भारतमा लोकसभा निर्वाचनः ५८.३४ प्रतिशत मतदान


भारत : लोकसभा चुनावको सातौँ र अन्तिम चरणको मतदान जुन १ मा सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढमा बेलुका छ बजेसम्म ५८.३४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले शनिवार जनाएको छ।
पश्चिम बङ्गालमा सबैभन्दा बढी ६९.८९ प्रतिशत, बिहारमा ४८.८६ प्रतिशत, चण्डीगढमा ६२.८० प्रतिशत, उडिशामा ६२.४६ प्रतिशत, पञ्जाबमा ५५.२० प्रतिशत , उत्तर प्रदेशमा ५४ प्रतिशत र हिमाचल प्रदेशमा ६६.५६ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ।सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढका ५७ संसदीय निर्वाचन क्षेत्रका लागि शनिवार बिहान ७ बजे अन्तिम चरणको मतदान सुरु भएको थियो।
आयोगका अनुसार करिब पाँच करोड २४ लाख पुरुष, चार करोड ८२ करोड महिला र तीन हजार ५७४ जना तेस्रो लिङ्गी मतदातासहित १० करोड छ लाखभन्दा बढी मतदाताहरू लोकसभा चुनावको सातौँ चरणमा आफ्नो मताधिकार प्रयोग गर्न योग्य रहेका थिए। पञ्जाबका १३ तथा हिमाचल प्रदेशका छ वटा सीटमा सबै संसदीय क्षेत्रहरूमा शनिबार अन्तिम चरणमा मतदान भएको छ, साथै, ओडिशा राज्य विधानसभाको बाँकी ४२ विधानसभा निर्वाचन क्षेत्रहरूको लागि पनि मतदान भएको छ।
सात चरणको लोकसभा चुनावको लामो प्रचारको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रमहरूमा सहभागिता जनाएका थिए। यसमा प्रदर्शन र चुनावी सभाहरू पनि समावेश गरिएको छ।
त्यसैगरी, कांग्रेस नेता राहुल गान्धीले लोकसभा चुनावमा न्याय सम्मेलन र न्याय मञ्चजस्ता १०० भन्दा बढी चुनावी सभा र सार्वजनिक अन्तरक्रियामा सहभागिता जनाए।
लोकसभा चुनावको अघिल्लो छ चरणहरूको लागि मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो। आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन्। उडिशामा पनि पछिल्लो चार चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ।