`

जेनजी आन्दोलनका शहीद : कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

काठमाडौं । कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए । गोर्खाली होटल भनेर चिनिने यो होटलमा दुई वटा टेबल र चार वटा बेन्च छन् । एकातिर दिउरेमा चिया उम्लिरहेको छ, अर्कोतिर प्रेसरकुकरमा खानाको सिटी लाग्दैछ । होटलमा व्यस्त छिन्, जानुका भट्ट ।
भित्तामा मुसुक्क हाँसिरहेको युवकको तस्बिर टाँगिएको छ, दुई वटा फ्रेममा । उनी हुन् २८ वर्षीय अर्जुन भट्ट । जेनजी आन्दोलनका शहिद । वैदेशिक रोजगारीका लागि उनले देश छाडेको १६ महिना मात्रै हुँदै थियो । दुबईको अत्यधिक गर्मी र कामको चापका कारण त्यहाँ टिक्न सकेनन् र फर्किए गत असारमा । दुबईबाट फर्किएको केही समयपछि उनको जन्मदिन थियो, असार १७ गते । साथीभाइलाई बोलाएर भव्य जन्मदिन मनाए । हँसिलो स्वभावका उनी परिवारका साथै साथीभाइका लागि निकै प्यारो थिए । ‘सबै उमेर समूहसँग उ चाँडै घुलमिल हुन्थ्यो । साथीहरु पनि धेरै थिए उसका’, आमा जानुका भन्छिन् ।
करिब सात वर्षअघि जन्मदिनमा साथीहरु मिलेर उपहारस्वरुप खैरो कुकुर अर्जुनलाई दिएका  थिए ।  उसको नाम अर्जुनले नै राखेका थिए, लिची । अर्जुनसँगै बढी झ्याम्मिन्थ्यो । खेल्थ्यो, रमाउँथ्यो अनि काखमा लुटुपुटु गथ्र्यो । अहिले लिची पनि उदासझैं देखिन्छ । उसलाई धेरै माया गर्ने अर्जुन यो संसारमा छैनन् । बेलाबेला बाहिरतिर कसैलाई हेरिरहेको हुन्छ । लाग्छ, यो निर्दोष प्राणी अर्जुनकै प्रतीक्षामा छ । स्नातकसम्म अध्ययन गरेका अर्जुनले फर्केर पढाइलाई निरन्तरता दिन सकेनन् । न त यहाँ भनेजस्तो रोजगारी नै पाए । उनका एक जना दाइ अभिलाख यहीँ छन् भने एक दिदी विवाहपछि श्रीमानसँग जापानमै बस्छिन् । दिदीले भनेकी थिइन्, ‘दुबईभन्दा जापान राम्रो छ भाइ, पहिले राम्ररी भाषा सिक्नु र आउनु ।’ दिदीको प्रस्ताव र परिवारको साथले उनी उत्साहित भए । जापानी भाषा अध्ययनतिर लागे र भाषा परीक्षामा उत्तीर्ण पनि भए । परिवारका अनुसार आउँदो फागुनमा उनी बिहे गर्ने सोचमा पनि थिए ।
२५ वर्षअघि राजधानी छिरेको थियो भट्ट परिवार
अर्जुनको मूल घर गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल हो । गाउँमा भट्ट परिवारको आफ्नै खेतीपाती थियो । बस्तुभाउ थिए । छरछिमेक, आफन्त र गाउँको वातावरणमा रमिरहेका उनीहरुलाई नपुग्दो केही थिएन । तर छोराछोरीको भविष्य सम्झेर राजधानी आएको बताउँछन्, बुबा चित्रबहादुर । ‘आफू हुर्केको गाउँ छाडेर बिरानो शहर छिर्न मन थिएन तर छोराछोरीको शिक्षादीक्षा र भविष्य राम्रो हुन्छ कि भनेर यता आइपुग्यौँ’, उनी भन्छन् ।  विसं २०५७ सालमा परिवारसहित काठमाडौँ छिरेका चित्रबहादुरले केसम्म गरेनन् ।  तरकारी बेचे, कीर्तिपुरस्थित एक विद्यालयमा कार्यालय सहायकका रूपमा काम गरे, पछि होटल व्यवसाय सुरु गरे । आजभन्दा २५ वर्षअगाडि सपनाको शहर छिरेको भट्ट परिवारका सुरुआती दिन निकै कहरिला थिए, जतिबेला अर्जुन मात्र तीन वर्षको थिए ।
कालिमाटीबाट आएको त्यो खबर
जेनजीहरुले गर्ने भनेको आन्दोलनमा सहभागी हुनेबारे अर्जुनले परिवारसँग पनि कुरा गरेका थिए । ‘२८ वर्ष उमेरसम्मका युवाहरुको आन्दोलन हो, देश परिवर्तनका लागि हामी पनि जानुपर्छ’ भनेर पटक पटक उनी कुरा गर्थे । गत भदौ २३ गते बिहानै उनी घरमा बुबा–आमालाई भनेर नै साथीहरुसँग आन्दोलनमा सरिक भए । राजनीतिक बेथिति र भ्रष्टाचारविरुद्ध माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वर पुगेपछि त्यसले अर्कै रूप लियो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास मात्रै होइन, गोली नै बर्साउन थाल्यो । बेलुकासम्म काठमाडौँमा मात्रै २१ जनाले ज्यान गुमाएका थिए, जसमा अर्जुनसँगै कीर्तिपुरबाट गएका उनकै साथी पनि थिए ।
ठूलो संख्यामा हताहती भएपछि सर्वत्र आक्रोश थियो । आफ्नै साथी मारिएपछि अर्जुन पनि बेचैन थिए । भोलिपल्ट कीर्तिपुरका साथीहरु भेला भएर जाने निर्णय गरिसकेका रहेछन् । आमा जानुकाले पटक पटक ‘नजा बाबु’ भनेर रोक्न खोजिन् । तर किशोर वयको उर्लिँदो जोशलाई कसले रोक्न सक्ने ? उनी साथीसँगै कीर्तिपुरबाट हिँडे । ‘एक घण्टामा आइपुगिहाल्छु भनेर पकाएको खाना पनि नखाई निस्किएको थियो’, जानुका सुनाउँछिन् । अघिल्लो बेलुकादेखि नै काठमाडौँमा कफ्र्यु जारी भएकाले सर्वत्र सन्त्रास थियो । अर्जुन निस्किने बेला पनि छतमा उभिएर आमा हेरिरहेकी थिइन् । काँधमा नेपालको झण्डा ओढेर अर्जुन साथीहरुसँग अघि बढिरहेका थिए । टोलीमा उनका दाइ अभिलाख पनि थिए । अर्जुन २४ भदौ गते दिउँसो घरबाट निस्कँदा करिब १ बजेको थियो । त्यसको एक घण्टापछि नै घरमा फोन आयो, नमीठो र अपत्यारिलो खबर लिएर । ‘कालीमाटीमा भएको प्रदर्शनमा अर्जुनको टाउकामा गोली लाग्यो’ भन्ने सुन्नासाथ जानुकालाई भने । शरीर चिसो भएर आयो । अर्धबेहोस अवस्थामै अस्पताल जान खोजिन् तर कफ्र्युका कारण गाडी चलेको थिएन ।
उनलाई छोरालाई भेट्ने तीब्र इच्छा भएपछि छोराको साथीले स्कुटीमा राखेर बल्खुस्थित बयोधा अस्पताल पु¥याए । अस्पतालमा भीड थियो । उनलाई आफ्नै छोरालाई पनि हेर्न दिइएन । ‘म पनि भाइसँगै कालिमाटी गएको थिएँ, गोली लाग्दा ५०० मिटर टाढा भएकाले भाइलाई नै गोली लागेको देख्न पाइनँ’, रसिलो आँखा बनाउँदै अभिलाखले भने, ‘एकैचोटि अस्पताल दौडाउँदा भाइ पनि परेको रहेछ भन्ने पछि थाहा पाएँ । सँगै गएको भाइलाई गुमाउनुपर्‍यो ।’ अभिलाख र अर्जुनबीच दुई वर्षको मात्रै अन्तर छ । ‘दाजुभाइभन्दा पनि धेरै साथी जस्तो थियौँ’, उनी सम्झिन्छन्, ‘सँगै गेम खेल्ने, सँगै सुत्ने गथ्र्यौँ ।’ भिडियो गेममा बढी रुचि राख्ने अर्जुन बढीजसो पब्जी खेल्थे । अभिलाखलाई त्यही सम्झना बढी आउँछ । ‘यही घरको भर्‍याङमा हामी दुबै जना बसेर पब्जी खेल्थ्यौँ’, भर्‍याङतिर देखाउँदै उनी भन्छन् ।
आमा जानुकालाई भने खाना खाने बेलामा अर्जुनको धेरै याद आउँछ । ‘गेममा झुन्डिराख्ने बानी भएकाले उसलाई खाना खाने समय पनि पत्तो हुँदैनथ्यो’, उनी भन्छिन्, ‘कहिलेकाहीँ मै खाना खुवाइदिन्थेँ ।’ दिनभर साथीभाइसँग रमाएर साँझ घर फर्कँदा अर्जुन ‘मम्मी’ भन्दै आइपुग्थे। अहिले पनि जानुकालाई यही याद आइरहन्छ । ‘मम्मी भन्दै आई पो हाल्छ कि भन्ने लाग्छ । राति घरको ढोका बज्दा, कसैको आवाज आउँदा छोरो नै आएजस्तो लाग्छ’, अश्रुपूरित आँखामा उनी भन्छिन्, ‘जे भए पनि मेरो कान्छो छोरो हो नि, मायाले हुर्काएको । कहिले पो बिर्सन सक्छु र ।’ जानुका अर्को समस्याबाट पनि गुज्रिरहेकी छन् । गालामा ट्युमर पलाएकाले चिकित्सकले बेलैमा शल्यक्रिया गर्नुपर्छ भनेका छन् । निजी स्वास्थ्य संस्थामा धेरै खर्च हुने भएकाले सरकारी अस्पताल नै जाने उनको विचार छ । ‘तर पालो आउनै समय लाग्ने रहेछ । समयमा उपचार नगराए कान हुँदै टाउकोसम्म ट्युमर पुग्छ भनेको छ’, उनी सुनाउँछिन् ।
परिवारमा रिक्तता
अर्जुनका दाइ अभिलाख पनि वैदेशिक रोजगारीमा जाने सोचमा थिए । जेनजी आन्दोलपछिको अवस्था र भाइ नै गुमाएपछि उनको मनस्थिति बिथोलिएको छ । सरकारले जेनजी शहिदका परिवारलाई रोजगारी दिने आश्वासन दिएकाले केही आशावादी भने देखिएका छन् ।
सरकारले क्षतिपूर्ति र राहतस्वरुप परिवारलाई रु १५ लाख दिएको छ । अर्जुनको नाम शहिदको सूचीमा नामाङ्कित पनि भएको छ । बुबाको सहारा अनि रित्तिएको आमाको काख कसैले भर्न सक्ने छैन । ‘मेरो छोरो १५ लाखको थियो त ?’ जानुका मलिन आवाजमा बोल्छिन्, ‘१५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि ।’ बुबा चित्रबहादुरको चाहना छ, छोरा जस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस् । उनीहरुको बलिदान खेर नजाओस् । देश बस्नलायक बनोस् । सबैले रोजगारी पाऊन् । कलिलैमा कसैले विदेश जानु नपरोस् । भट्ट परिवारमा यतिबेला यस्तो रिक्तता छाएको छ, जुन कहिले भरिने छैन । बुबा चित्रबहादुरले भनेजस्तै त्यतिबेला मात्रै परिवारले राहतको महसुस गर्नेछ, जतिबेला राज्यबाट भ्रष्टाचार अन्त्य हुनेछ । राजनीतिक बेथिति अन्त्य भई सुशासन स्थापना र रोजगारी सिर्जना हुनेछ । रासस

सरकार–जेनजी वार्ता फेरि असफल : एजेण्डामै असन्तुष्ट सचिव गौतम वैठक नै छोडेर हिंडे

काठमाडौं । जेनजी आन्दोलनका मागबारे सिंहदरबारमा भइरहेको सरकार–जेनजी समूहबीचको निरन्तर छलफल बुधबार फेरि निष्कर्षविहीन बनेको छ ।

जेनजी समूहले अघि सारेका मुख्य एजेण्डामा सरकार पछाडि नहट्ने अडान राखेपछि वातावरण तनाबपूर्ण बन्दै गएको छ । यही तनावबीच प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणीन्द्र गौतम बैठकको बीचमै उठेर हिंडेका छन्, जसले वार्ताको गतिशीलतामै धक्का पुगेको सहभागीहरूको भनाइ छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहित सरकारी टोली र मोनिका निरौला, आकृति घिमिरे, साङ्केन याम्फु राई, महेश खनाल तथा सातै प्रदेशका जेनजी संयोजकहरूको प्रतिनिधित्वमा कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ सहभागी भएका थिए । जेनजी समूहले गत कात्तिक २८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मस्यौदालाई पूर्णता दिएर राष्ट्रपतिबाट अनुमोदन गराउने योजनाअनुसार भइरहेको यो छलफल फेरि अधुरै टुंगिएको हो ।

छलफलको सुरुवातबाटै जेनजी पक्षले भदौ २३ र २४ का घटनामा भएका मृत्युलाई शहीद घोषणा, घाइतेलाई राहत तथा निःशुल्क उपचार, जिम्मेवार अधिकारीमाथि छानबिनका लागि स्वतन्त्र आयोग गठन, प्रवासी नेपालीलाई मताधिकार, आगामी निर्वाचन स्वतन्त्र र भयमुक्त गराउने व्यवस्था र संविधान संशोधनसहित समानुपातिक सहभागिता सुनिश्चित गर्ने माग दोहोर्‍याएको थियो । यिनै बुँदामा आधारित मस्यौदालाई अघि बढाउन उनीहरूले सरकारलाई दबाब दिइरहेका थिए ।

तर, सरकारी प्रतिनिधिहरूले जेनजी मस्यौदाका थुप्रै बुँदामा असहमति राखे । ‘समावेशी, समानुपातिक र अधिकतम परिपूरणीय अधिकार सम्पन्न समाज’ भन्ने वाक्यांशमा ‘अधिकतम परिपूरणीय’ शब्द नै हटाउनु पर्ने सुझाव सरकारी पक्षले दियो । यस्तै सुरक्षा संयन्त्रलाई दोषारोपण गर्ने भाषा नराख्ने र ‘सरकारको क्रूर दमन’ जस्ता अभिव्यक्तिलाई नरम पार्नु पर्ने भनियो ।

सबैभन्दा विवादास्पद विषय भने घटनालाई कसरी परिभाषित गर्ने भन्ने रह्यो । जेनजी पक्षले मस्यौदामा राखेको ‘जनसंहार’ शब्दबारे सरकार कडाइका साथ असहमत भयो । सरकारी अधिकारीहरूले बढीमा ‘हत्या’ सम्म मात्र स्वीकार गर्न सकिने बताए ।

संक्रमणकालीन न्यायका सिद्धान्तअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को प्रक्रियाबाट छानबिन गर्नुपर्ने जेनजीहरुको मागमा पनि सरकार प्रतिकूल रह्यो । यही विषयमा असहमति जनाउँदै सचिव गौतम बैठकको बीचमै उठेर हिँडेको स्रोतले बतायो ।

जेनजी समूहले दोषी मानिएका व्यक्तिहरूलाई निर्वाचनमा सहभागी हुन रोक लगाउने प्रस्ताव पनि राखेको थियो, तर यसलाई सरकार पूर्णतः अस्वीकार गर्‍यो । तर, निरन्तर बहसपछि सरकार जेनजी आन्दोलनलाई ‘राजनीतिक आन्दोलन’ का रूपमा स्वीकार गर्न भने तयार भएको सहभागीहरूको भनाइ छ । तर, मूल मुद्दाहरूमा सहमति नजुटेपछि लामो समयदेखि तयारी गरिँदै आएको वार्ता फेरि निष्कर्ष बिना टुंगिएको छ। जेनजी समूहका अनुसार मस्यौदालाई राष्ट्रिय सहमतिमा लैजान सरकारले आवश्यक गम्भीरता नदेखाए वार्ताको विश्वसनीयतामै संकट उत्पन्न हुने चेतावनी दिएको छ ।

जेनजी आन्दोलनले दीपकको रोकियो सपनाको उडान

काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो । गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उनको आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि असर गरेकाले त्यसकै कारण ‘बे्रन डेड’ भई मृत्यु भएको थियो ।

आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम संवाद गर्ने अवसर पाएकी आमा लक्ष्मी साउदका आँखा अझैसम्म पनि रसाएका छन् । छिमेकी र आफन्तले सात्वना दिन आउँदा पनि उनी सम्हालिन सक्दिनन् । भदौ २३ गते काठमाडौँमा १७ जना र सुनसरीमा दुई युवाको मृत्युको खबर सुनेपछि आमा लक्ष्मीले छोरालाई आन्दोलनमा नजान, कोठामै बस्न वा घर फर्किन भनेकी थिइन् । ‘मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला’, आमा सम्झिन्छिन् । तर दीपकले आफ्नो उमेर समूहका साथीहरूले दिएको बलिदान र देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गर्दै आमासँग भनेका थिए, ‘यदि मेरा साथीहरू जान्छन् भने म पनि जानेछु । यसमा मलाई नरोक्नु आमा । आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन ।’

आन्दोलनमा सहभागी भएसँगै भदौ २४ गते बेलुकीदेखि उनीसँग मोबाइलमा सम्पर्क टुटेको भाउजू सरस्वती साउद बताउँछिन् । दीपक दुई जना अन्य साथीसँग काठमाडौँको कीर्तिपुरमा कोठा लिएर बस्दै आएका थिए । बेलुकी साथीहरूले दीपक घाइते भएर अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिएका थिए तर भदौ २५ गते बिहान अप्रत्याशित रूपमा उनको निधनको खबर परिवारले पायो । ‘त्यो खबरले घरको आशा र भरोसा दुवै तोडिदियो’, भाउजू सरस्वती भन्छिन्, ‘यस्तो खबर सुन्नुपर्‍यो भनेर कसैले सोचका पनि थिएनौँ ।’

दीपक पढाइमा पनि अत्यन्त मेहनती थिए । घर नजिकैको विद्यालयमा ११ कक्षा अध्ययन गर्दैगर्दा कोरियन भाषा परीक्षाको तयारीका कारण विद्यालय नजाँदै एकैपटक १२ कक्षा उत्तीर्ण गरेका थिए । पाँच भाइमध्ये तेस्रो दीपकका दुई भाइ गाउँकै विद्यालयमा पढ्दैछन् भने दुवै दाजु रोजगारीका लागि भारतको मुम्बइमा रहेका छन् । भाइको मृत्युको घटनाको खबर पाएपछि मुम्बइबाट गत भदौ २७ गते मात्रै जेठा दाजु वीरेन्द्र काठमाडौँ आएका थिए । चिकित्सकले वीरेन्द्रसँग भाइको आँखामा गोली लागेर ‘बे्रन डेड’ भएर मृत्यु भएको बताएका थिए । वीरेन्द्र भन्छन्, ‘हामी आउँदासम्म भाइको शव ट्रमा सेन्टरमा राखिएको थियो । भिडियो एक्सरे हेर्दा एक आँखामा गोली लागेको देखियो ।’

वीरेन्द्र थप्छन्, ‘अब केही गरे पनि मेरो भाइ फर्किने छैन तर आन्दोलनमा गएर ज्यान गुमाएका युवाहरूको उद्देश्य सरकारले पूरा गर्नैपर्छ ।’ गाउँलेहरू पनि दीपकको बलिदान सम्झँदै दुःख व्यक्त गर्छन् । दीपक आफ्नो गाउँमा इमान्दार र सहयोगी युवा भनेर परिचित थिए । शिवनाथको मडैगाउँले एक होनहार युवा गुमाएको छ । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जना युवालाई सहिद घोषणा गरिसकेको छ, जसमा दीपक पनि एक हुन् । उनको परिवारको एउटै भनाइ छ, सहिद घोषणा मात्र पर्याप्त छैन उनीहरूले उठाएका माग पूरा गर्न सरकारको इच्छाशक्ति, राजनीतिक दल र नागरिक समाजलगायत सवै पक्षको सहयोग अपरिहार्य छ । दीपकको कथा केबल व्यक्तिगत पीडा मात्र होइन, यो त्यस पुस्ताको आवाज हो, जसले भ्रष्टाचार र असमानताविरुद्ध देशमा उज्यालोको आशा बोकेको छ । –दीपक चन्द / रासस

 

सिंहदरबार छिर्न खोज्दा मिराज ढुंगाना समूहको जेनजीलाई प्रहरीले हटायो (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको थियो । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरुलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले हटाएको जनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनीहरुलाई भाटभटेनीबाट पनि परसम्म हटाइएको बताए ।

मंगलबार १२ बजे आसपास सिंहदरबार गेटअगाडि उनीहरूले निषेधित क्षेत्रमा भीड गरेर होहल्ला गरेको भन्दै प्रहरीले हटाएको हो । सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई भेट्न नदिएको भन्दै मंगलबार गेटअगाडि जम्मा भएका थिए । ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भित्र प्रवेश गर्न नदिई गेटबाट हटाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

अहिले उनीहरू त्यही क्षेत्रमा जम्मा भएर प्रधानमन्त्रीसहितको आलोचना गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

झापा । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोली समेत बरामद गरेको छ। पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्यूरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाइएको थियो।

प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए। त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो। थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली–४ बस्ने पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । पछि लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो।

त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ । बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

जेनजीको माग सम्बोधन गर्न नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : विकेश साह

काठमाडौं । जेनजी विद्रोहको जगमा अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी सुशीला कार्कीले उही जेनजी आन्दोलनकारीलाई भेटन अस्वीकार गरेकी छन् । प्रधानमन्त्री कार्यालयमा आफ्ना मागहरु सहितको पत्र बुझाउन सोमबार जेनजी आन्दोलनकारीहरु सिंहदरबार पुगेका थिए । तर प्रधानमन्त्री कार्कीले भेटनै मानिन । प्रधानमन्त्रीले भेटन नमानेपछि उनीहरुले आफ्नो माग पत्र दक्षिण गेटमा टाँसेर फर्किएका छन् ।

जेनजी विद्रोहका अगुवाहरु विकेश साह, मिराज ढुंगाना, रविकिरण हमाल, सौरभ भण्डारी, मणी लिम्बु, सुनिलप्रसाद साह, राजा सल्यानी, सुस्मा श्रेष्ठ, प्रभात अधिकारी, रंजित ठाकुर, मदन लिम्बु, सुनिल सिंह लगायतका युवाहरु सिंहदरबार पुगेका थिए ।

‘यो व्यवस्था र संविधानले निकास दिन सक्दैन । त्यसैले हामीले अहिलेको संविधान र सरकार खारेज गरी अन्तरिम संविधान र अन्तरिम सरकार गठन गर्नुपर्छ भन्ने स्पष्ट माग हो । यो सरकार विकास र निकास दुबैमा असफल भइसकेको छ । अब निकास दिन आवश्यक छ । त्यसका लागि यो व्यवस्था खारेज गरेर अगाडि बढनुको विकल्प छैन्,’ कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल कानूनी कठघरामा उभ्याउनुपर्ने माग समेत उनले गरेका छन् । ‘बंगलादेशमा जसरी हत्यारालाई मृत्युदण्ड नै दिईएको छ, कारबाही गरिएको छ, त्यसरी नै हामीले केपी ओलीलाई कानूनी कठघरामा ल्याउनुपर्छ । कानूनबमोजिम कारबाही गर्नुपर्छ । यदि कारबाही गर्न सकिएन भने हामी उद्देश्यविहीन हुन्छौं,’ साहले भने ।

यस्तै जेनजी हत्यारा र भ्रष्टाचारीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्नेमा वर्तमान सरकार असफल रहेको हामीहरुको बुझाइ रहेको उनले बताए । भ्रष्टाचारीहरु, जेनजी हत्याराहरु अहिले खुलेयाम घुमिरहदा समेत सुशीला सरकारले किन अहिलेसम्म पक्राउ गर्न सकेन भन्ने प्रश्न अध्यक्ष साहले गरेका छन् ।

२०८४ सालमा हुने निर्वाचन २०८२ सालमा गराउनका लागि जेनजी बिद्रोह नभएको बताउदै अध्यक्ष साहले सबैभन्दा पहिला जेनजी हत्यारा र भ्रष्टाचारीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने उनले बताए ।

जेन–जीका विभिन्न २१ समूहले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसक्ने र घाइते तथा शहीदको सपना साकार पार्न सम्भव नभएको निष्कर्ष निकालेको उनले बताए । उनीहरूले माग पूरा गर्न ७ दिनको अल्टिमेटम दिँदै बेवास्ता गरे कार्की सरकार गठनमा आफूले गरेका गल्तीको माफी माग्दै पुनः संघर्षमा जाने चेतावनी दिएका छन् । विद्रोहमा होमिएका युवाविरुद्ध वर्तमान सरकारले नै षडयन्त्र गरिरहेको भन्दै उनीहरुले विभिन्न माग गरेका छन् ।

यस्ता छन् उनीहरूका माग

१. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर ।

२. स्थिर सरकारका लागी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर ।

३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर ।

४. जेन – जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर ।

५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर ।

६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।

२४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।

७. जेन–जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर र विधिको शासन कायम गर ।

८. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुरÞ्याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर ।

९. यी कुराहरु संबिधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संबिधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग।

जेनजी घाइतेको उपचारका लागि १० स्वास्थ्य स्वयंसेवक परिचालन

काठमाडौं । सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचारका लागि हेल्प डेस्क स्थापना गर्ने तथा त्यसमार्फत सेवा प्रवाह गर्न १० जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । स्वयंसेवकलाई मासिक १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने उनले जानकारी दिए । उनकाअनुसार बैठकले भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सरकारले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलायबल इनर्जी फर इकनोमिक प्रस्पेरिटी’ परियोजनाका लागि २३.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । उनकाअनुसार बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ ।

उनले ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताए । उनले नेपाल प्रहरीको हालको दरबन्दीभित्रै पद–मिलान तथा कार्यालय संरचना समायोजनका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको पनि बताए ।

मन्त्री पुनका अनुसार नेपाल प्रहरीको जनपद समूहतर्फको नायव महानिरीक्षकबाट ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि भएको छ । भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ । कार्यवाहक मुख्यसचिवको जिम्मेवारी सचिव सुमन अर्याललाई दिने निर्णय भएको पनि बताए ।

जेनजी आन्दोलन : सर्वोच्च र अख्तियारसहित प्रहरीमा १०४ जाहेरी, सात शवको अझै भएन पहिचान

काठमाडौं । काठमाडौं प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ । परिसरले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मात्रामा जाहेरी दर्ता गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरकार प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिए ।

उनकाअनुसार भदौ २३ र २४ को आन्दोलनको क्रममा परिसरमा अहिलेसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ । मृतकमध्ये ७ जनाको पहिचान हुन नसकेको उल्लेख गर्दै उनले पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको बताए । एसपी भट्टराईले ७ वटा उजुरीहरु तामेलीमा राखिएको पनि उल्लेख गरे । उनले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको बताए ।

उनले कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ । तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ ।

न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् । पक्राउ परेकामध्ये ५ जना मात्र महिला रहेको उनले जानकारी दिए । उनले जेनजी आन्दोलदनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताए । पुनः पक्राउ गरिएका थुनुवाहरु ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उनको भनाइ छ । उनले बाँकी १५ जना थुनुवाहरु समेत आफूहरुको सम्पर्कमा रहेको जानकारी दिए ।

मिरज ढुंगाना समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाने भएको छ । पछिल्लो समय सरकारमै रहेकाहरुले आन्दोलनको मर्मविपरीत कार्य गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले बताएका छन् ।

‘हामी ३ बजे जाँदैछौँ । सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि हुन थाले,’ ढुंगानाले भने, ‘यो आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका हौं ।’ प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विषय बाहिरिएपछि जेनजी अगुवाहरूले ध्यानाकर्षण गराउन थालेका छन् ।

प्रधानमन्त्रीलाई भेट्दै जेनजी समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहित पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउने भएका छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँले भने, ‘आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौं । तर १० बजे जाने कि कतिबेला भन्ने टुंगो लागिसकेको छैन । जेहोस्, आज जान्छौं ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् । नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए । यो समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरुले गर्दै आएका छन् । सुदन गुरुङ समूहले पनि जेनजी पुस्ताको आन्दोलनको दुरुपयोग भएको टिप्पणी गरेको छ । ‘हामीले सुशासन मागेका थियौं तर यस्तो कल्पना गरेका थिएनौं,’ सुदन समूहका सदस्य बानियाँले भने ।

माइतीघरमा जेनजी घाइते र राजावादीबीच ‘लफडा’ (तस्बिरहरू)

काठमाडौं । काठमाडौं माइतीघरमा जेनजी आन्दोलनका घाइतेको अगाडि राजावादी नारा लागेपछि उनीहरु आक्रोशित भएका छन् । माइतीघरमा घाइते जेनजी र राजावादीबीच चर्काचर्की परेको छ । सरकारले माग सम्बोधन गर्न नसकेको भन्दै धर्नामा बसेका घाइते जेनजी र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका प्रदर्शनकारीबीच ‘लफडा’ भएको हो ।

भदौ २३ र २४ गतेको घटनामा घाइते भएका र शहीद परिवारका पीडितहरुले निःशुल्क उपचार, उचित क्षतिपूर्तिलगायतको मागसहित माइतीघरमा निरन्तर धर्ना दिइरहेका छन् । प्रसाई नेतृत्वको समूहले पनि माइतीघरमै पुगेर प्रदर्शन गरेपछि माहोल बिग्रिएको हो । यद्यपि, व्यापक प्रहरी परिचालन भएको कारण कुनै अप्रिय घटना भने घटेन ।

प्रसाई समूहले आजदेखि अनिश्चितकालीन मेची महाकाली आन्दोलनको घोषणा गरेकोमा हिजो साँझ सरकारसँगको वार्तापछि फिर्ता लिएको थियो । यद्यपि, शान्तिपूर्ण आन्दोलन गर्न भने सरकारले नै अनुमति दिएको थियो । सोही अनुसार आज प्रदर्शनको लागि माइतीघर पुगेका राजावादी र घाइते जेनजीबीच सवालजवाफ भएको हो । घाइते जेनजीले अन्यत्रै गएर प्रदर्शन गर्न भनेपछि राजावादीहरु चर्काचर्कीमा उत्रिएका हुन् ।

छानविन आयोगको नजर अब निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीमा

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएको हिंसक घटनाका बारेमा बनेको उच्चस्तरीय छानबिन आयोग अन्तिम चरणतिर पुगेसँगै अब अनुसन्धानको केन्द्रबिन्दु तत्कालीन राजनीतिक नेतृत्वमा पुगेको छ । आयोगले अब निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी पूरा गरिसकेको छ । अनि यही चरणलाई सबैभन्दा संवेदनशील मानिएको छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा असोज ५ गते गठन भएको आयोगले अहिलेसम्म मुख्य सचिवदेखि डीआईजी तहका अधिकारीहरूसम्मका बयान सकाइसकेको छ । फिल्डमा खटिएका जवानदेखि आदेश दिने कमाण्डरसम्म तहगत अनुसन्धान गरेर अब आयोग ‘हाइप्रोफाइल’ नेतृत्वतर्फ उक्लिएको अध्यक्ष कार्की बताउँछन् । आयोगसँग करिब एक महिना मात्र बाँकी छ । त्यसैले आगामी दुई साताभित्रै उच्च राजनीतिक तथा सुरक्षा नेतृत्वसँग बयान लिने कार्यसूची बनिसकेको छ ।

छानबिनको प्रारम्भिक चरणमा प्रहरी प्रधान कार्यालयबाट विवरण आउन ढिलाइ भएपछि तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई अवहेलनाको चेतावनी दिँदा मात्र विवरण उपलब्ध भएको आयोगले जनाएको छ । त्यस्तै, राष्ट्रपति कार्यालय र सिंहदरबारजस्ता संवेदनशील संरचना आक्रमणमा परेको अवस्थामा नेपाली सेनाले किन सक्रिय भूमिका नखेलेको भनेर पठाइएको पत्र दुई सातादेखि जंगीअड्डाले बेवास्ता गर्दै आएको आयोग स्रोत बताउँछ । नख्खु कारागार तोडफोड तथा बन्दी बाहिरिएको घटनाप्रति आयोगले छुट्टै चासो देखाएको छ । यही क्रममा कारागार प्रमुख सत्यराज जोशी तथा त्यतिबेला थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेसँग आयोगले बयान लिइसकेको छ ।

आयोगले ओली र लेखकसहित ६ शीर्ष पदाधिकारीको विदेश भ्रमण रोक्का गर्न तथा उपत्यका नछोड्न सरकारलाई सिफारिस गरिसकेको छ । तर ओलीले आयोगलाई नै ‘असंवैधानिक’ भन्दै खुलेर असहयोगको संकेत दिँदै आएका छन् । सर्वोच्चमा समेत आयोग अस्वीकार गर्ने संकेत दिएका ओलीको बयान लिनु आयोगका लागि सबैभन्दा चुनौतीपूर्ण मोड हो । आयोगका सदस्यहरू भने कानुनले दिएको अधिकार प्रयोग गरेर ‘पत्र काटेरै बोलाउने’ तयारीमा छन् । बयान नदिए ऐनअनुसार कारबाही सिफारिस हुनसक्ने उनीहरूको चेतावनी छ । अब आयोगले तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, एआईजी (हालका आईजीपी) दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल लगायतका बयान प्रक्रियालाई अघि बढाउँदै छ ।

मुख्यसचिव एकनारायण अर्यालसँग आयोगले भर्खरै बयान लिएको छ, जसमा ओली सरकारपछिको संक्रमणकालीन सुरक्षा व्यवस्थापनबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले ६० प्रतिशत काम पूरा भइसकेको र अहिलेसम्म करिब ३ सय उजुरी दर्ता भएको जानकारी दिएका छन् । फोटो–भिडियो र अन्य प्रमाणका आधारमा संलग्नहरूको ‘क्रिमिनल प्रोफाइल’ विश्लेषण हुँदैछ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगले चाहे म्याद थप सिफारिस गर्न सक्छ, तर अहिलेसम्म त्यस्तो आवश्यकता नदेखिएको बताइएको छ ।

यता नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार पस्ने चेतावनी दिएका छन् । नेशनल भोलेन्टियर फोर्स (एनभिएफ) को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिँजाएको बताएका थिए । त्यसो भएमा एक लाख मानिस सिंहदरबार प्रवेश गर्ने उनले चेतावनी दिए । ‘हामी भदौ २४ गतेका अराजकहरू जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौं,’ बस्नेतले भने, ‘बरू फूलमाला लगाएर सुशीला कार्कीका मन्त्रीहरूलाई सिंहदरबाट बिदाइ गर्नेछौं । एक लाख जनताको उपस्थितिमा सिंहदरबार भित्रै आमसभा गर्छौं ।’

तनावग्रस्त बारामा जिल्ला सुरक्षा समिति र जेनजी समूहबीच वार्ता (तस्वीरहरु)

बारा । मंगलबार बारा जिल्लाको सिमरामा जेनजी समूह र नेकपा एमाले निकट नेता–कार्यकर्ताबीच भएको झडप र त्यसपछि सिर्जित अवस्था अन्त्यका लागि जिल्ला सुरक्षा समिति बारा र मधेस जेनजी समूहबीच वार्ता सुरू भएको छ । नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना र जेनजी समूह बीच वार्ता सुरु भएको छ ।

सो घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्नु पर्ने, घाइतेलाई निःशुल्क उपचार गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गर्नु पर्ने लगाएका विभिन्न माग राख्दै जेन जी समूह वार्तामा सहभागी भएका छन् । यो वार्ता बिहीबार नै बस्ने भनिएको थियो । जिल्ला प्रशासन कार्यालय बाराले वार्तामा डाके पनि जेनजी समूहले बुधबार आफूहरूमाथि कुटपिट गर्ने मुख्य व्यक्ति अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्ता नगर्ने अडान लिएका थिए ।

प्रहरीले बिहीबार राति साहलाई पक्राउ गरेपछि जेनजी समूह वार्तामा बस्न राजी भएको हो । वार्ताका लागि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू आएका छन् । यही घटना मिलाउन भन्दै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको नेतृत्वमा सुदन गुरूङ, शिव यादव लगायतको टिम बिहीबारै काठमाडौंबाट जनकपुर गएको थियो । उनीहरूले बिहीबार राति सिमराका आन्दोलनरत जेनजीहरूसँग कुराकानी गरी वार्ताको माहोल बनाएका थिए ।

मन्त्री गुप्ता जनकपुरबाट काठमाडौं फर्किसकेका छन् भने सुदन गुरूङ, शिव यादव लगायतको टिम वार्तामा सहभागी हुन बारा पुगेको बताइएको छ । बुधबार जेनजी समूहलाई एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै प्रदर्शन र तोडफोड भएको थियो । स्थिति साम्य पार्न कर्फ्यू लगाउनु परेको थियो । त्यही तनावले बिहीबार पनि निरन्तरता पायो । प्रहरी र जेनजी प्रदर्शनकारीहरूबीच झडप हुँदा हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको थियो । केही प्रहरी र जेनजी युवा घाइते भएका थिए । झडपका कारण बिहीबार पनि कर्फ्यू लगाउनुपरेको थियो ।

कफ्र्यूकै बीच जेनजी प्रदर्शनकारीले सडक आवागमन ठप्प पारेका थिए । जेनजी समूहले बुधबारको घटनामा आफूहरूमाथि कुटपिट गर्ने सात जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए । तीमध्ये दुई जनालाई बिहीबार पक्राउ गरिएको थियो । जेनजीहरूले भने मुख्य व्यक्ति साह पक्राउ नपरेसम्म प्रदर्शन जारी राख्ने र वार्तामा नबस्ने अडान लिए । वार्ताको विस्तृत विवरण आउन बाँकी छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

 

 

 

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अरबिन्द साह पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवालाई कुटेको आरोपमा नेकपा एमालेका कार्यकर्ता अरबिन्द साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार साँझ पक्राउ गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरेको थियो ।

गएको बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रमका क्रममा जेनजी र एमाले कार्यकर्ताबीच झडप हुँदा त्यहाँको अवस्था असामान्य बनेको थियो । बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए । जेनजीको विरोध प्रदर्शनपछि दुवै नेता सिमरा जान नसकी काठमाडौँमै रोकिएका थिए । विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए ।

स्थानीय जेनजी अगुवा सम्राट भनिने साइकुस उपाध्यायले उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा बुधबार जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जेनजीको मुख्य माग कुटपिटमा संलग्न साहलाई पक्राउ गर्नुपर्ने थियो । उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए । आज भने अहिलेसम्म सिमराको अवस्था सामान्य छ । अवस्था सामान्य बन्दै गएकाले गए राति ८ बजेदेखि सिमरामा कफ्र्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

सिमराको जेनजी प्रदर्शन स्थगित, भोलि वार्ता

बारा । सिमरामा उग्र बनेको जेनजी प्रदर्शन नियन्त्रणमा आएको छ । कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी छविरमण भट्टराईका अनुसार प्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुनेछ । आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप समेत भएको थियो । झडपमा ६ जना प्रहरी र चार जना जेनजी समेत घाइते भएका छन् ।

प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ । यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बनेको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज पनि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि जारी गरेको कफ्र्यु आदेश भने जारी नै छ ।

 

सिमरामा हवाई फायर र अश्रुग्यास प्रहार : वार्ताका लागि जेनजीले राखे शर्त

बारा । जेनजी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध अटेर गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् । सीडीओले बोलाएको वार्तामा जानका लागि जेन–जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा जेन–जी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।

बुधवार जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको मुख्य माग छ । जिल्ला प्रहरी प्रमुख तामाङले साह प्रहरीको निगरानीमै रहेको र पक्राउ गर्ने बाचा गरेका छन् । यद्यपि, उनी पक्राउ परिसकेका छैनन् ।
साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेन–जी समूह छन् । जिल्ला संयोजक उपाध्याय भने वार्तामा हिँडिसकेका थिए । अन्य जेन–जी समूहले आफूहरूको सहमतिबिना वार्तामा जान नपाइने भनेपछि उनी फर्किएर सिमरामा छलफल गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले संवादबाट समाधान निकाल्न आन्दोलनरत जेनजी युवालाई वार्तामा बोलाएको थियो । जेनजी युवाले एमाले युवा संघका नेता अरविन्द साह पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन् । जेनजी अगुवा सम्राट उपाध्यायले वार्तामा बस्नुअघि साहलाई पक्राउ गर्नुपर्ने बताए । बारा प्रशासनले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएको थियो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएका छन् । युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप छ । उनी हालसम्म फरार छन् ।

बाराका सीडीओले जेनजी युवालाई बोलाए वार्तामा

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवाहरूलाई संवादका लागि वार्ता आह्वान गरेका छन् । प्रजिअ मिश्रले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी समस्याको समाधान वार्ताबाटै गर्नुपर्ने आवश्यकता बताएका हुन् । उनले संवादको माध्यमबाट स्थिति समाधान गर्ने विश्वास व्यक्त गर्दै उपाध्यायलाई वार्ता गर्न आह्वान गरेका हुन् ।

जेनजी अगुवा सम्राट उपाध्यायले संवादबाटै समाधान खोज्नुपर्छ भनेर प्रजिअले फोन गरेको बताएका छन् । ‘उहाँले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको थियो, तर हामी त्यहाँ जान सक्ने अवस्था छैन । तपाईंहरू यहाँ आउनुहोस् भनेका छौं’ उनले भने । प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएका उनले बताए । प्रदर्शनकारीहरूले भने इलाका प्रहरी कार्यालय सिमरामा वार्ता गर्नुपर्ने अडान राखेका छन् ।

 

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन : माग पूरा नभएर सरकार फिर्ता

काठमाडौं । देशभरका २३ वटा जेनजी समूहहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै सरकारको कडा आलोचना गरेका छन् । ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने संविधान संशोधनसहित तत्काल गर्नुपर्ने पाँच बुँदे राखिएको छ। जेनजी समूहका प्रतिनिधिहरूले वर्तमान सरकारलाई ‘दिशाहीन’ र विद्रोहका मूल उद्देश्यभन्दा भड्किएको सरकारको रूपमा चित्रण गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ, ‘यो विद्रोह र शहादत केवल ‘अर्ली इलेक्सन’ का लागि मात्र थिएन । विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र शहीद परिवारका माग तत्काल सम्बोधन हुनुपर्छ ।’

उनीहरूले सरकारले माग पूरा नगरेमा राष्ट्रपतिले वर्तमान सरकारलाई फिर्ता बोलाएर नयाँ सरकार गठनमा मध्यस्थता गर्नुपर्ने बताएका छन् । नभए विद्रोही पक्षले शान्तिपूर्ण तर दवावपूर्ण आन्दोलन अघि बढाउने तयारीमा रहेको उनीहरुले चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझाउने समूहमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायतका समूहहरू सहभागी छन् । ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने, जेनजी आन्दोलनमा नरसंहार गर्ने दोषीलाई दण्ड हुनुपर्ने, जेनजी घाइतेको उपचारको सुनिश्चितता हुनुपर्ने, जेनजी शहीद परिवारको उचित क्षतिपूर्ति र भरणपोषण हुनुपर्ने माग राखेका छन् ।

 

 

 

 

सिमरा आज पनि ‘अशान्त’ : जेनजी युवाको विरोध, एमालेका दुई वडाध्यक्ष पक्राउ

बारा । बाराको सिमरा क्षेत्रमा नेकपा एमाले र जेनजी युवाबीच उत्पन्न विवाद निरन्तर चर्किदै गएको छ । बुधबार दिनभर तनावग्रस्त सिमरा बिहीबार पनि अशान्त बनेको छ । घटनाक्रमले जिल्ला प्रशासन कार्यालय बारालाई बुधबारै कफ्र्यू आदेश जारी गर्न बाध्य बनाएको थियो, तर राततिर स्थिति केही शान्त बनेपछि बिहीबार विहान फेरि आन्दोलन सुरु भएको हो ।

बिहीबार बिहान १० बजेदेखि जेनजी युवाहरूले सिमरा चोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ताहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात आवागमन ठप्प परेको छ ।
जेनजी युवामाथि कुटपिट भएको आरोपमा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का वडाध्यक्ष कैमोदिन अन्सारीलाई पक्राउ गरेको छ । दुबै जना एमालेबाट निर्वाचित प्रतिनिधि हुन् । जेनजीका अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर बाँकी चार जना पक्राउ नपरेको गुनासो गर्दै युवाहरूले पुनः प्रदर्शन गरेका हुन् ।

एमालेले बुधबार बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गर्दैं थियो । त्यसको पूर्वसन्ध्यामा जेनजी अगुवा उपाध्यायले सामाजिक सञ्जालमार्फत् ‘एमालेको कार्यक्रम असफल पार्नेगरी शान्तिपूर्ण विरोध’ को घोषणा गरेका थिए । यही घोषणालाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेपछि अवस्था एकाएक तनावपूर्ण बनेको थियो । उपाध्यायमाथि भएको हातपातपछि आक्रोशित जेनजी युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थलसम्म पुगे ।

भीडले विमानस्थलको मुख्य गेट ढालिदियो र भित्र प्रवेश गरी ढुंगामुडा तथा सिसाका बोतल प्रहार गर्दै नाराबाजी गरे । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्दै भीड तितर–बितर पारेको थियो । दोस्रो दिन पनि प्रदर्शन जारी रहेकाले सिमरा क्षेत्र संवेदनशील बनेको छ । प्रहरीको बाक्लो उपस्थिति रहे पनि जेनजी युवकहरू आक्रमणकारीहरूको पूर्ण गिरफ्तारी नहुँदासम्म आन्दोलन जारी रहने बताइरहेका छन् ।

 

सरकारले जेनजी आन्दोलनका २,४२९ घाइतेलाई तत्काल राहत रकम दिने

काठमाडौं । सरकारले जनेजी आन्दोलनका २,४२९ घाइतेलाई तत्काल राहत रकम उपलव्ध गराउने भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

बैठकले नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरि सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद्ले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरी अध्यागमन नियमावलीमा हेरफेर गर्ने र सहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।

उनले क्षतिको एकीकृत विवरणको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गर्न निर्देशन दिइन् । चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएको भन्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा सम्बन्धित सबै निकायका प्रमुखले आ–आफूले सम्पादन गर्नुपर्ने कार्यलाई प्राथमिकता दिन निर्देशन दिइन् ।

आन्दोलनको समयमा भएको तोडफोड र आगजनीबाट सार्वजनिक संरचना तथा सम्पतिमा भएको क्षतिको कारण लगायतबाट समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने कतिपय काम कारवाहीहरू समेत प्रभावित भएको बताइन् । जेन–जी आन्दोलनको भावना र मर्म बमोजिम सेवाग्राहीमैत्री सेवा, जनआकांक्षा अनुरूप सेवा प्रवाह गर्न उच्च मनोवलका साथ चालु आर्थिक वर्षको लागि तय भएका निर्धारित लक्ष्यहरू हासिल गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत भएका विषयहरूका सम्बन्धमा निकायगत छलफल भयो । चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म यस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएकोले चालु आर्थिक वर्षको बाँकी अवधिमा सम्बन्धित सबै निकायका प्रमुखले आ–आफूले सम्पादन गर्नुपर्ने कार्यलाई प्राथमिकता र तीव्रताका साथ अगाडि बढाउनुपर्ने अवस्था देखिएको छ ।’

उनले भनिन्, ‘संवत् २०८२ भदौ २३ र २४ गते जेन्जी आन्दोलनको समयमा भएको तोडफोड र आगजनीबाट सार्वजनिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको कारण लगायतबाट समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने कतिपय काम कारवाहीहरूसमेत प्रभावित भएको देखिन्छ । यस सन्दर्भमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले जेन्जी आन्दोलनको भावना र मर्म बमोजिम सेवाग्राहीमैत्री सेवा, जनआकांक्षा अनुरूप सेवाप्रवाह गर्न उच्च मनोवलका साथ चालु आर्थिक वर्षको लागि तय भएका निर्धारित लक्ष्यहरू हासिल गर्नेगरी कार्यसम्पादन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देख्दछु ।’

उनले थपिन्, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सबै निकायहरूले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम, कार्ययोजना एवम् तय गरिएका माइलस्टोन बमोजिम निर्धारित समय सीमाभित्र तोकिएका लक्ष्य हासिल गर्न सबै निकायका प्रमुखहरूले जिम्मेवारी लिन निर्देशन गर्दछु । जेन्जी आन्दोलनको सन्दर्भमा भएको तोडफोड र आगजनीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनमा भएको क्षति र अन्य भौतिकलगायत सम्पूर्ण क्षतिको विवरण यथाशीघ्र अद्यावधिक गर्ने र अन्तर्गतका निकायहरूमा समेत भएको सम्पूर्ण क्षतिको एकीकृत विवरणको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गर्न निर्देशन गर्दछु ।’

 

जेनजी आन्दोलनका घाइतेले दिए अस्पतालमै ‘बायोमेट्रिक’ विवरण

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका युवाले आगामी निर्वाचनका लागि आफ्नो मतदाता परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण अस्पतालमै बसेर दिएका छन् । निर्वाचन आयोगका अनुसार ती युवाहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामै रहेकाले आयोगले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको हो ।

बायोमेट्रिक गराउने क्रममा अस्पतालमा अर्थमन्त्री रामेश्वर खनाल पनि पुगेका थिए । उनले नागरिक अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था मिलाएको बताए । घाइते युवाहरूले आयोगप्रति आभार प्रकट गर्दै, आफ्नो अवस्था हुँदाहुँदै पनि लोकतान्त्रिक अधिकार उपयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

हेर्नुस् तस्वीरहरु

‘जेनजी समूहहरु नै आईएनजीओ र एनजीओको ‘फण्डिङ’ ले चल्न थाले, एकता असम्भव’

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दल, आईएनजीओ र एनजीओबाट फण्डिङ केही जेनजी समूहहरुले आन्दोलनका मूल मुद्दा कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘ऐतिहासिक जेनजी आन्दोलन र परिवर्तनको मार्गचित्र’ विषयक गोष्ठीमा बोल्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । जेनजी समूहहरुको विभागजन र स्वार्थी प्रवृत्तिका कारण जेनजी आन्दोलनको औचित्यमाथि नै शंका उत्पन्न हुन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरे ।

जेनजी प्रतिनिधि अबिन मेन्याङ्बोले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम लगायत तीन वटा मुद्दा लिएर आन्दोलन सुरु गरिएको भए पनि केही जेनजी समूहहरु सत्ताकै पछि दौडिरहेको आरोप लगाए । उनले जेनजी आन्दोलनले उठाएका मागहरु पूरा गर्न आफूले एकताका लागि आह्वान गरेको भए पनि कोही जेनजी समूह वा व्यक्ति सहभागी नभएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘हामीले तीन वटा मुद्दा बोकेर आन्दोलन गरेका हौं । तीन जना मुद्दाबाट केही जेनजी अगुवा भन्नेहरुले चार वटामा किन सारिराखेको ? हामीले हिजो मात्रै पनि जेनजी समूहको एकताका लागि प्रयास ग¥यौं । सबैलाई आह्वान ग¥यौं कोही आउनु भएन । उहाँहरु स्वार्थी समूहहरु हो । उहाँहरु आउनु हुन्न । जेनजी भन्नेहरुलाई पार्टी, एनजीओ र आईएनजीओहरुले पछाडिबाट फण्डिङ गरेको छ । आयो भने भोलिको दिनमा फण्डिङ रोकिन्छ । त्यसकारण एकता सम्भव छैन । यदि एकताका लागि सबै जेनजी समूहहरु आउनु हुन्छ भने हामी एकताका लागि तयार छौं ।’

जेनजीकी अर्की प्रतिनिधि अञ्जु राईले आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ हुन नहुने धारणा राखे । उनले २०८४ सालमा हुने आवधिक निर्वाचनलाई २०८२ सालमा गर्नको लागि मात्र आफूहरुले आन्दोलन नगरेको स्पष्ट पारे । उनले जेनजी आन्दोलनले उठाएका मागहरु सम्बोधन नभए फेरि आन्दोलनमा जाने चेतावनी समेत दिए । उनले जेनजी पुस्ताका माग सम्बोधन गर्न तथा शहीदका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै प्रधानमन्त्रीलाई लिखित निवेदन दिएपनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाए ।

उनले भने, ‘२०८४ सालमा हुने चुनाव २०८२ मै गर्नको लागि त हाम्रा साथिहरु रगत बगाउनु भएको होइन । चुनाव मात्रै गरेर देशको अहिलेको समस्याहरु हल हुन्छन् त ? हाम्रा कतिपय साथीहरु जेनजीहरुको युनिफिकेसनको लागि कामहरु गरिरहनु भएको छ । यदि जेनजीले उठाएका मागहरु सम्बोधन हुने स्थिति भएन भने सबै जेनजी समूह मिलेर हामी फेरि आन्दोलन गर्नुपर्ने स्थिति आउनसक्छ । हामीले जेजनीका माग र शहीदलाई न्याय दिनको लागि प्रधानमन्त्रीज्यूलाई निवेदन दियौं तर उहाँहरुको आश्वासन फिक्का हुँदै गइरहेका छन् ।’

त्यस्तै, ज्योतिका फुर्केलीले जेनजी पुस्ता आपसी विभाजनको मार्गमा हिँडेकै कारण पुराना राजनीतिक शक्तिहरू शिर उठाउन थालेको बताइन् । उनले जेनजी आन्दोलनले निकास नपाए समाजमा जेनजी पुस्ता आतंककारी ठहरिने भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताइन् । उनले मुलुकमा सुशासन कायम गर्नको लागि जेनजीबीको एकताको विकल्प नरहेको जिकिर पनि गरिन् ।

उनले भनिन्, ‘हामीले मुलुकको आमुल परिवर्तनको लागि आन्दोलन गर्‍यौँ । अहिले जेनजी अभियानहरु नै एकआपसमा बाँझिदा पुरानै राजनीतिक शक्तिहरु राज्य सत्तामा आउन तयारी अवस्थामा छन् । हामी जेनजीहरुलाई त उनीहरुले अहिले नै आतंककारी घोषणा गरिसकेका छन् । अहिले गाउँमा जेनजी भन्यो भने आतंककारी भन्ने स्थिति सिर्जना हुनुमा हामीहरुकै हात छ नि । त्यसैले अब हामी सबै एकजुट भएर जेनजी आन्दोलनका मागहरु पूरा गर्नतर्फ अगाडि बढ्नु पर्छ ।’ फुर्केलीले सबै जेनजी समूहलाई एकजुट भई मूल आन्दोलनका माग पूरा गर्नतर्फ लाग्न आह्वान समेत गरिन् ।

यी हुन् जेनजी आन्दोलनका ४५ शहीद (सूचीसहित)

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये शहीद घोषणा भएका ४५ जनाको नामावली सार्वजनिक गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको थियो । गृहमन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले घोषणा गरिएका शहीदको सूची गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको हो । मन्त्रालय उच्च स्रोतका अनुासर थप शहीदको सन्दर्भमा अझै अध्ययन जारी रहेको छ ।

यसअघि नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्यको सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो । सेनाको आधिकारिक तथ्यांकमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख थियो । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।
हेर्नुस् शहीद घोषणा भएकाहरुको नामावली

 

जेनजी आन्दोलनमा मारिएकामध्ये ४५ जनालाई सरकारले गर्‍यो शहीद घोषणा

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार, राजपत्रमा शहीदहरूको नाम प्रकाशित गरिने जानकारी दिए । यसअघि नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्यको सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो ।

सेनाको आधिकारिक तथ्यांकमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जनाको मृत्यु हुँदा जेलबाट भाग्ने क्रममा १० जना कैदी बन्दी मारिएको विवरण सेनाले सार्वजनिक गरेको थियो । आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका छ । भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई सेनाले अन्यको सूचीमा राखेको थियो ।

 

फोटो हेरेर जेनजी आन्दोलनकारी पक्रिए, ठूलो विद्रोहमा उत्रिन्छौं : प्रकाश चन्द

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दले जेनजी आन्दोलनकारीलाई पक्राउ गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनले फोटो वा भिडियोको भरमा आन्दोलनकारीलाई पक्राउ गर्ने प्रयास भए ठूलो विद्रोह सुरु हुने दाबी गरेका छन् ।

चितवनमा पत्रकार सम्मेलन गर्दै प्रकाशले भने, ‘फोटोमा देखियो भनेर युवालाई पक्राउ गर्ने काम भयो भने हामी चुप लाग्दैनौं । विचारको साङ्ला तोडेर ठूलो आन्दोलन गर्नेछौं ।’ तीन दिनअघि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउनेको विवरण संकलन भएको र प्रहरी प्रशासन तयारी अवस्थामा रहेको बताएका थिए ।

चन्दले भने प्रहरीले आन्दोलनका नाममा युवालाई तर्साउने र दमन गर्ने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् । उनले आफूलाई र आफ्ना साथीलाई पक्राउ गर्ने प्रयास भए आन्दोलनले अझ उग्ररूप लिने दाबी गरे । उनले भने, ‘मसँग बम–बारुद बनाउने सीप पनि छ, तर हाम्रो लक्ष्य राजनीतिक समाधान हो ।’

उनका अनुसार २३ गतेको आन्दोलनमा उनले नेतृत्व गरेका थिए, तर २४ गते अवस्था नियन्त्रण बाहिर जाँदा उनी सडकमा निस्केका थिएनन् । ‘युवालाई आतंकित पार्ने काम दलहरुले बन्द गर्नुपर्छ’, उनले भने, ‘अनियमितताको जिम्मा राजनीतिक दलहरुले लिनुपर्छ, अनि आन्दोलनको जिम्मा हामी लिन्छौं ।’ प्रकाशले आफू पाँच हजार बढी युवासँग सम्पर्कमा रहेको र चितवनबाट नयाँ युवा सञ्जाल निर्माणको तयारी गरिरहेको पनि जानकारी दिए । चितवन प्रहरीले हालसम्म एक व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ, तर नाम सार्वजनिक गरेको छैन ।

 

सुन्धारा कारागारबाट भागेका बन्दी ग्यास गन र गोलीसहित पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एक जना पक्राउ परेका छन् । काठमाडौं–७ स्थित लाहुरे टोलमा रहेको एक पसलबाट झोलामा राखिएको अवस्थामा बन्दुकको बट र नाल बरामद गरिएको हो । काभ्रेपलाञ्चोक महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । गोकर्णेश्वर–३ मा बस्दै आएका लामाले उक्त बन्दुक राखेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका लामा आन्दोलनको मौका छोपेर भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १३ गते साँझ काठमाडौँ महानगरपालिका ७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लास्टिकले बेरिएको अवस्थामा कुर्सीमाथि कालो झोला फेला परेको थियो । झोलामा ९७२ डब्ल्युके ६८३०१ ०३२१८९ नं उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त झोला राजा तामाङको भएको खुलेको थियो । कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनको डेराबाट प्रहरीले ३ थान गोलि पनि बरामद भएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । लामालाई थप अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

‘जेनजीलाई राष्ट्रियसभा पुर्‍याउन दलको इच्छा होइन, संविधानको अनुमति चाहिन्छ’

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीव्र बनेका बेला कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी पुस्ताको प्रतिनिधित्व अहिलेको संरचनामा सम्भव नभएको स्पष्ट पारेका छन् ।

उनका अनुसार राष्ट्रिय सभाको आवधिक निर्वाचन संविधानले तोकेको प्रक्रिया र मापदण्डअनुसार मात्रै गर्न सकिने भएकाले कुनै पनि राजनीतिक दल वा सरकारले चाहेर मात्र नयाँ पुस्तालाई प्रतिनिधित्व दिलाउन सक्दैन । निर्वाचन आयोगको सल्लाहमा सरकारले माघ ११ गते राष्ट्रिय सभा सदस्यका रिक्त १८ पदका लागि निर्वाचन मिति तय गरेको हो । आगामी फागुन २० गते एक तिहाइ अर्थात १९ सदस्यको कार्यकाल समाप्त हुने भएकाले सो पदपूर्तिका लागि आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार सातै प्रदेशका राजधानीहरूमा मतदान केन्द्र तोकिनेछ ।

संविधान २०७२ को धारा ८६ अनुसार राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । यसमध्ये ५६ जना प्रदेश सभाबाट निर्वाचित र ३ जना राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ । संविधानले कुनै विशेष उमेर समूह, आन्दोलन वा पुस्ताका लागि छुट्टै कोटा नदिएकाले जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) हालको प्रणालीबाट उम्मेदवार बन्न सक्दैनन् । संविधानको धारा ८७(१) ले राष्ट्रिय सभा सदस्य हुन कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख गरेको छ । जसका कारण जेनजी उमेर समूह स्वतः अयोग्य ठहरिन्छ ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार यो कानुनी सीमा संविधानमा निहित भएकाले दलहरूको इच्छाले मात्र तोड्न सकिँदैन । ‘राष्ट्रिय सभामा जेनजी पुस्ताको प्रतिनिधित्व गर्न संविधान संशोधन आवश्यक छ’, उनले भने, ‘संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत चाहिन्छ, तर अहिले प्रतिनिधि सभा नै विघटन भएकाले तत्काल सम्भव छैन ।’

उनले आयोगले सरकारको सल्लाह र संवैधानिक दायराभित्र रहेर मात्रै काम गर्न सक्ने बताए । ‘यदि सरकारले संविधानको अधीनमा रही कुनै प्रस्ताव ल्यायो भने हामी कार्यान्वयन गर्न तयार छौं’, भण्डारीले भने, ‘तर संविधान संशोधन नगरी राष्ट्रिय सभाको उमेर सीमा परिवर्तन गर्न सकिँदैन ।’

निर्वाचन आयोगका तथ्यांकअनुसार सातै प्रदेशमा रहेका प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख १,५९५ जना गरी १ हजार ९ सय ४ मतदाताले आगामी निर्वाचनमा मतदान गर्नेछन् । मतदानमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुने व्यवस्था छ ।

राष्ट्रिय सभा स्थायी प्रकृतिको सदन हो, जहाँ हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल समाप्त भएर नयाँ सदस्यको निर्वाचन हुने संवैधानिक व्यवस्था छ । यसपालि पनि १८ जना सातै प्रदेशबाट निर्वाचनद्वारा र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भई १९ जना सदस्य पदपूर्ति हुनेछ ।

हालैको जेनजी आन्दोलनपछि राज्यका सबै तहमा नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने आवाज उठेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्वबारे चासो देखाए पनि प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार अहिलेको संवैधानिक संरचनाभित्र त्यो सम्भव छैन । उनले भने, ‘यो आवधिक निर्वाचन हो, जसमा संविधानले तोकेको भन्दा फरक प्रक्रिया अपनाउन सकिँदैन । जेनजी पुस्तालाई राष्ट्रिय सभामा ल्याउन चाहिने बाटो भनेको संविधान संशोधन नै हो । त्यस बिना दलहरूको इच्छाले मात्र सम्भव छैन।’

आन्दोलन सफल नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैन : जेनजी अगुवा यादव

काठमाडौँ । आन्दोलन सफल नहुँदासम्म आफूहरुलाई चुनाव नचाहिएको जेनजी अगुवा पुरुषोत्तम यादवले बताएका छन् । शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगको बृहत राजनीतिक संवादमा उनले अहिले आन्दोलनको माग र मर्म अनुसारको प्रतिफल नआएको गुनासो गरे ।

‘आन्दोलनको माग र मर्म अनुसार प्रतिफल आएको छैन । आन्दोलन संस्थागत नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैन । हामी आन्दोलनको माग पुरा नभएसम्म लडिरहन्छौ । आन्दोलनको माग पुरा नभएको अवस्थामा चुनाव मात्रै भएर केही हुँदैन’ यादवले भने । उक्त कार्याक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्न मिल्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । रविमाथि अन्याए भएको भन्दै उनले अहिले रविको नेतृत्वमा सबै वैकल्पिक शक्ति एक हुनुपर्ने मत राखे । रास्वपाले आयोजना गरेको राजनीतिक संवाद बालुवाटारमा जारी छ । जसको नेतृत्व रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लले गरेका छन् ।

बालुवाटार वार्तामा जेनजी अगुवा नै ‘विभाजित’

काठमाडौं । जेनजी अगुवाबीच नै मुलुकको शासन प्रणालीको विषयमा मतभेद पनि देखिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार भएको राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफलमा यस्तो मतभेद देखिएको हो । सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच बुधबार राति अबेरसम्म वार्ता भएको थियो ।

छलफलका क्रममा प्रधामन्त्री कार्कीले २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सबैलाई आग्रह गरेकी थिइन् । छलफलका क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी र संघीयता खारेजी विषय उठेपछि जेन्जी अगुवाबीच नै मतभेद देखिएको हो । छलफलका क्रममा राप्रपाका नेता मोहन श्रेष्ठले संविधान खारेज गर्ने विषय उठाएका थिए ।

जेनजीका तर्फबाट सुरुमै बोलेका मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनुपर्ने र संघीयता खारेजी हुनुपर्ने माग राखेका थिए । जेनजीका प्रतिनिधि उपार्जुन चाम्लिङले सडकका माग सम्बोधन गर्ने नाममा संविधान फाल्नु नहुने कुरा बैठकमा उठाएको जानकारी दिए । उनले जेनजीले उठाएका मागहरू संविधानकै दायराभित्र पूरा गर्न सकिने तर्क गर्दै भने, ‘संविधान फ्याँकिए ठूलो राजनीतिक अस्थिरता र अनिश्चितता सिर्जना हुनेछ ।’

उनका अनुसार, अहिलेको आन्दोलनको म्यान्डेट संविधान फाल्नका लागि होइन, बरु यसको प्रभावकारी कार्यान्वयनका लागि हो । उनले भने, ‘भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, सुशासन कायम गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने जस्ता मुद्दाको कार्यान्वयनका लागि संविधान किन बाधक हुनुपर्‍यो ?’ चाम्लिङले संघीयता रहर वा करका कारण नभई मुलुकको आवश्यकता अनुरूप आएको प्रणाली भएको उल्लेख गर्दै यसलाई अझ सुदृढ र प्रभावकारी बनाउन छलफल गर्न सकिने बताए । तर, संविधान फाल्ने कुरा जेनजी आन्दोलनको म्यान्डेटमा नपर्ने भन्दै उनले त्यसप्रति कडा आपत्ति जनाए । ‘संघीयता खारेज गर्न खोजिए कोशी प्रदेशबाट मात्रै १० लाख मानिस काठमाडौँ आएर आन्दोलन गर्नेछन्,’ राईले भने, ‘त्यतिबेला सरकारले थेग्न सक्दैन ।’ जेनजीका तर्फबाट बोलेका अन्यले पनि राईको भनाइमा समर्थन जनाएका थिए ।

त्यस्तै, अर्की जेन–जी प्रतिनिधि रक्षा बमले पनि संविधान नचलाइ आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउनु पर्ने बताइन् । उनले संविधानकै चौकटीभित्र रहेर सुशासन कायम गर्न सकिने भन्दै दलहरूलाई समयमै निर्वाचन गरेर अघि बढ्न आग्रह गरिन् । वार्तामा जेनजीबाट ढुंगाना र चाम्लिङसहित रक्षा बम, मोनिका निरौला, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी थिए ।

 

बालुवाटारमा जेनजीसहित पहिलो त्रिपक्षीय वार्ता

काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् । यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए । यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ । छलफलमा १३ जना जेनजीहरू सहभागी हुँदैछन् । सरकारले आजको छलफललाई त्रिपक्षीय वार्ता भनेको छ ।

छलफलमा सहभागी हुनेहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।

राजनीतिक दलतर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा (माओवादी), प्रकाश अधिकारी, दीपक कार्की (जसपा), प्रकाश ज्वाला, राजेन्द्र पाण्डे (एकीकृत समाजवादी), मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ (राप्रपा), निशा डाँगी, स्वर्णिम वाग्ले(रास्वपा), महेश बर्तौला, क्षितिज थेबे (एमाले), वसन्त कुशवाह (जनमत) र प्रकाशशरण महत (कांग्रेस) सहभागी भएका छन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन र सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेल छन् ।

जेनजी प्रतिनिधिहरू 

मोनिका निरौला

रक्षा बम

पुरुषोत्तम यादव

सामना लावती

खेमराज साउद

उपअर्जुन चाम्लिङ

भोजविक्रम थापा

मिराज ढुंगाना

विवेक दाहाल

जेम्स कार्की

रेहनराज डंगोल

अमित खनाल

रिजन रानामगर

 

जेनजी युनाइटेडको सिंहदरबारमा प्रधानमन्त्रीसँग वार्ता, बबरमहलबाट खबरदारी

काठमाडौं । जेनजी युनाइटेडका नाममा संगठित समूहका नौं प्रतिनिधि प्रधानमन्त्रीसँग वार्तामा बसिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्की र जेनजी युनाइटेडबीच सिंहदरबारमा वार्ता भएको हो । गत शनिबार सो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही समूहबाट नौं जनालाई आज वार्तामा बोलाइएको हो । समूहका अन्य व्यक्तिहरु भने बबरमहलमा प्रदर्शनरत छन् ।

सडकबाट ‘जेनजेड युनाइटेड’ को खबरदारी
काठमाडौँ । जेनजी पुस्ताका युवाहरूलाई एकताबद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै जेनजेड युनाइटेडका युवाहरूले काठमाडौँको बबरमहलमा प्रदर्शन गरेका छन् । जेनजी समूहरतलाई एकताबद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेनजेड युनाइटेडको नामबाट मंगलवार बबरमहलमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् । प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौँ, एक हौँ’, ‘शहीदहरूको रगत नबिर्स’, ‘देशका घाउहरू हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले जेन–जी समूहलाई एकताबद्ध गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

जेनजी समन्वय संघर्ष समितिको माग : सर्वपक्षीय अन्तरिम सरकार

काठमाडौँ । मुलुकलाई सही निकास दिन सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारिएको छ । जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी मुलुकलाई निकास दिन राजनीतिक दलहरूसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो । राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधि सम्मिलित सो सरकार गठन हुनुपर्ने माग गर्नुपरेको समितिका प्रतिनिधि लेनिन विष्टले बताए ।

उनले सो सरकारले हवन छलफल गरी १८ महिना भित्र संविधान संशोधन, निर्वाचन प्रणालीमा आमूल सुधार, राष्ट्रिय नीतिमा पुनरावलोकन गरी मुलुकलाई निर्वाचनमा लैजानुपर्ने जिम्मेवारी पूरा गर्ने लक्ष्य राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको समेत बताए । विष्टले भने ‘संक्रमणकालीन व्यवस्थापन राष्ट्रिय संकट समाधानका लागि छोटो अवधिका लागि निम्न प्रक्रियाद्वारा अन्तरिम सरकार गठन गरिनेछ । सबै राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन । उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रस्ताव राष्ट्रपति समक्ष पेस गर्ने । कार्यकालको सीमा । अन्तरिम सरकारको कार्यविधि संविधान संशोधन र सुधारका कार्य सम्पन्न गर्नका लागि अधिकतम १८ महिना रहनेछ । यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीको आमूल सुधार र राष्ट्रिय नीतिको गहन पुनरावलोकन सम्पन्न गर्ने । अन्तरिम सरकारको कार्यकाल समाप्ति पछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गर्ने ।’

संघर्ष समितिले सो सरकार गठनका लागि सहयोग गर्न कांग्रेस, एमाले लगायतका पुराना राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ । संयोजक विष्टले नयाँ सरकार गठनका लागि आफूहरूले विभिन्न राजनीतिक दलहरूसँगको छलफललाई अघि बढाई सकेको समेत बताए।

गोलीले मारिएका ३९ जनामा सबैजसोको कम्मरमाथि प्रहार

काठमाडौं । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ३९ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार मृत्यु भएका अधिकांशलाई कम्मरभन्दा माथिल्लो भागमा गोली लागेको छ ।

काठमाडौं उपत्यकामा गोली लागेर ३५ जना मारिएकामा १९ जनाको छातीमा, १० जनाको टाउकामा, ४ जनाको पेटमा र २ जनाको घाँटीमा गोली लागेको भेटिएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, ‘सबैजसो मृतकको कम्मरमाथि गोली लागेको भेटियो । त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ, टाउकोमा पनि गोली लागेको छ । एक जनालाई तीन वटा रबर बुलेट लागेको देखिन्छ, अरू सबैको शरीरमा मेटल बुलेट लागेको देखिन्छ ।’

उनले मारिएका सबैलाई ‘हाई भेलोसिटी’ (राइफललगायत घातक) हतियारबाट गोली लागेको पाइएको बताएका छन् । २३ र २४ भदौको प्रदर्शनमा ४१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना प्रहरी पनि मारिएका थिए । प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट भएको थियो भने कैदीबन्दी भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोली लागेर मारिएका थिए । १० कैदीबन्दीमध्ये चार जनालाई सेना र ६ जनालाई प्रहरीको गोली लागेको थियो ।

दोस्रो दिन मारिएका ४१ प्रदर्शनकारीमध्ये १७ जनालाई गोली लागेको थियो, अरू २४ जना आगजनीसहितका घटनामा परेर मारिएका थिए । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा मात्र सात जनाको शव जलेको अवस्थामा भेटिएका थिए । सुनसरी र मोरङको भाटभटेनीमा पनि पाँच जनाको शव त्यही अवस्थामा फेला परेका थिए । तर डेढ महिनासम्म पनि यी मृतकहरूको पहिचान खुल्न सकेको छैन । चुच्चेपाटीमा भेटिएका कंकालहरू त्रिवि शिक्षण अस्पतालमा प्लास्टिकका पोकामा राखिएको छ भने डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल प्रहरीमा पर्याप्त तालिमको अभाव र सेवा विशिष्टीकरण नहुँदा बारम्बार एउटै गल्ती दोहोरिने गरेको बताउँछन् । उनले प्रहरीले अझै पनि युद्धमा प्रयोग गर्ने हतियार भीड नियन्त्रणमा चलाइरहेको भन्दै गैरघातक हतियारको अभावमाथि जोड दिए । स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति कायम गर्न नसकिने परिस्थितिमा अन्तिम विकल्पका रूपमा मात्र सुरक्षाकर्मीले गोली हान्न मिल्ने र त्यो पनि घुँडामुनि लाग्ने गरी गोली चलाउन आदेश दिन सकिने परिकल्पना गरेको छ । तर जेन–जी आन्दोलनमा भने घातक हतियारबाट कम्मरभन्दा माथि गोली चलाउँदा यति ठूलो मानवीय क्षति भएको छ । प्रहरीको रिपोर्टअनुसार, देशभर दुई दिनमा १३ हजार १८२ पटक फायरिङ गरिएको थियो, जसमध्ये २ हजार ६ सय ४२ ‘लाइभ एम्युनिसन’ अर्थात् धातुका गोली प्रहार भएका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगले यस घटनालाई गम्भीर रूपमा लिई सदस्य लिली थापाको नेतृत्वमा छानबिन गरिरहेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रारम्भिक अनुसन्धान सकेर बयान लिने काम भइरहेको र मानवअधिकारका दृष्टिले पहिलो दिनको गोली प्रहारका घटना बढी गम्भीर रहेकाले त्यसलाई प्राथमिकता दिएर अनुसन्धान भइरहेको जानकारी दिए । आयोगको प्रतिवेदन ढिला हुँदा त्यसको औचित्य कम हुने भएकाले सकेसम्म छिटो ल्याउनु पर्छ भनेर काम भइरहेको पोखरेलको भनाई छ ।

जेनजी आन्दोलनका शहीद र घाइतेहरुको बलिदान खेर जान दिनु हुँदैन : मन्त्री गौतम

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरुको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन जी आन्दोलनका घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन् ।

उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन् । उपचाररत घाइतेमध्ये एक जना महिला रहेको र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् । अर्को एक घाइते गोली लागेर उपचाररत रहेको जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताइन् । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेनजीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताइन् ।

उनले भनिन्, ‘केएमसीबाट ८३ जना जेनजी घाइतेहरुलाई उपचार गरिसक्नु भएको रहेछ । अहिले मैले २ जना बिरामी हेरेँ । अरु सन्चो भएर जानुभयो । एक जना महिलामाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको रहेछ, त्यो हेर्दा साह्रै दुःख लाग्यो । जेनजी छोरा रहेछन् । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ । उहाँको अवस्था जटिल नै छ । उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले धेरै राम्रो गरेको रहेछ । यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।’ उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन् । —न्युज एजेन्सी नेपाल

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस् : जेनजी रेडफोर्स संयोजक तिमिल्सिना

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गरेकी छन् । जेनजी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । उनले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्दै सरकारले छानविन गर्नुपर्ने बताइन् ।

छानविनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उनको भनाई छ । उनले रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउनले बताइन् । रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार नसहने उनको भनाई छ । उनले यो अब देश जेनजी रेडफोर्सले मात्रै बनाउने दाबी गरिन् । उनले जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउँँदै नेपालभरीका वामपन्थी, कम्युनिष्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् ।

उनले भनिन्, ‘माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन, भन्दिनँ म । भ्रष्टाचार छ, त्यो भ्रष्ट्राचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरुलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाईहरुले जेल हाल्न सक्नुहुन्छ, यदि उहाँ दोषी देखिनु हुन्छ भने । रेडफोर्स भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउँछ । रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।’

जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानविन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्च पदस्थ सबै व्यक्तिहरुको सम्पति छानविन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडि सारेको छ । – न्युज एजेन्सी नेपाल

 

सरकारले दमन गर्‍यो, अब हामी त्यसै छोड्दैनौं : जेनजी प्रतिनिधि

काठमाडौँ । जेनजी प्रतिनिधिहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । आज (शनिबार) माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका जेनजी प्रतिनिधिहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन् । शनिवार अपराह्न उनीहरूले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकताबद्ध गराउने अभियानमा जुटेकाहरूलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले शान्तिपूर्ण रूपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरूको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरू बाध्य हुने जेनजी प्रतिनिधि मञ्जना राईले बताइन् । उनले जेनजीले बनाएको सरकारले उनीहरूको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन्।

राईले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ । हामी पछि हट्ने छैनौँ यही चेतावनी दिन चाहन्छौँ । थुनिएका साथीहरू रिहाई नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ ।’ जेनजी प्रतिनिधिहरूले सरकारले आफूहरूमाथि दमन गरेको भन्दै सैह्य नहुने चेतावनी समेत दिएका छन् । भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे ।

उनले भने ‘हामीलाई युनिफाईड पनि हुन नदिने । यो कस्तो सरकार हो ? युनिफिकेशनको क्याम्पियन पनि रोक्नुपर्ने ? अब अहँ हुँदैन । जे जे गर्नुपर्छ, हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ । सरकारले केही गर्दैन, हाम्रो साथीहरूलाई यसरी दमन गरिन्छ भने हामी सहँदैनौँ । अझ कहाँ कहाँ जाने हो, गर्ने हो । त्यही भएर आज हामी यही गर्दैछौं हाम्रो युनिफिकेशन क्याम्पियन जबसम्म पूरा हुँदैन, जे जे गर्नुपर्छ लाग्ने हो । सबैले आफ्नो सबै कुरा छोडेर युनिफाईड हुनुपर्छ देशका लागि ।’

जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरूमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाई थियो । उनले आफूहरूको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताए ।

 

 

जेन–जेड युनाइटेडको चेतावनी : सरकार र मिडियाले हामीलाई छुट्याउने काम नगरोस्

काठमाडौं । जेनजी पुस्ताका युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जेन–जी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट शुक्रवार माईतीघर मण्डलामामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

प्रदर्शनकारीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा सहभागी जेन–जी युवा आनन्दमान साम्पाङले मुलुकको विकास र समृद्धिको लागि सबै जेन–जीहरु एक हुनुपर्ने बताए । उनले सरकार र सञ्चार माध्यमहरुलाई समेत नकारात्मक सन्देश फैल्याएर जेन–जीहरुलाई छुट्याउने काम नगर्न चेतावनी दिए।

उनले भने, ‘अहिले हाम्रो मुख्य मुद्दा भनेको युनाइटेड हुनु हो । म इलामको एउटा जेनजी आज यहाँ छु । किनभने हामी युनाइटेड हुन चाहन्छौं । कसैले पनि हामी जेन–जीहरुलाई छुट्याउने प्रयास नगरोस् । हामी एक हुन चाहन्छौं । सरकार र मिडियाले गलत म्यासेज पठाएर हामीलाई छुट्याउने काम नगरोस् । अहिले हामी छिन्नभिन्न हुने होइन । हामी सबै जेनजी पुस्ता एक भएर अगाडि बढ्ने दिन आएको छ ।’ नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरुले जेन–जी समूहलाई एकतावद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् । —न्युज एजेन्सी नेपाल

‘शहीदहरूको रगत नबिर्स’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । ‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि खबरदारी गरेका छन्।

‘आतंककारी’ भनेर होच्याइएका जेनजीसँग राष्ट्रपतिकै उपस्थितिमा सम्झौताको तयारी

काठमाडौं । नेपाली राजनीति फेरि एक ऐतिहासिक मोडमा उभिएको छ । स्थापित दल र पुरानो सत्ता संरचनाविरुद्ध उठेको जेनजी आन्दोलन अब औपचारिक वैधता प्राप्त गर्ने दिशातर्फ अघि बढेको छ । लामो दबाब, आन्दोलन र संवादपछि अब सरकारले जेनजीहरूका मागहरूलाई स्वीकार गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा लिखित सम्झौता गर्ने तयारी गरेको छ । यो सम्झौतालाई राजनीतिक विश्लेषकहरूले २०६३ सालको विस्तृत शान्ति सम्झौतासँग तुलना गर्न थालेका छन् । सरकार र जेनजीबीचको यो सहमति नेपालको नयाँ पुस्ताको राजनीतिक यात्रामा ऐतिहासिक मोडको रूपमा देखिएको छ ।

‘आतंककारी’ को आरोप र राष्ट्रपतिको हस्तक्षेप
गत वार्ताका क्रममा आन्दोलनकारीहरूले आफूहरूलाई ‘आतंककारी’ भन्न थालिएको भन्दै सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका थिए । उक्त गुनासो सुनेपछि राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिहरूलाई आश्वस्त पार्दै भनेका थिए, ‘जननिर्वाचित सरकार र संसद् ढाल्न सफल यो आन्दोलनले अब वैधता पाइसकेको छ । लोकतान्त्रिक राजनीतिको नयाँ कोर्स यिनै युवाबाट सुरु भएको हो ।’ राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई आन्दोलनको उपलब्धिका रूपमा व्याख्या गर्दै उनको इमानदार र निष्ठावान् नेतृत्वले लोकतान्त्रिक मूल्य पुनःस्थापना गरेको उल्लेख गरे ।

औपचारिक सम्झौतामाथि अन्तिम तयारी
प्रधानमन्त्री कार्की नेतृत्वको सरकार अहिले जेनजीका माग र एजेण्डालाई लिखित रूपमा दस्तावेजीकरण गर्ने अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयका अनुसार सरकार ८ वटा फरक–फरक जेनजी समूहसँग औपचारिक वार्ताको तयारीमा छ । वार्ता संयोजनको जिम्मा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललाई दिइएको छ । उनी हाल विभिन्न समूहसँग छलफल गर्दै सम्झौताको मस्यौदा तयार गर्ने गृहकार्य गरिरहेका छन् ।

राष्ट्रपति भवनमा दुई चरणको वार्ता
२५ असोज र ३० असोजमा शीतल निवासमा भएका दुई महत्वपूर्ण वार्तामा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिल सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेल सहभागी थिए । आन्दोलनकारी पक्षबाट जेनजी, घाइते तथा सहिद परिवार गरी १६ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । लामो छलफलपछि दुबै पक्ष लिखित सम्झौताको पक्षमा उभिएका थिए ।

सुरक्षा निकायको चेतावनी र समूहगत जटिलता

सुरक्षा निकायले सरकारलाई जेनजी नाममा करिब २५ वटा समूह सक्रिय रहेको जानकारी दिएको छ । केही समूहले गैरराजनीतिक गतिविधि पनि थालेका कारण सरकार औपचारिकता र प्रतिनिधित्व स्पष्ट पार्न चाहन्छ ।