`

कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेताहरु छलफलमा

Nepal One HD २६ भदौ २०८२ १६:११
नेकपा एमाले

काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका मुख्य चार दलका युवा नेताहरु पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलमा जुटेका छन् ।जेन–जीको माग सम्बोधन र निकासको बाटोबारे उनीहरूले अनलाइन छलफल गरेका हुन् । साथै निकासका लागि जेन–जी युवाहरूलाई सामुहिक अपिल गर्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ ।

छलफलमा नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र जीवन परियार, नेकपा एमालेका योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, अमनलाल मोदी र राजन दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल छन् ।

‘कहिले एक–दुई जनाको बीचमा त कहिले सामुहिक छलफल गरिरहेका छौँ,’ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘संवैधानिक बाटो भित्रबाट निकास खोज्नुपर्छ भन्ने हाम्रो छलफल भएको हो ।’ उनले छलफलमा भदौ २३ र भदौ २४ को दुवै घटना छानबिन गर्नुपर्छ भन्नेमा सांसदहरू एक ठाउँमा रहेको बताएका छन् ।

‘अघिल्लो दिनको नरसंहार र भोलिपल्टको विध्वंस छानबिन गर्नुपर्छ भन्ने कुरा भएको छ,’ सापकोटाले सुनाए, ‘जेन–जीलाई देखाएर गरिएको विध्वसंलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ उनले जेनजी आन्दोलनको नाममा सैनिक शासन र ‘बेबी किङ’ को गन्ध आउन थालेकोबारे पनि छलफलमा कुराकानी भएको बताएका छन् ।

‘बेबी किङ र सैनिक शासनको बाटो सम्भव छैन,’ सापकोटाले भने, ‘उन्नत प्रकारको लोकतन्त्रमा जाने गरी जेनजीहरूसँग हामीले कुरा गर्नुपर्छ भन्नेछ ।’ युवा सांसदहरू संसद विघटन गरेर चुनावमा जान सकिने भए पनि अहिलेको समस्याको समाधान संवैधानिक र संसदीय रूपमा खोज्नुपर्ने पक्षमा रहेको उनले बताए ।

‘जेनजीले उठाइरहेका सुशासनका मुद्दालाई तत्कालै संसदबाटै सकारात्मक रूपमा हल गर्न सकिन्छ । यो हामीले पनि उठाइराखेको विषय हो,’ सापकोटाले भने, ‘त्यसपछि संसद विघटन गरेर ताजा जनादेशमा जान सकिन्छ । समस्याको निकास संसद भित्रबाट गर्नुपर्छ। जेनजीको माग संसदबाटै सम्बोधन गर्न सकिन्छ ।’ सापकोटाले सांसदहरूबीच अहिले अन्तरपार्टी व्यक्तिगत र सामुहिक छलफल चलिरहेको पनि बताएका छन् । चार वटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीन बुँदे निष्कर्ष समेत निकालेका छन् ।

पहिलो : दलहरूले आत्मसमीक्षा गर्नुपर्छ ।

दोस्रो : जेनजीका माग सम्बोधन हुनुपर्छ ।

तेस्रो : पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्छ ।

छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ । राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् । कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *