`

‘थर्काउँदै’ हिंड्ने नक्कली जेनजी शाही पक्राउ

Nepal One HD ३० असोज २०८२ ७:३४
अपराध

काठमाडौं । सरकारी निकायहरूमा ‘जेनजी’ को नाममा धाकधम्की दिँदै हिँडिरहेका अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन् । विभिन्न आपराधिक मुद्दामा फरार रहँदै आएका शाहीलाई बुधबार साँझ काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले पुष्टि गरेका छन् ।

शाहीमाथि ठगी र बैंकिङ कसुरका एकपछि अर्को आरोप लाग्दै आएका छन् । पछिल्लो समय उनले आफूलाई ‘जेनजी’ भन्दै संवैधानिक निकाय र सरकारी कार्यालयहरूमा गएर धम्क्याउने कार्य गर्दै आएको उजुरीहरू प्रहरीले प्राप्त गरिरहेको थियो । यही आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

कसुर र पुराना मुद्दा
शाहीविरुद्ध बैंकिङ कसुर र वैदेशिक रोजगारसम्बन्धी ठगीका तीन वटा मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छन् । पत्रकार श्रीकृष्ण फुँयालले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । शाहीले रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसमार्फत दिएको चेक बाउन्स भएपछि फुँयालले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका थिए ।

त्यसअघि पनि उनी वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परिसकेका थिए । वैदेशिक रोजगार विभागले अनुसन्धानपछि उनलाई प्रहरी समक्ष बुझाएको थियो भने त्यसपछि मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा दर्ता गरिएको थियो । बैंकिङ कसुर मुद्दामा शाही ३० हजार धरौटी बुझाएर छुटेका थिए ।

अधिकारीहरूलाई धम्की
शाही र उनको समूहले हालै नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगी विभिन्न अधिकारीहरूलाई ज्ञापनपत्रको नाममा धम्क्याउँदै आएको खुलेको छ । उनीहरूले कार्यकारी पदमा रहेका अधिकारीहरूलाई ‘काम गर्न नसके राजीनामा देऊ’ भन्दै दबाब दिने प्रयास गरेका थिए ।

यस्तै, २०७३ सालको ‘जेनजी आन्दोलन’ पछि सुशीला कार्की प्रधानमन्त्री बनेको शपथ समारोहमा समेत शाही देखिएका थिए । सो अवसरमा उनले हामी नेपालका संयोजक सुदन गुरुङसँग हात उठाएको तस्वीर पनि सार्वजनिक भएको थियो ।

शाहीको यस्ता गतिविधि गृह मन्त्रालयसम्म पुगेपछि सम्बन्धित निकायहरूलाई सतर्क रहन निर्देशन दिइएको थियो । अहिले प्रहरीको हिरासतमा रहेका शाहीमाथि थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *