`

प्रधानन्यायाधीशसहित पार्टी र नाताका न्यायाधीश हटाउन चेतावनी

काठमाडौं । सुशासन र न्यायिक सुधारको मागसहित उत्रिएका जेनजी आन्दोलनका अगुवाहरूले न्यायालयमा दलका कोटा र नातावादका आधारमा नियुक्ति र न्यायाधीशरुलाई नहटाए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयको पहलमा शनिबार जेनजी आन्दोलनका प्रतिनिधि, सहिद परिवार र घाइते युवालगायत पाँच समूहले सरकारी टोलीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री अनुपस्थित रहे पनि गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित थिए ।

भेटका क्रममा जेनजी प्रतिनिधिहरूले आफ्नो आठ बुँदे चेतावनीपत्र प्रस्तुत गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित राजनीतिक दलहरूको कोटामा नियुक्त न्यायाधीशहरूलाई तत्काल हटाउन माग गरेका थिए ।

जेनजी अगुवाहरूले न्याय परिषद्को कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाउँदै ‘न्यायिक भ्रष्टाचार ढाकछोप गर्ने संस्था’ भएको आरोप लगाए । सरकारका तर्फबाट मन्त्रीहरूले संवैधानिक सीमा र सरकारको म्यान्डेटबारे प्रष्ट्याउने प्रयास गरेका थिए ।

संविधानअनुसार प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई हटाउन संसदको दुई–तिहाइ बहुमत आवश्यक पर्ने प्रावधानबारे जानकारी दिइयो । तर, जेनजी प्रतिनिधिहरूले यो विषयमा आफ्नो अडान नबदल्ने चेतावनी दिए ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले पनि भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीमा उत्रिने कि पद त्याग्ने भन्ने निर्णय गर्नुपर्ने माग उनीहरूले राखे । बैठकमा उपस्थित मन्त्रीहरूले जेनजी प्रतिनिधिहरूका मागहरू ध्यानपूर्वक सुनेका थिए । गृहमन्त्री अर्याल र कानुनमन्त्री सिन्हाले संवैधानिक प्रावधानका कारण केही माग तत्काल पूरा गर्न नसकिने बताए पनि ठोस धारणा भने नदिएको बताइएको छ ।

गृहमन्त्रीसँग लिखित आपत्ति

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड, लुटपाट र आतंक फैलाउनेलाई कानूनी कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष माग गरिएको छ । धर्मराज तिमिल्सिनाले गृहमन्त्रीलाई भेटेर लिखित निवेदन बुझाएका हुन् ।

यसअघि सामाजिक सञ्जालका फोटो, भिडिओ साथै प्रहरीले पाएको सूचनाको आधारमा केही व्यक्तिलाई पक्राउ थालिए पनि उनीहरूलाई अहिले पक्राउ नगर्न गृहको निर्देशनसँगै यो प्रक्रिया रोकिएको थियो ।

गृहमन्त्री समक्ष दिइएको निवेदनमा जेनजी आन्दोलनका नाममा अराजक तत्वको घुसपैठबाट देशका विभिन्न स्थानहरूमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट, नागरिकको निर्मम हत्या तथा आतंक फैलाउने अमानवीय कार्य भएको उल्लेख छ ।

‘यस्तो गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदीपूर्ण रहेको छ । नेपालको संविधान बमोजिम प्राप्त मौलिक हक तथा मानव अधिकारको हरण, हनन र हस्तक्षेप भएको छ, र नेपालको संविधान बमोजिम प्राप्त शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी शान्ति सुरक्षामा प्रतिकूल असर पारेको छ’, निवेदनमा भनिएको छ ।

यस्ता गतिविधिमा मुलुकी अपराध संहिता ऐन, संगठित अपराध निवारण ऐन, स्थानीय प्रशासन ऐन, सार्वजनिक सम्पत्ति (संरक्षण) ऐनलगायत अन्य प्रचलित कानूनी प्रावधानहरू आकर्षित हुने स्मरण गराइएको छ ।

घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल छानबिन गरी कानूनी कारबाही गर्न, तोडफोड, आगजनी तथा लुटपाटबाट प्रभावित पीडितहरूलाई न्याय दिलाउन, सार्वजनिक, निजी सम्पत्ति र नागरिकको शान्ति सुरक्षाको संरक्षणका प्रभावकारी निवारक उपाय तत्काल लागू गर्न पनि उनले माग गरेका छन् ।

आन्दोलनको नाममा निजी तथा सार्वजनिक सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्ने, नेपाल प्रहरी लगायत आम नागरिकको निर्मम हत्या गर्नेलाई त्यसै छाड्दा अपराधकर्मीको मनोबल बढ्ने साथै नेपाल प्रहरीको मनोबल घट्ने भन्दै विधिको शासन स्थापित गर्न आग्रह गरिएको छ । विध्वंशकारी मात्रै नभई विध्वंस गर्न प्रेरित गर्ने योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउन उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

‘जेनजी मुभमेन्ट’ को नाममा आन्दोलन घोषणा

काठमाडौं । पछिल्लो समय विभिन्न समूह र व्यक्तिहरूले नेतृत्व दाबी गरिरहेको जेनजी आन्दोलन पुनः चर्चामा आएको छ । ‘जेनजी मुभमेन्ट नेपाल’ नामक समूहले आउँदो असोज २३ (अक्टोबर ९) मा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गर्दै सरकारमाथि कडा आरोप लगाएको छ ।

बालुवाटार ठेगाना उल्लेख गरिएको मुभमेन्टको लेटरहेडमा जारी विज्ञप्तिमा, अन्तरिम सरकार ‘लाचार र अलमलिएको’ भन्दै सस्तो लोकप्रियताको पछाडि मात्र लागेको आरोप लगाइएको छ । विज्ञप्तिमा केही छानबिन र गिरफ्तारीको नाटक गरेर जनतालाई भ्रममा पार्ने कार्य अब चल्ने अवस्था नरहेको जनाइएको छ ।

समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा मुलुकलाई लैजानुपर्ने आवश्यकता औंल्याउँदै त्यसकै पक्षमा आन्दोलनको आह्वान गरेको छ । ‘यो लडाइँ सत्ता हात पार्ने होइन, व्यवस्था बदल्ने हो’, विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताइएको छ ।

यद्यपि, यदि आवाज दबाउने प्रयास भयो वा आन्दोलनकारीको बलिदानलाई तोडमोड गर्ने चेष्टा गरिएमा ‘कडा प्रतिवाद’ हुने चेतावनी पनि दिइएको छ । यसअघि असोज १३ गतेका लागि घोषणा गरिएको प्रदर्शनबारे विभिन्न मतहरू आएका थिए । जेनजी अलायन्स लगायतका समूहले त्यो दिन कुनै प्रदर्शन नभएको बताएका थिए । तर यो नयाँ घोषणासँगै जेनजी आन्दोलनको नेतृत्व र उद्देश्य फेरि बहसको विषय बनेको छ ।

प्रधानमन्त्रीले जेनजी आन्दोलनका मृतकका परिवारलाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने भएकी छन् ।

प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौँ महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।

ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइते राईको मृत्यु

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गए राति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।

उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो । उनी उपचारकै क्रममा कोमामा थिए ।

जेनजी वार्ता टोलीको माग : अन्तरिम संविधान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नका लागि गठित जेनजी वार्ता समितिले अन्तरिम संविधान निर्माण गरेर कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जेनजी वार्ता टोलीका सदस्यहरुले सो माग अघि सारेका हुन् ।

वार्ता टोलीका एक सदस्य प्रवेश दाहालले राष्ट्रपतिसँग छलफल गरेर आन्दोलनको सेफ ल्यान्डिङ गर्न चाहेको बताएका छन् । यो संविधान आफूहरूले नमान्ने उनले बताएका छन् ।

उनले भने, ‘यो संविधान यो सरकारले खारेज गर्न सक्छ । अन्तरिम संविधान लेख्न सक्ने अधिकार यो सरकारलाई छ । आन्दोलनले राजा त फालेको थियो । प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्न कुनै रोकटोक हुँदैन । यो संविधानलाई मानेर सरकार बनेको होइन । यो संवैधानिक सरकार नै होइन । असंवैधानिक तरिकाले सरकार बनेको हो । अन्तरिम संविधान बनाएर भए पनि प्रत्यक्ष कार्यकारीको चुनाव गर्नुपर्छ ।’

राष्ट्रपतिसँग वार्ता गर्न जेनजीले बनायो समिति, को–को छन् सदस्य ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरुले वार्ता टोली बनाएका छन् । समितिमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठ छन् ।

वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख छ तर उनको हस्ताक्षर छैन । अरु तीन जना भने घाइते र शहीद परिवारका सदस्य रहने जनाइएको छ । वार्ताका लागि ६ बुँदो एजेन्डाहरु राखिएको छ ।

दोस्रो बुँदामा भनिएको छ, ‘आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरुद्वारा गरिएका, गराइएका तथा हुनसक्ने आक्रमणहरूबाट यथाशक्य सुरक्षा प्रदान गर्ने र राज्यका तर्फबाट भएका गैरन्यायिक हत्या लगायत अन्य मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धान गर्नका लागि एउटा स्वतन्त्र, निष्पक्ष र सक्षम अधिकार सम्पन्न आयोगको गठन गर्ने ।’

अनुसन्धानको आयोग बनाइँदा जेनजी प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने, अन्तरिम सरकारलाई वैधानिकता प्रदान गर्ने र संसद विघटनको निर्णयलाई स्वीकार गर्ने बताइएको छ । हालसम्म सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुको सम्पत्तिको छानबिनदेखि न्यायापालिकालाई स्वतन्त्र र सक्षम बनाउनेसम्मका माग छन् ।

छैटौं बुँदामा भनिएको छ, ‘आगामी र तत्पश्चात हुने आम निर्वाचनबाट चयन हुने कार्यकारी प्रमुख (प्रधानमन्त्री र मुख्यमन्त्री) को निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमार्फत गरिने व्यवस्था गर्ने ।’ प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावमा रक्षा बमको सहमति छैन । उनले अन्तरवार्ताहरुमा यो व्यवस्था नेपालका लागि उचित नहुने बताइरहेकी छन् । उनीबाहेक अन्य केही सदस्यहरु पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा नरहेको दावी गरिएको छ ।

जेनजी घाइतेलाई परिचयपत्र वितरण, १६ अस्पतालमा ‘क्लिनिक’ स्थापना

काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण थालिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण गरेका हुन् ।

गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ ।

घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।

यी अस्पतालमा छन् जेन–जी क्लिनिक
काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ ।

कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा जेनजी क्लिनिक स्थापना गरिएको छ । लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

जेनजीका नाममा विध्वंश गर्नेलाई आयोगका नाममा उन्मुक्ति दिइनु हुँदैन : भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले भदौं २४ गते जेनजीका नाममा लुटपाट, आगजनी र तोडफोड गर्ने व्यक्तिमाथि कारवाही गर्नका लागि प्रचलित कानून पर्याप्त रहेकाले आयोगको बहानामा उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ को घटनाको छानविन गरेर कारवाहीका लागि सिफारिस गर्न सक्ने तर २४ गतेको घटनामा आयोगले केही मद्दत गर्न नसक्ने प्रष्ट पारेका छन् ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ घतेको घटनाबारे छानविन गर्न गठित समितिले प्रतिवेदन नदिएसम्म कसैमाथि धरपकड नहुने भनेकोमा बरिष्ठ अधिवक्ता आचार्यले आपत्ति जनाएका हुन् ।

आचार्यले वक्तव्यमा भनेका छन्–आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही हदसम्म उपयोगी हुन सक्ला, तर २४ गतेको घटनाका लागि यसले केही मद्दत गर्न सक्दैन ।

आगो लगाउने, लुटपाट गर्ने जस्ता कार्यका लागि प्रचलित कानून नै पर्याप्त रहेकाले आयोगको बहाना बनाउनु ठीक भएन । आफ्ना केही स्वतन्त्रताको परित्याग गरि व्यक्ति राज्यको अधीनमा बस्न मञ्जुर गर्नु पछाडिको मुख्य कारण सुरक्षा नै हो । आफ्ना नागरिकको जीउ, ज्यान र सम्पत्तिको सुरक्षा राज्यको पहिलो दायित्व हो । यो राज्य बस्न लायक छ, अनूभूत हुनु पर्‍यो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न अस्वीकार गरेका आचार्यले आयोग गठनको कारण देखाएर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिइनु घटनालाई ढाकछोप गर्न खोजेको मानिने समेत बताएका छन् ।

जेनजी वार्ता टोलीमा आफ्नो नाम आएपछि रक्षाको आपत्ति : ‘रोटी सेक्ने’ अनुहार जन्मिनु गम्भीर

काठमाडौं । जेन–जी आन्दोलनकी अभियन्ता रक्षा बमले आफूलाई राष्ट्रपतिसँग वार्ता गर्ने टोलीमा एकतर्फी ढंगले समेटिएको भन्दै आपत्ति जनाएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै ८–९ सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनमा फरक–फरक समूहको सक्रियता सर्वविदित भए पनि त्यसकै आडमा ‘रोटी सेक्ने’ अनुहार र समूह जन्मिनु गम्भीर विषय भएको बताइन् ।

‘साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई एकतर्फी राखेर सार्वजनिक गर्नु नितान्त गलत हो,’ बमले भनेकी छन्, ‘त्यहाँ मेरो नाम हुनु तर हस्ताक्षर नहुनुले नै धेरै कुरा प्रष्ट पारिसकेको छ ।’ उनले वार्तामा सहभागी हुने टोलीबारे आफू अनभिज्ञ रहेको र त्यहाँ समावेश माग–मुद्दा पनि नपढेको उल्लेख गर्दै सो प्रक्रियामा ऐक्यबद्धता जनाउन नसक्ने बताएकी छन् ।

बमले जेन–जी आन्दोलनले सरकारलाई म्यान्डेट दिइसकेको स्मरण गराउँदै उक्त म्यान्डेटभन्दा बाहिर जाने प्रयत्न भए सडकबाट खबरदारी गर्ने चेतावनी समेत दिइन् । ‘वार्तामा जाने भनिएका साथीहरू सचेत हुनुहुन्छ भन्ने आशा छ । तर, यदि टोली गलत दिशातर्फ मोडिएको पाइएमा त्यसविरुद्ध आवाज उठाउन हामी प्रतिबद्ध छौँ,’ उनले भनेकी छन् ।

 

जेनजीलाई सुदन गुरुङको अपिल : हिंसा र कसैको घरलाई निशाना बनाउनु समाधान होइन

काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले जेनजी पुस्तालाई हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएकाले त्यसो नगर्न अपिल गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज आफू बसेको घरलाई निशाना बनाएको अभिव्यक्ति दिएपछि संयोजक गुरुङले कसैको घरलाई निशाना बनाउनु समस्याको समाधान भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ । तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन । यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठुलो क्षति पुर्‍याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन् ।’

उनले निर्वाचनको मिति तोकिएकाले त्यो नै आफूहरूको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको बताएका छन् । उनले भनेका छन्, ‘शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौं । हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन । निर्माणको हो, विनाशको होइन । सम्पूर्ण देशलाई देखाऔं कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ ।’ उनले सबैलाई शान्त र दृढ रहन समेत अपिल गरेका छन् ।

मन्त्री पुनलाई जेनजी घाइतेले भने–हामीले देशका लागि रगत बगाएका हौं, माग पूरा हुनुपर्छ

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् ।

मन्त्री पुनले आज (शनिबार) ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारको बारेमा गुनासो नगरेको बताए । उनले घाइतेहरुले आफ्ना मागहरु पूरा हुुनपर्नेमा चिन्ता व्यक्त गरेको बताएका छन् ।

आफूहरु देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरुले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन र भविष्यमा के हुन्छ भन्नै चिन्ता घाइतेहरुमा रहेको पाएको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने बताउँदै उनले राजनीतिमा कुनै पनि समयमा फरक स्थिति बनिदिने समेत बताएका छन् ।

उनले भने, ‘बिरामीहरुको माग मुद्दाहरु नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौं । हामीले देशका लागि रगत बगाएका हौं । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ । स्वास्थ्य उपचार राम्रो भएको छ । ठिकै छ । शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ । कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइँन । प्रत्यक्ष निर्वाचित भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो । अहिलेको आन्दोलन हो । माग सबैलाई थाहा छ । अहिले गर्न सकिँदैन भन्ने कुरा आइरहेको छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । घाइतेको देशका विभिन्न खस्पतालमा उपचार जारी रहेको हो । ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइतेमध्ये १ जना मात्रै आइसीयूमा रहेको र अरु खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताए ।
तस्वीरहरु

नेपालकै ‘जेनजी’ शैलीमा लद्दाखमा हिंसा भड्काएको आरोपमा सोनम वाङचुक पक्राउ

काठमाडौं । भारतको लद्दाखमा नेपालकै ‘जेनजी’ शैलीमा प्रदर्शन गर्ने समूहका नाइके सोनम वाङचुक पक्राउ परेका छन् । बुधबार लेहमा भएको हिंसात्मक प्रदर्शनपछि, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनम वाङचुकलाई उनको गाउँ उले तोक्पोबाट पक्राउ गरिएको हो ।

इन्जिनियर, नवप्रवर्तक, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनमले विगत एक वर्षदेखि विभिन्न अवसरमा लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै भोक हड्ताल र दिल्लीसम्म प्रदर्शन गराएका थिए । गत वर्षको मार्चमा, उनले लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै २१ दिने भोक हड्ताल गरे । अक्टोबर २०२४ मा, उनले सोही मागलाई दबाब दिन लद्दाखबाट दिल्लीसम्म पैदल यात्रा पनि गरे । उनले अमेरिका र युरोपबाट फन्ड ल्याएर भारतमा हिंसा भड्काएको आरोप लागेको छ ।

नेपालमा पनि सोही शैलीमा हामी नेपालका सुदन गुरुङले जेनजी आन्दोलनलाई भड्काउन उक्साएको आरोप लाग्ने गरेको छ । इन्जिनियर, नवप्रवर्तक, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनमले विगत एक वर्षदेखि विभिन्न अवसरमा लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै भोक हड्ताल र दिल्लीसम्म प्रदर्शन गराएका थिए ।

गत वर्षको मार्चमा, उनले लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै २१ दिने भोक हड्ताल गरे। अक्टोबर २०२४ मा, उनले सोही मागलाई दबाब दिन लद्दाखबाट दिल्लीसम्म पैदल यात्रा पनि गरे । उनले अमेरिका र युरोपबाट फन्ड ल्याएर भारतमा हिंसा भड्काएको आरोप लागेको छ । नेपालमा पनि सोही शैलीमा हामी नेपालका सुदन गुरुङले जेनजी आन्दोलनलाई भड्काउन उक्साएको आरोप लाग्ने गरेको छ ।

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणका लागि अर्थमन्त्रीको अध्यक्षतामा समिति

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२ गठन गरेको छ । मन्त्रालयले समितिको अध्यक्ष अर्थमन्त्री रहने गरी सहरी विकास मन्त्रालय मातहतमा राखेर समिति गठन गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरुको पुनर्निर्माणका लागि छुट्टै कोषको स्थापना गरेर स्रोत परिचालन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा अर्थमन्त्री अध्यक्ष र गृहमन्त्री, सहरी विकासमन्त्री, नेपाल सरकारको मुख्य सचिव गरी तीन सदस्य रहने र सहरी विकास मन्त्रालयको सचिव नै सदस्य सचिव हुने गरी समिति गठन गरिएको हो ।

समितिले कोष सञ्चालन, स्रोत परिचालन तथा सम्पूर्ण पुनर्निर्माणको कामहरु सहरी विकास मन्त्रालय अन्र्तगत रहेर गर्न सक्ने अख्तियारी दिएको हो । कोषमा नेपाल तीन तहकै सरकारले प्रदान गरेको रकम, स्वदेशी तथा विदेशी व्यक्तिले प्रदान गरेको रकम तथा वैदेशिक सहायताबाट प्राप्त रकम, व्यावसायिक प्रतिष्ठानले सामाजिक उत्तरदायित्वबापतको रकम वा अन्य कुनै स्रोतबाट प्राप्त भएको रकम राखिनेछ ।

यसरी सिधै कोषमा रकम राख्न पनि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेछ भने कोषमा रहेका रकम नेपाल राष्ट्र बैंक वा अन्य वाणिज्य बैंकहरुमा छुट्टै खाता खोलेर राख्नुपर्नेछ । कोष सञ्चालनका लागि समितिको सदस्य सचिव र सहरी विकास मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट आवश्यक पर्नेछ ।

आदेशमा कोषको रकम जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक वा सरकारी भौतिक संरचनाको पुनर्निर्माण वा मर्मत गर्न, आवश्यक फर्निचर, फिक्सचर्स तथा मेसिनरी औजार वा उपकरण खरिद गर्न प्रयोग गर्न सक्ने छन् । यस्तै आर्थिक पुनरुत्थान कार्यक्रम सञ्चालन तथा राहत र पुनस्र्थापनाका लागि पनि कोषको रकम खर्च पाउने व्यवस्था गरिएको छ ।

समितिले कुनै रकम प्राप्त गर्नुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने छ । कोषको खाता सञ्चालन समिति सदस्यसचिव र सहरी विकास मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
समिति आफूले गरेका कामको विवरण हेरेर त्रैमासमा नेपाल सरकारलाई बुझाउनुपर्ने छ । आदेश अनुसार यो समितिको अवधि एक वर्षको हुनेछ । सरकारले आवश्यक देखे उक्त समितिको अवधि ६ महिना थप गर्न सक्ने व्यवस्था आदेशमा छ । तर, समितिको अवधि सकिएपछि भने स्वतः विघटन हुनेछ । समिति विघटन हुँदा कोषमा कायम रहेको रकम संघीय सञ्चित कोषमा जाने आदेशमा उल्लेख छ ।

झलनाथ पत्नी रविलक्ष्मीलाई एयर एम्बुलेन्समार्फत लगियो भारत

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरसँगै जल्दा गम्भीर घाइते भएकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा पूर्ण सुधार नभएपछि चित्रकारलाई थप उपचारको लागि सोमबार राति नौ बजे भारत लगिएको एकीकृत समाजवादीकी नेतृ आरती लामाले जानकारी दिइन् ।

पत्नीको उपचारको लागि नेता खनाल आफै भारत गएका छन् । चित्रकारको अपोलो अस्पतालमा थप उपचार हुनेछ । ‘हिजो दिउँसै उहाँलाई लैजाने तयारी थियो,’ लामाले सुनाइन्, ‘तर, पासपोर्टसहितका डकुमेन्ट पनि आगोमा जलेका थिए । त्यसको प्रोसेसको लागि हिजो दिनभरि थप बस्नु पर्‍यो । राति मात्रै उहाँहरू उता जानु भएको हो ।’

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो । भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन् । बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो । तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो । ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् ।

कहाँ गए गण्डकीका फरार ४६१ कैदीबन्दी ?

गण्डकी । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा सात सय ३४ कैदीबन्दी कारागार फर्किएका छन् । चार सय ६१ कैदीबन्दी अझै फरार अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये तीन सय ८१, तनहुँ कारागारबाट भागेका तीन सय २७ मध्ये दुई सय ७६, म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ६७ जना र पर्वत कारागारबाट भागेका १९ मध्ये १० जना कैदीबन्दी कारागार फर्किएका हुन् । कास्की कारागारबाट भागेका तीन सय ९२, तनहुँ कारागारका ५१, म्याग्दी र पवर्त कारागारका नौ÷नौ जना अझै पक्राउ पर्न नसकेको सूचना अधिकारी कार्कीले बताए ।

कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको उनको भनाइ छ । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । ‘जेनजी’ आन्दोलनका क्रममा चारवटै कारागारमा रहेका कुल १२ सय ८१ कैदीबन्दीमध्ये ११ सय ९५ जना भागेका थिए । प्रदेशका अन्य केही कारागार कार्यालयबाट पनि कैदीबन्दी भाग्न खोजेपनि कडा सुरक्षा व्यवस्थाका कारण उनीहरु भाग्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । यस्तै कास्कीको सराङकोटमा रहेको बाल सुधारगृहबाट भागेका एक सय छ जना बाल बन्दीमध्ये ४६ जना सुधार गृहमा फर्किएको जनाइएको छ । कारागार र प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई आफै कारागार फर्कन सुरुदेखि नै आग्रह गरेका छन् ।

टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी वा थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको सूचना अधिकारी बस्नेतले बताए । कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरुलाई फर्काउने योजना बनाएको छ ।

जेनजी आन्दोलनले ध्वस्त पारेको निजी क्षेत्र, अर्बौँ लगानीका संरचनादेखि व्यवसायीक घरानाहरूमा तोडफोड

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले निजी क्षेत्रमा ठुलो धक्का लागेको छ । आन्दोलनबाट निजी क्षेत्रको संरचनादेखि व्यवसायी घरानामा पनि आक्रमण भएको छ । निजी क्षेत्रमा आन्दोलनबाट भएको क्षति पूरा विवरण समेत आउन सकेको छैन । उद्योग वाणिज्य महासङ्घले जिल्लाभरिबाट निजी क्षेत्रमा भएको विवरण सङ्कलन गरिरहेको छ ।

असोज ५ गतेसम्म बिमा कम्पनीहरूमा २२ अर्ब २५ करोडको क्षति दाबी भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ । तर, अझै कयौँ स्थानहरूमा क्षतिको विवरण नै सङ्कलन गर्न सकिएको छैन । जेनजी आन्दोलनले व्यापार व्यवसायमा ठुलो क्षति पुर्‍ याएको छ ।

आन्दोलनका क्रममा निजी क्षेत्रका संरचनादेखि व्यक्तिगत घरसम्म तोडफोड र आगजनी गरिएको छ । नेपालको प्रतिष्ठित व्यापारिक घराना शङ्कर समूहको साढे ८ अर्ब लगानी रहेको हिल्टन होटल तोडफोड र आगजनीबाट पूर्णरुपमा ध्वस्त पारिएको छ । काठमाडौंको बिचमा रहेको अन्तर्राष्ट्रिय चेन होटल आगजनीका साथै त्यस दिन देशभरका दुई दर्जन होटलहरुमा तोडफोड तथा आगजनी गरिएको । जसको प्रारम्भिक क्षति करिब २५ अर्ब बढीको निकालिएको छ । काठमाडौं उपत्यकाबाहेक पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्ड चेनमा खुलेका होटलमा तोडफोड, आगजनी, लुटपाट गरिएको छ ।

नेपालका ठुला व्यवसायी उपेन्द्र महतोको निजी आवासमा समेत लुटपाट तथा तोडफोड र आगजनी गरिएको छ । यसका साथै अर्का ठुला व्यवसायी पवन गोल्यानको बानेश्वर हाइटमा रहेको गोल्यान टावरमा पनि तोडफोड र आगजनी गरिएको छ । नेपालका अर्ब पति तथा सांसद विनोद चौधरीको घर र व्यवसायमा आगजनी तथा तोडफोड गरिएको छ । काठमाडौंको सतुंगत स्थित चौधरी ग्रुुपको ’सिजी इलेक्ट्रोनिक्स डिजिटल पार्क’ पूर्ण ध्वस्त बनेको छ । जहाँ सिजी, एलजीलगायत ब्रान्डका सामानहरू उत्पादन हुँदै आएको थियो । यसका साथै सिजीको थापाथली र रवि भवनमा रहेको गाडी शोरुममा समेत आगजनी गरिएको छ ।

काठमाडौंको थापाथली मै रहेको टाटा मोटर्स, सुजुकी र हुण्डाईको शोरुमहरुमा समेत तोडफोड र आगजनी गरिएको छ । जहाँ अर्बैको क्षति भएको आकलन गरिएको छ । यद्यपि आधिकारिक क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।काठमाडौंको लयनचौंर स्थित अर्बौँको लगानी रहेको टेलिकम कम्पनी एनसेलको मुख्य कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ । आन्दोलनका क्रममा एनसेलको मुख्य कार्यालयमा आक्रमण भएको थियो ।

नेपालका अर्का व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष शेखर गोल्छाको निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको छ । सितापाइला स्थित गोल्छाको घर तोडफोड तथा आगजनी गरिएको थियो । गोल्छाले आफ्नो ब्यत्तिगत घरमा भएको क्षतिको कुनै हिसाब नहुने बताएका छन् । उनले आफ्नो दुःख सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

नेपालका अर्का चर्चित व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको चन्द्रागिरि केबुलकार र मौलाकाली केबुलकारको कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।
व्यवसायी तथा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको ब्यत्तिगत घर र गाडीको शेरुममा समेत आगजनी तथा तोडफोड गरिएको छ । पोखरामा रहेको थापाको घरमा आगजनी गर्दा घर पूर्णरुपमा नष्ट भएको छ । यसका साथै उनको गाडीको शेरुममा पनि आगजनी र तोडफोड गरिएको छ । अहिले थापा घरबिहिन भएका छन् ।

नेपालभर ठुलो सुपर मार्केटको सञ्जाल रहेको भाटभटेनीमा आगजनी, तोडफोड, चोरी तथा लुटपाट भएको छ । भटभटेनीकै विभिन्न १२ वटा ब्रान्चहरू पूर्ण रूपमा नष्ट भएको भाटभटेनीले जनाएको छ । अर्बैको क्षति भएको आकलन गरिएको भाटभटेनीमा अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ । थापाथली स्थित सेन्ट्रल बिजनेस पार्क, तीनकुने स्थित कान्तिपुर कम्प्लेक्स र विभिन्न स्थानमा रहेका ठुला व्यापारीक संरचनाहरूमा आगजनी र लुटपाट गरेको छ । जहाँ अर्बैको क्षति भएको आकालन गरिएको छ ।

जेनजी आन्दोलनमा दमन : जाँचबुझ आयोगको अध्यक्षमा गौरीबहादुर कार्की

काठमाडौं । सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आज (आइतबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका जानकारी दिए । आयोगको कार्यावधि तीन महिना रहेको उनले जानकारी दिएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । पदभार सम्हालेकै दिन प्रधानमन्त्री सुशीला कार्कीले सरकारी-सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् ।

यसअघि बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । तर, कसको नेतृत्वमा कसरी आयोग गठन गर्ने भन्नेबारे यकिन भएको थिएन । पदभार सम्हालेकै दिन कार्कीले सरकारी÷सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् । सो प्रदर्शनका क्रममा ७४ जनाको मृत्यु भएको छ ।

 

जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति

काठमाडौं । भर्खरै भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति भएको छ । आज (आइतबार) निजी क्षेत्रका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै करिव ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी गराएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनबाट ठूलो जनधनको क्षति भएको भन्दै घुसपैठ गर्नेलाई काराबाहीको माग गरे । महासंघका अध्यक्ष ढकालले महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको बताए । अध्यक्ष ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्नसक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरे ।

युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति व्यहोरेको हुँदा दोषी माथि कारवाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारबाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भइ निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराए । छलफलमा अध्यक्ष ढकालले २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको तर न्युन तयारीकै अवस्थामा भएको यस क्षतिले समस्या उत्पन्न हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यस्तै समस्या भोगेको बंगलादेशले विशेष गरी व्यापार सुविधाबाट वञ्चित हुने हुँदा स्तरोन्नतिको निर्णय पर सार्न खोजिरहेको छ । नेपालले पनि अहिले नै स्तरोन्नतिको निर्णय स्थगत गर्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गर्नुपर्ने महासंघको सुझाव छ। कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जाको आवश्यकताका साथै बजेट पुनरावलोकन गरी अनावश्यक शिर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिने महासंघको सुझाव छ ।

छलफलका क्रममा चालु पुँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनःकर्जा, ब्याज अनुदान लगायतका वित्तीय सहुलियत तत्काल दिन सकिने तर्फ व्यवसायीहरुले प्रधानमन्त्री कार्किको ध्यानाकर्षण गराएका थिए । अर्थतन्त्रको पुर्ननिर्माण नव निर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । निजी क्षेत्रका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले आर्थिक प्याकेज ल्याएर निजी क्षेत्रलाई अघि बढ्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

सुदन गुरुङलाई घाइते जेनजीको चेतावनी : आन्दोलनको लिडर हुँ भन्दै नहिँड्नू

काठमाडौं । जेन–जी आन्दोलनका घाइतेले ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन् । आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउन गएका घाइतेहरूले आक्रोशित हुँदै सुदनलाई यस्तो चेतावनी दिएका हुन् ।

बिहानै गृहमन्त्री अर्याल भेट्न सिंहदरबारको गेटमा पुगेका घाइतेहरूले प्रवेश गर्न नदिएपछि धर्नामा बसेका थिए । त्यसपछि त्यहाँबाट उनलाई प्रहरीले गाडीमा राखेर गृह मन्त्रालय पुर्‍याएको थियो । गृह मन्त्रालय पुगिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घाइतेहरूले सुदन, एमाले नेता महेश बस्नेत र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखेका छन् ।

गृहमन्त्रीलाई ज्ञापनपत्र
जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापनपत्र बुझाएका हुन् । यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

को थिए जेनजी आन्दोलनमा देखिएका नकाबधारी ? के भन्छ प्रहरी ? (भिडियो सहित)

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा देखिएका कालो नकाबधारी युवाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल मात्र भएको चासो उनी को थिए भनेर खोजी समेत भइरहेको छ । अहिले सामाजिक सञ्जालहरुमा जेनजी आन्दोलनमा घुसपैठ भएको चर्चा र आशंका गर्दै नकावधारी युवाको तस्वीर र भिडिओ क्लिप निकै भाइरल छ । कमब्याट पोशाक र अनुहारमा मास्क लगाएका एक युवक आन्दोलनकारीको बीचमा देखिएका छन् ।

वाकिटकी समेत बोकेका यी युवक को हुन् भन्ने अहिले सर्वत्र चासो देखिएको छ । युवकको छेवैमा ‘हामी नेपाल’ टीमको ज्याकेट लगाएका युवक पनि देखिएका छन् । त्यसैले कतिपयले ‘हामी नेपाल’ को प्रतिनिधि हुन सक्ने भनिरहेका छन् त कसैले उक्त संस्थाका संस्थापक सुदन गुरुङ नै पो हुन् कि भनेर पनि लख काटेका छन् ।

सुदन गुरुङले भने यी सबै हल्ला र अफवाह मात्रै भएको बताएका छन् । उनले ती युवक आफ्नो संस्था स्वयंमसेवक जेनिस महर्जन भएको बताए । ‘जेनिस महर्जन भाइ १३ वर्षदेखि हामी नेपालसँग जोडिएको थियो । ऊ जाजरकोट भूकम्पको बेलादेखि यो संस्थामा छ,’ सुधनले भने, ‘त्यो भाइले भूकम्पकै बेला आर्मीबाट कमब्याट गिफ्ट पाएको थियो । उसले कमब्याट धेरै मन पराएपछि आर्मीले ‘ल लैजाऊ’ भनेर गिफ्ट दिएको हो ।’

सुधनका अनुसार अहिले जेनिसले लगाएको त्यही कमब्याट हो । वाकिटकी चाहिँ भिडमा राम्रोसँग सञ्चार गर्नका लागि बोकेको सुधनले बताएका छन् । उनले भने, ‘त्यस्तो भिडमा जोसुकैलाई जे पनि हुन सक्थ्यो । हामीले छेवैमा मेडिकल टीम राखेका थियौं । घाइतेहरूलाई मेडिकल टीमसम्म पुर्‍याउनलाई वाकीटकी प्रयोग गरेका थियौं ।’

हामी नेपाल र आफूहरूलाई जताततैबाट सुरक्षा थ्रेट आइरहेकाले जेनिसले मास्क लगाएको सुदनले दाबी गरे । अरुले नचिनुन् भनेर उनले त्यस्तो मास्क लगाएको उनको भनाइ छ । हामी नेपालको तर्फबाट त्यसरी कमब्याट लगाउने र वाकीटकी बोक्ने व्यक्ति जेनिसमात्रै भएको सुधनले बताए ।

उनले भने, ‘पार्टीका झोलेहरूले हामीलाई बदनाम गराउनलाई अनेक गरिरहेका छन् !’ वाकीटकी बोकेको, कमब्याट लगाएको भिडिओ व्यापक भएपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आईटी टीम र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको एक टोलीले अनुसन्धान गरिरहेका छन् । सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार पनि ती व्यक्ति आन्दोलनकारी पक्षकै हुन् भन्नेमा कुनै सन्देह छैन ।

उपत्यका प्रहरीबाट अनुसन्धानरत एक अधिकृतले ती व्यक्ति सुधन गुरुङसँग निकट रहेको र सञ्चार सेट बोकेको कुरासम्म गुरुङ पक्षले स्वीकार गरेको बताए । तर, सञ्चार सेट सञ्चालनका लागि उनीहरूले अनुमति नलिएको उनले उल्लेख गरे । कानूनतः सञ्चार सेट सञ्चालनका लागि नजिकैको प्रहरी कार्यालयबाट मुचुल्का उठाएर सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमतिबेगर सञ्चार सेट बोक्न नपाइने उपत्यका प्रहरीका ती अधिकृतले बताएका छन् ।

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न आयोग बनाउने सरकारको तयारी

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ । सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका गतिविधि छानबिन गर्न आयोग बनाउने सैद्धान्तिक सहमति गरेको थियो ।

आज साँझसम्म बस्ने मन्त्रिपरिषद बैठकले छानबिन आयोग गठन गर्न सक्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । कसको नेतृत्वमा उक्त समिति गठन हुन्छ भन्ने यकिन भइसकेको छैन । पूर्व न्यायाधीश कसैको नेतृत्वमा आयोग बनाउने तयारी छ । मन्त्रिपरिषद् स्रोतका अनुसार, विशेष अदालतका पूर्व अध्यक्ष (उच्च अदालतका पूर्व न्यायाधीश) गौरीबहादुर कार्कीको नाम अग्रपंक्तिमा छ । त्यस्तै सर्वोच्चकै पूर्व न्यायाधीश बलराम केसीको नाम पनि बालुवाटारको छलफलमा छ।

तर, स्वयं पूर्व प्रधानन्यायाधीश कार्कीले भने आफूलाई भन्दा सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरू बलराम केसी, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईमध्ये एक जनाको नेतृत्वमा यस्तो आयोग बनाउन उचित हुने सुझाव दिएका छन्।कार्की विशेष अदालतमा बसेका एक निर्भीक र निष्ठावान् न्यायाधीशमा गनिन्छन् । उनले धेरै भ्रष्टाचार मुद्दाको फैसला पनि गरेका छन् । त्यसैले उनले आन्दोलन दमनका विषयमा भन्दा भ्रष्टाचारसम्बन्धी जाँचबुझ आयोगको जिम्मेवारी पाए उचित हुने सन्देश बालुवाटारमा पठाएका छन् ।

भदौ २३ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो । अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ । भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबारलगायत सरकारी कार्यालय, नेताका निजी घरलगायतमा आगजनी भएको थियो । यी सबै घटना छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको तयारी छ । जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।

 

 

जेनजी आन्दोलनको मौकामा रातोपुलमा लुटपाट गर्नेहरु पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर लुटपाट गर्नेहरूमाथि प्रहरीले अपरेसन थालेको छ । काठमाडौंको रातोपुलस्थित एक घरमा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ घर भई काठमाडौं रातोपुल बस्दै आएका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर भएका १८ वर्षीय नयुन श्रेष्ठ र हेटौंडा–५ घर भई रातोपुल बस्ने १८ वर्षीय अगम प्रजा छन् । तीनै जनामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार २४ गते भएको उक्त घटनामा संलग्नहरू शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा डेरा खानतलासी गर्दा उनीहरूले लुटेर लगेको सामान बरामद भएको हो । उनीहरूबाट चोरिएका कपडा, मूर्तिहरू, सुनचाँदीलगायतका दर्जनौं सामान बरामद गरिएको छ ।

जेनजी आन्दोलनका शहीद परिवार र घाइते भन्छन्–रगतमाथि खेलबाड नहोस्

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरुले आफूहरुको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरु आफैंले कसैलाई सत्तामा पुर्‍याउन भन्दा पनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यको लागि बलिदान गरेको बताएका छन् ।

आज (शनिबार) संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरुले कसैलाई कुर्सीमा पुर्‍याउनको लागि आन्दोलन नगरेको स्पष्ट पारे । उनले सरकारले शहीद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्ययोजना बनाउनु पर्ने माग समेत गरे। अहिले सरकारले दिएको सहयोग पर्याप्त नहुने समेत बताए ।

त्यस्तै घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरु त्रासको वातावरणमा रहेको बताएका छन् । उनले घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरुको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरु पनि सडकमा निस्किन बाध्य हुने चेतावनी समेत दिइन् ।

घाइते आफन्त सरस्वती रावलले घाइतेहरुले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् । कार्यक्रममा पूर्णबहादुर भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफूहरुको समर्थन रहेको बताउँदै बलिदान खेर जाने अवस्था आउन नदिन सबै लाग्नुपर्ने बताए ।

जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताको लागि आफूहरुले रगत बगाएको, विज्ञहरुको मन्त्रिपरिषद्, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्य निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग रहेको बताइन् । आफूहरुका माग पूरा नभए आन्दोलन जारी रहने चेतावनी समेत दिइन् ।

कार्यक्रममा जेनजी आन्दोलनका अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न भएको थियो भने । देशको बनाउन जन्मेका युवा भएको बताउँदै आफूहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले ताकीताकी गोली चलाएको बताए ।

सरकारले गोली हान्ने आदेश नदिएको भन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईमा रावलले भने, ‘सरकारले गोली हान्ने आदेश दिएको होइन कसले गोली हानेको हो ? छानबिन गर्नुपर्छ ।’ उनले भ्रष्टाचार, कुशासनकोविरुद्ध शान्तिपूर्णरुपमा विरोध प्रदर्शनमा उत्रिएको बताए ।

रावलले प्रत्यक्ष कार्यकारी निर्वाचित शासकीय स्वरुप हुनुपर्ने बताउँदै त्यसको लागि संविधान संशोधन गरेरै भएपनि जनताबाट निर्वाचित प्रधानमन्त्रीको चुनाव हुनुपर्ने बताए । उनले सहिद र घाइतेको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताए । घाइते पत्रकार प्रेमराज राईका दाइ पत्रकार चन्द्र ओमबुलेले घाइते पत्रकारलाई पनि वेवास्ता गरिएकोप्रति रोष व्यक्त गरे ।

 

जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टि : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज  टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित मूल समारोहमा उनले संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमी कमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएकाले पनि यो आन्दोलनको जन्म भएको कुरालाई स्वीकार गर्नुपर्ने उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो ।’
जेनजी पुस्ताको आन्दोलन राज्यका तर्फबाट व्यक्त गरिएको प्रतिबद्धताअनुसारको संघीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य, सुशासनलगायतका लोकतान्त्रिक मूल्यमान्यतामा खरो उत्रन नसक्नुको परिणाम पनि भएको उनको भनाइ थियो ।
युवापुस्ताले उठाएका रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता सवाल यथार्थमा नै सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय ‘एजेन्डा’ भएको उल्लेख गरिन् । यी एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षाबमोजिम काम गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
‘पछिल्लो आन्दोलनले हामीलाई धेरै क्षेत्रमा सुधार गर्न मार्गनिर्देश गरेको छ । युवापुस्ता आफू शासकीय प्रणालीमा सहभागी हुन चाहन्छ । विकसित देशका सफल शासकीय अभ्यासलाई आफ्नो मुलुकमा देख्न चाहन्छ । नीतिगत तहमा आफ्ना विचार प्रतिविम्बित भएको हेर्न चाहन्छ”, उहाँले भन्नुभयो, “यसर्थ, संविधान दिवसको यस अवसरमा म यो सरकारले युवा, महिला, बालबालिका, फरक क्षमता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेसी, थारू, पछाडि परेको वर्ग, समुदाय र सबै पुस्ताको भावना र अपेक्षालाई सम्बोधन गर्न दृढ सङ्कल्पका साथ निरन्तर काम गर्दै जाने विश्वास दिलाउन चाहन्छु ।’
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने एवं व्यावसायिक प्रतिष्ठानमा पुग्न गएको क्षतिबाट देशलाई माथि उठाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विकासको संवाहकका रूपमा रहेको निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।
यस सन्दर्भमा, क्षतिको पुनर्निर्माण र विकासको महाअभियानमा सहभागी हुन उहाँले सम्पूर्ण युवापुस्ता, राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, निजी क्षेत्र, विकास साझेदारहरू र आमनागरिकलाई आह्वान गरिन् । प्रधानमन्त्री कार्कीले शासकीय शैलीप्रति जनताका असंख्य गुनासा, आक्रोश र असन्तुष्टिहरू रहेको उल्लेख गर्दै ती असन्तुष्टिलाई एकैचोटि सम्बोधन गर्न कठिन भए तापनि वर्तमान सरकारले आफ्नो स्रोतसाधन र क्षमताले भ्याएसम्म ती समस्याको समाधान गर्न इमानदार प्रयास गर्ने विश्वास दिलाउनुभयो । वर्तमान सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिबद्धता व्यक्त गर्दै नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत रहनु हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गरिन् ।
नेपाली जनताले चुनेका प्रतिनिधिमार्फत संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा उत्साहपूर्वक मनाइएको बताउँदै प्रधानमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले एक दशक पूरा गरेको यस गौरवपूर्ण घडीमा सम्पूर्ण नेपाली जनतामा शुभकामना व्यक्त गरिन् । ‘नेपालको वर्तमान संविधान नेपाली जनताले पटकपटक गरेका जनआन्दोलन, सङ्घर्ष, त्याग र बलिदानबाट निर्माण भएकाले यो नेपाल र नेपालीको भाग्य, भविष्य र आकाङ्क्षालाई प्रतिविम्बित गर्ने मार्गदशक दस्तावेज हो’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता आधारभूत विशेषता अँगालेको नेपालको संविधान जारी भएको दिन हामी सबै नेपालीले गौरव गर्ने दिन पनि हो ।’
संविधान दिवस केवल उत्सव मात्र होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिन पनि भएको बताउँदै उनले यो संविधान कार्यान्वयनमा आएको विगत एक दशकको अवधिमा संविधानले मार्गदर्शन गरेको यात्रामा के हासिल गर्‍यौँ, के गर्न सकेनौँ, यसबीचमा के–कस्ता कमी कमजोरी रहे र आगामी दिनमा के–कस्तो कार्यदिशा आवश्यक छ भन्ने सवालहरूको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने स्थिति रहेको उल्लेख गरिन् ।
‘संविधानले संघ, प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँट, जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा तथा स्थानीय नेतृत्वलाई सशक्त बनाउने आधार प्रदान गरेको छ । तथापि, सेवा प्रवाहमा समान पहुँच, पारदर्शिता, सुशासन, भ्रष्टाचारको अन्त्य, साधनस्रोत र प्रविधिको उच्चतम उपयोग, सार्वजनिक सेवाको लागतमा प्रभावकारिता, प्रतिफल सुनिश्चित हुने गरी विकास व्यवस्थापनजस्ता विषयहरू तीनै तहका सरकारका लागि साझा चुनौतीका रूपमा रहेका छन्’, उनले भनिन्, ‘यी चुनौतीहरू सामना गर्न सरकार मात्र होइन, निजी क्षेत्र, नागरिक समाज, सामुदायिक तथा गैरसरकारी क्षेत्र, नेपालको समृद्धि र विकासमा हातेमालो गर्ने अन्तर्राष्ट्रिय समुदाय र प्रत्येक नागरिकको भूमिका अपरिहार्य हुन्छ ।’
प्रधानमन्त्री कार्कीले आफूहरु कुनै शासकीय आकांक्षा बोकेर, कुनै पदको लालचा लिएर प्रधानमन्त्री नभएको बताउँदै देश संकटमा रहेको बेला परिवर्तनकामी युवापुस्ताको अनुरोध समेतका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचनमार्फत जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी अन्तरिम सरकारको प्रधानमन्त्री भएको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा निर्माण भएको नेपालको संविधानले विश्वलाई ‘नेपाली जनता आफ्नो भाग्य आफै कोर्न सक्षम छन्’ भन्ने सन्देश दिएको बताइन् । ‘अहिले हामीले संविधानमा परिवर्तनभन्दा पनि संविधानको मर्म र भावनाबमोजिमको कर्मको अझ बढी अपेक्षा गरेका छौँ’, उनले भनिन्, ‘त्यसका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो एवं भयरहित वातावरणमा सम्पन्न गरी युवापुस्तालगायत सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सिर्जना गर्नुपर्ने आवश्यकता छ ।’
उनले संविधान दिवसका अवसरमा विगतका जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा जीवनको आहुति दिने सबै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिन् । साथै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा घाइते व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्ति र औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा हुन गएको अकल्पनीय र अपूरणीय क्षतिप्रति दुःख व्यक्त गरिन् ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायत उपस्थित थिए ।

घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीले गुमाइन् एउटा हात

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा घरमा आगजनी हुँदा जलेर घाइते भएकी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारले एउटा हात गुमाएकी छन् । भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगो लगाएका थिए । घरसँगै जलेकी उनको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको देब्रे हात काटिएको खनालले जानकारी दिए । ‘हिजो बुधबार एउटा अप्रेसन भयो । संक्रमण बढ्न थाल्यो भनेर चिकित्सकले अप्रेसन गर्नुपर्छ भन्नुभयो । हामीले अप्रेसन गर्ने अनुमति दियौँ,’ उनले भने, ‘डाक्टरले मेडमको देब्र ेहात काटे । देब्रे हात चाहिँ कुहिनोदेखि तल फाल्यो । उनी पहिलो पटक अपांग भइन् ।’

उनले आज फेरि निमोनियाको संक्रमण पनि देखिएको जानकारी पाएको बताएका छन् । ‘आज निमोनिया देखा पर्‍यो रे । यसले के गर्ने हो ? यसलाई केही गर्न सकिने हो कि होइन रनभुल्ल परिरहेको छु’ उनले थप भने । ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको भनेर चिकित्सकले भनेको खनाल बताउँछन् । ‘भन्न त १७ प्रतिशत जलेको भनेको छ । के–के हुने हो ख्वै !’ खनालले भने, ‘उनी बोल्न सक्ने अवस्थामा छैनन् । बोल्न खोजेझैं लाग्छ, आवाज आएझैं लाग्छ तर बोली बुझिँदैन ।’

जेनजी प्रदर्शनमा दिनेशको मृत्यु भएपछि विचल्लीमा परिवार

झापा । झापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा शहीद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा गत भदौ २७ गते बिहान उनको निधन भयो ।

पौरखी र मिलनसार स्वभावका उनी दुई वर्ष खाडी मुलुक कतारमा बसेर स्वदेश फर्किएका थिए । स्वदेशमा केही उद्यम गर्ने सोचका साथ उनले परिवारको जीविकोपार्जनका लागि मासु पसल सञ्चालन गर्न थालेका थिए । उनकी पत्नी जान्ती राजवंशीले आयआर्जनका लागि दैनिक ज्यालादारी काम गर्छिन् ।

दिनेशको पाँच वर्षीय एक छोरा रिदम र एक वर्षीया छोरी दिपीका अहिले पनि बुबा घर आउनुहोला भनेर बाटो कुरिरहेका छन् । उनकी ३० वर्षीया पत्नी जान्ती र ५५ वर्षीया आमा सपना राजवंशीको आँखाबाट आँशु ओभाएका छैनन् । बुबा मङ्गलु राजवंशीको तीन वर्षअघि निधन भइसकेको छ ।

जेनजी प्रदर्शनमा दिनेशले सहादत प्राप्त गरेपछि उनीमाथि आश्रित परिवार आर्थिक रूपमा कमजोर बन्दै गएपछि परिवारको विचल्ली हुने हो कि भन्ने चिन्ता लागेको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए । ‘विदेश गएर कमाएको पैसाले घर चल्दै आएको थियो’, उनले भने, ‘देशभित्र रोजगारी नपाएपछि फेरि रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो उहाँ । साना नानीहरू र परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने ?’

दिनेशको सानो कच्ची घरमा दाजु र भाउजुसहितको संयुक्त परिवार बसोबास गर्दै आएको छ । उनको निधनपछि छोराछोरी र आमाको पालनपोषण कसरी गर्ने भनेर चिन्ता थपिएको दिनेशकी पत्नी जान्तीले बताइन् । ‘घरमा साना छोराछोरी छन्, तिनीहरूलाई हुर्काउने, पालनपोषण गर्ने र पढाउनका लागि कमाएर ल्याउने जिम्मेवारी मेरो काँधमा आएको छ’, उनले भनिन्, ‘वृद्ध सासुआमा हुनुहुन्छ । घरको कमाएर ल्याउने मान्छे नरहेपछि अब कसरी बाँच्नु ।’

मासु बिक्रीको सानो पसल चलाउँदै आएका दिनेश देशभित्र रोजगारीको अवसर नदेखेर रोमानिया जाने तयारी गर्दै थिए । उनको निधनपछि परिवारको गर्जो कसरी टार्ने भनेर दिनेशको परिवारमा चिन्ता थपिएको छ । एसएलसीसम्म अध्ययन गरेका दिनेश परिवारका आशा र भरोसा थिए । ‘मैले आर्थिक अवस्था कमजोर भएकै कारण धेरै पढ्न नसके पनि आधा गाँस नखाएरै छोराछोरीलाई धेरै पढाउँछु भन्नु हुन्थ्यो’, दिनेशकी पत्नी जान्तीले भनिन्, ‘उहाँको सपना अब अधुरै रह्यो ।’

गत भदौ २४ गते विर्तामोडमा भएको जेनजी प्रदर्शनमा दिनेश घाइते भएको खबर सुन्ने बित्तिकै जान्ती बिएण्डसी हस्पिटल पुगेकी थिइन् । जहाँ दिनेश जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका थिए । घाइते भएको तीन दिनमा उनको निधन भयो । हाल दिनेशको काजकिरिया उनको दाजु गोवद्र्धन राजवंशीले गरिरहेका छन् । रोजगारीको सिलसिलामा विदेशमा रहेका उनी भाइको निधन भएको खबर सुनेर स्वदेश आएका हुन् । भाइले मुलुकमा परिवर्तनका लागि जीवन दिएकाले छोरा रिदम र छोरी दिपीकालाई उच्च शिक्षासम्मको अध्ययन गर्ने वातावरण सरकारले बनाउनुपर्ने गोवद्र्धनको माग छ । उनले भने, ‘परिवारको निर्वाह र सन्तानको शिक्षादीक्षाको जिम्मा राज्यले लिनुपर्छ ।’

 

कालिकाका मेयर रेग्मी भन्छन्–दुई वर्षको छोरो च्यापी धानबारीमा लुकेर बचें

चितवन । जेनजीको प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निशानामा परे । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । गाउँ टोलमै रही जनताको सेवा गरिरहेका जनप्रतिनिधिहरूमाथि अमानवीय ढङ्गबाट आक्रमण गर्ने प्रयास भएकामा दुःख व्यक्त गरिएको छ ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेष गरी जनप्रतिनिधिहरूको घर–परिवारमाथि समेत आक्रमण गर्नेक्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउँछन् । प्रमुख रेग्मीले भने, ‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भइयो । हामी भागेपछि एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोडमा उत्रिए । सक्ने जति फोरेर उनीहरू फर्किए ।’

दूधे बालकलाई लिएर धानबारीमा कतिबेर बस्ने ? कहिले जान्छन्, फेरि के हुन्छ भन्ने भएपछि छोरालाई छिमेकीको घरमा छोडेर पुनः आफू धानबारीमा गई बसेको उनले बताएका छन् । पुनः आक्रमणकारी आएर घरमा थप क्षति गरेको उनले बताए । आक्रमणका क्रममा केही साथीहरूले मेरो घर जोगाउन कोशिस गरेको बताउँदै उनले भने, ‘छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भिड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सीडीओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेको जस्तो परिस्थिति भयो ।’

घटना विवरण सुनाउँदै प्रमुख रेग्मीले भने, ‘शुरुमा वडा कार्यालयहरू हान्ने, जनप्रतिनिधिलाई मार्ने, काट्ने भन्ने ‘म्यासेज’हरू आए । तँ भाग, यसो गर, उसो गर भन्ने ‘म्यासेज’ आए ।’ सल्लाह र छलफल गर्न सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन नसकेको भन्दै उनले भने, ‘परिस्थितिले च्याप्दै–च्याप्दै ल्यायो । केही समयभित्र घटना हुँदैछ, नगरपालिका हान्दैछन्, वडा कार्यालय हान्दैछन् भन्दाभन्दै हान्न थालिहाले । सोधौँ कसलाई सोधौँ, भेटौँ कसलाई भेटौँ । अत्यन्त अप्ठ्यारो स्थितिको सामना गर्न बाध्य भयौँ ।’

ठूलो संख्यामा मानिसहरू हातमा खुँडा, खुकुरी, भाला बोकी भय र त्रासको वातावरण सिर्जना गर्ने प्रयास भएको नगर प्रमुख रेग्मीले बताएका छन् । उनले भने, ‘एउटा बाढी नै आएको अवस्था भयो । घरमा हेर्दा के कुरा जोगाउने भन्ने भयो । के लिएर जाने, कहाँ जाने ? कसले आश्रय दिन्छ त्यो बेलामा । दुई–चार ठाउँमा फोन गरेँ, जिउज्यानका खतरा भएकाले बाहिर हिँड्ने उपयुक्त समय नभएको सुझाव आयो, विलखबन्दमा परें ।’

उनले कतैतिरबाट कुनै साहारा नपाएपछि आफूले बाध्य भएर पार्टी छोडेको स्टाटस फेसबुकमा लेखेको स्पष्ट पारेका छन् । ‘दुई घण्टाभित्र निर्णय गरिनस् भने तेरो घर जलाउँछौँ तँलाई पनि जलाउँछौँ भनेर धम्की आयो । घर र परिवार जोगाउनका लागि पार्टी परित्याग गरेको एउटा ‘स्टाटस’ लेखेर हुन्छ भने किन नलेख्ने भनेर पार्टी छोडेको ‘स्टाटस लेखेँ’ उनले सुनाए ।

उनले थपे, ‘त्यतिबेला मैले परिवार जोगाउनका लागि घरजग्गा नै नामसारी गर्दे भनेको भए पनि गरिदिनुपर्ने परिस्थिति थियो । मेरो परिवार बच्छ भने, म जे गर्न पनि तयार थिएँ । त्यो तत्कालीन परिस्थितिमा गर्नुपर्ने अवस्था थियो । अहिले त्यो स्टाटस ‘डिलिट’ गरेँ, म पार्टीमै छु ।’ उनले आफ्ना आफन्त कसैले पनि वास दिने अवस्था नभएको पनि सुनाए । ‘जुन कुरा मलाई परेको छ, त्यो मैले व्यक्त गर्न सक्दिन । पीडादायी अवस्था बन्यो’ उनले भने ।

आन्दोलनकारीले उनको घरमा तोडफोड गर्दा झण्डै ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसो त उनले नेतृत्व गरेको कालिका नगरपालिकाको वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भएका छन् । वडा नं ८ र ९ मा पनि तोडफोड भएको छ । नगरसभा हल पूर्ण रुपमा जलेर क्षति भएको छ । अहिले भइरहेको भाडाको घरमा तोडफोड र केही सामान कार्यालय बाहिर ल्याएर जलाइएको छ ।

कार्यालय प्रयोजनका लागि बन्दै गरेको नयाँ भवन तोडफोड भएको छ । नयाँ भवन अगाडि रहेको तीन वटा सवारीसाधन र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबी तोडफोड गरिएको छ । अहिले नगरपालिका अस्तव्यस्त बनेको छ । यकिन तथ्याङ्क आइनसके पनि झण्डै ८० करोड रुपैयाँ हाराहारी क्षति भएको आकलन गरिएको प्रमुख रेग्मी बताउँछन् । यद्यपि मोटरसाइकलमा सबै वडा पुगेर नगरवासीलाई सेवा दिनबाट नचुक्ने, वाचा र प्रतिबद्धतासहित सबै ठाउँसम्म पुगिरहेको उनको भनाइ छ ।

 

जेनजी शहीद कुलुङको शव परिवारलाई बुझाइयोे

संखुवासभा । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका संखुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर संखुवासभा ल्याइएको छ । नेपाली सेनाको हेलिकप्ट मार्फत् कुलुङको शव आज बिहान ल्याइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।

प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो । सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो । सिलिचोङ–३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । किशोर कुलुङका छोराहरुमध्ये प्रवीन माइला भएको जनाइएको छ । प्रवीनको निधनले सिलिचोङसहित संखुवासभामा शोकमा ढुबेको छ । स्थानीयहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

जेनजी आन्दोलनका शहीद विनोदका घरमा मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा शहीद भएका विनोद महर्जनको घरमा पुगेका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय समेत सम्हाले उनी बुधबार ललितपुरको सुन्धारास्थित महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले महर्जन परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका थिए । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ ।

जेनजी आन्दोलन : लुम्बिनी प्रदेशमा कति भयो क्षति ?

लुम्बिनी । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा भौतिक क्षति पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षति भएका छन् भने मुख्यमन्त्री निवासका तीन वटा सवारी समेत नष्ट भएका छन् ।

प्रदेशका निमित्त प्रमुख सचिव लीलाधर सुवेदीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा सात मोटरसाइकल र एक गाडी नष्ट हुँदा आर्घाखाँचीमा सामान्य तोडफोड भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रुपन्देहीमा एक मोटरसाइकल जलेको र दाङको लमहीमा मन्त्री क्वार्टरका सामग्री जलाइएको छ ।

बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब रु ९६ लाख बराबरको क्षति भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका रुपन्देही, बाँके, दाङका यातायात कार्यालय, भैरहवाको उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा क्षति भएका छन् ।

त्यसैगरी, स्वास्थ्यमन्त्री निवासमा क्षति भएको छभने ऊर्जा मन्त्रालयअन्तर्गत दाङमा आठ मोटरसाइकल जलेका छन् । वन निर्देशनालय पनि पूर्ण रूपमा क्षति भएको छ । प्रदेश लोकसेवा आयोगमा भवनमा आगजनी र तोडफोड, स्टोर नष्ट, कर्मचारी तथा जनप्रतिनिधिका सम्पत्ति विवरण नष्ट हुनुका साथै छवटा गाडी पूर्ण रूपमा क्षति भएको छ । प्रदेश सरकारको प्रशासनिक परिसर राप्ती उपत्यका देउखुरीको संरचना भने सुरक्षित रहेको छ ।

पशुपति आर्यघाटमा जेनजी शहीदहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

अन्त्येष्टिअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट शवयात्रा गरिएको थियो । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामी अर्पण गरेका थिए । आन्दोलनमा ज्यान गुमाएका शहीदमध्ये केहिको पशुपति आर्यघाटमा र केहिको आफ्नो जिल्लामा अन्त्येष्टिका लागि लैजाने तयारी छ ।

सरकारले भदौ २३ र २४ को जेनजी समूहको आन्दोलनमा मृत्यु भएकालाई राष्ट्रिय झण्डा ओढाइ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मृतकहरूको अन्त्येष्टि गरिएको हो । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, उनीहरूको नाममा जेनजी स्मारक पार्क बनाउने, मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ । सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ ।

 

टिचिङ अस्पतालबाट जेनजीको सामुहिक शवयात्रा निकाल्ने तयारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएकाहरूको आज सामुहिक शवयात्रा निकालिँदै छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट अहिले सामुहिक शवयात्राको तयारी भइरहेको छ ।
आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो ।

१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी चार जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने जनाइएको छ । विमानस्थल पु¥याइने शव उपत्यका बाहिरका भएकाले गृह जिल्ला लगेर अत्येष्टि गरिने भएको छ । शवयात्रा दिउँसो १२ बजे निकाल्ने तयारी भइरहेको छ । भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा भदौ २३ र २४ गते भएको विद्रोहमा हालसम्म ७२ जनाको मृत्यु पुष्टि भएको छ ।

 

आन्दोलनले क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल

काठमाडौं । नव नियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले क्षति भए पनि जेनजी आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकाले अब विवाद अन्त्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । मन्त्रीको पदभार ग्रहण गरेपछि सोमबार गृह मन्त्रालयमा उनले सञ्चारकर्मीहरुसँग अब विवाद गरेर पछि फर्किन नहुने बताए ।

‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने, ‘क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ । अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचनबाट थप प्रमाणीकरण गर्न लाग्नु पर्छ ।’ उनले अहिले मुलुकलाई दीर्घकालीन रुपमा सही बाटोमा लैजानुपर्ने पनि बताएका छन् । गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन् ।

आज (सोमबार) सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर घटेका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताएका हुन् । उनले भने, ‘जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन् । उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ ।’ गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिएका छन् ।

उनले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गएको बताए । आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए । यही भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी समूहको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौंजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको छ । संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत, व्यापारी भवनलगायत आगजनीबाट ध्वस्त भएका

सुधन गुरुङको चेतावनी : जेनजीको हत्यारालाई कारवाही नभए यो सरकार पनि ढालिन्छ

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले राष्ट्रपति कार्यालयमा आफूले सचिवलाई समेत थर्काइ दिएको बताएका छन् । उनले राष्ट्रपति कार्यालयको पानी समेत पिउन नमानेको र बाहिरबाट मगाएको समेत सुनाएका छन्।

रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले वार्ताका लागि शीतल निवास जाँदाको अनुभव सुनाएका हुन् । उनले आफू चप्पल लगाएरै शीतलनिवास पुगेको भन्दै राष्ट्रपति कार्यालयका सचिवले सुट लगाएको देखेपछि रिस उठेको बताए ।

गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिए ।

पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नव नियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उनले सो प्रतिक्रिया दिए ।

गुरुङले भने, ‘हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भए पनि आन्दोलन जारी छ । मलाई इण्डियन, चाइनिज जे भने पनि मेरो निम्ति देश ठूलो हो, लड्छु । भोलि बिहानसम्म उनीहरूको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरि पनि ढल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ । पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आए पनि ढल्छ । टेनसन नलिए हुन्छ । म छु–एक्लै भए पनि लड्छु ।’

कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए ।

गुरुङको भनाइ जस्ताको तस्तैः

मलाई वार्तामा एक्लै बोलायो । म त जान्न भनेँ । केही नगर्दा त यस्तो छ, म एक्लै गए कस्तो हुन्छ ? हाम्रो वकिल ओमप्रकाश सरलाई सोध्न सक्नु हुन्छ । मैले रमण कर्णलाई पनि लिएर गएँ । आर्मीले १ जनालाई पठाउने आदेश छ भन्यो । अहँ म त जान्न भनेपछि आर्मीले भित्र कुरा गरे । अनि उहाँलाई पनि छिर्न दिएँ ।

म त चप्पल लगाएर गएको थिएँ । त्यहाँ कुर्सीमा हामी ३ जना बसिरहेका थियौं । राष्ट्रपति आउनु हुन्छ भन्ने सोचेको, तर दुई जना कर्मचारी आए । एकजना ढाका टोपी र सुट लगाएका थिए । उनी सचिव रहेछन् । थुचुक्क पलेटीँ मारेर बस्नु भयो । रमणजी के छ ? भनेर सोध्नु भयो । म जुरुक्क उठेर भनेँ– के छ रे ? कसलाई भनेको ? ताल यही हो, सुट लगाएर बस्ने ? यसरी बोलाउने हो ? लाज लाग्दैन ?

मैले कतिसम्म थर्काएको छु राष्ट्रपति निवासमा । म त लड्ने नै हो । म त मर्ने नै भनेको हो । जेसुकै भनोस । मलाई राष्ट्रपति, प्रधानमन्त्री थाहा छैन । देशको इज्जत फालेको मान्छेलाई सम्मान गरिँदैन । मैले उहाँलाई बाजे खोइ भनेँ । यही भनें । मलाई आउँदैन के हो प्रेजिडेन्ट । म त तपाईंहरुसित कुरा गर्दिनँ जानुस भनेँ । एकदम ठूलो सचिव रैछ । अहिलेको राष्ट्रपति लिएर आउनुस, अनि मात्रै वार्तामा बस्छु भनेँ ।

बिहानको ८ बजेदेखि ५ बजेसम्म बस्यौं । हामी जानेवित्तिकै पानी दिनुभयो । पानी अफर गरेपछि यहाँको पानी खान्न भनेँ । राष्ट्रपति निवासको पानी एक थोपा खान्न भनेँ । घाँटी सुक्या थियो । चिया खानुस भन्नुभयो । म त अशुद्ध हुन्छु खान्न भनेँ । उहाँहरु हाँस्नुभयो । पछि एक जना दाइलाई बाहिरबाट पानी ल्याउन लाएर खाएँ । कसले खान्छ विदेशी पानी ? लाज सरम नभएको ।

हाम्रो फस्र्ट माग नै संसद विघटन थियो । राष्ट्रपतिसँग कुरा पुग्यो । आर्मीको चिफ आउनुभो । तपाईंले भनेकै हुने भयो, बधाइ छ भन्नुभयो । एकदम खुशी भएँ । जेनजी साथीहरुलाई हतार–हतार फोन गरेर को–को हुन्छ तिमीहरु आउ भनेँ ।

हाम्रो आन्दोलन अझै जारी छ । एक्लै भए पनि जारी छ । तँलाई साथ दिन्न भने पनि म त लड्ने बाला छु । म यस्तै हो । बानी यस्तै हो । जति जेसुकै भन्नु । इन्डियन, चाइनिज, चानचुङ जे भन्नुस आइ डन्ट केयर । फर मि माइ कन्ट्री इज एवभ एभ्रिथिङ । यत्रो बलिदान गरेका छन् हाम्रा भाइहरुले । ८० वर्षमा नभएको परिवर्तन हो । यो त हाम्रो सरकार हो । पब्लिकको सरकार हो । माग पुरा नभए सरकार फेरि ढल्छ ।

 

मृतकका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने भएको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरिएको जानकारी गराएकी हुन् ।

मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने सरकारले गर्ने निर्णय भएको उनले जानकारी दिइन् । ‘अहिले मृतकका परिवारहरु काठमाडौं भ्यालीमै छन् । उनीहरु बसेको, खाएको त्यो खर्च हेरिदिने,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिदिने आदि निर्णय भएको छ ।’

त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उनले बताइन् । ‘पछिसम्म अपांगको परिभाषाभित्र परेछन् भने उपचारको सुविधाको व्यवस्था गर्ने भनेर यति हामीले गरेका छौं,’ उनले बताइन् । निजी क्षेत्रमा पनि केही गर्न सकिन्छ कि भनेर कोशिस भइरहेको उनले बताइन् । ‘प्राइभेट सेक्टरमा पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरूले कोशिस गरिरहनु भएको छ,’ उनले भनिन् ।

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जना सहिद भएका छन् भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् । यसैगरि, १३४ प्रदर्शनकारी घाइते भएर उपचार गराइरहेका छन् । प्रहरीहरु ५७ जना उपचाररत छन् ।

आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ । मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गरिने, परिवारलाई १० लाख

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्ने भएको छ । त्यस्तै मृतकको परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको हो । आन्दोलनमा घाइतेहरुको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ ।

जेनजी आन्दोलनमा ज्यान गमाुउनेको संख्या ७२ पुग्यो
यता यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोनलमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो ।

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदै प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नव नियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।

आज बिहानदेखि नै पूरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगाययका सरसामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो । पूरानै फर्निचर, सरसामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ ।

आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबाको मुल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायत सरसामग्री छरपष्ट छन् ।
यसैबीच, आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीको ठूलै सङ्ख्या स्वस्फूर्तः रुपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन् । अन्य मन्त्रालयजस्तै शिक्षा मन्त्रालय परिसरमा पनि सवारी साधन जलेर ‘मानव कङ्काल’ अवस्थामा रहेका छन् ।

मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारी सधानमा पनि प्रदर्शनकारीले आगजनी गरेको सखाप पारेका छन् । आज बिहान ८ बजेदेखि नै सरसफाइमा जुटिरहनुभएका मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटिइएर सरसफाइ, फोहर व्यवस्थापन गरी दैनिक कार्य सञ्चालन गर्ने प्रयासको थालनी गरिएको बताए ।

‘सरसफाइको काम अघि बढाएका छौँ, समय लाग्छ, सरसफाइ सकेर मर्मतसम्भारमा लाग्छौँ’, प्रवक्ता सापकोटाले भने, ‘कर्मचारीबाट जुटेर गर्न सकिनेसम्मका काम सकेसम्म गर्छौँ ।’ आगजनीबाट कति क्षति भयो त्यसको आँकलन गर्न नसक्दा क्षतिको लगत निकाल्न नसकिएको उनको भनाइ छ ।

प्रवक्ता सापकोटाले भने, ‘क्षतिको लगत निकाल्न एउटा टोली बनाएका छौँ, त्यसले काम गरिरहेको छ, पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचर, टेलिभजन सेटमा क्षति पुगेका छन् ।’ आफै जुटेर काम गर्दा के–कति क्षति भयो र कुन विधिबाट काम अघि बढाउँदा कार्यालय छिटो तयार गर्न सकिने उनको भनाइ छ । संरचनागत क्षति नभएको स्थानमा कार्यालयलाई पूर्ववत् अवस्थामा ल्याउन आफूहरुले गरिरहेको कामले सहयोग पुग्ने उनको विश्वास छ । शिक्षा मन्त्रालयका कर्मचारी जुटेर अघि बढाइएको त्यस कार्यले आन्दोलनबाट प्रभावित भएका अन्य मन्त्रालय र कार्यालय सञ्चानका लागि प्रेरित गर्नेछ ।

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल पुगेकी छिन् । उनले विभिन्न अस्पतालहरूमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । कार्कीले वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेकी हुन् । त्यस्तै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि उनले स्थलगत अनुगमन गर्ने बताइएको छ ।