`

अन्तरिम सरकार बनेपछि मधेसका मुख्यमन्त्रीको फेरियो बोली : राजीनामा दिएको छैन

जनकपुरधाम । जेनजीको आन्दोलन उग्र बनेपछि पदबाट राजीनामा घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले अवस्था सामान्य बनेपछि बोली फेरेका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले अहिले पदबाट राजीनामा नदिएको बताएका छन् । जेन–जीको आन्दोलनको दिन मंगलबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामा दिएका मुख्यमन्त्री सिंह प्रदेश प्रमुखलाई राजीनामा पत्र नबुझाउने भएका छन् । उनले त्यस दिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा लेखेको उनले बताएका छन् ।

‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजीनामा दिनुपर्छ भनेर म तयार छु । त्यो दिन प्रदेश प्रमुख हुनु हुन्नथ्यो । कोही भएको भए दिन्थेँ’ उनले तर्क गरे । तर सो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको उल्लेख नै गरेका थिए । उनले आन्दोलन भइरहँदा डा. सीके राउतको फेसबुक पेजमार्फत मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएपछि सिंहले राजीनामाको घोषणा गरेका थिए ।

‘जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, मुख्यमन्त्री सिंहले फेसबुकमा लेखेका थिए ।

मंगलबार नै फेसबुकमा राजीनामा दिएका सिंहले हालसम्म प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छैनन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीका स्वकीय सचिय टिका उप्रेतीले मुख्यमन्त्रीको राजीनामा पत्र हालसम्म नआएको बताए ।
मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे पनि अहिले आफू राजनीतिक परिवर्तनको लागि बाधक नबन्ने बताए । उनले आफूलाई हटाएर अरुलाई मुख्यमन्त्री बनाउनको लागि राजनीतिक खेल हुन्छ भने त्यसको लागि आफू तयार नरहेको बताए ।

‘जनधनको क्षति रोक्नको लागि मैले पद त्याग गर्न तयार रहेको समाजिक संजालमा लेखेको थिए तर जनधनको क्षति भएको कारणले अब त्यो कुराको औचित्य सकिएको छ’, उनले भने । जेन–जीको आन्दोलनको क्रममा मधेस प्रदेश सरकारको प्रशासनीक भवन, मधेस प्रदेशसभा लगायत विभिन्न सरकारी कार्यालय तथा नेताहरुको घरमा आगजनी गरिएको थियो । २५ जेठ २०८१ मा नेकपा एमाले लगायत ७ दलको समर्थनमा जनमतका सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रको राजनीतिक घटनाक्रमले माओवादीसहितका दल बाहिरिएका थिए । नेपाली कांग्रेसले भने समर्थन गर्दै सरकारमा सहभागी भएको थियो ।

शितल निवास पुगे जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शितल निवास पुगेका छन् । उनलाई शुक्रबार बिहान ९ बजे नै शीतल निवास बोलाइएको भए पनि भर्खरै मात्रै उनले प्रवेश पाएका हुन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न जेनजीका विभिन्न समूहहरूको तर्फबाट गुरुङले दबाब दिँदै आएका छन् । अब नयाँ प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा गुरुङसँग राष्ट्रपतिले छलफल गर्ने बताइएको छ ।

हामी नेपालका अध्यक्ष समेत रहेका जेनजी अभियन्ता गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताउँदै आएका छन् । उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनु पर्नेमा पनि जोड दिँदै आएका छन् । गुरुङले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार रहेको बताएका छन् ।

 

यी हुन् जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरु (नामावलीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ ।

निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ ।

त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उनका अनुसार ९४९ जना उपचारपश्चात घर फर्किसकेका छन् ।

विवरणअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा १९ वर्षीय श्रीयाम चौलागाईंको मृत्यु भएको छ । तर उनको यकिन ठेगाना खुलेको छैन । बाँकेका २५ वर्षीय सुलभज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिकाका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । यस्तै २९ वर्षका गौरव जोशीको भने ठेगाना खुल्न सकेको छैन ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका– ६ का २९ वर्षका योगबहादुर श्रेष्ठ छन् । काठमाडौंको बनस्थली बस्ने २६ वर्षका ईश्वतबहादुर अधिकारी, उदयपुर बेलका नगरपालिकाका–४ का २९ वर्षीय सन्तोष विक र काठमाडौं महानगरपालिकाका–८ का १९ वर्षका टोखा आयुष थापा छन् ।

निजामती अस्पतालमा मृत्यु हुने अर्घाखाँचीका १८ वर्षका मिसल सारु मगर, धनकुटाका ६० वर्षीय छत्रमान कुथुमी, गोरखाका २२ वर्षीय विमल भट्ट, सिरहाका ३२ वर्षका विजय चौधरी, दोलखाका २१ वर्षका अभिषेक चौलागाईं छन् । यस्तै २४ वर्षका काशी आलम ठाकुरको भने ठेगाना खुल्न सकेको छैन ।

मृत्यु हुनेमा एभरेष्ट अस्पतालमा ललितपुर महानगरपालिका–७ का ३० वर्षका बिनोद महर्जन, पाटनढोका बस्ने काभ्रे तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ र दुवाकोट भक्तपुर स्थायी ठेगाना भएका २३ वर्षका योगेन्द्र न्यौपाने छन् ।

फ्रन्टलाइन अस्पतालमा संखुवासभाका २१ वर्षका प्रविन कुलङ, काठमाडौं चाबहिलका २१ वर्षका उमेश महत, काठमाडौं गौशला बस्ने १७ वर्षका निकिता गौतमको मृत्यु भएको छ ।

यस्तै बयोधा अस्पतालमा उपचारको क्रममा २८ वर्षका अर्जुन भट्ट र २३ वर्ष देव कुमार सुवेदी छन् । तर उनीहरूको ठेगाना खुलेको छैन । काठमाडौं मेडिकल कलेजका (केएमसीमा) उपचारको क्रममा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेलको मृत्यु भएको छ । तर उनीहरूको ठेगाना अझै खुल्न सकेको छैन ।

त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृतकको विवरण खुल्न सकेको छैन । त्यस्तै बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ । उनीहरूको पनि विवरण खुलेन सकेको छैन ।

कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेताहरु छलफलमा

काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका मुख्य चार दलका युवा नेताहरु पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलमा जुटेका छन् ।जेन–जीको माग सम्बोधन र निकासको बाटोबारे उनीहरूले अनलाइन छलफल गरेका हुन् । साथै निकासका लागि जेन–जी युवाहरूलाई सामुहिक अपिल गर्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ ।

छलफलमा नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र जीवन परियार, नेकपा एमालेका योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, अमनलाल मोदी र राजन दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल छन् ।

‘कहिले एक–दुई जनाको बीचमा त कहिले सामुहिक छलफल गरिरहेका छौँ,’ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘संवैधानिक बाटो भित्रबाट निकास खोज्नुपर्छ भन्ने हाम्रो छलफल भएको हो ।’ उनले छलफलमा भदौ २३ र भदौ २४ को दुवै घटना छानबिन गर्नुपर्छ भन्नेमा सांसदहरू एक ठाउँमा रहेको बताएका छन् ।

‘अघिल्लो दिनको नरसंहार र भोलिपल्टको विध्वंस छानबिन गर्नुपर्छ भन्ने कुरा भएको छ,’ सापकोटाले सुनाए, ‘जेन–जीलाई देखाएर गरिएको विध्वसंलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ उनले जेनजी आन्दोलनको नाममा सैनिक शासन र ‘बेबी किङ’ को गन्ध आउन थालेकोबारे पनि छलफलमा कुराकानी भएको बताएका छन् ।

‘बेबी किङ र सैनिक शासनको बाटो सम्भव छैन,’ सापकोटाले भने, ‘उन्नत प्रकारको लोकतन्त्रमा जाने गरी जेनजीहरूसँग हामीले कुरा गर्नुपर्छ भन्नेछ ।’ युवा सांसदहरू संसद विघटन गरेर चुनावमा जान सकिने भए पनि अहिलेको समस्याको समाधान संवैधानिक र संसदीय रूपमा खोज्नुपर्ने पक्षमा रहेको उनले बताए ।

‘जेनजीले उठाइरहेका सुशासनका मुद्दालाई तत्कालै संसदबाटै सकारात्मक रूपमा हल गर्न सकिन्छ । यो हामीले पनि उठाइराखेको विषय हो,’ सापकोटाले भने, ‘त्यसपछि संसद विघटन गरेर ताजा जनादेशमा जान सकिन्छ । समस्याको निकास संसद भित्रबाट गर्नुपर्छ। जेनजीको माग संसदबाटै सम्बोधन गर्न सकिन्छ ।’ सापकोटाले सांसदहरूबीच अहिले अन्तरपार्टी व्यक्तिगत र सामुहिक छलफल चलिरहेको पनि बताएका छन् । चार वटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीन बुँदे निष्कर्ष समेत निकालेका छन् ।

पहिलो : दलहरूले आत्मसमीक्षा गर्नुपर्छ ।

दोस्रो : जेनजीका माग सम्बोधन हुनुपर्छ ।

तेस्रो : पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्छ ।

छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ । राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् । कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।

‘संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्नुपर्छ’

काठमाडौं । ६५ संस्था तथा अभियानीले संयुक्त विज्ञप्तिमार्फत् संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपिल गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन गरी सरकार गठन र विधिको शासन लागू गर्न उनीहरूले अपिल गरेका हुन् ।

‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको सम्मान गर्दै अहिलेको परिवर्तनको मागलाई सम्बोधन गर्न विद्यमान हाम्रो देशको संवैधानिक व्यवस्थाभित्र रहेर र जेनजी पुस्ताका भावनालाई समेत सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्न हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

अहिलेको अवस्थामा वार्ता संवाद र छलफल गर्न नागरिक समाजले सहजीकरण गर्ने पनि अनुरोध गरिएको छ । त्यसैगरी राजनीतिक संकट र आन्तरिक द्वन्द्वतर्फ बढ्ने र अन्तर्राष्ट्रिय हस्तक्षेप हुनेमा सचेत रहन पनि ध्यानाकर्षण गरिएको छ ।

जेनजी आन्दोलन : कहिले निको होला आफन्त गुमाएकाहरुको पीडा, कहिले उठ्लान ध्वस्त संरचना ?

काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो ।

देशभरका विभिन्न अस्पतालमा १,३६८ जना घाइते उपचारमा छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यसक्रममा घाइते भएकालाई प्रदर्शनकारीहरूले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

जलेको मन्त्री निवास

देशभर भएको जेनजी आन्दोलनले सोच्नै नसक्ने भौतिक तथा मानवीय क्षति पुगेको छ । जुन पीडा अहिले हरेक नेपालीको मनभित्र घाउ बनेर दुःखिरहेको छ । १९९० मा तत्कालीन प्रधानमन्त्ती चन्द्रशमशेर जबराले आफ्नो निजी निवासका लागि बनाएको त्यो बेलाको एसियाकै सबै भन्दा ठूलो दरवारका रुपमा चिनिएको सिंहदरवार क्षणभरै खरानीमा परिणत भयो । यस्तै संघीय संसद भवन जहाँ देशको अभिन्न अंग न्यायपालिका, व्यावस्थापिका र कार्यपालिका सञ्चालनमा थिए । त्यो पनि केही मिनेटमै तहस नहस भयो ।

    राष्ट्रपतिको निजी निवास

आज ती ऐतिहासिक संरचना जल्दा राज्यका सबै अङ्गका काम कारवाही खलबलिन पुगेको छ । आन्दोलनपछि सिर्जना भएको अन्योलले देश र जनताको भविष्यकाबारे पनि चिन्ता व्यक्त हुन थालेको छ । अब देशले कुन मोड लिने हो भन्ने कुराको चासो, चिन्ता आम नेपालीमा जागेको छ । न्याय दिने न्यायलयसँगै धेरै पुराना अभिलेखहरु जल्यो, सरकारलाई सेवा दिइरहेका प्रशासन जल्यो, नेपालीको लालपुर्जा दिने मालपोत जल्यो, सिंहदरवार जल्यो । जहाँ नेपालको राणाकाल, पञ्चायत, बहुदलीय र गणतान्त्रिक व्यवस्थासम्मका ऐतिहासिक दस्तावेजहरु सुरक्षित गरेर राखिएका थिए ।

     आगजनीपछिको सिंहदरवार

यस्तै आन्दोलनकै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन जल्यो । अख्तियारमा लागेको आगोसँगै धेरै र ठूला ठूला भ्रष्टाचारका प्रमाणहरु पनि
जले ।  जेनजीको आन्दोलनले एउटा अवसरको ढोका खोले पनि आम नेपालीले धेरै कुरा गुमाउने परेको छ । नेपाल र नेपालीको करबाट निर्माण भएका यतिका भौतिक संरचना अब कहिले र कसरी पुनर्निर्माण हुन्छन् अहिले भन्न सकिने अवस्था छैन ।

          आगजनीपछिको संघीय संसद भवन

एकाएक भएको यो ‘उलटफेर’ आम नेपालीका लागि खुशी र दुःख दुबै बनेर आएको छ । अहिलेको यो अवस्थामा हामी आम नेपालीले जित्यौं कि हार्‍यौं भन्न सकिने अवस्था छैन । देशभरका सुरक्षा निकायका भवनहरु तहसनहस भएका छन् । नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरीको बर्दी खोसियो, आक्रोशको आगोमा सुरक्षा निकाय पनि परे, धेरै सुरक्षाकर्मीले पनि ज्यान गुमाउनु परेको छ । छोटो समयमा उठेको यो आन्दोलनको लप्काले देशभर जनधनको क्षति गराएको छ । आन्दोलनका क्रममा होनहार युवासँगै राज्यका धेरै सार्वजनिक सम्पति गुमाउनु परेको छ ।

 जलिरहेको हिल्टन होटल

आन्दोलनकै मौकामा जघन्य अपराध गरेका कैदीकन्दीहरु समेत भाग्न सफल भएका छन् । जो विभिन्न मुद्दा र अभियोगमा जेल गएका थिए । आज देशभरका धेरै कारगार र हिरासतहरुबाट कैदीबन्दी फरार हुँदा सुरक्षाको चुनौति पनि बढेको छ । अपराधका घटनामा सजाय पाएर थुनिएका मानिसहरु आज बाहिरिएपछि सम्बन्धित घटनाका पीडितहरुमा डर, त्रास र असुरक्षा बढेको छ ।

कैदीहरु कारागारबाट भाग्ने क्रममा सेनाले रोक्न खोज्दै

घृणा गर्नेहरूलाई अनफ्रेन्ड वा ब्लक गर्न ट्रेन्ड:

देश भरीका सुरक्षा निकायका भवनहरु तहस नहस बनाए नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरीको बर्दी खोसियो अनि उनीहरुलाई नै नांगो बनाएर कुटी कुटी मारियो । अब भन्नोस् त्यो आन्दोलनले कस्को हित गर्‍यो ।

आज यो भनिरहदा कतिले गाली पनि गर्नु हुन्छ, होला तर के यो व्यावस्था परिवर्तन गर्नका निम्ती राज्यका धरोहर अनि सार्वजनिक सम्पति खरानी बनाउन सही थियो त?

नेपाल प्रहरीका सयौं जवान र अधिकृतहरु संगठनको सम्पर्कबाहिर पुगेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन हमलामा परेका देशभरका प्रहरी चौकीबाट ज्यान जोगाएर भागेका र मरणासन्न पारिएका प्रहरीको मनोबल समाप्त भएको छ ।

लाउने लुगा समेत थुतेर फालेपछि अर्धनग्न अवस्थामा सडक,खोला र गल्लीबाट भागेका सयौं प्रहरीले स्थानीयसँग मागेर खाँदै हिँडेको दृष्य पनि सामाजिक सञ्जालमा देखिएका छन् । प्रहरीकर्मीले सामाजिक संजालबाट अहिले एउटा ट्रेण्डिङ नै चलाइरहेका छन्,जसका शब्दहरुले सभ्य मानिसलाई विचलित र भाबुक बनाउँछ ।

सरकारको र संगठनको आदेश मानेर कर्तव्यपालन गर्दा कतिपय प्रहरीले ज्यान गुमाएका छन् भने कति बेपत्ता छन् । जेनजी आन्दोलनको निशानामा परेका प्रहरीले अब आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ट्रेन्ड नै चलाएर आफू प्रहरी भएकोमा घृणा गर्नेहरूलाई अनफ्रेन्ड वा ब्लक गर्न आग्रह गरेका हुन् । उनीहरूले स्टाटसमार्फत मनका पीडा पोख्दै आफू प्रहरी भएको घृणा लागे बहिस्कार गर्न आग्रह गरेका छन् ।

प्रहरीभएकोमा घृणा गर्न आग्रह

उनीले आफ्नो कर्तव्य पालना मात्र गरेको बताउँदै प्रहरीबिना समाजको कल्पना गर्न नसकिने धारणा राखेका छन्। जुन यतिवेला हरेक नागरिकले भावुक हुँदै टुलु टुलु हेरिरहेका छन् ।

आन्दोलनकारीहरूले मङ्गलवार प्रहरीलाई निशाना बनाएर आक्रमण गर्दा कार्यालयहरू, चौकी सबै जलेर खरानी भएका छन् भने महत्त्वपूर्ण कागजपत्रहरूसमेत नष्ट भएको छ । प्रहरी चौकीमा कब्जा गरेर ड्रेस ,सेट,हतियार सबै खोसेर दुरुपयोग गरिरहेका छन् ।

बर्दीको दुरुपयोग

कार्यालयमा भएका प्रहरीहरूलाई समेत लखेटिलखेटी कुटपिट गरेका थिए। अधिकांश प्रहरी कार्यालय जलाउनुको साथै आगो लगाइदिएपछि ज्यान जोगाउन हम्मेहम्मे परेको थियो ।सानो बालबालिकाले समेत प्रहरीको ड्रेस लगाएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोमबार जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाएर २० जनाको ज्यान गएको भन्दै आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए ।

आन्दोलनका नाममा अराजक समूहले प्रहरी चौकीमा आगजनी र हतियार लुटपाट गर्दै हिरासतमा रहेका अपराधीहरु छुटाएपछि तीनै अभियुक्तहरुले कर्तव्यनिष्ठ प्रहरीलाई अर्धनग्न बनाएर लाइनमा उभ्याएर हुर्मत लिँदै कुटपिट गरेका दृष्यहरु पनि अहिले भाइरल भइरहेका छन् ।

प्रहरीमाथि आक्रमण पछि ज्यान जोगाउन भाग्दै

आज विभिन्न अपराधमा संलग्न अपराधीहरु हिरासत र जेलबाट समुदायमा पसेका छन् भने समुदायको रक्षा गर्ने दायित्व बोकेका प्रहरी ज्यान जोगाउन र एक छाक खानका लागि दयालु मान्छेहरुको आश्रय खोजिरहेका छन् ।

समयमा सहि निर्णय गर्न चुक्दा हामीले भविष्यका धेरै कर्णधारसँगै छिनमै धेरै कुरा गुमाएका छन् । जो नेपालको इतिहासमा कहिले बिर्सन नसकिने घटनाको रुपमा दर्ज भएको छ । आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण अहिले देश सरकारविहीन बनेको छ । यो अन्योल जतिसक्दो चाँडो चिर्दै लडेका हामीहरु फेरि उठेर देश पुनर्निर्माणमा जुट्नु पर्ने भएको छ ।

 

 

काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।

आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् भने विभिन्न संघ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् । जेनजीका प्रतिनिधिहरु सडकमा सरसफाइ अभियानमा निस्किएका देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरु पनि ससरफाइ, कागजात संकलन क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक कामहरु गरिरहेका छन् ।

सेनाले पनि निषेधाज्ञा तथा कफ्र्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि ९ बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छभने आज साँझ ५ बजे ७ बजेसम्मका लागि पनि खुला गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गरी जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कफ्र्यू भने भदौ २६ गते बेलुकी ७ देखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।

काठमाडौँ उपत्यका तथा जिल्लाहरुमा अहिले नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्तिसुरक्षा प्रभावकारी बनाइएको छ । उपत्यकामा अत्यावश्यक कामका लागि हिँड्डुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रुपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

निषेधाज्ञा तथा कफ्र्यू समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।

उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने छन् । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न पनि सक्ने सेनाले स्पष्ट गरेको छ । उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको छ ।

संवैधानिक प्रक्रियाबाट निकास निकाल्न पापडको सुझाव

काठमाडौं । शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन पेसागत सञ्जाल (पापड) ले सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो ।

पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ ।

‘अहिले मुलुक तरल अवस्थामा पुगेको छ । तत्काल राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको छ । यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित देखिंदैन’, पापडले भनेको छ, ‘तसर्थ, तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अबको निकाश निकालिनु पर्दछ ।’

जेनजीले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेट्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियामार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नु पर्ने पापडको सुझाव छ ।

 

जेनजी आन्दोलन र माओवादीका मुद्दा समान छन्, देश अग्रगमनतर्फ अघि बढ्ने ढोका खोल्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिंड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।

आज (बिहीबार) विज्ञप्तिमार्फत उनले विगतमा आफ्नो नेतृत्वको सरकारले चालेको सुशासनको कदमबाट त्रसित भएर बनेको काग्रेस–एमालेको सरकारको दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटको रुप लिएको उनको भनाई छ ।

१० बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका पूर्व प्रधानमन्त्री प्रचण्डले जेनजी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा हुनुपर्नेमा पनि जोड दिएका छन् । त्यसका लागि राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाको उनले सराहना पनि गरेका छन् ।

‘जेनजी पुस्ताले उठाएका माग संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपील गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु ।’

हेर्नुस् प्रचण्डको विज्ञप्ति
जेन–जी पुस्ताका युवाहरू तथा आदरणीय जनसमुदाय

समुन्नत लोकतन्त्रको सपना सांचेर सुशासनका पक्षमा जेन–जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

१. सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद् रुपमा तपाई हाम्रासामु देखिएको छ । भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रुप लियो । जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चायो । सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन सही थियोे तर त्यसमाथी सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो ।

२. आन्दोलनको दोश्रो दिन व्यवस्थापिका संसद भवन, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालयलगायत दर्जनौं सार्वजनिक संरचना, राजनीतिक दलका कार्यालय, नीजि आवास, होटल, बैक, व्यावसायिक भवनहरुमा जे जसरी तोडफोड, लूटपाट र आगजनी गरियो, जसरी राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण भयो, त्यो जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन, ऊनीहरुबाट भएका होइनन् र भएका घटनाहरु उनीहरुको आदर्श अनुरुप पनि छैनन् भन्ने हाम्रो ठहर छ । हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौं ।

३. केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा मैले संसदको रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको थिएँ। त्यसपछि पनि हाम्रो पार्टीले सरकार गलत बाटोमा हिँडिरहेपछि सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरुमा लगातार कठोर आत्मसमिक्षासहित सच्चिन बारम्बार आग्रह गरेको र कुशासनका शृंखला जारी नै रहेमा जनताको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्ने भन्दै सचेत गराउँदै आएको थियो। हजारौं सहिद, वेपत्ता नागरिक तथा घाइते अपांग जनताको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा हामीबाट भए, गरेका कमीकमजोरीको निर्मम आत्मसमीक्षा गर्दै सुशासनमुखी उन्नत लोकतन्त्रका पक्षमा अघि बढ्न निरन्तर खबरदारी गर्यौँ। तर, दुई तिहाई संख्याको दम्भमा सरकार संवेदनहीन बनिरह्यो। सरकार भने अहमकारकै बाटोमा लागि रह्यो। अझ सामाजिक संजालमा प्रतिबन्ध लगाउने तथा दमनको निरंकुश बाटोमै अघि बढिरह्यो। यसले सिर्जना गरेको परिस्थितिका कारण जेन जी पुस्ताका युवाहरूसहित जनताको आक्रोश विष्फोट हुन पुग्यो । युवाहरुको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठूलो मानवीय क्षति भयो ।

४. हामीले भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाउँदै आयौं। पछिल्लोपटक सरकारको नेतृत्व गर्दा समेत सुशासनको विषयमा निर्णायक पहलकदमी लिएको विदितै छ । प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबीनका लागि अधिकारसम्पन आयोगका पक्षमा हामीले आवाज उठायौं । आज जेनजी पुस्ताले समेत यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो। जेन जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि हामीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको कुरा स्मरण गराउन चाहन्छु। आन्दोलनको दोश्रो दिन आयोजकको पूर्ववत घोषणाविपरीत अवाञ्छित तत्वहरूको घुसपैठ देखा पर्न थाल्यो । त्यस्ता तत्वहरुबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रुपमा रहेका सिंहदरबार सहितका संरचनामा जे जसरी लूटपाट र आगगजनीका घटना भए, ती इतिहासमै सर्बाधिक नकारात्मक घटना बन्न पुगे । जेनजी युवा र हामिले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो ? यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ । यसखालका घटना जेन जि पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।

५. कुनै बेला तत्कालिन सत्ताले जनताका कुरा नसुन्दा हामीले जनयुद्ध सुरु गर्नुपरेको थियो। जनयुद्ध कुनै रहर थिएन। जनयुद्ध जनतामाथि भइरहेको चरम शोषण, दमन र हिंसाविरुद्धको प्रतिरोध थियो । नेपालकै इतिहासमा पहिलोपटक पीँधमा रहेका वर्ग, जाति, क्षेत्र र समुदायले आफ्नो आवाज मुखरित गरेँ। हजारौं जनताको बलिदान भयो। कैयन् अझै पनि वेपत्ता छन, अंगभंग र घाइते छन् । शान्ति, सुशासन र समृद्धिमा जानुपर्छ भन्ने विश्वासका साथ १२ बुदे सहमति, १९ दिने जनआन्दोलन हुँदै तत्कालीन ७ दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र मैले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर देश संविधानसभामा प्रवेश ग¥यो । राज्यको निर्मम दमनविरुद्ध जनयुद्ध, जनआन्दोलन र विभिन्न समुदायका जनताको बलिदानीपूर्ण संघर्षकै कारण हामीले लोकतान्त्रिक गणतन्त्रको संविधान कोर्न सफल भयौं। नेपालकै इतिहासमा पहिलोपटक दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिम लगायत उपेक्षित उत्पीडित वर्ग र समुदायको संविधानमार्फत अधिकार सुनिश्चित गरियो। सिंहदरबारमा केन्द्रीत अधिकार गाउँसम्म पुग्यो । यो चानचुने उपलब्धि थिएन। आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको चर्चा गर्दा हामीले इतिहासको यो बलिदानलाई स्मरण गरेर र यसकै जगमा टेकेर मात्रै अग्रगमनतर्फ बढ्ने संकल्प गर्नु पर्दछ ।

६. हामीले संविधान कार्यान्वयनमा पर्याप्त गम्भीरता देखाउन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । त्यसो त संविधान जारी गर्ने बेलामा नै हामीले संविधानमा फरक मत राख्यौं। प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणालीको वकालत गरर्यौं, दलित, महिला, आदिवासी, जनजाति लगायतका समुदायका थप अधिकार सुनिश्चित गर्नुपर्ने एजेण्डाहरू फरक मतका रूपमा राख्यौं । २०४६ सालयताका सार्वजनिक पद धारण गरेका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानविनका लागि अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने, सांसदहरू मन्त्री बन्न नपाइने र विज्ञहरु मन्त्री बन्नुपर्ने लगायतका हाम्रा फरक मत थिए । त्यतिखेर शक्ति सन्तुलनका हिसाबले संविधान जारी गर्नैपर्ने परिस्थितिमा लिखित फरक मत राखेर समेत हामीले संविधान जारी गरर्यौं । यी फरक मतहरु हाम्रा अहिले पनि छन्। हामीले अघि सारेका यिनै मतहरू सुनिश्चित नहुँदा र जारी भएको संविधान कार्यान्वयनमा समेत कांग्रेस र एमाले परम्पराभन्दा माथि उठन नसक्दा जनतामा आक्रोश चुलिन पुग्यो। आज तिनै मागलाई जेन जी पुस्ताले उठाएको छ । हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं। आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ । यसका लागि जेन–जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ ।

७. जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ । यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन् । हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।

८. हाम्रो ठहर छ, कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनु पर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ । त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं । यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं ।

९. नेकपा (माओवादी केन्द्र) नेपाली समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो । हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष ग¥यौं । त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं । गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरु एउटै होइनन् । गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो । नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो । हामी यथास्थितमा बस्न चाहन्नौं । त्यसैले परिवर्तनविरोधीहरुबाट माओवादी केन्द्रबारे भइरहेका झूटो प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्न चाहन्छौं । अग्रगामी परिवर्तनका पक्षमा हुने, नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा हाम्रो साथ, समर्थन रहने छ ।

१०. संक्रमणकालिन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढन शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आमजनसमुदायसँग अपील गर्दछु । साथै, जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लूटपाट र आगजनी लगायतका गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि जनताको साथमा रही तम्तयार रहन पार्टीपंक्तिलाई निर्देशित गर्दछु ।

अन्तमा,
जेन जी पुस्ताले उठाएका मागहरु संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपील गर्दछु । साथै प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्ति पूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु ।

प्रचण्ड

जंगीअड्डामा आज नयाँ सरकारको नेतृत्वका लागि निर्णायक वार्ता

काठमाडौं । आज (बिहीबार) अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच निर्णायक छलफल हुने भएको छ ।

जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल गर्ने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन् । आजको छलफल निष्कर्षमा पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।

जेनजीबाट प्रस्तावित पूर्व प्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन जनाइसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् । प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति दिएका छन् ।

जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार्ने बताइसकेकी छन् ।

जेनजी समूहमा सुशीला कार्कीको माग : दुर्गा प्रसाई हाम्रो ‘स्टेक होल्डर’ होइनन्

काठमाडौं । नेपाली सेनाको अगुवाइमा जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरिएको छ ।

यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई अभिभावकत्व लिन आग्रह गर्ने समझदारी बनेको हो । उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन् ।

यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल समक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीय ज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा चलिरहेको छ ।’

सेनाले पूर्व प्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ । बुधबार दिनभर जेनजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।

धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन आग्रह गरेका थिए ।

बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए ।

उनले संयोजक समेत तोकेर आउन आग्रह गरे । त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो । त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । जेनजीका प्रतिनिधिले मेडिकल व्यवसायी दुर्गा प्रसाईं कुनै पनि हालतमा आफूहरुको ‘स्टेक होल्डर’ नभएको स्पष्ट पारेका थिए ।

डिस्कोर्डमा करिब १० हजारको संख्यामा भइरहेको छलफलमा जेनजीका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । उनीहरुले भनेका छन्, ‘हाम्रो लागि कुनै पनि हालतमा दुर्गा प्रसाईं जस्ता व्यक्ति स्टेक होल्डर होइनन् ।’ छलफलमा राजतन्त्र कि गणतन्त्र भन्ने पनि बहस भयो । धेरैले राजतन्त्र स्वीकार नगर्ने बताएका छन् ।

बालेनले उठाएनन् फोन्, सुशीला, हर्क र सागर तयार

काठमाडौं । जेनजीको वृहत ‘भर्चुअल’ वैठकमा भावी प्रधानमन्त्रीका विषयमा छलफल गरिएको छ । पाँच हजार बढी सहभागी वैठकमा सबैभन्दा बढीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह जेनजी पुस्तामा सबैभन्दा बढी लोकप्रिय छन् । तर, उनले उनले फोन नउठाएको एक जेनजी प्रतिनिधिले बताए । ‘उहाँले फोन नउठाउनु भएपछि अरु नामहरुमाथि छलफल गरिएको हो । सबैभन्दा धेरै समर्थन सुशीला कार्कीको नाममा छ,’ ती प्रतिनिधिले भने ।

कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । स्रोतका अनुसार उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेकी थिइन् । उनले माग गरेभन्दा धेरै २५ सयभन्दा बढीको हस्ताक्षर उनलाई दिइएको स्रोतको दाबी छ । कार्कीले राजनीतिक रिक्तता शून्यको अवस्थामा नेतृत्व लिन्छु भनेकी छिन् ।

प्रधानमन्त्रीमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायतको नाम पनि चर्चामा आएका थिए । यस्तै, र्‍यान्डम नेपाली नामक एक युट्युवरलाई पनि राम्रो मत परेको छ । तर उनले अरु कोही तयार नभए मात्रै आफू अघि सर्ने बताएका छन् । र्‍यान्डम नेपालीको वास्तविक नाम राष्ट्रविमोचन तिमल्सिना हो । उनी कानून व्यवसायी हुन् । यसअघि उनी नेसनल ल कलेजका कार्यवाहक प्रिन्सिपल थिए ।

रास्वपा सांसद सुमना श्रेष्ठले आफू पार्टीसम्बद्ध भएकाले सामेल हुन नमिल्ने जवाफ दिएको, हर्क साम्पाङ तयार रहेको, सागर ढकाल तयार भए पनि धनगढीमा फसेको, कुलमान घिसिङ हिजोको पत्रकार सम्मेलनमा मेन्टरको भूमिकामा उपस्थित भएको र र्‍याण्डम नेपालीले कोही पनि तयार नभए आफूले जिम्मेवारी लिने बताएको रिपोर्टिङ गरिएको छ ।

 

झलनाथ पत्नी रविलक्ष्मीको कीर्तिपुरमा उपचार जारी, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । जेनजी आन्दोलन क्रममा भएको आगजनीमा परी आगोले जलेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुरस्थित ‘बर्निङ’ अस्पतालमा उपचार भइरहेको छ ।

हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित पूर्व प्रधानमन्त्री समेत रहेका खनालको घरमा पनि आगो लगाई दिएका थिए। त्यसवखत झलनाथ घर बाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर निस्किन नसक्दा उनी आगोले जलेकी हुन् ।

आगजनीमा परी जलेर घाइते चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । चिकित्सकले चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको श्रेष्ठले जानकारी गराएका छन् । नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन्।

सामाजिक सञ्जालहरुमा रविलक्ष्मीको आगजनीका क्रममा निधन भएको खबर फैलिएको थियो । ‘मानवीय संवेदना हराएको यो एउटा गम्भीर नमूना हो’, श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, मैले भेटेरै आएको हो ।’ यस्तै झलनाथ खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारमा खटिएका छन् । खनाल सकुशल रहेको बताइएको छ ।

के छ आगो लगाइएका सिंहदरबार र अदालतका ‘डिजिटल डाटा’ र ‘ब्याकअप’ को अवस्था ?

काठमाडौं । जेनजी आन्दोलनकारीले मंगलबार देशको मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचना पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । मुलुकको प्रमुख प्रशासनिक भवनमा गरिएको आगजनीपछि देश–विदेशका नेपालीहरुले देशका महत्वपूर्ण तथ्याङ्क ‘डाटा’ सुरक्षाका विषयमा चिन्ता प्रकट गरेका थिए ।

आन्दोलनका क्रममा भएको आगजनीमा सरकारी भवनहरु पूर्णरुपमा ध्वस्त भए पनि त्यहाँभित्र रहेका विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्याङ्क (डाटा) मा भने खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय प्रमुख मनिष भट्टराईले जानकारी दिएका छन् ।

आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआर (डिजास्टर रिकभरी कार्यालय) पनि पूर्णतः सुरक्षित रहेको भट्टराईले जानकारी दिए । कतिपयले हेटौंडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएको भन्दै भट्टराईले यी सबै अफवाह मात्रै भएको बताए ।

आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण मङ्गलबारको आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताएका छन् । यद्यपि सर्वोच्च अदालतका केही डाटा हेटौँडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको उनले बताएका छन् ।

आन्तरिक राजस्व कार्यालय (आईआरडी), राहदानी विभाग, अध्यागमन कार्यालयहरूले आ–आफ्नै डाटा सेन्टर सञ्चालन गरेका छन् । तर, तिनले पनि आईडीएमसीअन्तर्गत डीआरमा व्याकअप राखेका कारण कुनै क्षति भएको भए रिकभर हुने भट्टराई बताउँछन् ।

अत्यधिक क्षति भएको सर्वोच्च अदालतले आईडीएमसीसँग डाटा रिकभरका लागि ताकेता गरेको छ । भट्टराईले बताएअनुसार पत्र पाएपछि हेटौँडास्थित डीआरमा रहेको ब्याकअप हेर्न सकिन्छ । ‘अन्य डाटा सेन्टरमा क्षति पुगेको छ भने पनि हामीसँग प्रायको ब्याकअप हुन्छ’, उनले भने ।

पोखरामा प्रदर्शनकारीले आगो लगाएको घरमा महिलाको शव फेला

पोखरा । पोखरामा जेनजीले आन्दोलनका क्रममा आगो लगाइएको घरमा एक महिलाको शव भेटिएको छ । आन्दोलनकारीले हिजो गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र उनका भाइको नयाँबजारमा रहेको घरमा आगजनी गरेका थिए । त्यही आगोमा परेर घरमा काम गर्ने एक महिलाको निधन भएको हो ।

मन्त्री थापाको घरमै कार्यालय राखेका पत्रकार सुरज श्रेष्ठका अनुसार उनको शव भर्‍याङनेर भेटिएको हो । ती महिला अन्दाजी ४० वर्षकी रहेकी र आगो लागेपछि भाग्ने क्रममा उनी भर्‍याङनेर लडेको हुन सक्ने उनले जानकारी दिए ।

हतारमा उनी त्यहाँ भए नभएको कसैलाई याद नभएको पनि सुरजको भनाइ छ । अहिले एउटा जलेको शवको फोटो सामाजिक सन्जालमा भाइरल भएको छ । अहिले पोखराको बजार क्षेत्रमा सेना खटिएको छ । हिजो जलेका संरचनाहरु सफाइ चलिरहेको छ ।

प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए । त्यस लगत्तै सेनाले आफ्नो एकल वक्तव्य जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेको थियो । उक्त अनुरोधलगत्तै प्रधानसेनापतिको राष्ट्रका नाममा सम्बोधन आउन लागेको हो ।

 

वार्तामा आउन जेनजीलाई राष्ट्रपतिको अपील

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई अपील गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपील गर्दछु,’ राष्ट्रपतिले भनेका छन् ।

विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकोले मुलुक, जनता र लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताएका छन् ।

जेनजीको अपील : सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्‍याऊँ, नागरिक सरकारको तयारी हुँदैछ

काठमाडौं । जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन अपील जारी गरेको छ । आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको अपीलमा जनाइएको छ। अपीलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन हार्दिक अनुरोध गर्दछौं ।’

नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको पनि अपीलमा उल्लेख गरिएको छ । ‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन र नयाँ निर्वाचनमा जानु हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं ।’

काठमाडौंमा जताततै धुँवाको मुस्लो

काठमाडौं । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले लगाएको आगोका कारण यतिबेला काठमाडौं कुहिरिमण्डल बनेको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।
आन्दोलनकारीहरुले राष्ट्रपति भवन शीतल निवास कब्जामा लिएका छन् । उनीहरुले शीतल निवासममा आगो लगाउनु शुरु गरेका हुन् । सिंहदरबारभित्र अधिकांश मन्त्रालयमा आगो लगाइएको छ । त्यहाँ रहेका सवारी साधनहरु पनि ध्वस्त भएको बताइएको छ ।

कालिमाटीमा प्रहरीको गोली लागेर दुईको मृत्यु

काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए । यसअघि जेनजीको आन्दोलनका क्रममा २० बढीको मृत्यु भइसकेको छ ।

शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्दै

काठमाडौं । जेनजी प्रदर्शन चर्किपछि शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा लैजान थालेका छन् । शीर्ष नेताको सुरक्षामा चार वटै सुरक्षा निकाय परिचालित भएको स्रोतले जानकारी दिएको छ । बालुवाटारसहित विभिन्न स्थानमा पटक–पटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् ।

अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको एक उच्च अधिकृतले जानकारी दिए । ‘पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत तनावको स्थिति सिर्जना भएको छ,’ ती अधिकृतले भने, ‘यस्तोमा उहाँहरुको सुरक्षा गर्नु हाम्रो दायित्व पनि हो ।’

भैंसेपाटीस्थित मन्त्रीक्वार्टरमा समेत पटक–पटक हेलिकोप्टर अवतरण गरेको छ । केही नेतालाई उद्दार गरेर लगिएको सुरक्षा स्रोतले जनाएको छ । तर, उनीहरुलाई कहाँ लगियो भन्ने बताइएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाएका छन् । त्यसअघि नै परिस्थिति नियन्त्रण बाहिर पुगिसकेको छ ।

ओलीको गृह जिल्ला झापादेखि उर्जामन्त्री दिपक खड्काको संखुवासभाको घरमा समेत तोडफोड भएको छ । ‘यस्तोमा सबैलाई सुरक्षा दिनु जिम्मेवारी भएकाले हामी परिचालित भएका हौं,’ ती अधिकारीले भने । सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका थिए । २ सय बढी घाइते छन् ।

 

ऊर्जामन्त्री खड्काको घरमा तोडफोड र आगजनी

काठमाडौं । प्रदर्शनकारीहरूले ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेका छन् । खड्काको बूढानीलकण्ठस्थित निवासमा ठूलो संख्याका प्रदर्शनकारीले घर घेरेर तोडफोड सुरु गरेका थिए । त्यसपछि पर्खाल नाघेर भित्र पसेका उनीहरूले आगो लगाउन थालेका हुन् । अहिले घरमा ठूलो धुँवाको मुस्लो देखिरहेको छ भने प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन् ।

 

देउवा निवासतर्फ हानिएका प्रदर्शनकारीलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन उपत्यकामा प्रदर्शनकारीको उपस्थिति झन बढेको छ । केही प्रदर्शनकारी सत्तारुढ नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका छन् ।

उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ । प्रदर्शनकारीको संख्या बढ्दा प्रहरी संख्या भने न्यून छ । प्रदर्शनकारीले सञ्चारमन्त्री पीएस गुरुङको सुनाकोठीस्थित निवासमा आगजनी गरेका छन् । यस्तै प्रचण्ड निवास खुमलटारमा पनि तोडफोड गरिरहेका छन् ।

जेनजी आन्दोलनबारे अमेरिका, बेलायतसहित नौं देशको आग्रह : मौलिक अधिकार सुनिश्चित गर

काठमाडौं । नेपालस्थित नौं देशका राजदूतावासले जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति दृढ समर्थन रहेको उल्लेख गरेका छन् ।

उनीहरुले सबै पक्षलाई संयम अपनाउन र परिस्थितिलाई थप बिग्रन नदिइ शान्तिपूर्ण समाधान गर्न र मौलिक अधिकारहरुको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।

‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् संयुक्त प्रेस विज्ञप्ति

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट ः

हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं । यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं ।

साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।

जेनजीको मागप्रति सरकार नकारात्मक थिएन, घुसपैठले अप्रिय स्थिति बन्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । आज भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताए ।
‘आजको घटनाका मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ । आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानबिन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु’, उनले भने ।
उनले जेनजीले आज शान्तिपूर्ण रुपमा माग राख्नेमा आफूहरु आश्वस्त रहे पनि प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका भएकाले नागरिकले ज्यान गुमाउने अवस्था आएको समेत बताएका छन् । ‘जेन–जीले राखेको मागप्रति सरकार नकारात्मक थिएन, हामी जेन–जीका मागलाई सुनिरहेका थियौं’, उनले भने, ‘तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो ।’ प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरेको उनको भनाइ छ ।
सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्न कम्पनीहरुलाई सूचिकरणका लागि पटक–पटक आग्रह गरेको उल्लेख गर्दै उनले सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि तत्कालका लागि बन्द गरिएको समेत बताएका छन् ।  सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति नलिएको उनको भनाइ छ ।
‘बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्नेछ ।’

जेनजीसँगको झडपमा दुई सय बढी सुरक्षाकर्मी घाइते

काठमाडौं । जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई सय बढी सुरक्षाकर्मी घाइते भएका छन् । निषेधित क्षेत्रमा केन्द्रित प्रदर्शनलाई नियन्त्रण लिने र शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीतर्फ १७८ र सशस्त्र प्रहरी बलतर्फ ३० जनाभन्दा बढी घाइते भएका छन् ।

नेपाल प्रहरीका घाइतेमध्ये ३८ जनाको उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए । नयाँ बनेश्वरस्थित संघीय संसद् भवनभित्र प्रवेश गर्न खोजेका आन्दोलनकारी र प्रहरीबीच आज दिनभरजसो झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले संसद् भवन पर्खाल तोडफोड र भवनको दक्षिणतर्फको प्रहरी क्वार्टरमा आगजनी गरेका थिए । प्रदर्शनकारीले सोही ठाउँमा सशस्त्र प्रहरीको एम्बुलेन्समा आगो लगाएका थिए ।

प्रदर्शनकारीले संसद् भवनलाई घेरा हाली प्रवेशका लागि पटकपटक प्रयास गरेका थिए । त्यसक्रममा दुई पक्षबीच झडप परिरह्यो । हालसम्म प्राप्त विवरणअनुसार १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजमती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनको समाचार संकलनमा खटिइएका चार जना पत्रकार पनि घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा, इँटा, सिसाका बोतल लागेर घाइते भएका सुरक्षाकर्मीलाई संसद् भवनभित्र रहेको स्वास्थ्योपचार केन्द्रमा उपचार गरिएको थियो । सुरक्षाकर्मीको टाउको, हात, मुखलगायत अङ्गमा चोट लागेको छ । संघीय संसद् सचिवलयका चिकित्सक पुष्पराज रिजाललाई घाइते सुरक्षाकर्मीको प्राथमिक उपचार गर्न भ्याइनभ्याइ परेको थियो । प्राथमिक उपचारपछि गम्भीर घाइते सुरक्षाकर्मीलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल ‘रेफर’ गरिएको थियो । अहिले काठमाडौँ उपत्यकासहित देशभरको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

ट्रमा सेन्टरमा प्रहरीसहित ५४ घाइतेको उपचार हुँदै (नामावली)

काठमाडौं । जेनजीको आज (सोमबार) को प्रदर्शनका क्रममा घाइते भएकामध्ये ५४ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सबै घाइतेहरू गोली लागेका रहेको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार निकेश रिजाल (बर्दिया, २३ वर्ष), हरि अधिकारी (जुम्ला, २६ वर्ष), पवन खड्का, (महाराजगन्ज, २१ वर्ष) र सूर्य राई (सिन्धुपाल्चोक) छन् ।

यस्तै सौरभ कठायत (धनगढी, १९ वर्ष), हरि अधिकारी, (जुम्ला, १७ वर्ष), सन्देश प्रधान, (नवलपरासी, २७ वर्ष), आशुतोष बस्नेत, (इटहरी, १९ वर्ष), सौरभ गौतम, (भोजपुर, २० वर्ष) छन् । रोशन रेग्मी, (गोरखा, १८ वर्ष), रुपेश कार्की, २७ वर्ष (भक्तपुर), हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट), कुमार लामा, प्रहरी हवल्दार (दोलखा) प्रकाश बोहरा, (दैलेख, २९ वर्ष) पनि घाइते अवस्थामा ट्रमा सेन्टरमा उपचाररत छन् ।

हरिहर सिलवाल, (म्हेपी, ५२ वर्ष), नेत्रविक्रम थापा, (पर्सा, ३० वर्ष), दिलीपकुमार भुजेल (गाईघाट, २६ वर्ष), नवीन तामाङ, (सिन्धुली, २२ वर्ष), मदन कार्की, (सिन्धुपाल्चोक, २५ वर्ष) पनि घाइते छन् । अश्विन राई, (खोटाङ, २२ वर्ष), अनिल तामाङ, (दोलखा, १९ वर्ष), मुकेश अवस्थी, (डडेलधुरा, २२ वर्ष), जान्तीसिंह ठकुरी (कञ्चनपुर, २१ वर्ष), राजेश साउद (अछाम, २५ वर्ष) छन् ।

नोर्बु तामाङ (सिन्धुपाल्चोक, १७ वर्ष), निक मगर (कीर्तिपुर, ३३ वर्ष), पवन शाही (कालिकोट, २६ वर्ष), लिजा अधिकारी (मोरङ, २० वर्ष), भावना पौडेल, समीर लामा, (हेटौँडा, २२ वर्ष), प्रकाश धामी (कैलाली, २७ वर्ष) र सही अहमद (चन्द्रागिरि, २० वर्ष) छन् ।

कपिल श्रेष्ठ (काठमाडौँ, ३० वर्ष), विजय अधिकारी (रुकुम, २२ वर्ष), रुपेश कार्की, (दोलखा, २७ वर्ष), सुहानी श्रेष्ठ, (बर्दिया, १९ वर्ष) र अबिक तन्डुकार (काठमाडौँ, २२ वर्ष) पनि उपचाररत छन् । अभिषेक भण्डारी, (बझाङ, १७ वर्ष), आयमान मगर (धरान, २३ वर्ष), सागर भट्टराई (झापा, २१ वर्ष), आदियराज राजवंशी (वीरगन्ज, २० वर्ष), सन्देश प्रधान (नवलपरासी, २७ वर्ष), सोम शर्मा (बागलुङ, ३० वर्ष) र ईश्वर ढकाल (कपुरधारा, २० वर्ष) छन् ।

सितेशजंग परियार, (काठमाडौँ, २२ वर्ष), समु ढकाल (काठमाडौँ, ३७ वर्ष), लुसन सुब्बा (झापा, २१ वर्ष), नवीन श्रेष्ठ, (संखुवासभा, १९ वर्ष), साहिल अहमद (काठमाडौँ, २० वर्ष) छन् । केशव अधिकारी (३२ वर्ष), सन्तकुमार महतो, आशुतोष झा र रोशन पराजुली (काभ्रे, २६ वर्ष) छन् । एक जना परिचय नखुलेका घाइतेको पनि ट्रमामा उपचाररत भइरहेको छ । ट्रमा सेन्टरमा उपचारका लागि पुगेका ८ जनाको मृत्यु भएको छ ।

 

जेनजीको प्रदर्शन : देशभर १९ को मृत्यु, ३४७ जना घाइते

काठमाडौं । जेनजीहरूको आज (सोमबार) को प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जेनजीको प्रदर्शन छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । जेनजीहरूले आज (सोमबार) गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको अप्रिय घटना छानबिन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ । जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको हो ।प्रवक्ता काफ्लेले  भने, ‘मन्त्रालयलाई प्रहरीले जानकारी गराए अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० जना भन्दा बढी घाइते भएका छन् ।’ त्यसैगरी, स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार जारी भइरहेको छ ।

 

जेनजी प्रदर्शन : ट्रमामा मृत्यु भएका नौंमध्ये तीनको सनाखत (नामावली)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएपछि मृत्यु भएका तीन जनाको सनाखत भएको छ । अहिलेसम्म ट्रमा सेन्टरमा मात्रै नौं जनाको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।

अन्य पाँच जनाको भने सनाखत हुन बाँकी भएको ट्रमा सेन्टरका एक चिकित्सले बताए । उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।उता, विराटनगरमा पनि २ जनाको मृत्यु भएको छ ।

इटहरीमा पनि दुई आन्दोलनकारीको गयो ज्यान

सुनसरी । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा पनि दुई जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते ६ जनामध्ये दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

‘धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको भन्ने खबर आएको छ,’ डिएसपी योगराज खतिवडाले भने, ‘घाइते चार जनाको भने उपचार भइरहेको छ ।’ घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ । उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

जेनजी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगो लगाएका थिए । त्यही क्रममा प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरी घेरा तोडेर भित्र पसेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरूले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा  कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी उपमहानगर क्षेत्रभरि  कर्फ्यू लगाएका हुन् ।

उत्तरमा हलगढा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वमा मिलन चोकदेखि जुट विकास भित्र ,दक्षिणमा अख्तियार, यातायात, साथी पेट्रोलपम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिममा कंलकी मोडदेखि जनता बस्ती भित्रसम्म   कर्फ्यू लगाइएको हो ।

जेनजी प्रदर्शनमा ज्यान गुमाउने १८ पुगे, मृत्तकको संख्या बढ्दै

काठमाडौं । काठमाडौँ भएको जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ट्रमा सेन्टरमा उपचाररत थप एक जना घाइतेको मृत्यु भएको हो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे । ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ । चार जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मृत्तकको संख्या बढ्दै गएको छ ।

यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ । उपचारका लागि सिभिल अस्पतालमा पु¥याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ । त्यस्तै टिचिङ अस्पतालमा एक जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गोपाल सेडाइँले जानकारी दिए । मृतकहरूको परिचय खुलेको छैन । मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ । अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ ।

जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो, घाइतेको संख्या यकिन छैन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । सिभिल अस्पतालमा थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आइसकेको छैन । घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो । हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ ।

गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ: रास्वपादेखि प्रसाईंसम्मको घुसपैठ

काठमाडौँ । काठमाडौँमा सोमबार भएको जेनजीको प्रदर्शनमा घुसपैठ भएको ब्रिफिङ सुरक्षा प्रमुखहरूले गृहमन्त्री रमेश लेखकलाई गराएका छन्।

केहीबेरअघि भएको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले गृहमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए।

जेनजीहरू फर्किसकेको अवस्थामा दलका कार्यकर्ताहरू तथा दुर्गा प्रसाईं र राजावादीहरूको टोलीसँगै रास्वपाका कार्यकर्ताको घुसपैठ भएको बैठकमा गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूले भने ।

जेनजी आन्दोलन : ज्यान गुमाउनेको संख्या १० पुग्यो

काठमाडौं । काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । ज्यान गुमाउने सबैको पहिचान खुलिसकेको छैन । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ ।

झ्यालको सिसा छेडेर पसेको गोली लागेर हिमालयन जाभाका सञ्चालक मेहेता घाइते

काठमाडौं । प्रहरीले चलाएको गोली लागेर नयाँ बानेश्वरस्थित हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छ्न् । मेहेतालाई सिसाबाट छिरेको गोली लागेको प्रतिक्षदर्शी रमिला नेपालले जानकारी दिइन् । आफूसहित १५-२० जना अहिले जाभाभित्रै रहेको उनले जानकारी दिएकी छन् ।

जेनजीको आन्दोलन भड्किएसँगै बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ । अहिले यहाँ सेना परिचालित छ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या अहिलेसम्म आठ पुगेको छ । घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएकामध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै ट्रमा सेन्टरमा ५ जना, काठमाडौँ मेडिकल कजेलमा एक जना गरी आठ जनाको मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा पाँचको मृत्यु, ट्रमा सेन्टरमा मात्रै चार जना

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर हालसम्म पाँच जनाको मृत्यु भएको बताइएको छ । जेनजीको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर घाइतेमध्ये ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । घाइते कसैको पनि पहिचान खुलिसकेको छैन । प्रदर्शनका क्रममा १०० बढी घाइते भएका छन् । घाइतेमध्ये केहि केहिको अवस्था गम्भीर रहेको बताइएको छ ।

जेनजीको प्रदर्शन : गोली लागेर एक जनाको मृत्यु, ७० बढी घाइते

काठमाडौं । काठमाडौंमा जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत रहेको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन् ।

जेनजीको प्रदर्शन : बानेश्वरमा चार पत्रकारलाई लाग्यो गोली

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा जेनजीले गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार पत्रकार घाइते भएका छन्  । प्रहरीले चलाएको रबरको गोली लागेर नेपाल वान एचडीका नरेश खतिवडासहित चार जना घाइते भएका हुन् ।

उनीहरु समाचारका लागि फोटो, भिडियो खिच्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका हुन् । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा समाचार संकलनका लागि पुगेका पत्रकार खतिवडालाई प्रहरीले चलाएको रबरको गोली दाहिने हातको पाखुरामा लागेको हो ।

यस्तै प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।

यस्तै आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो । यस्तै प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यू आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेर आगजनी गर्न थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

 

जेनजी आन्दोलन : पत्रकार श्रेष्ठलाई लाग्यो गोलीे, प्रदर्शनकारी पनि घाइते

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा जेनजीले गरेको आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो । यस्तै प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यू  आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेर आगजनी गर्न थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।