`

माओवादीको ४० जिल्लामा जेनजी संगठन, यस्ता छन् पाँच एजेण्डा र कार्यदिशा

Nepal One HD २७ असोज २०८२ १६:१४
माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र जेनरेशन जेड (जेनजी) नेताहरूले पार्टीभित्र गहिरिंदै गएको व्यक्तिवादी प्रवृत्तिको विरोध गर्दै ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन् । यो टास्क फोर्सको नेतृत्व अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्मृति तिमल्सिना (निमल्सिना) ले गरिरहेकी छन् । टास्क फोर्स गठनसँगै उनीहरूले पाँच प्रमुख एजेण्डा अघि सारेका छन्–पार्टी सुदृढीकरणदेखि जनताको आवाज सुन्ने, नेतृत्वमा परिवर्तनको खाका कोर्ने, र कम्युनिस्ट एकताको दीर्घकालीन योजना तयार गर्नेसम्म ।

विरोधको ‘रेड मोडल’ : व्यक्तिवादविरुद्धको आन्दोलन
तिमल्सिनाले पार्टीभित्र चाकरी संस्कार र व्यक्तिवाद हाबी भएको गुनासो गर्दै भनिन्, ‘बरु पार्टी सकियोस्, तर पद छोड्न कोही तयार छैनन् । २० वर्ष नेतृत्व गरे पनि अन्त्यमा कांग्रेस–एमाले जस्तै हुने स्थिति आएको छ ।’ उनका अनुसार, नेताहरूको आलोचना गर्न समेत डर लाग्ने वातावरण बनेपछि रेड टास्क फोर्सको खाका तयार गरिएको हो।

४० जिल्लामा संरचना तयार, बाँकीमा तीव्र अभियान
हालसम्म ४० जिल्लामा टास्क फोर्सको संयोजक तोकिएको छ भने बाँकी जिल्लामा संरचना विस्तार तीव्र रूपमा भइरहेको छ । अभियानको मूल उद्देश्य भने जनस्तरमा पार्टीको पुनर्संरचना र नेतृत्वको वैचारिक पुनर्समीक्षा हो ।

पाँच बुँदे कार्यदिशा : ‘रेड टास्क’ को घोषणा
स्मृति तिमल्सिनाले टास्क फोर्सले प्रारम्भिक रूपमा पाँच वटा मुख्य काम गर्ने जानकारी दिएकी छन् ।
माओवादीले १७ हजार मारेको भन्ने ‘गलत भाष्य’ चिर्ने
यो कामका लागि आइटी सेल निर्माण गरिनेछ, जसले डिजिटल माध्यमबाट जनतालाई वास्तविकता बुझाउनेछ ।
गाउँ–गाउँमा ‘रेड टास्क पोस्ट’ बनाइने
जनताको आवाज सुन्ने केन्द्रको रूपमा टास्क पोस्ट सञ्चालन गरिनेछ ।
पार्टीको पुनः संरचना र सुधार
नेतृत्वको आलोचना गर्न सक्ने वातावरण बनाउँदै, संगठनलाई फेरि नव निर्माण गर्ने ।
फागुन २१ वा त्यसपछिको निर्वाचनमा बहुमतको रणनीति
शक्तिशाली संगठन विस्तारमार्फत निर्वाचन जित्ने तयारी ।
चिनियाँ मोडलअनुसार एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य
देशमा एक मात्रै बलियो कम्युनिष्ट पार्टी बनाउने दीर्घकालीन योजना ।

‘प्रचण्डको विकल्प अहिलेलाई छैन’
यद्यपि नेताविरुद्ध तीव्र आलोचना गर्दै आएको रेड टास्क फोर्सले पुनः एक कार्यकाल प्रचण्डलाई अध्यक्ष रहने समर्थन गर्ने निर्णय लिएको छ । तिमल्सिनाले भनिन्, ‘सुरुमा सुदन किराती वा सरल सहयात्री जस्ता नेताहरूको चर्चा थियो । तर, ९५ प्रतिशत कार्यकर्ताले प्रचण्डकै माग गरे ।’ उनका अनुसार, विशेष गरी गाउँ–गाउँमा अझै पनि प्रचण्डप्रति भावनात्मक आस्था कायम छ र तिनै कार्यकर्ताको चाहनालाई सम्मान गर्दै आफूहरूले एक कार्यकालको समर्थन गर्ने निर्णय लिएको जानकारी दिएकी छन् ।

पूर्व लडाकु र पीडित परिवारलाई पुनः समेट्ने योजना
पार्टीबाट बाहिरिएका पूर्व लडाकु, जनमुक्ति सेनाका सदस्य तथा शहीद परिवारहरूलाई पुनः पार्टीमा समेट्ने अभियान पनि रेड टास्क फोर्सको अर्को कार्यदिशा हुने बताइएको छ । संगठनमा वैचारिक र संगठनात्मक समेटावादलाई पुनस्र्थापना गर्ने प्रयास गरिनेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *