`

लोकतन्त्रप्रति भरोसा बढेको छ : प्रधानमन्त्री

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्त्वपूर्ण सफलता प्राप्त भएको बताउनुभएको छ ।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले संसद्मा सुरुकै दिन गरेको सङ्कल्प थियो, सुशासन । देशमा एउटा भिआइपी कल्चर स्थापित भइरहेको थियो । हाई प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आममनोविज्ञान बनिरहेको थियो । सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयातलगायत काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ ।”

कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थहरू कानुनको नियन्त्रणमा आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन । यसबाट कानुनको सर्वोच्चता मात्र होइन, लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ । यसलाई मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण भनेको छु ।” यो क्रम निरन्तर जारी रहने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेको बताउनुुभयो ।

“वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिबद्ध छ । एनसेलको शेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बीमा ऐन ल्याइएको हो, तर बीमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन । अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ‘ग्यारेन्टी’ गर्ने काम उच्च प्राथमिकतामा हुनेछ ।”

स्वास्थ्य बीमा ऐनबमोजिम बीमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता अभिवृद्धि, बलियो अनुगमन र मूल्याङ्कन संयन्त्र, बीमाको दायरामा वृद्धि र सबैको आबद्धता, उपचारका लागि अस्पताललगायत संरचना र सेवाको गुणस्तरमा व्यापक सुधार र जनशक्ति व्यवस्थापनका लागि सरकार तदारुकताका साथ लागिरहेको जानकारी दिँदै उहाँले  बीमाको हालको रकमको दायरा बढाइनेछ र आधारभूतबाहेक हाल सञ्चालित सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बीमामा आबद्ध गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।स्वास्थ्य बीमालाई केन्द्रमा राखी एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्डअनुसार स्वास्थ्य प्रणालीको विकासमा जोड दिइने पनि उहाँले स्पष्ट गर्नुभयो ।

बिजुलीले देशमा उज्यालो ल्याउँदै छ, के यो लोकतन्त्रको उपलब्धि होइन र ? : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै उहाँले नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गर्नुभयो ।

“सकिन्नँ, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ । एकथरी तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्”, उहाँले प्रश्न गर्नुभयो, “यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रोमात्र भइरहेको छ । म आज यो प्रश्नबाट सम्बोधन सुरु गर्न चाहन्छु कि के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्णरूपमा सम्भावनाहीन बन्दै गएको हो ?”

आफू दोस्रोपटक प्रधानमन्त्री हुनुअघिसम्म देशमा १८ घण्टासम्मको ‘लोडसेडिङ’लाई नियति मानिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आज लगभग सिङ्गो देशमा विद्युत्को पहुँच पुगेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ । विगत एक वर्षमा सात सय मेगावाटसम्म विद्युत् निर्यात गरी रु १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव २८ प्रतिशतले बढी हो । पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन ।”

विक्रम संवत् १९६८ मा फर्पिङ जलविद्युत्बाट पाँच सय किलोवाट विद्युत् उत्पादनबाट सुरु भएको नेपालको विद्युतीकरण यात्रामा त्यसपछिका एक सय चार वर्षमा जम्मा आठ सय मेगावाटमात्र उत्पादन क्षमता पुगेको तर विगत ७ वर्षभित्र नेपालको विद्युत् उत्पादन क्षमता बढेर दुई हजार आठ सय ९२ मेगावाट पुगेको छ र जसमध्ये करिब पाँच सय ४१ मेगावाट यही एक वर्षमा मात्र थप भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतका हिसाबले यो एक वर्ष करिब असी वर्ष बराबर हो । तर, मैले यसमा सन्तोष मानेको छैन । मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो, यसै वर्ष भएको मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ ।”

यो नेपालको समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति भएको आँैल्याउँदै उहाँले भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको एकदमै नजिक पुगेको र नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन थालेको जानकारी पनि दिनुभयो ।

आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीन जोड्ने चिलिमे–केरुङ दुई सय २० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि विद्युत् व्यापारको ढोका खुल्ने जानकारी दिनुभयो ।

“देशभित्र पनि हामी उद्योग र चुलोदेखि यातायातसम्म विद्युत् खपत बढाएर आत्मनिर्भरताको नयाँ युगतिर अगाडि बढ्दैछौँ, गम्भीर भएर सोचौँ त, देशले हरेक वर्ष कम्तीमा रु पाँच खर्बको बिजुली निर्यात गर्न र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरू विकसित देशसरह हुन हामीलाई कति नै वर्ष लाग्ला र ?”, उहाँले प्रश्न गर्नुभयो, “म निराशावादीहरूलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमै यसअघि कहिल्यै थियो र ?  बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ । के यो लोकतन्त्रको उपलब्धि होइन र ?” 

सुनकोशी मरिण डाइभर्सनमा उल्लेख्य सफलता

काठमाडौँ । प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ सुनकोशी मरिण डाइभर्सन आयोजना ।

मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुबै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।

सरकारले विकास निर्माणको कामबाट आर्थिक समृद्धिको मार्गप्रशस्त गर्ने र नेपाली नागरिकको विकास प्रतिको भोकलाई सम्बोधन गर्ने लक्ष्यका साथ सुरु गरेका एकाध बाहेकका अधिकांश ठूला आयोजना समयमा निर्माण सम्पन्न हुन सकेका छैनन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अपेक्षित लाभ प्रदान गरेपनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर पनि लाभ प्राप्त हुन सकेको छैन ।

यही मेसोमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले उल्लेखनीय प्रगति गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले सो आयोजनालाई विशेष महत्व दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हरेक सात दिनमा आयोजनाको प्रगति विवरण लिने गरेका छन् ।

कुनै समस्या देखिएको खण्डमा तत्कालै समाधान गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाइएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सआयोजनामा कूल १३ दशमलब तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १० किलोमिटर सात सय १४ मिटर सुरुङ निर्माण भइसकेको छ ।

हाल केही प्राविधिक जटिलता र भौगोलिक कठिनाइ सामना गर्नुपरेका कारण केही दिनदेखि सुरुङ निर्माण स्थगित छ । उक्त समस्या समाधान गरेर छिट्टै सुरुङ निर्माणलाई गति दिने आयोजनाको भनाइ छ ।

नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काम सुरु हुन सकेको छैन ।

भेरी–बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन् । यद्यपि आयोजनाको अन्य कामलाई गति दिन मन्त्रालयले आयोजनाका सम्वद्ध अधिकारी र निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिइसकेको मन्त्री बस्नेतले जानकारी दिए ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । यस्तै बाँधस्थल निर्माणका लागि निर्माण व्यवसायी परिचालित भइसकेका छन् ।

बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इजिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी वैशाखसम्म बाँध निर्माणको कामलाई एउटा स्तरमा पुर्याउने विश्वास निर्माण व्यवसायीले सरकारलाई दिलाएको छ ।

भुक्तानीलगायतका विषयमा देखिएको समस्या समाधान भएकाले देखिने गरी नै प्रगति गर्ने रमण कन्स्ट्रक्सनका प्रमुख रमण महतोको भनाइ छ । बिपी राजमार्गको कारण ठूलाठूला ट्रकबाट मालसामान आयोजना स्थल पुर्याउन केही कठिनाइ उत्पन्न भएको भन्दै निर्माण व्यवसायीले सहजीकरण गरिदिन मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

यस्तै, विद्युत गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणका कारण प्रभावित हुने स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि पूरा भएको छ ।

सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । हालकै अवस्था कायम भएको खण्डमा आगामी चार महिनाभित्र सुरुङ निर्माण कार्य सम्पन्न हुनेछ ।

चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शङ्ृखलामुनि हाल सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ ले पनि सो आयोजनालाई सबै प्रकारको साधन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री, ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।

यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण दुईपटक समस्या देखिएको थियो । सुरुङ निर्माणका क्रममा एकपटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको बरालले जानकारी दिए ।

सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ ।

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुलीसमेत उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणको काममा केही ढिलाई भएपनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँध र विद्युत गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले आयोजनामा कुनै पनि समस्या आउन नदिन, समस्या आइहालेपनि द्रुत गतिमा समाधान गर्न आयोजना, मन्त्रालय दुवै सचेत रहेको बताए ।

आयोजना सम्पन्न भएपछि अन्न भण्डारको रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा बर्षभरी नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक बदलाव आउने सरकारको विश्वास छ ।

सरकारले आयोजनाको बाँध तथा विद्युत् गृह निर्माणको कामलाई गति दिन थप कामदार परिचालन गर्न, उपकरणको सहज प्रबन्ध गर्न तथा दैनिक तीन सत्रमा काम गर्न निर्माण व्यवसायीलाई स्पष्ट मार्ग निर्देशन गरेको छ ।

त्यसको सकारात्मक नतिजा आगामी दिनमा देखिने सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीको भनाइ छ ।

आर्थिक बर्ष २०६८/६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको संज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शङ्का पनि उत्तिकै थिए ।

संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै मेहेनत गर्नु परेको सम्वद्ध अधिकारीको भनाइ छ । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखिएपछि सुनकोशी मरिणमा पनि टिबीएमको प्रयोग गरिएको ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यको भनाइ छ ।

‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । भेरी बबईमा डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको हो ।

सांसद भनेका विकासकर्मी हुन् भन्ने भाष्य अन्त्य हुनुपर्छ : सांसद लामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) जुम्लाबाट समानुपातिक सांसदको रूपमा सङ्घीय संसद् प्रवेश गरेकी छिरिङल्हामु लामा (तामाङ)लाई आफ्नो एकवर्षे कार्यकाल त्यति चित्तबुझ्दो लागेको छैन । युवा नेत्री लामालाई पहिलो सङ्घीय संसद्को अभ्यास एउटा महत्त्वपूर्ण सिकाइ र भोगाइ हो उनका लागि । सिंहदरबार सोचेजस्तो सहज नभएको उनी ठान्छिन् । सांसद लामा भन्छिन्, “संसद्को एक वर्षको कार्यकालमा धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न पाइयो ।”

युवा वयमै सांसदको गहन जिम्मेवारी पाएकी नेत्री लामालाई तीव्र परिवर्तनका भोका जनताको विकास र आर्थिक समृद्धिको उत्कट चाहनाको हुटहुटी पूरा गर्ने सपना र योजना नभएको होइन तर सबै कुरा सोचेजस्तो, सम्झेजस्तो सहज छैन । सांसद लामाको एकवर्षे संसदीय यात्राको अनुभव र सङ्घर्षले पनि त्यही कुरा पुष्टि गर्छ ।

सङ्घीय सांसदको भूमिकामा सिंहदरबार धाउने र संसद्मा कुरा राख्ने सांसद लामाको दैनिकी बनेको छ । “जनताका माग र गुनासा लिएर सिंहदरबार धाउँदा जुत्ता फाटिसके”, उनी दुखेसो पोख्छिन्, “सांसदको लेटरप्याडमा मन्त्रीहरूलाई मागपत्र बुझाउँदा पनि बजेट आउँदो रहेनछ ।”

नेत्री लामाले भनिन्, “सिंहदरबारमा हामीले गएर आफ्नो लेटरप्याडमा मन्त्रीलाई मागपत्र पेस गरेकै आधारमा मात्रै बजेट विनियोजन नहुँदोरहेछ । साथै कर्मचारीतन्त्रदेखि हरेक नेटवर्कको अध्ययन र परिचित नभएसम्म चुनौती खेप्नुपर्ने रहेछ, यो कुराको पनि अनुभव गर्न पाइयो ।”उनले एकवर्षे संसदीय अभ्यासमा धेरै कुरा सिकाइको चरणमा रहेकाले अहिलेको अनुभवले बाँकी अवधिमा परिणाममुखी काम गर्न सहज हुने विश्वास व्यक्त गरिन्।

विसं २०७० देखि माओवादी केन्द्रमा आबद्ध छिरिङल्हामु लामाले पार्टीको जुम्ला जिल्ला सदस्य, अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी), कर्णाली प्रदेश सदस्य, अनेम सङ्घ चन्दननाथ नगरपालिका इन्चार्जजस्ता जिम्मेवारी निर्वाह गरेकी छिन्। हालको कर्णाली प्रदेशको जुम्ला चन्दननाथ–६ मा २०४८ असोज १३ गते जन्मिएकी उनी उमेरले युवा रहे पनि राजनीतिक यात्रासँगै सामाजिककार्य र सङ्घसंस्थामा संलग्न भई काम गरेको अनुभव छ । उनी आदिवासी जनजाति (पिछडिएको क्षेत्र मुगाली)बाट प्रतिनिधित्व गर्ने सांसद हुन्।

“सङ्घीय संसद्मा मेरो एक वर्षको अनुभव चुनौतीपूर्ण नै रह्यो”, सांसद लामाले भनिन्, “एक त पुराना सांसद र नयाँ सांसदमा अलिकति फरक हुने नै भयो । त्यसमाथि मचाहिँ जुन भेग र समुदायबाट प्रतिनिधित्व गर्छु, त्यो क्षेत्र र समुदायमा आजको दिनमा पनि नेपाली भाषा शुद्ध र स्पष्ट हुँदैन, त्यो भएर पनि मलाई अलिक अरु सांसदभन्दा चुनौतीपूर्ण लाग्यो ।”

नेत्री लामाको बुझाइमा सांसदको मुख्य दायित्व र जिम्मेवारी भनेको राज्यका कानुन, नीति निर्माण गर्ने हो । तर अहिले नेपालको संसदीय अभ्यासमा परम्परागत भाष्य कायमै छ । उनी भन्छिन्, “हाम्रो देशमा सांसद भनेको विकासकर्मी हो भन्ने छ । त्यसैले सांसदहरू मुख्य लक्ष्यमा केन्द्रित भएर काम गर्ने अवस्था नरहेकाले परिणाम राम्रो आउन सकिरहेको छैन ।”

उनको विचारमा जुन लक्ष्यमा सांसदको ध्यान केन्द्रित हुनुपर्ने हो ठीकविपरीत भएको छ । “तर सांसदले आफ्नो क्षेत्रका जनताको आवश्यकतानुरुप विकास निर्माणको काममा पनि सहभागी हुनुपर्ने भएकाले सरकार र जनताको पुलको रूपमा सांसदको भूमिका हुन्छ । दुवै कामलाई उत्तिकै प्राथमिकता दिनुपर्ने बाध्यता छ”, सांसद लामाको विचार छ ।

उनले सङ्घीय संसद्को एक वर्षको अवधिमा ९३ बैठकमध्ये ८४ वटा बैठकमा उपस्थित भएको सुनाइन्। उनले भनिन्, “कर्णाली प्रदेशका सांसदमध्ये सबैभन्दा धेरै उपस्थित हुनेमा म छु यो खुसीको कुरा हो । यो पनि अनुशासनको राम्रो पक्ष हो ।”

सदनभित्र एक वर्षको अवधिमा सांसद लामाले १९ पटक कुरा उठाएको र त्यसमध्ये उक्त अवधिमा पाँचपटक विधेयकमाथि छलफल र बाँकी समग्र कर्णाली र जिल्लाका जनताको विषयमा कुरा उठाएको जानकारी दिइन् ।

“विगतका सांसदको तथ्याङ्क हेर्ने हो भने कर्णाली क्षेत्रका सांसदले असाध्यै कम बोलेको पाइन्छ । त्यस हिसाबले आफूले राम्रो गरेछु कि भन्ने गौरव अनुभूति भएको छ । तर सहज छैन । हामी सिंहदरबारभित्र प्रवेश गरेपछि नीति निर्माण र जनताको विकासको मुद्दा उठाउने दायित्व छँदैछ, सँगै विकासको मुद्दामा पनि सक्रिय हुनैपर्यो”, सांसद लामाले भनिन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो कामको प्रतिवेदन ‘पोष्ट’ गर्ने अभ्यास पनि गरेकी छिन् । सदनमा २१ वटा मन्त्रालयसँग सम्बन्धित ६३ वटा कामको मागपत्र पेस गरेको र तीमध्ये धेरै काम भएको तथा केही काम प्रक्रियामै रहेका छन् ।

सदनको कामसँगै जिल्लामा पुगेर जनताको पीरमर्का र मागलाई सङ्घीय सरकारसमक्ष पेस गर्ने काम पनि सांसद लामाले गरेकी छिन् । स्थानीय विकास योजना, जनताका आधारभूत आवश्यकतालगायतका बाँकी कामलाई चाँडो परिणाम दिनेगरी सक्रियताका साथ लागिपरेको उनले बताइन् ।

जनतासँग साक्षात्कार गर्न जिल्लाका आठै पालिकामा पुगेर त्यहाँका जनताको पीरमर्का र योजना समेटेर केन्द्रमा ल्याएको र ती माग पूरा गर्न केन्द्र सरकारसँग पहलकदमी गरिरहेको उनले उल्लेख गरिन्। सांसद लामाले अहिलेको व्यवस्था ल्याउन कर्णालीका जनता र कर्णाली प्रदेशको महत्त्वपूर्ण योगदान रहे पनि राज्यले कर्णालीको सही मूल्याङ्कन गर्न नसकेको जिकिर गरिन् ।

उनले भनिन्, “राज्यको निकायमा कर्णालीको जुन मूल्याङ्कन हुनुपर्ने हो त्यो भएको छैन । हरेक तथ्यले त्यसलाई प्रमाणित गर्दछ । उदाहरणका लागि, नियुक्ति, बजेट र विकासलगायत हरेक हिसाबले कर्णालीलाई पछाडि पारिएको छ ।”

मानव संशाधन विकासमा हेर्ने हो भने मानव विकास सूचकमा कर्णाली क्षेत्र धेरै पछाडि छ । जनताका माग भनेको सडक, बाटो, रोजगारी, स्वास्थ्य नै प्रमुख छन् । कर्णालीमा जलविद्युत्को ठूलो सम्भावना छ । तर दैलेखमा एकमात्र सानो जलविद्युत् आयोजना छ । कर्णालीमा ठूला उद्योग पनि छैनन् ।

जडीबुटी उद्योग तथा कलकारखाना स्थापनाका प्रशस्तै सम्भावना पनि छन् । चीनसँग सीमा जोडिएका कर्णालीका पाँच नाका खोल्न विशेष पहलकदमी गरिरहेको सांसद लामाले बताउनुभयो । ती नाका खुलेमा कर्णाली क्षेत्रको विकासको ढोका खुल्ने उनले विश्वास व्यक्त गरिन् ।

सांसद लामाले वर्तमान सरकार सुशासन प्रवर्द्धन गरी जनसेवालाई प्रभावकारी तुल्याउन लागिपरेको दाबी गरिन् । “सरकारले भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रयास गर्यो तर, गठबन्धन सरकारमा सबै दलको भावनाअनुरुप चल्नुपर्ने बाध्यता भएकाले चाहेअनुरुप परिणाम निकाल्न सकिएको छैन”, उनले भनिन्, “एक वर्षको अवधिमा धेरै भ्रष्टाचारी जेलमा पुगेका छन्, यो सुशासनको उदाहरण हो । भ्रष्टाचार अन्त्य नभएसम्म सुशासन आउँदैन बेरोजगारी र गरिबी बढिरहन्छ । वडा तहदेखि केन्द्रसम्म भ्रष्टाचारले जरा गाडेको छ । यसलाई न्यूनीकरण गर्न सबै जिम्मेवारीपूर्वक लाग्न जरुरी छ ।”

विकास र जनताको मुद्दामा दलभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनुपर्ने अपरिहार्यता रहेको उनले उल्लेख गरिन् । विकास र जनसरोकारका मुद्दामा सबै एकसाथ अघि बढेमा मात्रै परिणाम आउँछ ।

“अहिले गुनासो भनेकै सरकारी प्रशासनिक प्रणाली झन्झटिलो छ । यसले गर्दा जनताले धेरै दुःख पाइरहेका छन् । सहजै हुने सानातिना काममा पनि प्रशासनिक झन्झट खडा गरिन्छ । कर्मचारीतन्त्रमा रहेको पुरातन मानसिकता नफेरेसम्म जनताले छिटोछरितो सेवा प्राप्त गर्ने देखिन्न । पुरानो संरचना र प्रणाली परिवर्तन नभएसम्म हामीले खोजेको परिवर्तन र जनताको चाहना पूरा गर्न सकिँदैन”, सांसद लामा अगाडि भनिछन्, “यहाँ सांसद, नेता, मन्त्री प्रधानमन्त्रीले मात्रै चाहेर नहुँदोरहेछ । हामीले एउटा आशयको कुरा पेस गर्छौँ अर्कै भएर आउँछ ।”

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि अहिले चौतर्फी हमला भइरहेको भन्दै नेत्री लामाले प्रणालीको रक्षाका लागि जनता सचेत भएर लाग्नुपर्नेमा जोड दिइन् । उनले धर्ममाथि राजनीति भइरहेको तथा विदेशीको इसारामा प्रणालीमाथि नै प्रहार भइरहेको दाबी गरिन् ।

“विदेशीको हस्तक्षेपमा नेपालको पवित्र भूमि, पशुपतिनाथ र गौतमबुद्धको भूमिमा अनेक प्रयास भइरहेका छन्, यो कुरा नेपाली जनताले बुझ्नुपर्यो”, सांसद लामाले भनिन्, “अहिलेको व्यवस्थाभन्दा राम्रो व्यवस्था कुनै पनि हुन सक्दैन । व्यक्ति गलत होला तर व्यवस्था गलत छैन र यो लोकतान्त्रिक व्यवस्थामा चुनावबाट व्यक्ति, नेतृत्व फेर्न पाइन्छ जुन यसको सुन्दर पक्ष हो । त्यसैले गणतान्त्रिक शासन व्यवस्थाको रक्षा गरौँ, धर्मनिरपेक्षताको रक्षा गरौँ । यो भनेको हिन्दूलाई दबाएको होइन, नेपालमा रहेका सबै धर्म र जातलाई सम्मान गरौँ भन्ने भावनाअनुरुप मुलुकलाई अगाडि बढाउनुपर्छ”, उनले भनिन् ।

अर्थतन्त्र सुधारोन्मुख छ, निर्धक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् ।

अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उनले भने, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए ।

अर्थमन्त्रीले भने, “लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।” उनले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गरे ।

सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले भने, “घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ ।”

अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे । विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उनले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको दोहोर्याए ।

राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनले बताए । उनले भने, “नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ । असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ । बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ।”

‘मौलिक संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सम्पन्न बनाएको छ’- माधव नेपाल

काठमाडौँ, १० पुस : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति र समुदायका फरक संस्कृतिले समग्र राष्ट्रलाई सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले ज्यापु दिवस तथा उधौँलीपर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका फरक भाषा, साहित्य, कला र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको उल्लेख गर्नुभएको छ । सन्देशमा बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व सस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

कास्कीमा कारको ठक्करबाट दुई युवकको मृत्यु

गण्डकी, १० पुस : कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कारचालक फरार छन् । निजको खोजी भइरहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसदीय प्रमण्डलद्वारा च्याङ्सु प्रान्तका उपप्रमुखसँग भेटवार्ता

काठमाडौँ, १० पुस : चीन भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डलले च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानसँग भेटवार्ता गरेको छ ।

नेपाली प्रतिनिधिमण्डलका नेता नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले जनकंग्रेस उपप्रमुख पाउच्वानसँग नानजिङमा सोमबार अपराह्न भेटवार्ता गरेको हो ।

त्यस अवसरमा द्विपक्षीय हित, आपसी सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले राससलाई जानकारी दिनुभयो ।

नेता पाण्डेले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको बताउँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्रीको पछिल्लो चीन भ्रमणले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि पारस्परिक सम्बन्ध विस्तार भएको बताउनुभयो । उहाँले छोटो समयमा नै चीनले गरेको द्रुत विकास सराहना गर्दै नेपालका तीनवटै तहका सरकारले विकासका लागि अधिकतम् काम गर्दै आएको जानकारी दिनुभयो ।

च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानले नेपाली संसदीय टोलीलाई स्वागत गर्दै प्राचीनकालदेखि दुई मुलुकबीच आत्मीय सम्बन्ध रहेको बताउनुभयो । नेपालको सौन्दर्यबाट चिनियाँ पर्यटक मन्त्रमुग्ध भएर स्वदेश फर्किने गरेका बताउँदै उहाँले नेपालको पर्ययन क्षेत्र विकासका प्रशस्त सम्भावना बोकेको देश हो भन्नुभयो ।

सङ्घीय संसद्को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणका लागि गत पुस २ गते बेइजिङ प्रस्थान गरेको थियो । माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेको नेतृत्वमा रहेको २० सदस्यीय प्रमण्डलमा नेपाली कांग्रेस र नेकपा (एमाले)का पाँच–पाँच, नेकपा (माओवादी केन्द्र)का तीन तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)पार्टीबाट एक–एक जना छन् ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमी (आइबीओ) को कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन भ्रमण्मा गएको हो । संसदीय टोली यही पुस १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाद्वारा उधौलीको शुभकामना

काठमाडौँ, १० पुस : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले किरात समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सनाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा उधौलीपर्वले सबैमा धार्मिक सहिष्णुता कायम गर्ने तथा सकरात्मक सोचको विकास गर्न अहम् भूमिका निर्वाहका साथै सत्मार्गमा लाग्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भएको छ ।

“बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्नु सबै नेपाली समुदायको दायित्व र राष्ट्रप्रतिको सम्मान हो”, सन्देशमा भनिएको छ, “किरात समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ ।”

सन्देशमा मानवजीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नमा समेत योगदान रहेको र राष्ट्रिय एकतालाई मजबुत बनाउन सबैखाले जातीय, भाषिक, धार्मिक र सांस्कृतिक मूल्यमान्यतामा असर पार्ने क्रियाकलापको अन्त्य गर्नु आवश्यक रहेको उल्लेख छ ।

किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूको महान् चाड उधौलीपर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । खेतमा अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर यो पर्व मनाइन्छ ।

सरकारको एक वर्ष : नीति तथा कानुन निर्माणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय केन्द्रित

काठमाडौँ, १० पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ ।

नेपालको ‘इ–गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स’ एक सयमा ५१ हाराहारीमा पुगेको छ । मन्त्रालय दूरसञ्चार पूर्वाधार, सार्वजनिक सेवासँग सूचना प्रविधिको आबद्धता र मानवीय सक्षमताजस्ता तीनवटै आयाममा सुधार गर्दै इ–गभर्नेन्स (विद्युतीय सुशासन)मार्फत सेवा प्रवाह सहज बनाउन प्रयत्नरत छ ।

मन्त्रालयले नेपाल सरकारका सबै तहका सरकारी संयन्त्रहरूले प्रयोग गर्नसक्ने सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली तथा ‘वेबसाइट टेम्प्लेट’मा सुधार गर्दै जाने, सूचना प्रविधि प्रणालीको अनुगमन गर्ने प्रणालीबाट जोखिममा निगरानी बढाउने, ग्रुप एसएमएस सेवा, विद्युतीय हस्ताक्षर, नागरिक एपमा सेवा आबद्ध गर्दै जाने, सफ्टवेयर तथा हार्डवेयर भेटिङ, डेटा सेन्टरलाई रिकभरी सुविधा र क्लाउड सुविधासहित पूर्णरूपमा सञ्चालन गर्ने कार्यसूचीमा महत्वका साथ कार्य गरिरहेको छ ।

मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको मन्त्रालयका प्रवक्ता नेत्र सुवेदी बताउनुहुन्छ । “बितेको एक वर्षको अवधिमा केही काम भएका छन् भने केही काम पूरा हुने क्रममा छन्, केही हालै प्रारम्भ गरिएका छन्”, उहाँले भन्नुभयो, “केही काम भने अपेक्षाअनुरुप हुनसकेको छैन । कार्यसम्पादनमा केही संरचनागत र व्यवहारगत व्यवधान छन् । यिनै बाधा छिचोलेर आपसी समन्वय र विश्वासलाई सघन बनाउँदै काम गर्नुपर्ने अवस्था छ ।”

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो ।

आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका सुशासन प्रवर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयासबारे जानकारी दिन प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लाग्नुभएको हो । 

समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौँ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग गठन भई स्थानीय तहसँगको समन्वयमा ७७ वटै जिल्लामा काम जारी छ ।

जिल्लास्थित राष्ट्रिय भूमि आयोग कार्यालयले जग्गा पहिचान, लगत सङ्कलन, नापनक्सा र प्रमाणपत्र वितरणसम्मका कामलाई निरन्तरता दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए ।

सोही क्रममा अव्यवस्थित ढङ्गले बसोबास गरेका परिवारलाई चार हजार तीन सय ७० थान जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरणका लागि ४१ हजार हेक्टर जग्गा नाप नक्साङ्कन भएको र अव्यवस्थित बसोबासीबाट ७८ करोड राजस्व सङ्कलन भएको छ ।

भूमि आयोग र स्थानीय तहबीच हालसम्म सात सय २२ कार्यसम्पादन सम्झौता भएका, सात सय १२ सार्वजनिक सूचना प्रकाशित गरिएका तथा नौ लाख ८० हजार नौ सय २९ लगत सङ्कलन गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अव्यवस्थित बसोबासीलाई भूमि आयोगबाट जग्गा उपलब्ध गराउँदा हालको शुल्कमा ५० प्रतिशत कम हुने व्यवस्था मिलाइएको छभने भूमि आयोगबाट जग्गा उपलब्ध गराउने सम्बन्धमा वन ऐन, २०४६ संशोधन प्रक्रिया अघि बढाइएको छ ।

सेवाग्राहीले घरैबाट वा नजिकको भू–सेवा केन्द्रबाट जग्गासम्बन्धी कारोबार गर्न सक्ने प्रविधि ‘पब्लिक एक्सेस मोडल’ (प्लाम)बाट ९० वटा मालपोत कार्यालय भू–सेवा प्रणाली सञ्चालन भएका छन् ।

मुुलुकका ७७ जिल्लाका एक सय ३५ मालपोत र नापी कार्यालयबाट प्रवाह गरिने सेवालाई सहज, सरल र व्यवस्थित बनाउने प्रयास जारी रहेको सहायक प्रवक्ता वाग्लेले बताए ।

प्रविधि प्रयोगका माध्यमबाट जनगुनासो कम गर्ने र सेवा सहज तुल्याउने, सेवामैत्री कार्यालयमा परिणत भइरहेको छ । नापीमा आधुनिक प्रविधिको प्रयोग भई विश्वसनीय भूमि लगत तयार हुने तथा पाम प्रणालीको प्रयोगले जग्गा पासको काम सहज हुने जनाइएको छ ।

विकास निर्माणकार्यका लागि हवाई सर्वेक्षणमार्फत गरिने ‘लाइडार सर्भे’लगायत कार्यमा एकरुपता कायम गर्न हवाई सर्वेक्षण अनुमति कार्यविधि स्वीकृत भएको छ । दुर्गम जिल्लाका सेवाग्राहीले नापी कार्यालयमा उपस्थित नभई सम्बन्धित स्थानीय तहमार्फत नक्सा सेवा प्राप्त गर्ने कानुनी व्यवस्था मिलाइएको छ ।

मालपोत कार्यालयबाट हुने जग्गाको कारोबारबाट सङ्कलित राजस्व मासिकरूपमा वेबसाइटमा सार्वजनिक हुने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी भूउपयोग नियमावली, २०८० स्वीकृत भएपछि भूउपयोग क्षेत्र वर्गीकरण, आवासीय जग्गा कित्ताकाट, कृषियोग्य भूमि संरक्षण तथा मूल्याङ्कन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । नयाँ प्रविधिबाट एकीकृतरूपमा जग्गाको नापनक्साको कार्य पनि तीव्ररूपमा अघि बढिरहेको छ ।

आन्तरिक नियन्त्रण व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भएपछि कार्यसम्पादनमा प्रभावकारिता एवं वित्तीय अनुशासनमा सुधार हुने विश्वास गरिएको छ । मन्त्रालयले नापनक्सा सम्बन्धमा नापी विभागबाट एक सय ४१ स्थानीय तहलाई प्राविधिक जनशक्ति सहयोग उपलब्ध गराएको छ । ती कार्यालयबाट प्रविधिमा आधारित सुलभ ढङ्गले सेवा प्रवाह भएको छ ।

बितेको एक वर्षमा मालपोत कार्यालय हरिवन र भूमिसुधार तथा मालमोत कार्यालय जलेश्वरको तथा नापी कार्यालय रङ्गेली, हरिवन, बुटवल र मनाङको भवन निर्माण सम्पन्न भएको छ । भूउपयोग जग्गा नीति कार्यान्वयनको क्रम अघि बढेपछि कृषिक्षेत्र जग्गा संरक्षणमा उल्लेखनीय योगदान भएको छ ।

पछिल्लो कार्यनीति पारित भएसँगै सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्य व्यवस्थित हुने मन्त्रालयको अपेक्षा छ ।

त्यसैगरी भूमि व्यवस्थापन र नापनक्साको काम पनि प्रशिक्षण केन्द्रले विभिन्न विश्वविद्यालयसँगको सहकार्यमा दक्ष जनशक्ति उत्पादनलाई निरन्तरता दिएको छ । गरिबी निवारणसम्बन्धी कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरी गरिब

घरपरिवार पहिचान तथा परिचयपत्र वितरण भइरहेको छ । यसैक्रममा राज्यबाट प्रदान गरिने सेवामा पहुँच सुनिश्चित गर्न २३ जिल्लाका दुई लाख २३ हजार तीन सय ३० परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ ।

मन्त्रालयकाअनुसार थप दुई लाख ७१ हजार चार सय ६० परिवारलाई गरिबको सूचीमा समावेश गर्ने प्रक्रिया अघि जारी छ ।

यसैबीच उच्चस्तरीय सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०७९ को प्रतिवेदन क्रमशः कार्यान्वयन हुने क्रममा रहेको बताइएको छ । सरकारले पछिल्लो समय समस्याग्रस्त सहकारी व्यवस्थापन कार्य तीव्ररूपमा अघि बढाएको छ ।

अर्काे व्यवस्था नभएसम्म नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको कारोबार गर्न सङ्घ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतमा रोक लगाइएको छ ।

केही सहकारीलाई समस्यायग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तनी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत कारबाही अघि बढाइएकोे छभने समस्याग्रस्त सहकारीलाई आगामी चैत मसान्तभित्र बचत फिर्ता गर्नेगरी कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

गाई संरक्षणका लागि आयोजना गरिएको महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

टीकापुर (कैलाली), १० पुस: गौशालाको स्तरोन्नतिका लागि यहाँ आयोजना गरिएको महायज्ञबाट रु नौ लाख ६७ हजार आम्दानी भएको छ । गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापुर–२ सीतापुरमा आयोजना भएको महायज्ञबाट रु १७ लाख ९६ हजार आम्दानी भएको छ । महायज्ञमा रु आठ लाख २९ हजार खर्च भएको छ । खर्च कटाई रु नौ लाख ६७ हजार बचत भएको महायज्ञ आयोजक समितिले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।

महायज्ञ आयोजक समितिका संयोजक द्वारिकाप्रसाद जोशीले महायज्ञमा रु १२ लाख एक हजार दानबाट, रु चार लाख ४५ हजार कलश बिक्रीबाट, रु एक लाख ५१ हजार धानचामल बिक्रीबाट आय भएको जानकारी राससलाई दिनुभयो । महायज्ञबाट सङ्कलन भएको रकम गाईको बासस्थानका लागि गोठ निर्माण र आहारा व्यवस्थापनमा खर्च हुनेछ ।

“गाईका लागि आहाराको अभाव छ, चिसो मौसममा छाना छैन, हाल तीन सय वस्तुभाउ मात्र अट्ने गोठ छन्, तत्काल गोठ निर्माण गर्नुपर्नेछ”, सामुदायिक चौपाया व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर बिसीले भन्नुभयो, “पशुका लागि आहारा, औषधि जुटाउन सहयोग पुग्नेछ ।”

हाल गौशालामा सात सय बढी गाई छन् । विगतमा टीकापुर नगरपालिकाले संरक्षण गर्दै आएको पशुचौपाया गत जेठदेखि स्थानीय युवाले संरक्षण थालेका हुन् । विसं २०८० जेठ १४ गते संस्थामार्फत टीकापुरका केही युवाले वडा नं २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका हुन् ।

गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँसखेती गरिएको छ । त्यहाँ निर्माण गोबरग्यास प्लान्टबाट बिहान–बेलुका दुई–दुई घण्टा ५५ घरलाई खाना पकाउन बायोग्यास वितरण गरिएको छ । गौशाला संरक्षण गरिरहेका युवा गाई संरक्षणका लागि दीर्घकालीन आम्दानीका स्रोत चाहिन्छ भन्दै आम्दानीका माध्यम बनाउने प्रयासमा लागेका छन् । युवाले गाईको गोबर मल बिक्री गर्ने, गोबरबाटै दियो, धुपबत्ती, विभिन्न मूर्ति निर्माण गर्ने गरेका छन् ।

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

भक्तपुर, १० पुस : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् ।‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनुहुन्छ ।

आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यःमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्य बताउनुहुन्छ । यःमरी पुन्हि सुरु हुनुअघि घर–घरमा भित्र्याइएको धानलाई पाँच–छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ । आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको उहाँ बताउनुहुन्छ ।

यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

परम्पराअनुसार यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइने उहाँ बताउनुहुन्छ ।

यःमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ । धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउने संस्कृति पहिलादेखि नै रहँदै आएको उहाँ बताउनुहुन्छ ।

तिहारमा देउसीभैलो खेलेझैँ धान्यपूर्णिमाका दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै यःमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । आजको दिन साँझ घरघरमा गएर देउसीभैलो खेलेजस्तै गरी यःमरी माग्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । योमरी माग्ने क्रममा घरघरमा गएर यो गीत गाउँने प्रचलन छ ।
‘ट्यो सिं ट्यो, बकसिं ट्यो
लटापाटा कुलिचाँ जुसिंट्या ।।
ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा ।।
छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ।।
अर्थात्
‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ
माना–पाथी जेबाट जति दिए पनि देऊ ।
दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।
तिम्रो पनि जाडो, हाम्रो पनि जाडो
दिने भए छिटो देऊ’

यस्ता गीत गाउँदै यःमरी पुन्हिमा घरघरमा गएर यमरी, दान, दक्षिणा, धान, चामल पनि माग्ने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । नेवार समुदायमा दान गरेर चाडपर्व मनाउने परम्परा अझै छ । आफ्नासँग नभए अरुसँग मागेर भए पनि खानुपर्छ भन्ने मान्यताअनुसार नै यःमरी टोलका सबैले बाँडेर खानुपर्छ भन्ने मान्यता रहेको संस्कृतकर्मी बज्राचार्य बताउनुहुन्छ ।

संस्कृतिकर्मी बज्राचार्यले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउँदै यःमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइने बताउनुभयो । यो प्रचलनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उहाँको भनाइ थियो ।

यःमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाड एवं दान पर्वका रूपमा यःमरी पुन्हि मनाउने गर्छन् । धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हँुदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ । धान्यपूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ ।

किंवदन्तीअनुसार पाञ्चाल देश (हालको पनौती)मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको वेशमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगेका थिए । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाएका थिए । उहाँको सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र यःमरी खाएका कारण शरीरसमेत हृष्टपुस्ट हुन थाल्यो । त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमा मनाउने संस्कृति विकास भएको मानिन्छ ।

‘दिवाखाजा’ खाने आशाले दुधेबालकसमेत विद्यालयमा

बझाङ । तलकोट गाउँपालिका–७ की पद्मा धामीकी नातिनी रुचिका दुई वर्ष पुग्न थालिन् । उनकी दिदी कृतिका सात वर्षकी छन् । उनी मष्टा आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत छिन् । कृतिका विद्यालय जान तयार हुनअघि नै रुचिका पनि तयार भइसक्छिन् । उनी झोलामा कापी, पेन्सिलसँगै घरबाट थाली नै लिएर विद्यालय जान्छिन् । तर, विद्यालयमा उनको नाम भने दर्ता छैन ।

उमेर नपुगेका कारण रुचिकाको नाम दर्ता नगरेको विद्यालयले जनाएको छ । ‘दिवाखाजा’ खाने आशाले रुचिका हरेक बिहान तयार हुने र कहिल्यै विद्यालय जान नछाड्ने बानी परेको छ । बिहान १० बजे विद्यालय जाने रुचिकाको विद्यालयमा हेरचाह उनकी दिदी कृतिमा गर्छिन् । रुचिका दिदी कृतिकासँगै १ कक्षामा बस्दै आएकी छन् ।

त्यस्तै, आरश दमाई तीन वर्ष पुग्न थाले । उनी पनि काका रवि दमाईसँगै विद्यालय नबिराएर जान्छन् । आरशको पनि विद्यालयमा नाम दर्ता छैन । ‘उमेर नपुगेको’ भन्दै भर्ना नगरेको आरशका बुबा बिर्ख दमाई बताउँछन् । उनी पनि घरबाटै झोलामा प्लेट लिएर विद्यालयमा हाजिर हुने गरेका छन् ।

‘पहिला ६–७ वर्ष पुगेपछि मात्रै विद्यालयमा लगाउने गरेका थियौं, अहिले दिवाखाजा लागू भएपछि स–साना बालबालिका पनि विद्यालय जान रुचाउने गरेको’ पद्मा धामी बताउँछिन् ।

‘म घरमा बस्नुको कारण यही नातिको हेरालो लाग्नका लागि हो, नातिनी बिहान विद्यालय लाग्ने समयअघि नै रोइकराई गर्छे,’ पद्मा भन्छिन्, ‘आमाको दुध खान छोडेर दिवाखाजा नै मन पराउँछन्, मिठो मानेका कारण विद्यालयमा नजाउभन्दा पनि मान्दैनन् । यसले गर्दा हामीलाई राम्रो भएको छ । घरको कामधन्दामा सहज भएको छ ।’

विद्यालयमा ‘म्याउम्याउ बिरालो, यतातिर आऊ, कराईको दुध नखाउ म भोकी हुन्छु’ लय हालेर बालगीत गाउन पनि जानेका छन्, स–साना बालबालिकाले । तलकोट गाउँपालिकाको मष्टा आधारभूत विद्यालयमा मात्रै झन्डै १० देखि १५ बालबालिका दिवाखाजाका कारण नियमित उपस्थित हुने गरेको प्राध्यानाध्यापक सत्यकुमारी उपाध्यायले बताइन् ।

कतिपय बालबालिका आफ्नै दिदी, काका, दाइ तथा फुपुसँगै उनीहरूको कक्षामा बस्छन् भने कतिपयलाई शिशु कक्षामा राख्ने गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड, एक सातामै १६ हजार जना पक्राउ

काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ ।

गत डिसेम्बर १४ देखि २० गतेसम्मको साता राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने १० हजार ८ सय ५६, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ९ सय ३४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६ सय ७३ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ७ सय ६९ जना व्यक्ति पक्राउ परेका थिए । जसमा ३९ प्रतिशत यमनी, ५८ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रियताका थिए । यस्तै, ८० उल्लंघनकारी साउदी अरेबियाबाट बाहिर जान सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए ।

यीमध्ये कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ११ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु¥याएर देशनिकाला गरिने जनाएको छ । हाल ५२ हजार ३ सय ६९ जना कानुन उल्लंघनकर्ता अहिले नियम उल्लंघन गर्ने प्रक्रियाको अधीनमा छन्, जसमध्ये ४६ हजार ४ सय ३१ पुरुष र ५ हजार ९ सय ३८ महिला छन् ।

तीमध्ये ४६ हजार ७ सय ४३ उल्लंघनकारीलाई यात्रा कागजात प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगमा पठाइएको छ भने १ हजार ७ सय १६ उल्लंघनकर्तालाई यात्रा अनुमति लिएर स्वदेश फिर्ता पठाउने तयारी भइरहेको जनाएको छ । अहिलेसम्म ९ हजार १ सय ४७ उल्लंघनकारीलाई देशनिकाला गरिसकिएको जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने – अध्ययन

जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। तातो वातावरणमा लामुखुट्टेका लार्भा सिकार गर्ने किरालाई कठिनाइ हुँदा लामखुट्टे नियन्त्रण गर्न समस्या हुने अनुसन्धानकर्ताको ठहर छ।

यसैगरी तातो वातावरणमा लामखुट्टेका लार्भाको विकास द्रुत गतिमा हुने र यसलाई सिकार गर्ने गाइने किरालगायत अन्य सिकारी किरालाई लार्भा खाने अवसर सीमित हुने अध्ययनको निष्कर्ष छ।

अनुसन्धानकर्ताले यस्तो अवस्थामा लार्भाबाट वयस्क लामखुट्टेमा विकास हुने दर दुई गुणाले बढ्ने आकलन गरेका छन्। अनुसन्धानका क्रममा रिचमन्डस्थित जेम्स नदी र सो नदीको वरपर चट्टाननजिकका पोखरीछेउछाउ बस्ने लामखुट्टेको अध्ययन गरिएको थियो।

‘यस्तो अवस्थामा सबैले मन नपराउने यो किराको संख्या अत्यधिक बढ्ने देखिएको छ,’ अध्ययनको नेतृत्व गरेका प्रमुख अनुसन्धानकर्ता एन्ड्र्यु डेभिडसनले प्रेस विज्ञप्तिमा भनेका छन्।

अनुसन्धानकर्ताले लामखुट्टेका लार्भाको सिकार गर्ने गाइने किराहरूको उपस्थिति रहे पनि न्यानो पोखरीमा अत्यधिक लार्भा रहेको पत्ता लगाएका थिए। ‘उत्तर अमेरिकामा चट्टाननजिकका पोखरीमा गरिएको अध्ययनको नतिजा जिका भाइरस र वेस्ट नाइलजस्ता रोगको प्रसारणमा जिम्मेवार ठानिएका लामखुट्टेका प्रजातिमा पनि लागु हुन सक्छ,’ डेभिडसनले भनेका छन्। अध्ययनमा सिकारी र सिकारको अन्तरसम्बन्धमा तापक्रमले पार्ने प्रभावलाई समेत हेरिएको थियो। सिकारी जीवजन्तुले कृषिबालीमा लाग्ने किरा नियन्त्रण तथा विभिन्न खाले रोग निम्त्याउने किरा नियन्त्रण गरेर पारिस्थितिकीय सेवा ९इकोसिस्टम सर्भिस० उपलब्ध गराउने गर्छन्। यो सन्दर्भमा अध्ययनको नतिजाले विद्यमान पारिस्थिकीय सेवासमेत बिथोलिन सक्ने देखिएको छ।

‘विश्वको तापमान बढ्दो क्रममा रहेको सन्दर्भमा पारिस्थिकीय प्रणालीमा पर्ने असरलाई निगरानी गर्ने मात्र नभई यी विषयमा रहेका आकलन र बुझाइलाई समेत समीक्षा गर्नु जरुरी देखिएको छ,’ अध्ययन प्रतिवेदनमा अनुसन्धानकर्ताले भनेका छन्।

औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिको तुलनामा पृथ्वीको तापक्रम १।२ डिग्री सेन्टिग्रेडले बढिसकेको छ। जीवाश्म इन्धनको बेरोकतोक प्रयोगले सरदर तापमान बढ्ने क्रम जारी छ। यो समाचार नागरिक दैनिकमा छ ।

बाहिरी मुलुकबाट हुने आयातमा कमी, साढे छ खर्ब नजिक

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा आयात घटेको छ । बजारमा माग कम हुुँदा बाहिरी मुलुकबाट हुने आयातमा कमी आएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात ३.३९ प्रतिशतले घटेर छ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ लाख रुपियाँमा झरेको छ ।

गत वर्ष सो अवधिमा छ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपियाँको आयात भएको थियो । पाँच महिनाको अवधिमा निर्यात ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपियाँको निर्यात भएको थियो । पाँच महिनामा वैदेशिक व्यापार घाटा ३.०९ प्रतिशतले घटेर पाँच खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपियाँ पुुगेको छ ।

गत वर्ष सो अवधिमा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपियाँ थियो । पाँच महिनामा कुल वैदेशिक व्यापार ३.६४ प्रतिशतले घटेर सात खर्ब पाँच अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपियाँमा पुुगेको छ । अघिल्लो वर्ष मुलुक वैदेशिक व्यापार सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपियाँ रहेको थियो ।

पाँच महिनामा भएको आयातबाट एक खर्ब ७० अर्ब ९८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । फलाम तथा स्टिलको आयातसमेत केही खुम्चिएको छ । कच्चा भटमासको तेल र औषधी आयातसमेत घटेको छ ।

यस वर्ष तयारी पोसाक र अन्नको आयात भने बढेको तथ्याङ्कले देखाएको छ । पाँच महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात एक खर्ब २८ अर्ब रुपियाँको भएको छ । यस्तै ५२ अर्ब ४४ करोड रुपियाँको आइरन र स्टिल आयात भएको छ । यस्तै विद्युतीय सामग्रीको आयात ४५ अर्ब २४ करोडको रहेको छ । सवारी साधन र यसका पार्टपुर्जाको आयात २९ अर्ब २० करोड रुपियाँँको रहेको छ । यो समाचार गोखापत्र दैनिकमा छ ।

थप आठ देशसँग श्रम सम्झौता गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युव्रmेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो ।

त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रव्रिmया अघि बढ्ने छ । सरकारले युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ ।

सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । अब थप छ देशसँग पनि यही वर्ष सम्झौता गर्ने गरी कार्य भइरहेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिनुुभयो ।नेपालले हाल कतार, युएई, कोरिया, बहराइन, जोर्डन, इजरायल, मलेसियालगायतका १२ देशसँग श्रम सम्झौता गरिसकेको छ ।

पछिल्लो समय नेपालीको आकर्षण युरोपतिर देखिएको छ । ती देशसँग श्रम सम्झौता नहुँदा नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर महँगो शुल्क तिरेर जाने गरेका छन् । सहसचिव पोखरेलले श्रम सम्झौता गरेपछि ती देशमा संस्थागत रूपमा श्रमिक पठाउने बाटो खुल्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

भारी वर्षाका कारण आएको पहिरोमा परी कङ्गोमा २० जनाको मृत्यु

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिण किभु प्रान्तमा आइतबार भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार स्थानीयलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

स्थानीय नागरिक समाजका संयोजक प्रोमेस्से माजाम्बीका अनुसार म्वेन्गाको इलाकाको कालिङ्गी गाउँमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।दक्षिण किभु प्रान्तको कालेहे क्षेत्रमा भारी वर्षाका रण बाढीबाट प्रभावित क्षेत्रमा ४३८ वटा शव फेला परेका थिए।यसै बीच स्थानीय अधिकारीहरूले प्राकृतिक विपत्तिबाट ५ हजार भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन्।सेप्टेम्बर देखि मे महिना सम्म चल्ने वर्षाको मौसममा कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् । 

इजरायली नौसेनाद्वारा गाजामा गोलाबारी

इजरायली नौसेनाले गाजा पट्टीमा हमासका आतङ्ककारी टोलीहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली रक्षा बलले सोमबार बिहान बताए अनुसार आइडीएफले नौसेनाले हमासका कार्यकर्ताहरू लुकेका थुप्रै भवनहरूमा आक्रमण गरेको छ।

साथै नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेका स्थानहरूमा पनि आक्रमण गरेको दाबी गरेको छ । यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाई हमलामा हमासका एक जना कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ ।

गत अक्टोबर ७ मा गाजा सीमा नजिक इजरायली समुदाय लक्ष्यित हमासको आक्रमणमा कम्तिमा १ हजार २०० जनाको मृत्यु भएको थियो। गाजामा हमासले बन्दी बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीहरूको सङ्ख्या अहिले १२९ रहेको विश्वास गरिएको छ ।

चियाको उर्वरभूमि इलामका किसान धानखेतीमा आकर्षित,चियामा मूल्य छैन, धानमै बल गर्ने बेला भयो

इलाम-सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाउनुभयो । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने बेला भयो”, अधिकारीले रासससँग भन्नुभयो ।

चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन् । नगदे बालीसहित दूध, चियालगायतका कृषि उपज उत्पादनलाई आधुनिकीकरण गर्दै बजार प्रवर्द्धनको लक्ष्य लिएको सूर्योदय नगरपालिकाले चियाको न्यूनतम मूल्य तोकेर मूल्य र गुणस्तरमा एकरुपता ल्याउन पहल गरे पनि कार्यान्वयन हुन नसकेपछि आफूहरू वैकल्पिक खेतीप्रति आकर्षित भएको किसान गिरिज घिसिङले बताउनुभयो ।गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । “गत वर्ष ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ”, ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भन्नुभयो, “यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत वृद्धि भएको छ ।” केन्द्रप्रमुख बर्देवाका अनुसार यस वर्ष धानको उत्पादकत्व बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । गत वर्ष प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो ।गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । किसानले चिया मासेरै धानखेती लगाएका छैनन् तर चियामा लगाउने मेहनतचाहिँ धानखेतीमा बढाएको पाइन्छ । सूर्योदय नगरपालिकाका गोविन्द सापकोटाले आधा खेत मासेर पोहोर उत्तिस लगाउनुभएको थियो । “चियाखेतीमा राम्रै होला भनेर खेत मासियो चियाको मूल्यले निराश बनायो”, उहाँ भन्नुहुन्छ, “आधा खेतलाई वर्षभरि मलजल गरेकाले राम्रै धान उत्पादन भएकोे छ ।” जिल्लामा गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको सरकारी तथ्याङ्क छ ।इलामको सूर्योदय नगरपालिकामा सबैभन्दा बढी चियाखेती हुने गरेको छ । जिल्लाका इलाम, माई र देउमाई नगरपालिकाका अधिकांश किसान चियाखेतीमा आबद्ध छन् । विसं १९२० मा इलामबाट चियाखेतीको व्यावसायिक सुरुआत भएको मानिन्छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको बिरुवा उपहारस्वरूप ल्याएको र उक्त चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापालाई दिएपछि थापाले इलामको माटोमा चियाको बोट रोपेको इतिहास छ । त्यसपछि पूर्वी पहाडका पाखापखेरामा चियाखेती हुँदै अहिले जिल्लाका अधिकांश ठाउँमा खेती भए पनि पछिल्लो समय चियामा समस्या झेल्नुपरेका कारण खेती विस्तार हुनसकेको छैन । फलस्वरुप कतिपय किसानले छाडिसकेको धानखेतीलाई नै जीविकोपार्जनको माध्यम बनाउन थालेका छन् ।चियाको राजधानी भनेर चिनिने इलाममा चिया किसानलाई सधैँ हरियो पत्तीको मूल्यकै समस्या हुने गरेको छ । हरियो चियापत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएका कारण समस्या भोगिरहेका छन् । उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार गर्न छाडिसकेका हुन् । उद्योगी भने गुणस्तरीय चिया नहुँदा पर्याप्त मूल्य दिन नसकेको बताउँछन् । “किसानले मापदण्डअनुसारको गुणस्तरीय चिया ल्याएमा उद्योगले मूल्य दिएकै छ”, सूर्योदय टि एशोसिएसनका एक सदस्यले भन्नुभयो, “ग्रेड नपुगेका चियापत्तीले राम्रो मूल्य पाउन नसकेको हो ।”स्थानीय सरकारले तोकेको मापदण्ड पूरा गरेर चिया उत्पादन गर्न खर्चिलो हुने किसानको भनाइ छ । चियामा लगानी बालुवामा पानीमात्रै हुने भएपछि परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको अपनाएसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापन गरेर धान उत्पादन बढाउने तयारी धेरै किसानको छ । “चिया छाडेर धानखेती गर्नु रहर होइन”, अर्का किसान विनोद घिमिरे भन्नुहुन्छ, “लागत नै नउठ्ने भएपछि चियामा के आशा गर्नु भनेर धानमै दुःख गर्न थालेका हौँ । कम्तीमा अन्न खान पाइन्छ ।”ज्ञान केन्द्रले किसानलाई विभिन्न मेसेरेनरी तथा उपकरण अनुदानमा दिएको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको उहाँको विश्वास छ । “किसानले पनि उन्नत बीउबिजनको प्रयोग गरी मल र सिँचाइको व्यवस्थापन गरेकाले क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ ।चार नगरपालिका र ६ वटा गाउँपालिका रहेको जिल्लाको सबै ठाउँमा धानखेती हुँदै आएको छ । जसमध्ये माई, इलाम, देउमाई नगरपालिका, चुलाचुली र माङ्सेबुङ गाउँपालिका धानखेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छन् ।जिल्लामा स्थानीय चुल्ठे भँगेरे, हर्दिनाथ–१, राधा–१२, मनसुली, मकवानपुर–१, चिराँखे, बेलगुठी जातका धान रोप्ने गरिन्छ । पछिल्लो समय रामतुलसी, ननिया र सावित्री जातका धानसमेत रोप्न थालिएको इलाम नगरपालिका–१० गोदकका किसान गोपाल अधिकारीले बताउनुभएको छ ।

अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान – उपराष्ट्रपति यादव

काठमाडौँ, १० पुस : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताउनुभएको छ । किराँत समुदायले मनाउने महान् पर्व उधौली र विविध प्राचीन संस्कृति एवं परम्परागत विरासत बोकेका नेवार समुदायले मनाउने यमरीपुन्हीँ (धान्यपूर्णिमा) एवं ज्यापु दिवसको उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो ।

उपराष्ट्रपति यादवले नेपालमा मनाइने सम्पूर्ण चाडपर्वहरुले मुलुकको एकता, अखण्डता एवं सार्वभौमिकता तथा सामाजिक एवं धार्मिक सद्भाव, सहिष्णुता, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई अक्षुण्ण राख्न सहयोग गरेको बताउनुभयो ।
उपराष्ट्रपति यादवले आफ्नो सन्देशमा भन्नुभएको छ, “आ–आफ्नै मौलिक परम्परा, रीतिरिवाज अनुसार दुई फरक समुदाय किराँत र नेवार समुदायले एकै दिन मनाउनुले विविधतामा एकताको सन्देश सम्प्रेषण गर्दै सिङ्गो नेपाली समाज र मुलुकलाई एकतामा बाँध्ने विश्वास लिएको छु ।”

नेपालमा आजकै दिनदेखि ज्यापु संस्कृतिको रक्षार्थ केही वर्षयता ‘ज्यापु दिवस’ मनाउँदै आएको छ । यो अवसरमा नेवाः संस्कृति, बाजागाजा, वेशभूषा आदिलाई जगेर्ना गर्न विभिन्न सांस्कृतिक झाँकी निकाल्ने गरिन्छ । मौलिक बाजा धिमेको तालमा यो अवसरमा निकालिने अद्भुत झाँकीले नेपालभित्र प्रचलनमा रहेको रैथाने रीतिरिवाज र परम्परालाई जीवन्त राख्न सहयोग गर्दछ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन उधौली पर्व, यमरीपुन्हीँ : (धान्यपूर्णिमा) र ज्यापु दिवसले उत्प्रेरित गर्न सक्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभएको छ ।

हेर्नुहोस् पौष १० गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृष राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ ।

कर्कट राशि – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

सिंह राशि – गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

कन्या राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।

तुला राशि – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि मध्यम रहनेछ ।

बृश्चिक राशि – सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

कुम्भ राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

मीन राशि – अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । बाणीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

पर्वहरुले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याएका छन् :सभापति देउवा

काठमाडौँ, १० पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पु¥याएका उल्लेख गर्नुभएको छ ।

किराँत समुदायको सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको बताउनुभयो । उहाँले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर तथा सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभयो ।सभापति देउवाले पर्वहरुले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

 राष्ट्रपति पौडेलद्धारा किराँत समुदायको महान् पर्व उधौलीको  शुभकामना

काठमाडौँ, १० पुस : राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताउनुुभएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ–“किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना ।”

राष्ट्रपति पौडेलले प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले उधौलीजस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । 

“विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ,” राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ । राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता चाड पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध काक्रम गर्दै मनाउने गर्दछन् । 

परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उहाँले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्‍याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको बताउनुभएको छ ।प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी रहेको बताउँदै नेपाली सभ्यताको विकास र उत्थानमा जातीय विविधताले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो ।संविधानले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँका विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।” प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय ज्यापु दिवसले राष्ट्रिय एकता र साझा मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने कुरा व्यक्त गर्नुभयो ।

आज उधौली पर्व, देशभर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, १० पुस : प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई कतारबाट नेपाल ल्याइयो

काठमाडौँ १० पुस: ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको रु ९ लाख अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डबाट निकालेर प्रयोग गरेका थिए ।

अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी भएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । यसअघि गत साता इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चार जनालाई पक्राउ गरी नेपाल ल्याइएको थियो ।

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुग्यो,५४ हजार ५३६ व्यक्ति घाइते

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुगेको छ ।हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ।

चितवनमा सम्पन्न तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधी आर्मीले जित्यो

भरतपुर, ९ पुस : कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो ।दश स्वर्ण, चार रजत र चार कास्यसहित १८ वटा पदक जितेर आर्मी प्रतियोगिताको विजेता बनेको छ । आर्मीले नगद रु एक लाख पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता बनेको बुटवल तेक्वान्दो डोजाङले नौ स्वर्ण, दुई रजत र चार कास्यसहित १५ वटा पदक जितेको छ । बुटवलले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको कार्कीले बताउनुभयो ।

त्यस्तै, तेस्रो भएको एपिएफले चार स्वर्ण र तीन कास्यसहित सातवटा पदक जितेको छ । एपिएफले नगद रु २५ हजार प्राप्त गरेको छ । उक्त प्रतियोगिता कूल ४६ स्वर्ण, ४६ रजत र ९२ कास्य पदकका लागि भएको थियो ।

प्रतियोगिताको पुम्सेतर्फ पनि नेपाल आर्मी प्रथम भएको छ । आर्मीले रु २० हजार नगद प्राप्त गरेको छभने दोस्रो भएको एपिएफले रु १० हजार र तेस्रो भएको चितवन तेक्वान्दो डोजाङले नगद रु पाँच हजार पाएको छ । प्रतियोगितामा बुटवल तेक्वान्दोका महिला र पुरुष दुवै खेलाडी उत्कृष्ट घोषित भएका छन् । बुटवलले महिला र पुरुष दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै रु १०/१० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेडल तथा पुरस्कार प्रदान गर्नुभयो । उहाँले भरतपुर खेलकुदको हबका रुपमा विकास हुँदै गएको दाबी गर्नुभयो । पछिल्लो समय भरतपुरमा विभिन्न खेलका राष्ट्रिय प्रतियोगिताहरु आयोजना भइरहेको भन्दै मेयर दाहालले खेलाडी उत्पादनमा महानगरले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वर्षा सुरु हुनुभन्दा पहिले नै पालमुनि रहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सार्ने सरकारको योजना

जाजरकोट, ९ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकास साझेदार निकायसँग मिलेर भूकम्पपीडितलाई थप सहयोग गर्न सरकारले पहल गरिरहेको बताउनुभएको छ ।

भूकम्पपीडितको अवस्था बुझ्न आज भेरी नगरपालिका–१ रावतगाउँ पुग्नुभएका मन्त्री आचार्यले वर्षा सुरु हुनुभन्दा पहिले नै पालमुनि रहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सार्ने सरकारको योजना रहेको बताउनुभयो ।

भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणजस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसँग साझेदार स्थानीय सङ्घसंस्थालगायत विभिन्न दातृ निकाय तथा दातालाई मन्त्री आचार्यले धन्यवाद दिनुभयो । मन्त्री आचार्यसँगै भूकम्पपीडितको अवस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राहत वितरण, अस्थायी आवास निर्माणसँगै पुनःनिर्माणलाई सँगसँगै बढाउनुपर्ने बताउनुभयो ।

जापानको चन्द्रमा ल्यान्डर चन्द्रमाको कक्षमा प्रवेश गर्यो

जापानको एसएलआइएम अन्तरिक्ष यान सोमबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो कदम हो । चन्द्र सतहमा विशिष्ट लक्ष्यको एक सय मिटर (तीन सय २८ फिट) भित्र अवतरणका लागि डिजाइन गरिएको हुनाले स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) लाई ‘मुन स्निपर’ नाम दिइएको छ ।

सफल भएको अवस्थामा यो टचडाउन अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा सफलतापूर्वक अवतरण गराउने पाँचौँ मुलुक बन्नेछ ।“सोमबार एसएलआइएम जापानी समयानुसार साँझ ४ः५१ (०७ः५१ जिएमटी) मा चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ”, जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनेको छ, “यसको प्रक्षेपपथमा परिवर्तन मूलरूपमा योजनाअनुसार हासिल गरिएको थियो र जाँचको अवस्थामा त्यस्तो कुनै समस्या छैन ।”जेएएक्सएका अनुसार जापानी समयानुसार जनवरी २० मा चन्द्रमामा यानको अवतरण करिब १२ः०० बजे सुरु हुने अपेक्षा गरिएको छ । त्यसको २० मिनेटपछि यान सतहमा अवतरण गर्ने कार्यक्रम छ ।खराब मौसमका कारण तीन पटकको स्थगनपछि एच–आइआइए रकेटले सेप्टेम्बरमा दक्षिणी द्वीप तनेगाशिमाबाट यानलाई लिएर उडान भरेको थियो । जेएएक्सएले यसै महिना यो मिसन चन्द्रमामा ‘अभूतपूर्व उच्च परिशुद्धता अवतरण’ हुने बताएको थियो ।यान एउटा गोलाकार प्रोबले सुसज्जित छ । यसलाई एउटा खेलौना कम्पनीमार्फत विकसित गरिएको थियो । टेनिस बलभन्दा थोरै ठुलो यसले चन्द्रमाको सतहमा हिँड्का लागि आफ्नो अकार परिवर्तन गर्न सक्छ ।जेएएक्सएका अनुसार अनुसन्धानकर्ताहरूको २० वर्षको प्रयासको परिणामस्वरूप लक्ष्यबाट केही १० वा त्योभन्दा बढी किलोमिटरमा अवतरण गर्ने अघिल्लो जाँचहरूको तुलनामा एसएअआइएमको एक सय मिटरभन्दा कम त्रुटिको कथित मार्जिनले एक पटक असम्भव मानिएको सटीकतालाई बुझाउँछ ।“प्रविधिको विकाससँगै चन्द्रमाको सतहमा क्रेटर र चट्टानजस्ता लक्ष्यहरू पत्ता लगाउन माग बढ्दै गएको छ”, जेएएक्सएका एसएलआइएम परियोजना प्रबन्धक शिनिचिरो सकाईले यसै महिना पत्रकारहरूलाई भन्नुभयो, “चन्द्रमामा कतै खोज्ने मात्रै चाहना हुने दिनहरू गए ।”सकाईका अनुसार एसएलआइएमको सटीकताले चन्द्र पर्माफ्रस्ट (माइनस ३२ डिग्री सेल्सियस तापक्रमले पूर्णरूपमा जमेको जमिन) को नमूना लिन सहज बनाउने छ । यसले वैज्ञानिकहरूलाई चन्द्रमामा जलस्रोतको रहस्य पत्ता लगाउन एक कदम नजिक ल्याउने छ ।जापानी चन्द्रमा अभियान सार्वजनिक र निजी गरी दुई पटक असफल भइसकेको छ । गत वर्ष जापान अमेरिकाको आर्टेमिस १ अभियानको भागका रूपमा ओमोटेनाशी नामक चन्द्रमा जाँच गर्न असफल भएको थियो ।अप्रिलमा जापानी स्टार्टअप आइस्पेसले चन्द्रमामा अवतरण गर्ने पहिलो निजी कम्पनी बन्ने व्यर्थ प्रयास गरेको थियो । ‘कठोर अवतरण’ का रूपमा वर्णन गरेपछि कम्पनीको यानसँग सम्पर्क विच्छेद भएको थियो ।–––

दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै काठमाडौँ महानगरपालिका, १३ करोड बजेट विनियोजन

काठमाडौँ ९ पुस : काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु १३ करोड बजेट विनियोजन गरेको छ । कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले सञ्चालन भइरहेको केही र अन्य केही स्थानमा थप गरी बस बिसौनी विस्तार गर्न खोजिएको सल्लाहकार श्रेष्ठले भन्नुभयो । उहाँले भन्नुभयो, “चोकमा नै बस बिसौनी निर्माण गर्दा थप दुर्घटना बढेको भन्दै चोकको पाँच सय मिटर अगाडि वा दुई सय मिटर पछाडि निर्माण गर्न लागिएको हो, जुन आधुनिक हुन्छ, जहाँ निःशुल्क रुपमा इन्टरनेटको प्रयोग गर्न पाइन्छ ।”

जहाँ कुन रुटको बस कहाँ आइपुग्यो र अब यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्था गर्न लागिएको छ । यसरी निर्माण गरिने बस बिसौनीमा एकपटकमा तीनवटासम्म बस रोक्न मिल्ने बनाउने तयारी रहेको छ । बस बिसौनी निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको र त्यसपश्चात् काम सुरु हुने कामपाको भनाइ छ ।   

त्यसैगरी, बसको रुट मिलाउने, सडक बत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक सङ्केत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारीसमेत भइरहेको बताइएको छ ।

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ ।

सल्लाहकार श्रेष्ठले सडकमा सङ्केत चिह्नहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताउनुभयो । “यस्ता चिह्नहरु आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेरमात्र राख्नुपर्ने भएकाले कामपाले अध्ययनको काम भइरहेको छ,” उहाँले भन्नुभयो । सडक चिह्नहरु देखिने र स्पष्ट हुनुपर्छ । बुझ्न सजिलो हुनुपर्छ । प्रोत्साहन दिने खालका हुनुपर्छ । चालु आवमा कामपाको अधिकार क्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि रु ४४ करोड छुट्याइएको छ ।

वीर अस्पतालमा पहिलोपटक क्यान्सरको उपचारका लागि ‘टोमोथेरापी’ जडान

काठमाडौँ, ९ पुस : वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ बाट सेवा सुरु गरिएको बताउनुभयो ।

अस्पतालमा यसअघि आठ वर्षअघि क्यान्सरको विकीरणको उपचारका लागि रेडियोथेपारी सेवा सञ्चालन गरिएको थियो । क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा विवेक आचार्यले अहिले आंशिक रुपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले दुईजना बिरामीलाई क्यान्सरको विकिरणको उपचार गरिरहेको बताउनुभयो ।“अहिले हामीले राम्रोसँग उपकरणलाई व्यवस्थित रुपमा चलाउन नसकेर एकजना बिरामीलाई ४५ मिनेट तयारी अवस्थामा समय लाग्ने गर्दछ,” उहाँले भन्नुभयो, “पछि हामीले उपकरणलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्यो भने १० मिनेटमा नै बिरामीलाई तयारी अवस्थामा राख्ने सक्दछौँ ।”क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा आचार्यका अनुसार उपकरण चलाउन दक्ष भइसकेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म दैनिक ५० जना बिरामीको उपचार गरिनेछ । “अत्याधुनिक उपकरण टोमोथेरापीमा रहेको विकिरणले घुमाई–घुमाई बिरामीमा भएको क्यान्सरको सेल र सामान्य सेललाई मार्ने गर्दछ बचाउने गरिन्छ,” उहाँले भन्नुभयो, “विकिरणले क्यान्सरको सेललाई हाई डोज दिएर मार्ने तर सामान्य सेललाई कम डोज दिएर बचाउने गर्नुपर्दछ ।”अस्पतालमा उपचारका लागि रु एक लाख ५० हजार खर्च हुने र भारतमा सोही प्रकारको उपचार गरेबापत रु पाँच लाखसम्म खर्च हुने उहाँको भनाइ छ । नेपालका ३० प्रतिशत क्यान्सरका बिरामी उक्त सेवा लिन भारत जाने गर्दछन् । उहाँले सयजना बिरामीमध्ये ६० जना बिरामीलाई कुनै न कुनै विकिरणबाट उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले गरिबी, असहाय विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने बताउनुभयो ।

खर्च घटाउन ५० जोडीले गरे सामूहिक समारोहमा विवाह

गरिब मुलुकमा परम्परागत विवाहमा हुने ठूलो खर्च कम गर्ने बढ्दो अभ्यासका रूपमा अफगानिस्तानको राजधानीमा सोमबार एउटा संयुक्त समारोहमा ५० जोडीको विवाह भएको छ । दर्जनौँ दम्पती काबुलस्थित विवाह हलहरूमध्ये एकमा सहभागी भए र विवाह बन्धनमा बाँधिए तर उक्त समारोह केही हदसम्म साधारण थियो । सन् २०२१ अगस्टमा तालिबान सत्तामा आएपछि विवाहहरू कम महत्त्वपूर्ण मामिला बनेका छन् । अधिकारीहरूले त्यस्ता गतिविधिलाई गैर–इस्लामिक ठानेपछि नृत्य र सङ्गीतमाथि प्रभावकारीरूपमा प्रतिबन्ध लगाएका छन्

विमानस्थलनजिकै सिटी स्टार विवाह हलअगाडि परम्परागत सलवार कमिज लगाएका करिब एक सय जना पगडीधारी पुरुषहरू समूहमा कुराकानी गरिरहेका थिए । त्यहाँ एक जना पनि महिला थिएनन् । नवविवाहित जोडीलाई लैजानका लागि उनीहरूले कारहरूलाई हरियो रिबन र प्लास्टिकको रातो गुलाबले मुटु बनाएर सजाएका थिए । 

केही घन्टामै आफ्नी दुलहीसँग जान लागेका १८ वर्षीय रुहुल्लाह रेजाईले उहाँ एक्लैले विवाहको खर्च धान्न नसक्ने एएफपीलाई बताउनुभयो । “परम्परागत विवाहमा हामीलाई कम्तीमा पनि दुई लाखदेखि दुई लाख ५० हजार अफगानी मुद्रा (दुई हजार आठ सयदेखि तीन हजार छ सय अमेरिकी डलर) खर्च हुनेथियो तर यो पटक यो १० हजारदेखि १५ हजार अफगानी मुद्राको बीचमा खर्च हुनेछ”, उहाँले भन्नुभयो । 

हजारा शिया अल्पसङ्ख्यक र घोर प्रान्तका यी युवाले सानातिना काम गरेर दैनिक मुस्किलले तीन सय ५० अफगानी मुद्रा कमाउनुहुन्छ । “हामीले हाम्रा दुई परिवारबाट ३५ जनालाई निमन्त्रणा गर्यौँ, अन्यथा यो तीन सयदेखि चार सयसम्म हुन्थ्यो”, उहाँले भन्नुभयो ।

सामूहिक विवाह समारोहको आयोजना गर्ने सेलाब फाउन्डेसनबाट प्रत्येक जोडीलाई दिइएको चन्दा एक हजार छ सय डलर बराबरको छ । उक्त रकम विश्वको सबैभन्दा गरिब मुलुकमध्येको एक अफगानिस्तानमा ठूलो राशि हो । 

नवविवाहित जोडीले वैवाहिक जीवन सुरु गर्नका लागि एउटा केक, टुथपेस्ट, स्याम्पु र मोइस्चराइजर भएको एउटा किट, गलैँचा, कम्बल र केही घरेलु उपकरण लिएर निक्लनेछन् ।

परम्परागत पाटु सलमा बेरिएका सयौँ पुरुष अतिथिहरू मालाले झुन्डिएको एउटा ठूलो र चिसो हलमा आयोजित समारोहमा सहभागी भए । सदाचारको प्रवर्द्धन र खराबीलाई रोक्नका लागि मन्त्रालयका एक अधिकारीले सम्बोधन गरे र त्यहाँ कुरानको पाठ पढियो ।

यद्यपि बेहुलीहरूलाई छुट्टै लहरमा नजरबाट टाढा राखिएको थियो र पत्रकारहरूलाई उनीहरूसमक्ष पुग्न निषेध गरिएको थियो । दिउँसोको भोजनपछि महिलाहरू सम्पूर्णरूपमा पर्दा लगाएको अवस्थामा देखा परे ।

अफगानिस्तानमा ठूलो र खर्चिलो विवाहहरूमा एक हजारभन्दा बढी पाहुना एकैसाथ आउनसक्छन् र खर्च २० हजार डलरभन्दा धेरै हुनसक्छ । सोमबारको सामूहिक विवाहका लागि छ सय जोडीले निवेदन दिएका थिए । छनोट गरिएका केही भाग्यशालीका लागि यो लामो प्रतीक्षा भएको छ ।   काबुल प्रान्तका २३ वर्षीय किसान सहिउल्लाह जमानीले भन्नुभयो, “म यही दिनका लागि तीन वर्षदेखि प्रतीक्षा गरिरहेको थिएँ ।” आफ्नी दुलहीका बारेमा उहाँले भन्नुभयो, “म उनलाई हेर्न लामो प्रतीक्षा गर्न सक्तिन ।”

समाधानको प्रयासबिनै विद्युत् लाइन काटिएको निजी क्षेत्रको गुनासो

काठमाडौँ । निजी क्षेत्रले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुलीको विवाद समाधानको प्रर्याप्त प्रयास नगरी लाइन काटिएको गुनासो गरेको छ ।

करिब ६ वर्षदेखि विवादमा रहेको डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुलीको विषयमा सरकारले गम्भीरता नदेखाई लाइन काटिएको उनीहरूको भनाइ छ ।

विभिन्न उद्योग प्रतिष्ठानहरूले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत प्रयोग गरेको बिजुलीको बिल लामो समयसम्म नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले गत शुक्रबारदेखि लाइन काट्न थालेको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले सोमबार विज्ञप्ति जारी गर्दै डेडिकेटेड र ट्रङ्कलाइनको महसुल बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिनुपर्ने धारणा राखेको छ ।

नेपाल उद्योग परिसङ्घले आजै काठमाडौँमा पत्रकार सम्मेलन गरी यो समस्या समाधानको पर्याप्त प्रयासबिनै एकाएक उद्योगको बिजुली काटिनु दुःखद रहेको बताएको छ ।

डेडिकेटेड र ट्रङ्कलाइनको सुविधा नै नलिएका उद्योगलाई त्यसको महसुल लगाइएको, विद्युत् प्राधिकरणसँग बिजुली प्रयोग गरेको प्रमाण नै नरहेको, कानुनी उपचारका अदालती प्रक्रियामा रहेको विषयलाई विद्युत् प्राधिकरणले उपेक्षा गरेर धमाधम बत्ती काट्न थालेको लगाएका आरोप उद्योगीले लगाएका छन् ।

प्राधिकरणको यो कदमविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी पनि परिसङ्घले दिएको छ । उद्योग प्रतिष्ठानमा टिओडी (टाइम अफ डे) मिटर जडान भएको अवस्थामा त्यसको तथ्याङ्क (डाटा) सार्वजनिक गर्न पनि प्राधिकरणसँग माग गरेको छ ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले यो विवाद समाधानका लागि सरकारका तर्फबाट पर्याप्त प्रयास नभएको गुनासो गरे । “यो धेरै लामो समयदेखि गिजोलिएको विषय हो । समाधानको प्रयास नै नगरीकन बिजुली काटियो । लाइन काट्दा उद्योगी व्यवसायी निरुत्साहित भएका छन्,” उनले भने ।

विद्युत् नियमन आयोग गठन हुनुभन्दा अघिको प्रिमियम शुल्कको विवाद रहेको उनको भनाइ छ । यो विवाद समाधानको प्रयास बिनै प्राधिकरणले उद्योगको बिजुलीको लाइन काट्दा लगानीको वातावरण बिथोलिने र अन्तराष्ट्रियस्तरमा पनि नराम्रो सन्देश जाने अग्रवालले बताए ।

उद्योगी व्यवसायीले आफूहरुले डेडिकेटेङ र ट्रङ्कलाइनको सुविधा नलिएको तर प्राधिकरणले जबर्जस्ती त्यसको महसुल उठाउन खोजेको जिकिर गरिरहेका छन् । आफूहरुले विद्युत् सुविधा लिएको प्रमाण प्राधिकरणसँग नरहेको दाबी पनि उद्योगीहरूले गरेका छन् ।

विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगहरुमा विद्युत् प्राधिकरणले गत शुक्रबारदेखि लाइन काट्न थालेको छ । प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायत उद्योगमा लाइन काटेको थियो । त्यस्तै, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, त्रिवेणी स्पिनिङ, सोनापुर स्प्रिङलगायत उद्योगको पनि विद्युत् लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

डेडिकेटेड फिडर र ट्रङ्कलाइन प्रयोग गरी बिजुली उपभोग गरेका विभिन्न उद्योग प्रतिष्ठानले त्यसको महसुल तिर्न बाँकी रहेको विषय २०७४ साल माघमा सार्वजनिक भएको थियो । विद्युत् प्राधिकरण र उद्योगी–व्यवसायी बीचको त्यो विवाद अझैसम्म सुल्झन सकेको छैन ।

विभिन्न अदालत, संसदीय समिति, अख्तियार र मन्त्रिपरिषद् समेतले विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल गर्न निर्देशन दिएका थिए । तर प्राधिकरणले त्यो रकम उठाउन सकेको थिएन । महसुल भुक्तानी गर्न पटक–पटक पत्राचार गरेको भए पनि उद्योगी व्यवसायीले नटेरेको भन्दै प्राधिकरणले अहिले लाइन नै काटिदिएको छ ।

मध्य–मस्र्याङ्दीको विद्युत् उत्पादन घट्यो

लमजुङ, ९ पुस : लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मस्र्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ ।

मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख पवन बस्नेतका अनुसार मस्र्याङ्दीमा आयोजनालाई आवश्यक पानी नहुँदा ३० मेगावाट बिजुली उत्पादन घटेको हो । गत मङ्सिरको सुरुवातदेखि नै विद्युत् उत्पादन घट्न थालेको उहाँले बताउनुभयो । “आगामी फागुनसम्म नै बिजुली उत्पादन घट्दै जाने देखिन्छ”, उहाँले भन्नुभयो ।मध्य–मस्र्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो । उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको हो । जिल्लामा पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट १८ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले जानकारी दिनुभयो ।यस्तै मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली उत्पादन कम हुन थालेको बताइएको छ ।

फारवेष्ट पशुपति कप : बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा

सुदूरपश्चिम, ९ पुस : कैलालीको धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।आज भएको खेलमा बिएस–१५ फुटबल एकेडेमीले सशस्त्र प्रहरी बल प्रदेश सात नम्बर बाहिनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

बिएस–१५ का लागि विदेशी खेलाडी गुइला मेडिनले पहिलो हाफको १४औँ मिनेटमा गोल गरे । पहिलो हाफको २७औँ मिनेटमा सशस्त्र प्रहरीका लागि गोविन्द सिंहले गोलगर्दै खेललाई १–१ को बराबरी गरे । खेलको अतिरिक्त समयको अन्तिममा बिएस–१५ का विवेक सन्तोषीले गोलगर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलमा पु¥याए । खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका सन्तोषीले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी सुदूरपश्चिम–११ भने बाई पाएर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । भारतीय क्लब सिएफसी कोलकाता अनुपस्थित भएको थियो । मङ्गलबार स्टार सिटी युवा क्लब, धनगढी र घोडाघोडी युवा क्लब, सुख्खडका बीच तथा पुनर्वास युनाइटेड र आयोजक फारवेष्ट पशुपति क्लबबीच क्वाटरफाइनलको खेल हुने छ ।

पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।