`

जेनजीको प्रदर्शनस्थलमा बालेनले राखिदिए घुम्ती शौचालय

काठमाडौं । जेनजीको आज (सोमबार) प्रदर्शनस्थल माइतीघरमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ । सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिरहेकाहरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।

अहिले युवाहरु भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरेका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् । सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने स्पष्ट बताइसकेका छन् ।

प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।

 

 

माइतीघरबाट जेनजीको प्रदर्शन सुरु

काठमाडौं । काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ । आज (सोमबार) माइतीघरमा भेला भएका जेनजीले प्रदर्शन सुरू गरेका हुन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेण्डा बनाएका छन् । प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए ।

माइतीघरमा जम्मा भएर जेनजी ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम छ । प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन् । प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए । काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको हो । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो ।

सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो । ‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड सडक प्रदर्शनमा पुगेको छ । काठमाडौं जिल्ला प्रशासनका अनुसार ‘हामी नेपाल’ नामक संस्थाले प्रदर्शनका लागि अनुमति लिएको छ । संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार पछिल्लो समय सरकारले चालेको कदम र भ्रष्टाचारविरुद्ध यो प्रदर्शन गरिएको हो ।

उनका अनुसार काठमाडौंसँगै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । उनीहरूले प्रदर्शन कहाँबाट सुरु गर्ने, कसरी सुरक्षित हुनेलगायतका टिप्सहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिरहेका छन् । विद्यार्थीलाई ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन पनि संस्थाले आह्वान गरेको छ । उनीहरूको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछाने लगायतले ऐक्यबद्धता जनाएका छन् ।

जेनजीको प्रदर्शनमा दलका भ्रातृ संस्थालाई ‘निषेध’

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलित जेनजी पुस्ताले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन ‘निषेध’ गरेको छ । स्वतःस्फुर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले दल निकटका भ्रातृ संस्थालाई प्रदर्शनमा सहभागी नभई दिन आग्रह गरेका हुन् ।

उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । कतिपय युवाहरू कलेज र स्कुल पोशाकमा समेत देखिएका छन् । पहिले सामाजिक सञ्जालका पोस्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजीले सडकमा उतारेका हुन् ।

जेनजीलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् । पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।

माइतीघरमा आज ‘जेन जी’ को प्रदर्शन : सुरक्षा व्यवस्था कडा

काठमाडौँ । जेनजी पुस्ताले आज (सोमबार) काठमाडौँमा प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरुको तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए । ‘हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ । कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं । त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,’ उनले भने । यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउन समेत सकिने उनले बताए ।

विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। गएको चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर केही दिनअघि थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । सुरुमा प्रदर्शनमा सहभागी हुने बताएका प्रसाईलाई जेनजीले ‘निषेध’ को झण्डा देखाउने बताएपछि उनी पछि हटिसकेका छन् ।

प्रशासनले घुसपैठ हुन सक्ने आंकलन गर्दै आयोजकहरुलाई सजक हुन आग्रह गरेको छ । प्रहरीले कानूनविपरीतका क्रियाकलाप हुन नदिने भन्दै त्यहीअनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् । ‘हामीले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने हो । बिहान ९ बजेतिर भेला भएर ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने तयारी छ,’ जेनजीका एक युवाले भने, ‘यसको आयोजक यही हो भनेर छैन । यसमा सानो सानो समूह समूहमा साथीहरू भेला हुनु भएको छ ।’ प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

जेनजी आन्दोलनलाई बालेनको समर्थन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जेनजीले भोलि काठमाडौंमा गर्ने भनेको आन्दोलनप्रति समर्थन जनाएका छन् । उनले उमेर हदका कारण आफू उपस्थित हुन नपाएपनि आफ्नो समर्थन रहेको बताएका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै बालेनले भोलिको र्‍याली स्वतस्फूर्त भएकाले कुनै पार्टीका नेता, कार्यकर्ता, सांसद अभियन्तालाई बाटो बनेर आफ्नो स्वार्थ पूरा नगर्न चेतावनीसमेत दिएका छन् ।

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।  प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’