जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो, घाइतेको संख्या यकिन छैन


काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । सिभिल अस्पतालमा थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आइसकेको छैन । घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो । हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ ।