतीय) प्रतिकेजी रू १२०, तरबुजा (हरियो) प्रतिकेजी रू ५०, मौसम प्रतिकेजी रू १५०, जुनार प्रतिकेजी रू ११०, भुइँकटहर प्रतिगोटा रू १८०, काँक्रो (लोकल) प्रतिकेजी रू १२०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रू ४०, रूख कटहर प्रतिकेजी रू ११०, नासपाती (चाइनिज) प्रतिकेजी रू २४०, मेवा (नेपाली) प्रतिकेजी रू ६०, मेवा (भारतीय) प्रतिकेजी रू १००, अम्बा प्रतिकेजी रू १२०, लप्सी प्रतिकेजी रू ७०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रू ४०० र किबी प्रतिकेजी रू २५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रू १२०, खुर्सानी सुकेको प्रतिकेजी रू ४००, खुर्सानी हरियो प्रतिकेजी रू ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रू ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रू ५०, भेडेखुर्सानी प्रतिकेजी रू ६०, लसुन हरियो प्रतिकेजी रू ६०, हरियो धनिया प्रतिकेजी रू ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी रू ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रू ३००, छ्यापी सुकेको प्रतिकेजी रू १६०, छ्यापी हरियो प्रतिकेजी रू २५०, ताजा माछा (रहु) प्रतिकेजी रू ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रू २६०, ताजा माछा (छडी) प्रतिकेजी रू २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रू ४५०, राजा च्याउ प्रतिकेजी रू ३०० र सिताके च्याउ प्रतिकेजी रू ८०० तोकेको छ ।

कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

फुङ्लिङ (ताप्लेजुङ), ५ फागुनः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहासिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने छ । कञ्चनजङ्गा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।

म्याराथन प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई रु दुई लाख आठ हजार ५८६, दोस्रो हुनेलाई एक लाख आठ हजार ५८६ तथा तेस्रो हुनेलाई ८५ हजार ५८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरेडाँडा, झण्डेडाँडा, सिन्दुरे ढङ्गा, तुप्लुङ, दुण्डुडाँडा, ढाउँ चौक, भेडी चोकहुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिने छ । गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइकलिङ कार्यक्रम पनि आयोजना गरिने जनाएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमनसमेत गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।

चन्द्रागिरि नगपालिकाले हासिल गरेका असल अभ्यास अनुकरणीछ छन् : विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गीस

काठमाडौँ, ५ फागुनः नेपाल भ्रमणमा रहेको विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गीससहितको उच्च प्रतिनिधिले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको उच्च प्रशंसा गरेका छन् ।

योजना तर्जुमा, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा संलग्नता र सहभागिता टोलीले सरहाना गर्दै नेपालमा सङ्घीयता कार्यान्वयनपछिको तीन तहका सरकाबीचको समन्वय र सहकार्यका बारेमा जिज्ञासासमेत राखेको थियो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष एवं कार्यवाहक प्रशासकीय अधिकृत सुजनराज खनाल, आर्थिक प्रशासन शाखा प्रमुख महेशदत्त भट्ट, मानव संशाधन तथा आन्तरिक व्यवस्थापन (प्रशासन )शाखा दामोदर रिजालसहित विभागीय प्रमुखसँग सो उच्चस्तरीय टोलीले आइतबार चन्द्रागिरि नगरपालिकामा छलफल गरेको थियो ।
छलफलमा नगर प्रमुख गिरीले नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहका बारेमा प्रस्तुति गर्नुहँुदै दिगो विकास लक्ष्य हासिल गर्न उच्च प्राथमिता दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“विद्युतीय सुशासन, विपद् व्यवस्थापन, वातावरण र फोहरमैला, सहरी सुरक्षा, उत्पादन, रोजगारी तथा बजारीकरण जस्ता क्षेत्र प्राथमितामा छन् । स्वच्छिक स्थानीय मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत भइसकेको छ । ”

विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गीसले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको अनुभव अन्यत्रका लागि अनुकरणीय हुने बताउनुभयो । उहाँले भन्नुभयो “नेपाल भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिकाका गतिविधिकाबारेमा जानकारी लिन पाउनु मेरो लागि ऐतिहासिक क्षण रहेको छ ।”

आजदेखि कर्णाली उत्सवः ‘कुडा कर्नालीका’

कर्णाली, ५ फागुनः कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ यहाँको पहिचान दिने र सम्भावना केलाउने मञ्च भएको बताइएको छ । ऋति फाउण्डेसनद्वारा आजदेखि तीन दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करण २०८१ का संयोजक कमल लम्सालले विचारहरुको मन्थनबाट कर्णालीको सम्भावना र भविष्य खोज्ने थलोका रुपमा उत्सव मनाउन थालिएको बताउनुभयो ।

कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा नीति निर्माता एवं कार्यान्वयनकर्ताको ध्यानाकर्षणमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व सचिव तथा कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ संरक्षक केवलप्रसाद भण्डारीले विसं २०७६ देखि उत्सवले कर्णालीमा सामाजिक संवाद सुरु गरेको बताउनुभयो । उत्सवका विषयवस्तु÷सामग्री संयोजक प्रकाश लामिछानेले आज फागुन ५, ६ र ७ गतेसम्म वीरेन्द्रनगर सिटी हलमा सञ्चालन हुने उत्सवमा प्रस्तुत हुने विषयवस्तु एवं सामग्रीबारे पत्रकारलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आज फागुन ५ गते पहिलो दिन ‘के पढ्यौंँ के पढायौँ ?’ ‘स्वाइनीको स्वर ‘खस कुडा खास कुडाः किस्सा तन्नेडीका’, ‘बैकेनी बोल्लिछन्,’ भोलि दोस्रो दिन ‘स्याउको सह,’ ‘आश लाग्दो अर्थतन्त्र,’ ‘छोरीको छहारी,’ ‘टेको सङ्घीयताको,’ ‘कर्णालीमा मधेश’ र पर्सि तेस्रो दिन ‘खलङ्गाः शक्तिको सदरमुकाम,’ ‘चौघान चर्चा,’ ‘राजनीतिः रहर–लहड, ‘मनउँदो कर्णाली मैदानउँदो’ कर्णाली प्रस्तुत हुनेछन् ।
त्यस्तै, उत्सवमा कर्णाली चिनाउन विशेष योगदान गर्ने गोविन्द नेपाली (रङ्गकर्मी), प्रवासकुमार शाक्य (रक्तदान अभियान्ता र दिपा राना (सहकारी अभियान्ता) लाई पैकेलो (नायक÷नायिकाका)रुपमा सम्मान गरिने आयोजक समितिका सम्पर्क व्यक्ति माधवप्रसाद चौलागार्इंले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहिलो दिन राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुती), भोलि प्राडा जीवेन्द्रदेव गिरी र पर्सि राजनीतिक विश्लेषक हरि शर्माले क्रमशः मान्ठ र मईडो, कणालीको बोली, लोकतन्त्र र लोकमन्त्रका विषयमा विद्वत प्रवचन दिनुहुनेछ ।

ल्याटिन अमेरिकी एआई मोडेल सन् २०२५ को मध्यमा सार्वजनिक हुने

चिलीको आर्टिफिसियल इन्टेलिजेन्स राष्ट्रिय केन्द्रले यस क्षेत्रको सांस्कृतिक विशिष्टतालाई ध्यानमा राख्दै सन् २०२५ को मध्यमा ‘लैटमजीपीटी’ भनिने ल्याटिन अमेरिकी आर्टिफिशियल इन्टेलिजेन्स (एआई) मोडेलको सुरुवात गर्ने घोषणा गरेको छ । केन्द्रले लैटमजीपीटी अन्य एआई मोडेलहरू भन्दा फरक हुने एक विज्ञप्तिमा बताएको छ ।

लैटमजीपीटी विशेष गरी ल्याटिन अमेरिकाका लागि अनुकूलित सेवा र समाधानहरू प्रदान गर्न डिजाइन गरिएको एआई मोडेल हो । परियोजनालाई ल्याटिन अमेरिका र क्यारिबियनका लगभग ३० संस्था, विश्वविद्यालय, संस्था र पुस्तकालयहरू लगायतद्वारा समर्थित छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको पेरिस शिखर सम्मेलनको अन्तिम वक्तव्यमा ५८ देशहरूले हस्ताक्षर गरे, जसमा यसलाई आयोजना गर्ने तीन देश चीन, फ्रान्स र भारतले कृत्रिम बुद्धिमत्ता खुला, समावेशी, पारदर्शी, नैतिक, सुरक्षित र विश्वस्तताका लागि सबै अन्तर्राष्ट्रिय ढाँचामा लिने सुनिश्चित गर्न प्राथमिकता दिन सहमत भएको थियो ।

इजरायलमा साइबर सुरक्षा अभियान सुरु

इजरायलले आइतबार आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको मुख्य उद्देश्य इजरायल राष्ट्रिय साइबर निर्देशनालय (आइएनसीडी) द्वारा आयोजित राष्ट्रव्यापी गतिविधिहरूको श्रृङ्खलामार्फत साइबर धम्कीहरूबारे जनचेतना जगाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा सेना, सरकारी शाखा र अन्य सङ्घसंस्थाको सहभागिता रहेको छ । आइएनसीडीले साइबर सुरक्षा सचेतनालाई थप वृद्धि गर्न व्यापक सामाजिक सञ्जाल अभियान पनि सुरु गर्नेछ ।

देशको राष्ट्रिय बाल अनलाइन संरक्षण महिनासँगै यस वर्षको साइबर सुरक्षा सप्ताहले विद्यालयमा अनलाइन सुरक्षासम्बन्धी व्याख्यानसहित युवा पुस्तालाई केन्द्रित गर्नेछ ।

कार्यक्रमले ‘साइबर एम्बेसेडर’ पहलको सुरुवातलाई पनि चिन्ह लगाउँछ, जसअन्तर्गत कक्षा ८ का ४० जना विद्यार्थीहरूले माइक्रोसफ्ट र आईएनसीडीबाट सूचना एजेन्टहरूको रूपमा सेवा गर्न प्रशिक्षण प्राप्त गर्नेछन् ।

यी विद्यार्थीहरूले आफ्ना साथीहरूलाई सामाजिक सञ्जाल र हानिकारक सामग्री अनलाइनमा साइबर खतराहरूका जोखिमहरूका साथै साइबर संसारमा आफूलाई सुरक्षित राख्ने तरिकाहरू बारे सिकाउनेछन् ।

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर। रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

जिल्लामा रुदाक्षबाट  १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए ।

बजारमा मुखद्धार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एकाइस मुखे मुखद्धार एउटा दाना  २० लाखदेखी ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । मुखद्धार बाहेकका दानाको भने मूल्य कम रहेको उनले बताए ।

‘मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ’ सचिव कटुवालले भने,’मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना रु २० देखी ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रिन्छ ।’

आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ । सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे मुखद्धार दाना आकारको आधारमा एक हजार पाँच सयदेखि पाँच हजारसम्म बिक्री हुने गरेको छ ।

त्यस्तै १३ मुखे रु पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारको आधारमा रु दश हजारदेखि ५० हजारसम्म, १६ मुखे ५० हजार एक लाखसम्म, १७ मुखे रु ७० हजारदेखि दुई लाखसम्म, १८ मुखे रु ढेडलाखदेखि चारलाखसम्म र २१ मुखेलाई २० लाख ६० लाखसम्म पर्दछ ।

विगतमा बिक्री हुने पाँच र छ मुखे दानाको भने बजारमा माग नरहेको उनले जानकारी दिए । दाना राम्रो बनाउने बहनामा किसानले औषधिको प्रयोग गर्ने गरेकाले रुख मर्ने समस्या देखिएको उनको भनाइ छ ।

विगतमा प्राकृतिक रुपमा (औषधि प्रयोग नगरी) उत्पादन भएका रुद्राक्षका बोटमा कमै मात्र भए पनि गुणस्तरिय मुखदार दाना फल्ने भएकाले राम्रो मूल्यमा बिक्री हुने गरेको थियो । औषधिको प्रयोगले उत्पादनमा वृद्धि भए पनि मूल्यमा भने कमि आएको उनको भनाइ छ ।

उत्पादन भएको रुद्राक्षको बजारीकरणमा समस्या रहेको षडानन्द नगरपालिका दिङ्लाका स्थानीय रुद्राक्ष व्यवसायी सुजन राईले बताए । रुद्राक्षलाई वन पैदावरको रुपमा राखिएकोले बिक्री वितरणमा समस्या रहेको छ ।

रुद्राक्षलाई राज्यले नगदेबालीको रुपमा राखिदिए थप सहजता हुने उनले बताए । दिङ्ला क्षेत्रमा दुई हजार बढी किसानले व्यवसायी रुपमा रुद्राक्षको खेती गरेको राईले बताए ।

‘यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो’ उनले भने,’हाम्रो दिङ्ला क्षेत्रमा मात्र दुई हजार बढी किसानले व्यावसायिक रुपमा यसको खेती गरिररहेका छन् । रुद्राक्षलाई वन पैदावरको रुपमा राखिँदा बजारीकरणमा समस्या छ ।’

षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानी, साल्पासिलिछो गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानले यसको सुरक्षासमेत गर्दै आएका छन् ।

भोजपुरबाट यो वर्षको माघ महिनासम्म करिब ७० हजार केजी रुद्राक्ष निर्यात भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत विजय यादवले जानकारी दिए ।

जिल्लामा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको मुख्य बजार सङ्खुवासभाको खाँदबारी रहेको छ । खाँदबारीबाट तराईका जिल्ला, काठमाडौँ हुँदै चीन र भारतमासमेत निर्यात हुने रुद्राक्ष व्यवसायीको भनाइ छ ।

यस्तै, युरोप र अमेरिकालगायतका मुलुकमासमेत रुद्राक्ष निर्यात हुने गरेको छ । भोजपुरमा रुद्राक्षको इतिहास हेर्दा विसं १९३२ भन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ छ ।

रुद्राक्ष समुद्री सतहदेखी एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने विज्ञहरुको भनाइ छ ।

हेटौँडा-काठमाडौँ जोड्ने फाखेल-मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द

बागमती- हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।

सो सडकअन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ । सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताउनुभयो ।

सौर्य ऊर्जा विकासका लागि कार्यविधि संशोधन

काठमाडौँ, ५ फागुनः ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ विद्युत् विकास विभागले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ ।

वैकल्पिक विद्युत् उत्पादन आयोजना र यससँग सम्बन्धित प्रसारण लाइनलाई राष्ट्रिय ग्रीडमा जोड्न, सरल, सहज र पारदर्शी तुल्याई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक भएकाले विद्युत् नियमावली, २०५४ अनुसार उक्त कार्यविधि संशोधन गरिएको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।

यसअघि सरकारले २०७८ वैशाख १३ गते उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको थियो । कार्यविधिअनुसार एक मेगावाटसम्म क्षमता भएका वैकल्पिक विद्युत् आयोजनाका हकमा राष्ट्रिय ग्रीडमा आवद्ध हुन चाहने प्रवर्द्धकले नेपाल विद्युत् प्राधिकरणमा निवेदन पेस गर्दा विद्युत् उत्पादनको अनुमति लिएको हुनुपर्ने छ । तर घरेलु सौर्य ऊर्जा प्रणालीबाट उत्पादित सौर्य विद्युत्को ‘नेट मिटरिङ’ गर्दा विद्युत् उत्पादनको अनुमति आवश्यक नपर्ने प्रबन्ध गरिएको छ ।

आयोजनाका लागि आवश्यक जग्गा, बाटो, विद्युत् जडान बिन्दुसम्म प्रसारण लाइन आदिको व्यवस्था प्रवर्द्धकले गर्नुपर्ने उल्लेख छ । सरकारी जग्गाको हकमा सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीच आवश्यकतानुसार समन्वय र सहजीकरण गर्ने व्यवस्था कार्यविधिमा छ ।

कार्यविधिमा एक मेगावाटभन्दा बढी क्षमताका सौर्य विद्युत् आयोजनाको विद्युत् सर्वेक्षण र निर्माण गर्न प्रवर्द्धकले नियमावली र निर्देशिकामा तोकेबमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित क्षेत्रमा सौर्य विद्युत् आयोजना विकास गर्न हुने भनी सम्बन्धित वडा वा स्थानीय तहको सिफारिसपत्र र निकुञ्ज तथा आरक्षण क्षेत्रको हकमा वन तथा वातावरण मन्त्रालयको सिफारिसपत्र प्रवर्द्धकले पेस गर्नुपर्ने उल्लेख छ ।

कार्यविधिअनुसार विद्युत्को खरिददर निर्धारण गर्दा आयोजनाको लागत, ऋणको ब्याजदर, ह्रासकट्टी, स्वलगानी प्रतिफल, साधारण खर्च, सञ्चालन खर्च, मर्मत खर्च, आम्दानी, कर, थप पुँजी, ऋण र पुँजीको अनुपात, उपकरणको लागत, ब्याट्री सञ्चित क्षमता आदिलाई आधार लिन सकिने छ ।

नेपाल विद्युत् प्राधिकरणले हिउँदको माग सम्बोधन गर्ने लक्ष्यका साथ झण्डै एक हजार मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना विकास गर्न प्रक्रिया अगाडि बढाएको छ । निजी क्षेत्रका प्रवर्द्धकलाई बोलकबोलका माध्यमबाट विद्युत् खरिद सम्झौताका लागि प्रस्ताव पेस गर्न प्राधिकरणले आग्रह गरेको थियो ।

सोहीबमोजिम प्रक्रियासमेत अगाडि बढिसकेको छ । आयोजनाको सर्वेक्षणका हकमा सिँचाइयोग्य भूमि रहे÷नरहेको सिफारिस कसले गर्ने भन्नेबारेमा केही अस्पष्टता रहँदै आएको थियो । विभागले पछिल्लो कार्यविधिअनुसार उक्त अस्पष्टतालाई सम्बोधन गरिएको स्पष्ट पारेको छ ।

कार्यविधि संशोधनसँगै सौर्य ऊर्जा परियोजना अगाडि बढाउन मार्गप्रशस्त भएको छ । विभागमा कुल सात सय चार मेगावाट क्षमताका ३३ सौर्य परियोजनाले सर्वेक्षण अनुमति लिएका छन् । सात सय १७ मेगावाट क्षमताका ३५ आयोजनाले सर्वेक्षणका लागि आवेदन दिएका छन् । त्यसैगरी ७७ मेगावाट क्षमताका नौ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । यसैगरी निर्माण अनुमतिका लागि ५९ दशमलव छ मेगावाट क्षमताका १० परियोजनाको आवेदन परेको छ ।

विभागका अनुसार हाल एक सय छ दशमलव सात मेगावाट क्षमताका २१ परियोजना सञ्चालनमा छन् । त्यसमध्ये प्राधिकरणले नुवाकोटमा सञ्चालन गरेको सौर्य ऊर्जा परियोजना सबैभन्दा ठूलो रहेको छ । सो आयोजनाको क्षमता २५ मेगावाट बराबर छ ।

ऐतिहासिक हुनमान नाचले उत्सवमय बागलुङ बजार, के हो ऐतिहासिक हनुमान नाच ?

गण्डकी, ५ फागुनः गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हुनमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द बटुले । लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाचिरहेका कलाकारले दर्शकदीर्घाको मन जिते । नाच अवलोकनका लागि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकसहितका विशिष्ट व्यक्तिहरू पनि किनाराटोल आइपुगेका थिए ।

नौ वर्षको अन्तरालमा गत भदौ ११ मा सुरु भएको हनुमान नाच त्यसयता तेस्रोपटक विधिवत रूपमा नचाइएको हो । भदौ ११ बागलुङ नगरपालिका–३ नारायणचोक, मङ्सिर १५ मा वडा नं २ लोकतान्त्रिकचोक र शनिबार वडा नं ३ किनाराटोलमा नाच निकालिएको हनुमान संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यही फागुन १० गते राधाकृष्णटोलमा नाचको तयारी भइरहेको उहाँले बताउनुभयो ।

नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन र पूजाविधि गरेपछि हुनमान नाच सुरु भएको थियो । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परासमेत रहिआएको छ । नारायणचोकमा मुख्य पूजाआजासहित नाच सुरु गरेपछि बजारका विभिन्न टोलटोलमा पुगेर उक्त नाच देखाउने चलन छ । “टोल पूजाका रूपमा त्यो सञ्चालन हुन्छ, माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाउन सकिन्छ”, हनुमान नाचका मूलकजी (व्यवस्थापक) ईश्वरप्रसाद मलेपतिले भन्नुभयो, “टोल पूजा सकिएपछि यसपालिको हनुमान नाचलाई विधिवत रूपमा बिसर्जन गर्छौँ ।” यसअघि विसं २०७२ र विसं २०६३ मा हनुमान नाच देखाइएको उहाँको भनाइ छ ।

मेला–महोत्सवमा झाँकीका रूपमा नाच प्रदर्शन गर्ने गरिएपनि विधिवत रूपमा नाच निकाल्न भन लामो समय कुनुपर्ने अवस्था रहेको परिषद्ले जनाएको छ । हनुमान नाच खर्चिलो मानिन्छ । एकैपटक धेरै कलाकार र व्यवस्थापकहरू आवश्यक पर्ने हुँदा तयारीका लागि धेरै समय चाहिने मूलकजी मलेपतिले बताउनुभयो । उहाँका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायतका ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । चैतको अन्तिम मङ्गलबार नाच समापन गर्ने पूर्वयोजना रहेपनि वैशाख–जेठसम्म नाच लम्बिने देखिएको उहाँको भनाइ छ ।

के हो ऐतिहासिक हनुमान नाच ?

भक्तपुरबाट सुरु भएता पनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । तीन, पाँच, सात र नौ गरी बिजोर वर्ष पारेर नाच नचाउने परम्परा रहेको उहाँको भनाइ छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी छोटाले बताउनुभयो । रामायणका प्रमुख पात्रसमेत रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उहाँको भनाइ छ ।

“नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गेरर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दस तालमा यो नाच नाचिन्छ”, उहाँले भन्नुभयो, “यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए ।” बागलुङमा नेवार समुदायको इतिहास झण्डै तीन सय ५० वर्ष पुरानो छ । 

विसं १७ सय ६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । उहाँका अनुसार मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार मात्र नाच्न मिल्ने पराम्परा छ । पछिल्लो समय नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिने गरेका छन् ।

“धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो छ, पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा खर्च बढी हुन्छ”, संस्कृतिकर्मी छोटाले भन्नुभयो, “नाच सञ्चालनको लागि प्रधान कजी (व्यवस्थापक), उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौँ व्यक्ति खटिनुपर्छ ।” हनुमान नाच बागलुङकै ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा रहेको उहाँले बताउनुभयो ।

देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा नाच नचाइने हुनमान नाचका वाद्यवादक नीरज शाक्यले बताउनुभयो । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उहाँको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ । “बाजाको ताल छोपेर नाचिरहेका बेला क्तै ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिर दर्शकदीर्घामा रहेका व्यक्तिलाई पनि वीर उत्रन सक्छ”, उहाँले भन्नुभयो, “वीर उत्रेर शरीर काँप्ने, दौडने, भाग्ने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।”

हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताउनुभयो । “हुनमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाच र सङ्गीतद्वारा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो । बलियो हुने र आवाज राम्रो आउने हुँदा नाचमा पलाँसको लौरो प्रयोग गर्ने गरिएको छ । हुनमान नाचका मुख्य कलाकार (ज्यामाको) नाच्न थालेपछि मात्र अन्य कलाकारले नाच्न सुरु गर्दछन् ।

नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित छ । पछिल्लो समय युवा पुस्ता पनि हनुमान नाचप्रति आकर्षित छन् । हनुमान नाच सुरु हुनुपूर्व हप्तौँसम्म नाचको पूर्वअभ्यास हुने गर्छ । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट हनुमानको कला र विधि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ । हुनमान नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले परिषद्ले बेलाबेलामा प्रशिक्षणसमेत चलाउँदै आएको छ । यसपालि पनि प्रशिक्षणबाट नाच र वाद्यवादनतर्फ झण्डै ५० जना किशोर र युवा छानिएका थिए । उनीहरू नै अहिले हनुमान नाचमा कलाकारका रूपमा सहभागी छन् ।  विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो । 

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा, ५ फागुनः माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ ।

फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो ।

दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्माण भएको थियो ।

दाताको अनुदान र स्थानीय तहको संयुक्त साझेदारीमा जे लक्ष्यका साथ केन्द्रको स्थापना भएको थियो, सञ्चालनको पाँच वर्षमा कुनै पनि उपलब्धि हुनसकेको छैन । प्रयोगमा नआएका उपकरणलगायत धेरैजसो संरचना र साधन काम नलाग्ने भएका छन् ।

एसियाली विकास बैंकले तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ सेक्टरलाई हस्तान्तरण गरेको उक्त प्रशोधन केन्द्रको रेखदेख र सञ्चालन चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गर्दै आएको छ ।

तीन स्थानीय तहबाट सङ्कलन हुने मानवमलमूत्र प्रशोधनपश्चात प्राङ्गारिक मल उत्पादन गर्ने केन्द्रको लक्ष्य थियो । पाँच वर्षको अवधिमा केन्द्रबाट प्राङ्गारिक मल उत्पादनको परीक्षणसमेत हुन सकेन । संस्थाका अध्यक्ष राजन चिमरियाले प्रशोधनका लागि आवश्यक दिसाजन्य लेदो, दक्ष प्राविधिक जनशक्ति र सञ्चालन स्रोतको अभावले केन्द्र परिणाममुखी बन्न नसकेको बताउनुभयो ।

“प्रशोधनका लागि महिनामा एक सय ५० ट्याङ्कर लेदो पदार्थ आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “तर महिनामा १८ देखि ३० ट्याङ्करभन्दा बढी लेदो पदार्थ कहिल्यै सङ्कलन हुन सकेन । प्राइभेट ट्याङ्करहरूले खोला र जङ्गलतिर फालिदिने भएकाले यहाँ लेदो पर्याप्त सङ्कलन हुनसकेन ।”

प्राइभेट ट्याङ्करहरूले ल्याएको लेदोलाई प्रतिट्याङ्कर रु पाँच सय लिइने गरेको र केन्द्रको आफ्नै ट्याङ्करले स्थानीयवासीको घरबाट ढुवानी गरेर ल्याउनु परेमा रु तीन हजार शुल्क लिइने गरेको अध्यक्ष चिमरियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रु पाँच सय तिर्नु नपरोस् भनेर प्राइभेट ट्याङ्करहरूले खोला र जङ्गलतिर लगेर लेदो फाल्ने गरेका छन् ।”

केन्द्रमा लेदो प्रशोधनका लागि निर्मित २८ वटा ट्याङ्कीमध्ये पाँच वर्षमा १४ वटा पनि भरिएका छैनन् । बाँकी १४ वटा ट्याङ्की खाली छन् भने लेदो, पानी र प्रांगारिक मलको रासायनिक तथा जैविक परीक्षणका लागि स्थापना गरिएको अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आएको छैन ।

प्राविधिक जनशक्ति नभएका कारण प्रयोगशाला प्रयोगमा आउन नसकेको र वार्षिक रु तीन लाख घाटा खेपेर केन्द्रको रेखदेख गरिरहेको संस्थाका सचिव प्रेमराज घिमिरेले बताउनुभयो । “दाताले संरचना बनाइदिनुभयो, तर दक्ष जनशक्ति र सञ्चालन स्रोतको व्यवस्था हुन सकेन”, सचिव घिमिरे भन्नुहुन्छ, “उपभोक्ता संस्थाले एक जना ट्याङ्कर चालक र एक जना सहचालकको व्यवस्था गरेका छौँ । सरकार र निजी क्षेत्रको नयाँ साझेदारी मोडलमा यसको सञ्चालन हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।”

संस्थालाई दिसाजन्य लेदो ओसारपसारका लागि दाताले एउटा ट्याङ्कर दिएका छन्भने कार्यालय प्रयोजनका लागि दुईतले पक्की भवन, प्रयोगशाला भवन, दर्जनौँ प्रशोधन प्रविधियुक्त संरचना, उत्पादित प्राङ्गारिक मल राख्ने र सुकाउने व्यवस्थित पक्की टहरा निर्माण गरिदिएको छ ।

दातृ टोलीद्वारा अनुगमन

प्रयोगमा आउन नसकेको चारआली मलमूत्रीय फोहर प्रशोधन केन्द्रको आइतबार कोशी प्रदेश सरकार र बेलायती दातृ निकायको टोलीद्वारा अनुगमन भएको छ ।

अनुगमन टोलीलाई दातृ निकायको तर्फबाट बेलायती विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडीओ)को पानी, सरसफाइ र स्वच्छता (वास) सल्लाहकार लिजा रुजेले र कोशी प्रदेश सरकारको तर्फबाट खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख कृष्णप्रसाद राजवंशीले नेतृत्व गर्नुभएको थियो ।

अनुगमन टोलीसमक्ष चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरिया, पूर्वअध्यक्ष लालबहादुर थेबे र सचिव प्रेम घिमिरेले केन्द्रको अवस्था, समस्या र सञ्चालनका लागि आवश्यक स्रोत र साधनका बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त संरचनाको प्रभावकारी उपयोग गर्न तत्काल प्रयोगशाला प्राविधिक, उपकरणहरूको मर्मतसम्भार, थप एक थान ट्याङ्कर, थप जनशक्ति र निजी ट्याङ्करले खोला जंगलमा दिसाजन्य लेदो फाल्न नपाउने कानुनी व्यवस्था आवश्यक रहेको विषयमा अनुगमन टोलीको ध्यानाकर्षण गरिएको अध्यक्ष चिमरियाले बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ५ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ६२  पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७८ पैसा तय गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १० पैसा र बिक्रीदर नौ रूपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ११ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ दुई पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ दुई पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४९ पैसा र बिक्री दर १९ रूपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ ०४ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ६० पैसा निर्धारण भएको छ ।

त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ । 

निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन

जनकपुर, ५ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक राजधानी जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिनुभएको छ ।

प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित नौवटा अस्पतालमा पुगी उहाँले अनुगमन गर्नुभएको हो । मुख्यमन्त्री सिंहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकलएन्ड टेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गर्नुभएको छ ।

अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएका छन् । ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ । एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन ।

आजबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसीटिभीका शनिबार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्कामा अस्पताल सञ्चालकलाई सिसीटिभी फुटेजसहित बोलाइएको ठाकुरले बताउनुभएको हो ।

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ, ५ फागुनः बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि आइतबार प्राप्त गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो ।

सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओको संयुक्त पहलमा संसारभरका क्यान्सरपीडित बालबालिकाको जीवनरक्षक औषधिमा पहुँच सुनिश्चित गर्न ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स सन् २०२१ मा स्थापना गरिएको हो । सरकारले गत मङ्सिर १ गतेबाट लागू हुनेगरी चारवटा अस्पतालबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ ।

यी औषधिले भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाले निःशुल्क पाउने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । डब्लुएचओका अनुसार नेपालमा हरेक वर्ष करिब नौ सय नयाँ बालबालिकामा क्यान्सर देखापर्ने गरेका छन् । औषधि अभाव र विभिन्न चुनौतीका कारण एकतिहाइ बालबालिकाले मात्र उचित उपचार पाउने गरेको बताइएको छ ।

सन् २०२० मा नेपाल डब्लुएचओको ‘ग्लोबल इनिसीएटिभ अफ चाइल्डहुड’ क्यान्सरको प्राथमिकतामा परेको थियो । सन् २०२२ मा नेपाल ग्लोबल प्लेटफर्ममा सहभागी हुन छनोट भएका विश्वभरका छ देशमध्ये एक र विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एकमात्र राष्ट्र बनेको थियो ।

स्वास्थ्य मन्त्रालयले सन् २०२४ को मार्चमा उक्त कार्यक्रम सञ्चालन गर्न सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । सहमतिअनुसार नेपालले बालबालिकाको क्यान्सर उपचारका लागि पाँच वर्षसम्म निरन्तर रूपमा ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधि निःशुल्क प्राप्त गर्नेछ ।डब्लुएचओका अनुसार नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना दर हाल ३० प्रतिशतभन्दा कम छ । जबकि उच्च आय भएका देशमा दर ८० प्रतिशतभन्दा बढी छ ।

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ, ५ फागुनः यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।”

आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर  सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिनुभयो । 

आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात् को सम्भावना

काठमाडौँ, ५ फागुन : हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । 

 कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिमा उल्लेख  छ । 

साथै आज बिहानीपख तराईका थोरै भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । –

‘नेपाल र स्वीस सरकारको सम्बन्ध थप प्रगाढ हुने विश्वास छ’ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा (मोरङ), ४ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७५ वर्षदेखिको नेपाल र स्वीस सरकारको सम्बन्ध थप प्रगाढ तथा विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालका लागि स्वीस सरकारका प्रतिनिधि ‘हेड अफ कोर्पोरेशन’ म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले आज विराटनगरमा भएको भेटवार्तामा उहाँले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गर्नुभयो । मुख्यमन्त्री कार्कीले नेपालको सङ्घीयता र संविधान कार्यान्वयनका लागि गरेको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै वित्तीय सङ्घीयता बलियो बनाउन स्वीस सरकारबाट थप सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशमा लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको तयारी गरेकाले यसमा पनि सहकार्यका लागि आग्रह गर्नुभयो ।

त्यस अवसरमा स्वीस सरकारका हेड अफ कोर्पोरेसन म्याथिस मेयरले सङ्घीयता बलियो बनाउनका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सङ्घीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने बताउनुभयो ।    स्वीस सरकारले सञ्चालन गरेको परियोजना कोशी प्रदेशमा राम्रोसँग सञ्चालन भएकामा मेयरले खुसी व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशमा ४ वटै समितिका सभापति निर्विरोध निर्वाचित

सुदूरपश्चिम, ४ फागुन : सुदूरपश्चिम प्रदेशसभाका चार विषगत समितिका सभापति आज निर्विरोध निर्वाचित भएका छन् ।
लामो समयदेखि नेतृत्वविहीन रहेका प्रदेशसभाका विषयगत समितिका सभापतिको नेतृत्वका बारेमा दलहरुबीच भएको सहमतिबमोजिम ती समिमिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट विशेषाधिकार समितिको सभापतिमा तुल्सी देवकोटा निर्वाचित हुनुभएको छ ।

यसैगरी अर्को सत्ता साझेदार नेकपा (एमाले) का धर्मराज पाठक सामाजिक विकास समितिको सभापति र सत्तामै रहेको नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित हुनुभएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बाट लेखा समितिको सभापतिमा अक्कलबहादुर रावल निर्वाचित हुनुभएको छ ।

निर्वाचन गराउन प्रकाशित निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिमा एक एक जनाको उम्मेदारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम दलहरुबीच प्रदेशसभामा विषेशाधिकार समिति गठन गर्ने सहमति भएको थियो ।

यसअघिसम्म प्रदेशसभामा चार विषयगत समिति क्रियाशील रहेका थिए । दलहरुको सहमतिबमोजिम विषेशाधिकार समिति गठन गरिएको हो । विधायन तथा प्रदेश मामिला समितिका सभापतिबाहेक अन्य समिति नेतृत्वविहीन हुँदा समितिहरु ज्येष्ठ सदस्यको भरमा चल्दै आएका थिए । विषयगत समिति नेतृत्वविहीन हुँदा समितिका कामकारबाही प्रभावित भएका थिए । 

झण्डै एक वर्षअघि अर्थविकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेकपा (एकीकृत समाजवादी) का माया पन्त, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का वीरबहादुर थापा र विधायन तथा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित हुनुभएको थियो । सत्तासमीकरण फेरबदल भएसँगै विधायन तथा प्रदेश मामिला समिति सभापतिबाहेकका अन्य समिति गत असार महिनादेखि नेतृत्वविहीन थिए । 

हलेसी बजारमा ग्यास पसलमा आगलागी, आगो नियन्त्रण बाहिर

खोटाङ, ४ फागुन : खोटाङको हलेसी बजारको एउटा पसलमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् । ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरु घरमा पनि फैलिनसक्ने खतरा सम्भावना देखिएको जनाइएको छ । आगलागी भएको घरमा हार्डवयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस पाल्पा काठमाडौं सम्पर्क समितिको वनभोज तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपाली कांग्रेस पाल्पा काठमाडौं सम्पर्क समितिको आयोजनामा चोभारस्थित मञ्जुश्री पार्कमा वनभोज तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पाल्पाबाट काठमाडौं आई विभिन्न पेशा, व्यवसाय तथा विभिन्न क्षेत्रमा संलग्न नेपाली कांग्रेसका समर्थक, शुभेच्छुक तथा क्रियाशील सदस्यहरूबीच आपसी चिनजान, एकता र आत्मीयता बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष विमला बस्यालले जानकारी दिनुभयो।

कार्यक्रममा उपस्थित सहभागीहरूबीच सौहार्दपूर्ण वातावरणमा विचार आदान-प्रदान भएको थियो भने नेपाली कांग्रेसको संगठन सुदृढ बनाउन आवश्यक विषयहरूमा समेत छलफल भएको थियो। वनभोज कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न खेलकुद तथा साँस्कृतिक गतिविधिहरू समेत सञ्चालन गरिएका थिए। कार्यक्रममा उत्साहजनक रूपमा सहभागी भएका सम्पूर्ण सदस्यहरूलाई समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच मस्कटमा भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आइतबार साँझ भेट भएको हो ।

भेटका क्रममा दुवैजनाबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँदिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री राणाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बङ्गलादेश विद्युत् निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

साथै पछिल्लो समयमा दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिबारेमा उनीहरुबीच कुराकानी भएको थियो ।

नेपाल–भारत बङ्गलादेशबीचको त्रिपक्षीय विद्युत व्यापार सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि ठूलो उपलब्धि रहेको उल्लेख गर्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री राणाको भनाइ थियो ।

भेटमा क्रसबोर्डर विद्युत व्यापार निर्माणको ‘मोडालिटी’का विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो ।

साथै नेपाल–भारतबीचको व्यापार सन्धिको पुनरावलोकन, गत जनवरी महिनामा काठमाडौँमा भएको नेपाल–भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा तथा मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

साथै भेटका क्रममा भारतीयतर्फबाट अतिरिक्त बन्दरगाह सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास तथा व्यापार प्रवद्र्धन र दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने उल्लेख गर्दै मन्त्री राणाले प्रशंसा गरेकी थिइन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्या समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रिस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझदारी भएको विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।

भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकामा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । साथै विदेशमन्त्री डा जयशङ्करले बिम्स्टेक सङ्गठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा कुराकानीका क्रममा राखेका थिए ।

मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझाहितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताएकी थिइन् ।

कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौँ, ४ फागुन : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकको विदेश पलायन हुने अवस्था नरोकिएको बताउनुभयो । नेपालमै काम लाग्ने वैज्ञानिकलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरीे रहेको उहाँको भनाइ थियो ।

वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफूले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा धेरै वर्षदेखि नसुल्झेका जटिलता सुल्झिँदै गएका र समस्या समाधान गर्न ध्यान दिएको बताउनुभयो । मन्त्री अधिकारीले समकक्षताको समस्या समाधान गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।

कृषि अनुसन्धान प्रणालीलाई व्यावहारिक बनाउन आवश्यक छ भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरी नतिजा निकाल्नुपर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कृषिउपज आयातको ठूलो आकारले चुनौती थपेको उल्लेख गर्दै उहाँले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने बालीका जात पनि सोही अनुकूलको हुनुपर्नेमा जोड दिनुभयो ।

“कृषिउपजको आयातलाई कम गर्न छिमेकी देशले कृषिमा गरेको प्रगतिबाट नेपालीले पनि सिक्न जरुरी छ”, मन्त्री अधिकारीले भन्नुभयो । कृषिमा तीनै तहको सरकारको समन्वय र सहकार्य अनिवार्य रहेको तथा सबैको सामूहिक प्रयासले मात्रै आयात कम गरी निर्यातको बाटोतर्फ लाग्न सकिने उहाँको भनाइ थियो ।

अन्तरनिकायँसग समन्वय गरेर काम गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, ४ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरनिकायसँग समन्वय गरेर विकास निर्माणको कामलाई तीव्रता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बैठकमा मन्त्री खड्काले अन्तरनिकायसँग समन्वय नहुँदा कतिपय काम हुन नसकेको भन्दै अन्तरनिकाय समन्वयलाई ध्यान दिन निर्देशन दिनुभएको हो ।

“जति कामप्रति चासो राख्यो, पहलकदमी लियो, त्यति नै चाँडो काम हुने हो, मुलुक निर्माणका लागि दत्तचित्त भएर लाग्नुहोस्, आफू मातहतका कर्मचारी बिदामा बस्दा माथिल्लो तहलाई जानकारी हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । राज्यले ठूलो लगानी गरेर उत्पादन गरेका कर्मचारी बिदामा बस्दा वा काममा ढिलाइ गर्दा राज्यलाई ठूलो नोक्सानी हुने उहाँले बताउनुभयो ।

मन्त्री खड्काले अन्तरनिकायबीच आपसमा समन्वय नहुँदा लापर्वाही हुने गरेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । “जति दिन रहने हो, त्यति दिन इमान्दार भएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले लिएको लक्ष्य पूरा गर्न कर्मचारीको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले स्रोत सुनिश्चित भइसकेका आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

छलफलमा मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले सिंहदरबारभित्र चार्जिङ स्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई समन्वय गर्न निर्देशन दिनुभयो । उहाँले बैठकमा भएका निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयका सिँचाइ सचिव सरिता दवाडीले मन्त्रालयले ६ महिना गरेको कार्यप्रगति सन्तोषजनक नभएको बताउनुभयो । उहाँले खर्च हुन नसकेको बजेटलाई खर्च हुने ठाउँमा स्थानान्तरण गरेर काम गर्नुपर्ने बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले अहिलेको अवस्थामा काममा खुसी हुनुपर्ने ठाउँ नभएको बताउनुभयो । उहाँले एकापसमा समन्वय गरेर अगाडि बढ्दा काम देखिने उल्लेख गर्नुभयो ।

छलफलमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतले ६ महिनामा भएको भौतिक तथा वित्तीय प्रगतिको जानकारी गराउनुभएको थियो ।

व्यक्तिगत क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुन खेलकुद महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), ४ फागुन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यक्तिगत जीवनमा क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुनका लागि खेलकुद महत्वपूर्ण हुने बताउनुभएको छ ।

‘नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसन’को आयोजनामा ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा आजदेखि सुरू भएको टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले युवालाई समाजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“पढाइमा त ध्यान दिनु प¥यो प¥यो, समाजलाई पनि योगदान दिनुपर्छ, त्यसका लागि खेलकुदको महत्व छ, यसले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै, तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । विद्यार्थी जीवनमा समग्र व्यक्तित्व विकास र अनुशासनका लागि पनि खेलकुदको धेरै महत्व छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धा अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले खेलकुदमा जित्नु मात्रै ठूलो कुरा नभई प्रतिस्पर्धामा भाग लिनु पनि महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीलाई पढाइका साथसाथै खेलकुदमा लाग्न प्रोत्साहित गर्नुभयो ।

लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित

लुम्बिनी, ४ फागुन : लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकले दुई विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको दशौँ बैठकले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विधेयकलाई सभामुख तुलाराम घर्ती मगरले बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा विधेयक बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

त्यसैगरी मुख्यमन्त्री आचार्यले प्रस्तुत गर्नुभएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पनि लुम्बिनी प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभाको आजको पहिलो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले किसानलाई रासायनिक मल उपलब्ध गराउन, गत वर्षको आर्थिक दायित्व अविलम्ब भुक्तानी गर्न तथा चालु आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक

काठमाडौँ, ४ फागुनः गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ले नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नागरिकतासम्बन्धी समस्याको पीडाबाट नागरिकलाई मुक्ति दिन विधेयक ल्याइएको बताउनुभयो ।

“महिलालाई समान अधिकार दिन जरुरी छ, बुबा नागरिकता लिन जाँदा आमाको खोजी नहुने, आमा नागरिकता लिन जाँदा बुबाको खोजी हुने अवस्थालाई समानता भन्न सकिँदैन”, मन्त्री लेखकले भन्नुभयो, “नागरिकता प्राप्तिमा कसैलाई पनि विभेद नहोस्, लैङ्गिक समानताको सुनिश्चितता र नागरिकता वितरण प्रक्रियामा सहजीकरण होस् भनेर विधेयक ल्याइएको हो ।”

विधेयक पारित भएपछि तत्काल आवश्यक नियमावली, मापदण्ड र कार्यविधि बनाइने जानकारी दिँदै उहाँले लैङ्गिक विभेद नहुने गरी नागरिकता वितरण गरिने विश्वास दिलाउनुभयो ।

गृहमन्त्री लेखकले नीतिगत सुधार, सेवा प्रवाह, आर्थिक उन्नति र समृद्धि सरकारको प्राथमिकतामा रहेको भन्दै मौजुदा कानुनलाई सरल र सहज बनाउन आवश्यक सबै कानुन संशाधेन गर्दै लगिने बताउनुभयो ।

स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँ : मन्त्री पौडेल

काठमाडौँ, ४ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । स्वास्थ्य बीमामा देखिएका विभिन्न जटिलतालाई सुधार गर्दै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल औषधि थोक व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमामा चुनौती देखिए पनि यसलाई हटाउनेभन्दा पनि सुधारोन्मुख बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा व्यवस्थित हुन सकेको छैन । यसमा विभिन्न समस्या देखिएका छन् । यसलाई हटाउने होइन, व्यवस्थित गर्न चाहिरहेका छौँ । बीमा भुक्तानीमा पनि समस्या देखिएका छन् । दाबीभन्दा पनि बढी देखिएको छ । बीमा सुधारका लागि प्रतिवेदन तयार भएको छ, त्यहीअनुसार कार्यान्वयनमा लैजान्छौँ ।”

मन्त्री पौडेलले समग्र उपचार प्रणालीलाई नै व्यवस्थित गर्न विद्युतीय प्रणालीलाई बलियो बनाउन मन्त्रालय लागिपरेको बताउनुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले थोक औषधि व्यवसायीले औषधिको खरिद, भण्डारण, वितरण गुणस्तरताको सुनिश्तिता, स्वास्थ्य सेवा प्रदायकलाई निरन्तर औषधि उपलब्ध गराउने, औषधिको मूल्य स्थिर र सन्तुलन कायम राख्न विशेष भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले संशोधनको क्रममा रहेको औषधि ऐनमा औषधि थोक व्यवसायीको हकहितका कुरा समेटिनुपर्ने धारणा राख्नुभयो ।

“औषधि आयातकर्ताबाट समय नाघेको र टुटफुट भएको औषधि क्रेडिट नोट समयमा नआउँदा थोक व्यवसायीको ठूलो रकम आयातकर्ताकोमा फ्रिज हुने प्रवृत्तिले थोक व्यवसायी कारोबार गर्दा करको मारमा पर्ने गरेका छन् । यसमा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण पुगोस्”, मन्त्री पौडेलले भन्नुभयो ।

राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

बरहथवा (सर्लाही), ४ फागुनः सर्लाहीको हरिवन नगरपालिका–१ निवासी बलराम न्यौपाने आजभोलि गाई गोठ र बाख्राको खोर स्याहार्नमा व्यस्त हुनुहुन्छ ।

बिहान सबेरै उठेदेखि राति अबेरसम्म गोठमा रहेका बाख्रा, गाईभैँसी स्याहार्नु, आहारको जोहो गर्नु र दूध बेच्नु उहाँको दैनिकी नै हो । समाज परिवर्तनको लागि सुरु गरेको ३० वर्षे राजनीतिक यात्रालाई बिट मारेर विसं २०८० पुसबाट उहाँले व्यावसायिक पशुपालन सुरु गर्नुभएको छ ।

“विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेको हुँ । आठ वर्ष विद्यार्थी राजनीति गरे, वाइसिएल केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला नेता र पछिल्लो समय वैद्य माओवादीको जिल्ला सेक्रेटरी भए । अहिले राजनीतिक रूपमा निस्क्रिय छु । तीस वर्ष राजनीति गरियो तर समाज र आफ्नो अवस्थाजस्ताको तस्तै । हाल व्यावसायिक पशुपालनबाट समाजका केही व्यक्तिहरूलाई रोजगारी दिएको छु । राज्यलाई कर तिरेर योगदानको छु”, उहाँले भन्नुभयो ।

न्यौपानेले पूर्वपश्चिम राजमार्गबाट सात किलोमिटर उत्तर चुरे पाखामा पशुपालन ‘फार्म हाउस’ सञ्चालन गर्नुभएको छ । सुरुमा पाँच वटा बाख्रा, एउटा गाई र एउटा भैँसीबाट सुरु गरेको फार्ममा हाल ७० वटा बाख्रा, आठ गाई र दुई वटा भैँसी छन् ।

न्यौपानेले देशमा राजनीतिक क्रान्तिले ल्याएका परिवर्तनलाई स्थायित्व दिन पनि अब आर्थिक क्रान्ति आवश्यक रहेको निष्कर्षसहित आफू व्यवसायमा लागेको सुनाउनुभयो ।
पशुपालनबाट आत्मसन्तुष्टिका साथै आम्दानी पनि सन्तोषजन भइरहेको उहाँको भनाइ छ ।

गत गढीमाई मेलाको समयमा रु १२ लाखभन्दा बढीका बोका बिक्री गरेको न्यौपानेले सुनाउनुभयो । यो उहाँले एकाध महिनामा गरेको सबैभन्दा ठूलो कारोबार हो । “भवितव्यबाहेक कृषि र पशुपालनमा धेरै घाटा हुँदैन । पशु चौपायाको गहँुत र गोबरबाट पनि फाइदा लिन सकिन्छ”, उहाँले भन्नुभयो,“त्यसैले अब हरेक नेपालीले कृषिमार्फत् आर्थिक रूपान्तरणमा योगदान गर्नुपर्छ । योभन्दा राम्रो विकल्प अर्को हुनसक्दैन । सरकारले पनि सोहीअनुसार नीति अवलम्बन गर्न आवश्यक छ ।”

न्यौपानेले पशुपालनबाहेक केही जमिनमा उखु, टमाटरखेतीलगायत कृषि कर्मसमेत गरिरहनुभएको छ । उहाँले पशुपालन र खेतीपातीबाटै पारिवारको गर्जो टार्दै आएको बताउनुभयो । “अहिले व्यवसाय सुरु गरेपछि आम्दानीसँगै जीवनस्तरमा सुधार भएको छ । सन्तानको पठनपाठनमा सहज भएको छ”, न्यौपानेले भन्नुभयो ।
उहाँले गाईभैँसीको करिब ५० लिटर दूध दैनिकजसो बिक्री गरिरहनुभएको छ ।

राजनीति समाज सेवा भएकाले आर्थिक उपार्जनका लागि हरेक नेताले कुनै न कुनै इलम गर्न जरुरी रहेको पनि उहाँको भनाइ छ । न्यौपानेले हाल तीन जनालाई रोजगारी दिनुभएको छ । अब व्यवसाय विस्तार गरी चुरेको हावा पानी सुहाउँदो कुखुरापालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । साथै पशुपालनबाट दूध, मासुसँगै मलमूत्रबाट बन्ने मल प्रयोग गरेर व्यावसायिक खेतीमा लाग्ने उहाँले बताउनुभयो ।

न्यौपानेले चार बिघा पाखामा डाले घाँस रोप्नुभएको छ । व्यवसाय सुरु गर्दा उहाँले भौतिक संरचना निर्माण र केही पशुवस्तु खरिद गर्दा रु ८२ लाख ९० हजार लगानी गर्नुभएको थियो । हाल सो लगानी रु एक करोड २५ लाख पुगेको छ ।

गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगन, अर्को बैठक फागुन ५ गते बस्ने

काठमाडौँ, ४ फागुन : प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो ।

‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले गणपुरक सङ्ख्या नपुगेको भनी गणना गर्न सभामुख देवराज घिमिरेलेसमक्ष आग्रह गर्नुभयो । सभामुख घिमिरेले तीन मिनेटको जनाउ घण्टी बजाई गणपुरक सङ्ख्या यकीन गर्न सचिवालयलाई निर्देशन दिनुभयो । सो प्रस्ताव निर्णायार्थ पेस गर्न गणपुरक सङ्ख्या ६९ हुनुपर्नेमा सांसद्को सङ्ख्या ६८ रहेकाले गणपुरक सङ्ख्या नपुग भएको जनाउँदै आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले राख्नुभएको ‘नेपाल नागकिता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निणयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ५ गते अपराह्न १ बजे बस्नेछ ।

समाज विकासका लागि नागरिक सतर्कता आवश्यक छ : मुख्यमन्त्री सिंह

जनकपुर, ४ फागुन : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाजमा विद्यमान बेथिति, विसङ्गति र विकृत निर्मूल गर्न नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नागरिक दायित्व निर्वाह भएपछि मात्र राजनीतिक नेतृत्व र कर्मचारी नियन्त्रित तथा कर्मठ हुने उहाँले प्रस्ट्याउनुभयो ।

नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक, म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आज आयोजना गरिएको बहस कार्यक्रमको आरम्भमा मुख्यमन्त्री सिंहले नागरिकको सजगता, सतर्कता र संवेदनशीलता अभावमा शिक्षा, स्वास्थ्यजस्ता क्षेत्र अस्तव्यस्त बनेको बताउनुभयो । उहाँले अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका अस्पताल, विद्यालयलगायतका संस्थाका विषयमा सेवाग्राही नागरिकले ती ठाउँ नियम तथा मापदण्डअनुसारका सेवासुविधा प्रवाह गरे वा नगरेका विषयमा जानकारी लिन थालेपछि सुधार सम्भव हुने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री सिंहले आफूले अनुगमन गरेका अस्पतालमा पूर्वाधार नपुगेको, अत्यावश्यक जनशक्ति तथा उपकरण नरहेका र फोहरमैला राम्ररी व्यवस्थापन नभएका पाइएको भए पनि तिनमा बिरामीको अत्यधिक चाप रहेको तर सेवासुविधाको गुणस्तर कायम हुने गरी मापदण्ड पु¥याएका अस्पतालमा बिरामी धेरै थोरै भर्ना हुने गरेको अवस्था रहेको बताउनुभयो । कमिसनका लागि त्यस्ता अस्पतालमा बिरामी पु¥याइँदा सो अवस्था आएको भन्दै उहाँले विगतमा ‘कमिसन एजेन्ट’ बनेका एम्बुलेन्स चालकले अस्पताल सञ्चालन गरिरहेका बताउनुभयो ।

अस्पताल जाँदा त्यसको वैधताबारे जिज्ञासा राख्नुपर्ने तथा सेवासुविधाबारे नागरिकले सोधपुछ गर्नुपर्ने मुख्यमन्त्री सिंहको भनाइ थियो । उहाँले गुणस्तरीय सेवा र सुविधाको आशामा वैधता नरहेका अस्पतालमा जाँदा त्यसअनुसारको उपचार नपाउने गरेको उल्लेख गर्दै त्यसभन्दा उत्तम सरकारी अस्पतालमै उपचार गराउनुरहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको काम अपेक्षित तथा प्रभावकारी नभएको, शिक्षकले पठनपाठनमा ध्यान नदिएको, विद्यार्थी शिक्षकको नियन्त्रणमा नरहेको, शिक्षक र विद्यार्थीको अनुपात नमिलेको समस्या रहेको भन्दै निजी विद्यालयको गुणस्तर राम्रो नभएको औँल्याउनभयो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, “विद्यार्थीले प्राप्त गर्ने परिणाम सन्तोषजनक छैन । त्यसैले निजी विद्यालयको गुणस्तर राम्रो भएको मान्न सकिँदैन ।” निजी विद्यालयमा योग्य मापदण्डअनुसार शिक्षक नरहेका र एउटै शिक्षकले धेरै विद्यालयमा पढाउनुपर्ने भएकाले ४० मिनेटको घन्टी ३० मिनेटमा झारिएको जस्ता समस्या रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री सिंहले देश, प्रदेश र पालिका बनाउने जिम्मेवारी राजनीतिकर्मी र कर्मचारीको मात्र नभएर नागरिकको समेत भएकाले एकअर्कालाई निषेध र दोषारोपण गर्नुभन्दा सहकार्यका आधारमा समाज निर्माणमा सबैले योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले जनकपुरधाममा एकाबिहानै फोहरमैला सङ्कलन गर्ने गरि पनि बजारका पसले, घरबेटी र टोलछिमेकका व्यक्तिले ‘डस्टविन’मा फोहर नराखी कुनाकाप्चामा फ्याँक्ने गरेको पाइएको बताउनुभयो । त्यस कार्यले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक गरिमा घटेको उहाँको भनाइ थियो । मुख्यमन्त्री सिंहले गलत, झुट, चोरीडकैती आदिबाहेक कुनै पनि कार्य सानो नहुने भन्दै कृषिलगायतका उत्पादनशील काम अप्ठ्यारो नमानी सबैले गर्नुपर्ने सुझाउनुभयो ।

प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने

लुम्बिनी, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो । “सोमबार बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची तयार भएको छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गर्नुभएको थियो । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भारतमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

भारतको पल्नाडु जिल्लाको राजुपालम मण्डलमा ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शेख नाजिमा (५०), शेख नुरउल्लाह (२६) र शेख हबिबुल्लाह (२४) रहेका छन् ।

सत्तेनपल्ली ग्रामीण वृत्तका निरीक्षक सुब्बारावले घटनाको पुष्टि गर्दै विपरित दिशाबाट आएको ट्याङ्कर डिभाइडर नाघेर भित्र रहेका यात्रुसहितको कारसँग ठोक्किएको बताउनुभयो ।

अधिकारीले भन्नुभयो,“कार हैदरावादबाट प्रकाशम जिल्लाको मद्दिपाडु जाँदै थियो । दुर्घटना बिहानै भएको थियो । कारमा सवार तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।”

यसअघि शनिबार आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा ३५ विद्यार्थी बोकेको बस पल्टिँदा पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार बस आन्ध्र प्रदेशको मन्डासा र उमागिरी बीचको पोखरीमा पल्टिएको थियो ।

घाइते विद्यार्थीलाई उपचारका लागि मण्डासा अस्पताल लगिएको छ । मण्डासाका प्रहरी नायब निरीक्षक कृष्णप्रसादले दुर्घटनाको मुद्दा दर्ता भएको पुष्टि गर्नुभयो । पोखरीबाट बस निकालिएको छ ।

‘ग्लोबल साउथ’ बीच ‘कनेक्टिभिटी’ र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री डा देउवा

काठमाडौँ, ४ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानिसको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रमा ‘कनेक्टिभिटी’सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ नेपालजस्ता भूपरिवेष्ठित देशका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै मन्त्री डा देउवाले यसबाट हुने सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने र यो मानवताको समावेशी र दिगो विकासका लागि माध्यम बन्ने धारणा राख्नुभयो ।

सम्मेलनमा आयोजित ‘विश्वव्यापी दक्षिणको आवाजलाई बुलन्द गर्ने’ विषयक सत्रमा मन्त्री डा देउवाले विशेष गरी हिन्द महासागरीय क्षेत्रले बहुसङ्ख्यक मानवको प्रतिनिधित्व गर्ने र यसको उन्नतिबिना विकसित विश्वले प्राप्त गरेको उपलब्धि पनि खतरामा पर्न सक्दछ भन्नुभयो । “मलाई लाग्छ भविष्यको लागि ‘रोडम्याप’ स्पष्ट छ । मानवताको भविष्यको लागि अगाडि बढ्ने बाटोमा विश्व सहमत छ, यसका लागि आवश्यक रणनीति पनि पहिचान भएको छ । म दोहो¥याउन चाहन्छु कि ग्लोबल–साउथले बहुसङ्ख्यक मानवको प्रतिनिधित्व गर्दछ । हामी कसैलाई पनि पछाडि छोड्ने छैनौँ र पछाडि छोडिन पनि चाहँदैनौँ । हाम्रा एजेन्डा र साझा लक्ष्य पूरा गर्न सामूहिक सहकार्य र प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ”, उहाँको भनाइ थियो ।

ग्लोबल साउथको आवाजका विषयमा छलफल गर्दा सबैले यो क्षेत्र न्यायपूर्ण, निष्पक्ष र समावेशी विश्व निर्माणको लागि अझ महत्वपूर्ण छ भन्ने कुरामा ख्याल गर्नुपर्ने मन्त्री डा देउवाको भनाइ थियो । उहाँले ग्लोबल साउथको पूर्ण सम्भावनालाई उजागर गर्न यस क्षेत्रले दक्षिण–दक्षिण सहयोग सुधारका लागि आवश्यक नीतिहरूको समीक्षा गर्दै क्षेत्रीय एकीकरणलाई सुदृढ पार्ने र पारस्परिक सहयोगलाई बढावा दिने कामलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

“वित्तीय स्रोतहरूमा समतामूलक पहुँच सुनिश्चित गर्ने र ग्लोबल साउथको प्रतिनिधित्व सुनिश्चित गर्न विश्वव्यापी रुपमा प्रशासन तथा वित्तीय संस्थाहरूमा सुधार गर्न आवश्यक छ । साथै विकसित देशहरूका प्रतिबद्धताहरूको कार्यान्वयनका लागि पनि हामीले सामूहिक वकालत गर्नुपर्ने अवस्था छ”, मन्त्री डा देउवाको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले भनेको छ ।

यसैगरी सडक, हवाई तथा समुद्रमार्फत क्षेत्रीय कनेक्टिभिटी बढाउने र आपसी ज्ञान, सीप र प्रविधिको हस्तान्तरणमार्फत क्षमता विकासका कामलाई सामूहिक रुपमा अघि बढाउने काम गर्नुपर्नेमा पनि उहाँको जोड थियो ।

असमानता, गरिबी, बढ्दो ऋण सङ्कट, द्वन्द्व, डिजिटल विभाजन एवं जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूको सामना गर्न यस क्षेत्रमा सामूहिक सङ्कल्पका साथ दक्षिण दक्षिण–सहयोग र सहकार्य आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “कम विकसित, भूपरिवेष्ठित र साना टापु देशहरूमा उपलब्ध सीमित स्रोत र क्षमताको दबाब रहेकाले यसलाई पार लगाई बलियो भविष्य निर्माणका लागि सामूहिक सहकार्य आवश्यक छ । यसले सीमापार तथा अन्तरदेशीय भौगोलिक क्षेत्रमा पर्नसक्ने चुनौतीहरूको सामना गर्न सहयोग पुग्नेछ”, डा देउवाले भन्नुभयो ।

गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आयोजित ‘समिट अफ द फ्युचर’ मा परिकल्पना गरिएको दिगो विकास लक्ष्य पूरा गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगलाई प्रभावकारी रणनीतिका रूपमा मान्यता दिइएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस क्षेत्रका देशका अन्तरराष्ट्रिय प्रतिबद्धता एवं लक्ष्य पूरा गर्न पनि यो सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

यसै भावनाका साथ नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको जानकारी पनि मन्त्री डा देउवाले दिनुभयो । आगामी मे महिनामा काठमाडौँमा आयोजना हुने संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ मुख्य विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने उहाँले जानकारी गराउनुभयो । “यस संवादमार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही एवं विश्वका नेताहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको छ । सो संवादमा सहभागिताका लागि सबैलाई आमन्त्रण गर्दछु”, मन्त्री डा देउवाले भन्नुभएको थियो ।

राष्ट्रियसभा बैठक : सांसद शाहीको अभिव्यक्तिप्रति खेद प्रकट

काठमाडौँ, ४ फागुन : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर खेद प्रकट गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीले सभाको कामकारबाही र सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोप्रति खेद प्रकट गर्नुभएको हो ।

राष्ट्रियसभाले २०८१ माघ २८ गते पारित गरेको ‘मिडिया काउन्सिल विधेयक’लाई लिएर सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधिसभा सदस्य शाहीले दिनुभएको अभिव्यक्तिप्रति खेद प्रकट गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष दाहालले भन्नुभयो, “कपोलकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता तथा उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ, आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राख्न निज माननीय सदस्यलाई यो सभा निर्देशन दिन्छ ।”

राष्ट्रियसभाको आजको शून्य समय र विशेष समयमा प्रतिनिधिसभाका सदस्य शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सम्बन्धमा सभाको ध्यानाकर्षण गराइएको थियो ।

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार पोखरामा भएको आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका हुन् ।

यसैबीच आजै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालले पनि उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनीहरुलाई अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा शनिबार भर्ना भएका थिए ।

यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।