`

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो ।

दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार सो घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरुको शव निकालिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापामा खुकुरी प्रहार गरी युवकको हत्या

झापा । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । मङ्गलवार बिहान खुकुरी र बसिला प्रहार गरी ३६ वर्षीय फूर्वा तामाङको हत्या भएको हो । घटनमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका घटना संलग्न बिर्तामोड–७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको छ । खड्काले उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको खुकुरी र बसिला समेत बरामद भएको बताए । तामाङको के कारणले हत्या भयो भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

 

प्रहरीलाई गृहमन्त्रीको आग्रह : म अहिंसावादी हुँ, तपाइँहरू पनि त्यस्तै गरी पेश हुनुस्

काठमाडौं । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । जेनजी आन्दोलनपछि क्षतिग्रस्त काठमाडौंका केही प्रहरी कार्यालय निरीक्षणपछि बिहीबार बिहान नक्सालस्थित प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले नयाँ परिवर्तनलाई आत्मसात् गर्दै प्रहरी कर्मचारीहरू डुयटीमा तैनाथ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘तपाईँहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नु हुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।’ उनले आफू शाकाहारी भएको र स्वभावतः अहिंसावादी भएको भन्दै प्रहरीलाई पनि अहिंसावादी शैलीमै पेश हुन निर्देशन दिए । गृहमन्त्रीको ब्रिफिङमा देशभरिका कार्यालय प्रमुखलाई भर्चुअल माध्यमबाट जोडिएको थियो । प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार प्रहरीका क्षतिग्रस्त भवनको निरीक्षणका क्रममा उनी प्रधान कार्यालय पुगेका हुन् ।

 

ओमप्रकाशले गृहको कमाण्ड सम्हाले लगतै ४८ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले जेनजी आन्दोलन सेलाउन नपाउँदै प्रहरी कर्मचारीको व्यापक सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै उनीहरुको सरुवा भएको हो ।

बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी) को सरुवा गरिएको हो । सरुवासँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन् ।

लामो समयदेखि इन्चार्ज नपाएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन् । मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन् ।

यस्तै नवीन कार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्की सरुवा गरिएको छ । नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाल डोटी, युवराज खड्का पूर्वी नवलपरासी, सन्तोष आचार्य कपिलवस्तु, पर्सामा सुदीपराज पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई सरुवा गरिएको छ । अन्य विभिन्न कार्यालय अन्तरगतका एसपीहरूलाई पनि सरुवा गरिएको छ ।

हेर्नुस् सूची

प्रहरीले भन्यो–सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिनू

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिन आग्रह गरेको छ। आन्दोलनका क्रममा जलेका भवनहरूमा मानव अस्थिपञ्जरहरू भेटिएकाले हराएका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

यही भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भएको थियो ।काठमाडौँ जिल्लाका विभिन्न स्थानमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचान समेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

प्रहरीले प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध कार्यक्रमपछि हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनका सदस्यहरू कोही भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२, mpcd [email protected] मा इमेल वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन हुन अनुरोध गरिएको छ । जिल्ला प्रहरी परिसरले अस्थिपञ्जरको पहिचानमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेको छ ।

हेर्नुस् सूचना

काठमाडौं उपत्यकामा थपिए आठ एसपी, कसलाई कहाँ खटाइयो ?

काठमाडौं । काठमाडौँ उपत्यकाको संवेदनशिल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आठ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबारदेखि आठ एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए । उपत्यकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यकालाई विभिन्न सेक्टरमा विभाजन गरिएको छ । प्रत्येक सेक्टरमा एक–एक एसपी खटाइएका छन् । यसअनुसार, बालनरसिंह राणा, दिपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

काठमाडौं परिसर अपरेसन कमाण्डरको जिम्मेवारी एसपी पवन भट्टराईलाई दिइएको हो । सुरक्षा निकायका अनुसार अपरेसन योजनाअनुसार उपत्यकाभरि व्यापक गस्ती, निगरानी र सुरक्षा तैनाथीलाई सुदृढ पारिनेछ । यसअघि वृत्त अन्तर्गत डीएसपीको कमाण्डमा खटिँदै आएका थिए । वृत्तको इन्चार्जहरू पनि अहिले सेवामा फर्किन थालेका छन् । प्रदर्शनकारीहरूले काठमाडौँको मालिगाउँ बाहेक सबै वृत्त जलाएका छन् । ती जलेका वृत्तमा प्रहरी सरसफाइ गरिरहेका छन् । यस्तै केही संख्यामा नियमित काममा पनि फर्किएको खनालले बताए ।

प्रहरी कार्यालय जलाउँदा घाइते लामाको मृत्यु

पोखरा । जेनजी आन्दोलनमा क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जलाउँदै गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका तनहुँको भररपुर–१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो ।

उनी पोखरा–१६ बस्ने गरेका थिए । प्रहरी कार्यालयमा आगोको मुस्लो परेका उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । लामाको बिहान १२ बजे उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए । उनलाई ७० प्रतिशत जलेको अवस्थामा अस्पताल ल्याइपु¥याइएको अस्पतालका निर्देशक प्राडा प्रेमराज पंगेनीले जानकारी दिए ।

कास्कीका अधिकांश सरकारी कार्यालयहरु तेडफोड र आगजनी गरिसकेपछि आन्दोलनकर्मीहरु डोजरसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उग्र प्रदर्शन गरिरहेका आन्दोलनकर्मीहरु कार्यालयको गेट तोडफोड गर्दै प्रहरी कार्यालय छिरेका थिए ।

प्रहरी कार्यालयभित्र पनि तोडफोट, लुटपाट र आगजनी भएको थियो । आन्दोलनकर्मीले लुटेको केही हतियार प्रहरीले प्राप्तसमेत गरिसकेको र केही अझै बाँकी प्रहरीको भनाइ छ । प्रहरी कार्यालयभित्रै डोजर लिएर गएका युवामाथि सुरुमा गोली लागेको थियो । उनको उपचार भइरहेको छ ।

आन्दोलनकर्मीहरुले पोखरा रत्नचोकमा रहेको अभि इकयुपमेन्ट डिभिजन कार्यालयको डोजर, लोडर, स्काभेटर र टिप्पर निकालेर सडकमा चलाउँदै, तोडफोड गर्दै हिँडेका थिए । आन्दोलनकर्मीहरुले पोखरामा अधिकांश प्रमुख सरकारी निकाय तोडफोड र आगजनी गरेका छन् ।

आन्दोलनका क्रममा खण्डहर बनाइएको भैंसेपाटीको प्रहरी प्रभाग स्थानीयको पहलमा पुनर्स्थापना

ललितपुर । ‘जेनजी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैंसेपाटीस्थित प्रहरी प्रभाग स्थानीयले पुनः स्थापना गरेका छन् । यही भदौ २३ र २४ गते ‘जेनजी’को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैंसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर नष्ट भएका थिए । प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मासहितको टोली अत्यावश्यक सामग्रीसहित बिहीबार अबेर प्रभागमा प्रवेश गरेको थियो ।

आन्दोलनकारीले गस्तीमा प्रयोग हुँदै आएको चारपाङ्ग्रे दुईवटा सवारीसाधन, केही मोटरसाइकल र कार्यालयका सबै सामान जलाएर नष्ट पारेका थिए । प्रभागमा हाजिर हुन आएका प्रहरी निरीक्षकसहितको टोलीलाई वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा २२ का वडाअध्यक्ष सागर तुलाधर र २१ नं वडाअध्यक्ष रवीन्द्र महर्जनसहित स्थानीयले स्वागत गरेका थिए ।

प्रहरी टोलीलाई स्वागत गरेसँगै जलेको भवन पुनः मर्मत गरी प्रयोगमा ल्याउनका लागि स्थानीयस्तरबाट स्थानीय सुमन महतको संयोजकत्वमा ११ जनाको समिति गठन गरिएको छ । समितिले स्थानीयस्तरबाट श्रमदान, चन्दा र विभिन्न संघसंस्थाबाट सहयोग जुटाई प्रभागलाई पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । आज ५० जनाभन्दा बढी स्थानीयहरू प्रभागको सरसफाइमा जुटेका छन् । झ्यालढोका मर्मत, रङरोगन, बत्ती एवं पानीको व्यवस्थासहित अन्य बन्दोबस्तीका सामग्री जुटाउन समिति लागिपरेको छ ।

प्रभागका प्रमुख शर्माका अनुसार हालसम्म स्थानीयबाट रु चार लाखभन्दा रकम संकलन भइसकेको छ । बजार सामान्य अवस्थामा फर्केसँगै बजारबाट सामग्री खरिद गरिने र प्रभागलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ । उनले भने, ‘विगतमा जस्तै जनताको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी आगामी दिनमा लागिपर्नेछ, त्यसका लागि जनस्तरबाट पहिले जस्तै सहयोग हुने विश्वास छ ।’ उनका अनुसार गस्तीमा जानका लागि प्रयोग हुने गरेका सबै सवारीसाधन जलेकाले स्थानीयस्तरबाट केही समयका लागि गाडीको व्यवस्था गर्ने तयारी भएको छ ।

ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नं २२ का सागर तुलाधर, वडा नं २१ का रवीन्द्र महर्जन र वडा नं १८ का दामोदर खड्काले २५–२५ हजार नगद सहयोग गरेका थिए । प्रभाग प्रमुख शर्माले वडाअध्यक्ष र स्थानीयको साथ, सहयोग तथा माया महत्वपूर्ण रहेको बताउँदै प्रहरी र स्थानीयको सहयोगले शान्तिसुरक्षा कायम गर्न सकिने विश्वास व्यक्त गरे ।

नक्खु कारागारका सबै कैदी–बन्दी फरार भएसँगै स्थानीयस्तरमा सुरक्षा चुनौती थपिएको र प्रहरी चौकीलाई चाँडो स्थापना गर्न जरूरी रहेको समितिका सदस्य एवं समाजसेवी देवेन्द्रकुमार गौतमले बताए । प्रभागको नेतृत्वमा ४३ जना प्रहरी, आठ जना ट्राफिक प्रहरी र फर्सिडोलको प्रहरी चौकीका अन्य आठ जना रहेका छन् ।

 

प्रहरी वृत्त महाराजगञ्जका तीन प्रहरीको मृत्यु

काठमाडौं । जेनजी युवाको प्रदर्शनमा ज्यान गुमाउने प्रहरीको संख्या तीन पुगेको छ । यसअघि दुई जना मृत भएको थियो । अहिले भने मृत प्रहरीको संख्या तीन पुगेको नेपाल प्रहरीले जनाएको छ ।

मृत हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् । एक असईसहित तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताएका छन् । अझै केही प्रहरी मिसिङ भएकाले यो संख्या बढ्न सक्ने बताइएको छ ।

कोहलपुर इप्रकाको हिरासतमै थुनुवाको मृत्यु

दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमै एक थुनुवाको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको बाँके प्रहरीका प्रवक्ता डीएसपी नरेश पातलीले जानकारी दिए ।

मृतक सिंहको मृत्युको कारण र उनलाई कति दिनको म्याद थपिएको थियो भन्ने विषय प्रहरीले खुलाएको छैन । डिएसपी पातलीका अनुसार उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु भएको हो । मृतकका आफन्त अहिले इप्रका कोहलपुरमा पुगेका छन् ।

 

सिरहामा आमा–छोरा मृत भेटिए, एक छोरा गम्भीर

सिरहा । सिरहाको लहानमा आमा र छोरा मृत भेटिएका छन् । लहान नगरपालिका–१ मटिअर्वा घर भइ लहान नगरपालिका–१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठाभित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन् ।

नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ। घटनास्थलमा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो । त्यही फल्याटमा बस्दै आएकाले खबर गरेपछि प्रहरी पुगेर ढोका खोलेको थियो । आमाले घरायसी विवादमा दुई छोरालाई विष खुवाएर आफैंले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

 

गोंगबुको एक घरमा प्रहरीको छापा, साढे तीन करोड नगद र सुन बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको तीन करोड ५० लाख नगद बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।

भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको पाइएको छ । यो रकम र सुनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।